
‘अब आउँदा एउटा झुल बोकेर आउँछु ।’ सागर उदास कहिल्यै उदास मुडमा हुँदैनथे । त्यस दिन उनले उदास हुँदै भने । यति लामो मित्रतापछि मलाई भन्न कर लाग्यो कि सागरले उदास उपनाम रोज्नु उनको जीवनकै एक ठूलो विरोधाभास हो । ‘लामखुट्टे नलाग्ने ठाउँमा झुलको के काम ?’ मैले नबुझेर सोधेँ ।
‘झुलभित्र बसेर खाना खान जेठानसाप । झिँगाले गर्दा खान घिन लायो ।’ उनले स्पष्टीकरण दिए । सागरको कुरा निकै घतलाग्दो थियो । जाजरकोटदेखि नै झिँगाका कारण खाना खाने वेला मैले पनि खानुको पूरै आनन्द लिन सकिरहेको थिइनँ । बायाँ हातले झिँगा धपाउँदै खाना खानु आनन्ददायक कुरा थिएन ।
ओठ राख्ने चिया गिलासको बिटमा झिँगाको हमला, खाना खाने थालमा तिनीहरूको मनोमानी... यतिसम्म कि ससाना नानीहरूको नाक र आँखामा उनीहरूकै साम्राज्य । झिँगा सुन्दर डोल्पाको कुरूप समस्या रहेछ । कर्णालीमा झाडाबान्ताका कारण किन त्यति धेरै मानिसको मृत्यु भएको समाचार छापिन्छ भन्ने कुराको पुष्टि गर्न यो यात्रा काफी थियो ।
नेपालगन्जमा हुँदा निबन्धकार रोशन शेरचनसँग भएको फोनवार्ता बारम्बार सम्झिरहेको थिएँ । उनले भनेका थिए, ‘भूपिन कर्णाली अझै पनि भर्जिनल्यान्ड हो । धेरै कुरा एक्स्प्लोर हुन बाँकी रहेछ । प्राकृतिक रूपमा धेरै सुन्दर भएर पनि कर्णाली बीस वर्षअघिको एक्याप क्षेत्रजस्तो लाग्यो ।’
कर्णाली पर्यटन गुरुयोजना निर्माण समूहमा विज्ञका रूपमा छब्बीस दिन विभिन्न गाउँ घुमी आफ्ना अनुभव मन्त्रीलाई ब्रिफिङ गर्ने समय पर्खिएका रोशनको कुरा उनका निबन्धझैँ गम्भीर थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा काम गर्दाको वर्षौँ लामो अनुभव र ज्ञानले खारिएका डा. रोशनसँगको मेरो वार्तालाभ निकै लाभदायक थियो ।
रोशनले थपेका थिए, ‘झिँगाले त हत्तु पार्दो रहेछ ब्रदर ।’ सागरको झुलवाला ठट्टापछि मैले रोशनलाई फेरि सम्झेको थिएँ । छेवाङ रुक्तार बैजी र फुर्बा दिदीले चलाएको ‘झरना होटेल’ भने सफा देखिन्थ्यो । अँध्यारो भएकाले पनि होला झिँगा आतंक थिएन । त्यहीँ पुगेपछि दुई दिनसम्म बेपत्ता नेटवर्कले काम गर्न थाल्यो । हामी खुसी भयौँ । घरसँग सन्चो–बिसन्चो आदान–प्रदान भयो ।
सीमित याकको मासुसँग तोङ्बा तान्दै हामीले उनीहरूको जीवन संघर्षबारे जिज्ञासा राख्यौँ । छेबाङ र फुर्बाका पाँच सन्तानमध्ये माइली छोरी छोल्टिङ मात्र बाआमासँग थिइन् । बौद्धमा भएको कुनै कलेजबाट १२ कक्षाको परीक्षा सकेपछि बाआमाको व्यवसायलाई सघाउन उनी आएकी थिइन् । अंग्रेजी साहित्य पढ्दै गरेकी उनले हामी कवि भन्ने थाहा पाएपछि विशेष चासो देखाइन् । ‘म पनि अलिअलि लेख्छु । लेखेर कमाउन सकिएला ?’ उनले सोधिन् ।
छोल्टिङको निर्दोष प्रश्नको के जवाफ दिनू ? अल्मलिँदै राम्रो लेख्यो भने लेखनबाट कमाउन पनि सकिने कुरा राख्नु नै ठीक सम्झ्यौँ हामीले । मनमा लाग्यो, छोल्टिङ लेखक भइन् भने डोल्पाको दुःख, सौन्दर्य र यार्चाका कथा देशले पनि पढ्न पाउनेछ । एकाध हप्ता यहाँको बाटो नापेर हामीले लेख्ने कर्णाली त पौडिन खोज्दा पाठक दुर्घटित हुने छिपछिपे पोखरी बन्ने हो । फोक्सुन्डोजस्तो गहिरो कर्णाली कथा लेख्ने त बुद्धिसागर, हेमन्त विवस, पत्रकार टासी टेवा र यहीँका मानिसले हो । छोल्टिङहरूले हो ।
छेबाङ दाइ र उनको परिवार मंसिरको अन्तकालदेखि लगभग चैतसम्म तल झर्छन् । हिउँदमा उनीहरूको घर र सम्पूर्ण भूगोल बाक्लो हिउँले पुरिदिन्छ । उनी पग्लिएको हिउँ घरको भित्ताबाट नछिरोस् भनेर छाना र भित्ता ग्रिन हाउसको प्लास्टिकले बेर्छन् र काठमाडौं झर्छन् । यो यताका मानिसको जीवनपद्धति नै हो । तर, उनी झरनालाई चटक्क छाडेर अन्यत्र बस्न सक्दैनन् किनकि, यो उनको जन्मस्थल र कर्मस्थल दुवै हो ।
बढ्दै गएका पर्यटकका कारण उनलाई आफ्नो होटेल व्यवसायले सन्तुष्टि पनि दिएको छ । यसैको आम्दानीले उनीहरू आफ्ना सन्तानलाई सहरका राम्रा शैक्षिक संस्थामा पढाउन सक्षम भएका छन् । छेबाङ भन्छन्, ‘हामीलाई बढी बिजनेस दिने नेपाली पर्यटक नै हुन् । विदेशीहरूबाट त टेन्ट गाड्ने जग्गाको पैसा लिने मात्र हो । उनीहरू भरिया र खच्चर लिएरै
यता आउँछन् ।’
१२ गते बिहान ओछ्यानबाट निस्किँदा शरीरमा कुनै ताजगी थिएन । म मुस्किलले एकाध घन्टाजति मात्र सुत्न सकेको हुँदो हुँ । राति एक बजेसम्म निद्राले आँखालाई पटक्कै माया नदेखाएपछि मैले खाटमा सुतिरहेको हेमनलाई गरुँगो मनले उठाएर भनेको थिएँ, ‘हेमन म याँ तल निदाउन सकिनँ, मलाई एकछिन खाटमा सुत्न दे न यार ।’ हेमनले चुपचाप मलाई उसको ओछ्यान छोडिदिएको थियो । तर, म खाटमा पनि सुत्न सकिनँ । वर्षौँ कोही नसुतेजस्तो लाग्ने कोठामा अक्सिजनको चरम अभाव थियो । ढोका खोलेर सुत्ने आँट आएन ।
झ्यालचाहिँ खोल्न नमिल्ने गरी डोरीले बाँधिएको थियो । निद्रामा पनि मैले निकै डरलाग्दो सपना देखेँ । आमा र म चढेको बस पल्टियो । आमालाई उद्धार गर्न खोज्दा–खोज्दै बस फेरि कुदिहाल्यो । म रुँदै थिएँ । अलिक पर पुगेपछि खैरो कपाल भएकी बूढी ड्राइभरले फेरि बस पल्टाइदिइन् । म चिच्चाएँ र मुस्किलले बसबाट निस्किएर आमा भएको ठाउँसम्म पुगेँ । आमाको हात के समाएको थिएँ, ब्युझिएँ ।
हामी सरासर तालमा पुग्यौँ । तालनजिकै पुगेर पर्खालबाहिरको डिलबाट हे-यौँ । खैरा र अग्ला पहाडबीच लमतन्न सुतेको ...ताल कुनै शान्त पेन्टिङजस्तो देखिन्थ्यो । आकाशको नीलो रङभन्दा पनि सुन्दर । दक्षिणी किनारमा ध्वजापताका हावाको वेगमा फर्फराइरहेका थिए ।
‘मलाई निकै गाह्रो भयो यार तँलाई उठाउँदा । सरी । तँ सुतिस् केटा ?’ बिहान हेमनलाई सोधेँ । ‘त्यो कोठामा कुनै ठूलो समस्या छ ।’ उसले भन्यो । ‘कस्तो समस्या ?’‘प्रेतात्माको समस्या । म पनि सुत्न सकिनँ । एकछिन सुतेको त निकै डरलाग्दो सपना देखेँ ।’ हेमनको कुरा सुनेर म अलिक झस्किएँ । मैले पनि त थोरै समयको निद्रामा निकै तर्साउने सपना देखेको थिएँ । तर, हेमनले कस्तो सपना देखेको थियो ? सोध्न सकिनँ ।
अन्तिम उकालो
साथीहरू माथि कतै बिसौनीमा खानुपर्ला भनेर फुर्बा दिदीले राति नै तयार गरिदिएको फापरको बाक्लो रोटी र भाँङको अचार प्याक गर्दै थिइन्, म बाटो लागेँ । राति राम्रोसँग सुत्न नपाएका कारण आज हिँड्न गाह्रो हुने अनुमान थियो मेरो । तीन–चार घन्टाको ठाडो उकालो उक्लिनु थियो र म यात्रामा लत्रिन चाहँदैनथेँ । आनन्द लिँदै हिँडेको राम्रो, तर लामो यात्राका आफ्नै नियम हुन्छन् । पहिलो नियम हो, आनन्द लिँदै सकेसम्म छिटो हिँड्नु । खरायो र कछुवा कथाको ‘स्लो एन्ड स्टेडी विन्स द रेस’ वाला सन्देश जीवनकै सन्दर्भमा पूर्ण सत्य होइन, आंशिक सत्य हो । बूढापाकाको हवाला दिँदै विष्णु देवकोटा बड्बडाए–
उकालोमा तल हेर कति बाटो काटेर आयौ ।
ओरालोमा माथि हेर कति बाटो छोडेर आयौ ।
ठाडो उकालोमा उनले सुनाएको यात्रादर्शन गहिरो र काव्यिक थियो कुनै मन्त्रजस्तै, सुक्तिजस्तै । जीवन पनि त यस्तै सामूहिक यात्रा न हो, जहाँ रफ्तारले प्रशस्त गलाएपछि विश्राम लिएर बटुवा आफूभन्दा पछिका मानिस हेरी सन्तुष्टि लिने कोसिस गर्छ । समयलाई धेरै अघि देखेर अतालिएको ऊ आफूभन्दा धेरैपछि छुटेको मानवाकृति देखेर चित्त बुझाउँछ । समस्या के भने, यस विचारले मानिसलाई थिन्लेले भनेझैँ अप्ठ्यारो बाटो रोज्न निरुत्साहित गरिदिने डर हुन्छ । मानव सभ्यता कहाँ सजिलो बाटो र मन्दगतिमा चित्त बुझाएर यहाँसम्म आएको हो र ?
यो यात्रामा म शारीरिक स्वपरीक्षणका लागि पनि सकेसम्म छिटो हिँड्न चाहन्थेँ । यसका लागि गाउँमा बस्दा पर्याप्त उकाली–ओराली गरेको थिएँ । घुम्ती र गोरेटामा पसिना चुहाएको थिएँ । अघिल्लोपटकको खप्तड यात्रामा आफ्नो मन्द रफ्तार देखेर चिन्तित भएको सत्य थियो । त्यो भन्दा पनि अघिको घोरेपानी यात्रामा त मैले सुडो चिन्तन नै गरेको थिएँ, लेखेको थिएँ ।
तर, अथाह हिँड्न मन छ मलाई । हिँड्नुजस्तो आनन्ददायक कुरा धेरै कम छन् जीवनमा । बाको क्रोमोजम आमाको पाठेघरमा प्रवेश गर्नुभन्दा पनि अघिदेखि मेरो हिँडाइ सुरु भएको थियो र यो बाँचुन्जेल जारी रहनेछ । मेरो विचारमा हिँड्नु भनेकै जीवन र जीवन भनेकै हिँड्नु हो । यस्तो होस् कि मर्नुअघि पनि कतै न कतै कुनै न कुनै रूपमा म हिँडिरहेको भेटियौँ ।
‘स्वागत छ डक्टर,’ काठैकाठले बनेका दर्जनौँ साँघु तरेर पुगेको काठैकाठले बनेको भ्यू–टावरबाट अभय बोल्यो । ऊलगायत देवेन्द्र दाइ र विष्णुजी केही मिनेटअघि त्यहाँ पुगिसकेको मैले तलबाट देखेको थिएँ । यात्रामा उनीहरू नै थिए जो मभन्दा अघि हुन्थे । ‘झरना खै त ? अझै माथि हो र ?’ ठाडो उकालोले बढाइदिएको स्याँस्याँबीच मैले अभयसँग ठाडै सोधेँ ।‘याँबाट देखिन्छ डक्टर, आऊ ।’ उसले भन्यो । जसै टावरनजिक पुगेँ, पहिला त फोक्सुन्डो झरनाको आवाज मेरो कानमा प-यो ।
त्यसपछि अग्लो खोँचबाट तल हामफालिरहेको एक सुन्दर झरना मेरो आँखामा आएर टाँस्सियो । महसुस गरेँ, झरना होटेलबाट तीन घन्टाजतिको कठोर उकालो उक्लिँदा हामीलाई जति नै फोक्सो निस्केलाजस्तो थकानको अनुभव हुन्छ, त्योभन्दा कैयौँ गुना बढी आनन्द मिल्दो रहेछ– अचानक फोक्सुन्डो झरना देख्दा । मैले थकान, पसिना र सम्पूर्ण शारीरिक पीडा बिर्सिएँ । रातिको अनिद्रा र त्यो भयानक सपना पनि बिर्सिएँ ।
यो यस्तो उचाइ पनि रहेछ, जहाँबाट यात्रीले प्रथमपटक खैरा पहाडबीच फैलिएको सुन्दर पेन्टिङजस्तो फोक्सुन्डो ताल देख्न सक्छ । कोण–कोणबाट फोटो र भिडियो खिच्यौँ । डिलमा बसेर मैले गहिरोसँग त्यस झरनाको अप्रतिम सुन्दरता र त्यसले पहाडलाई थर्काउँदा निकालेको गर्जन भित्रैसम्म महसुस गरिरहेँ । अभयले टिसर्ट नै खोलेर त्यस धुलाम्य टावरमा योग गर्न थालेको दृश्य अनौँठो थियो । सबै जम्मा भएपछि फापरका बाक्ला रोटी भाँगको स्वादिलो अचारमा चोप्दै चपाउन थाल्यौँ । साथीका रुद्रघन्टी मन्दिरका घन्टीझैँ हल्लिन थाले । सबैका आँखा भने झरनामा नै केन्द्रित थिए ।
लुङ्दर फर्फराइरहने गाउँ
भ्यू–टावरबाट पाँच मिनेटजति उकालो काटेपछि बाटो तेर्सिन थाल्यो । आफ्ना सबै ज्ञानेन्द्रियले फोक्सुन्डो छुन सायद सबैलाई हतार थियो । त्यस्तो हतार मलाई पनि थियो । एक पुरानो स्तुपा काटेपछि पूर्वतर्फ पानीढलो भएको एक सुन्दर गाउँ देखियो । माटाका छत भएका बाक्ला घरमाथि लुङ्दर जोडजोडले फर्फराइरहेका थिए । बारीमा फापर र आलु सप्लाइरहेका देखिन्थे ।
कतै–कतै बूढी महिलाहरू फापर गोड्न व्यस्त थिए । यो रिग्म गाउँ थियो, जुन फोक्सुन्डो तालमा चल्मलाउने बादल र फुस्रा पहाडको प्रतिबिम्ब हेर्न सधैँ व्यस्त रहन्थ्यो । फरक के भने, हिउँदमा ताल हेर्ने जिम्मा घरलाई लगाएर पूरै गाउँ तल बँेसीतिर झर्न बाध्य हुन्थ्यो ।होटेलको ख्याल नगरी सरासर तालमा पुग्यौँ हामी । हतार थियो ताल हेर्न । पर्खाल बाहिरको एक डिलबाट हे-यौँ, खैरा र अग्ला पहाडबीच लमतन्न सुतेको उक्त ताल कुनै शान्त पेन्टिङजस्तो देखिन्थ्यो ।
आकाशको नीलो रङभन्दा पनि सुन्दर र ताजा थियो त्यसको रङ । त्यसको दणिक्षी किनार यानि रिग्म गाउँको छेउतिर ध्वजापताका हल्लिरहेका केही डोरी टाँगिएका थिए र ती हावाको बेगमा फर्फराइरहेका थिए । पहिला होटेलमा ब्याग बिसायौँ अनि ताल घुम्न निस्कियौँ ।
यात्रामा निस्किँदा ताल र झरना हेर्ने हुटहुटीले नै निस्किएको थिएँ, करिब सात सय वर्ष पुरानो भनिएको थासुङ छोलिङ गुम्बा, थिन्लेको याक खसेको ठाउँ र यहाँको प्रकृति र संस्कृति बुझ्न नै निस्किएको थिएँ । तर, जसै भेरी करिडोरभित्र प्रवेश गरेँ, मलाई नदीखोलाका संगमस्थलले जबर्जस्त आकर्षित गरिदिए ।
दोभानबाट छुट्टिँदै–छुट्टिँदै एक्लिएका खोलाले मलाई अस्तित्वबोधका लागि घच्घचाइदिए । प्रत्येक मानिस यस्तै खोला न हुन्, जो नदीमा मिसिएर समाज बनाउँछन् र अन्तमा समुद्रमा पुगेर विश्व बन्छ । एउटा यस्तै सुन्दर खोलाको उद्गमस्थल देख्न पाउनु सामान्य प्राप्ति थिएन । नदीमा मिसिएको खोलाबाट छुट्टिँदै गइरहेको खोला यो यात्राको अनिवार्य पहलु थियो । सोचिरहन्थेँ, मैले खोला खोजिरहेको थिएँ कि आफैँलाई ?
मेरो अगाडि मेरा सम्पूर्ण फोहोर सफा गर्ने ल्याकत राख्ने कञ्चन ताल थियो र मनमा थियो पौडिने हुटहुटी । खोला, दोभान र ताल मेरा प्रिय पौडी स्थल हुन् । यात्रा सुरु गर्ने दिन सामाजिक सञ्जालमा फोक्सुन्डोमा पौडिने सपना पूरा गर्ने स्टाटस लेखेकै थिएँ । त्यहीअनुसारको मानसिक तयारी थियो । दीपेन्द्रजी र म सरासर तालको किनारमा गयौँ । कृष्ण नेपालीजी वरिपरि रङका बट्टा राखेर तालको पेन्टिङ बनाउन व्यस्त देखिन्थे । गनेसले भनिहाले, ‘म त नुवाएर बसेको ।’
मेरो पौडिने लालसा दुगुना भयो । कपडा छोडाएर चौरमा राखेँ र सरासर तालमा पुगेर झ्वाम्म हामफालेँ । मुटु जमाउने गरी चिसो थियो पानी, तर बाँकटेहान्दा मैले गहिरो न गहिरो आनन्दको महसुस गरेँ । चिसोका कारण पौडिएर टाढा पुग्ने आँट भने आएन ।
कवि दीपेन्द्रलाई पनि तालमा नुहाउन मन लागेछ । उनले पनि चिसो पानीको अथाह जलराशिमा डुबुल्की लगाए ।‘तालमा नुहाउन मिल्दैन नि सरहरू ।’ माथि पर्खालबाट एक युवक कराएपछि मेरो होसहवास उड्यो । उनी निकुञ्जका कर्मचारी रहेछन् । थपे, ‘नुवाउने भए उता खोलामा जानुपर्छ । तालमा सावुनले नुवाउन मनाही गरिएको छ, सरहरू ।’
डिलमा बसेर यसरी ताल हेरिरहँदा किन–किन मेरो मन हिउँझैँ पग्लिन थाल्यो, आँखा रसाए । मानौँ म एकहत्तर इन्चको कान्जिरोबा हिमाल हुँ, जो एक अद्भुत सौन्दर्यबोधको न्यानोले पग्लिरहेछ । धीत मरुन्जेल आँसु बग्न दिएँ ।
ला, गल्ती गरियो । पौडिन हुन्न भन्ने कतै जानकारी पाएको भए यसरी तालमा हेलिने थिएनौँ हामी । स्थानीय मानिसको आस्थाप्रति असम्मान व्यक्त गर्नु कदापि हाम्रो इच्छा थिएन ।
‘हामीलाई पौडिन हुन्न भन्ने थाहा भएन, लौ गल्ती भयो है ।’ हामीले लोसे स्वरमा भन्यौँ । उनले हाम्रो गल्तीलाई धेरै असहज रूपमा नलिएको पाएपछि भने मन अलिक हल्का भयो । होटेल फर्किँदा एकातिर तालको चिसोले भिजेर शरीर चंगा बनेको थियो, अर्कातिर बर्जित तालमा पौडिएकोमा मनमा अपराधबोध पनि थियो ।
बगाया लागेका मानिस
वडाध्यक्षसमेत रहेका निमा लामाजीको होटेल हिमालयनको आँगनमा पहारिलो घाम तापेर बसिरहेका केही युवा भेटिए । अनुहारबाटै चिन्न सकिन्थ्यो कि उनीहरू रिग्म गाउँका थिएनन् । अनुमानअनुसार नै माथि लेकमा यार्चा टिपी फर्किएका रहेछन् उनीहरू ।
‘कहाँसम्म पुगेर आउनुभो तपाईँहरू ?’ सोधेँ ।
‘सागर पुगेर आएको हजुर ।’ एक युवक बोले ।
जाजरकोटको बाराकोटबाट यार्चा टिप्न सागर नामको लेक पुगेर फर्किएका लालबहादुर नेपाली, हरिबहादुर विक र दानबहादुर विकको अनुहारमा चिसोले खोपिदिएका काला दाग त थिए नै साथमा उदासी पनि उत्तिकै देखिन्थ्यो । खोतल्दै जाँदा लालबहादुरले भने, ‘किरा नपाएका कारण बगाया परिने भो हजुर ।’ बगाया यानि ऋण । यार्चा टिप्न जाँदा उनीहरू गाउँका साहुबाट १५–२० हजारसम्म ऋण लिँदा रहेछन् । दुई–तीन महिनाका लागि टेन्ट, महँगो रासनपानी र अन्य आवश्यक सामान किन्दा पैसा धेरै खर्च हुँदो रहेछ ।
स्थानीय भाषामा च्याउ, किराजडी, किराझार वा जीवनबुटी भनिने यार्चाको वैज्ञानिक नाम ‘कर्डिसेप्स साइनेन्सिस’ हो । यसलाई सर्वगुण सम्पन्न औषधिका रूपमा सेवन गर्ने प्रचलन छ । तिब्बत यसको मुख्य बजार हो । यही जीवनबुटी बेचेर बगाया तिर्ने र अलिकति परिवारका लागि आर्थिक जोहो गर्ने उनीहरूको सपना यसपटक चकनाचुर भएको थियो । उनीहरूको मात्रै होइन, बाटोमा बगालका बगाल भेटिएका सबै यार्चा सिकारीको पीडा यही थियो ।
प्रतिकूल मौसमका कारण १०–१५ वटा मात्र किरा भेट्टाएका उनीहरू प्रायः ऋणको पिरमा थिए । अब कसरी बन्नेछन् उनीहरू ऋणमुक्त ? मेरो मनमा प्रश्न थियो । ‘काम पाइयो भने अब दसैँसम्म यतै दुःख गर्ने हो । दिनको १५ सयदेखि दुई हजारसम्म कमाइ हुन्छ । त्यही पैसा बचाएर बगाया तिर्न र दसैँ मान्न गाउँ ओर्लिने हो । अर्को उपाय छैन ।’ उनीहरूको संकल्प थियो ।
तालछेउमा कविता वाचन
फोक्सुन्डो काव्य यात्राको कार्यक्रम तालको छेउमा गर्ने निर्णय अत्यन्त प्रीतिकर लाग्यो मलाई । खाना खाएर केही क्षण आराम गरेपछि हामी कार्यक्रमस्थलतिर झ-यौँ । गुम्बाका लामा, सम्मानित हुने व्यक्ति, निकुञ्जका कर्मचारी र केही स्थानीय व्यक्तिलाई साक्षी राखेर अमृत भादगाउँलेले कार्यक्रम सञ्चालन गरे । कार्यक्रममा कन्सेप्ट नेपालको तर्फबाट टुङ्ना बादक निमा लातार बैजी, लोक गायिकाहरू नाम्दाक लामा, होइसेर डोल्मा बैजी र काष्ठकलाका गुरु एवं समाजसेवी सेम्दुक आङक्याल रोकायालाई सम्मान गरे देवेन्द्र बस्न्यातले ।
स्थानीय सर्जकहरूलाई त्यहीँ पुगेर यसरी सम्मान दिने कन्सेप्ट नेपालको अभियान धेरै अर्थमा महत्वपूर्ण छ । यस्तो सम्मानले संस्था आफैँ सम्मानित भएको अनुभव गर्छु म । सम्मानित व्यक्तिका विषयमा सेम्दुक लामाले प्रकाश पारे । हाम्रो आग्रहमा निमा लातारले टुङ्ना बजाए, नाम्दाक लामा र होइसेर डोल्मा बैजीले गीत गाए । हामीले एक–एकवटा कवितावाचन ग-यौँ । तालको छेउमा यसरी कविता वाचन गर्नु सपनामा पनि नचिताएको आनन्ददायक प्राप्ति थियो ।
मन तालझैँ ताजा बनेको महसुस गरेँ । बिन्दास यात्री गुरिल्ला उर्फ सुरेन्द्र राना र पत्रकार एवं कन्सेप्ट नेपालका चन्द्र काफ्लेजीले भिडियो निर्माण गरे । कार्यक्रममा थासुङ छोलिङ गुम्बाका प्रमुख लामाखेन्पो सेम्दुक निमा, से–फोक्सुन्डो गाउँपालिका वडा नम्बर–८ का अध्यक्ष निमा लामा, धार्मिक गुरु लोटेइ लामा, से–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष फुर्वा तेन्जिङले ताल, निकुञ्ज र योजनाबारे मन्तव्य राखे ।
कार्यक्रमपछि हामी आ–आफ्नै रुचिअनुसार यताउता घुम्न निस्कियौँ । भोलि त फर्किनु थियो । म भने पुग्ने मानसिकता बनाएर आएको फोक्सुन्डो भ्यू–पोइन्ट पुग्न नसकिएकोमा थक्थकाइरहेको थिएँ । हिँडाइले गलेका साथीका लागि त्यहाँ पुगेर फर्किन लाग्ने पाँच घन्टाका लागि आवश्यक आँट देखिएन । सबैभन्दा ठूलो कुरा हामीसँग समय पनि थिएन । रिग्मको दुई रातको बसाइ छोट्टिएर एक रातमा खुम्चिएको थियो । सामान्य क्षतिपूर्तिका लागि हामी केही साथीहरू तालको पश्चिम किनारामा भएको साँघुरो
बाटोतिर लाग्यौँ ।
‘क्याराभान’मा थिन्ले हिँडेको बाटो त्यही थियो र त्यही डरलाग्दो भिरको फलेक खसेर याक मरेको भयानक दृश्य छायाँकन गरिएको थियो फिल्ममा । उक्त विशेष स्थानको जानकारीका लागि भित्ताको ढुंगामा एक काँटी गाडिएको थियो, अन्य कुनै संकेत थिएन । त्यहाँ हामीले आ–आफ्ना मोबाइलमा भिडियो बनायौँ । त्यो बाटोमा हिँड्दै गर्दा सोचेँ, अर्को दिशाबाट फिल्ममा झैँ साँच्चै चौँरीको क्याराभान आयो भने के हालत होला ? यो डरलाग्दो कल्पना थियो ।
विपरीत दिशाबाट दुब्ला मानिस क्रस हुन खोज्दा पनि ठोक्किने भय हुने ठाउँमा चौँरीलाई बाटो दिन सजिलो थिएन । ‘कुनै दिन अवसर मिल्यो भने तिम्रो गाउँ साल्दाङसम्मै पुग्नेछु ।’ त्यो साँघुरो बाटोमा मैले थिन्लेलाई मनमनै सुनाएँ ।
एकहत्तर इन्चको हिमाल
हेमन्त, अभय, कृष्ण र दीपेन्द्र पनि मबाट छुट्टिए । यसो भनौँ, म छुट्टिएँ । म अब भेरीबाट एक्लिएको फोक्सुन्डो खोलाजस्तो भएँ । यात्रामा सधैँ साथीसँगै भइँदैन पनि । कहिले बाध्यताले, कहिले इच्छाले मानिस साथीसँग केही समयका लागि छुट्टिन्छ, मिसिन्छ । मिसिन्छ, अनि फेरि छुट्टिन्छ । मानिस र खोलामा यही त फरक छ कि खोलालाई नदीमा मिसिएपछि मानिसलाईझैँ छुट्ने सुविधा छैन । म छुट्न र एक्लिन सक्थेँ । मलाई लाग्छ, यात्रामा एक्लो हुनुको फाइदा पनि हुन्छ । ऊ गहिरोसँग अन्तरलोकको यात्रामा निस्किन पाउँछ ।
स्वेच्छाले एक्लिएपछि म रिग्मको माथिको एक अनाम डिलमा पुगेर धेरैबेर ताललाई नियाल्दै बसिरहेँ । त्यो गम्भीर अस्तित्वबोधको पल थियो मेरा लागि । चिसो स्याँठ चलिरहेको थियो । स्याँठको स्वाँ–स्वाँ आवाजमा चराका चिर्बिर र कोही सिकर्मीले काठ ताछिरहेको आवाज मिसिएको थियो । बादलमा छेकिँदै–छेकिँदै हिँडिरहेको घाम र तालमा बादलको छायाँ चलमलाइरहेको देखिन्थ्यो ।
मैले आफ्नो जीवन सम्झिएँ । कानमा आएर शरीरहीन बुद्ध बोले, ‘जीवन दुःखपूर्ण छ र त्यसका कारण छन् ।’ मैले मौन टाउको हल्लाएँ । ‘हेर, दुःखबाट मुक्ति सम्भव छ ।’ बुद्ध बोल्दै थिए, मैले त्यही वेला आमा, छोरा र प्रियजनलाई सम्झिएँ । यात्रामा निस्किएपछि कहाँ पुगिस् भनेर बारम्बार फोन गरिरहने आमा मेरो चिन्तामा हुनुहुन्थ्यो, आमालाई फोन गरेर म स्वर्गजस्तो सुन्दर ठाउँमा छु भनेँ ।
छोरालाई फोन गरेर ‘कुनै दिन बाउछोरा सँगै घुम्न आउनुपर्छ है’ भनेँ । डिलमा बसेर यसरी ताल हेरिरहँदा किन किन मेरो मन हिउँझैँ पग्लिन थाल्यो, आँखा रसाए । मानौँ म एकहत्तर इन्चको कान्जिरोबा हिमाल हुँ, जो एक अदभूत सौन्दर्यबोधको न्यानोले पग्लिरहेछ । धीत मरुन्जेल आँसु बग्न दिएँ मैले ।
यात्रा सुरु नहुँदै युट्युबमा फोक्सुन्डोको भिडियो हेरेपछि मलाई लागेको थियो, तालमा पुगेपछि कुनै न कुनै क्षण म पक्का रुनेछु । र, त्यो रुवाइ प्रकृतिको भव्यतासामु आफू अत्यन्त सामान्य जीव हुनुको अस्तित्वबोध हुनेछ । दर्जनौँ हतासा, दम्भ, कुन्ठा, पूर्वाग्रह, लालचर भ्रम पालेर बाँच्ने मानिसको म एक प्रतिनिधि, आफूलाई सधैँ प्रकृतिसामु यसरी नै सामान्य सोच्न चाहन्थेँ ।
तालपारिको थासुङ छोलिङ गुम्बाले कुनै भिक्षुलाईझैँ आकर्षित गरिरहेको थियो । ‘भोलि बिहानभरि गुम्बा घुम्नुपर्छ ।’ यस्तो संकल्प बोकेर होटेलतिर फर्किँदा मन चंगा भएको थियो । फोक्सुन्डोको अद्भुत सौन्दर्यबोध र अस्तित्वबोधको दबाबमा झरिदिएका आँसुले मनलाई कपासझैँ हल्का बनाइदिएका थिए ।