• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
जेफ मोनाहान, हलिउड स्क्रिप्ट राइटर, प्रोडुसर
२०७६ भदौ १४ शनिबार १०:११:००
फिल्म

हलिउडको आँखा सुपर हिरोतिर

२०७६ भदौ १४ शनिबार १०:११:००

फिल्म

‘द लास्ट फ्ल्याग फ्ल्याइङ २०१७,’ ‘कार्पसिङ २०१३ र ‘लोन स्टार १९९६’ जस्ता फिल्म लेखन तथा निर्देशन गरिसकेका अमेरिकन स्क्रिप्ट राइटर जेफ मोनाहान ‘नेपाल फिल्म तथा कल्चर एकेडेमी’को सातदिने स्क्रिन राइटिङ वर्कसपमा प्रशिक्षण दिन नेपाल आएका थिए । उनीसँग ‘झन् नयाँ’का लागि राज सरगमले कुराकानी गरेका छन् । 

प्रायः हलिउड फिल्महरूमा ‘भिजुअल इफेक्ट’ प्रयोग गरिएको देखिन्छ । त्यसो गर्नुको कारण प्रविधिको पहुँच देखाउन खोजिएको हो कि मौलिक कथाहरू नपाएर हो ?

पछिल्लो दुई दशकयता अमेरिकामा १८ देखि २५ वर्षका युवाले धेरै फिल्म हेरेको देखियो । ती तन्नेरीहरूले धेरै ‘सुपर हिरो’का फिल्महरू हेरे । अमेरिकामा मौलिक फिल्महरू नबनेका होइनन्, बनेका छन् । त्यस्ता मौलिक फिल्महरू कमर्सियल हुन संघर्ष गरिरहेका छन् । निर्देशकहरू सुपर पावरको कथा भन्न चासो राखिरहेका छन् । नयाँ फिल्मकर्मीहरू साहित्यमा कम रुचि राखेको देखिन्छ । उनीहरू व्यापारिक सफलताका लागि फिल्महरू बनाइरहेका छन् । 

गम्भीर सिनेमाहरूले सुपर हिरोका फिल्मले झैं व्यापार गर्दैन भन्ने हो ?
सुपर हिरोका चमत्कारिक फिल्मको पहिलो उद्देश्य पैसा कमाउनु हो । राम्रो व्यावसायिक हुन खोज्नु हो । बजारमा जे चलिरहेको छ त्यसैलाई पछ्याउने हो । गम्भीर फिल्महरू पनि बनिरहेका छन् । तर, त्यस्ता फिल्महरू पब्लिसिटी हुन खर्चिलो भइरहेको छ । फिल्ममेकरले दर्शकले कस्तो फिल्म मन पराउँछन् भन्नेमा ध्यान त दिन्छ नै । हलिउडले त्यही व्यावसायिकतालाई नै पछ्याइरहेको छ । हलिउडको पहिलो जोड नै व्यावसायिक सफलता हो ।

हलिउडमा सामाजिक विषयमा एकदमै थोरै फिल्म बन्छन् भनिन्छ नि ? 
सामाजिक विषयमा फिल्म नबनेको होइन । तर, त्यसको पब्लिसिटी भने कम भएका कारण चर्चामा नआएका हुन् । फेरि बढी पैसा कमाउने फिल्मको नै बढी चर्चा हुन्छ । चर्चा हुन त्यहीअनुसारको खर्च पनि गर्नुपर्‍यो ।

हलिउड फिल्म मेकर्सले विश्वबजारलाई हेरेर फिल्म तयार गर्छन् कि अमेरिकन समाजलाई मात्रै हेरेर ?
हलिउडले अमेरिकन सोसाइटीलाई नै हेरेर फिल्म बनाइरहेको छ । बाहिरी समाजलाई धेरै प्राथमिकतामा राख्दैन । जस्तै मलाई नेपाल आउँदा नेपालको गुगलमा म्याप हेर्नुपर्‍यो । अमेरिकाभित्रै पनि अनेक विषय छन् । त्यहाँ पनि सानासाना गाउँ छन् । जसको कथा फिल्ममा देखिन आवश्यक छ । बिग बजेटमा बनेका फिल्मले साइन्स, वार र फेन्टासीलाई बढी ध्यानमा राखेर स्क्रिप्ट लेखेका छन् । 

आजको नयाँ पुस्ताले हलिउडमा कस्ता फिल्म बनाउन अपेक्षा राखेका छन् ?
मसँग पढ्न आउने विद्यार्थी सबैले फिल्म मेकिङमै लाग्ने सोचले आएका हुँदैनन् । केही विद्यार्थी भने फिल्ममा करिअर बनाउन चाहेका पनि हुन्छन् । प्रोफेसनल रूपमा कम विद्यार्थी हुन्छन् । कतिले यसलाई पार्टटाइमको काम बनाइरहेका छन् । 

हलिउडमा स्क्रिप्टमा लेखिएको संवादबाहेक सुटिङका क्रममा स्वयं एक्टरले सिर्जना गरेका संवादलाई कति स्विकारिन्छ ?
एक्टरले स्क्रिप्टभन्दा बाहिरको संवाद क्रियट गर्न खोज्नु स्क्रिप्टमा भएको संवादलाई घोक्न नचाहेको हुन सक्छ । वा लेखकले मिहिनेतका साथ लेखेको स्क्रिप्टमा कम विश्वासको वातावारण बनाउनु हो । तर, प्रोफेसनल एक्टरले स्क्रिप्टभन्दा बाहिर संवाद क्रेट गर्न चाहँदैनन् । कुनै डाइरेक्टरलाई एक्टरको पर्फमेन्समा विश्वास छ भने त्यो छुट दिन सक्छन् । तर, यस्तै हुनुपर्छ भन्ने नियमचाहिँ छैन । सकेसम्म स्क्रिप्टकै संवाद बोल्यो भने कथाको रिदम भत्किँदैन । हलिउडमा त जति नै बेस्ट कलाकारलाई पनि स्क्रिप्टभन्दा बाहिरको संवाद क्रेट गर्न छुट छैन । यस कुरामा डाइरेक्टर पनि निकै सचेत छन् । 

फिल्ममा दृश्य र संवादको अन्तरसम्बन्ध कस्तो हुन्छ ?
पहिलो कुरा भिजुअल बोलिरहेको छ भने संवाद आवश्यक छैन । ‘सिचुएसन’ र ‘प्रप्स’ले नै कथालाई अगाडि बढाइरहेको छ भने संवाद असान्दर्भिक हुन्छ । तर, हामीले कुन समाजको कथा भनिरहेका छौँ भन्नेमा ध्यान राख्न आवश्यक छ । जस्तै बन्दुक समाएर हान्न लाग्दा म मारिदिन्छु भन्नु बेकार छ । कुनै समाजमा मार्न खोज्दा मारिदिन्छु भन्दै चिच्याउने कल्चर छ भने त्यसलाई स्विकार्न पनि सकिन्छ । कल्चरले समाजको कथालाई कसरी डिल गरिरहेको छ, त्यसलाई ध्यानमा राख्नै पर्छ ।