
भाषामा अन्तर्निहित व्यवस्थालाई व्याकरण भनिन्छ । यस्तो अन्तर्निहित व्यवस्था पहिल्याउने सहज माध्यम सम्बन्धित भाषाको उच्चार्य रूप हो ।
विषय प्रवेश
संस्कृत व्याकरण सम्बन्धी चिन्तन परम्परामा पाणिनिको व्याकरणको सर्वोपरि स्थान छ । संस्कृतमा पाणिनीय व्याकरणको अध्ययनको लामो परम्परा रहेकाले त्यसको प्रभाव भारतीय उपमहाद्वीपका अन्य भाषाका व्याकरणमा परेको पाइन्छ । यस क्रममा परम्परागत नेपाली व्याकरण पनि यसबाट यथेष्ट रूपमा अनुप्राणित रहेको देखिन्छ । यति मात्र होइन, आधुनिक भाषा विज्ञानको अध्ययन तथा चिन्तनमा पनि संस्कृत व्याकरण चिन्तन परम्पराको प्रशस्त प्रभाव रहेको मानिन्छ ।
भाषामा अन्तर्निहित व्यवस्थालाई व्याकरण भनिन्छ । यस्तो अन्तर्निहित व्यवस्था पहिल्याउने सहज माध्यम सम्बन्धित भाषाको उच्चार्य रूप हो । त्यसैले व्याकरणमा अध्ययन अनुसन्धान गर्नेहरूले सम्बन्धित भाषामा प्रयुक्त उच्चार्य वर्णको पहिचानबाट आफ्नो अध्ययनको प्रारम्भ गर्नुपर्ने हुन्छ । यसरी वर्णहरूको पहिचानलाई आधुनिक व्याकरणिक अध्ययनको प्रस्थान बिन्दु मानिन्छ । यस लेखमा उल्लिखित अवधारणाका आधारमा व्याकरणमा पाणिनीय परम्परा र नेपाली व्याकरणको छोटो तुलनात्मक समीक्षा प्रस्तुत गरिने छ । साथै परम्परागत नेपाली व्याकरण र आधुनिक नेपाली व्याकरणका बिचको भिन्नता दर्साउने प्रयास गरिन्छ ।
व्याकरणमा पाणिनीय परम्परा
पाणिनिको व्याकरण संस्कृत भाषाको ध्वन्यात्मक एवम् वर्णात्मक व्यवस्थाको अध्ययनबाट प्रारम्भ भएको देखिन्छ । यो व्याकरण माहेश्वर सूत्रहरूबाट सुरु हुनु नै यसको पहिलो प्रमाण हो । माहेश्वर सूत्र निम्नानुसार छन् :
अच्/स्वर : अइउण्, ऋलृक् एओङ्, ऐऔच् ।
(अइउऋलृृएओऐऔ)
हल्/व्यञ्जन ः हयवरट्, लण्, ञमङणनम्, झभञ्, घढधष्,
जबगडदश्, खफछठथचटतब्, कपय्, शषसर्, हल् ।
(हयवरलञमङणनझभघढधजबगडदखफछठथचटतकपशषस)
यी चौध ओटा सूत्रमा उल्लिखित अच् र हल्/स्वर र व्यञ्जन वर्णहरूलाई शिव/महेश्वरका डमरुको ध्वनिबाट प्राप्त भएको भनिएको छ । यसबाट के स्पष्ट हुन्छ भने संस्कृत व्याकरणको उपस्थापन त्यस भाषाका स्वर र व्यञ्जनका उच्चार्य वर्णहरूबाट भएको छ । यिनै सीमित उच्चार्य वर्णबाट संस्कृत भाषाका शब्द भण्डारको विशाल महल खडा भएको देखिन्छ । त्यसैले पाणिनि परम्पराका व्याकरण ग्रन्थहरू (लघु कौमुदी, मध्य कौमुदी र सिद्धान्त कौमुदी) मा सबभन्दा पहिले स्वर र व्यञ्जन सम्बन्धी उक्त चौध सूत्रको उल्लेख गरिएको हुन्छ । त्यसपछि ती वर्णहरूको उच्चारण स्थान, प्रयत्न, घोषत्व, प्राणत्व आदिको वर्णन पाइन्छ । यिनको वर्णनपछि वर्ण संयोजनको अवस्थामा देखा पर्ने सन्धि नियमहरू (अच्, हल् र विसर्ग) को चर्चा गरिएको हुन्छ । त्यसपछि शब्दहरूको रुपायन, व्युत्पादन प्रव्रिmयाका साथै वाक्यमा कारकहरूको स्थिति समेतको वर्णन गरिएको देखिन्छ ।
उल्लिखित चर्चाबाट के स्पष्ट हुन्छ भने संस्कृत व्याकरणको निर्माण भाषाको उच्चार्य स्वरूपलाई आधार मानेर भएको छ । यस व्याकरणको व्याकर्तव्य एवम् वर्णनीय स्वरूप उच्चार्य भाषासँग सम्बन्धित छ । यस्तो हुनुको कारण त्यस वेला भाषा भन्नु नै उच्चार्य रूप थियो । संस्कृतमा भाष् धातुको अर्थ हुन्छ बोल्नु, यस्तै वाक्, वाणी शब्दले पनि यही बोलीलाई जनाउँछन् । यसबाट पनि त्यस वेला लेख्य रूपको प्रचलन तथा व्यापकता नभएको अवस्थाको सहजै अनुमान गर्न सकिन्छ । यही कारणले साधारण जनलाई व्याकरणमा उच्चार्य वर्णहरूको महिमा बुझाउन ती वर्णहरूलाई महेश्वरको डमरुबाट निःसृत ध्वनि भनिएको बुझिन्छ । पाणिनिको समय इस्वीपूर्व पाँचौँ शताब्दीतिर मानिन्छ । त्यतिखेर दक्षिण एसियाली उपमहाद्वीपमा विकास भएको मानिने ब्राह्मी लिपिको प्रचलन पनि सीमित रूपमा वा नगण्य रूपमा रहेको अनुमान हुन्छ । किनभने ब्राह्मी लिपिको प्रयोग भएको प्रमाण इस्वीपूर्व तेस्रो शताब्दीतिर मात्र पाइएको छ । नेपालमा भेटिएको लुम्बिनीको अशोक स्तम्भमा उत्कीर्ण ब्राह्मी लिपिलाई त्यस वेलाको उत्तर भारतको पनि प्रामाणिक अभिलेख मानिन्छ ।
उच्चार्य भाषाका आधारमा व्याकरण निर्माण गर्ने परम्परा संस्कृतमा मात्र होइन, त्यसपछि विकसित प्राकृत भाषाहरूमा पनि प्रचलनमा रहेको पाइन्छ । यी भाषाका व्याकरणहरूको निर्माणमा पनि तत्कालीन बोलीचालीको रूपलाई नै आधार मानिएको देखिन्छ । यसरी यस उपमहाद्वीपमा संस्कृत र प्राकृत भाषाहरूमा व्याकरण निर्माण गर्ने तथा तत्सम्बन्धी चिन्तन गर्ने लामो परम्परामा भाषाको उच्चार्य रूप नै सर्वोपरि रूपमा स्थापित भएको कुरा तत् तत् भाषाहरूको व्याकरणिक इतिहास र अझ वैदिक इतिहासबाट पनि जानकारी मिल्छ । वेदलाई श्रुति भनिनु र त्यसको सही उच्चारण सुरक्षित राख्न वैदिक व्याकरण (जसलाई प्रातिशाख्य भनिन्छ) को निर्माणको परम्परा रहेबाट पनि यस कुराको पुष्टि हुन्छ ।
संस्कृत व्याकरण चिन्तनमा लिपिलाई महत्त्व दिएर चर्चा गरिएको भेटिँदैन । संस्कृतमा जे जति वर्णहरूको उल्लेख भएको छ, तिनको उच्चार्य स्वरूप पहिचान भएपछि नै तिनको लेख्य चिह्न निर्धारित भएको हो । त्यसैले संस्कृतमा उच्चारण र लेख्य रूपमा एकानुरूप सम्बन्ध वा एकरूपता रहेको मानिन्छ । यही कारण संस्कृत पढ्नेहरूका लागि यस्तो कथन प्रचलित छ : यद्यपि बहुनाऽधिषे पठ पुत्र व्याकरणम्, स्वजनः श्वजनो माऽभूत् सकलं शकलं सकृत् शकृत् । यसको अर्थ हुन्छ; धेरै नपढे पनि व्याकरण पढ, जसबाट स्वजन र श्वजन, सकल र शकल, सकृत् र शकृत् जस्ता शब्दको उच्चारणमा गल्ती नहोस् । स्मरणीय छ, नेपालीमा यी शब्दहरूका बिच उच्चारणमा सहज भिन्नता पाइँदैन तर तत्समका नाताले यस्ता शब्दको लेख्य रूपमा भने स र श भिन्नता देखाउने गरिएको भेटिन्छ । यसलाई आधार मानेर नेपालीमा पनि श र सका बिच उच्चारणको पनि भिन्नता खोज्नु वस्तुगत र तर्क सङ्गत देखिँदैन ।
व्याकरणको व्याकर्तव्य स्वरूपमा भिन्नता
संस्कृत तथा प्राकृत भाषाका व्याकरणको व्याकर्तव्य वा वर्णनीय स्वरूप उच्चार्य रूपलाई मान्ने परम्परा रहे पनि उत्तरवर्ती कालखण्डमा आधुनिक भाषाका परम्परागत व्याकरणको निर्माणमा भने यस कुराको व्रmमभङ्ग भएको देखिएको छ । यसो हुनुको मुख्य कारणमा लेख्य भाषालाई महत्त्व दिने दृष्टिकोणको प्रभाव रहेको बुझिन्छ । नेपाली परम्परागत व्याकरणमा संस्कृत तथा प्राकृत भाषाका व्याकरणमा जस्तो उच्चार्य वर्णहरूको पहिचानलाई पहिलो प्राथमिकता दिएको नपाइनु यसको प्रमाण हो । यसरी व्याकरण निर्माणका दुई धार देखिन्छन् :
(१) उच्चार्य वा कथ्य भाषालाई व्याकर्तव्य भाषा मान्ने
(२) लिपि वा लेख्य रूपलाई बढी महत्त्व दिने
पहिलो दृष्टिकोण अनुसार व्याकरणको निर्माण पाणिनिको संस्कृत व्याकरणबाट आरम्भ भएको हो । यस्तो परम्परा आधुनिक भाषा विज्ञानसँग मिल्दोजुल्दो रहेको छ । किनभने आज विश्वमा जे जति अलिखित भाषाहरू छन्, तिनको अध्ययन तथा व्याकरण निर्माण यसै आधारबाट भएको पाइन्छ । यस किसिमको व्याकरण निर्माणका क्रममा पहिले भाषाको उच्चार्य रूपबाट सामग्री सङ्कलन गरिन्छ । अनि उक्त सामग्रीबाट सम्बन्धित भाषाहरूका वर्णहरूको पहिचान र तिनको उच्चार्य स्वरूपको वर्णन गरिन्छ । त्यसपछि ती वर्णहरूको संयोजन, अक्षर संरचना, वर्ण सन्धिको वर्णनका साथै क्रमश: रूप रचना तथा वाक्य रचना आदिका विशेषताबारे प्रकाश पारिएको हुन्छ । यस खालको भाषा वैज्ञानिक व्याकरणको पहिलो ग्रन्थ नै पाणिनिको अष्टाध्यायी हो । त्यसैले विश्वका भाषा वैज्ञानिकहरूले यस ग्रन्थलाई भाषा वैज्ञानिक अध्ययनका दृष्टिले सर्वोत्कृष्ट ग्रन्थ मानेका छन् र पाणिनिलाई भाषा विज्ञानका पिता पनि मानिन्छ ।
दोस्रो दृष्टिकोणले सम्बन्धित भाषामा प्रचलित लिपि वा लेख्य रूपलाई बढी महत्त्व दिने गर्छ । यसले प्रचलित लिपिलाई महत्त्व दिने हुँदा यसमा भाषाको उच्चार्य स्वरूप ओझेलमा परेको हुन्छ अथवा भाषाको उच्चार्य रूप गौण हुन पुग्छ । यस्तो दृष्टिकोणमा अङ्ग्रेजी परम्परागत व्याकरणको व्यापक प्रभाव रहेको देखिन्छ । उक्त प्रभावको निरन्तरता ग्रिक, ल्याटिन भाषाबाट अङ्ग्रेजीको परम्परागत व्याकरणमा परेको र अङ्ग्रेजीको अध्ययनको परम्परा भारतीय उपमहाद्वीपमा प्रारम्भ भएपछि त्यसको प्रभाव पहिले बङ्गाली, मराठी, हिन्दी भाषाका व्याकरणहरूमा हुँदै नेपाली भाषाका व्याकरणमा पनि भित्रिएको बुझिन्छ । किनभने यी भाषामा सबभन्दा पहिले व्याकरण लेखनको प्रारम्भ अङ्ग्रेज विद्वान्हरूबाट भएको देखिन्छ । त्यसपछि मात्र व्याकरण लेखनमा तत् तत् भाषाका विद्वान्हरूको प्रवेश भएकाले पनि पछिल्ला चरणमा अङ्ग्रेजी परम्पराबाट स्थापित व्याकरण ढाँचाको प्रभाव यिनमा परेको हो । वस्तुतः पश्चिमी परम्परामा ‘ग्रामर’ भनेको ग्रिक भाषाको ‘ग्रामाटिक’ शब्दबाट आएको मानिन्छ । ग्रिकमा यसको मूल अर्थ हुन्छ– ‘आर्ट अफ लेटर’ अक्षर विन्यास/लेख्य विन्यास अर्थात् लेखन सम्बन्धी कला । यसरी पश्चिममा ग्रिक, रोमन परम्परा हुँदै अङ्ग्रेजीमा भित्रिएको परम्परामा व्याकरण निर्माण स्पष्ट रूपमा लेख्य विन्याससँग जोडिएको देखिन्छ ।
यद्यपि लिपिले अलिखित भाषा वा भाषाको ध्वन्यात्मक स्वरूपलाई लेख्य रूप दिन सहयोग गर्छ । लिपिको आविष्कारले मानवीय अनुभव तथा ज्ञानको सुरक्षण, संरक्षण तथा प्रचार प्रसार गर्न मदत गरेको कुरामा कुनै दुईमत छैन तापनि जहाँसम्म भाषाको मौलिक विशिष्टताको प्रश्न छ, त्यसका दृष्टिले लिपि बाह्य पोसाक मात्र हो । लामो लेख्य परम्परा भएका लिखित भाषामा केही आफ्ना थप विशेषता हुन सक्छन् । तिनको स्वरूप र शैलीको वर्णन गरिनु अर्को पक्ष हो तर भाषाको प्राथमिक एवम् मूलभूत पक्षको पहिचानका दृष्टिले कथ्य भाषाको महत्त्व सर्वोपरि हुन्छ । पहिले मूलभूत पक्ष उद्घाटित हुनु आवश्यक छ, अनि त्यसका जगमा विकसित अन्य पक्ष पहिल्याउनु र परख गर्नु उचित हुन्छ ।
कुनै पनि भाषाको विकास भएपछि नै लिपिको विकासको प्रसङ्ग आउँछ । पहिले लिपि, अनि भाषाको अवधारणा पाणिनिको संस्कृत व्याकरणका लागि र अझ संसारका सम्पूर्ण अलिखित भाषाका सन्दर्भमा स्वतः खण्डित हुन्छ । किनभने संस्कृत व्याकरणको स्वरूप उच्चार्य व्यवस्थाबाट उठान हुनु नै यसको पहिलो ज्वलन्त प्रमाण हो । पाणिनिको समयमा उत्तर भारतमा कुनै लिपिको प्रचलन भएको पक्का प्रमाण फेला नपर्नु पनि यस कुरालाई पुष्टि गर्ने अर्को आधार हो ।
नेपालीका परम्परागत व्याकरणको स्वरूप
परम्परागत नेपाली व्याकरणमा सुरुमा वर्ण विचार भनी देव नागरीमा प्रचलित लिपिचिह्नहरूको विवरण प्रस्तुत गरिएको पाइन्छ । उदाहरणका लागि पण्डितराज सोमनाथ शर्माको ‘मध्य चन्द्रिका’मा वर्ण विचार भनी नेपाली वर्णहरूका रूपमा संस्कृत वर्णमालाका सबै लिपिचिह्नहरूलाई लिइएको छ (हेर्नू : मध्यचन्द्रिका ) । त्यसमा उक्त सबै लिपिचिह्नहरूको उच्चारण स्थानको पनि संस्कृत व्याकरणमा भनिए अनुसार नै यथावत् उल्लेख गरिएको छ । नेपाली भाषामा यीमध्ये के कति वर्ण उच्चार्य हुन्, के कति लेख्य मात्र हुन् भन्ने विषयमा केही भनिएको वा टिप्पणी समेत गरिएको भेटिँदैन । यिनमध्ये नेपालीमा उच्चारण पनि हुने र उच्चारण नहुने तर लिखित रूपमा मात्र प्रचलनमा रहेका वर्णहरूको पहिचानबारे लामो समयसम्म अन्योल कायम रहेको बुझिन्छ । त्यस वेला यस भ्रमलाई चिरफार गर्नेतिर भाषामा चासो राख्ने अधिकांश विद्वान्हरूले ध्यान नदिएको अथवा यसबारे मौन रहेको देखिन्छ । यसरी नेपाली भाषामा लेखिएका परम्परागत व्याकरणमा वर्ण विचारका सन्दर्भमा कथ्य भाषाका विशेषतालाई पूर्णतः बेवास्ता गरिएको स्पष्टतः देख्न सकिन्छ ।
आधुनिक नेपाली व्याकरण
यस क्रममा नेपाली भाषा प्रकाशिनी समितिका अध्यक्ष तथा कोशकार पुष्कर शमशेरले भने वि.सं. २००८ मा नेपाली भाषामा उच्चारण भन्ने एक लेखमा नेपालीमा लेखिने श/ष/स मध्ये एउटा स मात्र उच्चारण हुने आदि नेपाली भाषाका केही उच्चार्य विशेषताहरूको खुलेर केही विस्तारका साथ चर्चा गरेका छन् । पछि प्रा. बालकृष्ण पोखरेल, प्रा. शिवराज आचार्य, प्रा. बल्लभमणि दाहाल, प्रा. चूडामणि बन्धु आदि विद्वान्ले नेपाली कथ्य/उच्चार्य रूपको अध्ययन तथा चर्चा गर्न थालेपछि यस पृष्ठभूमिमा आधुनिक भाषा वैज्ञानिक अवधारणाका आधारमा व्याकरण लेख्ने उपक्रम प्रारम्भ भएको देखिन्छ । यस सिलसिलामा वि.सं. २०४९ मा समसामयिक नेपाली व्याकरण प्रकाशनमा आयो । यसले भाषाको उच्चार्य वर्ण व्यवस्थाको वर्णनका क्रममा उच्चार्य र लेख्य दुवैमा प्रचलित र लेख्यमा मात्र प्रचलित वर्णहरूबारे विस्तारका साथ चर्चा गर्दै नेपाली व्याकरणका सबैजसो पक्षको विस्तृत वर्णन गरेको छ । वि.सं. २०५१ देखि विश्व विद्यालयका पाठ्यक्रमहरूमा नेपाली भाषाका उच्चार्य वर्णहरू समेत समावेश भएकाले त्यसपछि लेखिएका सबैजसो व्याकरणहरूमा यसको चर्चाले स्थान पाउन थालेको पाइन्छ । यसरी पाणिनीय परम्पराबाट प्रारम्भ भएको कथ्य भाषाका जगमा व्याकरण लेख्ने प्रचलनसँग क्रमभङ्ग भएको नेपाली व्याकरण परम्परालाई तालमेल मिलाउन र नेपाली व्याकरणलाई सही मार्गमा ल्याउन केही सहज हुँदै गएको छ ।