
सन्दर्भ : तिज
दिदीकी छोरीको रजस्वला सुरु भयो, गत साता । केहीदिन आराम गरेपछि अस्ति बुधबार बिहान छोरीले मुस्कुराउँदै भनी, ‘आन्टी ! यसपालि त म पनि व्रत बस्ने हो तिजमा !’ भर्खर १२ वर्ष पुग्दै गरेकी ऊ तिजबारे उत्साही छे ।
‘किन नि ? के हुन्छ र व्रत बसेर ?’– म ।
‘त्यो त था’ छैन । मामु, माइजूहरू सबैजना बस्नुहुन्छ नि त ! अनि हजुर किन व्रत बस्नुहुन्न, आन्टी ?’ सायद उसले बितेका वर्षमा म व्रत नबसेको सम्झी । यस्तो देख्दै हुर्केकी उसको जिज्ञासा स्वाभाविक पनि थियो ।
‘त्यत्तिकै’, मैले कुराकानीको बिट मारेँ । उसका जिज्ञासु आँखाले मलाई पछ्याइरहे । रजोदर्शन भएपछि तिजको व्रत बस्ने चलनबारे उसले थाहा पाइसकेकी रहिछे । नाचगानमा रुचि राख्ने उसलाई तिजको यस पक्षले पो बढी आकर्षित गर्यो कि !
झन्डै बीस वर्षअघि म पनि त यस्तै थिएँ । तिजको एक, दुई दिनअघिबाटै गाउँमा बेग्लै रौनक छाउँथ्यो । राता सारी लगाएका महिला स–साना नानी–बाबु बोक्दै, डोर्याउँदै माइतीतिर हिँडेको देखिन्थ्यो । गाउँमा कसको घरमा को आइपुग्यो, को–को आउन बाँकी छ र यस वर्ष को आउन नपाउने भयो भन्ने सबै कुरा थाहा हुन्थ्यो ।
गाउँमा दिदी–फुपूहरूले ल्याएका चक्लेट बिस्कुटहरू, दर खाने दिनको तयारी, धेरै समयपछि भेट भएका दिदी–बहिनीका कुराकानी, गीत र नाचहरू आदिसँग हामी केटाकेटी खुबै रमाइलो मान्थ्यौँ । रातो सारीमा चिटिक्क सजिएका दिदीहरू देख्दा तिजसँगको मेरो आकर्षण उखरमाउलो किसिमले बढ्थ्यो । हो, ती वर्षमा नै त हो मैले आफू पनि व्रत बस्न आमासँग करकर गरेको । त्यतिखेर आमाले भन्नुभएको थियो ‘पर सर्न थालेपछि बस्लिस् व्रत !’
तर पर–सर्ने कसरी ? आमा दिदीहरू ‘पर सरेको’ भनेको सुनेकी नै थिएँ । ‘पर सरेका’ वेला आमाहरू भान्साकोठा, पूजाकोठा कतै पस्नु हुन्थेन । दलिनको कोठामा छुट्टै सुत्नुहुन्थ्यो । त्यतिखेरसम्म खासमा पर–सर्नु वा छुई हुनु के हो, मलाई थाहा थिएन । तिजको व्रतकै रहरले त हो मैले त्यो वर्ष आमासँग पर सरेको कुरा गरेँ । आमाले सहजै पत्याउनुभयो । त्यो वेला पहिलोपटक पर सरेपछि घरमा बस्न पाइन्थेन । क्षेत्रिनी आमाकोमा लुक्न पठाइयो । तीन दिनसम्म त नुन नहालेको खाना खानु परेपछि मलाई साह्रै दिक्क लाग्यो । घाम तथा केटा मान्छे देख्न नहुने र बोल्न पनि नहुने भनिएको थियो । यो उपक्रम तेस्रोपटक पर सर्दासम्म गर्नुपर्ने कुरा थाहा पाएँ । मैले झुट बोलेको भन्न मन लागेको थियो, तर भन्न सकिनँ ।
यसरी झन्डै १२ दिनसम्म क्षेत्रिनी ठुलीयाँको घरमा लुकेपछि बल्ल घर आउन पाएँ । तर, त्यो झुटले व्यहोर्नुपरेको सास्तीले अब कहिल्यै झुट बोल्दिनँ भन्ने मनमा लागिरह्यो । नभएको महिनावारी बार्दा भोगेको अप्ठ्यारोले अब भने मलाई साँच्चैको महिनावारी सम्झेर दिक्क लागिसकेको थियो ।
यसरी महिनावारी भएको अभिनय गरेको ३–४ महिनापछि मेरो रजोदर्शन भयो । यसपटक भने खुट्टा करकर खाने, तल्लो पेट कटक्क दुख्ने, रिंगटा लाग्ने भयो । आफ्नै शरीरबाट बगेको रातो रगत देखेपछि मनै काँतर भएर आयो । मैले आफूलाई थाम्नै सकिनँ । आमाको अगाडि क्वाँक्वाँ रुन थालेँ । पहिलोपटक पर सर्दा हाँसीखुसी रहेकी छोरी दोस्रोपटकको पालोमा भक्कानिएर रोएकी देखेपछि आमा आत्तिनुभयो । कतिलाई दोस्रोपटकमा यस्तै गाह्रो हुन्छ, पछि बिस्तारै ठीक हुन्छ भनेर ठूलीयाँले सम्झाएपछि आमा पनि शान्त हुनुभयो, मेरो पीडा पनि अलि कम भएजस्तो लाग्यो ।
महिनावारी भएको अभिनय गरेको ३–४ महिनापछि मेरो रजोदर्शन भयो । यसपटक भने खुट्टा करकर खाने, तल्लो पेट कटक्क दुख्ने, रिँगटा लाग्ने भयो । आफ्नै शरीरबाट बगेको रातो रगत देखेपछि मनै काँतर भएर आयो । मैले आफूलाई थाम्नै सकिनँ । आमाको अगाडि क्वाँक्वाँ रुन थालेँ । पहिलोपटक पर सर्दा हाँसीखुसी रहेकी छोरी दोस्रोपटकको पालोमा भक्कानिएर रोएकी देखेपछि आमा आत्तिनुभयो ।
त्यसपछि आएको तिजमा म पनि व्रत बसेँ । ऋषिपञ्चमीमा भुड्के पूजा पनि गरेँ । ऋषिपञ्चमीका दिन खोलामा गएर दत्तिवन लगाउने र नुहाउने प्रक्रियाहरू सम्झेर कताकता अनौठो, अप्ठ्यारो लाग्थ्यो । खोला किनारमा नाम मात्रको पहिरनमा लहरै बसेर यौनांगलगायत अन्य अंगहरूको सफाइ गरिरहेका महिलाहरू देखेर कताकता असजिलो लाग्थ्यो । आफूले चाहेजस्तो पति पाउन तथा पतिको सुस्वास्थ्य र दीर्घायुका लागि व्रत बस्ने भनेको सुन्दा भने मलाई अनौठो काउकुती लागेर आउँथ्यो । यो उपक्रम केही वर्ष चलिरह्यो ।
चाडबाडहरू त्यस्तै थिए, मनाउने शैली त्यस्तै थियो । तर, उमेर बढ्दै गयो, सँगै पढाइ र बुझाइ पनि । बिस्तारै केही चलनप्रति असहमति जनाउथेँ । चित्त नबुझेको कुरामा प्रश्न उठाउने स्वभाव बनिसकेको थियो । त्यसैवेलाको गाउँकै एउटा घटनाको छाप ममा कहिल्यै नमेटिने गरी पर्यो ।
धर्मप्रति गाउँकै सुमित्रा (नाम परिवर्तन) कार्कीको अगाध आस्था थियो । पूजापाठ, व्रत आदिमा साह्रै मन लगाउनुहुन्थ्यो । हप्तामा झन्डै तीन दिन त विभिन्न बारको नाममा उहाँका व्रत हुन्थे । सोमबारे व्रत, मंगलबारे व्रत आदिका अतिरिक्त एकादशीलगायतका अन्य दिनमा पनि उहाँ व्रत बस्नुहुन्थ्यो । तिज, ऋषिपञ्चमी, शिवरात्री, श्रीस्वस्थानी जस्ता समयमा त उहाँको व्रत अनिवार्य भइहाल्यो । यस्ता व्रत तथा पूजापाठमा उहाँको पूर्ण लगाव तथा विश्वास थियो । उहाँका व्रत तथा पूजापाठहरू काकाको सुस्वास्थ्य र दीर्घायूका लागि थिए, काकी त्यसै भन्नुहुन्थ्यो ।
तर, यी सबका बाबजुद पनि सुमित्रा काकीका श्रीमान् चालीस वर्ष नपुग्दै स्वर्गे हुनुभयो । र, धर्मभिरु काकी ३५ वर्षे उमेरमै विधवा हुनुभयो । काकामा रक्सीको लत त थियो तर यति चाँडै बित्नुहोला भनेर गाउँमा कसैले अनुमान गरेको थिएन । हप्तामा झन्डै चार दिन त फलाहार मात्र गर्ने काकी अझै हट्टाकट्टा हुनुहुन्छ, तर उहाँले जसका लागि व्रत बस्नुहुन्थ्यो, उहाँको अल्पायुमा नै मृत्यु भयो । यस्ता केही घटनाका प्रत्यक्ष साक्षी भएपछि तथा अध्ययनको दायरा बढ्दै गएपछि व्रत तथा पूजाआजामा मेरो विश्वास बिस्तारै हराएर गयो । तिजलगायत व्रत बस्न छोडिदिएँ ।
उनै काकीकी छोरीसँग मैले गत वर्ष उनकी आमाको व्रत र बुबाको अल्पायुमै भएको निधनबारे कुरा गरेकी थिएँ । ‘यदि बुबाले पनि व्रत र धर्मको नाममा भए पनि अभक्ष खाने नगरेको भए ... !’ यसो भन्दै गर्दा उनका आँखा आँसुले भरिएका थिए । उनको यो कुरापछि भने मलाई हाम्रा संस्कृतिहरू राम्रा र नराम्रा भन्नुभन्दा पनि तिनलाई हामीले कसरी लिएका छौँ भन्नेले फरक पार्ने रहेछ भन्ने लाग्न थाल्यो ।
संस्कृतिको कुरो
धेरै लामो समयसम्म समुदायले गरेको अभ्यास नै संस्कृति हो । परम्परा र संस्कृतिहरू हाम्रा जीवनयापनका पद्धतिसँग जोडिएका हुन्छन् । यसमा समाजका आर्थिक, सामाजिक तथा धार्मिक सम्बन्ध तथा कानुनको पनि प्रभाव हुन्छ । लामो समयको अभ्यासपछि सायद यो धर्म बन्न जान्छ । अन्य संस्कृतिसँगै तिजको सन्दर्भमा पनि यो लागू हुन्छ । यस्ता परम्परा र संस्कृति अकाट्य र अपरिवर्तनीय भने हुँदैनन् । आर्थिक तथा सामाजिक अवस्थामा परिवर्तनसँगै हाम्रा मान्यता र संस्कृतिमा पनि परिवर्तन आउँछन्, यो प्राकृतिक हो । तिज मनाउने सन्दर्भमा आएको परिवर्तन पनि त्यसैअनुरूप आएको हो । यसमा अन्यथा मान्नु पर्दैन ।
समाज कृषिप्रधान थियो, मान्छेका अधिकांश समय खेतबारीमा श्रम गरेर बित्थे । कृषिकर्मका अतिरिक्त घरायशी काम जस्तै– बच्चा हुर्काउने, खाना बनाउने तथा सरसफाइ जस्ता काममा पनि व्यस्त हुनुपर्नाले महिलाहरूलाई खासै फुर्सद मिल्दैनथ्यो । विश्राम र मनोरञ्जन नै चाडबाड मनाउनुको आधार हुन सक्छ । तिज मनाउने सुरुवाती सन्दर्भ पनि यही नै थियो सायद ।
बिहे गरेर टाढा पुगेका छोरीहरूलाई आमाबुबाको नियास्रो लाग्ने हुँदा एकाध दिन भने पनि माइतीसँग भेट्ने अवसरका लागि तिज मनाउने परम्परा सुरु गरिएको थियो सायद । तर, अहिले जीवनशैली केही फेरिएको छ । निर्वाहमुखी कृषि अर्थतन्त्रमा परिवर्तन आएको छ । नारीहरूले गर्नुपर्ने श्रमको चरित्रमा परिवर्तन आउन थालेको छ । महिलाहरू आर्थिक उपार्जनमा संलग्न हुन थालेका छन् । मागी बिहे गरेका तर वैवाहिक जीवनसँग असन्तुष्ट छोरीहरू आमाबुबासँग गुनासो पोख्ने अवसरका रूपमा पनि लिन्थे तिजलाई । सूचना प्रविधिको विकासले छोरीहरूलाई जीवनका खुसी तथा गुनासा सुनाउन तिज नै कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
तिजका गीतहरू
हाम्रो समाजमा लामो समयसम्म मागी बिहेको चलन थियो । अहिले प्रेमबिहे गर्नेको संख्या बढ्दै गएको छ । प्रेमबिहे गर्नेहरूले बिहे कहिले र कोसँग गर्ने भन्ने निर्णय आफैँ गर्ने हुँदा वैवाहिक जीवनका असन्तुष्टि वा गुनासो अभिभावकसँग गर्दैनन् । त्यसैले होला सायद तिजमा पहिले–पहिलेजस्तो वैवाहिक जीवनका गुनासा र पारिवारिक माहोलका असन्तुष्टि बोकेका बिलौना र गुनासाका गीत आजभोलि कम गाइन्छन–बज्छन् । परम्परागत गीतका सट्टामा भड्किला नृत्य र उत्ताउला गीतहरूले तिजको बजार तताएका छन् । यसैलाई कतिपयले विकृति भन्ने गरेका छन्, यसमा आंशिक सत्यता भने जरुर छ ।
पछिल्ला वर्षमा आएका गीतमा अश्लील र दोहोरो अर्थ लाग्ने शब्दको प्रयोग बढ्दै गएको छ । इन्टरनेटमार्फत सहज पहुँच बनेको बजारमा यस्ता शब्दको आडमा भ्युअर्स बढाउने धुनमा लागेका छन् कलाकारहरू । वास्तवमा उनीहरू कलाकार कम र बढ्ता व्यापारी लाग्छन् । यो प्रवृत्तिबाट तिजका गीत पनि अछुतो छैनन् । तिजको छेकोमा बजारमा आएका ‘भिजुअल’ गीतहरूका शब्द र नृत्यका भंगिमा हेर्दा केही कलाकारले तिजलाई ‘सांस्कृतिक प्लाटफर्म’ होइन ‘विकृतिको व्यापार प्लाटफर्म’ बनाए भन्न हिच्किचाउनु पर्दैन ।
तिजको आर्थिक पाटो
पछिल्ला केही वर्षदेखि तिजको सेरोफेरोमा पार्टी प्यालेसमा हुने भिडभाड तथा दुई–तीन महिनाअघिदेखि हुने यस्ता कार्यक्रमको आलोचना हुँदै आएको थियो । त्यसो त यस वर्ष केही कम भएको भन्ने सुनिन्छ । तिजको नाममा गहना र लुगाफाटोको प्रदर्शनको होडबाजी होस् वा झन्डै दुई महिना नाचगान र खानपिनमा खर्चिने प्रवृत्ति आलोचनायोग्य नै हुन् ।
अन्य चाडबाडको समयजस्तै तिजमा पनि बजार अलि गतिशील हुने गर्छ । चलायमान बजार अर्थतन्त्रका लागि सकारात्मक संकेत हो । तर, व्यक्तिगत रूपमा हेर्दा तिजको अवसरको चमकधमकपूर्ण बजारले आडम्बरको कहालीलाग्दो अवस्था देखाउँछ । मेरी आफ्नै दिदी विविध आधा दर्जन समूहमा आबद्ध हुनुहुन्छ । उहाँहरूले यस वर्षको तिजका लागि आधा दर्जन नै सारीहरू किन्नुभयो र त्यहीअनुसारको अन्य लुगा तथा गहना पनि । उहाँका अनुसार तिजमा विभिन्न ‘थिम’ बनाउने र त्यसैअनुसारको समान रंग र गुणस्तरका लुगा तथा गहना लगाएर भेला हुने, नाचगान गर्ने तथा दर खाने कार्यक्रमको ट्रेन्ड आएको छ । सायद विगतका केही वर्षदेखि यस्तै थियो कि ? यो ट्रेन्ड बढ्दै गएको मेरा साथीहरू पनि बताउँछन् । त्यस्तै, म कार्यरत अफिसमा झन्डै ३० जना महिला कर्मचारी छन् । सबैजसोले वर्षैपिच्छे उपहारको रूपमा कमसेकम चुरा, पोते जस्ता सामान साटासाट गर्छन् । वर्षको एक दिनभन्दा बढी उपयोग नगरिने यस्ता सामानको उपादेयता के ? त्यस्तै पार्टी प्यालेसमा होस् वा पालैपालो घरघरमा दरको नाममा हुने ‘ग्यादरिङ’ मा वाइनलगायतका विदेशी ब्रान्डका रक्सीहरू अनिवार्यजस्तै बनेका छन् । यस्ता वस्तुमा हुने खर्च अनावश्यक हो, फजुल हो, विकृति हो र देशकै प्रमुख समस्याको रूपमा रहेको व्यापार–घाटाको एक कारक हो ।
अबको बाटो
संस्कृति हाम्रो सभ्यता हो, हाम्रो विकासक्रम हो । समाज विकासको प्रक्रियामा सहउत्पादनका रूपमा विभिन्न विकृतिको पनि जन्म भयो र ती झ्यांगिँदै गएका छन् । पुरुषवादी सामाजिक संरचनामा संस्कृतिको नाममा विद्यमान विकृतिले नेपाली महिला वर्षौँदेखि पिल्सिएका थिए । चेतनाको विकाससँगै सचेत महिलाले त्यस्ता विकृतिविरुद्ध आवाज उठाउन थाले । तर, कतिपयले विकृतिविरुद्ध बोल्ने नारीहरूलाई घरभँडुवा र समाज भँडुवाको आरोप लगाउँछन् ।
विभेदकारी संरचना र संस्कृतिबाट पीडितहरूले विद्रोही आवाज उठाउनु स्वाभाविक हो । शासनसत्तामा रहेकाहरू संघर्षमा लागेको इतिहास छैन । प्रणालीबाट लाभान्वितहरू प्रणालीविरुद्ध आवाज उठाउँदैनन्, धाबा बोल्दैनन् । जो शोषित छ, पीडित छ, उसैले न्यायका लागि आवाज उठाउँछ, यो संघर्षको सार्वभौम नियम हो । त्यसैले लैंगिक समानताका लागि महिलाले आवाज उठाउनु स्वाभाविक हो । समतामूलक समाज निर्माणका लागि सचेत पुरुषले सचेत ढंगले नै महिलाहरूको होस्टेमा हैंसे गर्नैपर्छ ।
र अन्त्यमा, म संस्कृतिको सम्मान गर्छु तर विकृतिको पक्षमा उभिन्न । म तिज मान्दिनँ तर समयचेतअनुसार तिज मनाउनुलाई अन्यथा मान्दिनँ । स्वास्थ्य विज्ञानले आवश्यक ठहर्याएको समय–समयको निराहार, अल्पहार वा फलाहारलाई अनुशरण गर्छु । तिजमा व्रत नबसे पनि परिवारका हरेक सदस्यको सुस्वास्थ्य र दीर्घायु मेरो प्राथमिकताको विषय सधैँ रहन्छ । तर, तिजको नाममा बढेका विकृति नियन्त्रण हुनैपर्छ । नियन्त्रणका लागि निषेधाज्ञा जारी होइन, चेतनाको वृद्धिमा जोड दिनुपर्छ ।