
यात्रा गर्नु, प्राक्ऐतिहासिक समयदेखि नै मान्छेको स्वभावमा रहेको काम हो । जोलान्टा स्टाचेल्का भन्छिन्, ‘सभ्यताको सुरुदेखि नै हिँड्नु मान्छेको अम्मल रहँदै आएको छ । अस्थिरता मान्छेको नैसर्गिक बानी हो । कोही यसलाई स्वभाव भन्छन् र कोही, समयक्रममा हराएर फेरि फुत्त देखापरेको गुण ठान्छन्, जुन हामीले हाम्रा डुलन्ते पूर्वजबाट बिरासतमा प्राप्त ग¥यौँ । कोही–कोही हिँड्नु, डुल्नुलाई आदिम समयदेखिका मिथक, पुराना महाकाव्य, बाइबल, ओडेसी आदिका नायकको सिको पनि ठान्छन् ।’ गिल्गमेस, थेस्युस, डुलुवा यहुदी, मोजेस, अजुन वा ओडेसियस यसका उदाहरण हुन् । पूर्वमा पनि महाकाव्यका नायकहरू लामो यात्रामा निस्कने गरेको दृष्टान्त हामीसँग छ । दैनन्दिन जीवनका आवश्यकता, मनोरञ्जन, भेटघाट आदिका कारण गरिने यात्रा पनि छँदै छन् ।
यथार्थको संसारमा होस् वा तिलस्मिक, कुनै पनि यात्रा उद्देश्यविहीन गरिँदैन । नियात्राकार भीष्म उप्रेतीले नियात्रासम्बन्धी आफ्नो एक अवधारणामा भनेका छन् कि केही प्राप्त गर्दा मान्छेलाई पूर्णताको भ्रम हुन्छ, तर चाँडै अरू सपना र चाहना जन्मन्छन् । यिनै चाहनाको पूर्तिका लागि मान्छे फेरि विभिन्न उपत्यका र पहाडको यात्रा गर्न थाल्छ ।
अभाव र त्यसको परिपूर्तिको सिद्धान्त फ्रायडको व्याख्याको सन्निकट छ । प्रसिद्ध विकासवादी वैज्ञानिक चार्स डार्विनले पनि यो कुरा स्वीकारेका छन् । उनले भनेका छन्, ‘लाग्छ, एउटा युवा प्रकृतिवादी वैज्ञानिकका लागि सुदूरका देशको यात्राजति प्रभावकारी अर्को सिकाइको माध्यम छैन । यसले हामीभित्रको चाहनालाई अझ तीव्र मात्रै बनाउँदैन, अपितु त्यसको परिपूर्ति पनि गरिदिन्छ ।’
यात्राहरू जे कारणले पनि गरिएका हुन्, तिनका सम्बन्धमा नियात्रा लेख्नुको छुट्टै र विशिष्ट कारण हुन्छ । यात्रा निबन्ध नै लेख्नका लागि गरिने यात्रा प्राविधिक अथवा बलात् हुन्छ भन्ने कुरा स्वतःसिद्ध छ । स्वतस्फूर्त र हर्षका साथ गरिएको यात्रामा लेखकले नयाँ केही फेला पा-यो, सचेत मस्तिष्कले केही उल्लेखनीय कुरा टिप्यो, अथवा साट्न योग्य कुनै अनुभूतिलाई अनायासै फेला पा-यो भने ऊ आफ्नो कलमलाई धेरैबेर रोकिरहन सक्दैन । सम्भव पनि हुँदैन ।
सगरमाथाको सफल आरोहण गरेपछि जोन क्रौकरका केही निकटस्थले उनलाई तत्काल कुनै किताब नलेख्न सुझाब दिएका थिए । उनीहरूको तर्क थियो, अनुभूतिलाई केही ओथ्रिन दिनुपर्छ, र त्यसलाई समयबिन्दुको एउटा सम्मानजनक दूरीबाट हेर्नुपर्छ । तर, उनले तत्कालै पुस्तक लेखेः ‘इन्टु थिन एयर’ । उनको भनाइ थियो, ‘उनीहरूको सल्लाह स्वस्थ थियो, तर मैले अन्त्यमा बेवास्ता गरिदिएँ । किनकि, हिमालमाथि के भयो भन्ने कुराले मेरो धैर्यलाई भित्रैबाट चिथोरिरहेको थियो । मलाई लाग्यो, पुस्तक लेखेर मात्रै मभित्र पलेँटी कसेर बसेको सगरमाथालाई म विरेचित गर्न सक्छु ।’
स्वाभाविक हो, हरेक यात्राले यस प्रकारको छटपटी लेखकभित्र निर्माण गर्न सक्दैन । लेख्नैपर्ने उद्देश्य, अथवा डेडलाइन बोकेका लेखकले, यसैकारण डायरी लेखन, पर्यटन निर्देशिका वा टिपोटजस्तो लाग्ने निबन्ध लेखिरहेका हुन्छन् । नियात्राका अगाडि केही विशाल जोखिम छन् । स्वभावले नै नियात्रा सत्य र तथ्यमा आधारित हुने विधा हो । त्यसैले, सत्य वा तथ्यको क्रमबद्ध टिपोटले यसलाई पर्यटन पुस्तिका जस्तो बनाइदिने खतरा पनि हुन्छ । केही समालोचकहरू छन्, जो नियात्रालाई पर्यटन निर्देशिका र उपन्यासको बीचमा राख्छन् । यसको कारण हो, नियात्राभित्र निजात्मकता, कल्पना र भाषिक शिल्पका लागि पनि यथेष्ट ठाउँ हुन्छ, जसलाई सारै थोरै नियात्राकारले प्रयोग गरेको देखिन्छ । डेबी लेस्लीलाई लाग्छ, नियात्राकारले उपन्यासकारको स्थान कहिल्यै हासिल गर्न सक्दैन, किनकि उनीहरूलाई कोरा तथ्यको कोष्ठकले सीमित पारेको हुन्छ । तर, मलाई यस्तो लाग्दैन । स्कोट एस मोमाडे, एनी डिलार्ड, लैनसिंह वाङ्देल अथवा तारानाथ शर्माका नियात्रा यसको जवाफ हो ।
नियात्रालाई गैरआख्यानमा वर्गीकृत गरिने हुँदा यसको साहित्यिक महत्तालाई लिएर पनि बहस गर्ने गरिन्छ । यसैकारण, आख्यानको आदर्श नियात्राका लागि अप्राप्य हो भन्ने पल फुस्सेलको बुझाइ छ । तर, यो बुझाइ पनि पूर्वाग्रही छ । कोरा तथ्यलाई आख्यानकारको शिल्पको लेपन दिन सक्दा नियात्रा कहिल्यै कमजोर हुँदैन । तर, यो शिल्प थोरै नियात्राकारमा देखिएको भने सत्य हो । फलतः नेपालमा मात्रै होइन, नेपाल बाहिर पनि नियात्रा प्राविधिक बन्दै गएको छ । समालोचनाको वृत्तमा नियात्रालाई लिएर गरिने यस प्रकारका टिप्पणीका पछाडि केही कारण छन् ।
नियात्रासँग यथार्थ र कल्पनाबीचको अन्तरलाई चिर्ने क्षमता हुन्छ । यो एक लचिलो विधा हो, जसले कल्पनासहित भूगोल, पर्यावरण, इतिहास, सांस्कृतिक अध्ययन आदिलाई आफ्नो दायराभित्र समेट्न सक्छ । वास्तवमा ओ रेलीले भनेजस्तो यो अवयवको ककटेल हो । विविध विधाको सम्यक मिश्रण गर्न मिल्ने एउटा साझा पात्र पनि हो नियात्रा । यसको आख्यानजस्तो र तथ्यपुस्तिकाजस्तो स्वभाव नियात्राको सबैभन्दा ठूलो शक्ति पनि बन्न पुगेको छ, आजको मितिमा । तथ्य कि कल्पना भन्ने विवाद आज जायज छैन । यो दुवै हो, र यस विवादलाई जन बोर्मले सदाका लागि निरुपण गरेका छन् । भन्छन्, ‘नियात्रामा विविध प्रकारका आख्यान र गैरआख्यानको मिश्रण हुन्छ ।’
तर, यस सम्पूर्ण विधाका वरिपरि चुनौती बनेर उभिएको एउटा प्रश्न छः कि यो कति तथ्य र कति कल्पना हुनुपर्ने हो ? बढी तथ्य र थोरै कल्पना हो भने सरकारी तथ्यशास्त्री अथवा सूचक, गणित वा संख्यामा दीक्षित कुनै व्यक्ति राम्रो नियात्राकार हुन सक्छ ? उनीहरूको आलेख बिक्रीयोग्य पुस्तक बनेर आउने सम्भावना हुन्छ–हुँदैन ? तथ्यबीच विद्यमान कल्पना र चिन्तनको पुल र आख्यानको आवरण नियात्राको प्राण हो । तर, तथ्यभीरु चिन्तनका कारण नेपाली साहित्यमा नियात्राका नाममा ठूलो संख्यामा गाइडबुकजस्ता यात्रा निबन्ध लेखिएका र प्रकाशित गरिएका छन् । परिणाम, ती बिक्दैनन् । चर्चामा पनि आउँदैनन् । बाँडेर सिकिन्छ । यस प्रकारका कमसल नियात्रामा पाठकलाई दिक्कलाग्दा विवरणको भारी बोकाइन्छ, र समाचार अथवा डायरीका टिपोटजस्ता लेखोट पढ्न बाध्य गराइन्छ । आज, नियात्रा लेखनको सिद्धान्तले तथ्य र आख्यानबीचको दूरीलाई भेदन गर्ने अनुमति दिन्छ । लेखकले यस लाइसेन्सको भरपूर उपयोग गर्नु जरुरी देखिन्छ ।
सपाट तथ्यसँगको अतिशय ऊल्झन यात्रा साहित्यमा नयाँ कुरा भने होइन । ‘गुलिभर्स ट्राभल’ भन्ने पुस्तकमा एउटा प्रसंग छ, जहाँको नायक गुलिभरले एक ठाउँ आफूलाई यात्रा पुस्तकले दिने गरेको दिक्दारीको चर्चा गर्दै भन्छ, ‘हामी यात्राका पुस्तकले पहिलेदेखि नै किचिएका थियौँ । अब, विलक्षण कुनै पुस्तकले पनि हामीलाई बाँध्न सक्ने स्थिति छैन । मलाई शंका छ, केही लेखकले सत्यभन्दा आफ्नै श्लाघा वा रुचिलाई बढी लेखेका छन् ।’
शक्तिशाली यात्रा साहित्यले विश्व इतिहासमा केके गरेको छ, त्यसको एकछिन पुनरावलोक गर्नु पनि उचित ठान्छु म । विश्वका सबैभन्दा पुराना यात्रा साहित्यका पुस्तक भनेको युद्धका, धार्मिक यात्राका, अथवा नयाँ मुलुक पत्ता लगाउने अभियानका थिए । गिल्गमेसको काव्य, बाइबलमा वर्णित अब्रह्मको अध्याय, महाभारतको वनपर्व, रामायणको सुन्दर काण्ड, चौसरको केन्टरबरी टेल्स आदि यस्ता पुस्तक अथवा पुस्तक अंश हुन् । इबन बटुटाजस्ता यात्राकारको ‘केथी’ अर्थात् आजको चीनको क्षेत्रको यात्रा वर्णनबाटै कोलम्बस केथीको खोजीमा निस्कन उद्यत भएका थिए, जसको फलस्वरूप अमेरिका भनिने महादेश विश्वको मानचित्रमा देखिने गरी परिचित हुन पुग्यो ।
विदेश जाँदाको तयारी, विमानस्थलको औपचारिकता, विभानभित्र हुने गतिविधि, लिन आउने–लानेको विवरण, खाएको खाना, बिर्सिएको ब्रसजस्ता कुराले पाठकलाई बाँध्न सक्दैन ।
कोलम्बसको यात्रा नै आजको हाम्रो विश्वमा देखिन पुगेको ध्रुवीकरणको इतिहासको बीज हो । गिल्गमेसको यात्राले सारा पश्चिमा जगत्को साम्राज्यवादको विस्तारलाई इन्धन दिएको कुरा हामी सबैलाई बोध छ । पश्चिमले गैरपश्चिम अर्थात् ओरिएन्टमाथि हासिल गरेको विजय र यससँगै फैलिएको पश्चिमी साम्राज्यवाद ती तमाम यात्रा वर्णनको उपज हो, जसले पश्चिमा शासक र आमजनमानसमा गैरपश्चिमा मुलुकको तिलस्मिक र असभ्य चित्र निर्माण गरेका थिए । सेम्युल पर्चासले तय गरेर गैरयुरोपीय मुलुकको यात्रा र उनले पछि प्रस्तुत गरेको यात्रा विवरणले उनको समयपछिको धेरै सम्राज्यवादी यात्राको बाटो खोलेको हो । यी धार्मिक, राजनीतिक अथवा सामरिक दृष्टिले महत्वपूर्ण नियात्रासँगसँगै विशुद्ध साहित्यक र सौन्दर्य प्रधान नियात्राको संख्या पनि गनेर नसक्नुको छ ।
नेपालको कुरा गर्दा करवीर रावलको राजा गगनीराजको यात्रा, जंगबहादुरको बेलायत यात्रा हुँदै आज हाम्रो समयमा आइपुग्दा करिब पाँच सय वर्ष पुरानो भइसक्दा पनि नेपाली नियात्राको इतिहासमा औँलामा गन्न सकिने केही लोकप्रिय लेखकबाहेक नियात्राकार पाठकका रोजाइ बन्न सकेनन् । विगत आधा शताब्दीको आधुनिककालीन नेपाली नियात्राको परिदृश्यमा लैनसिंह वाङ्देल, पूर्णप्रकाश नेपाल यात्री, सत्यमोहन जोशी, ताना सर्मा, निर्मोही व्यास, गोविन्द वर्तमान, प्रतीक ढकाल, दामोदर पुडासैनी किशोर, युवराज नयाँघरे, भीष्म उप्रेती र अन्य केही महत्वपूर्ण लेखकबाहेक आन्य नियात्राकारले पाठक तान्न सकेको देखिँदैन । जबकि, यस समय प्रकाशित नियात्राको सूचीकै कुरा गर्ने हो भने साहित्यिक इतिहासकार प्रमोद प्रधानले ‘नेपाली निबन्धको इतिहास’ मा अनेकौँ पानामा पस्केको सूचीलाई हेर्न सकिन्छ । तर, अधिकांश नाम पाठकको स्मृतिमा बेनाम संज्ञाहरू मात्र बनेर रहेका छन् ।
आज दिनैपिच्छे विभिन्न कारणले खुम्चिँदै गरेको भूगोल र सूचना प्रविधिले औँलामा पस्किदिएको ब्रह्माण्डको ज्ञान नियात्राकारका लागि चुनौतीको विषय बन्न पुगेको छ । गुगलले संसारभरिको मानचित्र नै आफ्नो छातीमा प्रस्तुत गरिएदिएपछि आज संसारको कुनै पनि कुनाको भौगोलिक ज्ञान इन्टरनेट–साक्षर पाठकको पहुँचभन्दा बाहिर छैन । विभिन्न मुलुकका संस्कृति र परम्परासम्बन्धी ज्ञानको पनि सञ्जालमा कमी देखिँदैन ।
लेखकको दैनन्दिनी जान्न सायद नियात्रा पढिँदैन । मौलिक हुनु नियात्राकारका लागि ठूलो चुनौती बन्न पुगेको छ । नियात्राले आफ्नो ‘नि’ उपसर्गप्रति त्यति न्याय नगरेको र ‘यात्रा’को भूतबाट बढी वशीभूत भएको देखिन्छ । त्यसैले, यो सेम्युल पेपिसको डायरी लेखन वा कुनै भूगोलविद्ले माध्यमिक विद्यालयका विद्यार्थीका लागि तयार गरेको भूगोल वा पर्यावरण अध्ययनको कुनै पाठजस्तो हुन पुगेको छ । नियात्राका पुस्तक विमानस्थल, ठमेल र पोखराको लेकसाइडका पुस्तकालयका सोकेसमा राखिन पुग्नु र ती पहाडमा भएको बिक्रीकै आधारमा उनीहरूको लोकप्रियता आँकिनु दुर्भाग्यपूर्ण कुरा हो । यसले ती पुस्तक पर्यटन निर्देशिकाकै गोतियार भएको प्रमाणित गर्छ । ती पुस्तकलाई ती कारागारबाट मुक्त गर्न र आमपाठकको मायालु हृदयमा स्थापित गर्न हाम्रो आफ्नै लेखकीय चिन्तनभित्र केही आधारभूत परिवर्तन हुनु जरुरी देखिन्छ ।
उहिले, जब थोरै मान्छेसँग यात्रा गर्ने सौभाग्य हुन्थ्यो, उनीहरूसँग भन्न बाँकी धेरै कुरा हुन्थे । भनेका कुरा अरूलाई नयाँ हुन्थे । आज स्थिति फरक छ । विदेश जाँदाको तयारी, विमानस्थलको औपचारिकता, विभानभित्र हुने गतिविधि, लिन आउने–लानेको विवरण, खाएको खाना, बिर्सिएको ब्रस, यी कुराले पाठकलाई बाँध्न सक्दैन । एउटा लेखकको निजी अनुभव वा अनुभूतिभित्र अरूले बुझ्नैपर्ने कुनै नयाँ कुरा, अथवा साबिक महत्वको केही ज्ञान वा चिन्तन छैन भने त्यसमा पाठकको चासो हुँदैन ।
औँला–औँलामा संसारको सूचनाले वास बसेका वेला, पाठकको टेबलमा विद्यमान ज्ञान र कल्पनाको दायरा तथा उनीहरूसँग भएको सम्भावित परिकल्पनालाई चिरेर लेख्नु नेपाली नियात्राकारका अगाडि उभिएको चुनौतीको सबैभन्दा ठूलो पहाड हो । यात्रा गर्नेलाई सधैँ नयाँ देखेँ वा भोगेँ भन्ने लाग्छ । त्यो भ्रम मात्र हो । नियात्राकारले सूचना सम्प्रेषणको बोझ लिनु जरुरी छैन । सूचनाका लागि अन्य विभाग छन् र त्यो तिनको काम हो । नियात्राकारले लेखोटको साहित्यिकता मात्रै कायम राखेर पुग्दैन । उसले पाठकको रोजाइमा आफूलाई अब्बल र नवीन सिद्ध गर्नु पनि नितान्त जरुरी छ ।