नेपालका छेत्री–बाहुन–दलितहरूलाई पनि अनि उनीहरूको मातृभाषालाई पनि नेवारहरू र पश्चिमतिरका मगर र अरू जनजातिले ‘खस’ भन्छन् । बालकृष्ण पोखरेल (२०५५) ले ‘खस जातिको इतिहास’ भन्ने किताबमा खसहरूलाई पुरै युरेसियाभरि मात्र होइन, मिश्र (इजिप्ट) देशसम्म पनि लडाइँ गरेर दिग्विजय गर्ने जाति भनेर चिनाएका छन्, तर राहुल सांकृत्यायन (१९५३ इ., गढवाल, ५५) ले ठाउँका नाउँ हेर्दा खसहरूको दसी मध्य एसिया र दक्षिण एसियाको उत्तरी भेगमा धेरैतिर पाइने भए पनि पश्चिम नेपालदेखि भारतको कुल्लु (काँगडा) सम्म मात्र विशेष किसिमका आर्य जातिलाई ‘खस’ जाति भनेको पाइन्छ भन्ने लेखेका छन् ।
मेरो अनुसन्धान (अन्नपूर्ण पोस्ट, फागुन १३, २०७५) ले पनि खस जातिलाई नेपालको उत्तर पश्चिममा संसारको छानो भनेर चिनिने ताजिकिस्तानमा पर्ने पामिरको माल भूमिदेखि अर्थात्, उज्बेकिस्तानको सिर दरिया नदीदेखि कैलाश पर्वत हुँदै नेपालको कालीगण्डकीसम्मको हिमाच्छादित भूमिको वारि–पारिको मानव बस्तीलाई मात्र खस जातिको प्रागैतिहासिक सांस्कृतिक गतिविधि भएको क्षेत्र ठहराएको छ, त्यसैले मैले त्यस क्षेत्रको नाम नै ‘खस मण्डल’ राखेको छु । उल्लिखित ‘खस मण्डल’ अर्थात्, हिमाच्छादित भूभागमा तिन किसिमका भारोपेली जाति मिलेर खस जाति बने जस्तो देखिन्छ ।
अहिलेसम्म युरेसियाको पुरातात्विक अनुसन्धानले भारोपेली जातिको मूल थलो युराल पहाडको पश्चिमतिर कश्यप सागर र कृष्ण सागरको उत्तरतिरको भूभागलाई ठह¥याएको छ । रुसको भोल्गा नदी किनारको सिन्तास्ता भन्ने ठाउँलाई भारोपेली जातिको मूल थलो मानिएको छ । त्यो मूल थलाबाट झन्डै इपू. २५०० तिर जुन बगाल भूमध्य सागर क्षेत्रमा टर्कीको एनाटोलिया पुग्यो, त्यसलाई हित्ती भन्दछन् भने जुन बगाल पश्चिम चीनको ताक्लामकान आइपुग्यो, त्यस बगाललाई तोखार भन्छन् (कुज्मिना, २००७ इ., ओरिजिन्स अफ इन्डो–इरानियान्स, अस्को पार्पोला, २०१५ इ., द रुट्स अफ हिन्दुइज्म)।
ताक्लामकान उपत्यका उल्लिखित खस मण्डलको ठिक्क उत्तरतिर पर्छ । त्यसै उपत्यकाबाट रोमन साम्राज्यसम्म जोड्ने त्यो चिनियाँ रेसम मार्ग (भिक्टर मायर, २०१४ इ., रिकन्फरिङ द सिल्क रोड) को एउटा हाँगाले कैलाश मानसरोवर क्षेत्र (ताक्लाकोट) देखि ताक्लामकानसम्म पनि जोडेको पाइएको छ (जेन छिउ, २०१६ इ.), त्यसैले उल्लिखित खस मण्डलमा त्यो जाति पनि उक्ले जस्तो लाग्छ । खसहरू ताक्लाकोटदेखि ताक्लामकानसम्म राज्य गर्थे भन्ने कुरो त स्नेल्ग्रोभ (१९८१ इ., हिमालयन पिल्ग्रिमेज) ले पनि बिक्विथ (१९८७ इ., टिबेटन एम्पायर इन सेन्ट्रल एसिया) ले पनि लेखेका छन् ।
सोभियत रुसको कजाखस्तानमै पूर्वी र पश्चिमी आर्यहरू प्रस्ट नछुट्टिँदै आर्यहरूकै एउटा बगाल (दरद र नुरिस्तानी) इपू. पन्ध्रौँ शताब्दीदेखि तेरौँ शताब्दीबिचमा यस प्रान्तमा खोलै खोला उक्लिसकेका अनेक पुराताŒिवक प्रमाण (किथ, १९१३ इ., ‘द व्रात्याज’, टुची, १९४० इ., टिबेटन पिल्ग्रिम्स इन स्वात भ्याली, महेश्वर जोशी, २०१७ इ., हर्स इन रक ड्रइङ्स इन स्पिती) पाइएका छन् । अन्तमा इपू. तेरौँ शताब्दीतिरको युरेसियाको पर्यावरणीय संकटबाट जोगिन दक्षिण मध्य एसिया आइपुगेको आर्य जातिकै इरानको ईशान कोणमा पसेको बगालबाटै इपू. आठौँ–सातौँ शताब्दीमा घोडा चढेर लडाइँ गर्ने शकहरूकै एउटा बगाल पनि यस लेकमा उक्लेका प्रमाण पाइएका छन् (कुज्मिना, २००७ इ.)। यसरी अनेक प्रागैतिहासिक चरणमा एउटै भूभागमा मिलेर बसेका यी तिनै ओटा भारोपेली बगालहरू मिलेर खस जाति बन्यो होला भन्ने मेरो अड्कल छ । ताक्लामकानमा दुई–तिन किसिमका तोखारी भाषाका सामग्री फेला परेका छन् । तिनीहरूमध्ये खोतानमा भेटिएको सामग्रीको भाषालाई ‘शक भाषा’ पनि भन्ने चलन छ (वाच्लाभ ब्लाजेक, २०११ इ., तोखारियन स्टडिज) ।
निकोला डी कस्मो (२००२ इ.) ले लेखेको ‘एन्सिएन्ट चाइना एन्ड इट्स एनेमिज’ (प्राचीन चीन र यसका शत्रु) भन्ने किताबअनुसार ह्वाङ ह नदीको उत्तरतिर पेइचिङको पूर्वसम्म नै घोडा र रथ चलाउने प्राचीन चीनका दारीपाला ‘शत्रु’ हरू इपू. १००० तिरै पुगेका थिए । सम्भवतः तिनीहरू तोखारहरू थिए । इपू. ७०० तिर घोडा चढेर लडाइँ गर्ने उस्तै अनुहार देखिने चीनका ‘शत्रु’हरूचाहिँ शकहरू थिए । चिनियाँ इतिहासकारहरू के लेख्छन् भने, उस्तै अनुहार देखिने ती दुई खाले शत्रुहरूमा एक खालेले बोलेको भाषा अर्का खालेले त्यति बुझ्दैनथे ।
डी कस्मो के लेख्छन् भने चिनियाँ इतिहासकारहरूले शत्रु भने पनि वास्तवमा ती घोडापाला र गाईपाला दारीपाला मानिसहरू चिनियाँहरूका शत्रु नभएर चिनियाँहरूचाहिँ तिनीहरूका शत्रु पल्टेका हुन् । आपसमा लडाइँ गरिरहने चिनियाँ राजाहरूलाई तोखार र शकहरूका घोडा, रथ, गहना र राम्रा केटी लुट्न मन भयो, त्यसैले ह्वाङ ह नदीको दक्षिणतिर मात्र बस्ने ती चिनियाँ राजाहरू आरिस गरेर ती घोडापालाहरूमाथि पटक–पटक आइलागे पछि अनेक पल्ट तिनीहरू हारे अनि अन्त्यमा तिनीहरूलाई सन्धि गर्दै धोका दिँदै, एक–अर्कालाई फुटाउँदै रथ, घोडा, केटी र गरगहना कहिले सन्धिबाट, कहिले लुटेर, कहिले लडाइँ गरेर हत्याउन थाले । यो क्रम इपू. तेस्रो शताब्दीसम्म चलिरह्यो, चीनका पहिला सम्राट् छिन सि ह्वाङ् दीले समस्त चीनको एकीकरण गरेपछि आफूले तोखार र शकहरूको भूमिसमेत हडपेर ओगट्न चीनको पर्खाल बनाए । चीनको पहिलो राजवंश पश्चिम चाउकी आमा नै भारोपेली जातिकी छोरी थिइन् अरे ! चिनियाँ संस्कृतिमा घोडा, रथ, काँस, ऊनी कपडा र गहना तोखार र शकहरूकै देन हो, तर चिनियाँ इतिहासकारले पनि ग्रिसका इतिहासकारले पनि शकहरूलाई असभ्य, जङ्गली, भँडुवा, बेइमान र लुटाहा भनेर चिनाएका छन् । वैदिक साहित्यले नै पनि लेकमा बस्ने आफ्ना गोतीहरूलाई गतिछाडा ठहराएका छन् ।
भारोपेली जातिको आविष्कार तुलनात्मक भाषा शास्त्रका अनुसन्धानले गरेको हो । सन् १७८६ इ. मा विलियम जोन्स (थर्ड एनिभर्सरी डिस्कोर्स, एसियाटिक रिसर्चेज) ले उच्चारण र अर्थ दुवै झन्डै मिल्ने शब्दहरूको तुलना गरेर संस्कृत, फारसी, ग्रिसेली, ल्याटिन, जर्मनेली, तोखारी, केल्टिक, इटालेली, लिथुआनियाली, रुसी आदि भाषाहरू एउटै माउका सन्तान हुन् भन्ने सिद्धान्त बनाएपछि तुलनात्मक भाषा विज्ञान जन्म्यो, जसले विकास गरेको तुलनात्मक विधिबाट भारतीय उपमहाद्वीपदेखि युरोपसम्म छरिएका थुप्रै मातृभाषाहरू एउटै माउका सन्तान ठहरिए । त्यस्ता सबै साइनो लाग्ने भाषाहरूको साझे नाम ‘भारोपेली’ (इन्डो–युरोपियन) भन्ने राखियो । त्यसपछि भारोपेली भाषा बोल्ने जातिलाई पनि भारोपेली भन्न थालियो । भारोपेली भाषाका केही मिल्ने शब्द यस्ता छन् :
(क) गाई : गौ (संस्कृत), काउ (तोखारी, अङ्ग्रेजी), कुह् (जर्मन),
(ख) दुहुनु : दुघ् (संस्कृत), दुग् (फारसी), तुग् (ग्रिसेली), दौग् (लिथुआनियाली), दुगा (आइस्ल्यान्डेली)
(ग) घोडा : अश्व (संस्कृत), ओस्बी (चर्च स्लाभिक), आशावे (तोखारी), अशुस (बाल्टिक), अस (लात्भियाली), आसुताइ (लिथुआनियाली), ओसोत (रुसी), इक्कुस (ल्याटिन), हिप्पोस (ग्रिसेली) ।
राल्फ लिली टर्नरले ‘व्युत्पत्तिमूलक नेपाली शब्दकोश’ (१९३१ इ.) बनाएर एकातिर नेपाली भाषाका शब्दहरूलाई भारतका भाषाहरूसित, अर्कातिर युरोपभरिका भाषासित तुलना गरेका छन् भने, अर्कातिर ‘आर्य भाषाको कोश’ (१९६६ इ.) बनाएर सबै आर्य भाषाहरूका उच्चारण र अर्थ मिल्ने शब्दहरू भिडाएका छन् । यस तुलनात्मक भाषा विज्ञानका आधारमा खसहरूको भाषा पनि भारोपेली आर्य भाषा ठहर्छ ।
भारोपेली जातिले नै इपू. ४००० तिर घोडा, गाई र भेडा पाल्न थालेको हो । चक्र अथवा पाङ्ग्राको आविष्कार पनि यसले त्यसै वेलातिर गर्यो । पहिले उनीहरूले पालेका जन्तु भोजनकै लागि थिए होलान् । वनमा जन्तुको सिकार गर्न छाडेर आफैँ वस्तु पाल्न थालेपछि भोजनमा त यो जाति आत्मनिर्भर भयो, तर वस्तुलाई घाँस र पानी खोज्दै यो जाति फिरन्ता भयो । यसरी घाँस खोज्दै अघि बढ्दा नजिकैको साइनो लाग्ने गोती नै नचिनिने अवस्था हुन्छ । वनका जन्तुबाट आफ्नो रक्षा गर्न पहिले उनीहरू ढुङ्गा र हाडका हतियार बनाउँथे, तर ताम्र युग (इपू. १३ औँ शताब्दी) देखि तिनीहरू आफ्ना धनुषका लागि वाणका टुप्पामा तामा लगाउन थाले र तामाकै हतियार बनाउन थाले । यसरी सुरुमा आत्मरक्षा र सिकारका लागि उपयोग भएको हतियार कालान्तरमा लुटेरा र शत्रुमाथि जाई लाग्न पनि उपयोग भयो ।
युरालको उत्तरपट्टि पनि दक्षिणपट्टि पनि पुरै युरेसियाभरि घाँसका दुइटा पट्टी छन्, जहाँ गाईवस्तु डुलाउँदै हिँड्नेमा तोखार र आर्यहरू नै पहिला भए । पहिले पाङ्ग्राले गाडी बनाएर सामान घिस्याए, पछि गोरुलाई घिस्याउन नारे, अन्त्यमा घोडालाई गाडीमा नारेपछि उनीहरूको गति कति हो कति बढ्यो (कुज्मिना, २००७ इ.) । त्यसै गतिले गर्दा तोखारहरू पनि इपू. २५०० तिरै ताक्लामकान पुगे र लौह युग (इपू. १०००) तिरै चीनको उत्तरी सीमाका छिमेकी भए (डी कस्मो, २००२ इ., एन्सिएन्ट चाइना एन्ड इट्स एनेमिज) । पछि त्यही गरुङ्गो गाडी हलुङ्गो रथमा विकसित भयो । चीन, पश्चिम एसिया, इजिप्ट र सम्भवतः दक्षिण एसियासम्म युद्ध जित्न त्यही रथ र हतियार सहायक भयो होला ।
इपू. आठौँ–सातौँ शताब्दीमा शकहरूले इतिहासमा पहिलोपल्ट घोडामा चढेर लडाइँ गर्न सिकेपछि समग्र युरेसिया, पश्चिम एसिया, इजिप्ट र दक्षिण एसियामा उनीहरूले दिग्विजय गरे । खसहरू पनि शकहरू नै भएकाले उनीहरू घोडा, गाई, भेडा, रथ, तामा, पित्तल, काँस र सुनसँग परिचित छन् । खाँबा गाडेर मात्र घर बनाउने आर्यहरूको चलन खसहरूकहाँ छ । ढुङ्गाको गारो लगाउने चलन आर्यहरूले तुर्कमेनिस्तानतिर मात्र सिके । त्यतैतिर आएपछि मात्र आर्यहरूले बाख्रा पाल्न जाने । युरेसियाका घाँसका फाँटमा भौँतारिँदा आर्यहरूले खेतीपाती गर्न त्यति जानेका थिएनन् । ब्याक्ट्रियामा आएपछि मात्र तिनीहरूले खेती गर्न पनि सिके । त्यहीँ आएपछि मात्र आर्यहरूले देवीको पूजा गर्न पश्चिम एसियाबाट आएका द्रविडहरूसित सिके । त्यहीँबाट ताजिकिस्तान, उज्बेकिस्तान, किर्घिजिस्तान र सिन्च्याङबाट खोलाको गड्तिरै गड्तिर वस्तु चराउँदै लेकमा उक्लेका खस, दरद र नुरिस्तानीहरूले हिमाली लेकमै आफ्नो विशिष्ट संस्कृतिको निर्माण गरे (कुज्मिना, २००७ इ.)।
राहुल सांकृत्यायन (२०१३, मध्य एसियाका इतिहास, भाग १, पृ. १०, १९५(१९६) र ग्रिसेली भूगोलविद् स्ट्राबो (इपू. ६३(२४ इ.) ले शकहरूका अनेक स्थानीय नाम (मसागाइट, पार्थियन, सकरौका, सइवाङ, उसुन, युह्ची, सोग्द्सोग्दियन, स्कुथियन, स्किथियन, मिडियन, स्कुद्र, मिडियन, दाह, दाहई, खस, कुषाण, हेफताल, कङ्ग, अलान, आदि) दिएका छन् । अनुसन्धानमा के देखिन्छ भने, शक नाउँ भएको बगालचाहिँ इरान र इरानदेखि पूर्व चीनसम्म र दक्षिणमा भारतीय उपमहाद्वीपतिर पाइने रहेछ । भारतका शाक्य र राजस्तानका गुर्जर पनि शक हुन् । आर्य शब्दले ‘अवेस्ता’ रच्ने इरानी र ‘ऋग्वेद’ रच्ने भारतीय दुवै खालका आर्य जाति जनाउँछ । युनानी इतिहासकारहरूले (म्याक्क्रिन्डल, १९७५ इ.) इरानको प्राचीन नाम ‘आर्याना’ लेखेको पाइन्छ ।
रुसी पुरातत्वविद् कुज्मिना (२००७ इ., ‘ओरिजिन अफ इन्डो इरानियन्स’) ले आर्यहरूको पुरातात्विक इतिहासमा के लेखेकी छिन् भने, इपू. १८औँ शताब्दीपछि आफ्ना अरू भारोपेली गोतीहरूलाई छाडेर आर्यहरू रुसको युरालको पूर्वतिर घुम्थे । त्यसमा पनि क्रमशः कजाखस्तानको पश्चिमतिरको भेगमा भएको आर्य जाति क्रमशः इरानी जातिमा विकसित भयो भने पूर्वतिर भएको आर्य जाति ऋग्वेदका ऋचा लेख्ने अर्थात् वैदिक संस्कृति रच्ने भविष्यको भारतीय आर्यमा क्रमशः विकसित भयो । यी दुवै खाले आर्यको भाषा पनि मिल्थ्यो संस्कृति पनि मिल्थ्यो । यी आर्यहरूसित सबभन्दा धेरै मिल्ने भाषा लिथुआनियाली र स्लाभिक हो । युरालको उत्तर पश्चिमतिर एउटै थलाबाट बाल्टिक भाषा बोल्नेहरू बाल्टिक सागरतिर गएछन् भने आर्यहरूचाहिँ युरालको पूर्वतिर लागेछन् ।
अरू भारोपेली जातिभन्दा आर्यहरूको टड्कारो चिनारी के थियो भने तिनीहरूको आवासमा आगो बाल्ने ठाउँ पनि धेरै किसिमको हुन्थ्यो । आज पनि गाउँघरमा हामी नेपालीहरू अगेनामा आगो ताप्छौँ, चुलाको भर्सेलीमा पूजा गर्छौँ अनि चुलामा भात पकाउँछौँ, बाहिरतिर गाईवस्तुलाई कुँडो पकाउँछौँ, होम गर्दा बेग्लै ठाउँमा आगो बाल्छौँ, दियो बाल्ने ठाउँ बेग्लै हुन्छ । आर्यहरूको यो प्रागैतिहासिक चलन हामीले अझै जोगाएका छौँ । आर्यको संस्कृतिमा बाहेक अरू जातिलाई यति धेरै किसिमको आगो चाहिँदैन ।
इपू आठौँ–सातौँ शताब्दीमा शकहरूले इतिहासमा पहिलोपल्ट घोडामा चढेर लडाइँ गर्न सिकेपछि समग्र युरेसिया, पश्चिम एसिया, इजिप्ट र दक्षिण एसियामा उनीहरूले दिग्विजय गरे । खसहरू पनि शकहरू नै भएकाले उनीहरू घोडा, गाई, भेडा, रथ, तामा, पित्तल, काँस र सुनसँग परिचित छन् ।
कुज्मिनाले बटुलेको आर्यहरूको दोस्रो टड्कारो विशेषता हो खाँबो र टेका नगाडी घरै नबनाउने । पश्चिम एसियाका जातिचाहिँ घर बनाउँदा गारो मात्र लगाउँछन् अरे ! आर्यहरू मूल खाँबामा देउता बस्छ भनेर पुज्छन् भन्ने कुज्मिनाको पुरातात्विक अनुसन्धानले नेपाली खसहरूको चलनलाई पनि छुन्छ ।
पूर्वी कजाखस्तानमा जस्ता, टिन र आर्सेनिकको खानीबाट निस्केको धातुमा तामा मिसाएर पित्तल, काँस र कास्कुट बनाउन यी पूर्वी आर्यहरूले नै जाने । तामासित आर्यहरूको परिचय भारोपेली जातिको मूल थलो भोल्गा नदीको बेँसीमै भएको थियो । खसहरू पनि तामाजति पवित्र अरू धातुलाई मान्दैनन् । तामासँग पूर्वी कजाखस्तानदेखि पश्चिम मङ्गोलियाको अस्ताई पहाडसम्म पाइने अरू उल्लिखित धातु मिसाएर तामाभन्दा कडा मिसोट बनाउन जानेपछि यी पूर्वी आर्यहरूको सांस्कृतिक शक्ति झन् बढ्यो । यी पूर्वी आर्यहरूले नै मानव इतिहासमा पहिलोपल्ट सुनखानी पनि भेटेका थिए । विश्वभरमा सुन चलाउने पहिलो जाति नै यही पुर्वेली आर्य जाति हो ।
के प्रमाणित भएको छ भने पश्चिमी आर्यमध्ये थोरै मात्र इपू. १००० तिर इरानको पूर्वोत्तर भेगमा ब्याक्ट्रियाबाट पसे भने पार्थहरूचाहिँ ककेसस पहाडतिरबाट इरानको वायव्य कोणबाट पसे अनि इरानमा अखामनी साम्राज्य थाले । एउटै इरानी आर्य जाति भए पनि पार्थहरूका संस्कृतिमा चाहिँ पश्चिम एसियाको सांस्कृतिक प्रभाव पाइन्छ भने ईशान कोणबाट छिर्ने आर्यहरूको चलन पुर्वेली आर्यसित धेरै मिल्छ । कहाँसम्म भने पश्चिमी आर्यहरूको धर्मग्रन्थ ‘अवेस्ता’ का धेरै मन्त्रहरूको भाषासमेत पुर्वेली आर्यको धर्मग्रन्थ ‘ऋग्वेद’का ऋचाहरूसित मिल्छ । इरानमा कहिल्यै नछिरेका भए पनि पश्चिमा आर्यहरूलाई इरानी भन्ने चलन पनि पाइन्छ ।
शकहरू घोडा चढेर लडाइँ गर्दै एकातिर चीनको उत्तरमा पेइचिङभन्दा पूर्व समुद्र किनारसम्म पुगे, पश्चिममा निपर नदीसम्म पुगे, नैऋत्य कोणमा ग्रिस, सिरिया र इजिप्टसम्म पुगे, उत्तरमा मानव बस्ती भएसम्म पुगे । खसहरू तिनै शकहरूको ताजिकिस्तान, किर्घिजिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, पाकिस्तान, कस्मिर, जम्मु, हिमाचल प्रदेश, उत्तराखण्ड र नेपालको काली गण्डकीसम्मको हिमाली भूभागका छेउछाउमा फैलिएको छुट्टै चिनारी भएको जाति हो, तर खस जातिभित्र पश्चिमी आर्य जाति शकहरूसँग ऋग्वेद लेखिनुभन्दा कम्तीमा ५०० वर्ष अगाडि (इपू. १३०० तिर) उल्लिखित हिमाच्छादित प्रदेशमा पसेर बस्तै आएको प्राग्वैदिक आर्य भारोपेली मूल पुर्खासँग झन्डै इपू. २५०० वर्ष अगाडि छुट्टिएर ताक्लामकान आइपुगेको तोखार जाति पनि मिसिए जस्तो बुझिन्छ ।
आर्य जाति भारोपेली जातिको सबभन्दा फैलिएको हाँगो हो । संस्कृत भाषा यसै जातिको पूर्वी शाखामा विकसित भएको भाषा हो । आर्यहरूले जुन वेला ऋग्वेद रच्न थाले, त्यस वेला तिनीहरू मध्य एसियाको वर्तमान तुर्कमेनिस्तानमा पश्चिमी आर्यसँगै थिए भन्ने कुरो ऋग्वेदका ऋचा र अवेस्ताका मन्त्र मिलेबाट थाहा हुन्छ । ऋग्वेद रच्ने आर्यहरू भूमध्य सागरबाट क्यास्पियन सागरको दक्षिणी किनार हुँदै त्यहाँ बसोवास गरिरहेका द्रविड जातिसित त्यहीँ मिसिएको पुरातत्व र भाषा विज्ञानले देखाउँछ । पूर्वी युरेसियाको पुरातात्विक प्रमाणले के देखाउँछ भने, यी दुवै खालका आर्यहरूले देवीको पूजै गर्न जानेका थिएनन् । उनीहरू देउताको मात्र पूजा गर्थे । तुर्कमेनिस्तानमै उनीहरूले द्रविडले मान्दै आएकी भगवती मान्न सिके । इपू. १३औँ शताब्दीतिर तुर्कमेनिस्तान आइपुगेका आर्यहरूले मन्दिरमा देउता पूजा गर्न पनि जानेका थिएनन् । मन्दिरमा देउता पुज्न पनि उनीहरूले द्रविडहरूसितै सिके भन्ने कुरो पुरातात्विक प्रमाणले देखाउँछ । त्यहाँबाट जति दक्षिण अफगानिस्तान र पाकिस्तानतिर ऋग्वेद लेख्ने आर्यहरू पसे, त्यति धेरै तिनीहरूले बेलुचिस्तान र हरप्पासम्म नै द्रविडहरूसँग सांस्कृतिक आदान प्रदान गरे । ऋग्वेदको मूल भागको रचना गर्दा आर्यहरू सप्त सिन्धु (पाकिस्तान) मा बस्थे । अफगानिस्तानको कुभा नदीदेखि गङ्गा नदीसम्म ऋग्वेदको भौगोलिक विस्तार देखिन्छ । यसरी वैदिक धर्मको बिउ पूर्वी कजाखस्तानमै टुसायो होला, तुर्कमेनिस्तानमा गाँजियो भने, पन्जाबमा फस्टायो र पूर्ण रूप लियो भन्ने देखिन्छ । गङ्गा नदीको नाम त ऋग्वेदको दसौँ मण्डलमा एक ठाउँमा मात्र आउँछ । उत्तर वैदिक साहित्य मात्र गङ्गा किनारमा धेरै लेखियो ।
लेकमा बसोवास गर्ने आर्य र ऋग्वेद रच्ने आर्यको चालचलन प्राकृतिक र पर्यावरणीय भिन्नताले नै फरक पर्न थाल्यो । वैदिक धर्ममा जुन किसिमको आचार, नियम र अनुशासन बाँधियो, लेकका आर्यहरूले दुइटा कारणले त्यो अनुशासन पालन गर्न सकेनन् । पहिलो कारण त लेकमा बसोवास गर्ने आर्यहरू वैदिक धर्म सुरु हुनुभन्दा अगाडि नै पामिर र हिन्दुकुशबाट बग्ने सबै खोलाहरूको गड्तिरै गड्तिर माथि उक्लिसकेका थिए, त्यसैले पनि उनीहरूलाई वैदिक धर्मको ज्ञानै भएन । दोस्रो कारणचाहिँ हिमाली भूभागको पर्यावरणै बेग्लै थियो, त्यसैले वैदिक धर्म पालन गर्न तिनीहरूले रुचि देखाएनन् । त्यस्ता जनै नलगाउने र वैदिक धर्म नमान्नेहरूलाई ‘व्रात्य’ भन्ने चलन थियो । अथर्व वेदमा शिवजीलाई पनि ‘व्रात्य’ भनिएको छ । यसरी लेकाली आर्यहरू ‘व्रात्य’ भएछन्, बेँसीका आर्यहरू वैदिक (अथवा ब्राह्मण) भएछन् । वैदिक आर्यहरूका प्रतिनिधि देवता पछि विष्णु भएछन् भने, व्रात्यहरूका देवता शिवजी भएछन् । यसरी के बुझिन्छ भने वैदिक आर्यहरूको प्रतिनिधि वेद ऋग्वेद भएछ भने, लेकाली व्रात्यहरूको प्रतिनिधि वेद अथर्व वेद भएछ भन्ने बुझिन्छ ।
प्रारम्भमा वैदिक धर्म मान्ने आर्य ब्राह्मण, वैदिक धर्म नमान्ने आर्य व्रात्य र विजातिहरू ‘शूद्र’ भन्ने जातीय वर्गीकरण बनेको देखिन्छ, तर इपू. सातौँ शताब्दीपछि त आफैँसँग आइलाग्ने आफ्नै गोती शकहरूलाई पनि ‘शूद्र्स्कुद्र’ र ‘दास’, ‘दाह’, ‘दाहई’ भनेको पाइन्छ । प्रारम्भमा ‘वैश्य’ मात्र व्यापार गर्ने अर्थात्, पेसाका आधारमा वर्गीकरण गरिएको जाति थियो (अस्को पार्पोला, २०१५ इ.)। कर्णाली प्रदेशमा अझै जनै नलगाउने व्रात्यहरू पाइन्छन् । शिवजीको पनि सबभन्दा पुरानो मूर्तिमा जनै लगाइएको पाइँदैन (गोपीनाथ राव, १९१६ इ., हिन्दु आइकोनोग्राफी) । पशुपतिमा वाग्मती किनारमा भएको विरुपाक्षको किरातकालीन मूर्तिमा पनि जनै छैन । शिवपुराणअनुसार ‘विरुपाक्ष’ शिवजीकै एउटा नाम हो ।
नाचगानलाई वैदिक साहित्यमा राम्रो आचरण मानिँदैन, तर शिवजी त ‘नटराज’ र नाचगान र लोक साहित्यका देउता हुन् । ऋग्वेदमा रुद्रलाई सबै प्राकृतिक अनिष्टहरूका देवता मानिएको छ भने, पुराणहरूमा शिवजीलाई लत्तो छाड्ने देवताकै रूपमा चित्रण गरिएको छ । उल्लिखित हिमाच्छादित भूभाग शिव भूमि हो । त्यहाँ देवीको पनि पूजा हुने हुनाले खसहरू तुर्कमेनिस्तानकै बाटो लेकतिर लागेछन् भन्ने बुझिन्छ । खसानमा मानिने मुख्य देउता मस्टो (‘महिष्ठः’) पनि शिवजीकै अनेक रुद्र रूप हुन् ।