• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
धुव्रचन्द्र गौतम काठमाडाैं
२०७६ भदौ २१ शनिबार ०६:४३:००
इतिहास

बनारसको मामुरगन्जमा ‘नरेन्द्रदाइ’को स्मृति

साथीभाइ डराउलान् भनेर म बिपीसँग भेटेको चर्चा गर्दिनथेंँ । मलाई पनि भित्र–भित्रै एउटा डर थियो ।

२०७६ भदौ २१ शनिबार ०६:४३:००
धुव्रचन्द्र गौतम काठमाडाैं

दर्जनजति स–साना भुराहरू, हातमा कर्ची र त्यसको टुप्पोमा स–साना रंगीबिरंगी टाला बाँधेर, त्यसलाई झन्डाझैँ उचाल्दै नारा लगाइरहेका थिए, इन्कलाब– जिन्दावाद, राणाशाही–मुर्दावाद, वीर–विश्वेश्वर जिन्दावाद ।ती आधा दर्जन केटामा एकजना म पनि थिएँ । दाजुहरू त्यस बखतसम्म कांग्रेस पार्टीमै थिएजस्तो लाग्छ । हामीमा दाजुले कुनै–कुनै वेला, दाजु नै जुलुुसमा, हामो घरपछिल्तिर रहेको रेल्बे लाइनमा यस्तै नारा लगाउँदै हिँडेको प्रभाव परेको थियो । त्यसपछि उनीहरू कम्युनिस्ट पार्टीसँग संलग्न भएका थिए । 

विश्वेश्वरको नाउँ सुनेको मैले त्यही दिन पहिलोपटक हो । तर, चिनेर–जानेर वा बुझेर उनको नाउँ सम्झिने मेरो उमेर पनि थिएन । उनको नाउँसित परिचयचाहिँ त्यसरी नै भएको थियो । आइएमा उनको ‘शत्रु’ भन्ने कथा पढाइन्थ्यो । म त्यसको मनोवैज्ञानिक अन्त्यबाट निकै प्रभावित थिएँ । ‘दोषी चस्मा’ भन्दाअघि मैले सूर्यविक्रम ज्ञवालीद्वारा सम्पादित ‘कथा–कुसुम’ पढेँ, एमए पढ्दा । तर, त्यसअघि डा. ईश्वर बरालद्वारा सम्पादित ‘झ्यालबाट’ पढेको थिएँ, जसमा बिपीको कथा पनि थियो ।

यसरी सुरुदेखि अन्त्यसम्म म बिपीको साहित्यबाट प्रभावित रहेँ । बहुदलीय व्यवस्था आएपछि दुईतिहाइ मत ल्याएर विजय भएको कांग्रेस पार्टीका नेता बिपी कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री बने, यद्यपि, पछि उनलाई ‘कू’द्वारा अपदस्त गरियो । प्रधानमन्त्रीका रूपमा बिपीको ‘दबदबा’ स्वदेश मात्र होइन, विदेशमा पनि निकै बढेको थियो । त्यसैले होला ।यहाँ म बिपीसँगको आफ्नो भेटको संस्मरण सुनाउन चाहन्छु, जुन अहिले सम्झँदा रोचक लाग्छ । बिपीसँगको पहिलो भेट नै एकतर्फी थियो । अर्थात् मैले बिपीलाई चिन्ने, उनी मलाई नचिन्ने । 

बिपी प्रधानमन्त्री भएको समयमा म १६ वर्षको थिएँ । धनुषचन्द्रहरू मिलेर संसद्मा क्यान्टिन खोल्ने अनुमति पाएका रहेछन् । त्यही संसद्को क्यान्टिनमा असिस्टेन्ट म्यानेजर हो कि, के हो भनेर म काम गर्ने भएँ, म्यानेजरजस्तो अर्को कोही नदेखिएकाले ! असिस्टेन्ट पनि के भन्नु ? म टेबुल–टेबुलमा गएर सांसदको अर्डर लेख्थेँ । त्यहाँ बस्ने लाभ के देखेँ भनेँ, म सारा नेताले बोलेको बेरोकटोक सुन्न सक्थेँ । 

रुचिकर ‘जब’ नै थियो । तर, यसलाई दुर्भाग्य नै भनौँ, पहिलो दिन नै जब म क्यान्टिन बन्द गरेर घर गएँ, त्यसपछि फेरि त्यस क्यान्टिनमा जानुपरेन । पहिलो रात नै क्यान्टिनमा यस्तो चोरी भयो, फेरि त्यो क्यान्टिन खुल्न सकेन । दाजुहरू लगानीकर्तालाई त ठूलै असर प-यो होला, म भने एकै दिनमा ‘बेरोजगार’ बन्न पुगेको थिएँ । 

त्यहाँ बिपीलाई टाढाबाट देख्न सम्भव थियो । दाजुको डेरा काठमाडौंको डुगमबहील भन्ने ठाउँमा थियो । म पनि त्यहीँ बस्थेँ । त्यहाँ धेरैजना बौद्धिक व्यक्ति आइरहन्थे । राजनीतिज्ञ, पत्रकार, साहित्यकार, आदि । तिनैमा हाम्रा ठूलाबाका छोरा बटुकचन्द्र गौतम पनि हुन्थे । एक दिन उनले आएर भने, ‘बिपीको सम्मानमा र्‍वायल होटेलमा एउटा पार्टी हुँदै छ, बिपी प्रमुख अतिथि, मैले पास ल्याएको छु एउटा बढी, तँ पनि जान्छस् ?’

उनले मलाई सोधेका रहेछन् । बिपी त्यस बखतका जनप्रिय र शक्तिशाली प्रधानमन्त्री– साहित्यकार । उनको सम्मानमा समारोह हुँदै छ, त्यस बखतको सबभन्दा ठूलो होटेल र्‍वायलमा । पत्रकार संघ वा कसैले आयोजना गरेको थियो ! तर, त्यस बखत त्यत्रो समारोहमा जाने न मेरो उमेर थियो, न हैसियत । तर, ‘यो नेपाली ठिटो’ भनेजस्तै ‘यो वीरगन्जिया ठिटो’ पनि किन दब्थ्यो ! उत्साहित भएर ‘जान्छु’ भनिदिएँ । बटुदाइले एउटा पास उत्तिखेरै दिए । 

समस्या त अब थपिएको थियो । त्यति भव्य समारोह, देशी–विदेशी पनि आउँछन् । म त मेरा दाइ धुनषचन्द्रको शब्दमा, ‘यो धुरे मैलो कमिज–पाइजामा र चप्पल लगाएर ‘वैद्यनाथ’को झोला बोकेर काठमान्डु आएको थियो ।’म साँच्चिकै त्यसैगरी आएको थिएँ, एकजोर मात्र लगाएर । ‘वैद्यनाथ’को झोलामा त किताब होलान् कि एकजोर एक्स्ट्रा लुगा भनेर कोचेको डोरिया कमिज र खाकीको कट्टु माने हाफ पाइन्ट ! तर, जानु त पर्‍यो ! त्यस्तो मौका छाड्न भएन, अनि ?

बटुदाइ पनि मेरो यो चिन्तामा सामेल रहे । धनुषचन्द्रको एउटा पुरानो कालो कोट थियो । त्यो फेला पारियो । त्यसै समयको उनकै हो कि, एउटा खैरो रङको ईश्वरचन्द्र (साइँला दाइ)को पाइन्ट मैले कामठमाडौंजस्तो सहरमा चाहिन्छ भनेर कोचेको थिएँ, त्यो हो । जे होस्, कसैगरी कोट–पाइन्टको व्यवस्था भएको थियो । जुत्ता त के थियो, दाजुकै जुत्ता अलिकति ठूलै भए पनि ‘लतार्दै’ हिँडेर पनि काम चल्छ, त्यसका लागि समस्या मानिएन । म एकदम खुसी थिएँ, कि ‘आननफानन’मा सारा इन्तजाम भएको थियो । जाने दिन म यिनै, आपादमस्तक जडाउरी लुगाले ‘लैस’ भएर हिँडे, बटुदाइसँगै । 

धक त मलाई लाग्नुपर्ने हो, तर एक थोपै पनि लागेन । म त मात्र बिपीसित भेट हुन्छ, नजिकबाट देखिन्छ भन्ने अधिक उत्साहमा थिएँ । म कस्तो देखिएको हुँला त्यो लुगा सेटमा, पर्वाह थिएन । मान्छेको दृष्टि सबभन्दा बढी कोटमाथि पथ्र्यो । जतिसुकै पुरानो वा दुब्लो वेलाको भएपनि कोट त मेरा ज्येष्ठ दाजुकै थियो, जो एक ठिटोले लगाएको थियो । पाइन्ट त त्यसअघि लगाइसकेको थिएँ एकपटक । कोट त्यो मेरो जीवनको पहिलो कोट थियो । संयोग हेर्नुस्, जसरी पाइन्ट जडाउरी थियो पहिलो, त्यसैगरी पहिलो कोट पनि जडौरी भयो । एक किसिमले जोडा मिलेको थियो भनूँ । 

होटेलको हल ठूलो थियो । धेरै प्रकारका मानिस आएका थिए– देशी–विदेशी, बिपी तीनै भिआइपीले घेरिएका थिए । ससाना समूहमा अभिजात स्त्री–पुरुष केही न केही कुराकानी गरिरहेका थिए । केहीको हातमा ह्विस्की वाइन थियो । सम्भवतः भर्खर चलेको संस्कृति थियो । मतिर कसैको ध्यान त के हुन्थ्यो ? तैपनि थियो । कसरी भने, जसले मतिर हेथ्र्यो, भुक्किएर कि त मुसुक्क हाँसेर अघि बढ्थ्यो कि समूहमा उभिएको छ भने निकै अचम्म मानेर हेथ्र्यो । दुई मुख्य कारण थिए ।

जतिसुकै जे गरे पनि कोटले मलाई अनौठो देखाइरहेको थियो । हामी त्यस्ता फन्नी खालका साथीलाई मार्कट्वेनको एक पात्र हकलबेरी फिन भन्थ्यौँ । ‘देखो हकलबेरी फिन आ गया’, यस्तो कहिलेकाहीँ मलाई पनि भनिदिन्थे । -वायल होटेलको पार्टीमा अन्य कसैले त त्यो पात्र सम्झेन होला, मै आफूलाई ‘हकलबेरी फिन’ मानिरहेको थिएँ । मेरो कोटले मलाई ‘ड्रेस–अप’ गराउनुभन्दा पनि ‘झुल–अप’ बनाइरहेको थियो । यस्तो लागिरहेको थियो, म उभिएको छु वा हिँडिरहेको छु, कोट भने मेरो शरीरमा हरक्षण झुलिरहेको थियो । 

अर्को, त्यहाँ जति पनि मानिस थिए म तिनमा सबैभन्दा सानो कानुनी रूपमै नाबालिग थिएँ । केही महिना मात्र अघि कलकत्ता जाँदा म हाफ टिकटमा गएको थिएँ । तर, त्यहाँ म यस्तो केही मान्न तयार थिइनँ । म आफूलाई एक नवयुवक मानिरहेको थिएँ । म बारम्बार आफूलाई बालिग र म्याच्योर्ड देखाउन अझ बौद्धिक बालिग देखाउन हरसम्भव प्रयत्न गरिरहेको थिएँ । 

त्यसका लागि मैले केही प्रभावकारी कदम चाल्ने कोसिस गरेँ । म ती अभिजात र राम्रा र सुगन्धित महिलाका आसपासमा परिक्रमा गर्न थालेँ । हाम्रो वीरगन्जतिर भए भन्थे, म डराउन थालेँ । क्लाइमेक्स त अझै बाँकी थिए, त्यो पनि एकभन्दा अधिक । म अब आफ्नो स्तर बढाउन त्यही समूहमा जान थालेँ, जहाँ प्रधानमन्त्री बिपी कोइराला, भिआइपीका भिडले घेरिएर विभिन्न प्रश्नकर्तालाई यथोचित उत्तर दिइरहेका थिए । त्यसबखत, त्यो मेरो गल्ती सच्याउन बटुदाइ कतैबाट आउँथे र मलाई तानेर अन्तै लान्थे । बटुदाइकै शब्दमा, ‘धुरेलाई प्रधानमन्त्रीको हुलबाट गएर म तानेर ल्याउँथेँ । यो भने फेरि त्यहीँ पुग्थ्यो । मैले कतिपटक तानेर ल्याएँ । यसले ज्यान गए बुझेन र जति तान्यो, त्यति नै पटक फेरि प्रधानमन्त्रीतिर पुगिहाल्थ्यो ।’

दुईवटा घटना मेरा लागि अझ सम्झनायोग्य रहेका छन् । यस्तै, हुलमुलमा मैले उत्सुकतावश बिपीले लगाएको कोट छोएँ । आज त्यस्तो सम्भव छैन, सुरक्षाका कराण । त्यसबखत सुरक्षा त नहुने कुरै भएन । तर, बिपी थिए जननायक, त्यसकारण उनले होटेलभित्र होलो मान्नलाई सुरक्षाकर्मीलाई केही टाढै राखे होलान् वा के थियो त्यहाँ त्यसबखत उनको निजी गार्ड पनि देखिनँ । अर्को घटना छ, कुनै क्षणमा बिपीले मलाई देखे । पुलुक्क हेरे । एकै निमेषसम्म उनले मलाई हेरि नै रहे ।

बोल्न त केही बोलेनन् । उनको हेराइ मैले बुझेअनुसार, यो बालक यहाँ कसरी आएछ ! यो घटना बिपीले त पक्कै बिर्से । उनले सम्झिने लायक पनि त थिएन । म स्वभावले संकोची हुँदा–हुँदै पनि त्यति आँट गरिहालेँ । पछि भेट हुँदा मैले पनि कहिल्यै सोधिनँ । तर, हरेकपटक भेट्दा म त्यो घटना अवश्य मनमनै सम्झिन्थेँ र आफ्नो केटाकेटीपनमाथि हाँस्थेँ । त्यो पनि मनमनै । 

त्यस दिनको एउटा तेस्रो घटना छ । त्यो मेरो अर्को मूर्खताको घटना थियो भन्ठान्छु, आफूलाई ‘ठूलो’ देखाउन हो कि के हो ! बेराहरू किस्तीमा पेय पदार्थ लिएर चारैतिर घुम्दै हिँडिरहेका थिए । तिनले फिल्ममा जस्तै युनिफर्म लगाएका थिए । र, एकदम अनुशासित र सुग्घर देखिन्थे । मैले एकाएक कसरी सोचेँ, म भन्न सक्दिनँ– अब म ह्विस्की खान्छु ।

त्यतिन्जेलसम्म भाङ त मैले खाएको थिएँ, रक्सी छोएको थिइनँ । तर, मलाई त आफूलाई बालिगसिद्ध गर्नु थियो । हुन सक्छ त्यसैले, त्यस्तो अठोट गरेको थिएँ । मैले एउटा जुँगे बेराको ट्रेमा हात बढाएर एक पेग ह्विस्की हालेको गिलास समाएँ । मेरो अनुमानविपरीत र सोच्दै नसोच्ने गरी त्यसैबखत एक्कासी त्यो अनुशासित र शान्त बेरा अलिक सावधान गर्ने स्वरमा बोल्यो, ‘के लिएको ! यो त ह्विस्की हो ह्विस्की !’

वास्तवमा त्यसको अलिक कडाजस्तो हप्काइले म डराएँ र झसंग भएर भनेँ, ‘ए हो र ?’ त्यसपछि हातमा लिइसकेको गिलास फेरि ट्रेमा राखिदिएँ । सर्बतको गिलास उठाएँ । अहिले सोच्दा रमाइलो लाग्छ, त्यो बेराले समेत मलाई रक्सी खान लायक देखेन । त्यसबखत त्यो बेराले नहकारेको भए, म नडराएको भए, त्यही मेरो पहिलो सुरापान हुन्थ्यो । त्यसबखत म त्योसित डराएकै हो र मैले मानेकै हो– म अहिले लिकर सेवनलायक भएको छैन ।

बिपीसँग दोस्रो वा भनूँ पहिलो दोहोरो भेट २०२७ सालतिर भएको थियो, जुन भुवन ढुंगाना (त्यसबखत कोइराला)मार्फत भएको थियो, बनारसमा । त्यसबखत बिपी बनारसको मामुुरगन्ज भन्ने ठाउँमा बस्थे । हामी पारिवारिक किसिमले घुम्न गएका थियौँ । हामी बसेकै सडकतिर म हिँडिरहेको थिएँ । एउटा रिक्सा मनजिकै आएर रोकियो, भुवन कोइराला रहिछन् । उनले भनिन्, ‘बिपीसँग भेट्नुहुन्छ ? म समय मिलाउँछु भोलिलाई । तपार्इं बिहान ९ बजे यहीँ उभिइरहनुहोला ।’
मैले त उत्साहले ‘हुन्छ’ भनिसकेको थिएँ । समय कडा थियो । यति कडा कि मैले साथ आएका नातेदार–साथीभाइ कसैलाई पनि भनिनँ– न जानुअघि, न भेटेर आएपछि । 

मामुरगन्जको एउटा पहेँलो बंगलामा बिपी बसेका थिए । कम्पाउन्ड पनि थियो । म गएको त थिएँ, एकछिनको भेटघाटका लागि भनेर, खुब भए एक कप चिया खाउँला ! चिया त खाइयो पनि । तर, चिया खाँदाखाँदै बिपीले भने, ‘यहीँ खाना खाएर जानुस् ।’राम्रो यसकारण लाग्यो, बिपी कति शिष्ट र समान व्यवहार गर्ने रहेछन् । नत्र म को थिएँ र उनका लागि ! एक भर्खर लेख्न सिकिरहेको लेखक ! तर, उनले एउटा म्याच्योर्ड मानिसलाई जस्तै समान व्यवहार गरेका थिए ।

भुवनजी त त्यसपछि अन्तरपुरमा नातेदार भएकाले भेटघाट गर्न गइहालिन् । त्यो कोठामा लगभग दुई घन्टासम्म रह्यौँ– केवल म र बिपी । त्यसबखतसम्म मैले उनका कथा र उपन्यास सबै पढिसकेको थिएँ । आश्चर्य केमा लाग्यो भने, थोरै निस्किएका भए पनि उनले मेरो कथा पढेका रहेछन् । तर, त्यहाँ उनकै उपन्यास र कथाबारे चर्चा गरेर बसिरह्यौँ । उनले पनि रुचिका साथ मेरा कुरा सुनिरहे । मैले उनका पुस्तकबारे सोधेका जिज्ञासाका उत्तर दिइरहे । 

बिपीको ‘तीन घुम्ती’ उपन्यास, २०२३ सालमा प्रकाशित भएको थियो । ‘तीन घुम्ती’ किन्न पुस्तक पसलमा मानिस लाम लागेको मैले देखेको थिएँ । कुनै पनि एउटा नेपाली पुस्तकका लागि मानिसहरू लाम लागेको मैले पहिलोपटक देखेको थिएँ । त्यसअघि मैले कुनै नेपाली साहित्यिक पुस्तकका लागि त्यति लामो लाइन 
देखेको थिइनँ । 

त्यसबखतको समय, कुनै अनुसन्धातालाई थाहा होला, कति बन्देजको र भयको समय थियो । तर, मनोविज्ञानमा ‘टाबु’ तोड्न आनन्द आउने प्रवृत्तिको पनि उल्लेख छ । ‘तीन घुम्ती’मा त्यही देखिएको होला । उनको प्रथम कथा ‘चन्द्रवदन’देखि ‘दोषी चस्मा’ अनि ‘कर्णेलको घोडा’, ‘मधेसतिर’ मात्र होइन, सामाजिक समस्यालाई पनि इंगित गर्ने एउटा लोकप्रिय कथा ‘विवाह’समेतको चर्चा भयो । कुरा यत्ति भएछ कि लन्च खाने वेला भइसकेछ ।

लन्चमा त परिवारका अन्य सदस्य पनि थिए, भुवनसहित । लन्च ढिलो नै हुन्छ, हामो १०–५ को नेपालीलाई । त्यसका परिकार के–के थिए, त्यो मैले सम्झेर मात्रै भन्नुपर्ने हुन्छ । त्यो लन्च अत्यन्त भव्य थियो । यो म अझै भन्न सक्छु । किनभने, त्यस्तो त्यो एक मात्र लन्च थियो अनि पहिलो र अन्तिम पनि, जुन मलाई बिपीका साथ खाने अवसर जुरेको थियो । त्यस्तो लन्चलाई भव्यबाहेक अरू के भन्न सकिएला?

खाना खाएपछि धेरैबेर बसेनाैँ । अरू पनि भेट्न आउने थिए होलान् । राजनेताको व्यस्तता त जहाँ बसे पनि, जसरी बसे पनि, त्यत्तिकै बढेको हुन्छ, झन् त्यसमाथि सत्ताबाहेकको राजनीतिमा । तैपनि हिँड्ने वेलामा मैले एउटा साहित्यिक जिज्ञासा राखिहालेँ, ‘हजुरलाई आफ्ना उपन्यासमा सबभन्दा बढी कुन मन पर्छ ?’
उनका उपन्यास त मैले जम्मै पढिसकेको थिएँ, मनमा थियो । बिपीले नै आफ्नो कुनै उपन्यास बढी मन पर्छ भने त्यसलाई घर गएर फेरि पढुँला । तर, उनले उत्तरको साटो मलाई नै प्रश्न गरिदिए, ‘तपाईंलाई नि ?’

मेरो मुखबाट फ्याट्ट निस्केको थियो, ‘नरेन्द्र दाइ ।’ त्यसपछि एकछिन् मैले बताउनुपर्‍यो,के–के कारणले नरेन्द्रदाइ मन पर्छ !’बिपीले पनि त्यसैबखत भने, ‘मलाई पनि त्यही उपन्यास मन पर्छ आफ्नो ।’ अर्थात् नरेन्द्र दाइ नै उनलाई पनि मन पर्छ ?धेरै समयसम्म यो प्रश्नले मलाई सताइरह्यो । बिपीले, आफ्नो उपन्यासमा ‘नरेन्द्र दाइ’ मनपर्छ भनेर साँच्चिकै भनेका हुन् कि मेरो मन राख्न ?

कालान्तरमा एक दिन यो प्रश्न आफ्नो आशंकासहित मैले चक्र बास्तोलासमक्ष राखेँ । उनले भने, ‘त्यो हुन सक्छ, नरेन्द्र दाइसँग उहाँको बेग्लै अट्याचमेन्ट थियो ।’चक्र बास्तोलासँग उनीहरू बनारसमै बस्दा चिठीपत्र भएको थियो, ‘रहर’ भन्ने पत्रिका उनीहरूले निकाल्ने क्रममा मसँग रचना माग्दा । तर, साक्षात्कार भएको थिएन । 

बिपीकहाँबाट हिँड्ने वेलामा उनलाई पुर्‍याउने भनेर बाहिरसम्मै आए । म त्यहाँबाट पनि उनीसँग प्रभावित भएको थिएँ । बाहिर एकजना दुब्ला–पातला युवक खद्दरको कुर्ता र पाइजामा लगाएर काँधमा क्यानभासको झोला भिरेर उभिएको पनि देखिए । तिनै रहेछन् चक्र बास्तोला, जोसित मेरो त्यहीँ पहिलो साक्षात्कार भएको थियो । हिँड्ने वेलामा बिपीले भने, ‘चिठी लेख्नुहोला ।’

मैले भनेँ, ‘लेखिहाल्छु नि !’ उनले हाँसेर भने, ‘कि डराउनुहुन्छ ?’‘डराउने मान्छे यहाँ आउनै बढी डराउँछ ।’‘मेलमिलाप नीति’ लिएर बिपी स्वेदश फर्किएपछि नेपाली राजनीतिमा बेग्लै खालको हलचल आएको थियो । उनी चाबहिलको घरमा बसेका थिए । एकपटक पुराना साहित्यिक मित्र पुरुषोत्तम बस्नेतले डा. रमेश चापागाईं  र मलाई त्यहाँ लगेका थिए ।

त्यहाँ बनारसमा जस्तो कुराकानी त भएन, तर धेरैबेर नेताका कुराकानी सुन्न पाइयो । त्यहाँ गणेशमानजी, किशुनजी आदि थिए । गणेशमानजी अलि पछि आए क्यार ! ती ठूला नेताका बीचमा पनि शिष्टाचार कायम रहेको मलाई मनपरेको थियो । गणेशमानजी आउनासाथ बिपीसहित अन्य त्यहाँ भएका नेताले समेत जुरुक्क उभिएर अभिवादन गरेका थिए । राजनीतिमा यस्तो संस्कृति मलाई अत्यन्तै सराहनीय लागेको थियो । 

मेरो एउटा अर्कोे हठको कुरा पनि त्यहाँ छ । मैले त्यहाँबाट हिँड्ने वेलामा बिपीसित कुनै दिन अलग्गै भेट्ने समय मागेँ । उनले कुनै दिन तोकिदिए । 
भनेको दिन र समयमा म पुगेँ । बिपी एकैछिनपछि म बसेको ठाउँमा आए । यहाँ अलिकति केही भन्न जरुरी छ । त्यो भेट मैले किन मागेको थिएँ, म आफैँ जान्दिनथेँ । अझै जान्दिनँ । कुनै एजेन्डा थिएन ।

राजनीति म नजान्ने, साहित्यिक कुरा बनारसमै गरिसकेको थिएँ । अनि मैले किन अलग समय मागेँ होला, पछि सोच्दा थाहा पाएँ । त्यहाँ समूह थियो, मलाई एजेन्डा नभएर पनि बिपीलाई काठमाडौंमा बनारसमा जस्तै गरी साहित्यिक कुरा गर्न मन लागेको हुनुपर्छ । तर, जिज्ञासा त मसँग कुनै छँदै थिएन । सम्भवतः बनारसमा म मात्र हुँला, जसले बिपीसँग केवल साहित्यिक जिज्ञासा राखेको थियो, राजनीति उच्चारणै गरेन, किनभने त्यसबारे मैले केही जान्नु पनि त पर्‍यो बोल्न ! 

यहाँ केही फरक पनि देखाउने कोसिस गरेको हो कि मैले ? पहिलो प्रश्न नै मैले यस्तो पो गरेँ, ‘हजुरलाई कोही–कोही अहिले त्यति सक्रिय हुनुहुन्न भन्छन् नि ?’
उनले तत्काल भने, ‘आर्म चेयर पोलिटिसियन भन्छन्, तर त्यस्तो होइन, केवल फिल्डमा मात्र पोलिटिक्सि गरिन्न । मुख्य कुरो विचार हो । विचारको सक्रियता लिएरै फिल्डमा पनि सक्रिय हुने हो । घर बसेको देखिँदा पनि विचार सक्रिय राख्न सक्यो भने निष्क्रियता हुँदैन । हो विरोधीले त्यस्तो भन्ने गर्छन् ।’

बिपीलाई सब थाहा रहेछ, आफ्नाबारे विरोधीका तत्कालिक प्रतिक्रिया पनि । त्यस दिन मेरो उपलब्धि भनेको वाक्यांश ‘आर्म चेयर पोलिटिसियन’ हो, जुन मैले पहिलोपल्ट बिपीकै मुखबाट सुनेको थिएँ । त्यस दिनको झन् स्पेसल समय मागेर गरेको भेटघाट बनारसको जति भएन, किनभने म केवल बिपीलाई अलग्गै भेट्ने चाहन्थेँ, त्यसमा कुनै स्पष्ट एजेन्डा थिएन । जे होस्, बिपीसँग त्यस्तो भेट पनि भयो भन्ने सम्झना मात्र हो । 

जनमतसंग्रहको समयमा बिपीको भाषण सुन्न अपार भिडका बीचमा म पनि मिसिएको थिएँ । त्यस दिन पानी पनि परेको थियो । कसैले मलाई छाता ओढाइदिएको थियो । हामी पूरा समय बिपीको भाषण आधा रुझेर भए पनि सुनिरह्यौँ । ०३८ सालतिरको कुरा हो । म चाबहिलको आफ्नो पहिलो घरमा सरिसकेको थिएँ ।

डेराको जीवन बिताउँदा–बिताउँदा हत्तु भएर पुगेको म र मेरो परिवारले त्यो चिटिक्क होइन, सानो र साँघुरो घरमा पनि धेरै होलो महसुुुस गरेको थियो । त्यहाँ मेरा छिमेकी थिए– साहित्यकार र त्यसबखतको प्रख्यात पत्रिका ‘रूपरेखा’का एक सम्पादक उत्तम कुँवर र अर्का थिए– साहित्यकार तथा सम्पादक बालमुकुन्ददेव पाण्डे । 

उत्तम कुँवरको घरमा म गइरहन्थेँ । उनी पनि मकहाँ आइरहन्थे । एक दिन एकजना मानिसले एउटा सानो चिट दियो, जसमा लेखिएको थियोः ‘बिपी कोइराला प्रमुख अतिथि रहनुभएको दिवाभोज कार्यक्रममा यहाँलाई आमन्त्रित गर्दछु । मिति..., समय ...।’दुई/तीन दिनपछिको निम्तो थियो । मैले उत्तम कँुवरलाई फोन गरेँ, ‘किन उत्तमजी, लिखित पठाउनुभयो, यति नजिक भएर पनि ? मलाई त फोन गरिदिएको भए पनि हुन्थ्यो नि !’उनले जवाफ दिए, ‘हेर्नुस धु्रवजी, बिपीजस्तो प्रमुख अतिथि भएको कार्यक्रममा तपाईं आउन सजिलो होला/नहोला भनेर हो । कोही–कोही बिपीलाई भेट्न डराउने पनि त छन् नि !’

फोन राखेर म मनमनै हाँसे । मैले कस्तो समयमा बिपी भेटेको थिएँ, त्यो उत्तम कँुवर त के, धेरैलाई थाहा थिएन । साँच्चै भनूँ भने म डराउनुभन्दा पनि साथीभाइ डराउलान् भनेर पनि म बिपीसँग भेटेको चर्चा गर्दिनथेँ । मलाई पनि एउटा डर थियो होला । म त त्रिचन्द्रमा सरकारी शिक्षक, कसैले कुरा लाएर आफ्नो सीप देखाइदियो भने के होला ?तर, एक जमानामा पञ्चायतकालभरि म त्रिवि केन्द्रीय विभागमा गएपछि बिपीको विषयमा एमए, पिएचडीको कुनै पनि थेसिस आयो भने, त्यसमा गाइडको जिम्मा प्रायः मलाई दिइन्थ्यो । 

त्यस्तो कुनै पनि विषय आयो भने ‘यो धु्रव सरको भाग’ भनिन्थ्यो । त्यहाँ गएर तपार्इंले हेर्नुभयो भने ०४६ सालअघि प्रायः बिपी कोइराला मेरै जिम्माका विषय हुन्थे । उनलाई हटाउन पनि नमिल्ने नेपाली आख्यानबाट, उनलाई अँगाल्न पनि नमिल्ने वातावरण थियो, अनि ?‘पानी छन् डराएझैँ, तर जिउन भई मन ।’
तर, ठीक ०४७ पछि स्थिति पर्लक्क पल्टियो । अब त बिपी तँछाड–मछाडका विषय भएका थिए । मैले पाउनु त कता हो कता ! उत्तम कँुवरले निम्तो गर्दा जनमतसंग्रह भइसकेको थियो । तैपनि हावामा आतंक बाँकी रहेछ ।

उत्तम कुँवरकहाँ भएको बिपीसँगको भेटघाट मेरा लागि बनारसको जत्तिकै यादगार र अन्तिम पनि थियो । त्यहाँ बढी कुराकानी माड्साब (मदनमणि दीक्षित) र बिपीकै बीचमा भयो । माड्साब पूर्वेली दर्शनका विद्वान्, तर बिपीसँग कुरा गर्दा उनले एकपटक अचम्म मानेर सोधे, ‘तपाईं यति धैरै पढ्न कसरी भ्याउनुहुन्छ ?’
बिपीले भने, ‘प्लेनमा लामो यात्रा गर्दा पनि पढ्छु ।’ म त स्रोता मात्र थिएँ, त्यस दिन । मेरो ज्ञानले नभ्याउने हुनाले । पुरुषोत्तम बस्नेत, मदन रेग्मी पनि थिए त्यो भेटघाटमा । कतिजना मैले नचिनेका पनि थिए । यो धमिलो फोटो, जुन पाठक देखिरहनुभएको छ, त्यसै समयको हो ।तर, फोटोमा सबैजना छैनन् । 

अन्त्यमा बिदाई समारोह भयो । उत्तम कुँवरले बिदा गरे । भ-याङ ओर्लिंदा–ओर्लिंदै बिपीले उत्तम कुँवरलाई भने, ‘म यति चाँडो उहाँलाई भेट्न चाहँदैनथेँ । तपाईंले बोलाइहाल्नुभयो....।’तर, बिपीको खुबी भन्नुपर्छ । त्यहाँ आमन्त्रित हामी कसैसँग पनि उनी खिन्न देखिएनन् । सबैसँग उत्साही र आत्मीयतापूर्वक कुरा गरे, सन्चो–बिसन्चो सोधे । कुनै नयाँ कवि छ भने कविताको चर्चा गरे । उनको अनुहार एक पलका लागि हामी कसैलाई देखेर खुम्चेजस्तो लाग्दै लागेन । यसलाई खुबी नै भन्नुपर्छ । 

उनले भनेको व्यक्ति तस्बिरभित्रको हो कि बाहिरको हो, म भन्न सक्दिनँ । त्यहाँ धेरै अन्य पनि सम्माननीय व्यक्ति थिए, जो तस्बिरभित्र छैनन् । कोही त्यसबखतसम्म बिदा मागेर गइसकेका पनि थिए । आधिकारिक तवरमा भन्न सक्ने दुईजना हुन्– बिपी कोइराला र उत्तम कुँवर । तर, त्यो वाक्य नै अब त सधैँलाई अनुपस्थित छ ।