• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
खगेन्द्र संग्रौला काठमाडाैं
२०७६ भदौ २१ शनिबार ०८:०३:००
समाज

उता कमरेडको आस्थापतन, यता मेरो

२०७६ भदौ २१ शनिबार ०८:०३:००
खगेन्द्र संग्रौला काठमाडाैं

मर्निङ वाकमा कर्कस स्वरमा ‘जय शम्भो’को कुटिल धावा जारी छ । लाग्छ, धावाकारी कुमलकोटी हो, र म हुँ कुमलकोटीको फन्दामा परेको कीट । छाँटले मान्छे भन्ने यो अजीबको जीव नाथे कुमलकोटीको अनुयायी पो रहेछ कि क्या हो ! धरापमा पार्न सकिने जोकोहीलाई आफ्नो प्रतिरूपमा ढाल्न खोज्ने । ठ्याक्कै आफ्नो मति, मिजास र मनोकांक्षाको प्रतिरूपमा ।

वाकजगत्मा पृथक् आस्थाको वृत्तमा भीषण घर्षण चल्दो छ । इतर पक्ष आफ्नो कुमलकोटीय जिद्दीमा अडिग छ, म आप्mनो आस्थामा अटल छु । आक्रमणको भाकामा ऊ भन्छ– ‘जय शम्भो’ । प्रतिकारको भाकामा म भन्छु– ‘नमस्कार’ । पेल्न खोज्दै ऊ भन्छ– ‘जय भोले’ । तर्किन खोज्दै म भन्छु– ‘जय मनुष्य’ । उता धावाकारी अनगिन्ती छन्, यता म छु फगत एक र एक मात्र । तैपनि म एक्लो लडिराछु । 

जीवनको दुई किनारका मनुवा हामी । देह उस्तै, आस्था बेग्लै । यी कुमलकोटीको पूर्व र पुनर्जन्म छ, मेरो छैन । यिनको स्वर्ग र नर्क छ, मेरो छैन । यिनको ईश्वर र यमराज छ, मेरो छैन । यिनलाई अनस्तित्ववासी शम्भोको चाकरी गर्नु छ, मलाई छैन । यिनलाई करुण पुकार गर्दै अगोचर शम्भोको निराकार चित्त पगाल्नु छ, मलाई छैन । तब म लत्रिएर मिथ्या ‘शम्भो’को व्यर्थको राग–रटना किन गरू“ ? मरे गर्दिन“ । जे त पर्ला !

यो निर्मम द्वन्द्वमा रहस्यमा विलुप्त विद्वान् डोरबहादुर विष्ट सम्झनामा आए । र, सँगै सम्झनामा आयो विष्टकृत ‘भाग्यवाद र विकास’ । र आयो सम्झनामा अकर्मण्य अल्छीको भाग्यवाद विकासको बाधक एवं घातक हो भन्ने उनको ठोकुवा पनि । म प्रातः लमक्मा यथावत् गतिमान् छु । लमक्को तालमा मनमा झोँकमिश्रित प्रश्न उठ्छ– के मानिस कुनै अदृश्य शक्तिको निस्तेज गोटी हो ? के मानिसको भाग्यका चार किल्ला तोक्ने अमिन उही छैटीवाले भावी हो ? के मानिस विचार र कर्म एवं अठोट र अडानले आफूमा केही होइन ? के ऊ केवल कही“ कतैका कोहीको लाचार छाया हो ? आफ्नो  भाग्य आफैँ बनाउने विवेक, संकल्प र हुती नभए मान्छे नाथेले बेतुक जीवन जिउनु नै किन ? थोकथोक आत्महत्या गरे भइगो नि ! 

यो उद्वेलनकारी तर्कनाको तरंगले मेरो बेचैनीयुक्त मस्तिष्कमा झापट दिइरह्यो । एवं रीतले महिनौँ बिते । अटुट संघर्षको मोर्चामा शुभकोे संकेत कतै गोचर भएन । उताको जिद्दी जब्बर हुँदै गयो, यताको अडान धर्मराउन थाल्यो । केही नबोलूँ, के म जिउँदै जडवत् होऊँ? केही बोलूँ, खोई आफ्नो बोलीको कौडीको भाउ ? शम्भोमण्डलीद्वारा नित्य घेरिएर, गाँजिएर, पेलिएर म गलित भएँ । र, अन्ततः संज्ञाशून्य भई म गल्र्याम्म भूमिसात् हुन पुगेँ ।

पराजयको क्षणमा विस्मय र विषा(दको मुद्रामा गम खाएँ– गाँठ्ठे, यो के भएको ? समाज दर्शन, विचार र आस्थामा विविध छ । यो विविधताउपर यत्रो बौद्धिक संकथन छ । निष्प्राण अक्षरमै सही, संविधानमा विविधताको स्थान र महत्ता छ । तर वाकजगत्मा आस्थाको यो एक रङ, यो एकरस, र यो मूढमति आरोपण– के हो यो ? के यो रुढ शाही हिन्दुत्वको प्रेतावतारको अवशेष हो ? के हो आस्था जगत्को यो दमनकारी एकाधिकार ?  के हो यो शब्दातीत घेराउ र अत्याचार ? 

म प्रातः लमक्मा यथावत् गतिमान् छु । लमक्को तालमा मनमा झोँकमिश्रित प्रश्न उठ्छ– के मानिस कुनै अदृश्य शक्तिको निस्तेज गोटी हो ? के मानिसको भाग्यका चार किल्ला तोक्ने अमिन उही छैटीवाले भावी हो ? 

द्वन्द्वको अखडामा कि तँ छैनस् कि म छैनको टक्कर चलायमान् छ । अहो ! यो टक्करमा मेरो प्रिय आस्था रगतपच्छे भयो । र, अर्धचेतको दयनीय दशामा दलित, गलित एवं पराजित स्वरमा भन्न म विवश भएँ– ‘जय शम्भो’ ! उताको असहिष्णु उन्माद विजयी भयो, यता म निजत्वसहितको ‘म’ रहिनँ ।पीडितले उखर्माउलो पीडाको क्षणमा आफूजस्तै पीडितलाई सम्झन्छ । म हठात् पुष्पकमल दाहाललाई सम्झिन पुगेँ । प्रचण्डबाट गिराइएका दुःखी पुष्पकमल दाहाललाई ।

आस्थाच्यूत गरी रङ खुइल्याएर पत्रु तुल्याइएका पुष्पकमल दाहाललाई । बरा यी पुष्पकमलको पनि मेरै जस्तो कथा छ । मेरो रुढिगत धर्मपथका कुमलकोटीहरूद्वारा निर्मित कथा हो । पुष्पकमलको पद, पगरी र पैसापथका कुमलकोटीहरूद्वारा निर्मित कथा हो । घेराउ, पराजय र पतनको दुर्दान्त कथा । म थाहा पाई–पाई आस्थाच्यूत भएँ ।

प्रचण्ड थाहा नपाई वा थाहा पाउन नखोजी आस्थाच्यूत भए । यो च्यूतीकरणको झल्ला कथा यस्तो छ । बाह्रबुँदे लिखितम्अघि प्रचण्ड किञ्चित् अभाव, दबाब र असुरक्षाको जीवन जिउँदै थिए ।  बाह्रबुँदेपछि यी हल्का चैनको सास फेर्दै यिनले तैबिसेक प्रचुरता, सुबिस्ता र सुरक्षाको क्षेत्रमा पदार्पण गरे । यो पदार्पण लोभ, लाभ र भोगबिलासको पर्यायतुल्य शाही दरबारको समीपमा भयो । र, सुरु भयो अब यी मनुवाको लोकछेउ नभनी नहुने, भन्दा लाज लाग्ने नूतन अभिनय । जगत् जान्दछ– माओवादी आफैँ“ले सिर्जना गरेको बबन्डर आँधीबेरीबाट निस्केर आएको थियो । तिनताक समस्त लोकको आशामा पनि माओवादी थियो, भयमा पनि उही माओवादी । र नै त लोकका यावत् दृष्टि माओवादीमा हर्दम एकाग्र थिए । 

बस्, सुरु भयो अब प्रचण्डको आस्थाजन्य पतनको नाटकीय सिलसिला । एकाबिहानै निवासबाहिर विशाल पटांगिनीमा दर्शनार्थीहरूको भिड छ । भित्र प्रचण्डलाई दर्शन दिन भ्याई–नभ्याई छ । स्वार्थको झोली बोकेर खुंखार पूर्वशाही अञ्चलाधीश आउँछ, धनुष्टंकार मुद्रामा दर्शन गर्छ र चरणमा कोसेली टक्य्राउँछ । कोसेली छ, जाडोलाई न्यानो डाउन ज्याकेट ।

दर्शनार्थी नक्कली दाँत टल्काएर ङिच्च हाँस्दै बिन्ती चढाउँछ– ‘हजुरको ज्यानको मूल्य ठूलो छ । यसमा हेलचेक्य्राइँ गर्न किमार्थ मिल्दैन । त्यसैले हजुरलाई यो...’ मनको कुनै कुनामा पनि नचिताइएको  कोसेली थियो त्यो । त्यसैले पहिले त प्राप्तकर्ता अवाक् भए । अब के गर्ने ? माओले ‘सित्तीमा जनताको सियोसम्म पनि नलिनू’ भनेका छन् । जनताका शत्रुको नि ? यसबारे किन हो कुन्नि माओ मौन छन् । उपद्रै जाडो याम छ । माल खास्सा उपयोगी छ । आखिर जिन्सी त हो, लिए के बिग्रला र ? बस्, कोसेली ग्रहण गरिन्छ । 

अलि दिनमा धूर्त पूर्वशाही जर्नेल आउँछ, दर्शन गर्छ र पाउमा कोसेली अर्पण गर्छ । कोसेली छ, पछिल्लो पुस्ताको आई फोन  । धूर्त हात मल्दै भन्छ– ‘हजुरको यो मोबाइल हैसियत सुहाउँदो भएन । त्यसैले मेरो तर्फबाट हजुरलाई यो स्यानो कोसेली...। शुभचिन्तकको शुद्ध भावना हो, गाह्रो नमानिदिनुहोला ।’ प्राप्तकर्ता पुनः किंकर्तव्यविमूढ भए । फेरि अर्को आइलाग्यो ! अब के गर्ने ? दे भनेर दिएको होइन । दिएको आफ्नै मर्जीले हो । आखिर जिन्सी त हो, लिए के नै बिग्रला र ? बस्, त्यो पनि थपक्क ग्रहण गरिन्छ । अलि दिनपछि नामी दलाल आउँछ, दर्शन गर्छ र टेबुलमुनि सानो सुटकेस छाडेर जान्छ । यो के हो ? निजले बिस्र्यो होला कि ?

अलि दिन सुटकेस सुरक्षित राखिन्छ । ऊ लिन आउँदैन । खोलेर हेर्दा सुटकेसमा फेला पर्छ पैसाको हेमानको पौल । आखिर श्रद्धाले छाडेको हो । गरिबले छाडेको होइन । यो लिए के नै पो बिग्रला र ? बस्, त्यो पनि सहर्ष लिइन्छ । अनि माफिया, बिचौलिया, डन, डाँका, चोर, चैते...। यता भित्रको दृश्यमाला यस्तो छ । बाहिर जुटेका कार्यकर्ता र जनसाधारण बिलखबन्द पर्दै पालो कुर्छन् । र, नेताश्रीको दर्शन नपाई फुस्रा ओठ लिएर सुस्केरा हाल्दै बाटो लाग्छन् ।

म हठात् पुष्पकमल दाहाललाई सम्झिन पुगेँ । प्रचण्डबाट गिराइएका दुःखी पुष्पकमल दाहाललाई । आस्थाच्यूत गरी रङ खुइल्याएर पत्रु तुल्याइएका पुष्पकमल दाहाललाई । बरा यी पुष्पकमलको पनि मेरैजस्तो कथा छ ।

नेताश्रीका चित्तभित्र कतै अवचेतना बाल्यकालको बोली गुन्जिन्छ । ‘संसारमा सबभन्दा ठूलो को हो ? बाबु । बाबुभन्दा ठूलो को हो ? राजा । राजाभन्दा ठूलो को हो ? भगवान् ।’ नेताश्री यसो हेर्छन्, राजाको दरबार छेउमै छ । बाउभन्दा ठूला राजाको...। एवं रीतले आँधी–सर्जक प्रचण्डको उँधोमुखी हेरफेरको भावनात्मक प्रक्रिया चल्दो छ । उनका दृष्टि तल धुलीकणबाट माथि महलको गजुरतिर एकोरिन्छन् । तल दरिद्रता छ, तल दुःख छ ।

तल अपमान छ, तल औडाहा छ । तल अनिश्चय छ, तल असुरक्षा छ । अनि माथि ? माथि सम्पन्नता छ, माथि सुख छ । माथि सम्मान छ, माथि चैन छ । माथि निश्चय छ, माथि सुरक्षा छ । मरिजाने एकबारको जुनीमा रोज्ने के ? तल कि माथि ? प्रचण्ड–पुष्पकमल नित्य माथिकाहरूको घेरामा छन् । तलका भुइ“मान्छे, तलका वाचा र संकल्प, तलका सपना र एजेन्डा– ती सब मस्तिष्कको कुनातिर कतै धकेलिँदै छन् । अनि मस्तिष्कको अग्रभागमा ? अग्रभागमा छन् उदारमना उपहारदाता । पूर्व अञ्चलाधीश र पूर्वजर्नेल । ठेकेदार र म्यानपावर सर । दलाल र बिचौलिया । डन र डाँका । कामचोर र चैते । आदि र इत्यादि । 

बाहिर पटांगिनीमा अभागी दर्शनार्थीको  गोलो छ । भित्र भाग्यमानीलाई दर्शनभेट सहजै उपलब्ध छ । उपहार अर्पणकारीहरू भित्र लामबद्ध छन् । यो अर्पण, ग्रहण र भोगको क्रममा प्रचण्ड पत्तै नपाई पुष्पकमलमा पतीत हुन्छन् । र, सँगै पतीत हुन्छ उनको सादा जीवन र उच्च विचारप्रतिको आस्था पनि । र, सगै पतीत हुन्छ क्रान्ति, परिवर्तन र सुन्दर समाजको रचनाप्रतिको उनको आस्था पनि ।   

बस्, यी हुन् दुई पीडित आत्माका आस्थाजन्य पतनका बिछट्टका कथा । भिन्न–भिन्न कोणबाट नियाल्दा दुवै कथा न्यूनाधिक कारुणिक छन् । फरक यत्ति हो– इतिहासको एउटा पात्र आफ्नो आस्थाजन्य पतनको त्रूmर यथार्थलाई शिर झुकाएर स्वीकार गर्छ । इतिहासको अर्को पात्र आफ्नो आस्थाजन्य पतनलाई समयानुकूल कार्यनीतिक चाल भन्दै लोकलाई ढा“ट्छ । सायद यसैलाई पो भनिँदो हो कि महेन्द्रीय ढोङको कुटिल भाषामा ‘सन्तान थरीथरीका’ !

(संग्रौलाको स्तम्भ मर्निङ वाकमाला अब झन् नयाँमा प्रकाशन हुनेछ ।)