• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
विकास बस्नेत काठमाडाैं
२०७६ भदौ २१ शनिबार ०६:४५:००
समाज

नजरबन्दमा चराहरू

२०७६ भदौ २१ शनिबार ०६:४५:००
विकास बस्नेत काठमाडाैं

‘झन् नयाँ’मा गत अंक प्रकाशित सौरभको चरा चिन्ता–चिन्तन एक किसिमको ‘ढिला आयो कडा आयो’ नै थियो । चराबारे ‘कभर स्टोरी’ आउनु, त्यो पनि सौरभको रैथाने अनुभव, ज्ञान र लेखन शिल्पमा कुँदिएर ! यो एक सुखद आश्चर्य थियो । वन्यजन्तु र पक्षीको वासस्थानमा देखापरेको विश्वव्यापी भयावह स्थितिप्रति यो स्थानीय चासोको निरन्तरता पनि थियो ।

‘ल्यान्ड भर्टिब्रेट’मध्ये सबैभन्दा बढी प्रजातीकरण चराकै भएको छ । संसारमा हाल १० हजार प्रजातिका चरा अस्तित्वमा छन् । यिनको रंगीन पखेटा, छरितो ज्यान र उन्मुक्त उडानले मान्छेको परिकल्पनालाई रोमाञ्चित बनाउन थालेको सदियौँ अगाडिदेखि हो । त्यसैले हाम्रो धर्म–संस्कृति र मिथहरूमा यी प्रतिबिम्बित छन् । 

नेपालको वनक्षेत्रले ६८ प्रतिशत चराहरूलाई वासस्थान दिन्छ । यीबाहेक घाँसे मैदान, बुट्यान, बँगैचा, खेत–खलियान र छेउछाउका सिमसारमा रहने–बस्ने चराहरू भने हाम्रो परिवेशका अभिन्न अंग हुन् । हामीले नियमित देख्ने र चिन्ने यिनै हुन् ।

वनक्षेत्रमा चराको स्थिति सन्तोषजनक भए पनि बाँकी क्षेत्रका चराहरूको वासस्थान अब स–साना टापुमा खुम्चिएको छ । सौरभको आलेख पढ्दै जाँदा पछिल्लो पाँच वर्षमा काठमाडाैंको काँठ र केन्द्रमा भएको चराको वासस्थान विनाशको भयावह दृश्य मेरो आँखामा कुनै ‘टाइम ल्याप्स’ भिडियोझैँ नाच्न थाल्यो ।

यत्तिकै रहरले क्यामेरा किनेको थिएँ मैले । त्योभन्दा पहिले मैले मोबाइलको क्यामेराबाहेक अरू चलाएको थिइनँ । ‘यसो प्रविधिको सदुपयोग गरौँ’ भन्दै म क्यामेरा बोकेर खोकना क्षेत्रको वागमती किनारमा बरालिन गएँ । लमतन्न फाँटमा वस्तुभाउ चर्दै थिए । फाँटभरि सेताम्मे बकुल्ला थिए । अरू पनि चरा थिए होलान् । तर भंगेरा, मैना र कागबाहेक मुस्किलले एकाध चरा चिन्ने मेरा लागि सेता चरा सबै बकुल्लाबराबर ! ध्यान अझै बकुल्लामा थिएन ।

फाँटैभर छरिएकाले मात्रै ध्यान त्यता गयो । खिच्न आकर्षक दृश्य केही थिएन वा सकिनँ । गाईवस्तुको वरिपरि झुम्मिएका बकुल्लाको छेउमा पुगेँ । सबै भुर्र उडे । अन्दाजमा जथाभावी क्यामेरा दौडाएँ । क्यामेरा अटो मोडमा थियो । झुक्किएर थिचेको सटरले निलो पृष्ठभूमिमा पखेटा फिँजाएर उड्दै गरेको सेतो बकुल्ला ठ्याक्कै क्याप्चर भएछ । त्यही पल मलाई लाग्यो– लौ म खतरनाक फोटोग्राफर भएँ । अहिले हेर्दा कागतालीमा सटर स्पिड १/४००० भएको रहेछ । कुनै गतिशील क्षण कैद गर्न पर्याप्त सटर स्पिड ! चरासँगको मेरो जान–पहिचान यसरी सुरु भयो ।

अभिरुचिको पारो बिस्तारै चढ्न लाग्यो । चराको खोजी फोटोग्राफीको नशाझैँ भयो । म नियमित खोकना फाँटमा जान थालेँ । फाँटभरि सलबलाएका दृश्य सबै चालेर मेरा आँखाले चरा मात्रै खोज्न थाल्यो । बिस्तारै मेरो हेराइ निखारियो । एकाध दिनमै थाहा भयो– फाँटका बकुल्ला पनि कहाँ सबै एकनाश रहेछन् र ! मेरो त्यो ‘खतरनाक’ फोटो बकुल्ला (क्याटल इग्रेट)को रहेछ ।

बकुल्लाको एक रैथाने प्रजाति ! एक हप्ताभित्रमा मैले त्यही फाँटमा अन्य चार प्रजातिका बकुल्लाको फोटो खिचेँ । बया तोपचरा (बाया विभर), फाप्रे (कमन हुपी) जुरेली (रेड भेन्टेड बुलबुल), बाख्रे जुरेली (ब्ल्याक बुलबुल), माटिकोरे (ह्वाइट थ्रोटेड किङफिसर), सानो माटिकोरे (कमन किङफिसर), काँकिर (ओरियन्टल ह्वाइट आइ), पात सिउने फिस्टो (कमन टेलर बर्ड) डुन्डुल (जंगल आउलेट), एक महिनाभित्र मेरो चेक लिस्ट÷चरा परिचयमा जोडिए । यो जम्माजम्मी एकाध किलोमिटर मात्रको परिधिभित्र मैले छोटो अवधिमा भेटेको विविधता थियो ।

बिस्तारै हिउँद लाग्न थाल्यो । म खोकना फाँटबाट उकालो लागेँ । मेरो चरा पहिचान र फोटोग्राफीको प्राथमिक शिक्षालय बन्यो सिमसार टौदह । त्यसअघि कुनै हिँउदमा घुम्न जाँदा मैले पोखरीभरि चराको बथान देखेको थिएँ । मलाई जम्मै हाँसजस्तो लागेको थियो । पानीमा बस्नेजति सबै हाँस हुन्छन् भन्ने टाइपको आम बुझाइ ।

क्यामेरा बोकेर पहिलो साल म पुग्दा टौदहमा डोजर चलेकै थिएन । सामान्य सुरसार थियो सायद । पोखरीको बाँध प्राकृतिक थियो । एक साइडमा जंगलको झाडी, अरू साइडमा खेत र ढिस्कोले ढाकेको । आफ्नै स्थानीय पर्यावरण मज्जाले कायम राखेको । पोखरीको किनारमा प्रशस्त लेउ जमेको थियो । पानी चराको आहारा । किनारमा साना माछा, गंगटा, भ्यागुता लुक्थे । बकुल्ला तिनको सिकारमा समाधि बसेझैँ देखिन्थे ।

किनारमा सर्प आहारा खोज्दै सलबलाउथेँ । सर्पको खोजीमा धानबारीबाट न्याउरी मुसा फुत्त निस्कन्थे । माटिकोरे (किङ फिसर) माछा मार्न माहिर चरा हो । किनारमा बसेर दाउ हेरिरहेका यी चरा पानीमा गोता हानेर माछा टिप्दै टाप कस्थे । मलाहा चिल (फिस इगल) कावा खाँदै माछा खोज्न टौदहको चक्कर लगाउँथ्यो । 

हिउँदमा यो पोखरी गुलजार हुन्थ्यो । पोखरी छपक्कै ढाकेर बसेका पानी चराहरू कुनै पनि रैथाने होइन रहेछन् । पृथ्वीको उत्तरी गोलाद्र्धका खोलानाला हिँउले ढाकेपछि न्यानो सिमसारको खोजीमा साइबेरिया, तिब्बत, मंगोलिया आदि क्षेत्रबाट आउने यी सबै पाहुना चरा रहेछन् । तिब्बतबाट आएको जलेवा (कोर्माेरान्ट), साइबेरियालगायत उत्तरी ध्रुवतिर आउने चखेवा (रुडी सेलडक), बिजुलागैरी (कमन टिल), बेल्चाठुँडे हाँस (नर्दन सोभलर), खडखडे हाँस (गडवाल)लाई टौदहमै क्यामेरामा कैद गरेको हुँ ।

यही टौदहमा मैले कम्तीमा २५ भन्दा बढी प्रजाति र तिनको दिनचर्याको फोटो खिचेको छु । एकाबिहानै जलेवाले गर्ने माछा सिकार र दिनभर वागमतीको फाँटमा चरेर टौदहमा स्नान गर्न आउने गडवाल र चखेवालगायत पोखरीभरि पारिलो घाम ताप्ने पानीचराले टौदहलाई जीवन्त बनाएको थियो । १० हजार मिटरको उचाइमा उडेर हिमाल पार गरी आउने खोया हाँस (बार हेडेड गुज) समेत कहिलेकाहीँ आइपुग्थ्यो टौदह । आक्कलझुक्कल आइपुग्ने हिँग्वुइन गंगाचिल (हिंग्विइन सिगल) को समेत हर मुभमेन्ट मैले कैद गरेको छु टौदहमा ।

पोहोरबाट म टौदह जान छाडिदिएँ । टौदह अब निर्जीव तालझैँ हुन लागिसक्यो । पोखरीको चारैतर्फ कंक्रिटको पर्खाल छ । फलामे बार थपिएको छ । पोखरीको मध्यभागमा रहेको सानो आइल्याडमा रूख थियो । अझै छ । रूखभरि राती जलेवा, नाइट हेरोन, खैरो बकुल्ला आदि वास बस्थे । हिँउदको अन्ततिर त चराको बिष्टाले हरियो रूख सेताम्मे भइसकेको हुन्थ्यो । रूखको फेदमा तल सिमकुखुरा डुल्थे । अब त्यो आइल्यान्ड चिल्लो प्लास्टरले टल्किएको छ । 

टौदह वरिपरिका फाँट घरले भरिन थाले । लोकल इको सिस्टम ध्वस्त भयो । किनारमा बकुल्ला छैनन् । ढकमक्क फुल्ने कमल अब कथा भइसक्यो । हरसाल पाहुना चराको ग्राफ ओरालो छ । फलामको डन्डीमा बसेर माछा खाएको माटिकोरेको फोटो खिच्नै मन लाग्दैन ।

पोखरीको लेदो माटोमा खेलेर फोहोरी भएको हरियो टाउके हाँस (मालार्ड डक) हेर्दा विरक्त लाग्छ । पोहोर केही साथीहरूले वागमतीको फोहोरले घिनलाग्दो फोहोरी भएको खोया हाँसको फोटो खिचेका थिए । देख्दै टिठ लागेको थियो । अब पोखरीमा बोटिङ गराउने भन्ने नवीनतम विचार फुरेको छ रे ! वन्यजन्तु र पंक्षी प्रति हाम्रो संवेदना मृत्युको यो गतिलो सूचक हो । 

वागमती र टौदह क्षेत्र रैथाने र पाहुनासमेत गरेर २६३ प्रजातिका चराहरूको वासस्थान हो । हरेक प्रजातिको जनसंख्या घट्दो क्रममा छ । यहाँ मज्जाले सप्रेको भनेको कागको संख्या मात्रै हो । प्रदूषण बढेर काग फैलिनु अन्य चराका लागि प्रतिकूल पर्यावरणको मात्र संकेत हो ।

हिउँदे पाहुना चरा विकल्पको खोजीमा नेपाल वा भारतकै अन्यत्र सिमसार खोज्दै जान्छन् । रैथाने घचेटिएर सहरको किनार पुग्छन् वा ससाना क्षेत्रमा खुम्चिन्छन् । पर्यावरण मिले उतै फैलिन्छन् । नत्र बिस्तारै विलुप्त हुन्छन् । अबका दिनमा हिउँदे पाहुना चराको काठमाडांैमा कथा मात्र हालिनेछ । नमिठो सत्य यही हो । रैथाने र केही ग्रीष्म पाहुना– चरालाई भने भएका वासस्थान जोगाउन सके लाख हुन्छ ।

कुल ५८० प्रजातिका चरा यो उपत्यकामा पाइन्छन् । यति सानो क्षेत्रमा यो विविधता अद्वितीय हो । पर्यावरणीय विविधता, पर्याप्त सिमसार, माइगे्रटरी रुट आदि यो विविधताको कारण हो । सन् १९६० मा टुँडिखेलमा क-याङकुरुङ (डेमोसाइल क्रेन) समेत उत्रिएको रेकर्ड छ ।

हिँउद लागेपछि उत्तरी मंगोलियाबाट कालिगण्डकी उपत्यका तथा मनास्लु घाटी हुँदै भारततर्फ जाने यी चरा काठमाडाैं  उपत्यकाबाट प्रायः उड्दै गरेको मात्र देखिन्थ्यो । सामान्यतया नेपालमा नबस्ने यी चरा आवश्यकता पर्दा मात्रै फोर्स ल्यान्डिङ गर्छन् । हिउँद लागेको संकेत दिने भएकाले ‘क-याङकुरुङ आए काँक्रा फर्सी रोप’ लोकोक्ति नै छ । पछिल्लोपटक काठमाडाैंबाट सन् २०१६ सेप्टेम्बर १३ मा देखिएको थियो । अब बिस्तारै यी दृश्य दुर्लभ हुन थाले ।

मध्यसहरका महत्वपूर्ण वासस्थान नष्ट भए पनि काँठ र वरिपरिका जंगल क्षेत्र अझै चरामय छन्

उपत्यकामा मान्छेको अतिक्रमणबाट बचेको केही पकेट एरियामा खुम्चेका छन्– रैथाने र ग्रीष्म पाहुना चरा । मन्दिर, पाटीपौवा वा सार्वजनिक प्रयोजका कारण बचेका टोखा, रानीबारी, बज्रवाराही, कीर्तिपुर भत्केपाटी, थानकोट, इचंगुजस्ता स–साना क्षेत्रमा चराहरू नजरबन्दझैँ छन् ।

यसपटक श्रीलंका र दक्षिण भारतबाट आउने वर्षे पाहुना स्वर्गचरीको (एसियन प्याराडाइज फ्लाइक्याचर) राम्रो उपस्थिति थियो इचङ्गु र टोखा क्षेत्रमा । हिउँदे पाहुनाले यता ब्रिडिङ गर्दैनन् । तर, वर्षे पाहुना भने यतै बच्चा कोरलेर फर्कन्छन् । यी क्षेत्रमा न्याउली (ग्रेट बार्बेट), मिलचरा (कपरस्मिथ बार्बेट), कुथुर्के (ब्लु थ्रोटेड बार्बेट), चित्रकुट (लङ टेल्ड ब्रोडबिल) र बुंगेचरा (सनबर्ड), कुक्कु कोइली (युरेसियन कोयल), कोइली (एसियन कोयल) परिवारका चरा भेटिन्छन् । यो संकटमा पनि रानीबारीमा अघिल्लो महिना मात्रै २७ प्रजाति गणना भएको छ । 

अघिल्लो हप्ता मात्रै एक घन्टाको समयमा मैले सुनजुरे काठफोर, कालो गर्दने काठफोर, स्यालपोथरी लाम्पुच्छ्रेँ, चाँचर, डुन्डुल, न्याउली र प्रशस्तै घाँसे चराहरूका राम्रा फोटो लिन पाएँ । तल मैदानमा स्यालपोथरी लाम्पुच्छ्रेँ (रेड बिलड ब्लु म्यागपाई) पाइन्छ । अलि उकालो लागेपछि यसैको अर्काे प्रजाति सुनठुँडेलाम्पुच्छ्रेँ (येल्लो बिल्ड म्यागपाई) पाइन्छ । गोदावरी क्षेत्र अझै पनि २२९ प्रजातिको चराको वासस्थान हो । नजिकैको शिवपुरी निकुञ्ज मात्रै पनि ३१८ प्रजातिका चराको थातथलो हो ।

फेसबुकमा फोटो अपलोड गरेपछि अधिकांशको प्रश्न हुन्छ– कहाँ पाइन्छन् यस्ता चरा ? मैलै माथि नै भनिहालेँ, कहाँ पाइन्छन् ! अझै पनि ५१८ प्रजातिका चरा काठमाडाैंमा पाइन्छन् । मध्यसहरका महत्वपूर्ण वासस्थान नष्ट भए पनि काँठ र वरिपरिका जंगल क्षेत्र अझै चरामय छन् । डाँडाकाँडा केबलकार, होटेल, रिसोर्ट र सफारीले ढाक्नुअगावै यी क्षेत्रमा चरा अवलोकन गर्नुस् । प्रकृतिमा आफ्नो स्थान बोध गर्न यिनको दिनचर्या नियाल्नुभयो भने पर्याप्त हुन्छ ।