थाराबाट देखिन्छ, सामुन्नेको रानीवन । ‘रानीवन’ नाम फिल्मको रानीजस्तै अद्भूत सुन्दर लाग्छ । सल्ला र धुपीका रूखहरूमा फुलेको हिउँफूल । जता हे¥यो टलक्क टल्केका हिमाल । टलक्क टल्केका सेताम्य हिमाललाई झन् सुन्दर बनाउँछ
प्रभाती किरणले ।
चुली खाबुका रूखतिर हेर्छु । ती नांगा रूखमा काग, भँगेरा बसेपछि नांगा हाँगामा फुलेको हिउँफूल अलिअलि गर्दै हाँगामा टक्कर खाँदै तल झर्छन् । घरहरू, चारैतिरको हिमालहरू हेर्दा यस्तो प्रतीत हुन्छ । यो गुराँस फुल्ने मौसम हो र फुलेका छन्
सेता गुराँस ।
धेरै दिनको हिमपात चिसोले निलो भएको ज्यानमा घामको न्यानो स्पर्शले दिने स्वर्णिम आनन्दले बरन्डामा आँखा चिम्म गरेर घाम ताप्दै थिएँ । भँगेराहरू बिजुलीको तारमा बसेर चिरबिर गर्दै थिए । एक–दुईजना केटाकेटी हिउँमान्छे बनाएर हिउँकै डल्लोले निसाना लगाउँदै थिए ।
०००
दाउरा काटी बिटो हुन्छ, घाँस काटी घसुन ।
जिन्दगी एकचोटि आउँछ रमाएरै बसून् ।।
काम नगरी खानु छैन, दाउराघाँस जानु छ
बालवृद्धा कोही नभनी काम गरी खानु छ ।
भँगेराहरूको चिरबिरसँगै एक–अर्काे सुरिलो आवाज मेरो कानमा परेपछि आँखा खोल्न बाध्य भएँ । मुन्टो उठाएर हेर्न खोज्दा हिउँको उज्यालोले आँखा तिरमिरायो । एकछिनका लागि दृष्टिहीन । आँखाले केही हेर्न नपाउँदै त्यो मिठो गीत गाउने मान्छे मेरो छेउ नै भएर गइसके । जब मिठो आवाज कम हुँदै गयो, तिनलाई पछ्याएँ । ऊ मभन्दा धेरै छिटो हिँड्दै थियो । वरपरका घरतिर हेर्दै गर्छ, वेला–वेलामा । तर, गीत भने गुन्गुनाउन छाड्दैन एकजोर स—साना खुट्टाले हिउँमा टेक्दा निस्कने धुनसँगै बेपर्र्वाह गीत गाउँदै एक भारी दाउरा बोकेर मेरो अघिअघि हिड्दै छ, नारायण गोपाल ।
मैले आफ्नो गति बढाउनुप-यो, उसलाई भेट्टाउन । कालिन्चोकमा एकछिन उभिएर ऊ वरपर हेर्न थाल्यो । त्यतिवेला नजिकबाट देखेँ, नारायण गोपाललाई । अहो ! सानो पो रैछ मेरो नारायण गोपाल त । तेह्र–चौध वर्षको हुँदो हो ऊ । म सोच्न थाल्छु, साँच्चै नै के–के सिकाउँदैन भोकले मान्छेलाई । यत्ति ठूलो हिउँ परेका वेला पनि यो सानो केटो कसरी आयो होला एक्लै उकालो–ओरालो गर्दै ।
०००
पसल खुलेको भए पनि बजारमा चहलपहल नै देखिँदैन । कालिञ्चोकलाई ध्यान मुद्रामै छाडेर ऊ त्यहाँबाट ओरालो लाग्छ । सायद उसलाई पनि डिस्टर्भ गर्न मन लागेन । एकछिन त्यहाँ वरपर नजर डुलाएर ऊ सरासर एकताचोकतिर लाग्छ । एकताचोकमा पुगेपछि नारायण गोपाल गीत गाउन छाडेर ठुल्ठूलो स्वरमा कराउन थाल्छ, ‘लौ आयो ! आयो ! आयो ! खाबुको दाउरा ।’
अहिलेसम्म उसको दाउरा हेरेकै रैनछु मैले । चुम्लाको बोक्राले बाँधेको तीन पुला खाबुको दाउरा ल्याएको थियो ।
हुँदो हो, संसारमा अनेक किसिमका युद्धहरू– शोषकको युद्ध, शोषितको युद्ध यस्तै–यस्तै अनेकन युद्ध । यो सानो नारायण गोपाल लडिरहेछ
भोकको युद्ध ।
भोक नहुँदो हो त दुःखसुख, आँसु, खुसीको अस्तित्व हुने थिएन । मिहिनेत परिश्रमको मतलब थाहा हुन्थेन ।
नारायण गोपाललाई पनि यहाँसम्म भोकले पु-याएको हो । यत्ति सबेरै जाडोमा एक्लै उकालो–ओरालो पार गरेर आयो । उसको कुनै ठूलो सपना छैन । मात्र आफ्नो र परिवारको भोक टार्नु छ । दाउरा बेच्नु छ । त्यही पैसाले किन्नु छ केही खानेकुरा । गुजार्नु छ केही छकल बाहाहरू ।
०००
अघिदेखि कसैले उसलाई पछ्याउँदै छ
भन्ने थाहा नहोस् भनेर म वरै अडिएँ ।
दुई–तीनपटक कराएपछि ऊ एकजना आईमाईलाई पछ्याउन थाल्यो ।
केही पाइला हिँडेर आँगनमा भारी बिसाएर आफ्नो डोरी कम्मरमा कस्यो । ती आईमाईबाट ३५० रुपैयाँ मुठीमा राखेर छेवैको पसलबाट एकजोर एभरेडी ब्याट्री, सलाई, चारवटा साना–साना चुरा किनेर सरासर हिँड्यो ।
अलि परको हाम्रो गौचन दाइको पसलअघि टक्क अडिएर पसलमा झुन्ड्याएका सुकिला लुगा हेरेर घुटुक्क थुक निल्यो । केहीबेर त्यही नै हेरेर चित्त बुझाएर आफ्नो बाटो लाग्यो ।
सोच्यो होला, अर्काेपटक दाउरा बेचेर यस्तै नौलो लुगा किन्छु । नारायण गोपाल एकचित्त भएर छिटोछिटो हिँड्दै छ । अब मैले आफ्नो स्पिड फेरि बढाउनुपर्ने भो । उसको छेवैमा पुगेर स्याँस्याँ गर्दै बोलाएँ, आई नानो भाउ !’
ऊ पछाडि फर्केर सोध्छ ।
क्यान बोलायौ मकन ?
‘मऽ म पनि त्यतै जाँदै छु, त्यही भएर तिमीसँग कुरा गर्दै–गर्दै जाम भनेर ।
फिस्स हाँस्यो । अरू केही बोलेन ।
फेरि सोध्छु ।
‘क्या हो तिम्रो नाउँ भाऊ ?’
धनबहादुर शाही ।
ओ, अच्छा ! नारायण गोपाल त नरैछ उसको नाम । मनमन भनेँ आफैँलाई । यद्यपि मेरा लागि ऊ नारायण गोपाल नै थियो । जसको मिठो आवाजलाई पछ्याउँदै–पछ्याउँदै बिहान–बिहानै म यहाँसम्म आइपुगेँ ।
‘भने तिमी तिम्रो नाउँजस्तै बहादुर रह्याछौ । यति छकलै(बिहान) उठीकन एक्लै आयौ, हिउँ प¥या वेला पनि दाउरा बोकेर ।’
मेरो आँखा उसको खुट्टातिर गयो । आफ्नो साइज धेरै ठूलो जुत्ता लगाएको रहेछ । नजाने कतिपटक लड्यो होला हिउँमा । कतिपटक भारी बनाउनुप¥यो होला ।
चिसोले फाटेको कालो ओठ, निलो भएको अनुहारलाई निन्याउरो बनाएर भन्यो, ‘कलिलो उमेरमै रागन लागेर जिया (आमा) धेरै हिँड्न सक्दैन । एक नानो बुइनी छ । मस्तै दिन भैग्या भरिपेट खाना नखाया ।’
बा नाइँ ?
‘बा म-या एक वर्ष भैगया ।’
उफ् ! मेरो कानमा गुन्जिरह्यो सानो नारायण गोपाल उर्फ धनबहादुरको पीडा भरिएको आवाज ।
हामी कालिञ्चोकदेखि बिस्तारै–बिस्तारै भलिबल ग्राउन्डतिर लाग्याैँ । कालिञ्चोक अझैसम्म ध्यान मुद्रामै रहेछ । चुपचाप ।
कहिले नै बिर्सेका होलान् र बालाई । दुःख, अभावहरूले कहिले नै बिर्सन दिएका होलान् र ?
उसको जियाको अनुहारमा अभावले बनाएको कुरूप रेखाहरू प्रस्टै देखिन्छन् होला । रागनले खाएर कुप्रो परेको ढाड । साना बच्चाबच्चीको पिर, श्रीमान् नहुनुको पीडा, आफैँ काम गर्न नसक्नु आदि–इत्यादिको चिन्ताले झन् बुढी देखिन्छिन् होला । पीर चिन्तालाई सुल्पाको धुवाँजस्तै उडाउन मिल्ने भए उडाइसक्थेँ उहिल्यै उहिल्यै । मेरो मगजमा उसको जियाको चित्र यस्तै—यस्तै बन्यो ।
०००
हिउँमाथि हिँडिरहेका हाम्रा दुईजोर खुट्टाको आहट कुनै संगीतजस्तो सुनिन्थ्यो । केहीबेरको मौनतालाई तोड्दै भावुक भएर धनबहादुर आफ्नो कुरा सुनाउन थाल्छ ।
‘धेरै जग्गा नाइँ । भएको जग्गामा अलिअलि फापर, चिनु, कोद्या (कोदो) फल्छ । त्यत्तिले मात्र ६ महिनालाई पुग्छ । बाँकी दिन दाउरा बेचेर, अरूको काम गरेर पेट भर्नुपर्छ । तर, हिउँदमा न कुनै काम हुन्छ । न सधैँ दाउरा बेच्न सकिन्छ ।
कहिलेकाहीँ रुपैयाँ भए पनि नुन–चावल पाइँदैन । अघिल्लो महिना वडा भाग चावल पाइन्छ कि भनेर दिनभरि लाइन लागेँ, खाद्य संस्थानमा । पालो पाइने वेलामा चावल सकिएछ भित्र । फेरि उही रित्तो थैलो लिएर रित्तै घर फर्किएँ । त्यसपछि अहिलेसम्म चावल पाए नाइँ । हिउँ परेर पिलिङ (जहाज) नआएपछि चावल कहाँबाटी आउनु ? अब त जोहो माग्ने ठाउँ पनि नाइँ । फेरिफेरि कोेले दिन्छ जोहोपन । माघे संक्रातिमा चावल देला । दिएन भने अठ्गो माघे संक्राति ।’
लाग्यो, चाडपर्वहरू चैँ हुनेखानेका लागि हो । जसको घरमा कैयौँ दिन चुलो चिसो रहन्छ, उनीहरूले कसरी मनाऊन् चाडपर्व पनि ।
सोधेँ, ‘तिम्रो बुइनी पढ्न जान कि नाइँ ?
‘मेरो बुइनी अहिले २ कक्षामा पढ्छ ।
म ५ मा पढ्छु ।’
आफूले पढ्न पाएन, त्यही भएर मलाई र बुइनीलाई मस्तै पढ भन्दो छ मेरो जियाले भन्यो ।
उसले सम्झियो– उसको छिमेकी रमिलालाई । रमिलालाई पढ्न मन लाग्छ । स्कुल जान मन लाग्छ रे ! तर, घरमा काम गर्नुपर्छ, गाईगोरुलाई हेर्नुपर्छ । दुइजना भाइलाई हेर, स्कुल जानू पर्दैन भन्छ
उसको बुबा र जिया । घरको काम सिक, बिहापछि काम लाग्छ भन्छ । छोरी मान्ठा पढ्न हुन्न भन्छ, उसको बुबा ।’
त्यही भएर रमिला स्कुल जाँदैन तर उसलाई आफ्नो नाउँ लेख्न आउँछ । हाम्रो र रमिलाको घर जोडिएको छ, थारा एउटै हो । कहिलेकाहीँ खेल्दा रमिला नाउँ लेख्न सिका भन्छ । अब त माटोमा औँलाले आफ्नो नाउँ लेख्न सक्छ ।
अहिले स्याउला जाँदा माटोमा आफ्नो नाउँ लेख्छ रे !
हाम्रो त गाईगोरु नाइँ । एउटा गधा मात्रै छ ।
म उसको कुरा सुनिरा’थेँ ।
०००
सेताम्य हिउँमाथि टलक्क टल्किरहेको घामलाई हेर्दै कुरा गरिरहँदा ती तमाम रमिला, रमिता, कुन्साङ, ल्हामुहरूलाई सम्झिएँ । यिनीहरूको आफ्नो फाल्टु दुनियाँ छ । कत्तिलाई थाहै छैन सायद पढाइबारे । यो घरव्यवहारको परिधिभित्रबाट कहिल्यै बाहिर निस्कन नपाएकाहरूलाई थाहै छैन, यो दुनियाँ कत्ति ठूलो छ । कत्तिको पढ्ने मन हुँदाहुँदै पनि सानैमा बिहे गरिदिएर पढ्न पाउँदैनन् । एक–दुईजना पढ्छन्, उनीहरू पनि महिनाको चार–पाँच दिन छुइकुल्ला (छाउघर) जान्छन् । स्कुल होइन ।
प्रायः गाउँमा पाँच कक्षासम्म पढाइ हुन्छ र पाँच उत्तीर्ण भएपछि बाँकी पढाइ पूरा गर्न कि त सदरमुकाम जानुपर्छ कि टाढाको गाउँमा । कत्तिको सदरमुकाम बसेर पढ्न आर्थिक स्थितिले भ्याउँदैन ।
हुँदो हो, संसारमा अनेक किसिमका युद्धहरू–शोषकको युद्ध, शोषितको युद्ध यस्तै–यस्तै अनेकन् युद्ध । यो सानो नारायण गोपाल लडिरहेछ भोकको युद्ध ।
अझै लामा गाउँमा छुइ (महिनाबारी) बार्ने चलन नभए पनि अन्य अनेक कारण छन्, छोरीहरू शिक्षाबाट टाढा रहनुको ।
मोन् (खस र आर्य) समाजमा अहिले पनि छाउपडी प्रथा छ । महिनाबारी हुँदाको समय एक संवेदनशील समय हो । कमजोर शरीर त्यसमाथि चिसो ठाउँमा बस्नु । सहरको जस्तो न कुनै प्याड छ, न प्यान्टी, न कुनै न्यानो नै । जाडोमा नुहाउन, लुगा धुन टाढाको खोला जानुपर्ने । प्राकृतिक रक्तश्रावलाई पनि अनेक धार्मिक आस्थासँग जोडेर हेर्छन् । आजको यो आधुनिक युगमा पनि महिलाहरू फोकटको दुःख झेलिरहेका छन् । महिनाबारी बार्ने चलनले पढ्ने केटीहरू छुई (महिनाबारी) भएका वेला महिनाको चार–पाँच दिन छुइकुल्ला (छाउघर र छाउगोठ) बस्नुपर्छ । कत्तिको आर्थिक अभाव, सानैमा विवाह गर्ने भएकाले पढ्न पाएका छैनन् ।
०००
नारायण गोपाल उर्फ धनबहादुर
शाहीलाई कोकोनट बिस्कुट गुलियो च्यासँग खुब निको मान्छ ।
दोस्रोपटक भेट्दा गुलियो च्यामा कोकोनट बिस्कुट डुबाउँदै गहिरो गरी सोचेर भन्या थियो ।
‘दिदी म धेरै पढेर जुत्ता सिलाउने काम गर्छु ।’
पहिले–पहिले स्कुलमा वा घरमा कसैले धेरै पढेर के बन्ने भन्दा कत्तिले डाक्टर, पाइलट, शिक्षक बन्छु भनेको सुन्याथेँ, तर कसैले धेरै पढेर जुत्ता सिलाउने बन्छु भनेको पहिलोपटक सुनेँ ।
किन उसले तमाम बच्चाले जस्तै डाक्टर, इन्जिनियर... बन्छु भनेन ! आखिर जुत्ता सिलाउने नै बन्छु किन भन्यो त ? एकदम खुल्दुली लाग्यो । साथसाथै अचम्म पनि लाग्यो । जब जुत्ता सिलाउने मान्छे बन्छु भन्नुको कारण सुनेँ, आँखा रसायो । मन चुकिलो भयो । एकदम निःशब्द । स्तब्ध ।
जुत्ता सिकाउने मान्छेसँग धेरै पैसा देखेपछि उसलाई पनि जुत्ता सिलाएर पैसा कमाउने इच्छा जागेको रहेछ ।
मायालाई एकदम माया गर्छ । ऊ मायाको अभिभावक पनि हो । एक दिन मायासँग पनि भेट गराएको थियो । माया ! नाम सुन्दा कुनै स्त्री अनुहारको झझल्को आउँछ । तर, त्यस्तो होइन । माया उसको गधाको नाम हो । न उसको गधा नै केटी हो । माया भन्दाभन्दै गधाको नाम नै माया राख्या रहेछ । कहिलेकाहीँ माया र धनबहादुर बिहानै दाउरा बोेकेर बजार आउँछन् । दाउरा बेचेर फर्कंदा बिस्तारै–बिस्तारै फर्कन्छन् ।
०००
सेताम्मे हिमाल अझै सेतै देखिएका छन् । तर, नांगा रूखमा पलुवा पलाउँदै छन् । उदास डाँडाले हरियाली निम्त्याउँदै छ । उदास, उजाड मौसम बदलिँदै छ । फुल्न थालेका छन् आरु, खाबुका रूखहरू । म काठमाडौं फर्कंदा नौलो पाइन्ट लगाएर मेरो अघिअघि मेरो सानो नारायण गोपाल उर्फ धनबहादुर हिँड्दै थियो । आज ऊ एक्लै थिएन ।
सेतो रङको कुर्ता, निलो रङको सुरुवाल लगाएकी सानी केटीको हात समाएर जाँदै थियो । सुरुमा धनबहादुरलाई पछ्याउँदा उसले किनेको चुरा सानी केटीको हातमा देखेपछि ठम्याउन गाह्रो भएन । उसको प्रिय ! बुहिनीलाई । र अर्को हातको सेतो प्लास्टिकभित्रको सामान बाहिरैबाट देखिन्छ । बिस्कुट, सलाई, साबुन, कापीकलम, सिसाकलम आदि–इत्यादि । दाजुबुहिनी सरासर उकालो लागे ।