• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
अनुप सुवेदी काठमाडाैं
२०७६ भदौ २१ शनिबार ०९:४९:००
समाज

‘डाटा’को भुमरीमा लोकतन्त्र

२०७६ भदौ २१ शनिबार ०९:४९:००
अनुप सुवेदी काठमाडाैं

‘मानिसलाई एक–आपसमा जोड्ने, समुदाय बनाउने र संसारलाई नजिक ल्याउने’ फेसबुकको लक्ष्य भएको मार्क जुकरवर्ग दाबी गर्छन् । यस्तै दाबी ट्विटर, ह्वाट्सअप, इन्स्टाग्राम, युट्युब आदि सञ्चालकको पनि हुन सक्छ । तर, हालै भएका केही घटनामा सामाजिक सञ्जालको लगाम समातेर बसेका सञ्चालकहरूको क्रियाकलापले नै यस्तो दाबीलाई हास्यास्पद बनाएका छन् । नेपालमा पनि बितेको एक वर्षमा केही घटना सामाजिक सञ्जालमा ‘भाइरल’ भए । त्यस क्रममा व्यक्त भएका मत, विचार, भावनालाई विश्लेषण गर्दा सामाजिक सञ्जाल असामाजिक भएको अनुभूति हुन्छ । 

जुकरवर्गको दाबीको विपरीत सामाजिक सञ्जालले समुदाय टुक्र्याउने, मानिसलाई एक–आपसमा भिडाउने र व्यक्तिलाई उपभोक्तामा परिणत गर्दै लोकतन्त्र र बहुलतालाई संकटतिर धकेलिरहेको विश्लेषण हुन थालेको छ । प्रयोगकर्ताको डाटालाई सामाजिक सञ्जालका मालिक कम्पनीले बिक्री गरेको पनि पाइएको छ । फेसबुकले प्रयोगकर्ताको निजी सूचना (अहिलेको भाषामा डाटा) अन्य कम्पनीलाई बेचेको आरोपमा गतवर्ष अमेरिकी संसदीय समितिले छानबिन गरेको थियो र मार्क जुकरवर्गलाई दोषी ठह-याएको थियो । 

हामीले सामाजिक सञ्जालमा लाइक, सेयर र पोस्ट गर्दा, केही हेर्दा, केही खोज्दा, विज्ञापनमा अडिँदा, खरिदारी गर्दा कसैले हाम्रो निगरानी गरिरहेको र हाम्रै विरुद्ध हतियार उद्याइरहेको हुन सक्छ । ठूला कम्पनी र धनी मानिसले आफ्नो मतलब पूरा गर्न पैसाको बलमा हामीमाथि नियन्त्रण राख्न सामाजिक सञ्जालमा हाम्रा क्रियाकलापको निगरानीबाट संकलन गरिएको ‘डाटा’ प्रयोग गरेको पाइएको छ । त्यस्तो ‘डाटा’बाट हाम्रो व्यक्तित्वको ‘साइकोग्राफी’ विश्लेषण गर्दै हाम्रो व्यवहारको पूर्वानुमान लगाई हामीलाई सामान बेच्ने, चुनावमा भोट हाल्ने वा नहाल्ने बनाउने, कुनै ‘इस्यु’लाई अर्कै प्रयोजनका लागि उछाल्ने र ह्विमकै भरमा हामीलाई एक बनाउने वा फुटाउने गर्छन् । 

यस्तै विषयमा करिम अमेर र जेहान नौजइमले संयुक्त रूपमा निर्देशन गरेको ‘द ग्रेट ह्याक’ डकुमेन्ट्री फिल्मले ‘फेसबुक’ प्रयोगकर्ताको ‘डाटा’लाई प्रयोग गरी चार वर्षअगाडि संयुक्त राज्य अमेरिकाको चुनावमा ट्रम्पलाई राष्ट्रपतिमा जिताउन र दुई वर्षअगाडिको युरोपियन युनियनबाट बेलायत बाहिरिने ‘बे्रक्जिट’को ह्विम निर्माण गर्न क्यम्ब्रिज एनालिटिका कम्पनीकोे भूमिकालाई उजागर गर्छ । यो डकुमेन्ट्री फिल्मले राजनीतिमा डाटाले खेल्ने केन्द्रीय भूमिकाको गज्जबको चित्रण गर्छ भने केही ठूला कम्पनी कसरी करोडौँ मानिसको मनमस्तिष्कमा छाउँछन् भन्ने पनि बताउँछ । 

यो फिल्मले मुख्य गरी तीन पात्रलाई पछ्याउँदै क्याम्ब्रिज एनालिटिकाले गरेको ‘बदमासी’को पत्रपत्र केलाउँछ । तीन पात्रमा एकजना फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग गर्दाका आफ्ना व्यक्तिगत सूचना (डाटा) आफ्नो निजी सम्पत्ति भएकाले बेलायतको डाटा संरक्षण कानुनअन्तर्गत फिर्ता पाउनुपर्ने अभियानमा लागेका अमेरिकी प्राध्यापक डेभिड क्यारोल छन् । अर्को पात्र बेलायती पत्रिका ‘द अब्जर्वर’ की पत्रकार क्यारोल क्याडवालाडर छन् ।

उनले क्याम्ब्रिज एनालिटिकाबारे गरेको खोजी रिपोर्टले सन् २०१८ मा आममानिसको ध्यान आकर्षित गरेपछि अमेरिका र बेलायतमा उक्त कम्पनीबारे शृंखलाबद्ध जाँचबुझ भयो र सो जाँचबुझमा फेसबुक पनि तानियो । तेस्रो पात्र क्याम्ब्रिज एनालिटिकाको पूर्वकर्मचारी ब्रिटानी केजर फिल्मले पछ्याउने अर्को पात्र हुन् । बाराक ओबामाको चुनावी अभियानकी स्वयंसेवी बनेकी यी केजर ट्रम्पको चुनावी अभियानको सञ्चालक र पछि आफूले काम गरेको कम्पनीको बद्मासीको खुलासा गर्ने व्यक्ति बन्छिन् । नैतिक धरातलमा आउने फेरबदलले केजरको आयामिक चरित्रले । ध्यान तान्छ भने फिल्मलाई रुचिपूर्ण बनएको छ ।

अस्कर अवार्डका लागि मनोनयनमा परेको ‘द स्क्वायर’ डकुमेन्ट्री फिल्म बनाउने जोडी करिम र जेहानले नै ‘द ग्रेट ह्याक’ बनाएका हुन् । द स्क्वायर फिल्ममा ‘अरब स्प्रिङ’ भनिने अरब क्षेत्रका विभिन्न देशमा भएका आन्दोलनको चित्रण छ । फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालको माध्यमले कसरी आममानिसले आफ्ना कुरा मुखर गरे, साझा कुरामा एकजुट हुने वातावरण बन्यो र मानिस आन्दोलनमा होमिए भन्ने चित्रण गर्छ । सामाजिक सञ्जालले कसरी सामान्य मानिसलाई पनि अधिकार सम्पन्न बन्न र बन्द समाजलाई लोकतान्त्रीकरण गर्न मद्दत पुग्यो भन्ने पनि देखाउँछ ।

तर ‘द ग्रेट ह्याक’मा भने सामाजिक सञ्जालको माध्यमले कसरी मानिसलाई नियन्त्रण गरिँदै छ । मानिसहरू व्यक्तिबाट उपभोक्तामा परिणत हुँदै छन् तथा राजनीति उपभोग्य वस्तु बन्दै छ भन्ने चित्रण गर्छ । यसले राज्य वा ठूला कम्पनीले सामाजिक सञ्जालमार्फत आममानिसको काल्पनिकीलाई नियन्त्रण गरेर लोकतन्त्र मजाकमा परिणत हुने संकटतर्फ संकेत गर्छ । लोकतन्त्रको मेरुदण्ड मानिने स्वतन्त्र र स्वच्छ आवधिक निर्वाचन ठूला कम्पनीको खेलौना बनाइँदै छ र आममानिसको स्वतन्त्र चाहना र विवेक कसरी सामाजिक सञ्जालको सहायताले नियन्त्रण गरिन्छ भन्ने चित्रण गर्छ । 

क्याम्ब्रिज एनालिटिकाबारे गुह्य खोल्ने महत्वपूर्ण भूमिका कम्पनीकी पूर्वकर्मचारी ब्रिटानी केजरको कम्प्युटरमा रहेको कम्पनीको व्यापार प्रवर्धन गर्न बनाइएको भिडियोले खेल्छ । यो फिल्ममा समेटिएको सो भिडियोले एनालिटिकाले गरेका कामको पर्दाफास गर्छ । त्यसमा सन् २००९ मा ट्रिनिडाड एन्ड टोबागोमा भएको आमचुनावमा एनालिटिका संलग्न भयो । ट्रिनिडाडमा रहेका दुई पार्टी– अश्वेतलाई प्रतिनिधित्व गर्ने र आप्रवासी भारतीयलाई प्रतिनिधित्व गर्ने– मध्ये कसले बहुमत पाउँछ भन्ने ठेगान नभएको अवस्था थियो ।

चुनावको नतिजा प्रभावित गर्न त्यहाँ एनालिटिकाले युवालाई चुनावबाट विमुख बनाउन उनीहरूलाई अराजनीतीकरण गर्ने अभियान ‘डु सो’ चलायो । त्यो अभियानको लक्ष्य पहिलोपटक भोट गर्ने युवा थिए । उनीहरूलाई चुनाव र भोट युवाको चासोको कुरा होइन भन्ने मनस्थिति बनाउने लक्ष्यअनुरूपको अभियान पछि ४० प्रतिशत युवा भोट हाल्न गएनन् । ‘डु सो’को अर्थ ‘डन्ट भोट’ अर्थात् ‘भोट नहाल’ भन्ने अर्थ अभियानबाट स्थापित गरेपछि पुरा चुनावमा यसले ६ प्रतिशत भोटमा फरक प-यो । भारतीय युवालाई अभिभावकले भोट हाल्न लगाए ।

६ सिट बढी ल्याएर आप्रवासी भारतीयलाई प्रतिनिधित्व गर्ने पार्टीले सरकार बनायो । त्यसयता कम्पनीले भारतमा २०१० को चुनाव, कोलम्बियामा २०११ मा, इटालीमा २०१२, मलेसिया, अर्जेन्टिना र केन्यामा २०१३ मा र नाइजेरियामा २०१७ मा भएका चुनाव प्रभावित पार्न यस कम्पनीले चुनावमा भाग लिएको उसको ग्रहाकका लागि अभियान चलाउन सहभागी भएको दाबी कम्पनीको भिडियोमा गरिएको छ । हरेक वर्ष संसारका ८—१० देशमा हुने आमचुनावमा यसले आफ्नो ‘सेवा’ दिने दाबी पनि गरिएको छ । 

त्यसैगरी ०१६ को संयुक्त राज्य अमेरिकाको चुनाव । फिल्ममा समेटिएको च्यानल ४ टेलिभिजनले गुप्त रूपमा खिचेको ‘फुटेज’मा एनालिटिका कम्पनीका प्रमुख, प्रवक्तालगायत उच्चपदस्थहरूको कुराकानी समावेश छ । उनीहरूले ०१६ को चुनावमा ट्रम्पको पक्षमा कसरी अभियान चलाइयो भन्ने वर्णन गर्छन् । जस्तो अत्यन्त धेरै प्रयोग भएको चुनावी नारा ‘क्रुक्ड हिलारीलाई हराऔँ’ भन्ने हो ।

एनालिटिकाका प्रवक्ता भन्छन्, ‘त्यो डिजाइन गर्दा क्रुक्डको हिज्जेमा भएको ओ..ओ..लाई हतकडीको रूपमा बनाइएको छ । जसले जेलभित्र रहेको भाव दिन्छ ।’ चुनावमा प्रयोग भएका ‘स्लोगन’ कसरी छानिए र कसरी सामाजिक सञ्जालमा फिट गरिए भन्ने बताउँछन् । त्यसका लागि फेसबुकले संकलन गरिको अमेरिकी भोटरको ‘डाटा’लाई उपयोगमा ल्याइएको खुलासा हुन्छ । तर, क्याम्ब्रिज एनालिटिकाका प्रमुखहरू ‘ब्रेक्जिट’को बारेमा मुख खोल्दैनन् । ब्रेक्जिटबारे एनालिटिकाको संलग्नता ‘द अब्जर्वर’की पत्रकार क्यारोल क्याडवालाडरले गरेको खोजी रिपोर्टिङले बताउँछ । 

यो डकुमेन्ट्री फिल्म ‘क्याम्ब्रिज एनालिटिका’ कम्पनीको चुनावी संलग्नताबारे मात्रै होइन । यो फिल्ममा राजनीति, सामाजिक सञ्जालको प्रयोग, व्यक्तिको जानकारीविना नै उसको ‘डाटा’ उसैका विरुद्ध प्रयोग गर्ने कुरा, संसारमा डाटाको बढ्दो महत्व, डाटाले राजनीतिमा खेल्ने निर्णायक भूमिका, ठूला कम्पनीले कसरी आममानिसका ‘डाटा’ चोरी गरेर धनी भएका छन्, लोकतन्त्र मुठ्ठीभर व्यक्तिको खेलौना बन्दै गएको आदि विषय तहतहमा समेटिन्छ ।

यो प्रक्रियामा ठूला कम्पनीहरूको संलग्नता र डाटा कब्जा गर्ने रणनीति । यी कुरा एक–आपसमा जेलिएका छन् । यसलाई हर्वार्ड बिजनेस स्कुलका प्रोफेसर सोसाना जुवोफ ‘सर्भेलिएन्स क्यापिटलिजम्’ भन्ने नाम दिन्छिन् । सामाजिक सञ्जाल र डिजिटल प्ल्याटफर्म चलाउने कम्पनी संसारमै धनी बन्दै जाने ‘सर्भेलिएन्स क्यापिटलिज्म’को अर्थराजनीति बुझाउन ‘द ग्रेट ह्याक’ गज्जब भएको जुबोफ बताउँछिन् । 

यो डकुमेन्ट्री फिल्ममा नदेखिने डाटालाई एनिमेसनको सहायताले देखिने अनुभूति दिने बनाइएको छ । इमोजी शैलीको एनिमेसन, म्यासेन्जरमा कुराकानी गरिने शैलीको उपयोगले फिल्मलाई रुचिपूर्ण बनाएको छ । फिल्मको दृश्यभाषा पनि सामाजिक सञ्जालमा उपयोग हुने जस्तै बनाइएको छ । जस्तो जुकरवर्गले संसदीय समितिसामु दिएको बयान डेभिड र ब्रिटानीले हेरिरहेका छन् ।

जुकरवर्गको बयानमा जनाएको प्रतिक्रियालाई पनि फिल्ममा समेट्न यो शैली अपनाइएको छ । यसले दुई काम सँगै गर्छ । जुकरवर्ग झुटो बोल्दै छन् भन्ने दर्शकलाई तत्क्षणै बताउँछ भने भइरहेको गतिविधि सामाजिक सञ्जालमा ‘लाइभ’ हेर्दै गरेको अनुभूति पनि दिन्छ । अर्कोतर्फ पत्रकार क्यारोलले एनालिटिकाको विगत बताउने अन्तर्वार्तामा जोडेर फिल्मले कम्पनीको इतिहास खोतल्छ ।

फिल्मले क्याम्ब्रिज एनालिटिका कम्पनी बेलायतस्थित ‘स्ट्राटेजिक कम्युनिकेसन कम्पनी (एससिएल) समूहको भगिनी कम्पनी हो । यो कम्पनीले २५ वर्षदेखि सुरक्षासम्बन्धी काम गर्दै आएको दाबी कम्पनीको व्यपार प्रवद्र्धन गर्ने भिडियोमा छ । यसले बेलायती सैनिक, अमेरिकी सैनिक, नेटो, सिआएलाई तालिम दिने, युद्धको अवस्थामा विरोधी खेमामा व्यवहारगत परिवर्तनको रणनीति बनाउने आदि काम गर्छ ।

अफ्गानिस्तानमा नेटोले आक्रमण गरेपछि तालिवानमा भर्ना हुन जान अफगानी युवालाई रोक्नका लागि उनीहरूमा ल्याउनैपर्ने व्यवहारगत परिवर्तनका लागि अभियान चलाउने काम गर्छ । कम्पनीले युद्ध चलिरहेका क्षेत्रमा ‘सूचनाको लडाइँ’ सञ्चालन गर्ने काम गर्छ । नेटो र अमेरिकाले सैनिक आक्रमण गरेका धेरै ठाउँमा यस्तो ‘सूचनाको लडाइँ’ चलाएको खुलासा पत्रकार क्यारोल क्याडवालाडर गर्छिन् । उनी भन्छिन्, ‘मुख्य समस्याको जड युद्धमा प्रयोग हुने ‘सूचनाको लडाइँ’ चुनावमा प्रयोग हुन थाल्यो’ । क्याम्ब्रिज एनालिटिकाले उही रणनीति एसियाली, अफ्रिकाली र मुस्लिम जनतामा प्रयोग गर्दा समस्या नठानेका बेलायती र अमेरिकीलाई त्यही रणनीति आफ्नै देशमा उपयोग भएको थाहा पाउँदा भने टाउको दुखाइ भएको फिल्ममा देखिन्छ । 

‘द ग्रेट ह्याक’ले सम्भाव्य मतदाताको ‘डाटा’ उसको सहमतिविना नै संकलन गर्ने र त्यसबाट उसको रुचिलाई वस्तु(यस सन्दर्भमा उम्मेदवार) अनुरूप प्रभावित गर्न लक्षित गरिने ‘प्रोपोगान्डा’मा प्रयोग गरिन्छ भनेर देखाउँछ । चुनावलाई प्रभावित गर्न सन् १९७०, ८० को दशकमा मिडिया ‘क्याम्पेन’ गरिन्थ्यो । लेखक नोम चोम्स्कीका अनुसार सबभन्दा पहिला प्रोपोगान्डाको प्रयोग अमेरिकाले पहिलो विश्वयुद्ध सुरु भएपछि गरेको थियो । सो युद्धलाई अमेरिकी जनता युरोपको युद्ध भएकाले मतलब गर्नुनपर्ने ठान्थे । तर, अमेरिकी सरकार युद्धमा होमिन चाहन्थ्यो । ६ महिना युद्धको पक्षमा ‘प्रोपोगान्डा’ गरेपछि आमअमेरिकी जनता ‘युद्ध पिपासु’ भए भनेर उनले ‘कन्सेन्ट म्यानुफ्यक्चरिङ’मा लेखेका छन् । प्रोपागान्डाको कुरामा हिटलरका सञ्चारमन्त्री गोएबल्सको नाम आइहाल्छ ।

अहिले ‘डाटा’ सम्पत्ति बनेको छ । यसले तेल र अन्य त्यस्तै महत्वपूर्ण सम्पत्तिको महत्वलाई उछिनेको छ । डिजिटल संसारका ठूला कम्पनी आममानिसका ‘डाटा’ कब्जा गरेर धनी भएका छन् ।

प्रोपोगान्डाका लागि अहिले सामाजिक सञ्जालको उपयोग हुन थालेको छ । यसका लागि आममानिसलाई आकर्षित गर्ने खालका ‘स्लोगन’लाई उनीहरूको नजरमा पु-याइन्छ । ट्रम्पको चुनावी अभियानमा ‘मेक अमेरिका ग्रेट अगेन’ होस् वा ब्रेक्जिटमा युरोपियन युनियन र बेलायतको झन्डा सँगै राखेर ‘तिम्रो झन्डा कुन हो ?’ भन्ने प्रश्न । यस्ता आममानिसको ध्यान तान्ने ‘स्लोगन’को आडमा सामाजिक सञ्जालमा गलत र झुटा सूचनाको बाढी ल्याइन्छ ।

२०१६ अमेरिकाको चुनावमा हिलारी क्लिन्टनको पक्षमा ६० हजारजति विज्ञापन फेसबुकमा हालियो भने ट्रम्पको पक्षमा ५० लाख विज्ञापन प्रवाहित गरियो । पपुलर स्लोगनको आडमा सामाजिक सञ्जालमा फैलाइएका ‘झुटा कुरा’लाई आफ्ना समर्थकबाट व्यापक ‘लाइक’ र ‘सेयर’ गराएपछि आममानिसको तर्क कमजोर भएर सही र गलत छुट्याउने विवेक बोधो बन्छ र मानिस भिडमा परिणत हुन्छ । भिड तथ्य, तर्क, विवेकले होइन ‘ह्विम’ले चल्छ । यसका लागि व्यक्तिको व्यवहारको पूर्वानुमानका लागि आवश्यक पर्ने व्यक्तिको दैनिक जीवनका निजी सूचना (डाटा) फेसबुक, ट्विटर, ह्वाट्सअपजस्ता सामाजिक सञ्जालबाट सजिलै संकलन हुन सक्छ । 

तर, प्रश्न चुनावी अभियानमा सामाजिक सञ्जालको प्रयोगको होइन । प्रश्न व्यक्तिको गोपनीयताको सुरक्षाको हो । फिल्ममा ब्रिटानी भन्छिन् ‘डाटा’ सम्पत्ति बनेको छ । यसले तेल र अन्य त्यस्तै महत्वपूर्ण सम्पत्तिको महत्वलाई उछिनेको छ । डिजिटल संसारका ठूला कम्पनी आममानिसका ‘डाटा’ कब्जा गरेर धनी भएका छन् ।’ व्यक्तिको सम्पत्तिको हक कसरी सुरक्षित राख्ने भन्ने हो । अर्को कुरा व्यक्तिको ‘डाटा’ लिएर उसैविरुद्ध प्रयोग भइरहेको अवस्थामा आम मानिसको रक्षा कसरी हुन्छ भन्ने हो ।

सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीलाई प्रयोगकर्ताका ‘डाटा’ बिक्री गर्न वा प्रयोगकर्ताको सहमतिबेगर नै अन्य प्रयोजनमा प्रयोग गर्न कसरी रोक्ने भन्ने प्रश्न हो । यो फिल्म हेरेपछि मनमा एउटा डर उत्पन्न हुन्छ । नेपालमा पनि वेला–वेला सामाजिक सञ्जाल ‘ह्विम’को पछि दौडने गरेको छ । यो फिल्मले आमनेपालीको व्यक्तिगत ‘डाटा’को सुरक्षा कसरी हुन्छ त भन्ने प्रश्न पनि मनमा उब्जन्छ । किनभने ‘ठूलो ह्याक’ त हाम्रो मनमस्तिष्कलाई गलत तरिकाले प्रभावित पार्ने कुरा न हो । त्यसैले प्राध्यापक डेभिड क्यारोल भन्छन्, ‘अबका दिनमा व्यक्तिको डाटामाथिको अधिकार मानव–अधिकारको प्रमुख मुद्दा बन्नुपर्छ र त्यसको सुरक्षामा कानुन बन्नुपर्छ ।’

जब क्याम्ब्रिज एनालिटिका कम्पनीको ट्रम्पको चुनावी अभियान र ब्रेक्जिटमा संलग्नता उजागार भयो, घाटा देखाएर यो कम्पनी ‘लिक्विडेसन’मा गयो । कम्पनीमाथि आइलाग्नसक्ने कानुनी झमेला र अन्य दायित्वबाट पन्छिन कम्पनी बन्द गरिएको विश्लेषण गरिएको छ । एनालिटिका कम्पनीको पूर्वप्रमुख सञ्चालन अधिकृत जुलियन ह्विटल्यान्ड भन्छन्, ‘यो कम्पनी बन्द भए पनि डाटा संकलन गर्ने र त्यसको प्रयोग गर्ने काम रोकिँदैन । क्याम्ब्रिज एनालिटिका नभए अरू कम्पनी आउँछन् ।’