• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
राखी गौचन
२०७६ भदौ २२ आइतबार १४:३३:००
२०७६ भदौ २२ आइतबार १४:३३:००
राखी गौचन

ऊसम्म पुगेपछि परावर्तन भएको हो प्रकाश 
उसको इच्छा र अनिच्छा होइन उसको अस्तित्व
ऊ त स्निग्ध कञ्चन छ 
पारदर्शी छ 
ऊ जान्दैन आफ्नो अगाडि कालो पर्दा लगाउन
ऊ बुझ्दैन जालझेलका कुटिल प्रपञ्च ।

उभिन्छे मोनालिसा आएर उसका अगाडि
चरित्र नियाल्न जान्दैन ऊ
दुरुस्त देख्छे मोनालिसा उसलाई आफूसरह 
आउँछ फेरि भिन्ची र एक टकले  
नियाल्छ उसको स्निग्ध चरित्र ।
पलमै भिन्ची एउटा नयाँ स्केच बनाउँछ 
उसको पारदर्शिता भरी ।
यतिखेर उसको आँखाभरि नपत्याए हेर्नु 
मोनालिसाको यौवन तप्किरहेछ ।

सादा सपना 
कञ्चन रहर पालेर 
कुनै अजनबी भित्तामा 
यसरी चेप्टियो 
उसले देख्दै देखेन 
आफ्नै आँखामा झुम्मिन
आउने काला महŒवाकांक्षा
उसले रोज्दै रोजेन कुनै 
भड्किलो रंगमञ्च
आफैँमा हमेसा बेदाग भएर बाँचिरहेको ऊ 
किन देखिरहेछ यो समय उसको अनुहारभरि
कलंकका धब्बाहरू ?
फेरि किन रोपिरहेछ यो युग 
उसका अंगप्रत्यंगमा रहरका पौधाहरू  
फेरि किन हुलिरहेछ यो मौसम उसको हृदयमा अनौठो छाल 
जो बगाइरहेछ उसको पन 
जो मेटाइरहेछ उसको स्निग्धता  ।

हिजो  निष्कलंक लाग्ने उसको वय  
एकाएक कलंकित भैदियो 
कुनै रहरका ज्वारभाटा ल्याएर 
आएको सुनामी ऊसम्म 
चुपचाप निस्केर गयो
छाडेर पैतालाको डोब 
 आज पनि आउँछन् 
कति–कति उसका अगाडि
अन्जान आकृतिहरू
आँखा बिझाउँछन् र जान्छन् 
तर हिजोझैँ प्रतिबिम्बित हुने प्रकाश
किन डराइरहेछ ऊसम्म आउन ?
ऊ त सधैँ एकनासले आफू भएर बाँचेको हो
प्रभाव परेको छैन कुनै लाञ्छनाले
निरुत्तर छ ऊ ।

आएर अनेक पात्रहरू 
बनाई जाँदा रहेछन् आफ्ना आकृतिहरू  
पोती जाँदा रहेछन् रंगीन सपनाहरू ।
सपना र रहरको गल्छेडोमा
कतै लट्पिटिँदा रहेछन् पाइलाहरू 
कुनै बेगवान् छालजस्तै आउने
 अन्जान तरंगहरूले तोडी जाँदा रहेछन् 
अक्षुण्य राख्छु भन्दाभन्दै काँचका पत्रैपत्रहरू 
टुटिदिँदा रहेछन् 
प्रमादीहरूको यस राज्यमा ।