• वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
आहुति
२०७६ असोज ४ शनिबार ०६:१७:००
साहित्य

असर्फी सदाले भोट हाल्न पाएन

२०७६ असोज ४ शनिबार ०६:१७:००
आहुति

 असर्फी सदा अर्थात् समाजको पिँधको मानिस । ठ्याक्कै विगत ५५ वर्षदेखि ऊ कमला नदीको किनारको जमिनमाथि छ । तर, ऊसँग ५० बित्ता पनि आफ्नो जमिन छैन । पञ्चायत व्यवस्थाविरोधी आन्दोलनदेखि पटक–पटक झ्यालखाना गएको नेताजी बिहारीलाल मिश्रले संसदीय बहुदलीय व्यवस्था स्थापना भएको साँझ रक्सीले मातेर भनेको थियो, ‘मेरो त आज जिन्दगीको सबैभन्दा खुसीको दिन हो ।’

यो सुनेर असर्फी छक्क परेको थियो । गाह्रो र सजिलो, सुख र दुःख त उसले भोग्ने मात्रै गरेको थियो, तिनीहरूलाई दाँज्ने गरेको थिएन । दाँज्नु आवश्यक नै थिएन किनकि दाँजेर अर्को दिन फरक आउनेवाला थिएन ।

असर्फीको पहरिया स्वास्नी उसलाई जिस्क्याउँदा बयल भन्छे । रिसाउँछे तब मुढो भन्छे । उसलाई मुढोको अर्थ थाहा छैन । स्वास्नीसँग मुढोको अर्थ सोध्न कहिले पनि मिलेन किनभने रिसाएको वेला मात्र यो शब्द निकाल्छे । असर्फीले नबुझेको कुरा सोध्ने एउटै मान्छे हो– नेताजी बिहारीलाल मिश्र । तर, उसलाई भेट्दा अक्सर मुढोवाला विषय याद नै आउँदैन, जुन बखत याद आएको हुन्छ, त्यतिवेला फेरि बिहारीलाल कुनै न कुनै विषयमा कमला नदीको बाढीजस्तै व्याख्यान दिइरहेको हुन्छ ।

पञ्चायत व्यवस्थाकालमा हप्ता नबिराई बिहारीलाल मुसहर बस्तीमा वास बस्न आउँथ्यो, त्यतिवेला उसले असर्फीको टोलकी तरुनी रमणी सदालाई खुब मन पराउँथ्यो । ब्राह्मणको एक्लो छोरो बिहारीलालले रमणीलाई भगाउने साहस जुटाउन सकेन । रमणीको बिहे भयो, त्यसपछि भने लुकेर रक्सी खान मात्र असर्फीको टोलमा आउँथ्यो बिहारीलाल । रक्सीले मातेपछि ननिदाएसम्म गाउँथ्यो गीत, ‘ए लाल रंग कब मुझे छोडेगा...।’

दुई महिनाअघि गिरहतको खेत जोत्दा–जोत्दै भेटेका मोटा मुसा छोप्न दौडिँदा रिङ्गटा लागेर असर्फी ढल्यो । होस खुल्दा गोरुले उसको अनुहार चाटिरहेको थियो । गोरुको मुखमा रातो रगत देखेर ऊ झस्कियो, आफ्नो मुखको र्‍याल पुछ्दा कालो नाडीको पसिनामा रगत मिसियो । त्यो रात झोपडीमा पनि खोकीसँगै उसले थोरै गाढा रातो रगत बान्ता गर्‍यो । त्यो रात जति असर्फीलाई जिन्दगीमा आफ्नो जिउमा त्यति सकस कहिल्यै महसुस भएको थिएन ।

उसको खोकी थोरै शान्त भएपछि उसकी स्वास्नी भोटु निदाएकी थिई । मध्य चैत्र महिनाको गर्मीमा दिनभरि मजुरी गरेर लखतरान निदाएकी भोटुको निद्रा नबिग्रियोस् भन्ने कुरामा असर्फी सचेत थियो । फेरि पनि खोकी आउने सम्भावना सोचेर ऊ झोपडीबाट बाहिर निस्किएर टोलमा भुकिरहेका कुकुरहरूको आवाजबीच बस्यो ।

प्रायः साँझ घर फर्किने वेला भोलिपल्टका लागि बिँडी बोक्ने बानी थियो । तर, त्यस दिन बिरामी भएर घर आउँदा त्यो बिर्सियो । भोटुसँग त पक्कै होला, तर भर्खर सुतेकी भोटुको निद्रा बिग्रिने चिन्ताले झोपडीभित्र बिँडी खोज्न मन लागेन । शरीरमा यतिबिघ्न गाह्रो भएको, झन् त्यसमाथि बिँडी नतानेको त्यो रात असर्फीको जीवनमा साँच्चै नै अनौठो बित्न थालेको थियो ।

झोपडीबाहिर कहिल्यै रातमा नबस्ने असर्फीलाई देखेर टोलका कुकुरहरू बिस्मितझैँ लाग्थे, त्यसमध्ये दुइटा कुकुर आफू सुतेको स्थान बदलेर असर्फीनजिकै आएर गुडुल्किए । रातको गहिरो सन्नाटा चारैतिर व्याप्त थियो । टोलको कुनै कुनाबाट झगडा गरेको आवाज त आउँदै थियो । तर, त्यो पनि निदाउने वेलाको सुस्ताएको झगडालु स्वरजस्तो लाग्थ्यो, जुन आवाजलाई कुकुरहरूले पनि वास्ता गर्न छाडेका थिए ।

नितान्त एक्लै, त्यो पनि रातमा असर्फी कहिल्यै ब्युँझै बसेको थिएन । उसले आकाशका ताराहरू, टल्किरहेको चन्द्रमा सबै हेर्‍यो, तर मनमा कुनै नयाँ भाव तरङ्गित भएन । हल्का शीतल बतास चल्यो, थोरै सञ्चो अनुभूति भयो । कता–कता लाग्यो उसलाई, ‘अब म मर्छु होला नत्र किन होस गयो, किन मुखबाट रगत आयो !’ मृत्युको सोचसँगै उसलाई झट्ट याद आयो बिहारीलाल मिश्रको भनाइ, ‘जिन्दगी लम्बी हो या छोटी मगर उस एक पल के लिए जिना है...वह एक पल जिसमें खुसी हो, जिन्दगी हो और मुक्ति हो !’

यो वाक्यको यादसँगै उसलाई पनि आफ्नो जिन्दगीका खुसीहरू खोज्न मन लाग्यो । तर, खुसी र सुखको खोजी गर्दा आँखाअगाडि आउँथे– जिन्दगीमा जोतेका गोरुहरू...। बडेमानका गोरुहरू...। कुनै अटेरी, कुनै ज्ञानी...। अन्न खानै नमान्नेदेखि रक्सीसमेत खाइदिने गोरुहरू । सम्झनामा गोरुहरूको लस्कर सकिएपछि आयो याद त्यस घटनाको, जहाँ रक्सीसमेत चाटी–चाटी खाने गोरुले बिहारीलाल मिश्रको काकाको तुलसीको मठ भत्काइदिएको थियो ।

तुलसीको मठ गोरुले थोरै भत्काएको थियो, गोरु गिरहतको थियो । असर्फी त केवल गिरहतकै जग्गा जोत्ने हरवाह न थियो, तर अपराध उसकै टाउकामा थोपरियो । ए लाल रंगवाला बिहारीलाल कताबाट टुप्लुक्क त्यहाँ आइपुगेकै कारण असर्फीले कुटाइ खानु त परेन, तर उसको बाबुले गिरहतसँग लिएको ऋणमाथि थप एक हजार उक्त घटनाको जरिवानाका रूपमा थपियो । त्यो ऋण थपिएको साँझ ऊ रिसमा रुँदा बिहारीलालले भनेको थियो, ‘तँलाई थाहा छ असर्फीको मतलब ? असर्फीको मतलब हुन्छ– सुनको पैसा । चिन्ता नगर्, भगवानले एक दिन तँलाई धन दिन्छन् !’ आफ्नो नामको अर्थ जानेको दिन ऊ चकित भएको थियो ।

कमला नदीमा ट्याक्टरहरू आउँथे, बालुवा–गिटी भर्थे, जान्थे । कहिलेकाहीँ रतनलाई गाडेको भनी उसले मानेको ढिस्कोनेरबाटै ट्याक्टर जाँदा ढिस्कोमाथि ट्याक्टर चढी पो हाल्छ कि भनेर छाती ढक्क फुल्थ्यो । साँझपख सब शान्त हुन थालेपछि, घाम अस्ताएर थोरै शीतल बढ्न थालेपछि ऊ ढिस्कोमा पुग्थ्यो, केहीबेर टोलाउँथ्यो र घर फर्किन्थ्यो ।

यो चकमन्न असजिलो रातमा असर्फीलाई लाग्यो– सायद जीवनमा सबैभन्दा पहिलो खुसी त्यही थियो । जीवनका खुसीहरू दाँज्न सुरु गरेपछि उसलाई दोस्रो ठूलो खुसी खुट्याउन खासै दिमाग लगाउनुपरेन । १९ वर्षको असर्फी दिनभरि गिरहतको खेत सम्याएर डुबेको घामले छाडेको मधुर डोबजस्तो रिमरिम साँझमा बस्तीतिर फर्किंदै थियो । काँधको लाठीमा पिठ्युँपछाडि झुन्डिएका थिए– पाँचवटा मारिएका मुसा, दाहिने हातमा थियो बोतलभरि नसालु ताडी ।

उसको कालो अनुहार र तिघ्रामा घाम अस्ताइसकेपछि पनि धर्तीमा अल्मलिएको मन्द किरण हल्का टल्किरहेको थियो । गोरु धपाउँदै ज्यावलहरू बोकेका अरू संगाते अगाडि जाँदा उडेको धुलोको धमिलो पर्दा पनि टाढा पुगिसकेको थियो । यत्तिकैमा बाटोछेउको खेतको लहरीको झाङबाट एक्कासि निस्केकी थिई भोटु । उसले झम्टेर कुन गिरहतको बाक्लो लहरीको झाङमुनि पु¥याई, असर्फीले सोच्नै भ्याएन । भोटु तामाङ अर्थात् विगत ३५ वर्षदेखि उसको दुःखको साथी ।


‘छ्या छ्या मुसे जात !’ भन्दै भोटुले मुसा कता फाल्दिई कता, ताडीचाहिँ आधा बोतल एक सासमा उसले सुट्काई । डर र लाजबीच के हुँदै छ असर्फीले सोच्नै सकेन, उसका तिघ्राका कसिला मांसपेशी पनि लुला भएका थिए, फरफराइरहेका थिए । आधा बोतल ताडी सिनित्त पारेपछि बोतल असर्फीलाई दिई । केही बोल्नुको खास अर्थ नै थिएन । दुवैजना हल्का मातेर माटोलाई ओछ्यान बनाएर रात काट्दा तब नै निँद खुल्यो, जब घाम छिट्टै आइपुग्ने सन्देश बोकेर चिसो बतासले एक–आपसमा लपेटिएको उनीहरूको न्यानोलाई चिस्याउन थाल्यो ।

आफ्नो छातीमा पहरिया गोरी भोटु रातभरि निदाउली भनेर कल्पना पनि असर्फीले गरेको थिएन, उसले हतार–हतार भोटुको नाङ्गो पाँसुला कपडाले छोपिदिएको थियो । यो यादसँगै उसलाई भोटुलाई एकपल्ट हेर्न मन लाग्यो । तर, आधा रातमा निदाएकीलाई बोलाउन मन भने पटक्कै भएन...। बरु सललल आँखाबाट आँसु झर्‍यो, जसलाई असर्फीले पिँडुलामा तप्केपछि मात्र चाल पायो ।


असर्फी र भोटुको प्रेमकथा कुनै विशेष थिएन, असर्फीलाई त भोटुको प्रेमी बनिसकेको कल्पना पनि थिएन । भोटु तामाङको बाउ ट्रक ड्राइभर थियो, उसले उसकी आमालाई धादिङतिरबाट ल्याएर राजमार्गछेउको तामाङ नातेदारकोमा राखेको थियो । भोटु आमाको पेटमै हुँदा ड्राइभर बाउको ट्रक दुर्घटनामा मृत्यु भयो । भोटु जन्मिउन्जेल त ड्राइभरका नातेदारले आश्रय दिए, त्यसपछि भने बस्तीमै छुट्टै छाप्रोमा भोटु र उसकी आमाको जीवन घिसारिन सुरु भयो ।

कमला नदीआसपासका तामाङहरू असर्फी सदाको मुसहर खलकभन्दा सबै दृष्टिले अगाडि थिए अर्थात् पहाडबाट यहाँ आइपुगेका नयाँ मालिक । तर, भोटुका आमा–छोरी भने पहरिया त थिए ,तर सधैँ ज्यालामजुरीमा हुन्थे, असर्फी सदाको खलक जहाँ काम गर्थे, उनीहरू पनि त्यतै हुन्थे ।

फरक यत्ति थियो कि असर्फी सदाको खलक गिरहतको हरवाह–चरवाह थियो, तर भोटुका आमा–छोरीचाहिँ स्वतन्त्र मजदुर अर्थात् ‘जन’ थिए । असर्फीसँग भोटुको देखभेट हुने समयमा यस इलाकामा सुर्तीखेती खुब चलेको थियो । नगदेबाली सुर्तीसँगै नगदमा काम गर्ने ज्यालादारी मजदुर पनि जन्मिएका थिए भोटु र भोटुहरू । तर, असर्फी सदाहरू नगद र हरवाह–चरवाह बँधुवा प्रथा दुवै भोगिरहेका थिए ।

वर्षायामको सुरुमा कमलाको बाढीले बगाएर ल्याउने काठपात छोप्न सबैभन्दा गरिबहरू किनारमा पुग्थे, त्यसमा चासो राख्नु नपर्नेहरू माछा बटुल्न जान्थे । बाढीमय नदीमा ठूलो मुढो समातेका भोटुका आमा–छोरी बग्न थालेपछि पौडीमा साहसी असर्फीले उनीहरूलाई किनारसम्म ल्याउन मद्दत गरेको थियो ।

‘काले मुर्दाले बचायो बाइ !’ छोपेको मुढो स्याहार्दै भोटुले भनेको कुराको अर्थ असर्फीले बिहेपछि मात्र थाहा पायो । त्यो वर्षायामको बाली लगाउने काममा भेट हुँदा भोटुले असर्फीलाई जहिले पनि ‘मुसे मुर्दार !’ भन्थी र हाँस्थी, तर असर्फीका निम्ति अर्थ न बर्थ । जब त्यही वर्ष सुर्ती गोड्ने याम सुरु भयो, अनि गजब भयो एक दिन । असर्फी अघि–अघि घोप्टिएर गोड्दै थियो, पछि–पछि भोटुलगायत अरू खेताला थिए ।

एक्कासि कालो गोमन सर्प असर्फीका अगाडि फणा उठाएर खडा भयो, खेतालाहरूमा खैलाबैला भयो । असर्फीको कमजोरी नै सर्प थियो, ऊ सर्पसँग डराउँथ्यो । पुरुषहरू लाठी खोज्न थाले, महिलाहरू असर्फीलाई भाग भन्दै थिए, तर ऊ चुपचाप उभिएको थियो । यत्तिकैमा असर्फीको अगाडि भोटु आएर उभिई र गोमनलाई च्याप्प समातेर पर खोल्सामा लगेर छाडी । सर्पलाई खोल्सामा पन्छाएर फर्किंदा आफ्नी आमातिर हेरेर भन्दै थिई, ‘आमै ! गोमनले त यो मुसेको गेडै ताक्याथ्यो...हे हे हे...।’

‘छ्या के भनेर मर्छे !’ भोटुकी आमा छोरीसँग दिक्क मानेर बोलेकी थिई । यसपछि नै असर्फीले पहरिया भोटुलाई पूरै आदरका साथ हेर्न थालेको थियो । तर, भोटु आफ्नी स्वास्नी बन्ली कल्पनामै थिएन । असर्फी र भोटुको दाम्पत्यले ३५ वर्ष काट्यो । भोटुले दुई छोरा र तीन छोरी जन्माएकी थिई, तर दुई छोरी भने तीन वर्ष ननाघ्दै मरे । जेठो छोरो सुखीराम आफ्नो परिवार छुट्टै बनाएर यही टोलक‍ो एउटा झोपडीमा बस्छ, विदेश जान सबैतिर ऋणको लागि कोसिस त गरेको थियो, तर पाएन ।

ज्वाइँ भने कतारमा छ, ज्वाइँ कतार गएदेखि छोरी लक्ष्मनिया आफ्नो काखे छोरोसहित माइतीमै आएर बसेकी छ । यी छोराछोरी असर्फीको चिन्ताका विषय बनेका छैनन् । तर, उसको पीडा भने बाँचेकामध्ये कान्छो छोरामा अड्किएको छ । कान्छो छोरो अर्थात् रतन सदा, जो २०६१ सालमा सरकारी सेनाबाट गिरफ्तार भएपछि मारिएको थियो ।

रतन सबैभन्दा कान्छो तैपनि सबैभन्दा पहिले मर्‍यो । तर, उसैले दिएको अकल्पनीय सुख नै असर्फीको जिन्दगीको ठूलो खुसी थियो । बिहानको चिसो बताससँगै असर्फीले आफ्नो पूरै जिन्दगीको यात्रा एक–एक पल्टाएर हेरिभ्यायो । बिँडीको मीठो पोलिएको गन्धले असर्फीलाई झस्कायो, बिँडी तान्दै भोटु उसको पछाडि उभिएर भन्दै थिई, ‘बिरामी मान्छे रातभरि सुतेन, बुढो हुँदै गयो झन् झन् मूर्ख बयल बन्दो छ । अस्पताल जानुपर्छ आज...सुत्नुपर्दैन ? ...।’

स्वास्थ्य चौकीमा क्षयरोग भएको ठहर भयो र नियमित औषधि खान जानुपर्ने आदेश भयो । स्वास्थ्यकर्मीहरूले रक्सी खाएपछि रोग नलागे के लाग्छ भनी तथानाम गालीको भाषामा उपदेश सुनाए । तर, असर्फी औषधि खान जाने समयमै गाउँको सानो हनुमान मन्दिरको पूजारी पनि क्षयरोगकै औषधि खान आउँथ्यो । पूजारीले रक्सी खाँदैनथ्यो, तर फेरि आफूले खाने औषधि किन खान आयो ? बिहारीलाल मिश्रलाई भेटेपछि यसको उत्तर सोध्ने धोको हरेकपटक स्वास्थ्य चौकीमा पूजारीलाई देख्दा जब्बर हुँदै जान्थ्यो । क्षयरोगले एक्कासि थला परेपछि भोटुले असर्फीलाई कुनै काममा निस्किन दिइन ।

भोटु र छोरी काममा निस्केपछि दिनभरि झोपडीमा असर्फी के गरी बसोस् ? बजारका पसलमा गफ्फिने उसको जातीय हैसियत थिएन । गर्मी छल्न आँप बगैँचातिर गएर पल्टौँभन्दा आफ्नो त थिएन नै गिरहतको बगैँचामा पनि अब त आँप व्यापारीको चौकीदारले जानै दिँदैन । यस्तोमा क्षयरोगले थल्लिएपछि असर्फीको दैनिकी बन्यो– दिनभरि कमला नदीको किनारको रूखको सिँयालमा गएर बस्नु र त्यो ढिस्कोलाई हेरिरहनु, जुन ढिस्कोमुनि नै सायद कान्छो छोरो रतनको लास गाडिएको थियो । रतनको कमान्डर विश्वनाथ यादवले भनेको थियो कि रतनसहित तीनजनालाई कर्जन्हा गाउँमा पक्रिएर कमला किनार ल्याएर मारेर गाडेको उसैले देखेको हो । ठ्याक्कै कहाँनेर त उसले बताउन सक्दैनथ्यो, तर गाडेको ठाउँमा ढिस्कोजस्तो बनेको थियो चाहिँ उसले भन्थ्यो ।

कमला नदीमा ट्याक्टरहरू आउँथे, बालुवा–गिटी भर्थे, जान्थे । कहिलेकाहीँ रतनलाई गाडेको भनी उसले मानेको ढिस्कोनेरबाटै ट्याक्टर जाँदा ढिस्कोमाथि ट्याक्टर चढी पो हाल्छ कि भनेर छाती ढक्क फुल्थ्यो । साँझपख सब शान्त हुन थालेपछि, घाम अस्ताएर थोरै शीतल बढ्न थालेपछि ऊ ढिस्कोमा पुग्थ्यो, केहीबेर टोलाउँथ्यो र घर फर्किन्थ्यो । यही दैनिकीबीच एक दिन बिहारीलाल मिश्र असर्फीलाई खोज्दै कमला किनारमा आइपुग्यो ।

‘हे बबुवा असर्फी यहाँ पो छस् ! मैले कति दिन भयो तँलाई खोजेको...।’ घ्यु रंगको जवारी कोटको बाहिरी खल्तीबाट सूर्य चुरोट झिकेर सल्काउँदै गफ्फिन सुरु गर्‍यो । असर्फीलाई थाहा थियो– नयाँ संविधान बनेपछिको चुनाव आउन अब केही हप्ता मात्र बाँकी छ । अझै पनि मुसहर टोलका थुप्रै मान्छेले उसले भनेको सुन्छन् । २०३६ सालको किसान आन्दोलनमा बहादुर सदालाई पुलिसको गोली लाग्दा असर्फीले नै त बोकेको थियो । त्यो वेलादेखिको दौँतरीले उसकै कुरा सुन्थे । ‘अब फेरि चुनाव त टाउकोमाथि आयो त असर्फी...।’ असर्फीले काटेको लख बिस्तुर गएन । चुनावको कुरासँगै बिहारीलालले भित्रि खल्तीबाट भर्जिन रक्सीको चौथाइ बोतल निकाल्यो, एक बट्टा शिखर चुरोट पनि ।

‘यो त मैले खान्न अब, मलाई त टी.बी. भयो । औषधि खाइराछु,’ फ्याट्ट असर्फी बोल्यो । बिहारीलालले त्यसपछि रक्सी–चुरोट छोडेको गजब गरिस् भन्ने विषयमा लामो व्याख्यान दियो । अनि आफ्नो पार्टी मधेसको पहिचानका निम्ति कति लड्यो बेलिविस्तार लगायो ।

नितान्त एक्लै, त्यो पनि रातमा असर्फी कहिल्यै ब्युँझै बसेको थिएन । उसले आकाशका ताराहरू, टल्किरहेको चन्द्रमा सब हे¥यो, तर मनमा कुनै नयाँ भाव तरङ्गित भएन । हल्का शीतल बतास चल्यो, थोरै सञ्चो अनुभूति भयो । कता–कता लाग्यो उसलाई, ‘अब म मर्छु होला नत्र किन होस गयो, किन मुखबाट रगत आयो !’

‘जिन्दगीभरि लोकतन्त्रका लागि लडियो, तर मधेसको पहिचान बेगर लोकतन्त्र त लङ्गडो पो रै छ, तब यो पार्टीमा म साह्रै खुसी छु...तेरो छोराको पार्टी पनि पहिचान त भन्छ, ठीक छ तर पहरीया पारा ल्याउन छाड्दैन ।’ त्यसपछि उसले घरका परिवारका लागि भए पनि रक्सी र चुरोट लैजान भन्यो ।

‘भोटुले मार्छे यो लगे त ! भोटको लागि त नेताजीले भनेकोमा कहिले फरक परेको छ र ?’ तथापि संविधानसभाको निर्वाचनदेखि नै असर्फीले सकेजति भोट छोरोको पार्टीलाई नै खसाल्न लगाउँदै आएको थियो । बिहारीलाल हिँडेपछि कता–कता उसको आँतदेखि नै रक्सीको प्यास रसाएर आयो, तर हुँदैन भन्दै आफूलाई सम्हाल्यो ।

त्यसको ठीक भोलिपल्ट त्यस्तै समयमा कमला किनारमा आइपुग्यो गिरहतको कान्छो छोरो अनिल महतो । ‘त्यो पागल बिहारीलालले तिमीलाई भेटेँ भन्दै थियो, हो र ? हाम्रो पार्टी छाडेर त्यसले के प्रगति गर्‍यो ! जिन्दगीमा आफ्नै पहिचान त बनाउन सकेन, के मधेसलाई दिन्छ पहिचान ?’ बिहारीलालको पार्टीलाई तथानाम गाली गर्दै र आफ्नो विश्वेश्वरप्रसाद कोइरालाले बनाएको पार्टी हो भनी बखान गर्दै झोलाबाट निकाल्यो रोयल स्ट्याग रक्सीको आधा प्याक । जिन्दगीमा कहिलेकाहीँ कम्पनीमा बनेका यस्ता रक्सी चाखेको असर्फीको बोतल देख्दा शरीरभरि शीतल झन्कार दौडियो, तर भोटुलाई सम्झियो अनि रोग । उसले त्यही कुरा दोहो¥यायो, जुन हिजो बिहारीलाललाई भनेको थियो ।

‘रक्सी उक्सीको कुरा त नखाएकै राम्रो । पहिले भोट तिम्रो छोराको पार्टीलाई दियौ, मैले केही भनिनँ । तर, त्यो पार्टी त अब हाम्रोभन्दा बिग्रिसक्यो, तिमीलाई थाहै छ । हामी भनेको बाजे–बराजुको पालादेखि सँगै छौँ, सँगै हुनुपर्छ । युद्दको वेला तिम्रो छोराले मेरो कत्रो बेइज्जत गर्‍यो, तर मैले तिमीहरूलाई कहिले सताएको छु ? मेरै जमिनमा बसेका छौ, मैले उठाएको छु ? म भनेको मनमा राम भएको मान्छे । सोच राम्ररी ।’

‘अब मेरा आँखा धेरै खुलेका छन् मालिक...,’ असर्फीले यस्तै बरबराउँदै अनिल महतोबाट छुट्कारा पायो । महतो एक प्रकारले धम्कीसहित हिँडेपछि असर्फीलाई छोरा रतनको ढिस्को छाम्न मन लाग्यो । ऊ त्यही ढिस्कोमा गएर बस्यो, आँखाबाट सलल आँसु चुहियो ।

युद्धको समयमा एक रात अनिल महतो आफैँ असर्फीलाई बोलाउन आयो, उसको साथमा बन्दुक बोकेका दुई विद्रोही सिपाही पनि थिए । उनीहरूसँगै अनिल महतोको आँगनमा पुग्दा असर्फीको कान्छो छोरो रतन हातमा पेस्तोल लिएर कुर्सीमा बसेको थियो । गिरहतको पूरै परिवार आँगनको एकछेउमा बसेका थिए, आँगन पूरै विद्रोही लडाकुहरूको कब्जामा थियो । गाउँलेहरू वरपर बसेर दृश्य हेरिरहेका थिए ।

‘अब यो गाउँमा गिरहतका हरवाह–चरवाह सबै मुक्त भए, उनीहरूको ऋण खारेज भयो– यो हाम्रो जनसत्ताको निर्णय हो,’ रतनको गर्जनपछि ताली बज्यो । अनिलका तीनै दाजुभाइ हात जोरेर सुनिरहेका थिए । डर र खुसीबीच असर्फीको शरीर थरथर काँपिरहेको थियो । अनिल महतोले एउटा कुर्सी ल्याएर असर्फीलाई त्यसमा बस्न अनुरोध गर्‍यो । अप्ठ्यारोमा परेको असर्फीलाई कमान्डर छोरा रतनले भन्यो, ‘यस्ता कुर्सी अब काम गरी खानेको हो बाबा, बस कुर्सीमा ।’ रतन बोल्दै गयो, ‘म यही ठाउँमा हुर्केको हुँ, म यहाँ सकेसम्म रगत बगोस् भन्ने चाहन्नँ । तर, आज उप्रान्त कसैले पनि यो ठाउँमा जनतामाथि अत्याचार गरे, सबैभन्दा पहिले त्यसको रगतको टीका लगाउन म आफैँ आउनेछु !’

‘विश्वास गर्नुस् हजुर, विश्वास गर्नुस् बेटा...,’ हात जोरेर अनिलको जेठो दाजु रतनको घुँडा समात्न घोप्टिएको थियो । ती दृश्यहरू सम्झिँदै रात परेको असर्फीले पत्तै पाएन । कमला किनारबाट भोटुले चिच्याएर बोलाएपछि मात्र ऊ झस्क्यो । ‘बिरामी मान्छे रात परुन्जेल किन बस्नु बगरमा ? बुढो बयल !’ भोटुले टोलतिर फर्किंदा केहीबेर गाली गरी ।

‘आज रतनलाई सम्झेर रात परेकै पत्तो भएनछ !’ असर्फीको जवाफपछि बाटोभरि भोटु केही बोलिन, उनीहरू दुवै चुपचाप हिँडिरहे । झोपडीमा पुगेपछि, खाना खाने वेलामा भोटुले भनी, ‘ठेकेदारले महोत्तरीमा पुलमा काम गर्ने मजदुर जम्मा पार्दै रै’छ । चुनावभन्दा अगाडि नै काम सक्नुपर्ने रे । खाने–बस्ने गरेर पनि ज्याला राम्रो दिन्छ भन्छ । भोलि जानुपर्ने जान्छु म, टोलबाट पाँचजना जाने कुरा भा’छ ।’

असर्फीले बोल्नुपर्ने खास जरुरी ठानेन, राम्रो ज्याला पाउने ठाउँमा गएकै त हो । भोलिपल्ट टोलका अरू आइमाईसँगै बाटो लाग्न लाग्दा भोटु बोली, ‘घरमै बस्ने, रात–रातसम्म कमलामा हराउने हैन । औषधि छोरीले दिन्छे, उसले बिर्से आफूले भनेर खाने । बुझेको हो नि बुढो बयल !’ ऊसँगै हिँड्न लागेका आइमाईहरू गलल हाँसे, भोटु पनि हाँसी ।

‘तँ जा, छोरी छ त । म मरिहाल्दिनँ ।’ असर्फी पनि थोरै कड्कियो ।भोटु हिँडेको साँझ घाम डुब्नै लाग्दा युद्धताका कान्छो छोरा रतनको कमान्डर विश्वनाथ यादव जसले रतनलाई गाडेको ढिस्कोबारे बताएको थियो, त्यही ढिस्कोमा टोलाइरहेको असर्फीलाई भेट्न आइपुग्यो ।‘चुनाव अब ठ्याक्कै २५ दिनमा हुन्छ । रतनको बाबा अथवा क्रान्तिको बाबा, तपाईंको आशीर्वाद नलिई कसरी प्रचारमा निस्कनु भनेर भेट्न आएको...,’ विश्वनाथले यसरी कुरा सुरु गर्‍यो । रतनको साहस, ऊसँगको दोस्ती अनि उसको सहादतको भावुक चर्चा गर्दै जाँदा असर्फीको छाती फुट्ला जसरी भक्कानियो ।

‘यो चुनावबाट हाम्रो सरकार बन्छ बाबा, रतनको सपना पूरा गर्छ पार्टीले...,’ आफू पनि भक्कानिएको स्वर निकाल्दै विश्वनाथले झोलाबाट ओल्ड दरबार ह्विस्कीको पूरा बोतल निकाल्यो, दुइटा प्लास्टिकको गिलास निकाल्यो र मासुको परिकार पनि । चुरोटको बट्टाबाट सूर्य चुरोट निकालेर सल्काउँदै रक्सी दुई गिलासमा भर्दै भन्यो, ‘म पनि सधैँ खान्नँ बा, रतनको याद आएको वेला मात्र हो ।’

‘मैले त खानुहुन्न, टी.बी. लागेर औषधि सुरु गरेको हो ! ‘मलाई त्यो थाहा छ बा । औषधि सुरु गरेपछि थोरै कहिलेकाहीँ लिँदा केही हुन्न । बालाई हानि हुने काम गर्छु त मैले ?’ हातमा गिलास थमाइदिँदै, ‘रतनको यादमा बा...रतनको यादमा !’ असर्फीको हात काँपिरहेका थिए, छाती ढुक्क फुलेको थियो, तर रक्सीको तिखो सुगन्धले उसको मनलाई पगाल्दै लग्यो । छोराको यादमा भावुकताबीच उसले रक्सी स्वाट्टै पार्‍यो । असर्फी धेरै रक्सी खाने मान्छे त पहिला पनि होइन, तर सानो प्लास्टिक गिलासको रक्सीले उसलाई झुम्म पार्‍यो ।

‘तिमीहरूले चुनाव जितेमा यो ढिस्को खनेर रतनको लास झिक्न पुलिसले दिन्छ त ?’ सेकुवा र मुरी खाँदै उसले सोध्यो ।‘कल्ले रोक्छ त्यसपछि ? सरकारै हाम्रो हुन्छ बाबा !’ विश्वनाथले चुरोटको सर्को तान्दै भन्यो र चुनावमा मुसहर बस्तीलाई एक पार्न असर्फीले गर्नुपर्ने कामको योजना पनि सुनायो । असर्फीले दुइ गिलासभन्दा बढी पिएन, तर रात परेपछि बगरबाट उठ्ने वेलामा भन्यो, ‘घरमा छोरीले थाहा पाउने भई, गाली गर्छे अब !’

त्यसपछि झोलाबाट चार दाना सुन्तला विश्वनाथले झिक्यो ।‘सुन्तला खानुपर्छ नि बा अनि गन्ध आउँदैन !’ हाँस्दै छोडाउन थाल्यो । असर्फी छक्क प¥यो, तर विश्वनाथले भन्यो, ‘हामी राजनीति गर्नेले यस्तो नसिकी नहुने, के गर्ने मान्छेले रक्सीलाई खराब सोच्छन् । मलाई त केही फरक पर्थेन, तर बालाई घरमा गाली गर्लान् भनेर सुन्तला पनि लिएर आएको ।’

सुन्तला खाँदै असर्फीले सोच्यो, ‘अचम्म छ, सबै व्यवस्था गरेर आएछ !’‘तर, पहिलेको चुनावमा जस्तो सधैँ त खान्नँ नि म ।’ ‘किन खानु बा सधैँ, कहिलेकाहीँ पो त,’ विश्वनाथ यादव प्रसन्न थियो ।कमला नदीको वारिपारिका गाउँटोलहरूलाई चुनावको रनकले छपक्कै छोप्यो । करिब ०४० सालदेखि सबैजसो संघर्ष र जनआन्दोलनमा असर्फीको मुसहर टोलले भाग लियो, सहादत दियो, तर यो टोललाई अझै पनि चुनावमा बिकाउ बस्तीकै रूपमा पार्टीहरूले बुझ्दै आए, व्यवहार गर्दै आए ।

चुनावको रनकसँगै मुसहर टोलमा बोइलर कुखुरा, रक्सी र चुनावी गञ्जीको त्यसरी नै बाढी आयो जसरी वर्षामा हुत्तिएर उर्लिन्छ कमला नदी । एक बिहानै एकजना युवा पल्सर बाइक चढेर असर्फीलाई लिन आयो । उसले सीधै गिरहतको हवेलीसँगैको सानो आँप बगैँचासँगै जोडिएको गोठअगाडि पुर्‍यायो । अलि पर गिरहतको हवेलीको प्रांगणमा अनिल महतो प्लास्टिकको कुर्सीमा बसेर उसका कार्यकर्तासँग छलफल गर्दै थियो । केहीबेरपछि अनिल असर्फी उभिएको गोठतिर आयो ।

‘हरवाह भएर मालिकलाई उल्लु बनाउने ?’ एक्कासि अनिल महतो जङ्गियो र तथानाम गाली ग¥यो । असर्फीले पछि मात्रै कुरा बुझ्यो, उसले फकाउँदा रक्सी नखाएको, तर विश्वनाथ यादवले रक्सी खुवाएको उसले थाहा पाएछ ! असर्फीले राम्रोसँग बुझेको थियो कि अब कान्छो छोरा रतनले भनेको राज ऊसँगै गाडिइसक्यो, मालिक खलकसँग जोरी खोज्न मिल्दैन ।

‘भोटमा गडबढी हुँदैन मालिक...’, यावत् अनुनय गर्दा पनि रक्सी नखाई एक पाइला सार्न अनिल महतोले दिएन । संविधान बन्नुभन्दा पहिलेका चुनावहरूमा यति धेरै दबाब गिरहत खलकले उसलाई दिएका थिएनन् । रक्सीले हल्का मातेर हातमा अनिल महतोको पार्टीको प्रचार सामग्रीको झोला बोकेर फर्किंदा ग्लानिले भावविह्वल भयो असर्फी । त्यो दिनभरि कमलाको किनारमा भक्कानियो !

कान्छो छोरामाथि आफूले पनि अन्याय गर्न थालेको भानले आँसु बगिरह्यो । साँझ झमक्क हुन लाग्दा असर्फी बिहारीलालको पार्टीको चुनाव प्रचार कार्यालयअगाडि उभिन पुग्यो । कार्यालय बन्द गरेर कार्यकर्तासँगै हिँड्न लाग्दा बिहारीलालले ठिङ्ग उभिएर झोक्राइरहेको असर्फीलाई देख्यो । 

‘अरे असर्फी, यसवेला यहाँ !’ कार्यकर्तालाई नरोकी बिहारीलालले फेरि कार्यालयको ढोका खोल्यो र असर्फीलाई भित्र लगेर स्टुलमा बसायो । ‘म त पार्टीको गन्जी माग्न आएको, अरू पार्टीले दिएर गैसके !’ रक्सीको हल्का हरक अनि गन्जीको प्रसंगले बिहारीलालले कुरा बुझ्यो कि असर्फीको टोल यसपालि अब आफ्नो पार्टीतिर फर्कियो । आखिर गिरहतको रक्सी त खाइयो भने आफूले मनैदेखि मानेको बिहारीलालको चित्त किन दुखाउने सोचेर नै असर्फी त्यहाँ गएको थियो ।

नभन्दै प्रचार कार्यालयमै बिहारीलालले रक्सी पिलायो । रक्सी लाग्दै जाँदा असर्फीले भन्यो, ‘छोराको पार्टीको नाइँ भन्न सकिनँ । गिरहतको पार्टीको पनि बिहान खाएँ । तब हजुरलाई कसरी धोका दिउँ भनेर आएको...।’ अनि बेस्सरी रोयो । उसको कुरा सुनेर अचम्मित र भावुक हुन पुगेको बिहारीलालले उसलाई जीवनमा पहिलोपटक अँगालो हाल्दै भन्यो, ‘तर धेरै नखाऊ असर्फी...धेरैचाहिँ हैन !’

असर्फी बिहारीलालको अँगालोमा रुँदै बोलिरह्यो, ‘छोराको पार्टीले भनेको पनि मान्नैपर्‍यो, उनीहरूले जिते रतनको लास खोस्रिन पाइन्छ भन्छन् । गिरहतले भनेको नाईं भनौँ उठीवास लाग्ला फेरि । मनले फेरि हजुरको मन दुखाउन मान्दैन । म के गरुँ...!’

छोरो सहिद भएको कम्युनिस्ट पार्टी, गिरहतको छोराको प्रजातान्त्रिक पार्टी अनि बिहारीलाल मिश्रको पहिचानवादी पार्टी, सबैले मुसहर बस्तीको पुरानो मान्छे हात पारेको ठाने । तीनवटै पार्टीले प्रचार गन्जी असर्फीको जिउमा खापिदिए । असर्फीलाई गोप्य रूपमा खानपीन गराउने र मुसहर बस्तीमा घुमाउने कामका निम्ति कार्यकर्ता खटाइए ।

असर्फी रक्सी नखान सचेत त थियो, तर जति कोसिस गर्दा पनि तीनवटा पार्टीको रक्सी हप्तामा कम्तीमा पनि तीन–चारपटक त खान बाध्य थियो । प्रत्येक पार्टीले अर्को पार्टीबाट लुकाएर उसलाई मुसहर बस्तीमा घुमाउँथे, ऊ यन्त्रवत् घुम्न बाध्य थियो । रक्सी खानुपरेको दिन झोपडीमा छोरीले थाहा पाउने डरले ऊ बाहिरै सुत्थ्यो, औषधि पनि छुट्थ्यो । कुनै–कुनै दिन त बिहान छोराको पार्टीको, दिनमा गिरहतको पार्टीको अनि साँझ बिहारीलालको पार्टीको रक्सी नखाइनहुने दुर्दशा पनि भोग्नुपर्‍यो । 

तीन हप्तापछि कमला किनारको रतन ढिस्कोमा नाक र मुखबाट रगत बगेको बेहोस अवस्थामा असर्फी बिहान फेला प¥यो । रगतले लछप्पै भिजेका तीन पार्टीका तीनवटै गन्जी फुकालेर छोरीले फालिदिई ।

अस्पतालमा बेहोस सुताइएको असर्फीले एक्कासि आँखा खोल्यो, जब भोटुले अँगालो हालेर चिच्याई, ‘बोल न रतनको बा ! ए मुढा...ए मेरो बयल !’ अन्तिम स्वास संगालेर राखेजस्तै गरी असर्फीले भोटुको कानमा भन्यो, ‘मैले तीनवटै पार्टीको रक्सी खाएँ...नखाई भएन...सबै खाएँ । भोट तीनवटै पार्टीलाई दिनू ।

रतनको...गिरहतको छोराको...बिहारीलालको...!’ लोग्ने बग्रिएको देखेर भोटु खुसीले भन्दै थिई, ‘सबैलाई भोट दिँदा त भोट बिग्रिन्छ नि बुढा !’ तर, त्यति पनि नसुनी विनाछट्पटाहट असर्फी मर्‍यो । यस्तो लाग्थ्यो– मृत्यु उसको जीवनको सबैभन्दा सजिलो अवस्था थियो ।

नयाँ संविधान बनेपछिको पहिलो निर्वाचनको रिपोर्टिङ गर्न छापा र टेलिभिजनका पत्रकारहरू मतदान केन्द्रमा जम्मा भएका थिए । मतदाताको लहरमा सबैभन्दा पहिले उभिएकी थिई भोटु तामाङ । मुसहर बस्तीकी हक्की महिला सबैभन्दा पहिले भोट हाल्न उभिएकाले जनतामा नयाँ संविधानप्रतिको जनताको उत्साह बढेको जीवन्त रिपोर्टिङ गर्दै थिए टेलिभिजन पत्रकारहरू । जब भोटु तामाङ मतदान गरेर निस्की, सञ्चारकर्मीहरूले घेरे ।

‘नयाँ संविधान बनेपछि पहिलोपटक भोट हाल्दा कस्तो अनुभूति भयो तपाईंलाई ?’ प्रश्नको जवाफ नदिई भोटु बाटो लाग्न अघि बढी ।‘मतपत्रमा आफ्नो पार्टीको चिह्न थाहा पाउन समस्या के कस्तो भयो ? अलिकति भन्दिनु न...!’ भोटु टक्क फरक्क फर्किएर बोली, ‘त्यस्तो जाँठ्ठो कुरामा के समस्या पर्नी ? मलाई तीनवटा पार्टीलाई भोट दिनु थियो, तीनवटा चिह्न राम्रोसँग चिनेँ । तीनवटामा छाप लगाएँ !’ यो सुनेर सञ्चारकर्मी गलल हाँसे । भोटु आफ्नो बाटो लागी । ‘जनतामा भोट कसरी हाल्ने चेतनै छैन...अनि कसरी हुन्छ...!’ कुनै गन्यमान्य भलादमी चिन्ता व्यक्त गर्दै थियो ।