साहित्यमा हामी शैलीको कुरालाई निकै महत्व दिन्छौं । भन्छौँ– हरेक लेखकको आफ्नै शैली हुन्छ । आफ्नो हरेक लेखनमार्फत उसले आफ्नो शैली निर्माण गर्न खोजिरहेको हुन्छ । र, शैली निर्माण भइसकेको अवस्थामा लेखक आफ्नो शैलीबाट धेरै विचलित हुन पनि चाहँदैन ।
साहित्यमा हामी भाषा र त्यसको लालित्यको पनि धेरै चर्चा गर्छौं । भन्छौँ– विषयवस्तुको उठान र शैली ठीक छ । तर, भाषामा लालित्य भएन ! तर, साहित्यमा एउटा अर्को पहलु पनि छ, जसको हामी उति चर्चा गर्दैनौँ या भनौँ उति महत्व दिँदैनौँ या महत्व दिनुपर्छ भन्ने ठान्दैनौँ । साहित्यमा जति शैली, भाषा अनि त्यसको लालित्य, विषयवस्तु उठानको अर्थ हुन्छ त्यति नै अर्थ हुन्छ लेखकले लेख्न खोजिरहेको ‘टोन’को । र, यो टोन हरेक लेखकको हकमा मौलिक हुन्छ । आफ्नो टोन पत्ता नलाइसकेका लेखकका लागि भने यो एउटा निरन्तर खोजको विषय हुन्छ ।
रहरै रहरमा सुरु गरेको कान्तिपुर कोसेलीको ‘कफी गफ’ समयक्रममा गएर नारायण वाग्लेको लेखनशैली बन्यो । केही वर्षपछि त्यही शैलीले ‘पल्पसा क्याफे’को आकार लियो । आजको दिनसम्म पनि वाग्ले त्यही शैली पछ्याइरहेका छन् । नपछ्याउन् पनि किन ? ‘कफी गफ’ उनी आफैँले निर्माण गरेको शैली हो । त्यसमा पाठकको रजामन्दी त छँदै छ ।
उसो भए वाग्लेको लेखनको ‘टोन’ के हो त ? स्मरण रहोस्, शैली र टोन कतिपय अवस्थामा उस्तै उस्तै लागे पनि एउटै कुरा भने होइनन् । गम्भीर अर्थ राख्ने कुरालाई पनि अनौपचारिक अन्दाजमा चिया खाँदै बात मारेजस्तो शैलीमा जसरी वाग्ले लेख्छन्, त्यो उनको लेखनको ‘टोन’ हो । पाठकहरूलाई वाग्लेको शैली मात्र मन परेको होइन, उनको टोन पनि उत्तिकै मन परेको हो ।
०००
केही वर्षपहिले जब गायक फत्तेमान राजभण्डारीको देहान्त भयो, त्यसको भोलिपल्ट धेरै पत्रपत्रिकामा गायक फत्तेमानमाथि ‘ओबिच्युरी’ लेखहरू आए । सायद नागरिक दैनिक थियो, त्यसको प्रथम पृष्ठमा फत्तेमानमाथि एउटा ‘ओबिच्युरी’ लेख छापिएको थियो । लेखक थिए बुद्धिसागर । उक्त लेखमार्फत बुद्धिसागरले आफ्ना दिवंगत पिता तथा हिजो मात्र संसार छाडेका फत्तेमानलाई एकैचोटि ‘ट्रिबिउट’ दिए । पढ्दा निकै भावुक बनाउने लेख थियो त्यो ।
बुद्धिसागरको ‘कर्नाली ब्लुज’ आइसकेको वेला थियो त्यो । पुस्तकले चर्चा बटुल्ने क्रम पनि जारी थियो । यसबीच उनको दोस्रो उपन्यास ‘फिरफिरे’ पनि बजारमा आइसकेको छ र हामीले दुवै पुस्तकको विभिन्न तह र कोणबाट चर्चा–परिचर्चा गरिसकेका छौँ । पाठकहरूको मन जित्न सफल उनको लेखनशैलीको पनि यथेष्ट चर्चा भइसकेको छ । बुद्धिसागरका दुवै उपन्यास र उनका हरेकजसो लेखनमा भेटिने एउटा साझा तत्व छ– उनको ‘टोन’, जुन फत्तेमानमाथिको ‘ओबिच्युरी’ लेखमा पनि मजाले पोखिएको थियो– नोस्टाल्जिया !पाठकहरूले बुद्धिसागरको शैली मात्र मन पराएका होइनन्, उनको लेखनको नोस्टाल्जिक टोन पनि उति नै मन पराएका हुन् ।
०००
हामीले साहित्यिक लेखनको ‘टोन’लाई उति महत्वको दृष्टिले नहेरे पनि विश्व साहित्यमा यसको आफ्नै मौलिक महत्ता छ । धेरै लेखकले आफ्नो लेखनको सही टोन निर्माण गर्न वर्षौं खर्च गरेका छन् । अफ्रिकी मूलका लेखक बेन ओक्रीले आफ्नो पुस्तक ‘द फ्यामिस्ड रोड’ को २५औँ वार्षिकी संस्करणमा आफ्नो लेखनको टोनका बारेमा लामै चर्चा गरेका छन् ।
ओक्री लेख्छन्, ‘यस पुस्तकलाई उपयुक्त हुने टोनको खोजीमा मैले करिब एक दशक बिताएँ । त्यस दौरान मैले दुईवटा संग्रहको लागि बेग्लै कथा लेखेँ । साथै, अनगिन्ती कविता पनि लेखेँ । त्यो खोजमा बिताएका वर्षहरू मलाई अझै पनि याद छन् ।’उनी थप्छन्, ‘केही पुस्तक स्वप्न पुस्तकजस्ता हुन्छन् । यो संसारमा ती सपनाको मध्यमबाट आइपुग्छन् । घरमा लामो समयदेखि भएको एउटा पुरानो बोतलबाट अकस्मात ‘जिनी’ निस्किँदा मान्छे जसरी चकित हुन्छ, त्यसरी नै लेखक चकित पर्छन् जब उनीहरू त्यो स्वप्न पुस्तकबारे जानकार हुन्छन् । केही पुस्तकको हकमा टोन नै सबै थोक हुन्छ । टोन नै ‘जिनी’ हुन्छ । कथाको अनेक रूपान्तरण यसकै कारण सम्भव हुन्छ ।’
‘द फ्यामिस्ड रोड’ ले सन् १९९१ को बुकर पुरस्कार जित्दा ओक्री मात्र ३१ वर्षका थिए, बुकर पाउने अहिलेसम्मकै सबैभन्दा कम उमेरका लेखक । त्यसकै ट्रिलोजीका रूपमा उनले दुई अरू पुस्तक लेखे । तर, आफ्नो आख्यानलाई सुहाउने सर्वाधिक उपयुक्त ‘टोन’ उनले ‘द फ्यामिस्ड रोड’ लेख्दा फेला पारे । ‘द फ्रिडम आर्टिस्ट’ सम्म आइपुग्दा पनि ओक्रीको त्यो टोन अझै कायमै छ ।
०००
आफ्नो पहिलो उपन्यास ‘पैताला’को अन्तिम च्याप्टर ‘बाटो खर्च’मा गनेस पौडेलले आफ्नो लेखन यात्राबारे केही चर्चा गरेका छन् । ख्यालख्यालमै उपन्यास लेख्न बसेपछिको आफ्नो लेखन यात्रालाई सुन्दा सरल लाग्ने, तर अलि गहिरो अर्थ राख्ने दुई वाक्यमा गनेस लेख्छन्, ‘गर्भाधारण प्रक्रिया ख्यालख्यालको भए पनि जन्मिने बच्चा ख्यालख्यालको हुँदो रहेनछ । भावातुर यौनक्रीडाजस्तो ख्यालख्यालको हुँदो रहेनछ, सुत्केरी व्यथा ।’
उपन्यास ‘पैताला’ पढिसक्दा भने यो लाग्दैन कि लेखक ख्यालख्यालमै उपन्यास लेख्न बसेका हुन् । समग्र उपन्यासले लेखकको पूर्वतयारीको संकेत दिन्छ । रहस्यमयी र क्रमबद्ध तरिकाले अगाडि बढ्ने कथाले उपन्यासकारको प्रस्तुतिप्रति संकेत गर्छ भने उपन्यासमा प्रयोग गरिएको ‘मल्टिलेयर्ड’ न्यारेसनले लेखकको प्रयोगात्मक चेतप्रति इसारा गर्छ ।
पात्रहरूको अनौठो लाग्ने नाम, कथाको रहस्यमयी अनि ‘सर्रियल’ प्लटका साथै केही हदसम्म कथावाचनको शैली हेर्दा पाठकहरूलाई सायद कुमार नगरकोटीको सम्झना पनि आउँदो हो । यी सतहबाट देखिने सतही समानता हुन् । झट्ट हेर्दा नगरकोटी र गनेस एकै ‘स्कुल’का लाग्न सक्छन् । तर, यथार्थमा नगरकोटी र गनेस दुवै फरक–फरक साहित्यिक स्कुलका विद्यार्थी हुन् । आ–आफ्नो स्कुलमा उनीहरूको आ–आफ्नै स्वामित्व छ । र, फेरि पनि कुरा ‘टोन’कै आउँछ ।
०००
‘मोक्षान्त काठमान्डु फिभर’ देखि ‘ज्ञ’ सम्म आइपुग्दा नगरकोटीको ‘म्याटर अफ फ्याक्ट’ टोन पाठकहरूमाझ परिचित भइसकेको छ । आफ्ना आख्यानहरूमा नगरकोटी भावनात्मक हुन रुचाउँदैनन् । तर, संस्मरण लेखनमा उनी केही भावनात्मक देखिन्छन् । यस हिसाबले साहित्यको विधाअनुसार नगरकोटीका फरक–फरक टोन छन् ।
अखबारी लेखनमा एउटा नाम बनाइसकेर उपन्यास लेखनमा आएका गनेस पौडेलको पनि आफ्नो मौलिक टोन छ जुन उनको फुटकर लेखनदेखि आख्यानसम्म झल्किन्छ । ओक्रीले एक दशक लगाएर आफ्नो टोन पत्ता लगाए, कुनै वैज्ञानिकले आफ्नो प्रयोगशालामा अनेकन् धातु मिसाएर एउटा नयाँ धातु पत्ता लगाएजस्तो ! गनेसको टोनमा भने दुई कुराहरूको मिश्रण देखिन्छ । एउटा ‘ह्युमर’ अनि अर्को दर्शन । साहित्य लेखनमा गनेसको टोन ‘ह्युमर’ र दर्शनको ककटेल हो । यो उनको मौलिक पेय हो ।
केही पुस्तकको हकमा टोन नै सबै थोक हुन्छ, टोन नै ‘जिनी’ हुन्छ, कथाको अनेक रूपान्तरण यसकै कारण सम्भव हुन्छ
आफ्नो पहिलो उपन्यास ‘पैताला’मा गनेस शैली र टोनमा मात्र सीमित छैनन् । उनी एक कदम अगाडि बढेका छन् । न्यारेसनमा उनले जुन किसिमको प्रयोग गरेका छन् त्यो बिल्कुलै नयाँ छ । यस प्रकारको ‘मल्टिलेयर्ड’ न्यारेसन नेपाली साहित्यमा सम्भवतः यसघिसम्म प्रयोग भएको छैन । विभिन्न तहबाट कथा भनिएको छ । कथाभित्रबाट पनि कथा भनिएको छ । र, कथाबाहिरबाट पनि कथा भनिएको छ ।
उपन्यास पढ्ने क्रममा एक किसिमको ‘थ्रि–डी’ अनुभव हुन्छ । यस अर्थमा कि पाठक आफ्नो पठन यात्रामा कथाको जुन भागसम्म पुगेका छन्, लेखकले पाठकलाई यस्तो भान दिन्छन् कि त्यसभन्दा अघिको बारेमा त उनले सोचेकै छैनन् ।
लेखकले बाँकी कथाको बारेमा सोचेकै छैनन् भने त त्यो पाठकको लागि निश्चय पनि अप्ठ्यारोको विषय हुने नै भयो ! र, कुनै समय यस्तो लाग्छ कि लेखकले हतार हतार ‘इम्प्रोभाइज’ गरेर लेख्दै छन् अनि पाठकहरू सँगसँगै त्यो पढ्दै छन् ! लेखकले लेख्ने काम सकिसकेपछि पाठकको हातमा पुस्तक परुन्जेलको जुन समय हुन्छ, त्यो कतै गायब भएजस्तो लाग्छ । यस्तो लाग्छ, पाठकको आँखा अगाडि, यही अहिलेको वर्तमान घडीमा गनेस उपन्यासको कथा लेखिरहेछन् ! साथसाथै कसैबाट कथा न्यारेट गराइरहेछन् !
०००
कथावाचनको माध्यमबाट कथाले तपाईंको दिमागमा प्रवेश गर्छ र तपाईंको मस्तिष्कसँग खेल्न थाल्छ । स्त्रीका नाम गरेकी पात्र, जो उपन्यासको मूल न्यारेटर पनि हो, बाट सुरु भएको उपन्यासको कथन पछि गएर एउटा यस्तो मोडमा पुग्छ जहाँबाट को लेखक, को पात्र, को न्यारेटर भन्ने कुरामै पाठक केही अन्योलमा हुन्छन् । र, एउटा समय यस्तो पनि आउँछ जब तपाईं हरेक च्याप्टरपिच्छे रोकिनुहुन्छ र मनमनै कथाको प्लट फेरि याद गर्नुहुन्छ !
तपाईंलाई चिन्ता हुन्छ– कतै कथा मभन्दा अगाडि नजाओस् । म कथाभन्दा कतै पछाडि नछोडिऊँ ! पुस्तक पढ्दै गर्दा तपाईंलाई एक किसिमको चुनौती महसुस हुन्छ । पाठकको सम्झना र कल्पना गर्ने शक्ति दुवैको लेखकले परीक्षा गर्छन् । प्रायः पुस्तकको हकमा पाठकले लेखकको जाँच पडताल गरिरहेका हुन्छन् । ‘पैताला’मा भने गनेसले पाठकको नियमित जाँच पडताल गर्छन् । बाटो बिराएर पाठक अलमलिन थालेपछि गनेस फिस्स हाँस्छन् र सही बाटो जाने दिशातिर इसारा गर्छन् । र, आफू त्यहीँबाट कतै अलप हुन्छन् ! एक हिसाबले लेखक पाठकहरूसँग निरन्तर संवादमा हुन्छन्, अन्त्यसम्मै । कहिले देखिएर, उपन्यासकै पात्रजस्तो भएर त कहिले पर्दापछाडि, अदृश्य भएर ।
न्यारेसन टेक्निकको हिसाबले ‘पैताला’ एउटा बिल्कुलै अलग अनुभव हो । हामीले प्रायः चर्चा गर्ने लेखन शैली, टोन, विषयवस्तुभन्दा एक कदम अगाडि बढेर लेखकले न्यारेसनलाई मुख्य औजार बनाएका छन् । र, प्रमाणित गरेर पनि देखाएका छन् कि न्यारेसन टेक्निकमा अलिकति पनि खेल्ने, फरक अभ्यास गर्ने हो भने त्यसले समग्र पुस्तकको ‘आउटलुक’ मै फरक पार्न सक्छ ।
०००
लेखकलाई अक्सर आरोप लाग्ने गर्छः
– एकै ढर्राका कथा, उपन्यास लेखिए
– आख्यानमा कुनै नवीनता भएन
– लेखकहरू ‘प्रयोग’ गर्नबाट डराए
– लेखकहरू आफ्नो ‘कम्फर्ट जोन’भन्दा बाहिर निस्कन चाँहदैनन्
– जोखिम मोल्न चाहँदैनन्– आदि इत्यादि ।
हाम्रो साहित्यिक समाज तथा हामी पाठकहरू लेखकलाई नवीन प्रयास गर्न प्रोत्साहित त गर्छौं, तर कुनै लेखकले जोखिम मोलेर चलिआएको ‘टेम्प्लेट’भन्दा बाहिर गएर लेख्यो भने त्यसको अनुमोदन गर्नबाट भने तत्काल हिचकिचाउँछौँ । लेखकको ‘प्रयोग’लाई सजिलै ग्रहण गर्नबाट खुट्टा कमाउँछौँ । हामी सजिलै दोहोरो चरित्र देखाउँछौँ !
‘उलार’ र ‘लू’ बजारमा आइसकेपीछ एउटा धारणा बन्यो कि नयनराज पाण्डेले तराईकै विषयमा लेख्नुपर्छ । त्यो बढी आधिकारिक हुन्छ । यो लेखक पाण्डेले आफ्ना बारेमा बनाएको धारणा होइन । हामीले उनको लागि बनाइदिएको धारणा हो । र, जब उनले त्यसपछिको उपन्यास ‘घामकिरी’मा केही नौलो प्रयोग गरे, कल्पनाको बेजोड उडान भरे, साहित्यिक समाजको एउटा तप्काले भन्यो– अलि कल्पना धेरै भयो । मधेसकै बारेमा लेखेको भए हुन्थ्यो बरु ! यस्तो लाग्छ, यथास्थितिवाद हाम्रो समग्र समाजको तह–तहमा लुकिबसेको छ । अलिकति कोट्याउन मात्र पर्छ, आफ्नो चरित्र देखाउन सुरु गरिहाल्छ !
गनेस पौडेलको ‘पैताला’को हकमा भने मलाई लाग्छ, हामी सतहमै अल्झियौँ । अनौठा पात्र, अपत्यारिलो लाग्ने कथा र प्रमुख पात्र जोस्मणिको खोज–यात्रामै कतै अलमलियौँ । क्रमशः पाठकको दिमागसँग खेल्ने ‘न्यारेसन टेक्निक’को गहिराइमा पस्न सकेनौँ । कथा ‘भित्र’ र ’बाहिर’को प्रस्तुतिलाई सोही रूपमा ग्रहण गर्न सकेनौँ । या भनौँ ग्रहण गर्ने क्षमता राख्न सकेनौँ ।
या हुनसक्छ लेखकको ‘टेक्निक’ हामीलाई ‘टु टेक्निकल’ लाग्यो ! सायद हामीले सोचेजति हामी प्रविधिमैत्री पो छैनौँ कि ?यस्तो लाग्छ, गनेस पौडेलको ‘पैताला’को डोब कतै हिमालको कुनै कुनामा पुरिइबसेको छ । हिउँ जमेको छ । खसी पनि रहेको छ हिउँ । पैतालालाई सायद सन्देह छ, कतै डोब हिउँले पुरिएर मेटिई पो सक्यो कि ! डोब पुरिएको जरुर छ, तर मेटिएको भने छैन । र, जसै पाठकीय नजरको घाम डाँडामा फेरि देखापर्छ, हिउँ पग्लनेछ र पैतालाको डोब एकचोटि फेरि देखिनेछ । सायद पहिलेभन्दा अरू गाढा । अरू प्रष्ट ।
हिउँ पग्लिसकेको खण्डमा, सायद पैतालाले भविष्यमा अरू नयाँ डोबहरू पनि त बनाउनेछ । र, जमिनको स्पर्शसँगै एउटा नयाँ संवाद सुरु हुनेछ । यसै पनि लेखकले पुस्तकको पहिलो पृष्ठमा लेखेका छन्, ‘पैताला र जमिनको आदिम संवाद नै मान्छेको पहिलो कथा हो ।’