नेपाली साहित्यमा परिचित नाम हो– मातृका पोखरेल । उनी मूलतः कथा, कवितामार्फत समाजका विकृति उजागर गर्छन् । उनका कविता संग्रहहरू ‘सेतो दरबारको छेउबाट’ (२०५७), ‘यात्राको एउटा दृश्य’ (२०६०), ‘अनुहारहरू’ (२०६४) र ‘मित्रताको आकाश’ (२०७६) प्रकाशित छन् । कथा संग्रहहरू ‘सन्त्रस्त आँखाहरू’ (२०६१) र ‘घाम झुल्कनुअघि’ प्रकाशित छन् ।
अँध्यारो रातपछि पक्कै उज्यालो हुन्छ भन्ने क्रान्ति चेतनाका बिगुल कवितामार्फत पोखिएका छन्, मातृका । तर, यस्ता प्रश्न अझै कतिन्जेल तेस्र्याउनुपर्ने हो कविहरूले ? कहिले बन्द होला जनतालाई रैती बनाउने होडबाजी ?
अझै योभन्दा जोडदार बिगुल फुक्नुपर्ने समयको प्रतीक्षामा उनका कविताले सन्देश प्रवाहित गर्छन् । ‘मित्रताको आकाश’ कविता संग्रहसम्म आइपुग्दा उनका कविता अझै बेजोड बनेका छन् । कविता पढ्दा लाग्छ, उनलाई वामपन्थी कित्ताबाट झिकिदिए हुन्छ । उनले आफ्नै पार्टीका साथीविरुद्ध कवितामार्फत विद्रोह बोलेका छन् ।
उनका कविताले समाजका सबै दर्शन बोकेका छन् । अझ भन्नै पर्दा मान्छेलाई मान्छे भएर बाँच्ने कला सिकाएका छन् । त्यसैले उनी निर्भीकतासाथ कविता लेख्दै बाटो बिराएका र बाटो बिराउन खोज्ने सबैलाई सजग गराइरहेका छन् । मातृका निडर र निर्भीक कवि हुन् । कोही रिसाउला भन्ने दोधारबाट मुक्त छन् उनका कविताहरू ।
‘मित्रताको आकाश’भित्र मझौला आकारका छब्बीस कविताहरू छन् । वर्तमान समयले निम्त्याएका विकृतिहरूलाई कलात्मक रूपमा पस्केका छन्, मातृकाले । कवितामार्फत जनताका आवाज पोखिरहेका छन् । वर्तमान समयका कारुणिक चित्कार छन् उनका कवितामा । नेपाली राजनीतिले निम्त्याएका विकृतिहरूको
बारेमा समाधान खोजिरहेका छन् ।
एउटा मित्रले गर्नुपर्ने व्यवहार कस्तो हुनुपर्छ र कस्तो गरिरहेका छन् भन्ने बुझ्न उनका ‘दिल्लीका मच्छडहरू’ कविता पढेपछि स्पष्ट हुन्छ । मातृका पोखरेल कविता लेखनमा सचेततापूर्वक लागेका कवि हुन् भन्ने यथार्थ यो कविता–किताब पढेपछि थाहा लाग्छ ।