• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
विमल भौकाजी काठमाडाैं
२०७६ असोज ४ शनिबार ०७:५६:००
सम्झना

गणेशमानको लौरो

गणेशमान स्मृति

२०७६ असोज ४ शनिबार ०७:५६:००
विमल भौकाजी काठमाडाैं

३० र ४० को दशकबीचको त्यो समय ! यस्तो फरक तस्बिर थिएन काठमाडौंको । काठमाडौंको अवस्थालाई आज आएर यसरी कथा हाल्नुपर्ला भनेर त्यसवेला कल्पनासम्म पनि गरिएको थिएन ।

यस्तो कहालीलाग्दो भिडभाड कहाँ थियो र काठमाडौंमा ? त्यतिवेलै सबैभन्दा व्यस्त भनेको रत्नपार्कमै पनि मान्छेको पातलो जमघट वा ओहोरदोहोर देखिन्थ्यो । यतिसम्म कि त्यो समयमा त्यहीँ नजिकै टुँडिखेलमा कुनै आमसभा भएको मलाई सम्झना छैन । त्यसबाहेक जुलुस हेर्नसमेत राजारानीको जन्मोत्सव वा कुनै राष्ट्रिय दिवस पर्व नै पर्खनुपथ्र्यो ।

आज, त्यही रत्नपार्कमा कुनै पनि साँझको समय पाइला राख्ने ठाउँ खाली देखिन्न त्यहाँ । खास गरेर विकृतपूर्ण देहव्यापारको एउटा ‘केन्द्रस्थल’ नै बनेको छ रत्नपार्क अहिले । यहाँका, नारी स्वतन्त्रताका कथित पक्षधरले कति जुलुस–सभामा रत्नपार्कलाई दिनहुँ कैयौँपटक फन्का मार्छन्, उनीहरू कहाँ मुम्बई या खाडी मुलुकको नेपाली नारीपीडाको बखान गरेर थाक्दैनन्, तर खोइ त्यही रत्पार्कको ‘विसंगति’माथि चुइँक्क बोलेको सुनिन्न । कस्तो समय त्यो, आज यस्तो भएको छ । 

जमलको त्यो घर रत्पार्कबाट रानीपोखरीलाई दाहिने पारेर सीधै अघि बढ्दै राष्ट्रिय नाचघर पुगेपछि कान्तिपथको पहिलो गल्लीको सम्झना मेरो मस्तिष्कमा अहिले पनि ताजै छ । त्यो गल्ली पस्नुअगावै बाहिरी सडकमै प्रायः साँझपख देखिन्थे एक व्यक्ति ।

पछाडिपट्टि दुवै हातले एउटा छाता सधैँ च्यापेका हुन्थे उनले । सम्भवतः मेरो राजनीतिक चेतले त्यसबखत त्यो अनुहारको ओज बुझ्ने क्षमता निर्माण गरिसकेको थिएन । त्यसैले त त्यो अनुहारले मेरा आँखामा ‘किसुनजी’को परिचय प्रस्ट्याउन सकेको थिएन । पछि मात्रै, जमलको त्यो गल्लीभित्र पसेर पुगिने अन्तिम रातो घरमा उहाँको उपस्थितिले मलाई त्यो परिचय बुझायो ।

त्यही घरमा हुन्थ्यो, नेपाली कांग्रेसका नेताहरूको जमघट । राजनीतिनिरपेक्ष किशोर म त्यतिखेरको, कसो–कसो खोइ कुन आकर्षणले मेरा पाइला पनि त्यसतर्पm डोरिन्थे ! आज सम्झिल्याउँदा आफैसँग अचम्मित हुन्छु । प्रतिबन्धित अवस्थामा थिए राजनीतिक पार्टीहरू । र, मलाई यतिसम्म चाहिँ थाहा भएकै हुनुपर्छ– त्यो रातो घर नेपाली कांग्रेसको अघोषित पार्टी कार्यालय थियो ।

दरबार हाई स्कुलको दिनभरको पढाइ सकेर यदाकदा म त्यो घरमा पुग्ने गर्थेँ । फेरि पनि भन्छु– खोइ, के आकर्षण थियो कुन्नि त्यहाँ ?घरको तल्लो तलामा चिया पकाउने एउटा क्यान्टिनजस्तो थियो कि जस्तो लाग्छ । माथिल्लो तलामा बडे नेताहरू जम्मा भइसकेपछि क्यान्टिनबाट चिया लगेर बाँडिन्थ्यो । 

निकैबेर बस्नुहुन्थ्यो कोठाभित्र नेताहरू– मूलतः किसुनजी, गिरिजाबाबू र गणेशमान सिंह । त्यहाँभित्र के–के कुरा हुन्थे ? मेरो लागि कुनै चासोको विषय रहन्नथ्यो । 
प्रत्येक दिनको मिटिङपश्चात् कहिलेकाहीँ अचानक माथिल्लो तला कौसीमा गणेशमान सिंह चढ्नुहुन्थ्यो । र, त्यही अवसरमा म पनि त्यहाँ पुग्ने गर्थेँ कहिलेकाहीँ । 

बडो रमाइलो लाग्थ्यो गणेशमानजीको कुरा । एक प्रकारको भाषण नै भनौँ । प्रायः उहाँले बोल्ने गरेको एउटा वाक्य मलाई आज पनि उत्तिकै सम्झना छ । उहाँ भन्ने गर्नुहुन्थ्यो– ‘यो पञ्चायतले धकेल्दा–धकेल्दा हामीलाई भित्तामै पु-याइसक्यो ।...’ अनि सुनेर बसिरहने सबैतर्फ  मुखरित भएर सोध्नुहुन्थ्यो– ‘के अझैँ  पनि हामीले यसरी नै सहेर बसिरहने ?’

गणेशमानको बोली सँगसँगै उहाँको ‘लट्ठी’ बढी प्रभावकारी देखिँदै आयो । निर्वाचनको प्रसंगमा भन्न थालियो– ‘काठमाडौंमा गणेशमानले लौरो उठाए पनि जित्छ ।’

राजनीतिक भाषा नबुझ्ने म स्वयंलाई पनि उहाँका कुरा सुनेर आङ जिरिंग हुन्थ्यो । किनकि यति त मलाई पनि थाहा यियो कि प्रतिबन्धित अवस्थामा शासनसत्ताको विपक्षमा बोल्नु भनेको विद्रोही हुनु हो । एकदलीय पञ्चायती व्यवस्थामा कुनै पनि प्रकारको सामान्य ‘विद्रोह’ बोल्नेसमेतको छुट कसैलाई थिएन । डर त्यो मात्र थिएन, गणेशमानको त्यस प्रकारको विद्रोही भाषा सुन्नेलाई समेत डर थियो– कतै पञ्चायतका सुराकीले त्यहाँको वातावरण थाहा नपाऊन् र सबैलाई झ्यापझुप नपारून् !

गणेशमानको लौरो
त्यो समयमा गणेशमान सिंहले लट्ठी टेक्नुहुन्थ्यो कि हुन्थेन, मलाई यकिन थाहा छैन । त्यतिखेर, उहाँको व्यक्तित्वप्रति मेरो ख्याल नरहेर पनि मलाई अहिले याद नभएको हुन सक्छ । सम्भवतः म त केवल उहाँको ‘कडा बोली’सँग सम्मोहित थिएँ । 

तर, कालान्तरमा संयोगले उहाँको बोली सँगसँगै उहाँको ‘लट्ठी’ बढी प्रभावकारी देखिँदै आयो । निर्वाचनको प्रसंगमा भन्न थालियो– ‘काठमाडौंमा गणेशमानले लौरो उठाए पनि जित्छ ।’ साँच्चै, भयो पनि त्यस्तै । नगरपञ्चायतको निर्वाचनमा प्रतिबन्धित नेपाली कांग्रेसले ‘गणेशमानको लौरो’को नाममै काठमाडौं नगरपञ्चायतको प्रमुखमा हरिबोल भट्टराई र उपप्रमुखमा तीर्थराम डंगोललाई उम्मेदवार बनायो र दुवैले त्यो निर्वाचनमा विजय हासिल पनि गरे ।

उनै गणेशमान ! नेपाली कांग्रेस पार्टी र वामपन्थी पार्टीहरूको सहकार्यमा ०४६ सालको पञ्चायतविरुद्ध ‘वार कि पार’को आन्दोलनमा ‘कमान्डर’ बन्नुभयो । निकै छोटो समयमै त्यो आन्दोलनले आफ्नो रङ देखायो र यहाँ एकदलीय पञ्चायत हटेर बहुदलीय व्यवस्थाको स्थापना भयो ।

तर, समयको उल्टो लहर ! आफ्नै सबैभन्दा नजीकका सहकर्मी बिपी कोइरालाका साथ निर्माण गरेर त्यति धेरै उमेर समर्पण गरेको नेपाली कांग्रेस पार्टीलाई गणेशमानले अचानक परित्याग गर्नुभयो । त्यसो गरिनुमा पार्टीको कार्ययोजना र पार्टी नेतृत्वको मनपरीतन्त्रसँग उहाँको असन्तुष्टि थियो भन्नेमा वेलाबखत उहाँद्वारा व्यक्त भनाइबाटै पुष्टि हुन्छ । त्यसो त, सबैभन्दा पछि सम्भवतः ‘महाकाली सन्धि’ नै उहाँको पार्टी–परित्यागको सबैभन्दा ठूलो कारण बन्यो ।

उहाँको रगतमै थियो, देशलाई आघात हुने विषय उठान हुनासाथ उहाँ नै सबैभन्दा पहिले त्यसविरुद्ध ‘जेहाद’ छेड्नुहुन्थ्यो । ‘देशको हितमा यो छैन है’ भन्नासाथ उहाँको देशभक्ति त्यसै–त्यसै जागिहाल्थ्यो । यतिसम्म कि विसं. २००४ सालमा राष्ट्रिय कांग्रेस र प्रजातान्त्रिक कांग्रेस एकीकरणको विषयलाई अस्वीकार गर्नुभएकोे थियो । कारण थियो– सुवर्णशमशेर । उनी राणा परिवारका थिए ।

गणेशमान राणाका साखा–सन्तानकै घोर विरोधी हुनुहुन्थ्यो । उहाँले बिपीलाई त्यो पार्टी एकीकरणको समयमा भन्नुभएको थियो– ‘राणाहरू देशभक्त होइनन् । जसले हामी नागरिकलाई आफ्नो देशमा बस्न नहुने बनाएका छन्, तिनीहरूसँग मिल्नै हुँदैन ।’ यसको कथा अर्कै छ, बिपीले अनेक तवरले अन्ततः सुवर्णशमशेरको पार्टीसँग आफ्नो पार्टी एकीकरण गराएर नेपालमा क्रान्ति गर्न गणेशमानलाई राजी बनाउनुभएको थियो ।
०००

स्मरणीय छ, ०४६ को सफल जनआन्दोलनपश्चात् बहुदलीय व्यवस्थाको अन्तरिम सरकारमा आग्रह गरिएको प्रधानमन्त्रीको पद अस्वीकार गरेर गणेशमानले सम्भवतः विश्वमै एउटा महान् त्यागको उदाहरण दिनुभएको थियो । सत्ताको लुछाचुँडी भइरहेको वर्तमान समयमा उहाँको त्यस्तो त्यागको कुरा सुन्दा मात्रै पनि कुनै कथा पढेजस्तो लाग्छ ।

अन्तमा, महाकाली सन्धि सन्दर्भित, उनै गणेशमान सिंहको देशभक्तिलाई केन्द्रमा राखेर तत्कालीन समयमा मैले रचना गरेको ‘लौरो’ शीर्षकको एउटा कविताका केही लाइन यहाँ प्रस्तुत गर्ने अनुमति चाहन्छु :

मान्छेहरू
त्यही लौरो लिन्थे
खोला तर्थे
र, लौरोलाई बिर्सन्थे,
लौरो !
चुपचाप...
खोलाको छेउछाउ 
हेरिरहन्थ्यो
नियालिरहन्थ्यो ।