• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
खगेन्द्र संग्रौला
२०७६ असोज ४ शनिबार ०८:३४:००
समाज

प्रातः लमक्मा परोपकारी

मर्निङ वाकमाला

२०७६ असोज ४ शनिबार ०८:३४:००
खगेन्द्र संग्रौला

मानव मनोवृत्ति लोभ र स्वार्थले टनाटन नै किन नहोस्, समाजका अन्तरकुन्तरमा परोपकारको बिउ त बाँकी रहन्छ नै । प्रातः लमक् उर्फ मर्निङवाकमा पनि त्यो गोचर भयो । यस्ता मनुवामा गोचर भयो त्यो कि सम्झेर ल्याउँदा हुरुक्क हुने गरी हाँस उठ्छ । मिरमिरे बिहानीको वेला थियो । फिर्ती वाक्मा गुह्येश्वरीबाट गौरीघाटतिर लम्किँदै थिएँ म । मेरा आँखा झ्वास्स एक भूतपूर्व जंगी जीवमा परे । हुनलाई उनी मेरै गृहनगरीका बासिन्दा हुन्, घरचाहिँ मलाई ठ्याक्कै थाहा छैन ।

उनी परे राजतन्त्रको घरेलु नोकरतुल्य शाही सेनाका हिजोका जमदार । मैले भेट्दा उनी सेवा निवृत्त भई पूर्णकालिक फुर्सदिला थिए । अन्दाजले उमेर त्यस्तै साठी, बाह्रैमास हँसीखुसी सुन्नाराम । अह्ररो, चाम्रो र उच्चाटलाग्दो टिम्मुरे अनुहार । त्यो अनुहार एकाबिहानै देखे देख्ने मनुवाको दिनै पो बिग्रिएला कि भनी डर लाग्ने ! 

चाबेल, गणेशथान समिपको तरकारी बजारछेउमा एउटा चिया पसल थियो, ऊवेला । हँसिला दार्जिलिङे ‘भाले–पोथी’को मायालु चिया पसल । चिया पसलको एक छेउमा थियो कुन्साङ भाइको घडी मर्मत गर्ने टेबुल । उनै प्रिय कुन्साङ भाइको, जसको संगीतमय नाम सापटी लिएर संकटकालमा म कुन्साङ काका कहलिएँ ।

त्यस बखत त्यो चिया पसल मेरो घरपछिको दोस्रो घरजस्तो थियो । फुर्सद भयो कि म त्यहाँ पुगिहाल्ने । प्रातः लमक््बाट फर्किँदा त्यहीँ मेरो प्रातः कालीन चियापान सम्पन्न हुने । दिउँसो ल्यापटप बिसाएर अलिबेर यसो थकाइ मार्ने निहुँमा त्यहीँ मेरो मध्यकालीन चियापान जम्ने । र, सायंकालमा त्यहीँ मेरो चियापान समापन हुने । दिउँसो र बेलुका रात्रिमुहारी भूपू जमदार प्रायः त्यहीँ भेट हुन्थे । अक्सर उनको साथमा हुन्थे उही शाहीपथका एक भूतपूर्व मेजरसाप् । किञ्चित् भद्र र विनम्र । हल्का हँसमुख एवं मितभाषी मेजरसाप् । 

समय अप्रिय थियो । र, जनजीवन थियो निकै नै कष्टकर । राजा वीरेन्द्रको परिवार एकमुष्ट खरानी भयो । र, रक्तरञ्जित खरानीमाथिको कलंकित सिंहासनमा अपुताली राजा ज्ञानेन्द्र हत्तपत्त विराजमान भए । तृषित तालुमा आलु फलेका ज्ञानेन्द्रको नरम शासनकाल थियो त्यो । उता ज्ञानेन्द्र सिंहासनमा उक्लिए, यता भूपू शाही जमदारका  भुइँमा खुट्टा हुन छाडे । मानौँ राजा भएका ज्ञानेन्द्र होइन, यी जमदार स्वयं हुन् ।

शाही गुलामीको पाठशालामा दीक्षित र संस्कारित जमदार साना कुरा गर्दैनन् । नरम बोली बोल्दैनन् । यिनका ओठ खुले कि स्वरको पारो हुत्त चढिहाल्यो । ‘डाँकाहरू !’ दाह्रा किट्दै दलका नेताहरूलाई यी सराप्छन्, ‘यिनलाई टुँडिखेलमा लाम लगाएर भकाभक गिँड्नुपर्ने ।’ अनि आफ्नो कुत्सित गर्जनबाट आफैँ आनन्दित हुँदै यी थप्छन्, ‘यी जम्मै देशद्रोही हुन्, यी जम्मै विदेशी दलाल !’ म केही बोलूँ, राजभक्तले हातपातै पो गर्लान् कि भन्ने डर छ । म मुख नखोलूँ, खपिसक्नु छैन । ‘वीरेन्द्र सोझा थिए, ज्ञानेन्द्र चलाख छन्,’ जमदार रुद्रघण्टी हल्लाउँदै उद्घोष गर्छन्, ‘वीरेन्द्र काँतर थिए, ज्ञानेन्द्रले ठोक्छन् ।’ 

डरडर मान्दै म सविनय निवेदन गर्छु, ‘जमाना लोकतन्त्रको छ । यो भुइँफुट्टा व्यक्तितन्त्र टिक्ला र जमदार सर ?’ सनक्क सन्किँदै जमदार गर्जिन्छन्, ‘कल्ले भन्यो टिक्दैन भनेर ? आकाशमा चन्द्र–सूर्य रहुन्जेल...’ भूपू मेजरसाप् सम्झाउँछन्, ‘तैँले सानो स्वरमा बोले हुन्न ? हँ ! तैँले अलिकता सोमत देखाए हुन्न ?’ बडे साप्को आदेश मुखेन्जी छोटे जमदारको तामसी बक् बन्द हुन्छ । र, अहंकारी हुंकारीको समिपबाट म घरतिर लाग्छु । 

ज्ञानेन्द्रको हैकम नरमबाट गरममा फेरिन्छ । नेताजति घरघरै थुनामा, जता सुन्यो दुरुम–दुरुम सैनिक बुट, सडक–सडकमा ट्यांक तैनाथ, अखबारको सम्पादकीय टेबुलमा मिसिनगन हाजिर । यो हो ज्ञानेन्द्रीय शासनको एक झाँकी । बस्, सर्वत्र आतंक छाउँछ । अनि यता चिया पसलमा ? यताको कुरा झनै गरिनसक्नु छ । रात्रिमुहारी भूपू जमदार झनै उन्मत्त भएका छन् ।

देवतुल्य मौसुफ ज्ञानेन्द्रको उत्पात महिमा मण्डन, दानवतुल्य बन्दी नेताहरूको असीम निन्दा । जमदारको मुख एक पल पनि बन्द हुँदैन । मलाई देखेपछि त झन् के भन्नु ! हुँदाहुँदा उनको नजिक पर्न पनि मलाई डरडर लाग्छ । प्रतिवादका कुरै नगरूँ ।  शाही पञ्चायतमा खुफिया कर्मबारे एउटा छाँटको किस्सा प्रचलित थियो । भनिन्थ्यो— खुफियाले दैनिक रिपोर्टमा विरोधी तत्वको एउटा न एउटा कसुर फेला पार्नै पथ्र्यो ।

कसुर फेला नपर्दा ऊ भन्थ्यो रे– ‘उपरवाले सर, फलानो अराष्ट्रिय तत्वले ‘श्री ५ माहाराजधिराज’ भन्दा यस्सो मुख बिगा-यो । यहाँ दालमा कुछ कालो अवश्य छ, सर !’ भूपू जमदारको रौद्र रूपसामु भयभीत मुद्रामा म गम खान्छु— यस छुसीले माथि त्यस्तै रिपोर्ट दिन के बेर ! निरंकुश सत्ताको गुप्त स्रेस्ताको शत्रु–महलमा मेरो नाम दर्ज त भएकै होला । तसर्थ भाइ, योसँग चुइँक्कधरी नबोल्नुमा कल्याण छ । र, यसको छेउ नपर्नुमा बुद्धिमत्ता छ । आखिर चर्मरक्षा त गर्नै प¥यो । बस्, जण्ड जमदारलाई चिया पसलमा देख्यो कि म टाढैबाट टाप कस्न थालेँ ।
०००
रहँदा बस्दा हिजोको आजै गजप भयो । ज्ञानेन्द्र महाराजको मति र कृत्यबाटै रुग्ण राजतन्त्र झटपट चिलिम भयो । हो, अंशतः यो सत्य हो । मौसुफको दुर्दम प्रलोभन, निजको असीम दम्भ र निजको अथाह दमनले राजतन्त्रको अवसानमा निकै सघाउ पु-यायो । र, पीडित लोकले मौन भाषामा गुन गायो— सनकसिं ज्ञानेन्द्र सरकार धन्य हुन् ! लोकमा जे भो, ठीक भो ।

हेर्दाहेर्दै रक्तरञ्जित एवं कलंकित सिंहासन गल्र्याम्म ढल्यो । र, इतिहासको एउटा कष्टकर अध्याय तुरियो । म पुनः चिया पसलमा प्रकट भएँ । र, चिया पसलबाट जमदारसाप् अलप भए । ती कहाँ गए हुनन् ? मलाई कसोकसो तिनको न्यास्रो लाग्यो । दुर्मति दुष्ट नै किन नहोस्, नित्य देखिइरहेको जीवात् हठात् देखिन छाड्दा चित्तको कुनाकानीमा रिक्तताबोध हुँदो रहेछ । तिनलाई चिन्ने–जान्नेलाई सोधेँ— हैन, जमदार के भए ? ती किन, कहाँ अन्तध्र्यान भए ? थाहा पाउने कोही निस्केन । न ती मरे भन्ने सुनियो, न तिनको जिउँदो रूप देखियो । मेरा लागि यी क्रोधी जमदारको अस्तित्व एक पहेली बन्यो । 
०००
एक बिहान प्रातः लमक्बाट म साबिकझैँ  फटाफट घर फर्किँदै थिएँ । नहेरूँ भन्दाभन्दै मेरा नजर झ्वास्स एउटा जीवमाथि परिहाले । अरे, यी जीव उनै पो हुन् कि ! दृश्यबाट अलप भएका उनै झोडी भूपू जमदार ? ध्यानदृष्टिले ठम्याउन खोज्दा नभन्दै ती उनै रहेछन् । कुमबाट कपडाको हेमानको झोला झुन्डिएको छ । झोला टन्न छ ।

कठोर जमदार उदार दिलले बाँदरहरूलाई हातहातै बिस्कुट बाँडिरहेका छन् । भोका बाँदर बिस्कुट हात पार्न जोरजुलुमका साथ तँछाडमछाड गर्दा छन् । मातृतुल्य लबजमा जमदार सम्झाउँछन्– ‘हेर, तिमीहरू हानथाप नगर । पुगेसम्म सप्पैको पालो आउँछ ।’ वाकको वेगमा कतै एक मुहूर्तधरी स्थिर नहुने म करुणामय जमदारवाणी सुन्दै टक्क अडिन्छु । जमदार लुते बाँदरहरूको घेरामा छन् । लुते बाँदरहरू लुब्ध दृष्टिले हेर्दै उनका पिँडुला वरिपरि झुम्मिएका छन् । कुनै लुगामा लेपिएका छन् । कुनै पछिल्ला खुट्टा टेकेर हात थाप्दै उभिएका छन् । 

आँखासामु जे देखेँ, त्यो पत्याउन मलाई हुनुसम्म गाह्रो प-यो । हैन, यी उपकारी उनै मैमत्त जीव हुन् ? उनै उद्दण्ड शाही गुलाम ? उनै दम्भी, असहिष्णु एवं भयकारी मानव ? मैले आँखा मिचेर हेरेँ । हो, यी मानव खसोखास उनै हुन् । मैले गडेर गम खाएँ— विष्णुऔतारी ख्वामित् जब गद्दीच्यूत भए, यिनको मन रित्तो भयो र यिनको जीवनमा अन्धकार व्याप्त भयो । त्यो कष्टकर क्षणमा सायद यिनलाई वैराग्यले ग्रास ग-यो ।

भूपू जमदारको ध्यान खिच्ने मनसुवाले मैले ख्वाक्क खोकेँ । प्रत्युत्तरमा उनले मलाई पुलुक्क हेरे । हैट्, उनका आँखा ! वनको उन्मत्त भदौरे भाले अर्नाका जस्ता ! उनले दागा धर्ने आँखाले मलाई यसरी हेरे, मानौँ उनको राजालाई गद्दीच्यूत गर्ने मै हुँ ।

आस्थाको सिंहासन ढलेपछि जगत्मा यिनको आहत चित्त टेकाउने ठाउँँ कतै रहेन । र, सायद सन्तापले जलेको चित्त किञ्चित् शान्त पार्न यी मनुवा उपकार मार्गमा प्रवृत्त भए । उपकार पनि अरू कोही वा केहीको होइन, वनकालीका दुर्भिक्षग्रस्त बाँदरहरूको । ठीकै हो— मैले थप गम खाएँ— जीवन जिउनलाई केही न केही आस्था त अवश्य चाहिन्छ । आस्था आशाको बिउ हो ।

आस्थाशून्य हुनुको अर्थ आशाशून्य हुनु हो । र, आशाशून्यता चरम् निराशा, भय र सम्भावित आत्महत्याको द्योतक हो । जमदारको नूतन अभिनय हेर्दै गर्दा मेरो अन्तरमा मुस्कानको हल्का तरंग उठ्यो— बरा जमदारसाप् मर्नका दुःखले बाँदरसेवी भएछन् ! ठीकै हो, मर्नुभन्दा बाँदरको सेवामा लागिपर्नु कताकता राम्रो हो । ती बाँदरको सेवामा, जो भनिन्छ, दूर अतीतका हाम्रा पुर्खाका परका नातेदार हुन् । उसो त जनमारा शासकको गुलामी गर्नुभन्दा बाँदरलाई नित्य सलाम गर्नु कता हो कता राम्रो हो ।

भूपू जमदारको ध्यान खिच्ने मनसुवाले मैले ख्वाक्क खोकेँ । प्रत्युत्तरमा उनले मलाई पुलुक्क हेरे । हैट्, उनका आँखा ! वनको उन्मत्त भदौरे भाले अर्नाका जस्ता ! उनले दागा धर्ने आँखाले मलाई यसरी हेरे, मानौँ उनको राजालाई गद्दीच्यूत गर्ने मै हुँ । म र एकल मैमात्र । सत्य हो, त्यो सत्कर्ममा मेरो साथ र समर्थन जरुर थियो । तर, केवल विद्रोही जनसागररूपी समुद्रको एक सूक्ष्म थोपोका रूपमा मात्र । अर्नाका बल्ड्याङ्ग्रे आँखाको डसाइले मेरो पिछा ग-यो । र, ती भयावह आँखाको विद्वेषकारी आगोसामु टिक्न नसकेर मैले घरतिर कुलेलम ठोकेँ ।

भोलिपल्ट मिरमिरे बिहानी । समय उही, ठाउँ उही । मेरो प्रातः लमक्को फिर्ती दिशा उही । दुखिया जमदारको नयाँ धर्म उही, कर्म उही । यी निरीह जमदारका मानसको दयनीय दशा र निजको नवीन औतार देख्दा मेरो चित्तमा कताकता झिनो आशा पलायो । देशमा यत्रो उलटपुलट भयो ! आकाशमा चन्द्र–सूर्य छँदाछँदै शाही राजतन्त्र गोपिक्याँच भयो ।

अब त भूपू जमदारका मलाई हेर्ने दृष्टि पनि त केही न केही फेरिनुपर्ने हो । अलि नरम, अलि उदार, अलि मितेरीपूर्ण ...।  हिजो गद्दीमा राजा थियो, र आस्था जगत्मा हामी दुई मानव नदीका दुई किनारजस्ता थियौँ । आज गद्दीबाट राजा सदाका लागि अलप भयो । र, जीवनको सन्दर्भ र परिवेश बदलियो । आशालु मुडमा म गम खान्छु– अरे भाइ, अब हामी दुई जीवनको एकै किनारका प्रेमिल सहयात्री हुन किन नमिल्ने ? पदले, पैसाले र पहुँचले हामी सम्भावित ठालुपथमा त छैनौँ केरे ! तब हाम्रो मितेरीपथमा अब व्यवधान के छ ?

म सुलह–सम्झौताउन्मुख भएँ । र, विनयशीलताको बलले बन्दरप्रेमी जमदारको कठोर चित्त पगाल्ने कार्यनीतिक यत्नमा लागेँ म । भोलिपल्ट लयात्मक स्वरमा मैले पुकारा गरे— ‘नमस्कार, जमदारसाप् !’ जमदारले अर्नाका जस्ता आँखाले मलाई पुलुक्क हेरे । र, मुख बिगार्दै मुन्टोे परक्क बटारे । पर्सिपल्ट मैले उसैगरी पुकारा गरे— ‘जय नेपाल, जमदारसाप् !’ उपेक्षापूर्ण प्रतिक्रियासाथ जमदारले पुनः मुन्टो परक्क बटारे ।

निकोर्सिपल्ट मैले दमदार स्वरमा पुकारा गरेँ— ‘जय देश !’ उमंगमय प्रत्युत्तरमा जमदारको बक् फुट्यो— ‘जय नरेश !’ म चकित, विस्मित र स्तब्ध भएँ । उता पतीत नरेशको सिंहासनबाट लखेटिएर वनवास भइसक्यो, यता गुलाम जमदारको सडित संस्कारमा भूपू नरेशको प्रेत अझैँ  थान्को लागेको छैन । लाग्छ, गुलामीको संस्कार एक जब्बर मनोवैज्ञानिक रोग हो । र, हो यो कुकुरको पुच्छरको एक असली पर्याय पनि । बाह्र वर्ष ढुङ्ग्रामा हाल, कुकुरको पुच्छर बांगाको बांगै !