• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कुमार नगरकोटी काठमाडाैं
२०७६ असोज ११ शनिबार ०९:२२:००
सम्झना

सरजी,नाटक चाहियो !

२०७६ असोज ११ शनिबार ०९:२२:००
कुमार नगरकोटी काठमाडाैं

घिमिरे युवराजले एक दिन मकन भने :
– सरजी, नाटक चाहियो !
 मैले भनेँ :
– मसित नाटक होइन, त्राटकको कुरा गर्नुस् ।
त्यो दिन मैले उनलाई त्यसो भन्नुको पछाडि मेरो पाश्र्व इतिहासले काम गरेको हुनुपर्छ । अचेल मलाई त्यस्तै लाग्छ । मेरो हिस्टोरिकल ब्याकग्राउन्ड त्यस्तै थियो, नाटकमय ! किनभने आफ्नो ढुंगेयुगको प्राचीन बैँसका दिनमा म त्राटकको अभ्यास गर्थेँ । 

तन्त्र–मन्त्र, योग, अघोर तथा सम्मोहन शास्त्रजस्ता विषयमा मेरो अगाध रुचि थियोे । डा. श्रीमाली मेरा प्राक्टिकल हिप्नोटिज्मका अघोषित गुरु थिए । 
मैनबत्तीको शिखामा आँखा नझिम्क्याईकन म त्राटक ध्यानविधिको साधना गर्थेँ । 

मैनबत्ती पग्लिएसरि जब मेरा विचार, अनुभूति एवं संवेदना पग्लन्थे, तब म दारुमहल, मोक्षघाट तथा जोगीहरूको अखडामा पुग्थेँ । मेरो बैँसको मैनबत्ती त्राटकसितै जलेर, पग्लेर खरानी भएको थियो । यस्तो वेला घिमिरे युवराजले मकन भनेका थिए, ‘सरजी, नाटक चाहियो !’

०००
नाटक कि त्राटक !
म त त्राटक साधनाको सेल्फ हिप्नोटिक मान्छे, नाटक कसोरी लेख्ने ? किन लेख्ने ? कसका लागि लेख्ने ? गुरुकुलका लागि ? गुरुकुलको सम थिएटर त कोल्याप्स भइसकेको थियो ।

कुनै समय नाटकको महफिल–ए–साँझले गुल्जार पुरानो बानेश्वरको त्यो एपिक डाँडा, नाट्यकर्मीहरूको त्यो पवित्र तीर्थस्थल अब त सुनसान चिहानमा परिणत भइसकेको थियो जहाँ– डल्स हाउस, जात सोध्नु जोगीको, अग्निको कथा, इडिपस रेक्सजस्ता नाटकका मृत पात्रहरूको लास गाडिएको थियो । 

आधुनिक रंगमञ्चका आदिगुरु सुनील पोखरेल मृत सपनाको अस्तु–धातु कमण्डलुमा राखी –एक्ला चलो रे– भन्दै रवीन्द्रनाथ ठाकुरको गीत गुनगुनाउँदै सहरका गुमनाम गल्लीतिर बिलाइसकेका थिए । 

आफ्नै सपनाको मलामी जानुजस्तो दुःखद कुरो यो जगत्मा अरू केही हुँदैन ।यद्यपि, एउटा सपनाको अन्त्य अरू सपनाको सुरुवात पनि हो । ज्ञानीहरू भन्छन्, काठमान्डु सपनाको सहर हो । सपना देख्ने मानिसहरू जबसम्म जीवित रहन्छन्, सहर ज्यूँदो हुन्छ । गुरुकुलको महापरिनिर्वाणपश्चात्ः केही स्वप्निल मान्छेहरू सहरमा चल्मलाउन थाले । ती स्वप्निल मान्छेहरूले– मण्डला थिएटर, सर्वनाम, थिएटर भिलेज, शिल्पी थिएटर– हरू खोले । ती ज्युँदा मान्छेले सहरमा सपनाका बीज छरे । 

ती बीज उम्रिएर कौसी थिएटर बन्यो । थिएटर मल बन्यो । कुञ्ज थिएटर बन्यो । यस अवधिलाई म नेपाली रंगमञ्चको पुनर्जागरणकाल भन्न रुचाउँछु । नेपाली थिएटरको रेनेसा पिरियड, जसले अनगन्ती कलाकारहरू जन्मायो । निर्देशकहरू जन्मायो । र, जन्मायो दर्शकहरू । 

इतिहासको डिलमा बसी यो कालखण्डलाई हेरिरहेको म एक आउटसाइडर थिएँ । यिनै ज्यूँदा स्वप्निल पे्रमीहरूले मलाई निमन्त्रणा गर्दै भने, ‘जोगीजी, नाटक चाहियो !’ घिमिरे युवराज पटक–पटक मेरो कानमा मन्त्रसरि गुन्जिरहे, ‘सरजी नाटक चाहियो !’
०००
याद यस्तो पिँजडाको पन्छी हो, जसलाई तपाईं मुक्त गरिदिनुस्, तर केही समय मस्त गगनमा कावा खाँदै उडेपछि घुमिफिरी पिँजडामै फर्की आउँछ ।
यादलाई कैद नै प्रिय लाग्छ ।

मेरो हृदय पनि एक पिँजडा हो, जहाँ अनेक यादका पन्छीले जन्मकैदको सजाय काटिरहेका छन् । यादका ती कैदी–पन्छीलाई सम्झिबस्ने म एक जेलर हुँ । यो क्याजुअल लेखमा म तिनै यादका पन्छी उडाइरहेछु ।

‘कोमा : अ पोलिटिकल सेक्स’को डेनिस भाषाको पोस्टर हेरेर एक साँझ शिल्पी थिएटरको प्रांगणमा एकजना अबोधझैँ लाग्ने अधबैैँसेले घिमिरे युवराजलाई सोध्योे, ‘यो नाटकले सेक्स कसरी गर्ने भन्ने कुरा सिकाउँछ, हो ?’ जिल्ल पर्दै निर्देशक साहेबले भन्नुभयो, ‘होइन, यसले सेक्स सिकाउँदैन । सेक्स त आफैँ सिकिइने कुरा हो ।’ 
– त्यो त हो कि ! पोस्टर हेर्दा त्यस्तै लाग्यो ।
– कस्तो लाग्यो ? 
– सेक्सको पोलिटिकल आसनबारे नाटकले 
ज्ञान दिन्छ । 
– त्यस्तो होइन । नाटक हेर्नुस् न ! 
– सेक्स नभएको नाटक के हेर्ने ! बरु ब्लु फिल्म हेर्ने ! 
– तपाईंको जो इच्छा !
छेवैमा बसी म यो संवाद सुनिरहेको थिएँ । लाग्यो, यो त मेरो नाटकका पात्रले बोल्नेजस्तो अब्सर्ड डाइलग हो । ब्लु फिल्म हेर्न रुचाउने अधबैँसे दर्शक आफ्नो बाटो लागेपछि मैले भनेँ, ‘घिमिरे जी ! अब्सर्ड नाटक लेखेर ठीकै गरेछुजस्तो लाग्यो ।’

‘ठीकै रे,’ निर्देशक बोले, ‘गज्जब गर्नुभयो नि, सर जी ! अब्सर्डिटी हाम्रो समाजको गुप्त यथार्थ हो । तपार्इंले नाटकमार्फत त्यसलाई डिस्क्लोज गरिदिनुभएको छ ।’
‘कोमा : अ पोलिटिकल सेक्स’जस्तो विसंगत एवं प्रयोगवादी नाटक कहिल्यै लेखुँला, कहिल्यै सोचिएको थिएन । साहित्य लेखनको मेरो अराजक बक्र–यात्रामा घिमिरे युवराज नभेटिइँदा हुन् त म कहिल्यै प्ले राइट बन्दो हुँ ! यी नाट्य मनुवाले मलाई ‘सरजी, नाटक चाहियो !’ भनी नन–स्टप ताकेता नगर्दा हुन् त म कुन जुनीमा नाटककार बन्दो हुँ ! 

म कस्तो थिएँ ! कस्तो भएँ ! मलाई लाग्थ्यो, नाटक साहित्यको विधा नै होइन । विशुद्ध साहित्य हुँदै होइन । प्योर लिट्रेचरविपरीत, नाटक फगत पर्फमिङ आर्ट हो । साहित्यका असली सन्तान भनेका कथा, कविता, निबन्ध, उपन्यास हुन् । असली सन्तानको त कुरै छोडिदिऔँ, नाटक साहित्यको झड्केलो या अवैध सन्तानसमेत होइन । यस्तै सोच्थेँ म ! 

जब नाटक लेख्न घिमिरे युवराजद्वारा म बाध्य बनाइएँ, लेख्दै जाँदा मेरा पूर्वअवधारणा शनैःशनै फेरिन थाले । र, जब नाटक मञ्चन भयो, म पूर्णतः बदलिएँ । मेरा निम्ति यो एक दुर्लभ अनुभूति/अनुभव थियो । 

कागजमा लेखिएका शब्द वास्तवमा मृत हुन् । दे आर सिम्प्ली डेड वर्ड्स । ती शब्द चाहे उपन्यासका हुन् या हुन् कविता, निबन्ध, कथाका ! तर, नाटकमा लेखिएका शब्दको जादु हेर्नुस् । ती शब्द जब मञ्चमा पात्रहरूको मुखबाट उच्चारण हुन्छन्, ती कति सजीव र जीवन्त हुन्छन् भने तपाईं आश्चर्यचकित पर्नुहुन्छ । 

नाटकमा तपाईंले लेखेका शब्दले सास फेर्छन् । शब्द हाँस्छन्, मुस्कुराउँछन् र उदास भई एकान्तमा रुन्छन् । कुनै शब्द मलामी जान्छन् । र, कुनै शब्द जन्ती । केही शब्द मन्त्र बनेर गुञ्जन्छन् त केही शब्द आँसु बनी पे्रयसीका आँखाबाट झर्छन् । 

यो शब्दानन्द शब्दातीत छ । शब्दको यो युफोरिक आनन्द साहित्यका अरू विधामा कलम चलाउने लेखकहरूलाई किञ्चित प्राप्त छैन । यो आनन्दको सुविधा केवल नाटककारलाई प्राप्त छ । अरूको हातमा त फगत मृत शब्द छ । 

अचेल मलाई लाग्छ, त्यो लेखक अधुरो÷अपुरो छ, जसले जीवनमा कुनै नाटक लेखेको छैन । घिमिरे युवराजप्रति म ऋणी छु, जसले मलाई नाटक लेखाए । यही ऋण तिर्न म रंगमञ्चको नेपथ्यमा लुसुक्क छिर्छु र नाटक लेख्छु : कहिले ‘कोमाः अ पोलिटिकल सेक्स’, कहिले ‘तमोसमाः’ त कहिले ‘बाथटब’ । र, यो यस्तो ऋण हो जो कहिल्यै चुक्ता हुँदैन । कस्तो थिएँ ! हे दैव, कस्तो भएँ ! 

।। कोमा : अ पोलिटिकल सेक्स ।।
युवराज– द क्राउन प्रिन्स अफ थिएटर– ले मलाई नाटक त लेखाए नै, अब मेरो दुर्दशा हेर्नुस्ः ‘कोमा : अ पोलिटिकल सेक्स’मा अभिनय पनि गर्न लगाए । ठीकै छ नि त भनी अभिनेता बनेँ । यसको साइड एफेक्टचाहिँ के भइदियो भने नाटक र फिल्महरूमा मलाई अभिनयको प्रस्ताव आउन थाले । तौबा तौबा !

म तर्किएँ । अनुप बरालले एउटा नाटकमा मेजर रोलको निम्ति अफर गरे । म तर्सिएँ । उनैले ‘दोख’ फिल्ममा मलाई कास्ट गर्छु भने । खङ्ग्रङ्ग भइगएँ । काँसम्म भने एउटा टेलिभिजन सिरियलले समेत बोलाएर उर्दी जारी गर्‍ यो, ‘प्लिज एउटा रोल त गर्नुपर्‍ यो नगरकोटीजी !’ अभिनय इज नट कप अफ माई टी । यस्तै भनी क्षमाको भिख मागेँ । एकदिन त दयाहाङ राईले मुखै खोलेर भने, ‘दाजु मेरो बाउ बन्नुपर्‍ यो, फिल्ममा ।’ केही सीप नलागी म उनको बाउ बनेँ, ‘तान्द्रो’मा ।
खैर !

‘कोमा : अ पोलिटिकल सेक्स’मा घिमिरे युवराजले मलाई नाटकको सूत्रधार बनाइदिएका थिए । जे होस्, अभिनय गरेँ । कट्टु र स्यान्डो भेस्टसहित मञ्चमा देखा परेँ । 
सावित्री कार्कीलाई एक दिन सोधेँ, ‘ओभरकोट लगाउने आफ्नो प्राइभेट लोग्नेलाई मञ्चमा गन्जी र कट्टु मात्र लगाएको देख्दा तिमीलाई कस्तो लाग्यो ?’ उसले भनी, ‘राम्रो लाग्यो ।’ मलाई पनि रामै्र गरेछु भन्ने लाग्यो ।

यस विषयमा यज्ञश, अ भुइँया–मानवले पत्रिकामा ‘नगरकोटीको ओभरकोट’ शीर्षकमा गज्जब–ओ–गज्जब लेख लेखेः तपाईं नगरकोटीलाई सहरका अर्ध निर्मित फुटपाथहरूमा, शंखमुल र बुद्धनगरतिर एउटा हातमा खुकुरी चुरोट च्यापेर धुवाँ उडाउँदै हिँडेको देख्न सक्नुहुन्छ । यस्तो बेला नगरकोटीले प्रायः ओभरकोट धारण गरेका भेटिन्छन् । गत साता भने अचम्म भयो । नयाँ खुलेको शिल्पी थिएटरको गोठाले नाटकघरमा नगरकोटी ओभरकोट त के, सर्ट–पाइन्टमा समेत थिएनन् ।

एउटा हनुमाने कट्टु र स्यान्डो गन्जीमा कपाल खौरिएका नगरकोटी धम्धम् गर्दै डुलिरहेका थिए । अचम्म के भने, नगरकोटी भएको नाटकमा ओभरकोटचाहिँ कुनै अर्कै पात्रले लगाइरहेको थियो । नाटकको सो सकिएपछिको साँझ मलाई खुब मनपथ्र्यो । 

म सरासर थिएटरको किचनमा जान्थेँ र भित्तामा हेर्थें, जहाँ भोड्का र खुक्स राखिएको झोला किलामा झुन्डी मेरो प्रतीक्षा गरिबसेका हुन्थे । हरेक साँझ म एक बोतल मदिरा सितनविना चियर्स गर्थेँ । अबेरसम्म कलाकार–साथीहरूसित ‘कोमा उत्सव’ चल्थ्यो ।

उत्सवमा प्रायःदेशका बडेबडे कवि, लेखकहरू सामेल हुन्थे । तिनले मेरो भोड्कालाई कर्के नजर लगाए घिमिरे युवराज भन्थे, ‘त्यो सरजी, सिर्फ सरजीको भोड्का हो । त्यसमा आँखा नलाउनुस् । तपाईंको मालपानी यता छ, गिलास आगे बढाउनुस् ।’ यति भनी उनी आगन्तुकका निम्ति अर्को भोड्काको बिर्को खोल्थे । 

खासमा ती दिनमा म गएगुज्रेको मदिरालम्पट थिएँ । लाग्थ्यो, स्त्रीलम्पट हुनुभन्दा मदिरालम्पट हुनु मजस्तो साहित्यको जोगीलाई बढी सुहाउँथ्यो । घिमिरे युवराजले मेरो जोगी–मनको भरपुर खयाल राखे । एक महिनासम्म अटुट रूपमा मेरा निम्ति भोड्काको जुगाड गरिरहे । त्यसको पैँचो मैले उनलाई ‘बाथ–टब’का वेला तिरेँ । आफू मदिरा डिभोर्सी भए पनि घिमिरे युवराजका निम्ति मैले ब्ल्याक लेबलको बन्दोबस्त गरेँ । 

मेरो गुफामा आएर ब्ल्याक लेबल चियर्स गर्दै उनले ‘बाथ–टब’को सेलिब्रेसन गरिरहे । उनले बडो मस्तसित पिएको टुलुटुलु हेरिबसेँ । हम भी किसी जमाने मे कवि थेँ, सराबी थेँ भन्दै म नोस्टाल्जिक भइरहेँ ।

जे होस्, नेपाली रंगमञ्चको संसारमा ‘कोमा : अ पोलिटिकल सेक्स’मार्फत मेरो ब्याप्टिज्म भएको कुरा एकदमै साँचो हो । यही नाटकमार्फत मैले बामे सर्न जानेँ । घिमिरे युवराजले मलाई ताते–ताते गर्दै हिँड्न सिकाए । उनकै कान्छीऔँला समाती रंगमञ्चको स्वप्निल यात्रामा हिँडेँ । यदाकदा जब यिनी ‘सरजी, नाटक चाहियो !’

भनी मकन भन्छन्, म मुस्कुराउँछु र भन्छु, ‘कस्तो नाटक चाहियो महाराज ? अब्सर्ड नाटक चाहियो कि ! एक्सपेरिमेन्टल नाटक चाहियो कि ! स्वैरकाल्पनिक नाटक चाहियो कि ! पोस्ट–मोर्डन नाटक चाहियो कि ! प्यारासाइकोलजिकल थ्रिलर चाहियो कि ! सर्रियल नाटक चाहियो ! भन्नुस् प्रभु, कस्तो नाटक चाहियो ?’
अब त म नाटकको मान्छे ! त्राटक त मैले उहिल्यै बिर्सिसकेको छु । 

।। झ्यालिञ्चा ।।
दयाहाङ राईले एक साँझ फोनमा लामो कुरा गर्दै टुंग्याउनीमा भने, ‘दाजु, नाटक चाहियो !’ दयाहाङले ‘दाजु’ भनेको मलाई निकै मन पर्छ । आत्मीय लाग्छ । ‘दाजु’ भनी जब यिनी कुनै आग्रह गर्छन्, म टार्नै सक्दिनँ । यिनले उच्चारण गर्ने ‘दाजु’ शब्द किन यति कर्णप्रिय सुनिन्छ ? 


सायद काजु खाएर दाजु भन्दा हुन् !कहिले यिनी ‘दाजु फिल्ममा मेरो पिताको रोल गर्नुपर्‍ यो’ भन्छन् त कहिले मञ्चमा बोलाउँदै कहन्छन्, ‘दाजु, यो खादा ग्रहण गर्नुपर्‍ यो ।’ कहिले त यिनी यसो पनि भन्छन्, ‘यो सुँगुरको छोयला अच्छा छ दाजु, खानुपर्‍ यो ।’

एकदिन यिनले मलाई गायिका बेनुका राईको ‘जोगिया’ बोलको ज्यादै सुमधुर गीत सुनाए । मलाई गीत ‘बहुत खुब’ लाग्यो । गीतमा फेरि लाउने जोगीको बिम्बले मेरो मन हर्‍ यो । दयाहाङले भनिहाले, ‘दाजु, यो गीतको भिडियोमा मोडलिङ गरिदिनुपर्‍ यो । आखिर तपाईं पनि जोगी नै हो क्यारे !’ कस्तो विडम्बना ! नेपाली चलचित्रको चर्चित हिरोले जोगीलाई मोडेल बनाउने भयो, त्यो पनि म्युजिक भिडियोमा । 

आधुनिक रंगमञ्चका आदिगुरु सुनील पोखरेल मृत सपनाको अस्तु–धातु कमण्डलुमा राखी– एक्ला चलो रे– भन्दै रवीन्द्रनाथ ठाकुरको गीत गुनगुनाउँदै सहरका गुमनाम गल्लीतिर बिलाइसकेका थिए । आफ्नै सपनाको मलामी जानुजस्तो दुःखद कुरो यो जगत्मा अरू केही हुँदैन ।

म मोडेल पनि भइगएँ । हे प्रभु, म अझै के–के भइजानुपर्ने हो ! मेरो कल्याण गर ! त्यो साँझ भने यिनले मसित नाटक मागे । अर्को दिन एकबिहानै मैले यिनलाई बेनामनगरको एउटा क्याफेमा बोलाएँ । र, यिनका कुरा सुनेँ । निकै लजालु स्वभावका यिनले धक मान्दै भने, ‘दाजु, हाम्रो नाटकबाट बिस्तारै–बिस्तारै साहित्य हराउँदै गइरहेको छ ।

साथीहरू कमसल हास्यव्यंग्य र क्यारिकेचरमा फस्दै गइरहेको अनुभव भइरहेको छ । दाजुले मेरा लागि एउटा स्वैरकाल्पनिक नाटक लेखिदिनुपर्‍ यो । सर्रियल भए पनि हुन्छ । दाजुका शब्दलाई रंगमञ्चमा उतार्ने मेरो उहिल्यैदेखिको धोको हो ।’ 

उनको धोकोलाई धोका दिनु जघन्य अपराध हो । यस्तै सोचेँ । चलचित्रमा अति व्यस्त उनले वर्षमा एउटा नाटक गर्ने प्रण गरेका रहेछन् । कति राम्रो कुरो ! कफी पिउँदै उनले एउटा सर्रियल प्लट सुनाए । मलाई तत्कालै मनपर्‍ यो । ‘हुन्छ नि त दयाजी’, मैले भने, ‘तपाईंकै प्लटमा एउटा सर्रियल प्ले लेखिदिने भएँ, चियर्स ।’
खुसीले उनको मुहार उजेलियो । 

भेटघाटको अन्त्यमा मेरो झोलातिर संकेत गर्दै उनले सोधे, ‘झोलाभित्र के छ दाजु ?’ झोलामा केही दिनअघि मात्र लेखिएको फ्रेस कथा थियो, जसलाई सहरको कुनै अँध्यारो चियापसलमा पढ्नुपर्ला भनी बोकेको थिएँ । उनले कथाबारे जिज्ञासा राखे :
– स्टोरीको शीर्षक के हो ? 
– झ्यालिञ्चा । 
– झ्यालिञ्चा ? कस्तो सुन्दर नाम ! 
– भर्खरै लेखिसिध्याएको हुँ । मसी पनि सुक्न 
पाएको छैन । 
– त्यसोभए सुनौँ न, दाजु ! तपाईंकै मुखबाट ! 

त्यसपछि नगरकोटी दाजुले कथा सुनाउन थाल्नुभयो । र, दयाहाङ भाजुले कान ठाडो पार्दै कथा सुन्न थाल्नुभयो । सुन्न–सुनाउने क्रममा उनको मुहारमा विभिन्न भावका मौसम देखापर्न थाले । त्यो गोरो मुहारलाई कहिले पीडाको वर्षात्ले चुटेजस्तो देखियो त कहिले कुहिरोको रहस्यले छोपेजस्तो । 

कथाको क्लाइमेक्समा पुग्दा–नपुग्दै उनले मलाई रोक्न भने । कथाले उनको मर्ममै प्रहार गरेछ क्यारे ! उनी अवाक् थिए । विचलितजस्ता देखिए । केहीबेरको निस्सिम मौनतापश्चात्ः उनको बक् फुट्यो, ‘दाजु, झ्यालिञ्चा मलाई दिनुस् । यही कथालाई म नाटक बनाउँछु ।’

– आर यु सिरियस ? 
– यस दाजु, म सिरियस । 
– तपाईंको प्लट नि ! त्यसलाई के गर्ने ? 
– हु केयर्स ? त्यसलाई बिर्सने । 
– हु केयर्स भन्ने मेरो थेगो तपाईंले चोर्नुभयो नि ! 
– थेगो रे ! मैले त दाजुको कथा नै चोर्ने भएँ । 

यसरी क्याफेको त्यो कफिलो बिहानमा दयाहाङ राईले मबाट ‘झ्यालिञ्चा’ फुत्काए । फुत्काए पनि के भन्नु ! कथाको अपहरण नै गरे । कलाकारहरू विजय बराल र रञ्जना ओलीलाई कास्ट गरे । कयौँ दिन रिहर्सल गरे । मण्डला थिएटरमा सेट डिजाइन गरे । र, एक साँझ मकन फोनमा भने, ‘दाजु, नाटक तयार भयो ।झ्यालिञ्चाको प्रिमियर सोमा तपाईंलाई निम्तो गरेँ । भोलि आउनुहोला । भाउजू र गुरु रिम्पोचेलाई पनि ल्याउनुुहोला ।’

।। बाथ–टब ।।
वेल, माई फ्रेन्ड ! लेट्स टक समथिङ अबाउट बाथ–टब ।

गत वर्षको एक भदौरे अपराह्नमा घिमिरे युवराजलाई लिएर म एउटा क्याफेमा छिरेँ । जस्तो कि हामीबीच हुने गर्छ, कुनै व्यक्तिविशेषको कुरा काट्नेबाहेक संसारका अनेक प्रसंगका सबै कुरा गर्ने । सिनेमा, आर्ट, पेन्टिङ, म्युजिक, किताब, पोयट्री प्लस ब्युटिफुल गल्र्स ! एन्ड चराचुरुंगिज् ।

त्यो ओसिलो अपराह्नमा हामीबीच ज्याक्सन पोलाक्को एक्सन पेन्टिङ्देखि पिना बाउसको साइकोटिक नृत्यसम्मका कुराकानी भए । ग्यास्पर नोयको साइकिडेलिक फिल्म ‘एन्टर द भ्वाइड’देखि केन्नी’जीको मसमराइजिङ् स्याक्सोफोनिक धुनसम्मको गुफ्तगु भए । 

गफैगफमा ‘वासुदेव’ फिल्मको प्रसंग आयो । ‘कट्टेल सरको चोटपटक’ उपन्यासको चर्चा चल्यो । चर्चामा धु्रवचन्द्र गौतम घुस्नुभयो । बातचितमा धु्रवचन्द्रको आक्रामक घुसपैठपछि हामीलाई अमेरिकानो डबल सटले मात्रै धान्न सकेन । एस्पे्रसो, त्यो पनि डोपियो, मगायौँ । ‘जय शम्भो’को अन्दाजमा घ्याम्पे सट हान्यौँ । त्यतिले पनि के–के नपुगेको लाग्न थालेपछि छेवैको छोयला गृहभित्र छि¥यौँ । र, गौतम, साहित्य अनि सराबको सामूहिक सम्मानमा दारुको इज्जत–ओ–आबरु उतार्‍यौँ ।
घिमिरेले अयला र मैले छोयला खाँदै क्याफेमा छुटेको बातचितको सिलसिलालाई आगे बढायौँ । यस्तैमा घिमिरेले गौतमलगायत वासुदेव फिल्मका कलाकारद्वय नीर शाह र हरिहर शर्माको प्रेमिल चर्चा गर्दै मकन सोधेः

– वासुदेवमा नीर शाहको नाम के हो ? याद छ सरजी ?
– बिर्सेँ । के हो ? 
– कुमार !
– कुमार ? रियल्ली ? 
– रियल्ली, सरजी ! नीर शाह फिल्ममा कुमार 
बनेका छन् ।
नीर शाह ! मेरा सर्वाधिक प्रिय कलाकार । कुमार बनेका रहेछन् । मेरो तोर्पे–ठिस् खप्परमा तत्काल एउटा कुरा– आउट अफ् ब्लु– फुर्‍यो । घिमिरे युवराजलाई मैले भनेँ, ‘यो कुमारले त्यो कुमार अर्थात् नीर शाहका निम्ति एउटा सर्रियल प्ले लेख्यो भने के होला ?’
– गज्जब होला सरजी !
– हरिहर शर्मा र नीर शाह एउटै नाटकमा देखिए कसो होला ? 
– त्यो त झन् डबल गज्जब होला । दुई दिग्गज कलाकारलाई युवा पुस्ताको सम्मान होला । 
– त्यसोभए म नाटक लेखुँ त ?
– दिल खोलेर लेख्नुुस्, सरजी !
कुरैकुराले कुराको कस्तो कुराको मोड लियो भने घिमिरे युवराजले अति उत्साहित हुँदै नीर शाहसित फोनमा कुरा गरिहाले । ‘कुमार नगरकोटी एउटा सर्रियल नाटक लेखिरहनुभा’छ,’ घिमिरेले उनलाई सुनाए, ‘त्यसको निर्देशन म गर्दै छु । तपाईं र हरिहर शर्मालाई कास्ट गर्ने हाम्रो सदिच्छा छ ।’

नीर : नगरकोटीले हाम्रा लागि नाटक लेख्ने ? यो म के सुन्दै छु ?
घिमिरे : सही सुन्दै हुनुहुन्छ सर । 
नीर : कस्तो गज्जब कुरा सुनाउनुभयो । हरिहरजी र मैले सँगसँगै नाटक नखेलेको पैँतीस वर्षभन्दा बढी भयो । के तपार्इं हामी बूढाहरूलाई ह्यान्डल गर्न सक्नुहुन्छ ? 
घिमिरे : सक्छु सर । तपाईंहरूलाई म ग्रेसफुल्ली ह्यान्डल गरुँला । 
नीर : त्यसोभए नगरकोटीलाई भन्दिनुस्, नाटक चाँडै तयार होस् । 
०००
घटस्थापनाको दिन थियो । एकबिहानै घिमिरे युवराज मेरो गुफामा टुपुल्किए । मलाई बीस हजार रुपैयाँ पकेट खर्च भनी दक्षिणा चढाए । मार्लबोरो सिग्रेटको ठूलो पेटी मेरो हातमा थमाइदिँदै उनले भने, ‘नयाँ नाटकका निम्ति सरजी, तपाईंलाई शुभकामना छ । मस्तसित, बिन्दास लेख्नुस् । पैसा, सिग्रेट र कफीको कौनो चिन्ता नलिनुस् । पकेट मनी र मार्लबोरो सकिए मलाई मिस्डकल गर्नुस्, म तु हाजिर भइहाल्नेछु ।’

एउटा छोयलागृहमा यसरी बाथ–टबको भ्रूण मेरो पाठेघरमा अंकुरित भएको थियो । पाठेघर ? पुरुषसित पाठेघर ! तपाईंलाई लाग्दो हो : नगरकोटी बुड्ढा सठिया गया है ! सर्रियल कहानी लिख–लिखकर उसका भेजा भि सर्रियल हो गया है ! बेतुक की बाते करने लगा है ! औकातमा बस्, नगरकोटी ! पुरुषको पनि कहीँ पाठेघर हुन्छ ? 

म भन्छु : पुरुषको पनि पाठेघर हुन्छ, जनाब ! जब पुरुष केवल पुरुष नभई लेखक हुन्छ, चित्रकार–संगीतज्ञ हुन्छ, कवि–स्वप्नदर्शी हुन्छ, जब ऊ सर्जक हुन्छ, ऊसित जरुर पाठेघर हुन्छ । सिर्जनाको सवालमा प्रकृतिले न नर भन्छ, न नारी भन्छ । स्त्रीसरि प्रकृतिले पुरुषलाई पनि पाठेघर दान गर्छ । 

त्यही पाठेघरमा विथोभनको फिफ्थ सिम्फोनी अंकुराउँछ । देवकोटाको ‘यात्री’ कविताले आकार ग्रहण गर्छ । जसरी मेरो पाठेघरमा निःशब्दशमशेर राणा 
चलमलाउँछ । सिरियल किलर सलबलाउँछ । र, अनिद्राको स्वप्निल प्रेमी मदहोस–मदहोस बर्बराउँछ । 

‘बाथ–टब’ मैले नेपाली थिएटरलाई लेखेको लभ–लेटर थियो । यो नाटक लेख्ने दिन–रातमा मैले कति पेटी मार्लबोेरो सकेँ, त्यसको कुनै हिसाब–किताब भएन । कति मग कफी पिएँ, कुनै लेखाजोखा भएन । 

जहाँसम्म कफीको प्रसंग छ, त्यो कालो तीतो पेय र त्यसलाई पिउने मानिसहरूको सम्मानका खातिर नाटकमा एउटा थिम–डाइलग नै लेखेँः ब्ल्याक कफी पिउने मान्छेको मन ब्ल्याक हुन्छ । 

त्यो ब्ल्याक डाइलग कालान्तरमा यति चर्चित भइगयो कि कुनै नवप्रेमीले पे्रयसीलाई त्यो सेक्सी पेय अफर गर्दा युवतीले भन्ने भई, ‘म ब्ल्याक कफी पिउँदिनँ, किनभने ब्ल्याक कफी पिउने प्रेमीहरूको मन ब्ल्याक हुन्छ ।’

एकजना शुभचिन्तकले त मेरो भलो चिताउँदै यसो भने, ‘छ नि फिक्सन डिजाइनरज्यू ! ब्ल्याक कफी पिएर तपाईंले अचाक्ली ब्ल्याक लिट्रेचर पैदा गर्नुभयो । तपाईं अब दूध खानुस् । र, सङ्लो साहित्य जन्माउनुस् ।’

दूध ? तौबा तौबा ! दूध त अब यस्तै हो ! आमाको जस्तो सङ्लो र पवित्र दूध मैले आजपर्यन्त देख्या–सुन्या–खाया छैन । पोकाको बजारु दूध के काम ? तसर्थ ब्ल्याक कफी नै पिउने गर्छु । जाबो डेरीको पाउडरी दूध खाएर केको साहित्य लेखाइ भो र ! गोकुलधाम, डिडिसी, सीतारामहरू साहित्यका आयाराम–गयारामले नै खाऊन् ! 

१. निः शब्दशमशेर राणा

प्यारो नीर, आदाब ! 
तिमीलाई त्यो साँझको अवश्य पनि सम्झना होला, जुन साँझ मैले तिमीलगायत बाथ–टबका निर्देशक तथा अन्य कलाकारसमक्ष नाटकको पाण्डुलिपि–वाचन गरेको थिएँ । वाचनावधिभर तिमी कहिले अधीर हुन्थ्यौ त कहिले आँखा चिम्लिवरि कुनै तपस्वी योगीझैँ शान्त–स्थिर हुन्थ्यौ । 

तिमीलाई त्यस्तो मसगुल–ए–अन्दाजमा देख्दा मलाई घरिघरि आफ्नो स्वर्गीय पिताको झझल्को आउँथ्यो । तिमी मेरो पिताका फेभरेट अभिनेता थियौ । बुबाले नै मलाई तिम्रो प्रथम परिचय गराउनुभएको थियो । दाङको एक चलचित्र मन्दिरमा । होस्टेलबाट एक दिनको बिदा मागेर बुबाले मलाई फिल्म देखाउन लैजानु भएको थियो : कुसुमे रुमाल । म एघार वर्षको थिएँ । 

सिल्भर स्क्रिनमा तिमीलाई देखाउँदै बुबाले मेरो कानमा भन्नुभएको थियो, ‘यिनको नाम नीर शाह हो । यी मान्छे देशका असल कलाकार हुन् । नाथे कुमार, कहिल्यै भेटिस् भने यी अभिनेतालाई मेरो प्रेम सुनाइदिएस् ।’बुबा आफ्नो झोलीतुम्बा यतैकतै छाडी मृत्युको अनन्त यात्रामा जानुभयो । म भने बाँकी रहेँ यतैकतै । तिमीलाई बुबाको प्रेम सन्देश सुनाउन । तिम्रा निम्ति नाटक लेख्न । 

त्यो साँझ जब म तिमीलाई बाथ–टबको पाण्डुलिपिबाट हरफहरू सुनाइरहेको थिएँ, यस्तो लाग्थ्यो, तिमीले पिउँदै गरेको व्ह्स्किीको गिलासमा बुबा बरफ बनी पग्लिरहनुभएको थियो । वाचनपश्चात् अन्त्यमा तिमीले बाथ–टबको पाण्डुलिपिलाई निधारमा लगेर ढोगेका थियाैँ । तिमी यो देशको निकै ठूला, सम्मानित अभिनेता !

नेपाली चलचित्रका जीवित सम्पदा । फिल्मका स्क्रिप्ट–मनुस्क्रिप्ट पढेर, सुनेर यसैगरी ढोग्छौ कि ढोग्दैनौ, मलाई थाहा छैन । तर, त्यो साँझ, जब तिमीले एउटा सर्जकको कृतिलाई त्यसरी सम्मान गर्‍ यौ, म तिमीप्रति नतमस्तक भएँ । 

बुबाले तिमीलाई यो देशका असल कलाकार किन भन्नुभएको रहेछ भन्ने कुराको प्रत्यक्ष बोध गरेँ । कस्तो आश्चर्यजनक संयोग ! तिमीले पनि आफ्नो बुबाको कुरा गर्‍ यौ । अतीतको चिहान खन्दै तिमीले बडो नोस्टाल्जिक मुद्रामा भन्यौ, ‘गोरखापत्रमा मेरो नाम कलाकारहरूको लिस्टमा निस्केको थियो । कुनै संस्थाले पत्रिकामा विज्ञापन दिएर कलाकारहरूको आह्वान गरेको थियो ।

मैले पनि आफ्नो नाम दर्ता गरेको थिएँ, जसको नतिजा पत्रिकामै छापिएको थियो । खुसीले मेरो खुट्टा भुइँमा थिएन । गोरखापत्र च्यापी घर गएँ । बुबालाई गर्वका साथ आफ्नो नाम देखाएँ । खुसी हुनु त कहाँ हो कहाँ ! उहाँले मलाई हुक्काको पाइपले झटारो हान्नुभयो । गाली गर्नुभयो । पत्रिका पनि च्यातिदिनुभयो । छोरो गएगुज्रेको कलाकार बन्ने भयो भनी बुबाले शोक मनाउनुभयो ।’

तिमीले भन्यौ, ‘तर कलाकार नै बन्ने निर्णय मैले गरिसकेको थिएँ । कलाकार भएँ । कुमारजी, मलाई आज आएर सही निर्णय गरेछु जस्तो लागिरहेछ । किनकि मैले तपाईंले लेखेको नाटकमा अभिनय गर्नुरहेछ । ‘बाथ–टब’ मेरो जीवनको अविस्मरणीय उपहार हुनेछ । उपलब्धि हुनेछ ।’

प्यारो नीर !
निःशब्दशमशेर राणा बनी शिल्पी थिएटरको मञ्चमा तिमी देखापर्नु हामी दर्शकका निम्ति अविस्मरणीय क्षण थियो । पँैतीस वर्षपछि नाटकमा तिम्रो पुनरागमन नेपाली रंगमञ्चकै उपलब्धि थियो । दुर्लभ परिघटना थियो । 

अब त मेरो छोरा नै एघार वर्षको भएको छ । प्रिमियर सोको साँझ तिमीलाई देखाउँदै मैले उसको कानमा भनेको थिएँ, ‘हेर ग्रिस्मिल, यो मान्छे देशको ठूलो कलाकार हो । तिम्रो हजुरबुबाको फेभरेट एक्टर हो ।’

– पापा, तपाईंको पनि फेभरेट एक्टर हो ? 
– हो नि त !
– त्यसो भएँ उहाँ मेरो पनि फेभरेट एक्टर हो । 
– हो, छोरा ! तिम्रो पनि फेभरेट एक्टर हो ।
यसरी प्यारो नीर, तिमी तीन पुस्ताको मनमा बसेका छौ ! पुस्तैनी राज गरेका छौ । आफ्नो शिरमा तिमीले हामी दर्शकको माया र प्रेमको ताज पहिरेका छौ ।

२. सिरियल किलर
रिहर्सलको मध्य–यात्रामा बाथ–टबको सिरियल किलरलाई टपक्क टिपी नेपाल सरकारले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपति बनाइदियो ।
सिरियल किलर उपकुलपति !

एक मनले त सोचेँ, गज्जब भयो ! माफिया र डनहरूलाई सभासद् बनाउने देशका बडबडे नेताले सिरियल किलरलाई भाइस चान्सलर बनाउनु काइदाकै कुरो हो, यस्तै ठानेँ । किन्तु सरकारको यस्तो पवित्र निर्णयले बाथ–टबका निर्देशक घिमिरे युवराजलाई भने थर्ड डिग्रीको मानसिक यातना दियो । नाटकमा सिरियल किलर बनेका हरिहर शर्माले नाटक छाड्नुपर्ने भयो ।

उनले आफ्नो भागको डाइलगसमेत कण्ठ गरिसकेका थिए । रिहर्सलका क्रममा नीर शाह हरिहर शर्मालाई भन्थेँ, ‘म तपाईंको मानस–पिता हुँ । केही त रेस्पेक्ट गर्नुस् । श्रद्धा गर्नुस् ।’ त्यसको जवाफमा हरिहर शर्मा नीर शाहलाई रिभोल्भर ताक्दै भन्थे, ‘टु हेल विथ मानस–पिता ! तपार्इं त मलाई मानस–पिता होइन, मानस–पितृजस्तो लाग्दै छ । श्रद्धा होइन, तपार्इंको श्राद्ध गर्नुपर्ने भएको छ । पिण्डदान गर्नुपर्ने भएको छ ।’

दुई दिग्गज कलाकारको यस्तो रिहर्सल हेर्दा म दंग पर्थेँ । यस्तो लाग्थ्यो, भारतीय अभिनेताद्वय दिलीप कुमार र राजकुमार बाथ–टबका डाइलग बोलिरहेका छन् । अल पचिनो र रोबर्ट डी नेरो शिल्पी थिएटरको स्टेजमा प्रकट भएका छन् । तर, के गर्नु ? नेपाल सरकारले देखिसहेन । हरिहर शर्मालाई उपकुलपति बनाएरै छाड्यो । अन्ततः अपसोच प्रकट गर्दै उनले मसित भने, ‘के गर्नु कुमार बाबु, यसपटक यस्तै भयो ।’ 

बिचरा घिमिरे युवराज ! झन्डै डिप्रेसनमा गए । यस्तो वेला हामो उद्धार गर्न सिरियल किलरको भेषमा ब्रजेश आइपुगे । उनले रिहर्सलमा दोब्बर समय निकाले । घिमिरे युवराजसित भने, ‘म काँचो माटो हुँ । मलाई जुन आकारमा ढाल्न चाहनुहुन्छ, ढाल्नुस् । मभित्र सिरियल किलरको चरित्रलाई खोज्नुस् ।’

अन्ततोगत्वा घिमिरे युवराजले ब्रजेश नामक ‘यायावर’का लेखकलाई सिरियल किलर बनाइछाडे । ब्रजेशले ज्वरो भनेनन् । रुघा खोकीलाई बाल दिएनन् । आयुर्वेदिक औषधि ‘खदिरादी वटी’ सेवन गर्दै शान–आ–सौकतका साथ दर्शकलाई मन्त्रमुग्ध पार्दै आफ्नो बुलन्द आवाजमा नाटककै सर्वाधिक महत्व्पूर्ण क्लाइमेक्सको डाइलग बोले : नो–म्यान्स–ल्यान्ड मानव सभ्यताले खनेको एक विशाल गे्रमयार्ड हो । दशगजा सो–कल्ड देशहरूले खनेको विस्तीर्ण चिहान हो ।

हामी सबै चिहानमा फसेका, पुरिएका, गाडिएका डेडबडी हौँ । कतै धर्मको चिहान छ । कतै राजनीतिको चिहान छ । कोही वैवाहिक चिहानमा फसेको छ । कोही फसेको छ काम, वासना र तृष्णाको दैहिक चिहानमा । यत्रतत्र सर्वत्र चिहानै–चिहान छ । विचारको चिहान । तर्कको चिहान । आस्थाको चिहान । विश्वासको चिहान । कहिले मनको चिहानमा अल्झन्छौँ । कहिले अल्झन्छौँ तनको चिहानमा । म मस्तिष्कको चिहानमा कैद छु । तिमी चेतनाको चिहानकी बन्दी छौ । तिम्रो टाउकोमाथि शून्यवादको चिहान छ र पैतालामुनि छ– साम्यवादको चिहान... !

‘वजुद’ नामक फिल्ममा जाबेद अख्तरले नाना पाटेकरका लागि एउटा काव्यमय डाइलग लेखिदिएका थिए, ‘केसै बताउँ मै तुम्हे, मेरे लिए तुम कौन हो,’ जसलाई नाना पाटेकर बोल्दैनन्, गुनगुनाउँछन् माधुरी दीक्षितसामु । ब्रजेशले अनिद्रालाई ‘यो जगत् चिहानै चिहानले भरिएको छ’ भनी सम्झाउँदा मलाई नाना पाटेकरको खुब झझल्को आउँथ्यो । ब्रजेशले चिहान–डाइलगलाई यति जीवन्त पारिदिए कि बाथ–टब हेर्ने सबैलाई मन्त्रमुग्ध पारिदिए । 

ब्रजेश भन्ने गर्थे, ‘यो चिहान–डाइलग मेरो अभिनय यात्राको सुन्दर प्राप्ति हो । यति गहन, यति लामो डाइलग मैले कुनै पनि फिल्ममा आजसम्म बोलेको छैन ।’ अनि उनी थप्थे, ‘तर कुमारजी, सिरियल किलरले पनि कहीँ यस्तो काव्यमय भाषामा कुरा गर्छ र ? दर्शन र अध्यात्मले ओतप्रोत त्यस्तो संवाद बोल्छ ? त्यस्तो फिलोसफिकल सिरियल किलर वास्तवमा कहाँ पाइन्छ ?’

‘ल, ब्रजेशजी पनि !’ म हाँस्दै भन्थेँ, ‘त्यति पनि थाहा भएन ? त्यस्तो दार्शनिक सिरियल किलर त नगरकोटीको नाटकमा पाइन्छ नि ! खै कुरा बुझेको ?’ सिरियल किलर मेरो अविस्मरणीय दोस्त बन्यो । ऊसित म झ्याम्मिएँ । एक महिनासम्म सिरियल किलरले मलाई सहरका डरलाग्दा गुप्त गल्लीमा आफ्नो कालो मोटरसाइकलमा घुमायो । अँध्यारा खुफिया अड्डामा लगी मलाई उसले आफ्ना यारको परिचय गरायो । 

अचेल पनि जब मलाई सिरियल किलरको न्यास्रो लाग्छ, तब म ब्रजेशलाई फोन गर्छु । र, भन्छु, ‘हेलो सिरियल किलर !तपाईं कहाँ हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ?’ उनी भन्छन्, ‘म चिहानमा छु । मलाई सिरियल किलर बनाउने कुमार नगरकोटीको सर्रियल चिहान खन्दै छु ।’

३. अनिद्रा प्यारी भूषिता !
आ’राम छु, आ’राम चाहन्छु 
बाथ–टबको पाण्डुलिपि पठनको साँझ तिमीले भनेकी थियौ, ‘कुमारजी, यो अनिद्रा नामक नाटकको पात्र मलाई तपाईंकै अल्टर इगोजस्तो लाग्यो । मुडुलो टाउको भएकी अनिद्रा लेडी नगरकोटीजस्तो, नगरकोटीको स्त्रैण पर्सोनाजस्तो लाग्यो । केही पोयटिक, केही मिस्टिक ! अलिकति स्पिरिचुआलिस्ट, अलिकति अनार्किस्ट ! के म लेडी नगरकोटी बन्न सकुँला ? अनिद्रामा कायाकल्प हुन सकुँला ?’ 

मैले तिमीलाई भनेको थिएँ, ‘तिमी अनिद्रा नै हौ । तिमी मेरो अवचेतन मनकी स्वप्निल नायिका हौ । मेरो अस्तित्वको एक अनन्त अनिद्रा हौ, जसलाई मैले बाथ–टबमा सिर्जेको हुँ । भूषिता त तिमीलाई यो संसारले दिएको औपचारिक नाम मात्रै हो । वास्तवमा तिमी त गैरसांसारिक हौ । तिमी फगत अनिद्रा हौ ।’

प्यारी भूषिता ! तिमी नेपाली रंगमञ्चकी नवीन खोज थियौ, जसलाई घिमिरे युवराजले आविष्कार गरेका थिए । बाथ–टब अघि तिमी अस्तित्वको कुन मायानगरीमा थियौ ? जिन्दगीको कुन मोहगन्जमा रूमल्लिरहेकी थियौ ? 

नीर शाहलाई रिभोल्भर तेस्र्याउँदै जब तिमी आफ्नो मुक्तिको कुरा गथ्र्यौ, हरेक सो मा आँसुले निथ्रुक्क भिज्थ्यौ । ती कति सङ्ला आँसु थिए ! सच्चा एवं पवित्र । तिमी लामो कथार्सिसबाट गुज्रन्थ्यौ । दर्शकहरू थिएटरबाट बाहिर निस्कँदा, अँध्यारो मञ्चमा तिमी हिक्क–हिक्क रोइरहेकी हुन्थ्यौ । 

तिमीलाई सम्हाल्न नीर शाह आइपुग्थे । तिमीलाई सुम्सुम्याउन, थपथपाउन ब्रजेश आइपुग्थे । र, तिम्रो आँसु पुछ्न घिमिरे युवराज आइपुग्थे । मलाई लाग्थ्यो, ती मेरा शब्द हुन्, जो आँसु बनी तिम्रो आँखाबाट झरिरहेका छन् । ती शब्द–आँसुलाई पुछ्न हुँदैन । आँसुका दागलाई तिम्रो मुहारमै छाडिदिनुपर्छ । किनकि ती सच्चा आँसु थिए । पवित्र आँसु थिए । 

यो जगत्मा त्यस्तो कञ्चन आँसुको झरना अब कहाँ नै पो पाइन्छ र ! तर, नीर शाह, ब्रजेश र घिमिरे युवराजजस्ता आँसुका वैरीहरूले तिम्रो आँखा पुछिदिन्थे । म फगत टुलुटुलु हेरिबस्थेँ । तिमी के चाहन्छौ भनी सोध्दा आफ्ना तमाम प्रेमीको भिडलाई हेर्दै तिमी भन्थ्यौ, ‘मोह, राग र तृष्णाले तिमीहरूलाई रोगी बनाएको छ । म तिमीहरूको आ’राम चाहन्छु ।’ तिमीले यसो भन्दा म आ’राम मान्थेँ । 

सिरियल किलरसित युनिक र यौनिकको शब्द क्रिडामा तिमी फसेको देख्दा म मुस्कुराउँथेँ । र, सोच्थेँः मान्छे दुई थरीका हुन्छन् । एक युनिक र अर्को यौनिक । युनिक मान्छे दुर्लभ हुन्छन् र यौनिक मान्छे सर्वसुलभ । 

जब तिमी ‘योनी एक विराट शून्य हो’ भन्थ्यौ, मलाई ती यौनीहरूको याद आउँथ्यो, जहाँ म छिरेको त थिएँ, तर कहिल्यै जन्मन सकेको थिइनँ । लाग्थ्यो, मेरो जन्म योनीकै त्यो विराट शून्यमा कतै रुमलिएको छ । अल्झिएको छ । र, मेरो जन्म बाँकी छ । 

तिमी भन्थ्यौ, ‘म नछुने भएकी छु । त्यसैले अछुत भएकी छु । शास्त्रअनुसार, मैले छोएका चिजहरू मुर्झाइजान्छन् रे ! फूल पनि ओइलाइजान्छन् रे ! किनभने म पर सरेकी छु । धेरै पर । पुरुषहरूको सो–कल्ड शास्त्रीय विवेक र चेतनाभन्दा पर ।’

हो नि त ! तिमी पर सरेकी थियौ । यति पर कि सर्दै–सर्दै, सर्दै–सर्दै तिमी मेरो वर आइपुगेकी थियौ । मेरो वर–पर छाइरहेकी थियौ, कहिले आँसु बनी त कहिले 
अनिद्रा बनी । 

प्यारी भूषिता ! अब त अनिद्राको त्यो लामो एपिसोड समाप्त भइसकेको छ । दर्शक घर फर्किसकेका छन् । नीर शाह, ब्रजेश र घिमिरे युवराजहरू पनि आ–आफ्नो संसारमा व्यस्त भइसकेका छन् । ‘बाथ–टब’का सामान, कस्ट्युम्स र तिमीले लगाउने ग्रे–स्वेटरसमेत अब त शिल्पी थिएटरको गोदाममा थन्किसकेका छन् । 

अनिद्रालाई अब आफ्नो हृदयको चिहानमा गाडिदिनू । किनभने अब त नाटक सकिइसकेको छ । त्यसलाई फगत नाटक नै ठानिदिनू । पत्र–पत्रिकाहरूमा लेख, संस्मरण, कथा लेख्नू । जीवन र जगत्को गीत गुनगुनाउँदै अस्तित्वभरि शून्यसरि फैलनू । 

प्यारी भूषिता ! तिमी पुनः भूषिता वशिष्ठ, विशिष्ट बन्नू । अनिद्रा त मेरो परिकल्पना थियो, जसलाई श्वास भरेर तिमीले रंगमञ्चमा ज्युँदायौ । त्यसलाई फगत परिकल्पना नै ठानिदिनू । अनिद्रालाई अब आफूभित्र नबाँच्नू । भूषिता बनी जीवनका पे्रम, करुणा, श्रद्धा र आँसु साँच्नू । 
प्यारी भूषिता ! भूषिता भवः !

।। क्लोज–अप ।।
सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला । नेपाली रंगमञ्च त युगयुगान्तर बाँचिरहला, मै बरु मरेर वैकुण्ठ गइजाउँला । बैकुण्ठमा समेत थिएटरका देवदूत घिमिरे युवराजले मकन पे्रमपूर्वक– सरजी, नाटक चाहियो !– भन्ला । र, म मुस्कुराउँदै वैकुण्ठमा पनि नाटक लेखिरहुँला । अस्तु !