• वि.सं २०८२ असार १० सोमबार
  • Monday, 23 June, 2025
वसन्त थापा
२०७६ असोज ११ शनिबार ०७:३५:००
सम्झना

स्मृतिको टेपमा धरानका नाटक

सम्झना

२०७६ असोज ११ शनिबार ०७:३५:००
वसन्त थापा

कहिले–कहिले यस्तो खण्ड आइपर्छ, जब पुराना स्मृतिका टेपहरूलाई दराज वा घर्राबाट निकालेर धुलो टकटक्याउँदै खोल्नुपर्ने हुन्छ । अहिले मेरासामु ठीक त्यस्तै खण्ड आइपरेको छ । म तपाईंहरूलाई मेरा पुराना स्मृतिका टेप खोलेर केही सुनाउन जाँदै छु । मैले सुनाउन लागेको प्रसंगचाहिँ म हुर्किंदै गर्दा धरानमा हुने नाटकहरूका बारेमा हो । टेप पुरानो र डिजिटल प्रविधि आउनुअगाडिको भएको र सही तरिकाले स्टोरेज पनि हुन नसकेकाले बीचमा कतै–कतै अस्पष्ट र धुमिल हुन सक्ने सम्भावना रहेको पनि म अगाडिबाटै पाठकहरूलाई सचेत गराउन चाहन्छु ।

यो टेप प्रारम्भ हुन्छ, वि.सं.२०१४–२०१६ तिरबाट । नाटकबारेको मेरो निजी स्मृतिको टेप खोल्नासाथ स्वतः‘डिफल्ट’का रूपमा सामुन्ने आउने भनेको ‘हरिश्चन्द्र’ नाटक हो । ‘हरिश्चन्द्र’को अघिल्तिर ‘सत्य’ वा ‘राजा’ के विशेषण लागेको थियो त्यो अहिले म सम्झन्नँ । तर, नाटक हिन्दू पुराणमा वर्णित तिनै सत्यवादी राजा हरिश्चन्द्रको कथामा आधारित थियो । चतरालाइनस्थित धरान पब्लिक हाईस्कुलको ठीक सामुन्ने सडकको उत्तरतर्फ निकै फराकिलो र खुला ठाउँ थियो । त्यस खुला ठाउँको अन्तिम छोरमा थियो, धरान अस्पतालको मुर्दाघर । त्यस मुर्दाघरतिर हेर्न पनि हामी केटाकेटीलाई डर लाग्थ्यो । त्यही खुला ठाउँमा स्टेज बनाएर मञ्चन भएको थियो ‘हरिश्चन्द्र’ नाटक । 

हरिश्चन्द्रले आफ्नो सत्य वचनको पालना गर्ने सिलसिलामा राजपाट र महल गुमाएर सडकमा बास बस्नुपरेको हुन्छ । हुँदा–हुँदा उनकी रानी तथा एक मात्र पुत्र दासका रूपमा बेचिएर उनीसित छुटिन्छन् र एक चान्डालको कमारो बनेर आफूले समेत काँशीमा मुर्दा जलाउने काम गर्नुपर्छ । चान्डालका लागि उनले प्रत्येक लास जलाएबापत शुल्क उठाउनुपर्छ । कस्तो संयोग, एक दिन उनकी पत्नी तारामती सर्पको डसाइबाट मरेको पुत्र रोहितको सद्गतका लागि त्यही मसानघाटमा आइपुग्छिन् ।

तारामतीसित लास जलाउन चाहिने पैसा हुँदैन । हरिश्चन्द्र विनापैसा लास जलाउन तयार हुँदैनन् । शिरमा नातो बाँधेका चान्डाल भेषधारी हरिश्चन्द्रको चरित्रमा मञ्चमा देखिएका गोपालराज खनाल ‘कार कार कात्रो’ भन्दै आफ्नै पत्नीसित आफ्नै छोराको सद्गतका लागि पैसा माग्छन् । सद्गत गर्नलाई कात्रो चाहिन्छ, तर तारामतीसित कात्रो किन्ने पैसासमेत हुँदैन । तारामतीको भूमिका निभाएका शालिग्राम भट्टराई विलाप गर्छन्, ‘स्वामी मलाई चिन्नुभएन, यो हाम्रो छोरो रोहित हो ।’ हरिश्चन्द्र भन्छन्, ‘शैव्या, (तारामतीको बोलाउने नाउँ) म कर्तव्यले बाँधिएको छु ।’ शैव्या दुःख पुकारा गर्छिन्, ‘हे ईश्वर, म अबला के गरूँ ?’ दर्शकहरूमा ठूलो रुवाबासी चल्छ, विशेषगरी महिलावृन्दहरूमाझ । दर्शकहरूले औधी रुचाएको त्यो नाटक खुबै सफल मानिएको थियो उसवेला । 

गोपालराज खनाल लेखक पनि थिए । केही कालपछि उनले लेखेको यौनसम्बन्धी लेख राष्ट्रियस्तरमै निकै चर्चित र विवादास्पद बनेको थियो । शालिग्राम भट्टराई धरान नगरपालिकामा जागिरे थिए । मेरो बासित उनको मित्रता थियो, वेलाबखत हाम्रो घरमा पनि आइरहन्थे । त्यो नाटक हेरिसकेपछि जहिले भेटे पनि मेरो मनको आँखाले शालिग्राम भट्टराईलाई शैव्याकै स्वरूपमा पाउँथ्यो ।

मेरो अर्को निजी किस्सा पनि छ त्यस नाटकसित गाँसिएको । नाटकको स्टेज बनाउने तयारी चलिरहेका वेला स्कुलका हामी केही साथी रमिता हेर्न त्यहाँ गएका थियौँ । अलि छुकछुके र चञ्चले स्वभावको म यताउता गरिरहेको थिएँ, त्यत्तिकैमा मेरो दायाँ खुट्टा पञ्जातिरबाट भुइँमा खनेको प्वालमा पस्यो । प्वाल के भनौँ बाँसको घना गाड्न तयार पारिएको दुलो थियो त्यो । जति गरे पनि खुट्टा निकाल्न सकेको होइन । लाज पनि लागिरहेको थियो अनि डर पनि । सङ्कोच मान्दै साथीहरूलाई बोलाएँ । उनीहरू आए, तर खासै केही गर्न सकेनन् । आखिर त्यहाँ काम गरिरहेका ठूला मान्छे आएर खन्तीले खाल्डालाई ठूलो बनाए, अनि बल्ल मैले खुट्टा निकाल्न सकेँ ।

नाटकको पूर्वाङ्गको समयमै भएको यस घटनाले गर्दा पनि हरिश्चन्द्र नाटक मेरो सम्झनाको टेपमा नमेटिने गरी रेकर्ड भएको छ । त्योभन्दा दुई वर्षजति अघि हुनुपर्छ मैले अर्को नाटक हेरेको । त्यो पनि पौराणिक कथामा आधारित नाटक नै थियो, कालिदासद्वारा रचित ‘शकुन्तला’ । गणेश टाकिज उसवेला रत्नरोडमा थियो र टाकिज अगाडिको सडक उत्तरपट्टि ठूलो फाँट थियो, सानोतिनो फुटबल मैदानजत्तिकै फराकिलो । बजारको बीचमा रहेको त्यस ठाउँमा कहिले सर्कस आएर बस्थ्यो– बाघ, भालु, बाँदर, घोडा, हातीसहितको । सर्कसको खेल प्रायः राति हुन्थ्यो । हामी भने ठूला–ठूला खोरमा थुनिएका जनावरहरूलाई हेर्न दिउँसैदेखि सर्कस स्थलको चक्कर काट्ने गथ्र्यौं । 

त्यसै ठाउँमा मञ्चन भएको थियो– शकुन्तला नाटक । दुष्यन्त र शकुन्तला हुने को थिए मलाई सम्झना छैन, तर, कण्व ऋषिको आश्रममा पालिएका बालक भरतको भूमिका भने हामीभन्दा जेठा तर स्कुले ठिटा प्रभु श्रेष्ठले गरेका थिए । आश्रममा राजा दुष्यन्त प्रवेश गर्दा धनुषवाण बोकेका बालक भरतले कथोपकथनको सिलसिलामा ‘त्वमेव माता च पिता त्वमेव, त्वमेव बन्धु च सखा त्वमेव’ भनेर पूरै संस्कृत श्लोक फर्रर बोलेको म अझै सम्झन्छु । 

रिवाइन्ड– धनकुटा, वि.सं.२०१०/११

म जन्मनुअघि नै मेरा बा विराटनगर झर्नुभएको थियो । उतै कटनमिलतिर काम गर्न थाल्नुभयो अनि ००७ सालको क्रान्तिमा बन्दुक पनि बोक्नुभयो । पछि वहाँले जीविकोपार्जनका लागि गाडी चलाउनुभयो । उहाँकै पदचिह्न अनुशरण गर्दै मेरा माइला काका अनि उनका दाँवलका हाम्रा डाँडागाउँका केही तन्देरीहरू पनि गएका थिए, पछि उतै एक–एकवटा इलम गरेर बसेका थिए । त्यो वर्ष दसैँमा मेरा बा घर फर्कनुभएको थियो र मानौँ सल्लाह गरेरै, बासँगै गाउँका अरू धेरै पनि घर फर्केका थिए । बाले तिहारमा नाटक खेलाउने हुनुभयो र दसैँपछाडि रिहर्सल तथा अन्य तयारी सुरु भयो । हाम्रो घरको पिँढीलाई आड थापेर स्टेज उठाइयो । पिँढी र गाईगोठबीचको फराकिलो आँगन दर्शकदीर्घा बन्यो । मयन्टोल बालेर स्टेज र अगाडिको भागलाई उज्यालो पारियो, सिरवानीका गोरे साहुको घरबाट हार्माेनियम मागेर ल्याइयो । 

नाटकबारेको मेरो निजी स्मृतिको टेप खोल्नासाथ स्वतः ‘डिफल्ट’का रूपमा सामुन्ने आउने भनेको ‘हरिश्चन्द्र’ नाटक हो । ‘हरिश्चन्द्र’को अघिल्तिर ‘सत्य’ वा ‘राजा’ के विशेषण लागेको थियो त्यो अहिले म सम्झन्नँ । तर, नाटक हिन्दू पुराणमा वर्णित तिनै सत्यवादी राजा हरिश्चन्द्रको कथामा आधारित थियो ।

नाटक हेर्न गाउँका केटाकेटी, तरुनीतन्देरी अनि बुढाबुढीसमेत ओइरिएका थिए । तल सिरवानीबाट पनि मानिसहरू आएका थिए । मैले त्यो नाटक बज्यैको काखमा सुतीसुती हेरेँ । त्यस बखतसम्म म बज्यैको एक मात्र नाति थिएँ र अतिशय प्यारो थिएँ । नाटक हुने बखत म अलि बिरामी अवस्थामा थिएँ । दाहिने नलीहाडमा घाउ भएर पिप जमेको थियो । त्यसले मलाई चलहल गर्न नहुने बनाएको थियो । गाडे घाउ भन्थे पाकाहरू र नाटक हुने दुई दिनअघि मात्र मलाई सबैले थिचथाच पारेर घाउबाट पिप निकालिदिएका थिए ।

त्यस नाटकको लेखन, निर्देशन र गीत–संगीत गर्नेदेखि लिएर नायकसम्मको यावत् भूमिका बा एक्लैले निर्वाह गर्नुभएको थियो । माहिला काका र अरू तन्देरीहरूको भागमा स्त्री तथा अन्य सहायक पात्रहरूको भूमिका परेको थियो । नाटकको शीर्षक उसवेला त मलाई थाहा थिएन, अहिले त झन् सम्झने कुरै भएन । मभन्दा केही वर्ष मात्र जेठा मेरा कान्छा काका शिवशंकर थापालाई सोधेको थिएँ, उहाँलाई पनि त्यो नाटकको नाम याद रहेनछ । त्यस नाटकमा गाइएका दुईवटा गीतका सुरुका हरफ भने मलाईजस्तै काकालाई पनि याद रहेछ । एउटा गीत यस्तो थियो–‘केराको पातमा कातेको बत्ती दैलाको ठेलामा, विदेशबाट म फर्की आएँ के यस्तो वेलामा ।’ अनि अर्को एउटा गीत यस्तो थियो– ‘असारे झरीझैँ आँसुका धारा खलल बगेको ।’

काकाको भनाइअनुसार त्यो नाटक मञ्चन गर्नुको पछाडि मेरा बाको उद्देश्य आफ्नी आमाको दिल बहलाउनुथियो । किनभने मेरा बाजे ‘नयाँ मुलुक’मा काम गर्न लामो समयका लागि जाने गर्नुहुन्थ्यो र पाँच–पाँचजना छोराछोरीलाई लगभग बज्यै एक्लैले हुर्काउनुभएको थियो । त्यस सालको दसैँ–तिहारमा पनि बाजे अनुपस्थित नै हुनुहुन्थ्यो । जे होस्, त्यो नाटकको मूल विषय विदेश जाँदाको दुःख र घरपरिवारसितको बिछोडको पीडा थियो । नाटकमा नायकलाई विदेशबाट घर फर्केको देखाइएको थियो । 

फास्ट फरवार्ड । धरान, वि.सं.२०२१–२०२६ । 

मैले एसएलसी परीक्षा दिएको साल हो २०२१ । त्यही साल हो म लोकनृत्य संघमा लागेको । त्यसको हर्ताकर्ता सुरुमा वासुदेव थापा थिए क्यार, पछि राममोहन पलिखे बनेका थिए । धनकुटाको चुङवाङबाट झरेका नवीनकिशोर राई थिए हामीलाई नाच्न, गाउन, बजाउन सिकाउने हाम्रा निर्देशक । संघमा लागेर धेरै ‘सांस्कृतिक कार्यक्रम’मा नाचेँ–गाएँ र त्यसैको टोलीमा सामेल भएर कार्यक्रम गर्न बनारससम्म गएँ । केही नृत्य प्रदर्शन, केही गीत गायन, बीचमा प्रहसन वा एकांकी नाटकको मञ्चन आदिको मिश्रित प्रस्तुतिलाई उसवेला ‘सांस्कृतिक कार्यक्रम’ भन्ने गरिन्थ्यो । 

लोकनृत्य संघ जन्मनुभन्दा अगाडि नै धरानमा सांस्कृतिक संस्थान नामक संस्थाको स्थापना भइसकेको थियो, चन्द्रशेखर श्रेष्ठको नेतृत्व र पहलमा । चन्द्रशेखर राणाको समयदेखि नै संगीत र नाटकको क्षेत्रमा सक्रिय थिए भन्थे । तर, मैले उनको सक्रियता देखेको पञ्चायत सरकारको प्रारम्भिक समयताका नै हो । गोरा, अग्ला, हँसिला र मिजासिला चन्द्रशेखर आफैँ गीत लेख्थे, गाउँथे, बाजा बजाउँथे, नाटक खेलाउँथे र खेल्थे पनि ।

उनी वास्तवमा धरानको सांस्कृतिक फाँटको मियोझैँ थिए । त्यस मियोमा राधाकुमार उदास, मानबहादुर शाक्य, विष्णुकुमार हमाल प्रभृति र मेरा बा इन्द्रबहादुर थापा पनि सुरुसुरुतिर जोडिनुभएको थियो । हामी नौ–दश कक्षाको विद्यार्थी हुँदैदेखि धरानमा केटीहरू स्टेजमा निस्केर गाउने र नाच्ने चलन सुरु भइसकेको थियो । अब केटाले केटीको भेष धरेर नाच्नुपर्ने वा नाटक खेल्नुपर्ने अवस्था थिएन ।

केटी बनेर आँखा सन्काउँदै कम्मर मर्काउँदै नाच्ने यमकुमार राई ‘कान्छा’ नृत्यनिर्देशक भएर अरूलाई नचाउने भएका थिए । कालिका शर्मा थिए प्रहसन र क्यारिकेचर गर्नमा माहिर । दुवै सांस्कृतिक संस्थानसँग आबद्ध थिए । रामचन्द्र बनेपाली त सांस्कृतिक संस्थानका संगीत निर्देशक नै भइहाले । पियानो एकोर्डियन बजाउनेमा उनको जोडा धरानभर नै कोही थिएन ।

सांस्कृतिक संस्थानले प्रस्तुत गरेको नाटकहरूमा ‘शिलान्यास’ले निकै नाम कमाएको थियो । पृथ्वीनारायण शाहको जीवनमा आधारित ऐतिहासिक नाटक थियो त्यो । २०२५ सालमा काठमाडौं पनि आयो त्यो नाटक । राष्ट्रिय नाचघरमा देखाइएको त्यो नाटक हेर्न स्वयं राजा महेन्द्र पनि नाचघर पुगेका थिए । राष्ट्रिय नाचघरमा त्यही नाटकको मञ्चन हुँदा हो ‘म पत्थरको देवता होइन’ गीत गाएर दीप श्रेष्ठले ‘ब्रेक’ पाएको । 

‘फ्रेन्ड्स क्लब’ नामको संस्था थियो केदारनाथ श्रेष्ठको नेतृत्वमा चलेको । त्यो संस्था कांग्रेसी युवाहरूको क्लबका रूपमा चिनिथ्यो । फ्रेन्ड् सक्लबले एकपटक विजयबहादुर मल्लको नाटक ‘कोही किन बर्बाद होस्’ प्रदर्शन गरेको थियो शिवसिनेमा हलमा । उसवेला यस्ता नाटक वा सांस्कृतिक कार्यक्रम गर्ने ठाउँ त्यही सिनेमा हल थियो । अपराह्न ३ बजेदेखि म्याटिनी सो सुरु हुने हुनाले अरू जे–जस्तो कार्यक्रम भए पनि बिहान १०–११ बजेबाटै हुने गथ्र्यो । प्रोफेसर इन्द्रप्रसाद श्रेष्ठ नाटकमा प्रमुख पात्रको भूमिकामा थिए । उसवेला कलेजमा पढाउने सबै प्राचार्यलाई प्रोफेसर भन्ने चलन भएको हुँदा उनी प्रोफेसर कहलिएका थिए । नारी पात्रको भूमिकामा विष्णु रसाइली थिइन् कि जस्तो लाग्छ । 

त्यसवेला एउटा नाटक भएको थियो, त्यही शिव सिनेमा हलमा । अहिले नाम बिर्सें, त्यस नाटकमा लीला श्रेष्ठ (पहिला सुब्बा) को प्रमुख भूमिका थियो र साथमा हाम्रा टोल्याहा दाइ चक्र प्रसाईंले पनि अभिनय गरेका थिए, टाइसुट लगाउने एक पात्रको भूमिकामा । त्यो नाटकको मञ्चनपछि धेरै दिनसम्म चक्रदाइ फुरुङ्ग परेर हिँडेका थिए । 

म कलेजमा हुँदा, सायद २०२४–२५ तिर हुनुपर्छ, दार्जिलिङबाट हिमालय कला मन्दिरको टोलीका साथ गोपाल योञ्जन धरान आएका थिए, ब्रिटिस क्याम्पमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न । हरेक वर्ष दसैँका वेला कालरात्रिका दिन धुमधामसँग खानपिनसहितको समारोह आयोजना हुन्थ्यो घोपा क्याम्पमा । दिलमाया खाती र नर्तक देवव्रत ठटाल समाविष्ट त्यस टोलीका कलाकारलाई हाम्रो कलेजमा स्वागत गरेका थियौँ । पछि घोपा क्याम्पमा भएको उनीहरूको प्रस्तुति हेर्न म क्याम्पभित्रको आफ्नो कनेक्सनलाई उपयोग गर्दै गएको थिएँ ।

गोपाल योञ्जन, दिलमाया खातीले गाएका गीतहरूको रसास्वादन गर्नुबाहेक त्यहाँ प्रस्तुत गरिएको प्रहसनबाट म यति उत्फुल्ल भएर हाँसे कि पछाडिको खाना र बियरको टेबुल नै उल्टिएको थियो । धन्न पल्टने ‘मामाहरू’ले मलाई माफ गरिदिए । त्यस्तै वेलातिर हो, वामपन्थी धारका स्वतन्त्र समूहले ‘गंगालालको चिता’ शीर्षकको एउटा नाटक मञ्चन गर्न लागेको । त्यसमा लीला सुब्बाको पनि सहभागिता थियो । त्यो नाटकको रिहर्सलचाहिँ भयो, तर प्रशासनिक हस्तक्षेपका कारण त्यो मञ्चन भने हुन सकेन ।

काकाको भनाइअनुसार त्यो नाटक मञ्चन गर्नुको पछाडि मेरा बाको उद्देश्य आफ्नी आमाको दिल बहलाउनु थियो । किनभने मेरा बाजे ‘नयाँ मुलुक’मा काम गर्न लामो समयका लागि जाने गर्नुहुन्थ्यो र पाँच–पाँचजना छोराछोरीलाई लगभग बज्यै एक्लैले हुर्काउनुभएको थियो ।

यस्तै मञ्चन हुन नपाएको र रिहर्सलमै सीमित रहेको अर्को नाटक थियो ‘भूमध्य सागरमा लडाइँका नगडाहरू’ । धेरै साथीहरू संलग्न थिए त्यसको तयारीमा । फुस्रेका भगवान श्रेष्ठ निकै महत्वपूर्ण भूमिकामा थिए त्यसमा । विभिन्न कारणले त्यसको मञ्चन हुन सकेन, त्यो यसै तुहिन गयो । त्यसको तयारीको रोचक पक्षचाहिँ के थियो भने त्यो नाटक चीन र उसवेलाको सोभियत संघको घम्साघम्सी चलिरहेको माओयुगमा नेपालीमा प्रकाशित भएर आएको थियो । दुई ठूला कम्युनिस्ट मुलुकबीचको अन्तर्राष्ट्रिय मतभेदले गर्दा नेपाली कम्युनिस्टहरू पनि मास्कोपन्थी र पेकिङपन्थी दुई धारमा विभक्त भएका थिए । यस्तो अवस्थामा म धरानमा खोलिएको नेपाल–सोभियत मैत्री पुस्तकालयको लाइब्रेरियन भएको थिएँ र त्यस पुस्तकालयको माथिल्लो तलामा मेरै संयोजनमा चिनियाँ नाटकको रिहर्सल चलेको थियो ।

धरानको नाट्यकर्ममा लोकनृत्य संघमा लागेदेखि नै कुनै न कुनै रूपमा म संलग्न रहँदै आएको थिएँ, मेरो युवापनको जोस र सांस्कृतिक गतिविधिप्रति गहिरो अभिरुचिका कारण । यद्यपि नाटकमा अभिनय गरिहाल्ने अवसर भने त्यसवेलासम्म मलाई जुरेको थिएन । अन्ततः त्यो अवसर पनि जु-योे विसं. २०२६ मा । महेन्द्र कलेजको विद्यार्थी युनियनले कलेजको वार्षिकोत्सवमा विजयबहादुर मल्लको ‘बहुला काजीको सपना’ नामक नाटकको आयोजना गर्ने भयो ।

नाटकको निर्देशनको जिम्मेवारी कलेजबाहिरका गोपालराज जोशीलाई दिइयो । चिया–सिंगडा खाँदै कलेजमै गरिएको निकैदिनको रिहर्सलपछि पुस महिनाको एक दिन महेन्द्र कलेजकै प्रांगणमा हाम्रो चिरप्रतीक्षित नाटकको मञ्चन भयो । लाग्थ्यो त्यो साँझ पूरै धरानबजार उल्टिएको थियो हाम्रो कलेज परिसरमा । नाटकलाई यथार्थपरक बनाउन हामीले कुनै कसर बाँकी छाडेका थिएनौँ ।

काठका बाकलको साँच्चिकै भित्ता बनाएर स्टेजमा जोडेका थियौँ । गोविन्द विकल, सिर्जना भट्ट, म र एकजना थिए, चैनपुर–भोजपुर कतैबाट पढ्न आएका, नाउँ अहिले बिर्सिएँ । उनलाई हामी सबैजना ठुल्दाइ भनेर बोलाउँथ्यौँ । गरिब भरिया भक्ते बनेर खेलेका ती ठुल्दाइको म छोरा वीरे बनेको थिएँ नाटकमा । ठुल्दाइको अभिनयलाई एकदम स्वाभाविक भनेर सबैले सराहेका थिए । त्यसवेला नाटकका अतिरिक्त मैले एउटा प्रहसनमा पनि भाग लिएको थिएँ र एउटा युगल गीत पनि गाएको थिएँ पवित्रा रसाइलीसित । दीप श्रेष्ठले हार्मोनियम बजाएका थिए भने दिवंगत लाखबहादुरले तबला र मुगाधन राईले गिटार ।

विसं. २०२६ को फागुनमा म पहिलोपटक काठमाडौं आएँ घुम्न भनेर । तत्कालीन युवराज वीरेन्द्र र ऐश्वर्यको लगनगाँठो जोडिएको वेला थियो त्यो । खुबै रमिता भएको थियो । कलेजको वार्षिकोत्सव सम्पन्न भएको एक वर्ष पनि नपुग्दै म पढ्न भनेर काठमाडौं आएँ । त्यसपछि म अझै यतै रुमल्लिरहेको छु, आफूसँगै ल्याएका स्मृतिका टेपहरू बोकेर । अहिलेलाई मेरो टेप यहीँ समाप्त हुन्छ । मैले धरान छाडेपछि धरानमा भएका नाट्यकर्मबारे मपछिका भाइहरूले तपाईंहरूलाई कुनैवेला अवश्य सुनाउनेछन् ।