• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
किरण दहाल काठमाडाैं
२०७६ असोज ११ शनिबार ०७:५५:००
रिपाेर्ट

सहरका चौतारी

२०७६ असोज ११ शनिबार ०७:५५:००
किरण दहाल काठमाडाैं

थिएटर सञ्चालकहरूको अनुभव छ– नाटक हेर्न आउनेहरूको संख्या दिन–प्रतिदिन बढिरहेको छ । नाटकप्रेमीहरूको संख्या बढेकैले होला हिजोआज थिएटरमा दर्शकको आवतजावत बाक्लिएको छ । नाटकघरका प्रेक्षालय भरिभराउ देखिन्छन् । 

काठमान्डूमा सक्रिय रूपमा नाटक मञ्चन भइरहने र साहित्यिक, सामाजिक विषयमा बहस–छलफलहरू भइरहने थलोका रूपमा छन्– मण्डला थिएटर, कौसी थिएटर, थिएटर मल, कुञ्ज थिएटर, सर्वनाम, थिएटर भिलेज, शिल्पी थिएटर, राष्ट्रिय नाचघर । यिनमा नाटक मञ्चनबाहेक कविता वाचन, पुस्तक विमोचन तथा चर्चा र गजल– मेहफिल पनि आयोजना हुने गरेका छन् । फिल्महरू देखाउन थालिएको छ, फिल्मी विषयमा ‘डिस्कसन’ हुन थालेको छ । थिएटरमा साहित्य, समाज, संस्कृति र राजनीतिका विविध आयामबारे बहस हुने गरेको छ । सिर्जनशील अभ्यासहरूले थिएटरप्रति मान्छेको लगाव बढाइरहेको छ ।

सिर्जनशील मानिसहरूको भेटघाट गर्ने थलो पनि बनेको छ थिएटर । त्यहाँ आउने–जाने, गफ गर्ने, विचार आदान–प्रदान गर्ने, बहस गर्ने–गराउने थलोका रूपमा काठमाडौंका थिएटरहरूले महत्वपूर्ण भूमिका निभाइरहेका छन् । ‘शिल्पी’का सञ्चालक तथा रंगकर्मी घिमिरे युवराज भन्छन्, ‘रंगमञ्च पहिलेभन्दा बढी ‘भाइब्रेन्ट’ भएको अनुभव गरिरहेको छु । नाटकका साथै अन्य क्रियाकलाप पनि सँगसँगै भइरहने हुनाले मान्छेको आवतजावत पनि बाक्लिएको पाउँछु ।’

समाजका विभिन्न आयामबारे छलफल गरिने विभिन्न ठाउँ हुन्छन् । गाउँघरमा चियापसल हुन सक्छ अथवा चौतारी नै किन नहोस् ! सहरमा यसको दायरा अलि फराकिलो देखिन्छ । पुस्तकालय, थिएटर, विश्वविद्यालय, क्याफे, ग्यालरी वा अन्य सम्भावित क्षेत्र होलान् । यी सबै स्थानले आफूलाई ‘पब्लिक स्पेस’को रूपमा परिचित गराइरहेका छन् ।

थिएटरलाई एउटा सानो घेराभित्र मात्र सीमित गर्न नहुने लेखक अर्चना थापाको विचार छ । बरु अन्यत्र हुने पर्फमेन्सहरूलाई पनि थिएटरकै रूपमा बुझ्न सुझाब दिन्छिन् उनी । गुरुकुलबाट कविहरूले सडकमा कविता वाचन गरेको उनी सम्झिन्छिन् । भन्छिन्, ‘जनआन्दोलनको दौरान राज्यबाट दमन हुँदा विभिन्न थिएटरका कलाकार सडकमा आएका थिए ।’

यस्ता फरक–फरक थिएटरले ‘पब्लिक स्फेयर’को रूपमा उत्तिकै महत्वपूर्ण भूमिका खेलिरहेको थापाको विश्लेषण छ । आर्टलाई उनी बिलासिता मात्रै नभएर विरोधको शैलीका रूपमा पनि बुझ्छिन् ।थापाले भनेझैँ सार्वजनिक स्थानमा पनि विभिन्न पर्फमेन्सहरू भइनै रहेका छन् । बरु, यस्ता अभ्यासहरूको मात्रा बढिरहकै देखिन्छ । फरक–फरक ठाउँमा हुने कार्यक्रमले फरक–फरक रूपमा सन्देश दिइरहेकै छ । समाजका विभिन्न पक्षलाई लिएर बहस सिर्जना गरिरहेकै छन् । मान्छेहरू भेला भएर विभिन्न विषयमाथि छलफल गरिरहेकै छन् ।

२०औँ शताब्दीदेखि थिएटर हाउसले पब्लिक स्पेसको रूपमा काम गर्न थालेको बताउँछन्, प्रा. डा. अरुण गुप्तो । यसभन्दा अघि धनाढ्यहरूको मात्रै पहुँचमा रहेकाले यसलाई पब्लिक स्पेसको रूपमा व्याख्या गर्न नमिल्ने उनको भनाइ छ । ‘विगतमा थिएटर पैसावालाहरूको संरक्षणमा हुन्थ्यो । त्यो गरिबका लागि थिएन । अथवा, क्रिटिकल मान्छेका लागि थिएन । १९औँ शताब्दीसम्म पनि म्युजिक, नाटक, पेन्टिङ त उच्चवर्गका लागि मात्रै थियो । उनी भन्छन्, ‘तर, अरू विधाभन्दा थिएटरचाहिँ अलि बढी पब्लिक स्पेसको रूपमा प्रयोग भयो । हाम्रो समाजको कुरा गर्दा त ०६२/०६३ को जनआन्दोलनपछि यसले अत्यन्तै प्रभावकारी भूमिका खेलिरहेको देखिन्छ ।’

जनआन्दोलनको दौरान राज्यबाट दमन हुँदा गुरुकुलजस्ता थिएटरको भूमिका प्रभावकारी रहेको सम्झन्छन् गुप्तो । ‘राज्यले गुरुकुललाई संशयको रूपमा हेरेको थियो । तर, कलाकारहरूले विरोध गरेका थिए,’ उनी भन्छन् । हिजोआज थिएटरहरूमा नाटक मञ्चन मात्र नभएर विभिन्न सेमिनार, डिस्कसन प्रोग्रामहरू हुने भएकाले यसले आलोचनात्मक जमातलाई जन्माइरहेको गुप्तोको विश्लेषण छ । ‘जेन्डर, मानव अधिकारलगायत विषयमा बहस भइरहेपछि त्यहाँबाट आलोचनात्मक चेत बोकेको मास पनि तयार भइरहेको छ । त्यही त यहाँका मानिसको ‘बिह्याबियर’मा परिवर्तन आएको छ,’ उनी भन्छन् । 

सहरको सुन्दरता थप्न पनि थिएटरको भूमिका उल्लेख्य देख्छन्, घिमिरे । ‘मान्छेहरूको रुटिन जिन्दगी छ । आज जे भयो, भोलि पनि ठ्याक्कै त्यस्तै हुन्छ । यसले बोरिङ गर्छ,’ उनी भन्छन्, ‘थिएटर आउनुस्, तपाईंले मनोरञ्जन पाउनुहुन्छ । दुई–चारवटा नयाँ कुरा थाहा पाउनुहुन्छ । हतारको जिन्दगीलाई आराम दिलाउने ठाउँ पनि हो थिएटर ।’

थापाको विश्लेषण पनि उस्तै छ । व्यस्थताबाट भागेर मान्छेहरूसँग भेटघाट गर्ने ठाउँका लागि रंगमञ्चले महत्वपूर्ण भूमिका खेलेको उनी बताउँछिन् । रंगमञ्च, कला र अभिनय मात्र नभएर बौद्धिक बहस वा चिन्तनको ठाउँ पनि भएको विश्लेषण गर्छिन् । नाटक हेर्न जाँदा अन्य किसिमको बहस वा कलाहरूमा इङ्गेज हुन पाएको अनुभव छ, उनीसँग ।

बौद्धिक चिन्तन गर्ने यो ठाउँले सामाजिक सौहाद्रतापूर्ण वातावरणका लागि उल्लेख भूमिका खेलेको देख्छिन् । कौशी थिएटरकी सञ्चालक आकांक्षा कार्की अहिले नाटकघरहरू नाटक मञ्चन गर्ने स्थानमात्र नभइ अन्य विविध कार्यक्रम गर्ने थलोको रुपमा समेत प्रयोग भइरहेको बताउँछिन् । ‘पुस्तक विमोचन, अन्तरकृया, बहस, नाटक वर्कशप जस्ता गतिविधिहरू थिएटरमा भइरहेको छ,’ उनी भन्छिन् ।  

थापाको भनाइ छ– ‘शिल्पीकै कुरा गर्दा त्यहाँको डबलीमा बसेर किताब पढ्न पाइन्छ । आफ्नो भनाइ साट्न पाइन्छ । सर्वनाममा पेन्टिङ प्रदर्शनीमा राखिएको हुन्छ । नाटक हेर्न गयो, त्यहाँँ कलाको पनि संगम हुन्छ । थिएटर हाउसहरूले जीवनका महत्वपूर्ण विषय सोच्न मद्दत गरेको छ ।’

थिएटरप्रति नेपालीहरूको ‘बिह्याबियर’मा आएको परिवर्तनलाई दुईवटा पक्षबाट विश्लेषण गर्छन्, गुप्तो । पहिलो, पहिला–पहिला थिएटरको मूल्यांकन व्यक्तिगत रूपमा हुन्थ्यो, गरिन्थ्यो । त्यसलाई ‘-यान्डम इभ्यालुएसन’को रूपमा लिन्छन् उनी । दोस्रो, हिजोआज ‘क्रिटिकल इभ्यालुएसन’ हुन थालेको छ, पर्सनल रेस्पोन्स मात्रै हैन । यसलाई सामान्य मानिसमा आएको परिवर्तनको रूपमा व्याख्या गर्छन्, उनी ।

चुनौती छन्, तर गर्छौँ
 

 आकांक्षा कार्की संस्थापक, कौसी थिएटर

डेढ वर्षअघि पाँच–सातवटा चल्तीको थिएटरको माझमा हामीले कौसी थिएटर खोल्यौँ । भारतबाट कलाक्षेत्रमा स्नातक र मनाेविज्ञानमा मास्टर्स गरेपछि मैले थिएटर खोल्ने हिम्मत गरेकी हुँ ।

थिएटर चलाउन निकै चुनौती छ । चुनौती मोलेर रंगकर्म गर्दा आनन्द पनि लागेको छ । यस क्षेत्रमा पैसा कमाउन होइन, मनको सन्तोषका लागि लागेकी हुँ । समतामुलक र संवेदनशिल काम गर्ने थलाे बनाेस् भन्ने अपेक्षा हाे । 

थिएटर चलाउन युवा महिलालाई निकै गाह्रो छ । पारिवारिक सपोर्ट नै पाइँदैन । कतिपय छोरीलाई अभिभावकले जोखिमयुक्त काम गर्न दिँदैनन् । तर, मैले अभिभावकबाट सहयोग पाएकी छु ।

हामी अहिले नाटकको गुणस्तरीयतातिर लागेका छौँ । कम्तीमा सामाजिक मनोविज्ञान र महिला हिंसाविरुद्धका नाटकबाट महिलाको पक्षमा वकालत गर्न पाइयोस् भन्ने हो ।

थिएटरहरू प्रशस्त छन् । तर, नाटक गर्ने समूह भने बीस–पच्चीसवटा छन् । हामी कौसीमा वर्षमा ३ वटासम्म नाटक गर्दै आइरहेका छौँ । बाँकी समय अन्य समूहका नाट्यकर्मी साथीले नाटक मञ्चन गर्दै आइरहेका छन् ।

कोसी नयाँ थिएटर हो । यो ब्रान्डिङ हुन समय लाग्छ । हामी गुणात्मक र प्रभावकारी नाटकमा काम गर्न खोजिरहेका छौँ । जुन मुद्दाहरूमा विरलै काम हुन्छन्, ती  मुद्दाहरूलाई गहिराेसँग खाेजेर पहिल्याउने र काेसी थियटर मार्फत बाहिर ल्याउने उद्देश्य हाे ।