• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
राजव काठमाडाैं
२०७६ असोज १८ शनिबार १०:२५:००
साहित्य

त्यसपछि उसले काफ्कालाई भन्यो 

२०७६ असोज १८ शनिबार १०:२५:००
राजव काठमाडाैं

कथा

कतैबाट उसलाई फ्र्यान्ज काफ्काले हेरिरहेको रहेछ । ऊ भिसा काउन्टरको क्लर्कको कुरो सुन्दै थियो । अमेरिकी भिसाको लागि यो उसको सातौँ प्रयास थियो । काउन्सलरको क्लर्कले उसलाई पहिले जे सुनाएको हो त्यही सुनाइरहेको थियो, ‘तपाईं अमेरिका जानुपर्ने कुनै कारण देखिएन, सरी ।’ 
‘घुम्न जाने हो सर,’ उसले भनेको थियो । क्लर्कका ओठ पूर्वतः व्यंग्यपूर्ण लोप्रिएका थिए । त्यसको अनुहार एक कुटिल नाजीको झैँ लागिरहेको थियो उसलाई । उसको ओठ, मुख सुक्दै थिए । क्लर्क भन्दै थियो, ‘तपाईं फर्कनुहुन्छ भन्ने हामीलाई विश्वास छैन, सरी ।’ 
हरेकपटक उसलाई यही भनेर फर्काइएको थियो । यसपटक पनि त्यही भनियो । उसको हातमा क्लर्कले फिर्ता दिएको असफल पासपोर्ट थियो । उसको अनुहारको कतै पनि उज्यालो थिएन । जेठको चर्को घामको दिन थियो । घोर निराशाले अँधेरिएको अनुहार लिएर ऊ भिसा काउन्टरबाट हटेको थियो । फ्र्यान्ज काफ्का यथावत् उसलाई घुरिरहेको थियो । एम्बेसीको परिसरबाट हरेक दिन हजारौँ युवाहरू यसरी नै उदास, निराश र आत्महत्या गर्ने मनस्थितिमा फर्किने गरेको देख्ने गथ्र्याे काफ्का । त्यस्तै युवामध्येको उसले आज देखेको ऊ पनि एक थियो । ऊतिर हेर्दै काफ्का निकै पग्लिइरहेको थियो । ऊ कम्पाउन्डबाहिर निस्कने एक्जिट संकेततिर सुस्त बढ्दै थियो । कहीँ भिसा दिन डाक्न पो लाग्दै छन् कि भन्ने अधमरो आशामा वेला–वेला ऊ काउन्टरतिर फर्कन्थ्यो । र, झन् निराश हुन्थ्यो । ऊ पीडाले निकै निचोरिएको थियो । काफ्का विशेष उसको अनुहार घुरिरहेको थियो । उसका आँखाबाट आँसु तप्केका थिए । यो देखेपछि काफ्का झन् पग्लेको थियो । काफ्काले उसले आँसु पुछेको पनि देख्यो । काफ्का झन् भावुक भयो । गम्भीर हुँदै काफ्का ऊतिर बढ्यो । ऊ एक्जिट द्वारमा पुगिसकेको थियो । हतपत काफ्काले उसको कुम समायो । ऊ झस्केको थियो । फर्केर हेर्दा उसको पछाडि ख्याउटे अनुहार थियो । चुच्चे लाम्चो नाक खैरे अनुहार देखेर ऊ ‘हाई सर’ भन्न पुगेको थियो । तर, काफ्काले उसलाई भनेको थियो, ‘म सर होइन ।’
‘हो को त यो ?’ मनमनै गुन्दै ऊ वृद्ध काफ्काको निकै दुब्लो सुकेको अनुहार हेरिरह्यो । उसको अनुहारको प्रश्न चिहेन हेर्दै काफ्काले सोध्यो, ‘मलाई चिनेनौ ?’
‘अँ हँ ।’
चिनेको हुनुपर्ने भावमा काफ्काले भन्यो, ‘म काफ्का ।’
उसले विस्मय फाल्यो, ‘काका ?’
‘नो नो फ्र्यान्ज काफ्का के ?’
ऊ उस्तै विस्मयमा टोलाइरहेको थियो । काफ्काले फेरि आफ्नो नामामा जोड दिएर उसलाई सोध्यो, ‘साँच्चिकै फ्र्यान्ज काफ्काको नाम सुनेको छैन ?’ उसले बलात् भनेको थियो, ‘छैन ?’
काफ्काले आफ्ना कृतिहरूको नाम उल्लेख गर्दै उसलाई फेरि सोध्यो, ‘द ट्रायल, अमेरिका, मेटामोफोर्सिस लेख्ने लेखक फ्र्यान्ज काफ्काको नाम सुनेको छैन ?’
उसको जवाफ त्यस्तै बलात् थियो, ‘छैन ।’ 
‘कत्ति पढेको छौ ?’
‘एमए ।’
‘एमए ! अनि जर्मन भाषामा लेख्ने लेखक फ्र्यान्ज काफ्काको नाम सुनेको छैन ?’
‘जरुरी छ र ?’
‘जरुरी त छैन, तर एमए पढेको मान्छेले काफ्काको नाम सुनेको छैन भन्दा आश्चर्य लाग्यो ।’
उसलाई पनि काफ्का आश्चर्य लागेको थियो, जो उसको एमएको धज्जी उडाउँदै थियो । उसको पेट भिसा नलाग्नुको तनावले पोलिरहेको थियो । बाहिर निस्केर एक क्वार्टर भोड्का घटघट पिएर ढलूँ भइरहेको थियो उसलाई । तर, काफ्का उसमाथि झन् तनाव थपिरहेको थियो । ऊ फेरि एक्जिट द्वारतिर फर्कियो । काफ्काबाट मुक्त हुन लम्कन थाल्यो । 
‘पख्नुस् ।’
सडकमा गुडिरहेको कारको हर्नसँग मिस्सिएर आएको काफ्काको स्वर उसको कानमा बज्रियो । उसका गोडा अलमलिए । काफ्काले यसपटक हडबडाएर भन्यो, ‘पख्नुस्, पख्नुस् ।’
पछाडिबाट काउन्टरको क्लर्कले भिसा लिन आउनुस् भनेजस्तो आभास भयो उसलाई । यो आभास यथार्थ भइदिए उसका लागि कत्ति राम्रो हुन्थ्यो । तर, त्यो काफ्काको स्वर थियो जो उसलाई भनिरहेको थियो, ‘पख्नुस्, पख्नुस् ।’
ऊ बाध्य भएर अडियो । उसले काफ्का यथावत् स्थानमा उभिरहेको देख्यो । काफ्काले उसलाई सोध्यो, ‘तपाईं अमेरिका जान चाहनुहुन्छ होइन ?’
‘हो, तर भिसा दिएन ।’ 
यसपटक उसको निराशामा उग्र क्रोध मिसिएको थियो ।
‘कम हेर ।’ 
काफ्काले उसलाई आफूनजिक डाक्यो । ऊ काफ्कानजिक पुगिसकेको थियो । काफ्काले उसलाई सोध्यो, ‘अमेरिका किन जाने ?’
ऊ अकमकियो । काफ्काले फेरि भन्यो, ‘म एम्बेसीको मान्छे होइन, यथार्थ भन्नुस्, अमेरिका किन जाने ?’
‘काम गर्न ।’
‘काम गर्न ?’ 
‘हो ।’
‘त्यो त यहाँ गरे पनि भइहाल्यो ।’
‘पाइएको भए त हुन्थ्यो, त्यसैमा लाग्थेँ, यहाँ पैसा चढाई चढाई किन आउँथेँ ?’ 
‘कत्तिपटक एप्लाई गर्‍यौ ?’
‘यो सातौँपटक हो, तीन वर्षदेखि धाएकोधायै छु ।’
‘अब के गर्छौ ?’
‘थाहा छैन, एकपटक फेरि ट्राइ गर्छु कि ।’
‘अमेरिकामा कत्ति दुःख गर्नुपर्छ भन्ने थाहा
 छ तिमीलाई ?’
‘पुग्न पाएँ भने थाहा पाउँला ।’
‘धेरै दुःख हुन्छ, धेरै अपमान सहनुपर्छ ।’
‘यहाँ झन् अपमानित भएर बाँचेको छु ।’
‘तर तिमी जान्छौ कसरी ?’

‘एकपटक फेरि एप्लाई गर्छु ।’
‘यो सिसिफसको ताल हुन्छ, जतिपटक एप्लाई गरे पनि तिमीलाई दिँदैन भिसा ।’
ऊ झडंगियो, ‘यही भन्न डाकेको ?’
‘होइन होइन, तिमीलाई अमेरिका छिर्ने उपाय सुझाउन डाकेको हुँ ।’
‘भन्नुस् ।’
‘भन्छु, तिमीलाई उचित लागे मान्नु नत्र नमान्नु ।’ 
‘के हो त्यो ?’
‘त्यसको लागि तिमी साङ्लो बन्न तयार हुनुपर्छ ।’
‘अमेरिकाका लागि म बाघ, भालु, साङ्लो, अजिंगर, गँड्यौल जे बन्न पनि तयार छु ।’ 
‘हो के ?’
‘हो सर, भन्नुस् कसरी ?’ 
‘ल सुन, साङ्लो बनेर तिमी अमेरिकी डिप्लोम्याटहरूको ब्रिफकेस, कोटको खल्ती, लगेज, केहीमा पनि घुसेर सजिलै अमेरिका पस्न सक्छौ ।’
काफ्काको यो चामत्कारिक सुझाब थियो । उसको अनुहार उत्साहले चम्कियो । उसले सोध्यो, ‘अनि अमेरिका छिरेर म फेरि मान्छे हुन सक्छु त ?’
‘सक्छौ ।’
यस कुरामा उसलाई शंका थियो । तर, काफ्काले ‘सक्छौ’ भनेको सुनेपछि ऊ औधी खुसी भयो । काफ्का अगाडि भन्दै थियो, ‘अमेरिका पुगेर पहिले तिमी साङ्लोकै रूपमा घुम, त्यहाँको खानपान, हावा, हुरी, बतास, हिउँ, पानी हेर, विशेषतः नेपाली र अरू विभिन्न मुलुकका आप्रवासीहरूको दैनिकी हेर, तिनलाई हेरेर तिमीलाई बस्न मन लाग्यो भने मान्छे बन्नु, होइन भने साङ्लोकै रूपमा नेपाल फर्कनु कसो, इज नट इट गुड आइडिया ?।’
उसका आँखा चम्किए । भन्यो, ‘यस् ।’
काफ्काले सोध्यो, ‘रेडी ?’
ऊ रेडी भन्न आतुरियो, ‘एकदम रेडी सर, अब उपाय भन्नुस् साङ्लो नै भएर बसिरहन परे पनि म अमेरिका 
छोड्दिनँ किनभने नेपालमा मेरो उन्नति हुँदैन भन्ने मलाई थाहा छ ।’
‘घर कहाँ तिम्रो ?’
‘तराईमा ।’
‘तराइ कहाँ ?’
‘बारा जिल्लाको बन्जरिया गाउँमा, धेरै दुःख छ सर, खेतीपाती खास केही छैन, कष्टैकष्टमा हुर्केर पढेको हुँ, अमेरिका जान पाएँ भने घरपरिवारलाई सुख दिने थिएँ ।’
‘कसरी ?’
‘कमाएको डलर धमाधाम घर पठाउँछु नि ।’ 
‘घरमा को–को छन् ?’
‘सबै छन् ।’
यो जवाफमा काफ्का हाँस्यो । त्यस्तै मुद्रामा सोध्यो, ‘सबै छन् मा को–को छन् ?’ उसले आफ्ना बा, आमा, दिदी, बहिनी, श्रीमती भएको, तर छोराछोरीचाहिँ भइनसकेको जवाफ दिएको थियो । उसको यो सीधासाधा सोझो जवाफले काफ्का मुस्काएको थियो । सोधेको थियो, ‘के नाम तिम्रो ?’
‘रामदुलार भेडिहर ।’ 
बन्जरिया गाउँको भेडिहर टोलामा छ रामदुलार भेडिहरको घर । कुनै समय उसको परिवार भेडा पालन र त्यसको ऊनबाट कम्मल बुन्ने काम गथ्र्यो । यही काम गर्ने हुनाले उनीहरूको थर भेडिहर भएको हो भन्ने मान्छन् समाजविज्ञहरू । गाउँका सबै भेडिहरहरू बथानका बथान भेडा पाल्थे, आफ्ना भेडाहरूको ऊन कातेर कम्बल बुन्थे । र, बुनेका कम्बलहरू बजार लगेर बेच्थे । उनीहरूको मुख्य पेसा नै यही थियो । उसले काफ्कालाई कम्बल बुन्ने र भेडापालन गर्ने आफ्नो पुस्तौनी कामबारे यस्तै सुनाउँदै भन्यो, ‘तर, अब हामी यो काम गर्दैनौँ ।’
काफ्काले सोध्यो, ‘किन ?’

‘किनकि हामीले भेडा चराउने जंगलहरू सब नष्ट भइसके, हाम्रा भेडाहरू तिनै जंगलका घाँसपात र बुट्यानहरू चर्थे ।’
उसको कुरो सुनेर काफ्काले दुःखी अनुहार पा¥यो । आफ्नो जीवनकालमा काफ्काले पर्यावरणको यस्तो विनाश सुन्नुपरेको थिएन । ‘आख्यानका पात्र र परिवेशलाई झैँ सारा मरुभूमिलाई जंगलमा कायाकल्प गर्न पाए कस्तो हुन्थ्यो !’ भन्ने चिन्तन गर्दै अब उनीहरूको खाइजीविका के छ त भन्ने बुझ्न काफ्काले सोध्यो, 
 ‘अनि अब ?’ 
‘दश–आठ कट्ठा खेतबारी छ, त्यसैमा तरकारी खेती गर्छौँ, त्यसैको भरमा बाँचेका छौँ, मुस्किल छ सर, ऋणपान गरेर भिसाको दस्तुर जुटाएको, अब घर गएर भिसा लागेन भनेर कसरी सुनाउनु ?’ 
काफ्काले भन्यो, ‘धन्दा नमान, अब रूप फेर ।’
‘हुन्छ सर, मलाई कमिलो साङ्लो जे उचित हुन्छ बनाउनुस् ।’ 
‘त्यसका लागि तिमीले ग्रेगोर साम्सासँग भेट्न जरुरी छ, उसैले तिमीलाई साङ्लो बन्ने मन्त्र सुनाउँछ, त्यसैलाई जपेर तिमी साङ्लो हुनेछौ ।’

‘उहाँ कहाँ हुनुहुन्छ सर ? म अहिल्यै भेट्न जान्छु ।’ 
‘ऊ मेरो आख्यानको किताब मेटामोर्फाेसिसमा छ, त्यसलाई तिमी एमए पासले पहिल्यै पढेको भए अहिले कस्तो सजिलो हुन्थ्यो ।’
‘अब पढ्छु सर, कहाँ पाइन्छ ?’
‘काठमाडौंका बागबजार, जमल, थापाथली, झाेंछे, महांकालथान र ठमेलका बुकसपहरूमा पाइन्छ ।’ 
‘हस् सर म आजै किन्छु, भरे नाइटबसमा फर्किन्छु, घर पुगेर त्यसलाई गाउँको बरगदको रूखमुनि बसेर पढ्छु,’ उसले आफ्नो योजना सुनायो । र, काफ्काले भन्यो, ‘तिमी तयार भएपछि मलाई फोन गर्नु ।’
‘अनि तपाईंको फोन नम्बर ?’
‘मोबाइलको स्पिकरमा मेरो नाम फ्र्यान्ज काफ्का भन्नु, म हावामै हुन्छु बोली हाल्छु ।’
‘हस् सर ।’
‘फोनमा म तिमीलाई कुन अमेरिकी डिप्लोम्याटको लगेज वा कोटको खल्तीमा घुस्ने हो भनौँला ।’
‘हस् सर ।’
‘फोनमै म तिमीलाई काठमाडौं आउने दिन भनुँला ।’
‘हस् सर ।’
‘अनि त्यसै दिन तिमी काठमाडौं आउनु र कुनै एक लजमा बस्नु ।’
‘हस् सर ।’
‘लजको खाटमा साम्साले भनेको मन्त्र जपेर सुत्नु, बिहान उठ्दा तिमी एकदम सानो साङ्लो हुनेछौ ।’
‘हस् सर ।’
‘अनि म तिमीलाई अमेरिका उड्ने तयारीमा रहेको डिप्लोम्याटको लगेज, ह्यान्डक्यारी वा कोटको खल्तीमा घुस्न स्कर्टिङ गरुँला ।’ 
‘हस् सर, थ्यांक्यु सर ।’
‘नो प्रोब्लेम, गुड लक ।’
‘थ्यांक्युु सर ।’
भिसा नलाग्नुको पीडा ऊभित्र छड्की नै रहेको थियो । त्यसलाई काफ्काको तिलस्मी उपायले बिस्तारै शान्त पार्दै थियो । काफ्कासँग बिदा भएर ऊ जमल जाने टेम्पो चढेको थियो । एकछिनमा ऊ उम्न थाल्यो । उँघ्दै उँघ्दै ऊ सपना देख्दै थियो । सपनाका सुरुका दृश्यहरू उसले बिस्र्याे । सायद ती राम्रै थिए होलान् । तर, अन्तिम दृश्यहरू डरलाग्दा थिए । ऊ कतै एकान्तमा ढलेको थियो । र, हजारौँ साङ्लाहरू ऊमाथि चढ्दै थिए । चढिसकेका केही साङ्लाहरूले उसको नाक, कान, आँखा खाने सुरले टोक्न थालेका थिए । ऊ उठ्ने कोसिस गर्दै थियो । तर, सकिरहेको थिएन । ताँतीका ताँती साङ्लाहरूको उसको जिउमा चड्ने क्रम चलिरहेको थियो । उसको उठ्ने कोसिस पनि जारी थियो । साङ्लाहरू उसलाई टोक्न थालेका थिए । ऊ उठ्न बल गर्दै थियो । कानतिर झुम्मिएका साङ्लाहरूले उसको दुवै कान खाइसकेका थिए । आँखाको डिलमा चढेका साङ्लाहरू उसको आँखा निकाल्ने प्रयत्नमा थिए । उसको उठ्ने कोसिस विफल भइरहेको थियो । डरले ऊ एकाएक करायो । ट्याम्पोका अरू सवारहरू झस्किए । ड्राइभरले जोडले ब्रेक लगायो । टेम्पो एकाएक सबैलाई झट्का दिएर रोक्कियो । त्यसको तोडले पेसेन्जरहरू एक–आपसमा ठोक्किए । पछाडि पेसेन्जरतिर फर्किएर झोक्किँदै ड्राइभरले सोध्यो,
‘के भयो ?’
कुनै पेसेन्जरले उसलाई देखाएर ड्राइभरलाई भन्यो,
‘उहाँ भैया डरलाग्दो सपना देखेर झस्कनुभएको हो, खास केही होइन, ड्राइभर सा’ब जाऔँ ।’
टेम्पोले फेरि रफ्तार लियो । ऊ लजाउँदै आँखा माडिरहेको थियो । ऊसँगैको पेसेन्जरले उसलाई सोध्यो, ‘घर कहाँ भैया ?’
उसलाई भैया सम्बोधन तिखो सुइरो लाग्यो । यो शब्द आफैँमा खराब थिएन । तर, भन्नेको टोनले यसलाई खराब पारेको थियो । अमेरिका पुग्न पाएँ भने यस्ता प्रश्नहरूबाट बिल्कुल मुक्त हुनेछु भन्ने सोच्दै उसले जवाफ दिएको थियो, ‘बारा जिल्ला, बन्जरिया गाउँ ।’
ऊ राति नौ बजेको कलैया जाने रात्रिबसमा चढेको थियो । ऊ त्यसको सिट नम्बर चौधमा बसेको थियो । उसको हातमा काफ्काको ‘मेटामोफोर्सिस एन्ड अदर स्टोरिज’ थियो । बसमा पढ्ने सुरले त्यसलाई ब्याकप्याकमा नराखेर हातमै अँठ्याएर उक्लिएको थियो ऊ । दिउँसो काफ्काले सल्लाह दिएअनुसार ऊ जमलको पुस्तक पसलमा पुगेको थियो । अक्स्फोर्ड युनिभर्सल प्रेसले अक्स्फोर्ड ओरल्र्ड क्ल्यासिकअन्तर्गत छापेको त्यो किताब उसले सात सय हालेर किनेको थियो । जीवनमा पहिलोपटक उसले कोर्सबुकबाहेक यत्ति धेरै पैसा हालेर त्यो किताब किनेको थियो । बसमा चढेर किताब पल्टाउनेबित्तिकै उसको भेट भर्खरै एउटा ठूलो साङ्लोको रूपमा बिउँझिएको अनर्थको किट ग्रेगोर साम्सासँग भएको थियो । ग्रेगोर साम्सालाई उसले चार पेजसम्म पढेको थियो । त्यसको सुरुकै वाक्य ‘जसै ग्रेगोर साम्सा एउटा त्रासद सपनाबाट के बिउँझिएको थियो, उसले आफूलाई एउटा भयंकर कीटमा बदलिएको पायो ।’ काफ्काको साम्सा जीवित, तर मुढोजस्तो भयानक कीट भएको थियो । ऊ पढाइको आश्चर्य र उत्तेजनामा थियो । हठात् ड्राइभरले बसभित्रको बत्ती झ्याप्प पारिदियो । नत्र ग्रेगोर साम्सासँग उसको संवाद जारिरहने थियो । बत्ती झ्याप्प हुनासाथ उसले ग्रेगोर साम्सालाई अर्थात् मेटामोफोर्सिस ब्याकप्याक भित्र छिरायो । र, आँखा ढप्कायो । दुई रातको अनिँदो निद्राको लोडले उसका आँखा चुलिएका थिए । आँखा चिम्लिएको एकाध मिनेटमै उसका आँखा लट्ठिन थालेका थिए । न साङ्ला, न भिसा, न काफ्का, न ग्रेगोर साम्सा न उसको भद्दा कीट रूप, यस्तो केहीको सपना नहेरी ऊ भुस्कुट निदाएको थियो । यसकारण बिहान बिउँझिएर उसले मनमनै भनेको थियो, ‘धन्यवाद निद्रा ।’ 

कलैया बजार बसको अन्तिम बिसौनी थियो । बस आठ बजे पुगेको थियो । बाहिर घाम चर्किन थालेको थियो । ऊ बसबाट ओर्लनासाथ यताउता हेर्नु सट्टा चिम्सा आँखा पार्दै आकाश हेर्दै थियो । बादलविनाको आकाशले गर्दा वातावरण शीतल हुने सम्भावना बिल्कुल थिएन । बजारका किराना पसल र होटेलहरू खुलिसकेका थिए । होटेलका कराईमा जलेवी र कचौडी पाक्दै थिए । तिनको वासना उसको नासिकाभित्र छिरेर उसलाई उद्गमतिर आकर्षित गर्दै थिए । तर, ऊ सीधा गाउँको बाटो लागेकोलाग्यै गरिरह्यो । काफ्काको मेटामोफोर्सिस उसको ब्याकप्याकभित्र लुंगी र गम्छासँगै थियो । ब्याकप्याक उसले कुममा झुन्ड्याएको थियो । बजार छिचोलेर ऊ गाउँको बाटो लागिसकेको थियो । हिँड्दै उसको सोचमा फेरि मेटामोफोर्सिस आएको थियो । साम्साको हालको बयान सम्झेर उसको मुटु हल्लिन थालेको थियो । उसै पनि घामको रनकले उसको छाला सुक्दै थियो । यस्तोमा साम्सा सम्झेर उसका ओठमुखसमेत सुक्न थालेका थिए । आफ्नो ढाडमा टाँस्सिएको ब्याकप्याकभित्र मेटामोफोर्सिस नामको किताब होइन, ग्रेगोर साम्सा नामको ठूलो घिनलाग्दो किरो बोकेर हिँडिरहेको भान भइरहेको थियो उसलाई । ऊ त्रस्त सोच्दै थियो, कहीँ म साम्साजस्तै मुढो रूपी भयंकर घिनलाग्दो किरो भएँ भने ? तर, उसलाई काफ्काले आफ्नो कानमा यस्तो भने जस्तो लाग्यो, ‘मिस्टर रामदुलार भेडिहर, त्यो मेरो एक सय वर्ष पुरानो प्रयोग थियो, अब नयाँ प्रयोगमा तिमी उड्न सक्ने अत्यन्त चेतनशील सचेत साङ्लोे हुनेछौ ।’
‘हस् सर ।’
गाउँका फाँटहरूका खेत–खेतमा छरेका गहुँबाली काट्ने अवस्थाका भइसकेका थिए । पूरै फाँट सुनमय पहेँलपुर देखिन्थे । तिनलाई आकाशबाट झरेका घामले झन् चम्काइरहेका थिए । पाकेका गहुँ बाली विस्तारित पहेँलपुर फाँट हेर्दै ऊ मुग्ध भएको थियो । सोच्दै थियो ‘अमेरिका जान पाएँ भने म पनि यसै गरी गहुँ फल्ने दश, आठ बिघा खेत किन्नेछु ।’  
सडकको अलि परको खाली खेतको आलिमा उत्तिम राउत दिसा बस्दै थियो । उसको अघिल्तिर पानीले भरिएको पित्तले लोटा थियो । सडकमा लम्किरहेको उसलाई देख्नेवित्तिकै बसेकोबस्यै कराउँदै त्यसले उसलाई सोधेको थियो, ‘अरे ओ ! रामदुलरवा भिसा लाग गैल ?’
अब भो ! यसलाई कसरी थाहा भयो म काठमाडौं गएको ? उसको दिमाग झनन्न गर्‍यो । त्यही झोकमा उसले भन्यो, ‘हाँ लाग गैल ।’ 
यसपछि उत्तिमले केही भनेन । ‘ना लागल स भनेको भए खुसी हुने थियो वनबोको,’ क्रूद्ध हुँदै उसले सोच्यो । ऊ गाउँ छिरिसकेको थियो । उसको शरीर पसिनाले आधा भिजिसकेको थियो । घरीघरी रसाउने अनुहारको पसिना ऊ गम्छाले पुछ्दै लम्किरहेको थियो । उत्तिमले जस्तो फेरि कसैले उसको भिसाका बारेमा नसोधून् भन्ने कामनामा थियो ऊ । आधा गाउँलेलाई उसको भिसा नलागिरहेकोबारे थाहा थियो । उसको भिसा नलागेकोबारे धेरै खुसी नै थिए । तिनलाई देखाउनकै लागि पनि उसलाई अमेरिका जानु थियो । उसको भिसाबारे कोट्याइरहनेहरूसँग ऊ आजित थियो । त्यस्तै नाक सुँघवा भिखारी धानुक आफ्नो घरअगाडिको ट्युबेलछेउ उभिएर दतिवनले दाँत रगड्दै थियो । उसलाई देख्नेबित्तिकै मुखभरिको थुक पिच्कार्दै त्यस नाक सुँघवाले सोध्यो, ‘लागगैल भिसा ?’
‘हाँ ।’
उसको ‘हाँ ।’ सुन्नेबित्तिकै नाक सुँघवाले दतिवन फेरि मुखमा घुसार्‍यो । अब जत्तिले सोध्छन् सबलाई यो सजिलो जवाफ ‘हाँ’ भन्छु भन्ने निर्णयमा अघि बढिरहेको थियो ऊ । अगाडि कतिपयले उसलाई घुरे मात्र । तर, आफ्नो घर पुग्ने वेलामा पार्टी घुमफिर गरिरहने एक फटाहा नेताजी भेटिए । सत्ताबाट झरेको पार्टी छोड्ने र सत्तामा चढेको पार्टी प्रवेश गरिहाल्ने हुनाले उसलाई पार्टी घुमफिर फटाहा नेता भन्थे गाउँले । उसको खास नाम काशीदेव तिवारी थियो । गाउँमा अरू पनि पार्टी घुमफिर व्यक्तित्व थिए । त्यसकारण पार्टी घुमफिर कुन फटाहा भनेर चिन्नु–चिनाउनुपर्दा उसलाई उही काशीदेव तिवारी भन्नुपथ्र्यो । अरूको हकमा पनि यही हो । उसलाई देख्नासाथ काशीदेव तिवारीले सोधिहाल्यो, ‘लागल ?’
यो पार्टी घुमफिर फटाहा काशीदेव तिवारीलाई बाहुन भएकाले गाउँका अबाहुन जत्ति सबै पण्डितजी भन्थे । उसले पनि त्यही जोडेर भन्यो,‘हाँ पण्डितजी ।’ 
‘बधाई हो बधाई, अब भोजभतरिया कब होई ?’
‘होइनु पण्डितजी,’ भन्दै ऊ लम्कियो । काशीदेव तिवारी एकछिन ऊसँग गफ्फिन अडिएको थियो । तर, यो फटाहासँग बकबकिनुनपरोस् भन्ने सोच्दै उसले आफ्नो गति चर्काएको थियो । काशीदेव हेर्‍याहेर्‍यै भयो । 
घर पुगेपछि उसको पहिलो दर्शन बूढो भुत्ले भेडोसँग भएको थियो । भेडाका बथान पाल्न छोडे पनि एकाध भेडो उनीहरू पाल्ने नै गरिरहेका थिए । उसलाई देख्नेबित्तिकै घरका सबैले सुन्ने गरी त्यो कराएको थियो ‘भ्याँ ।’ भेडोले त्यसरी कराएर सबलाई रामदुलारले भिसा लेर आयो भनेर सुनाएजस्तो लाग्यो उसलाई । भेडोले उसलाई के भयो भनेर नसोधेकोमा ऊ खुसी भयो । किनभने ऊ भेडोलाई ढाँट्ने विचारमा थिएन । भेडोलाई पनि के ढाँट्नु भन्ने उसको वैचारिक सोच थियो । त्यसकारण भेडोले उसलाई ‘लागल ?’ भनेर सोधेको भए ऊ भन्ने थियो ‘नाँ ।’ भेडोको अनुहार उसै पनि निरासिलो हुन्छ । त्यसमाथि उसले ‘नाँ’ भन्दिँदा भेडो निकै उदासिलो देखिने थियो । तर, यो परिस्थिति आएन । कृतज्ञ भएर उसले भेडोको खप्पर र सिङ सुमसुम्यायो । उसको हातको मायालु स्पर्श पाएर भेडो आँखा चिम्लिएर कन्याइदिरहोस् भन्ने सोचमा आनन्द लिइरहेको थियो । उसको बाउ भाजन भेडिहर निमको दतिवनले दाँत माझ्दै आँगनमा टुप्लुकियो । उसको देब्रे हातमा दिसा धुने लोटा र दाहिने हातमा निमको डाँठको दतिवन थियो । ऊ फाँटतिर दिसा बसेर दतिवन गर्दै फर्किएको थियो । छोरोलाई देख्नासाथ सोध्यो, ‘आगैल ?’ ‘हाँ ।’ भिसा लागे नलागेको बुझ्न बाउले सोध्यो, ‘मिलल कि ना ?’ 
उसले पनि फुर्तिलो ब्याकप्याकभित्र हात कोच्यो । फुत्त मेटामोफोर्सिस बाहिर झिक्यो । र, बाउको आँखातिर तेस्र्याउँदै भन्यो, ‘यी किताबवा देलेबा ।’
‘उहे भिसा ह का (त्यै हो भिसा ?)’ झनक्क रन्किएर उसको बाउले सोध्यो । 
‘हैन, बाबुजी यो किताब हो ।’
उसको बाबुजीका नाक, कान, आँखा सब क्रूद्ध भए । त्यही मुडको दृष्टिले हेर्दै उसले रामदुलारसँग सोध्यो, ‘अनि ?’
आफ्नो ढाँटमा बाउलाई विश्वास गराउन उसले भन्यो, 
‘यो किताब पढेर, आइज, भिसा दिन्छु भनेको छ ।’ 
छोरोको भिसा दौडले आजित भइसकेको थियो भाजन भेडिहर । एक, दुई, तीन, चौथो, पाँचाैं, छैटौँ पटकसम्म पनि भिसा नलागेपछि अब यसको भिसा लाग्दैन भन्नेमा थियो ऊ । सातौँ प्रयासपछि छोरोले ल्याएको भिसा लगाउने किताब अपत्यारिलो आँखाले हेरिरहेको थियो ऊ । उसको मनमा अर्को आशंका उब्ज्यो र क्रुद्ध मुद्रामै सोध्यो, 
‘फेरि भिसाको पैसा भर्न पर्ने होला हैन ?’ 
‘हैन बाबुजी पर्दैन, बस यो किताब पढेर एक हप्तामा जानुपर्छ, यसबाट केही कुरा सोध्छ अनि भिसा दिन्छ ।’ 
छोरोको कुरामा विश्वास गर्न बाध्य हुँदै थियो ऊ । थप विश्वस्त हुन छोरोको हातको किताब हेर्दै ऊ सोध्छ, ‘अंग्रेजी मे लिखल बा का ?’ 
‘हाँ ।’ 
यो सुनेपछि छोरोको कुरामा थप विश्वास भएको थियो उसलाई । हाँ पछि उसले किताबका पन्नाहरू पल्टाएर देखाउँदै भनेको थियो,
‘है देख ।’
उसको र बाउबीचको संवाद ओसारामा बसेकी उसकी स्वास्नीले पनि सुनेकी थिई । पछि, यताउति अरू कोही नभएको मौकामा उसले लोग्नेसँग सोधी, साँच्चिकै हो के ?’ 
‘हो ।’ 
त्यसको भोलिपल्टै उसले तीव्र गतिमा मेटामोफोर्सिस पढिसिध्यायो । ग्रेगोर साम्साको हालत पढेर ऊ एकदम आत्तिएको थियो । कहीँ मैले त्यस्तै हालमा मर्नुपर्‍यो भने नि ? यो प्रश्न उसले आफैँसँग मनमनै गरेको थियो । तर, काफ्काले उसको कानमा फुसफुसाएर साम्साजस्तो नहुने आश्वासन दिएको थियो । काफ्काले उसलाई भनेको थियो, ‘मिस्टर रामदुलार भेडिहर, ग्रेगोर साम्सा मेरो असफल प्रयोग थियो, तिमी रामदुलार भेडिहर मेरो सफल प्रयोग हुनेछौ, ढुक्क हौ, ओके ?’
‘ओके सर ।’
त्यसपछि उसको मानसिकता विस्तार साङ्लोे हुने प्रक्रियामा विकास हुन थाल्यो । साङ्लो हुनुबाहेक उसको अर्को विकल्प पनि थिएन । बाउ, आमा, स्वास्नी, घरको भेडोसम्मले उसको भिसा लाग्ने कुरोमा विश्वास गरेका थिए । त्यसकारण ऊ साङ्लो हुने नै भयो । उसले काफ्कालाई फोनमा भन्यो, ‘सर म साङ्लो हुन्छु, कहिले आऊँ ?’