कविता
अब मन्दिर मानिसहरूलाई यातना घर बनेको छ
मन्दिरमा जलिरहेको धूपमा अब युद्धभूमिबाट आइरहेको धुवाँ गन्हाउँछ
सहन नसकेर धुवाँको त्यो गन्ध
मानिसहरू नाक छोप्न थालेका छन् ।
मन्दिरमा बज्ने शंख र घण्टको आवाज अब
आफ्नो छेवैमा पड्किएको बमको आवाजजस्तो लाग्न थालेको छ
सुन्न नसकेर त्यो बमको आवाज मानिसहरू कान छोप्न थालेका छन् ।
अब चन्दन र फूलपातीमा कुनै सुगन्ध छैन
तिनीहरूबाट ग्याँस च्याम्बरबाट आइरहेको विषालु ग्याँसको
दुर्गन्ध आउँछ ।
अब मन्दिर मानिसहरूलाई यातना घर बनेको छ
र, अब मानिसहरू शिर निहुराएर कुनै आशीर्वाद थाप्न तयार छैनन्
कुनै पुजारीले अब पुराण हाल्नु पर्दैन मण्डपमा बसेर
कुनै ऋचा, श्लोक वा वेदध्वनि उच्चारण गर्नुपर्दैन
पुजारीको हरेक उच्चारणले अब
मानिसहरूलाई तिखो वाणले जस्तो घोच्न थालेको छ
र, मानिसहरूले घाउको त्यो कठोर पीडा बुझिसकेका छन् !
मानिसहरूले कुनै पाप वा अपराध गरेका छैनन्
र, कुनै पतित पुजारीले तिनीहरूलाई चोख्याउनु पर्दैन
मानिसहरूलाई कुनै पारलौकिक पुण्य चाहिएको छैन
र, पाप र पुण्यको नाटक खेलाएर अब
कुनै धर्म जुलुसमा नारा लगाउँदै परेडमा हिँडाउनुको कुनै औचित्य छैन
बस्, अब कुनै आस्था बचेको छैन
विश्वास बचेको छैन
कुनै कोटी होम वा महायज्ञको षड्यन्त्र रचेर
मानिसहरूलाई कुनै भुलभुलैयामा भुलाउनुको कुनै अर्थ छैन !
मानिसहरूको बस्तीमा देवताको ढोंग रच्दै
कोही नओर्लिए हुन्छ अब
कोही आफूलाई बलि चढाउन तयार छैन
कोही भोग दिन तयार छैन !