• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
आन्विका गिरी काठमाडाैं
२०७६ असोज १८ शनिबार ११:०८:००
साहित्य

त्यही भएर मैले भनिनँ

२०७६ असोज १८ शनिबार ११:०८:००
आन्विका गिरी काठमाडाैं

कथा

शैलेशको फोन आउँदा म गाडी चलाउँदै थिएँ । गाडी कतै साइडमा लगाएर उठाउँला भन्दाभन्दै रिङ आउन बन्द भयो । आरामले गाडी रोकेर कल ब्याक गरुँला भन्ने सोचेको थिएँ, फेरि आयो । दुई–दुई चोटी गरे, केही जरुरी होला भनेर ट्राफिक नियमलाई बेवास्ता गरेर उठाएँ । 
‘बुबा ज्योतिलाई सम्झाउनुस् त,’ उसले मेरो हलोको केही जवाफ नदिई सीधै भन्यो । 
‘के भो र ?’ म हाँसेँ, ‘के गरी ?’
‘डिभोर्स फाइल गरेकी छे,’ ऊ रिसायो, ‘केही थाहा नपाएजस्तो गर्नुहुन्छ !’
घच्याक्क ! ब्रेक लगाएँ मैले । उसै त जेठको गर्मी, त्यसमाथिको यो खबर ! मेरा दुवै कन्सिरीबाट तरर पसिना चुहिए । भर्खरै सुनेको कुरामा पटक्कै विश्वास लागेन । तर, प्रस्टसँग शैलेशले भनेको हरेक शब्द मैले सुनेको थिएँ । ज्योतिले किन यसो गरी भन्नेतिर मैले सोच्दै सोचिनँ । यति ठूलो कुरा उसले मसँग एकवचन पनि सल्लाह गरिनँ । मेरो पाइताला जमिनमुनि भासिएजस्तो भयो । 
पछाडिबाट एकसाथ एक दर्जन गाडीले पिपिपी... गरेजस्तो चर्को आवाज आएपछि आफूले बीच सडकमा गाडी रोकेको आभास भयो । गाडी बढाएँ । घरदेखि ४ किलोमिटर पर अनामनगरमा थिएँ । ज्योतिलाई फोन गरेर तुरुन्तै सोधूँजस्तो लागेको थियो । ज्योति घरै आएकी थिई, एक हप्तादेखि । 
‘शैलेश खै त ?’ मैले सोधेको थिएँ । 
‘शैलेश बाहिर गको छ,’ ज्योतिले मेरो मुखमा नहेरी जवाफ दिएकी थिई । 
मैले पनि थप सोधखोज गरेको थिइनँ । छोरी घर आएर मलाई त रमाइलै भएको थियो । सधैँका लागि आएकी हो भन्ने थाहा हुँदा भने मेरो ओठतालु सुक्यो । 
न्यू प्लाजाको जाम अरू दिनभन्दा बढ्तै थियो । मलाई त्यस्तो लागेको पनि हुन सक्छ । भृकुटीमण्डप जाने बाटो बन्द थियो । एमाले र माओवादी घुलेर नेकपाको घोल तयार हुँदै थियो । एकता घोषणा हुने कार्यक्रमका लागि सबै मान्छे उतै हिँडिरहेका जस्तो लाग्थ्यो । अचानकको घोषणाले मान्छे तरंगित भएका थिए । म पनि अघिसम्म निकै रुचिका साथ सामाजिक सञ्जाल स्क्रोल गरेर बसेको थिएँ, पलपलको खबरका लागि । 
शैलेशको फेरि फोन आयो । उसको फोन आउनु र जाम खुल्नु एकैसाथ भयो । ट्राफिकले देखिहाल्यो भने बेकारको लफडा हुन्छ भनेर उठाइनँ । पुतलीसडकमा रोकिएँ भने आफैँ गरुँला भन्ने सोचेँ । पुतलीसडकसम्म करिब–करिब झुसिलकिराको गतिमा पुगियो । शैलेश फोन गरेको गर्‍यै छ । अघि फोनमा धेरै कुरा हुन पाएन । रनाहामा मैले काटेको थिएँ । उसले खबरै त्यस्तो दिएको थियो । म बोल्नै सकिनँ । 
ज्योति मेरी एक्ली छोरी थिई । खासमा मैले छोरा भयो भने विश्वेश्वर र छोरी जन्मिई भने अमृता नाम राख्छु भन्ने सोचेको थिएँ । दुवै मेरा मनपर्ने लेखक थिए । तर, जब डाक्टरले ‘बधाई छ, छोरी भई’ भनेर छोरी मेरो हातमा दिए, मैले आफूभित्र अनौठो उज्यालो छिरेको आभास गरेँ । अनि फ्याट्टै भन्दिएँ, ‘यो मेरी ज्योति हो ।’
ज्योतिलाई जन्माएकी उसकी आमाले हो । हुर्काएको भने म आफैँले हो । पछि किरणले मसँग गुनासो गथ्र्यो । अझै पनि गर्छ । अमेरिकाबाट स्काइपमा उसले कल गर्दागर्दै ज्योति आई भने वा उसको फोन आयो भने पनि म ज्योतिसँगै गफ गर्न थाल्थेँ । किरण भन्थ्यो, ‘बुबा म अमेरिकामा छु । दिदी त्यहीँ हुनुहुन्छ । कमसेकम अब त मसँग कुरा गर्नु !’ 
छोरीको नाम ज्योति राखेपछि मैले त्यसैको किरण भनेर छोराको नाम किरण राखिदिएको थिएँ । 
पुतलीसडकमा फेरि रोकियो गाडी । १२ बजिसकेको छ । म नै गरुँला भन्दै थिएँ, शैलेशले फेरि फोन गर्‍यो । 
‘म घर जाँदै छु,’ मैले सीधै भनेँ, ‘अनि कुरा गरुँला । बरु तिमी पनि आऊ !’
‘म आउँदिनँ । तपाईं नै कुरा गर्नुुस्,’ शैलेशले भन्यो, ‘सामान्य भनाभनमा कसैले डिभोर्स गर्छ ? भन्नुस् त बुबा, मैले उसको कुन कुरा मानेको थिइनँ !’ 
शैलेश ब्यांकमा काम गर्छ । काठमाडौंमै हुर्केको । ज्योतिले कलेजमा भेटेकी हो । कलेज पढुन्जेल ज्योति र ऊ असल साथी मात्रै थिए । अरू साथीजस्तै ऊ पनि घरमा आइराख्थ्यो । मैले ज्योतिलाई कहिल्यै केही कुरामा रोक लगाएको थिइनँ । बरु किरणलाई धेरै रोकटोक गरेको छु । 
पढाइ सकेर ज्योति र शैलेश दुवै आ–आफ्नो काममा लागे । ज्योति पनि ब्यांकमै छे । यही पुतलीसडकको ब्रान्च म्यानेजर हो । मैले सडककै छेउमा भएको उसको ब्यांकतिर हेरेँ पनि । ऊ कतै केही कामले बाहिर पो निस्केकी छे कि भनेर ! 
‘बा, मैले शैलेशलाई भेटेकी थिएँ आज,’ ब्यांकमा काम गर्न सुरु गरेपछि एक दिन ज्योतिले सुनाई । दुवै त्यतिखेर लोन अफिसर थिए, बेग्लाबेग्लै ब्यांकमा । 
‘अनि ?’ म ज्योतिका जे कुरामा पनि उत्साहित हुन्थेँ । 
‘मोरो ह्यान्डसम भएछ बा !’ उसले आँखा झिम्क्याई । 
‘पागल केटी के के भन्छे !’ उसकी आमा हाँसी । 
ज्योति मोबाइलमा के–के टाइप गर्दै थिई । 
‘कसलाई मेसेज गरेकी ?’ मैले जिस्क्याएँ, ‘शैलशलाई ?’
‘हाउ स्विट मेरो बा !’ उसले मलाई अँगालो हाली, ‘चिया खान बोलाएकी छु !’
‘घरमा ?’ उसकी आमा आत्तिई । 
‘यस्तो बोरिङ सेटिङमा पनि कसैले भेट्छ,’ ऊ पनि जिस्किई, ‘भाटभटेनीको क्याफेमा बोलाकी छु !’
ट्रिङ उसको फोन बज्यो । हामी बाउछोरीले सँगै शैलेशको म्यासेज पढ्यौँ, ‘मैले भन्न लागेकै कुरा तिमीले 
फ्याट्टै भन्यौ ।’ साथमा स्माइली पनि पठाएको थियो । 
‘पैसा छ के ?’ मैले सोधेको थिएँ । 
‘म अरूलाई लोन दिन्छु बा !’ उसले आफ्नो आकासे सर्टको कलर उचालेर भनेकी थिई, ‘तपाईँकी छोरी अब सानी रहिन !’
पछि बिस्तारै उनीहरू घुमघाम गर्न लागे । शैलेश घर पनि आउन थाल्यो । साँच्चै अर्कै भएछ । पहिलेको फोहोरी केटो सफा सुग्घरी भाथ्यो । 
एक दिन राति १२ बजेतिर ज्योति ढोका ढकढकाउन आइपुगी । 
‘टेन्सन भो बा’, आमाले ढोका खोले पनि ऊ सरासर हाम्रो ओछ्यानमा आई । 
‘के भो ?’ म आत्तिइहालेँ । 
‘यार बा...’
‘बालाई पनि के के भन्छे यो केटी !’ उसकी आमाले बीचैमा रोकी । 
‘भन्न देऊ न !’
‘यार बा’, ज्योति जहाँ रोकिएकी थिई, त्यहीँबाट सुरु भई, ‘६ महिना भैसक्यो डेट गरेको । शैलेश त प्रपोज नै गर्दैन त !’
‘हाहाहाहा’ म र उसकी आमा जोरले हाँस्यौँ । 
‘तँ गर् न त,’ मैले भनेँ । 
‘नट अ ब्याड आइडिया !’ ज्योतिले मलाई अँगालो हाली । 
‘केटी अघि सरी भनेर जज गर्ला फेरि !’ उसकी आमाले चिन्ता जताई । 
‘गरे गरोस्’, ज्योतिले भनी । मैले हाइफाइभ दिएँ, उसले पनि दिई । यो उसैले सिकाएकी थिई मलाई । उसकी आमाले सिकेकी थिइन । सायद ज्योतिले उसलाई सिकाइन । मैले पनि सिकाइनँ । 
त्यसपछि हरेक दिन हामी शैलेशका बारेमा नयाँ–नयाँ कुरा सुन्थ्यौँ । राम्रै कुरा । ज्योति प्रेममा चुर्लुम्म डुबेकी थिई । तर, उसले मलाई बिर्सेकी थिइन । उसका हरेक कुरा मलाई थाहा हुन्थ्यो । 
‘बा, अब आई एम नो मोर भर्जिन है’, उसले आँखैमा हेरेर भनी, ‘आई डन्ट वान्ट टु लाई टु यू ।’
यस्तो संवादको अपेक्षा मैले अलि गरेको रहेनछु । मलाई थोरै अप्ठेरो लाग्यो । ऊ बोल्दै गर्दा म पो नर्भस थिएँ । मुख पुछेँ । निधार कन्याएँ । तर, म भित्रभित्र खुसी पनि धेरै थिएँ– मेरी छोरी मलाई केही लुकाउँदिन भनेर । त्यस्ती थी मेरी छोरी । 
तर, आज उसले जीवनको त्यत्रो ठूलो निर्णय गर्दा मसँग एकचोटि सल्लाहसमेत गरिनँ । मेरो मुटु दुखेजस्तो भयो । नागपोखरीमा मैले गाडी रोकेँ । दाहिने हातले बाहिरबाटै मुटु छामेँ । सुम्सुम्याएँ । सुसारेँ । मेरो आँखाबाट बररर आँसु झरे । मैले ज्योतिलाई कहिल्यै उँचो स्वरले समेत बोलाइनँ । उसले जे भने पनि मानेँ । उसको हाँ मा हाँ मिलाएँ । उसले जीवनमा कैले गलत निर्णय लिन्न भन्ने विश्वास मलाई थियो । हो, थियो । उसले मलाई सोधुन्जेल मलाई लाग्थ्यो कि सही निर्णय गर्छे । तर, अघि शैलेश भन्दै थियो, ‘सबले मलाई स्वास्नीले उछिनी भन्दा पनि मैले हाँसेर टारेँ । उसलाई बुटवल जान पनि मैले रोकेँ त ! तैपनि उसले मलाई डिभोर्स दिन लागी बुबा ।’
मेरी एउटी छोरी थिई, म धुमधामले विवाह गर्न चाहन्थेँ । ज्योति फजुल खर्च गर्न चाहन्नथी । त्यो पनि मैले मानेँ । अति साधारण तरिकाले पहिला कोर्टमा अनि साँझ आफन्तका माझ माला पहिर्‍याएर उनीहरूले विवाह गरे । साथीभाइ–आफन्तले मलाई ‘क्या यार हेमन्त ! सस्तैमा सक्यौ’ समेत भने । मैले हाँसेर टारिदिएँ । हामीले शैलेशलाई कहिल्यै ज्वाइँ भनेनौँ । शैलेश, तिमी नै भनेर बोलाउँथ्यौँ । पहिलादेखि चिनेको त्यसमाथि उसले पनि अरू सम्बोधनको अपेक्षा गरेजस्तो लागेन । 
बिहेको एक वर्षमा ज्योति ब्रान्च म्यानेजर भई । बुटवल जानुपर्ने थियो । शैलेश र ज्योति दुवै आएका थिए । 
‘नजाऊ भनेको मैले त,’ शैलेशले भनेको थियो । 
‘तिमी भएको भए म त तुरुन्तै ओके गर्थेँ,’ ज्योति अलि झर्किएकी थिई, ‘हैन त बा !’
‘हो त’, मैले ज्योतिकै साथ दिएँ, ‘बुढीले आफूभन्दा बढी प्रगति गरी भनेर रिस नगर !’
‘बा पनि !’ शैलेश अलिकति रिसायो, ‘त्यस्तो होइन । भर्खर एक वर्ष भयो बिहे भएको । नगए हुन्थ्यो भन्ने मन कसलाई हुँदैन ! तपाईं आमालाई जान दिनुहुन्थ्यो ?’
मैले ज्योतिकी आमालाई हेरेँ । ऊ फिस्स हाँसी । म उसलाई ६ महिनामै छाडेर हिँडेको थिएँ । मैले पनि बढुवा पाएको थिएँ । घर हेर्न ऊ यतै बसेकी थिई ।  
मैले फोन गर्नुपर्दैनथ्यो । ज्योति आफैँ मलाई एक दिन पनि नबिराई हरेक साँझ र बिहान फोन गर्थी । मेरा साथीभाइहरू आफ्ना छोराछोरीको फोन कुरेर हैरान हुन्थे । दुखी हुन्थे । तर, ज्योतिले मलाई कहिल्यै दुखी बनाइन । 
‘बा, मैले चिया खाने सोलिड ठाउँ फेला पारेकी छु,’ ऊ केही नयाँ भयो कि म्यासेज गरिहाल्थी । दुई वर्ष बसी बुटवल । म दसौँपटक गएँ । 
‘अब म काठमाडौं नै फर्कने हो,’ उसले अन्तिमपटक जाँदा सुनाएकी थिई, ‘बच्चाको प्लान पनि गर्छु ।’
नाति–नातिना खेलाउन पाउने कुराले मन आनन्दित भयो । तर, ज्योतिले बच्चा पाइन । ब्यांकले उसलाई अमेरिकामा थप बुझ्न भनेर ६ महिने फेलोसिप दियो । 
‘बा अबचाहिँ ज्योतिलाई सम्झाउनू !’ शैलेश रिसाएको थियो, ‘बच्चा पाउने हाम्रो प्लान चौपट हुन्छ ।’
‘६ महिनापछि आइहाल्छे,’ मैले सम्झाएको थिएँ, ‘चिन्ता किन गर्छौ । अनि पाउनु !’ 
म भाटभटेनी पुगेँ । सडकको देब्रेबाट अलिकति भित्र थियो, शैलेशलाई ज्योतिले चिया खान बोलाएको ठाउँ । गाडी रोकेर म गएँ । पछि ज्योतिले मलाई लिएर गएकी थिई । क्याफे भन्ने केही थिएन । मध्य दिन भएर हो कि चिया मात्र पाउने ठाउँ भएकाले खासै मान्छे थिएनन् । मैले एककप चिया मगाएँ । यो ठाउँको पनि सेटिङ त के थियो र ! तर, चिया र गफकी पारखी ज्योति भन्थी, ‘हेर्नुस् बा, चिया भनेकै यस्तो ठाउँमा खानुपर्छ, जहाँ पसलले दुईजनाका लागि चिया बनाइरहेको ठाउँमा तेस्रो मान्छेले माग्यो भने अलिकति पानी र दूध थपेर म्यानेज गर्न सक्छ !’ मलाई बडो रमाइलो लाग्थ्यो उसका यस्ता कुरा !
‘बा तपाईंले आमालाई काम गर्न दिनुभएन रे हो ?’ उसको विवाहको पाँचौँ वर्षमा पोहोर उसले मलाई अचानक सोधी । हामी बेलुकीको खाना खाएर चिया पिउँदै थियौँ । ज्योति हुँदा यो मेरो घरको दैनिकी थियो । 
अचानकको उसको प्रश्नले म अकमकिएँ । 
‘म त्यस्तो गरुँला त ?’ मैले ज्योतिसँग बोलेको पहिलो तर जबर्जस्त झुट थियो, ‘आमालाई सोध न !’
उसले आमालाई सोधिन । आमातिर हेरी मात्र । मैले पनि ज्योतिकी आमातिर हेरेँ । उसले मुस्काएर कुरो सकाई । 
‘आई नो बा,’ ज्योतिले मलाई अँगालो हाली, ‘तपाईं त्यस्तो हुँदै हुनुहुन्न !’ 
ज्योतिकी आमा सिनेमामा काम गर्थी । मैले उसलाई कलाकारसँग साक्षात्कार कार्यक्रममा भेटेको हो । म त्यतिखेर कला, संस्कृति विभागमा थिएँ । भेट भयो । उसलाई म र मलाई ऊ मन पर्‍यो । विवाहपछि पनि ऊ सिनेमामा काम गरिरहेकी थिई । कति न सिनेमा बन्थेँ र ! तर, मान्छेका अनेक कुरा सुनेर मैले ‘म र सिनेमा’मध्ये एक छान्नुपर्ने विकल्प दिएँ । उसले मलाई छानी । अब दुखी भएर छानी वा खुसी भएर छानी मैले कहिल्यै सोधिनँ । सोध्नुपर्ने आवश्यकता मैले त्यो दिनसम्म महसुस गरिनँ, जब ज्योति बुटवल जाँदा शैलेशले अनुहार बिगार्‍यो । तर, ढिला भइसकेको थियो । 
शैलेश असिस्टेन्ट ब्रान्च म्यानेजर मात्रै भएको थियो । घरिघरि ज्योति भन्थी, ‘शैलेश आजभोलि ब्यांकको पार्टिउदो सँगै जान मान्दैन । स्वास्नी म्यानेजर, आफू असिस्टेन्ट भनेर !’ मैले सोचेँ, के शैलेश र ऊबीच यसै विषयमा भनाभन परेको हुन सक्छ ! 
मेरो मन पोलेको थियो । अहिले भर्खरै तातो चियाले मेरो ओठ पोलेभन्दा गहिरो ! चिया पूरै नसकी म उठेँ । अब मुस्किलले पाँच सय मिटरपछि म घर पुग्छु । 
शैलेश फोन गर्छ । 
‘बुबा घर पुग्नुभयो ?’ ऊ सोध्छ । 
‘म चिया खाँदै छु’, म भन्छु, ‘भाटभटेनीमा ।’  
‘क्या यार बुबा,’ ऊ झर्कन्छ, ‘झन् घर गएर ज्योतिलाई सम्झाउनुपर्ने । बाटोमा चिया पो खाँदै हुनुहुन्छ ।’
‘यो यार नभन मलाई,’ म रिसाएँ, ‘म तिम्रो यार होइन ।’
अनि मैले फोन राखिदिएँ । उनीहरूले पहिलोपटक चिया खाएको ठाउँको बारेमा उसलाई कुनै मतलब छैन । तैपनि म ऊसँग झडङ्ग नहुनुपथ्र्यो । पत्नीले छोड्न लागेकाले ऊ कति हतास होला । मलाई उसको माया लाग्यो । सानो कुरामा ज्योतिको त्यत्रो ठूलो निर्णयले उसलाई कति अत्याएको होला । उसको ठाउँमा म हुन्थेँ भने कस्तो हुन्थेँ होला ! मैले सोच्नसम्म सकिनँ, भनन रिँगटा लागेजस्तो भो । 
ढोका ज्योतिले नै खोली । मैले त ऊ अफिसमा होली भन्ने सोचेको थिएँ । 
‘क्या यार बा,’ ज्योति रिसाई, ‘एक बजे लन्चमा जाने प्लान बनाएर डेढ बजे आउने !’
ओह ! भुसुक्कै बिर्सेछु । आज हामी लन्चमा जाने योजना थियो । के ऊ मलाई त्यही भन्न चाहन्थी ? होला होला । मैले राहतको सास फेरेँ । 
‘ल, म रेडी, तिमी रेडी, तिम्री आमा रेडी,’ मैले फुर्तिलो भएर भनेँ, ‘गै हालुम् न त !’
खाउन्जेल अब भन्ली, तब भन्ली भनेर म कुरिरहेको छु । आमा–छोरी कहिले–कहिलेको गफ निकालेर हाँसेका छन् । ‘है बा’ भन्छे ज्योति । मलाई पटक्कै रुचि छैन । 
‘शैलेश पनि भएको भए रमाइलो हुन्थ्यो,’ आखिरमा चिया आएपछि मैले नै कुरा उप्काएँ । शैलेशको नाम सुनेर उसको अनुहारको रंग बदलिनेछ, अनि उसले खास कुरो भन्नेछे । तर, मैले सोचेजस्तो भएन । 
‘यार बा पनि,’ ज्योतिले सहजै भनी, ‘उसको फुर्सद नै छैन ।’ ज्योतिले यसरी हाकाहाकी ढाँट्ली भन्ने मैले चिताएकै थिइनँ । म खङ्ग्रङ्ग भएँ । मेरो मन अँध्यारो भयो । शैलेश बारबार फोन गरिरहेको छ । साइलेन्टमा राखेको छु । तर, ज्योतिले देख्ने गरी फोन उसकै अगाडि राखेँ । घरिघरि फ्ल्यास लाइट बलेको देखिरहेकी छे । 
‘बा शैलेश फोन गरिरहेको छ,’ उसैले पो भनी, ‘उठाउनु न !’
‘उठाऊँ ?’ म सोध्छु । 
‘लौ उठाउनु न’, उसले मुखमा फापरको रोटी हाल्दै भनी, ‘केही काम होला ।’
रेस्टुरेन्टमा तमासा गर्न मन लागेन । तर, घर पुग्नेबित्तिकै म यो कुरा नटुंग्याई छोड्दिन भनेर मैले हतार गरेँ । गाडी भित्र छिराएपछि सरासर म अघिअघि ढोकामा पुगेँ । मसँग घरको चाबी थिएन । ज्योतिकी आमा सधैँ घरमा हुन्थी । मलाई चाबीको आवश्यकता नै परेन । ज्योतिसँग चाबी थियो । उसले ढोका खोली । 
‘कुरा गर्नु छ’, मैले आमाछोरीलाई रोकेँ । लुगा फेर्न होला, दुवै कोठातिर जान लागेका थिए । 
‘बा शैलेशको बारेमा हो भने मैले निर्णय लिइसकेकी छु,’ ज्योतिले भनी, ‘त्यसमा थप बहसको आवश्यकता छैन ।’
‘के कुरा ?’ 
‘त्यस्तो हैन यार बा !’ 
‘अदालतबाट निर्णय आएको छैन । भनुँला भन्दै थिएँ ।’ 
‘मलाई डर लाग्यो ।’ 
‘अप्ठ्यारो लाग्यो ।’
‘माफ गर्नु, मैले भनिनँ ।’
यस्तो केही भन्ली भन्ने सोचेको थिएँ । उसले कति सजिलै भन्दिई कि उसले निर्णय लिइसकेकी छे । मलाई एकै वचन पनि नसोधी ! 
‘मलाई एकचोटि पनि सोधेनौ ?’ मेरा आँखा रसाए । 
‘बा शैलेश मलाई गएको एक वर्षदेखि हात उठाइरहेको छ,’ ज्योति सोफामा थ्याच्च बसी, ‘मैले एक दिन पनि सहनु हुन्न थियो, एक वर्ष सहेँ । अब पुग्यो ।’
‘कहिलेकाहीँ सामान्य कुटाकुट हुनु के भयो र !’ मैले के भनेँ आफैँलाई थाहा थिएन, ‘मैले पनि तिम्री आमालाई कुटेको छु । ऊ त मलाई छाडेर गइन त !’
‘यही भएर मैले तपाईंलाई सोधिनँ बा !’ ज्योतिले मलाई राता आँखा पारेर भनी, ‘यही भएर मैले तपाईंसँग सल्लाह गरिनँ ।’
‘के तिमीलाई थाहा थियो ?’ म ज्योतिकी आमातिर फर्किएँ । ऊ बोलिन । 
‘के तिमीलाई थाहा थियो ?’ म घरै थर्कने गरी चर्किएँ । 
‘थाहा थियो’, उसले मेरो चर्काइको पर्वाह नगरी शान्त भएर भनी, ‘पहिलोचोटि ज्योतिले मसँग सल्लाह गरी ।’  पहिला–पहिला म चर्किंदा ऊ डरले थुरुरु काम्थी । आँखा चिम्म हुन्थ्यो । टाउको जमिनतिर झुकेको हुन्थ्यो । 
‘एक वर्ष मैले आमालाई पनि भन्न सकेकी थिइनँ,’ ज्योतिले भनी, ‘आफैं लोग्नेको कुटाइ सहेर बसेकी मान्छेले मलाई के भन्लिन् भनेर । तर, आमा आफैँले थाहा पाउनुभयो, बाथरुममा लडेर मेरो आँखा सुन्निएको होइन । शैलेशले कुटेर हो भन्ने कुरा ।’
‘तपाईँले त सजिलै पत्याउनुभयो,’ ज्योति फिस्स हाँसी, ‘यार बा, तपाईंलाई एकचोटि पनि सोधौँ जस्तो लागेन, कति बाथरुममा लड्छेस् भनेर ?’ 
म अवाक् भएँ । याद आयो, पछिल्लो समय ज्योति जिउमा घाउ–चोट लिएर आइराख्थी । सानैमा पनि यताउता लडिराख्थी । लडी होली भनेर मैले वास्ता गरिनँ । कि म ती घाउहरूसँग परिचित थिएँ ? उसले उसकी आमाको कुरा उठाउली भनेर चुप लागेँ ? 
‘बा तपाईंले वास्तै नगरेका मेरा चोटहरू आमाले पत्ता लगाउनुभयो ! जब आफैँमाथि चोट लाग्यो, तब मात्र मैले पनि पत्ता लगाएँ– बिहानीमा कोठाबाट निस्कँदा आमाका सुन्निएका आँखा । हातका डामहरू ! ’ ज्योति भन्दै थिई, ‘तपाईं भन्नुहुन्थ्यो, तिमी आफ्नी आमातिर गएकी छौ । तिमी पनि कति लड्छौ, तिम्री आमा पनि होस गरेर हिँड्दिन । मैले पत्याएँ बा ! तपाईंमाथि यति विश्वास थियो कि मैले पत्याएँ । आफैँलाई चोट लागेपछि मात्र मैले चिनेँ आमाका चोटहरू र सोध्न सकेँ । तर, बा म आमातिर गइनँ । म चुप लागेर बस्दिनँ ।’
म सुन्नबाहेक अरू के गर्न सक्थेँ ! 
‘तपाईंलाई मैले कसरी भन्न सक्थेँ र बा !’ ज्योतिले उसकी आमाको हात समाई, ‘तपाईं के पढ्ने भन्दा सल्लाह दिन सक्नुहुन्छ, कहाँ घुम्न जाने भन्दा ठाउँ बताउन सक्नुहुन्छ, तर बा मेरो लोग्नेले मलाई कुट्छ म बस्न सक्दिनँ, म छोड्न चाहन्छु भन्दा तपाईं के सल्लाह दिनुहुन्थ्यो ?’
‘भैगो छोरी मैले नि कुटेकै हुँ, के हुन्छ र ?’ मेरो कुरा ज्योतिले भनी, ‘त्यसैले मैले तपाईंलाई भनिनँ बा ! यार बा, जसले आफ्नी स्वास्नी कुटेकोमा अपराधबोध महसुस गरेको छैन, उसलाई मैले कसरी सोध्ने ? किन सोध्ने ?’
म भुइँमा थुचुक्कै बसेँ । ग्लानिले, लाजले, अपराधबोधले थला परेको कोही मान्छेको अनुहार कस्तो हुन्छ भनेर हेर्नका लागि म उपयुक्त मान्छे थिएँ । जीवनभर जसका लागि म सही हुनैपथ्र्यो, उसैका लागि म गलत भएँ । मैले न ज्योतिलाई, न उसकी आमा प्रतिमालाई टाउको उठाएर हेर्न सकेँ । 
शैलेशले फेरि फोन गर्‍यो, ‘कुरा भयो बुबा ?’
‘फोन नगर शैलेश अब मलाई’, मैले फोन काट्नुअघि भनेँ, ‘अनि यो बुबा पनि नभन मलाई !’
‘...।’