• वि.सं २०८२ श्रावण १९ शनिबार
  • Saturday, 02 August, 2025
२०७६ असोज २५ शनिबार ०६:४६:००
साहित्य

विनाबोसोका टेक्स्ट

२०७६ असोज २५ शनिबार ०६:४६:००
रोशन शेरचन

शंकर लामिछानेको निबन्धसंग्रह ‘एब्स्ट्र्याक्ट चिन्तनः प्याज’ प्रकाशित भएको ५२ वर्ष पुगेछ । यस्तो महत्ववपूर्ण अवसरमा लामिछानेबारे के लेखूँ ? झन्डै दुई दशक निबन्धमार्गमा हिँडेको मैले निबन्धकै गोरेटो खन्ने एक अगुवालाई कसरी सम्झनुपर्ने हो ? नलेख्दा नै बढी भनिन्छ कि ? लेख्दा धेरै छुट्न गई अपूर्ण हुन्छ कि ?दकस पनि लाग्छ । 

प्राकृतिक नियमअनुसार हरेक साँझ घाम अस्ताउँछ । बिहान फेरि उदाउँछ । ‘अर्धमूदित नयन’ र ‘डुब्न लागेको घाम’ जस्ता उत्कृष्ट निबन्ध (कथा भनेर छापिए पनि लामिछाने निबन्धै मान्थे) लेख्ने लामिछाने डुब्न लागेको निबन्धको घामसँग हरेक दिन उदाउँछ । यो प्राकृतिक नियम नभई साहित्यको सत्य हो ।

लामिछानेलाई निबन्ध साहित्यको अग्लो देउराली हो भन्नु कुनै नौलो कुरा रहेन । यो तथ्य नै भइसक्यो । एउटै जन्रामा लेख्ने भएकाले भावुक पक्षधरता राखी लेख्नुको अर्थ पनि छैन । नेपाली साहित्यलाई कमजोर बनाएकै अतिशय भावुकताले हो । अतिशय भावुकता जति चाँडो मिल्कायो, नेपाली साहित्य उति परिपक्व हुन्छ ।

विज्ञानको बढ्दो प्रभावले पाठकका चेतना अघिभन्दा धेरै वस्तुगत भइसक्यो । एक्काइसौँ शताब्दीको डायनोसर नै मनोगतवादीहरू हो । समयले हामीलाई धेरै कुरा भनि पनि सकेको छ । मञ्च वा नेपथ्यमा । भाषा वा संकेतमा । हामीले कति सुन्न सक्यौँ, त्यो अलग पाटो । 

लेखक आमपाठकमा बिम्बमार्फत नै बाँच्दछ । विस्तृतिसम्म पुग्ने जाँगर चलाउने समीक्षक र गम्भीर पाठकहरू सानो संख्यामा हुन्छन् । लेखकलाई मासले बिम्ब वा मेटाफोरमै चिन्ने रहेछ । ‘एब्स्ट्र्याक्ट चिन्तनः प्याज’ जस्तो उत्कृष्ट निबन्धसंग्रह लेखेर तपाईं अमर बन्नुभयो, जीवनलाई अथ्र्याउन प्रयोग गरेको साधारण प्याजलाई पनि असाधारण महत्ता प्रदान गर्नुभयो ।

पत्रैपत्रले बेरिएको गुदी नभएको प्याजजस्तो दुर्गन्धित जिन्दगी कम्ती प्रभावकारी बिम्ब होइन । त्यसको भिजुअल इफेक्ट आउनुअगाडि नै गन्ध नाकमा ठोक्किन्छ । मस्तिष्कमा प्याजको आकार निर्माण हुन्छ । तीसको दशकमा अस्तित्ववादी चिन्तन फैलिँदै गर्दा जीवनलाई प्याजसँग तुलना गर्नु विस्मित पार्ने प्रयोग थियो । 

चेतन तहमा म प्याजजस्तो जीवन चाहन्न । जीवन आशा मात्र जगाउने तर अन्तत दुर्गन्धित पत्रै पत्र परेको शून्य मात्र नहोस् भन्ने सोच्छु । त्यो डर मैले ‘धोबीघाट एक्सप्रेस’मा लेखेँ पनि– डराउँछु कहिले काहीँ चक्रपथजस्तोमा फन्कै मारेर जीवन नसकियोस् । पुनरावृत्तिमा नजाकिओस् । त्यसैले भिन्न विषयका पुस्तक पढ्छु । जीवनलाई जम्न नदिने उत्तम माध्यम अध्ययन हो भन्ने बिर्सिदिनँ । तर, मलाई थाहा छ, हामी वरपर धेरै मानिसको जिन्दगी प्याजजस्तै त भएको छ । निःसार, शून्य र उपलब्धिविहीन । 

तपाईंलाई पढेपछि एब्स्ट्र्याक्ट वा अमूर्ततातर्फ मेरो ध्यान गएको हो । अमूर्तता भन्ने हुँदो रहेछ भन्नेमा झन् विश्वस्त भएँ । यतिखेर डानियल काह्नेमनको पुस्तक पढ्दै छु । ‘थिङ्किङ फास्ट एन्ड स्लो’ । अमूर्तता हुन्छ भन्ने केही थप व्याख्या उदाहरणसहित त्यहाँ फेला पार्छु । अमूर्तता नहुँदो हो त यतिविधि असहमति र अपव्याख्या हुँदैनथे । अमूर्तता वस्तुगत तहमै हुन्छ, जसलाई असमान बुझाइले थप जटिल बनाइदिन्छ ।

हन्च वा आइडिया प्रायः धमिलो आकृतिमै आउँछ । चिन्तन प्रक्रियामा पाक्दै जाँदा त्यसले आकार र दिशा ग्रहण गर्ने हो । अथवा मूर्तिने हो । तर त्यसको अर्थ, जीवन अमूर्तताको गुजुल्टो मात्रै पनि होइन । त्यसका कार्यकारण हुन्छन् । तर, विकिर्ण जीवनबारे जुन शिल्पीले खिपेर निबन्धलाई तपाईंले जीवन्त बनाउनु भयो, त्यो दुर्लभ थियो ।

आन्तरिक जीवनको उहापोहलाई त्यो सूक्ष्मतामा केलाउने र त्यति क्लोजअप लेख्ने कमै होलान् । तपाईंलाई ‘एब्स्ट्र्याक्ट प्याज’, भूपीलाई ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ र रिमाललाई ‘आमाको सपना’बाट चिन्ने बिम्बकै माध्यम हो । बिम्बको सार्वभौम चरित्रले नै त्यो सम्भव भएको हो । कवि लेखक कल्पनाशीलताको सहाराले आकासिने पनि बिम्ब वा मेटाफोरकै धरातल निर्माणको निम्ति रहेछ । 

सोच्छु, जर्ज अरवेल ‘अल एनिमल आर इक्वेल वट सम एनिमल आर मोर इक्वेल’ अभिव्यक्तिमा कहिल्यै मर्नेछैन । जबसम्म समानताको लडाइँ चलिरहन्छ, उक्त अभिव्यत्तिक्तको सान्दर्भिकता रहिरहन्छ । एकतन्त्रीय निरंकुश राजनीतिक प्रणालीको विपक्षमै त्यो एक्लो उपन्यास कस्तरी सतीसालझैँ उभियो ! सोच्दा छक्क पर्छु । एनिमल फार्मको त्यो एलिगरी नै ममी बन्यो, जहाँ अरवेलका विचार सदैव सुरक्षित छ । 

के कारण निबन्ध साहित्यमा तपाईं यति अग्लो देउराली हो ? कहिले काहीँ घोत्लन्छु । निबन्धलाई नजिकको बिधा मानेकाले जजमेन्टल हुन पुग्छु । धेरै जजमेन्टल नहुनु, पाका मान्छेहरू सुझाउँछन् । तर, सकिँदैन । जजमेन्टल नहुनलाई गैरआख्यान त्यति सहायक होइन । बरु प्रयत्न मनोगतवादी हुनबाट बच्ने र तथ्य फेरिए धारणा बदल्न तयार हुने हो । सायद विषयान्तर भयो । म सोच्दै थिएँ, के कारणले समयको समरभूमिमा तपाईं पाँच दशकदेखि दह्रो उभिन सकेको हो ? कम्तीमा तीन आधारमा भेट्छु । 

पहिलो– फराकिलो विचारको दायरा, जसको मुख्य स्रोत तपाईंको विषद् अध्ययनशीलतालाई जान्छ । तपाईंले ऊ वेला नै ‘कामु’, ‘सात्र्र’, ‘जेम्स ज्वायस’, ‘वाल्डविन’, ‘विलियन वरोज्’, ‘माइकल कर्भी’ आदि पढेको देखेर अचम्मित हुन्छु । कामुकोे प्रभाव म आफूमा पनि पाउँछु । वनविज्ञानको स्नातक तह पढ्दा अध्ययन भ्रमणमा हामीलाई देहरादुन लगिएको थियो । ब्याचमेटहरूले वन विषयका पुस्तकहरू छान्दै गर्दा म कामुको आउटसाइडर, युजी कृष्णमूर्तिको माइन्ड इज योर एनिमी छान्दै थिएँ ।

सिसिफस मेरो प्रिय मिथक । त्यस मिथकबाट जीवनमा प्रशस्त ऊर्जा भर्छु । मिथकबाट सिक्छु, आफ्नो नियन्त्रणभरिको मिहिनेत गर्न कसर बाँकी राख्नु हुँदैन । केही लेखक पश्चिमी धरातल भएकैले यस्ता मिथकलाई दोस्रो दर्जाको नागरिकजस्तो व्यवहार गर्छ । मिथकलाई हेर्ने सवालमा खुला हुनुपर्छ नै भन्छु । हाम्रा मौलिक मिथकलाई अन्य देशका पाठकले मन पराइदिँदा हामी खुसी नै त हुन्छौँ ।

सारमा दुवै एउटै प्रक्रिया हो । मिथकको नागरिकता हुने जति हास्यास्पद सोच केही छैन । सिसिफसले आजन्म ढुंगा ठेल्नु परे पनि यदि पहाड भिन्न हुन्थ्यो भने निस्सारता पक्कै कम हुन्थ्यो । कामुकै पुनरावृत्तिसम्बन्धी चिन्तन पनि सायद फरक हुन्थ्यो । तर, अभिशप्त भइकन पनि सिसिफसले कहिल्यै हरेस खाएनन् । तपाईंको पुस्तकप्रेमबाट सिकेँ, पुस्तकमा आजन्म भर पर्न सकिन्छ । इन्टरनेटको युगमा अहिले पढ्नेहरू धेरै भए । तर, बीस, तीसको दशकमा त्यो दुर्लभै हुनुपर्छ । फराकिलो अध्ययनको ज्ञान, आफ्नै जीवनबाट निःसृत अन्तरदृष्टिमा अद्भूत अभिव्यक्ति कला मिसाएर सिर्जेकाले तपाईंका रचना सम्मोहनकारी भएका होलान् । 

तपाईंका केही निबन्ध निकै रिफरेन्सियल भेट्दा प्रारम्भमा म अचम्मित भएको थिएँ । धेरै सन्दर्भले लेख प्राज्ञिक हुन जान्छ । तर, गैरआख्यानमा एक हदसम्म सन्दर्भको प्रयोग स्वीकार्य छ भन्दै चित्त बुझाएँ । निबन्धमा प्रयुक्त वैविध्य विचार र सम्मोहनकारी भाषाशैलीको कारण, तपाईं एक लिजेन्ड हो । तपाईंको निबन्ध पढ्दा अनुभूतिको तीव्रता गहिरो गरी अनुभव हुन्छ । निबन्धको भाषा बनाउने त्यही अद्वितीयताको निम्ति सम्झन्छौँ ।

दोस्रो, अनौपचारिक भाषाशैलीको प्रयोग । तपाईंको लोकप्रियताको कारण त्यही अनौपचारिक भाषा होला भन्ठान्छु । ढर्राको लेस मात्र पनि छैन तपाईंको भाषामा । लामो भूमिका बाँधेर एउटा कृत्रिम कान्ति निर्माण गर्दै पाडित्याइँ पाराले लेख्ने समकालीन लेखकहरूभन्दा तपाईं भिन्न हुनुहुन्छ । अधिकांश त्यस्ता लेखक संस्कृतभाषाका पृष्ठभूमिबाट आएका थिए ।

तपाईंको लेख पढ्दा पाठकलाई आफैँसँग संवाद गरेजस्तो लाग्छ । केही निबन्धमा मैले त्यस्तो अनुभव गरेको छु । अनौपचारिक शिल्पीले संवाद प्रत्यक्ष बन्यो । संवाद प्रतक्ष बन्दा पाठकले अन्तक्र्रिया गर्न सहज बन्छ । समानस्तरको अन्तरक्रिया लाग्छ । मेरो पुस्ताको एक समर्थ कवि अभय श्रेष्ठ त्यस्ता भाषालाई बोसोरहित भाषा भन्छन् । तपाईंको निबन्धकारिताको भाषा त्यही बोसोरहित भाषा थियो । 

तेस्रोचाहिँ तपाईंको इमानदार प्रस्तुति हो । आफ्नै जीवनलाई तहसनहस पार्ने हदसम्म तपाईं इमानदार हुनुभयो । तपाईंका लेख पढ्दा आत्मस्वीकरणमा अग्रपंक्तिमा देख्छौँ । लेखहरू पढ्नु भनेको लेखकको माइन्ड पढ्नु हो । त्यसैको आधारमा तपाईंलाई ब्रुटली अनेस्ट लेखकभन्दा हुन्छ । कुमुदिनीलाई (छद्म नाम) तपाईंले लेखेको एक महान् स्वीकारोक्ति नेपाली साहित्यकै एक महान् कन्फेसन हो । काफ्काले पनि इमानदारीको कारण अथाह पीडा भोगेका थिए ।

फराकिलो दायराको विचारमा तपाईंले निजी जीवनको पीडा, द्विविधा र उतारचढाव बेस्सरी निचोरेर मिसाउनुभयो । त्यसैले पाठकले निबन्धहरू पढेपछि एक खालको सहानुभूतिभाव राख्छ । पाठकले लेखकमा आफ्ना केही–केही अंश भेट्टाउनु नै लेखकको सफलता हो । पाठकले कुन हदसम्म सिर्जनासँग स्वयंलाई आइडेन्टिफाई गर्छ भन्ने महत्वपूर्ण पाटो रहेछ । 

२०४६ सालताका तपाईंका निबन्धहरू धेरै पढेँ । भूत सवार नै भएको थियो तपाईंको निबन्धकारिताको । उत्तिकै रन्थिनिएँ । विकिर्ण चिन्तनकै छेउछाउ डेरा गरी बस्थेँ । विसंगतिवाद र अस्तित्ववाद छिमेकी थिए । घनघोर अँध्यारो काँचुलीभित्र थिए । त्यसको प्रभाव निबन्धसंग्रह ‘मस्तिष्कहरूको मृत्यु’मा पक्कै छ । २०६९ मा समीक्षक राजकुमार बानियाँको आग्रहमा शंकर रिभिजिटेड लेखेँ । त्यो दुई दशकपछि तपाईंलाई फर्केर हेर्ने प्रयास थियो ।

‘एब्स्ट्र्याक्ट चिन्तनः प्याज’ र म एकै साल जन्मेछौँ । उपल्लो तहको त्यो पुस्तक जन्मेको सालमा म पनि जन्मेको हुँ भनेर सोच्न पाउनु जति प्रितीकर अनुभव के हुन सक्छ र ?

त्यसवेला डेरा छाडिसकेकाले छिमेकीहरूसँग टाढिइसकेको थिएँ । अहिले त्यो हदको प्रभाव छैन । झिल्के मनोगत् प्रभाव त्यागेको छु । त्यागेर बाँकी रहेका प्रभावमध्येका केही आधारबाट तपाईंलाई बुझ्ने अभ्यासको थालनी गर्दै छु । नक्कली प्रभावले पाठक र लेखक दुवैलाई निकम्मा बनाइदिन्छ । 

तपाईंको रचनामा भेटिने विषयगत् विविधताले चकित पार्छ । त्यो समयमा बेस्सरी पढ्नुले तपाईंलाई अन्य समकालीन लेखकको तुलनामा सायद प्रतिस्पर्धात्मक लाभ मिलेको थियो । अभिव्यक्ति कलामा निपुण हुनु र अर्कै चेतनाले डोहोरिनुले तपाईं जहिल्यै आधुनिक लेखक लाग्छ । विज्ञानकथा, हाइकु, कथा, भूमिका लेखन र निबन्ध हुँदै उपन्यास लेख्नेसम्मको सोच पनि तपाईंले बनाएको थाहा पाउँछौँ ।

सिक्वेलको प्रचलन सिनेमामा त थियो नै । साहित्यले पनि टिपेको छ । कुनै पुस्तक चर्चित भए, त्यही कथ्यको वरपर सिक्वेल निकाल्ने प्रचलन झांगिँदै छ । प्रयोगधर्मी लेखकहरू नगण्य छन् । उनीहरू लोपोन्मुख प्राणीजस्तै भइसके । तीव्र गतिमा पुस्तक वस्तु र पाठक उपभोक्तामा फेरिँदै गएको छ । यो अहिलेको यथार्थ हो । कोसेली भनौँ, नवउदारवादी बजार अर्थतन्त्रको । 

तपाईंको निधनपछि विचारगत् दृष्टिले अनेकन् परिवर्तन भए । उत्तरआधुनिक विचारधारा संसारभर फैलियो । साहित्यिक विचारधाराको हिसाबले अहिले उत्तरआधुनिक युगमा छौँ । अझै कसैले त त्यसभन्दा पनि पर पुगिसक्यो भनेका छन् । प्रवृत्ति, विचार र व्याख्यामा यतिविधि बेमेल, घर्षण र गज्याङमज्याङ सायद कहिल्यै भएन ।

टाउको रिंगाउने परिदृश्य छ । यो झनै् बढ्ला । सायद नयाँ यथार्थ यही हो । हरारीका विचारले मान्छे झस्केको समय छ । मेटा न्यारेटिभ भत्काइएको छ । उत्तरआधुनिक शब्द र अर्थहरूको चिप्ल्याइले निस्सारतामा लग्ने भय ज्युँदै छ । शब्द र अर्थहरू विसंरचनामा परेका छन् । तर, तपाईंले शब्दलाई भाँचभुच गरेको मलाई थाहा भएन । शब्द नभाँची वा शब्दप्रति अगाध आस्था राखेरै चमत्कार गर्ने कुशल गद्यशिल्पी हो तपाईं । त्यसको प्रमाण निबन्ध ‘बसिबियाँलोको यात्रा’ हो । अहिले तपाईं हुनुभएको भए, कस्तो साहित्य लेख्नुहुन्थ्यो होला ? कल्पनाले नै रोमाञ्चित तुल्याउँछ ।

‘एब्स्ट्र्याक्ट चिन्तनः प्याज’को ५२ वर्षे जीवनमा त्यसको जननीलाई कसरी सम्झने ? जवाफ सोचेजस्तो सजिलो पक्कै छैन । यी पंक्तिहरू लेखिसक्दा पनि लाग्छ, नलेख्दा नै बढी न्याय हुन्थ्यो कि ? त्यही गोरेटोमा अनवरत हिँडिरहेको एक यात्री भएकाले धृष्टता गरेँ । मैले आफूलाई ढाँट्न हुँदैन । ढाँट्न अस्वीकार गरेरै मात्र तपार्इंजस्ता इमानदार लेखकसँग साहित्यिक दृष्टिले परिचय गर्न सकिन्छ । 

तपाईंसँग एउटा सुखद संयोग जोडिएको रहेछ । निकै अबेर थाहा पाएँ । ‘एब्स्ट्र्याक्ट चिन्तनः प्याज’ र म एकै साल जन्मेछौँ । उपल्लो तहको त्यो पुस्तक जन्मेको सालमा म पनि जन्मेको हुँ भनेर सोच्न पाउनु जति प्रितिकर अनुभव के हुन सक्छ र ? फराकिलो विचारको दायरामा आलोचनात्मक चेतसहित लेख्न सकेको दिनसम्म म तपाईंले खनेको गोरेटोको पथिक हुनेछु । अन्यथा यो अर्को औपचारिकता मात्र बन्नेछ ।