
किताब पसलमा छु । नयाँ पुराना, स्वदेशी, विदेशी पुस्तकले मलाई हेरिरहेका छन् । छेउको भुइँमा थुपारिएको पुस्तकको थाकबाट एउटा पुस्तक उठाउँछु । शंकर लामिछानेको निबन्ध संग्रह एब्स्ट्र्याक्ट चिन्तनः प्याज । शंकर लामिछानेका रचनालाई असाध्यै प्रेम गरेँ । त्यसरी प्रेम गर्नेमा मेरा समकालीन मित्रहरू निकै थिए । आठ कक्षा पढ्दासम्म साहित्यप्रति त्यति रुचि थिएन । आमाले वेलावेलामा वाचन गर्ने रामायणको कथाले मेरो ध्यान खिचिरहेको हुन्थ्यो ।
आठ कक्षामा नै हुँदा दाजुको पुस्तकभित्र रहेको तारानाथ शर्माकाे ‘घनघस्याको उकालो’ निबन्ध पढेपछि त्याे निबन्ध नबिर्सने गरी मेराे मष्तिस्कमा बसिरह्याे । सँगै दाजुले सुनाएका शंकर लामिछानेको नाम मेरो दिल–दिमागमा बस्यो । मैले चितवन राष्ट्रिय निकुञ्ज विषयमा घनघस्याको उकालोमा पाइनेजस्तै अनेक फेन्टासीले भरिएको निबन्ध लेखेँ । कक्षा कोठामा त्यो रचना सुनाएपछि मेरो रूपान्तरण नै भयो । मभित्र लुकिरहेको एउटा अनुहार त्यस दिन सबैको अगाडि आएको थियो ।
अलिअलि लाज र अलिअलि उमंगले मेरो पाइला अघि बढेको थियो । नेपालीमा सधैँ धेरै नम्बर ल्याउने छात्रा साथीले त्यो निबन्ध पढ्न मेरो कापी मागेपछि मैले पहिलोपटक सास फेरेको थिएँ । सानैदेखि सँगै पढेकी उनी हरेकजस्तो कुरामा अगाडि थिइन् ।
मैले आठ कक्षामा नै सुनेको थिएँ, उनले उपन्यास पनि लेखेकी छिन् । जब कि मलाई भने कथा, कविता इत्यादि त थाहा थियो, उपन्यास कुन पुतली हो थाहा थिएन । त्यसैको केही दिनपछि अचम्मै लाग्दो गरी घरमा उपन्यासहरू आए तर कुनै निबन्धका पुस्तक आएनन् । उही निबन्धको प्रभावमा मैले एसएलसीको प्रश्नपत्रको उत्तरमा लेखिने निबन्धमा पनि फेन्टासी अनि कल्पनाले भरिएको उस्तै निबन्ध लेखिदिएँ ।
कविता लेख्ने, पुरस्कार जित्ने काम सुरु भइसकेको थियो । धनघस्याको उकालो निबन्धको भूत हराइसकेको थियो । के नेपाल सानो छ ? भन्दै देवकोटाको निबन्ध आएको थियो । कवितात्मक भाषाको त्यो निबन्ध खुब मिठो थियो । मैले देवकोटाका सबै निबन्ध खोजेर पढिसकेको थिएँ । तैपनि निबन्ध लेखन छुटिरहेको थियो ।
चितवनबाट पढ्न काठमाडौ आएँ । केही समयपछि भृकुटीमण्डपनजिक रहेको प्रदर्शनी मार्गको साझा प्रकाशनको बिक्री कक्षमा पुगेँ । त्यहाँ निबन्धको पुस्तकहरूको एउटा खण्डमा भेटियो, ‘एब्स्ट्र्याक्ट चिन्तनः प्याज ।’ पुस्तक लिखुरे थियो । मोटो पुस्तक राम्रो हुन्छ भन्ने परेको मलाई किनूँ वा नकिनूँ भएको थियो । पल्टाएर पढ्न थालेँ । ‘नानी, तिम्रो बा के काम गर्छ ?’‘देउताको काम गर्छ’
यस्तो निबन्ध मैले पढेकै थिइनँ । निबन्ध, कस्तो आख्यान जस्तो, कथा मिसिएको जस्तो । सरसर्ती संस्मरण राखेको पनि छैन । केही महŒवपूर्ण कुरा, गोप्य कुरा, रहस्यमय अनि मिस्टिक कुरा भन्न आफ्नो जीवनलाई छोएर गएको अनेक कुरा भनिरहेजस्तो । सलल बगेको भाषा पनि होइन, बहकिएको अनि फूलबुट्टा भरेको पनि होइन, कस्मेटिक लिपपोत गरेको भाषा पनि होइन । सम्पादकहरूले यहाँ यो शब्द नभए पनि फरक पर्दैन भनेर सम्पादन गरिदिएर छोटो–छोटो वाक्य बनाइदिएको पनि छैन । अलिकति काँचो जस्तो, लेखकको आफ्नै आत्मा अनि सीप झल्किरहेको ।
‘एब्स्ट्र्याक्ट चिन्तनः प्याज’ नपढेको भए मैले मानिसलाई सायद चिन्ने थिइनँ । नेता र उसको व्यवस्थालाई गाली गरिरहेको हुने थिएँ । नेता र उसको व्यवस्थालाई गाली गर्नुको कुनै तुक छैन भन्ने ज्ञान मैले कहिल्यै जान्ने थिइनँ ।
म हुरुक्कै भइगएँ, एक पेज पढेर अर्को पेज पल्टाउँनुअगाडि नै । त्यो एक पेजको पठन अनि २६ रुपैयाँको मूल्य । त्यहाँ भएका अन्य निबन्धका कुनै कृतिले मेरो मन जित्न सकेन । घर पुगेर पढ्न थालेँ । पढ्दा अन्डर लाइन गर्ने बानी । कति हरफ अन्डरलाइन गर्नु ? हरेक हरफ उत्तिकै मिठो । उनका निबन्ध पढ्दै जान्छु । अनि थाहा पाउँछु, संस्मरणलाई त उनले प्रयोग गरेका रहेछन् । त्यो त उनको चलाखी रहेछ । आफ्नो कुरा भन्न गरिएको लेखकीय चलाखी । उनको त्यो चलाखीले पाठकको न हृदय छाडिदिन्छ, न मस्तिस्क । आफ्नो जीवनको छुवाइमा ल्याएर ज्ञानको सागरबाट टिपेको, खोजेको बहुमूल्य रत्नहरूलाई उनी राखिदिन्छन् । पाठकमन हुरुक्क भइजान्छ ।
०००
बुद्धलाई अढाई इन्ची बुद्ध र नौ इन्ची बुद्ध र भूमिस्पर्श मुद्रा बुद्ध र ब्रोन्ज बुद्ध र मुकुटधारी बुद्धको रूपमा मात्र चिन्दछु । म बुद्धलाई किनेको मोल चौध र बेच्ने मोल बीचमा मात्र चिन्दछु । माथि बुद्धको ज्ञानलाई उनले आफ्नो निजत्वसँग ल्याएर राखेका छन्, अनि तल उनै बुद्धको मूर्ति बेच्ने आफ्नो कामका बारेमा भनेका छन् । त्यो पनि उही बुद्धले दिनुभएको ज्ञानलाई राम्ररी बुझाउन । यस्तो लाग्छ, कुनै ज्ञान पाठकलाई साहित्यिक तरिकाले पस्कन उनको जिन्दगीमा भगवान्ले अनुभव दिइरहेका हुन् ।
उनको एउटा सानो हरफ पढौँ न । कस्तो जादुमय छ–म जान्दछु, मेरी छोरीले भनेको कुरामा उसले जानेसम्मको सत्य छ । र, सत्य भनेको के भने तिमीले जानेसम्मको ज्ञान हो, छोरी । यस्तो लाग्छ, उनका हरेक हरफहरू महका चाका हुन् । काठे घरको दलिनमा मौरीले बनाएको । सयौँ पुस्तक पढेर पनि बुझ्न नसकेको बुद्धिजमको मूल अन्तरदृष्टि उनको ‘देउताको काम’ निबन्ध पढेपछि बुझ्न सकिन्छ ।
धेरैपछि पढेका ओशो अनि जे कृष्णमूर्तिमा पनि यस्तो खुबी मैले पाइनँ । ज्ञानको अथाह समुन्द्र एउटा सानो पोखरी भएर आएको छ, त्यो हो ‘एब्स्ट्र्याक्ट चिन्तनः प्याज’ । जीवनभरि म उही सानो पोखरीमा डुबिरहनेछु । के म डुबि नै रहनेछु ? के अब कुनै लेखक आउँदैन मलाई त्यहाँबाट निकाल्न ? धेरै लेख रचना पढियो । ती रचनाका छुवाइ केही समय रहन्छ अनि बिस्तारै बिलाउँछ, डोरीमा टाँगेको कपडाबाट तप्केको पानीजस्तो । म फेरि सुक्खाको सुक्खा नै रहन्छु ।
०००
‘एब्स्ट्र्याक्ट चिन्तन प्याज’ नपढेको भए मैले मानिसलाई सायद चिन्ने थिइनँ, जान्ने थिइनँ । नेता र उसको व्यवस्थालाई गाली गरिरहेको हुने थिएँ । नेता र उसको व्यवस्थालाई गाली गर्नुको कुनै तुक छैन भन्ने ज्ञान मैले कहिल्यै जान्ने थिइनँ । तर, लामिछानेले लेखिदिए । मैले हृदयदेखि जानेँ । मैले यति लेख्दा यस्तो पनि प्रश्न जन्मिन सक्छ, लामिछानेले त्यस्तो खासचाहिँ के लेखे ? उनले के लेखे, ल पढ्नुस्– ‘आजको मान्छे एक भगवान् हो । यस्तो भगवान् जसले आफ्नो संसार स्वयं निर्माण गरेको हुन्छ, –छलले, धोकाले, हत्याले, ऐनले, गैरजिम्मेदारीले, अन्धविश्वासले, भक्तिले, श्रद्धाले, मुख्र्याइँले ।
मलाई लाग्छ, नेपाली साहित्यमा आफ्नो अनि समग्र मान्छेको नग्नतालाई भन्न सुरु गर्ने शंकर नै हुन् । आदर्शले किचिरहेको नेपाली साहित्यमा उनले प्राण भर्ने काम गरे । अब अहिले भने हामी शङ्करका फ्यानहरू नग्नता पस्कनु नै साहित्य हो भन्ने भ्रममा छौँ सायद । कला, चिन्तन र अन्तरदृष्टि चाहिएन, पूरै आफूले गरेको बदमासी अनि नग्नताको प्रदर्शन भए पुग्यो ।
मसँग भएको ‘एब्स्ट्र्याक्ट चिन्तनः प्याज’भित्र शङ्करले मदन पुरस्कार पाउँदा दिएको मन्तव्य छ । त्यहाँ देवकोटाले उनलाई भनेको केही हरफ पनि छ । त्यो हरफ बिर्सेर किन आफ्नो प्रिय लेखकको भद्दा सिको गरेको होला हामीले ? म आफ्नै रचना पढेर आफैँलाई भनिरहन्छु, अनि आफ्ना रचना लेखिसकेपछि नछापेरै च्यातिरहन्छु अक्सर ।
महाकवि देवकोटाको त्यो लाइन यस्तो थियो– शङ्करजी ! मैले जे गरेँ त्यही बाटो तपाईं हिँड्ने हो भने नआउनुस् । आफ्नो बाटो आफैँ पहिल्याउनुस् ।
लामिछानेले त आफ्नो बाटो पहिल्याए । के हामीले पहिल्यायौँ ? के मैले पहिल्याएँ ? मैले त छैन । जीवनमा सबैभन्दा धेरैपटक दोहो-याएर पढेको निबन्ध ‘एब्स्ट्र्याक्ट चिन्तनः प्याज’ नै हो । दोहो-याउनुनपर्ने पुस्तक खासै विशिष्ट लाग्दैन । यस अर्थमा मलाई नेपाली निबन्ध लेखनमा लामिछाने उम्दा
लाग्छन्, देवकोटाभन्दा ।
०००
अहिले म काठमाडौंदेछि टाढा नयाँ ठाउँमा छु । शङ्करका अन्य कृति उतै काठमाडांैमा छाडिए पनि ‘एब्स्ट्र्याक्ट चिन्तनः प्याज’, सिरानीमै छ । उनको लेखनको म प्रेमी हुँ । उनका अन्य पुस्तक आफूसँग नहुँनुको छटपटी भोगिरहेको छु अनि ‘एब्स्ट्र्याक्ट चिन्तनः प्याज’ नै पढिरहेछु । पुस्तक किन्दाको दिनमा जस्तै आज पनि पुस्तकको पहिलो पेज पढ्छु, अनि उस्तै हुरुक्कै हुन्छु । के भएको हो यो ? हृदयमा बसेकी प्रेमिकासँग घरिघरि बोल्न मन लागेजस्तो । उनको मधुर आवाज घरिघरि सुन्न मन लागेजस्तो । के भएको हो यो ?