• वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
सौरभ
२०७६ असोज २५ शनिबार १०:४५:००
इतिहास

लंकाकोण

२०७६ असोज २५ शनिबार १०:४५:००
सौरभ

१.
त्यसै रात्रि त्यस राक्षसले लंकाका आफ्ना भाइबन्धु, हित्तचित्तका राक्षसहरू, आफ्ना दाजुभाइकन डाकी सँग ल्याई (सिम्रौनगढ) सहर बसाया । (पेज ३३, भाषा वंशावली, भाग २, २०२३) यसैलाई टिपेर एक विदेशी लेखक डेनियल राइटले त्यो बनाउने श्रीलंकन राक्षसको नाम महाविजय भएको उल्लेख गरेका छन् । (पेज १७५) उसले तुलजा भवानीको मूर्ति भएको ठाउँलाई बनाएको प्रसंग पनि छ । 

लंकाका वास्तुविद्लाई श्रेय दिइने दुवै प्रसंगका कल्पनाकारहरूको अवचेतनमा पुराणको मय दानव बसेको छ भन्ने स्पष्ट हुन्छ । नजिकै म्यानमार छ, थाइल्यान्ड छ, फिलिपिन्स, इन्डोनेसिया, मलेसिया आदि अनेक छन् । अझ चीन र इन्डिया नै छ । तर, यी कल्पनाकारहरू उति परको लंका पुगेका छन् वास्तुविद् भित्र्याउन  । किनभने उनीहरूले पौराणिक महावास्तुविद् मय दानवलाई बारम्बार पढेका छन् । विक्रमको एघारौँ शताब्दीमा सिम्रौनगढ निर्माण भयो भन्ने कुरा धेरैपल्ट उल्लेख भइसक्यो । 

२.
रावणले श्रीलंकाबाट देउपाटन, काठमाडौंमा रहेका आफ्ना गुरुलाई लसुन र बेसार पठाइदिए । (पेज ६०, कान्तिपुर–पासा) लंकापासी भन्छन्– उपत्यकाको पश्चिम–दक्षिण कोणमा बस्ने गोपालीहरू ठूलो मयललाई (पेज १४५– गोपाली लोकवार्ता)  लंके पिँडालुलाई कुलुङ राईहरू ओमुयोक्स भन्छन् (कुलुङ शब्दकोश) । जुन ठूलो हुन्छ वा जसको नाम माने पिँडालु पनि हो । 

लसुन र बेसार लंकाबाट रावणले पठाइदिएको हो भन्ने धारणा पश्चिम नेपालमा बन्न जानु अनौठो छ । यद्यपि बेसार रैथाने हो । तर, जुन कुरा ठूलो हुन्छ त्यसमा सुरुमै लंका जोडिदिनु प्रवृत्ति बनेको छ । आजको लंका एउटा सानो टापु भनेर प्रमाणित भए पनि हिजोको दिनमा लंका भनेको साह्रै विशाल देश हो भन्ने परेको रहेछ भन्ने बुझिन्छ । नभन्दै एक लेखक (पेज २९, त्यसबखतको नेपाल भाग १–भीमबहादुर पाँडे) ले लेखेका छन्–विश्व भूगोलको कत्ति ज्ञान नभएका पहाडियाहरू नेपालबाट सबैभन्दा परको देश श्रीलंकालाई ठान्दथे । उनका भनाइ तेह्रौं शताब्दीसम्म पनि विश्वको अन्त ताक्लामकान हो भन्ने भ्रम चिनियाँहरूमा थियो भन्ने भनाइसँग मिल्छ । 

३.
तराईमा एउटा निश्चित कोणलाई लंकाकोण भनिन्छ । ‘जसलाई अन्यत्र आग्नेय कोण भनिन्छ भने अवधिमा लंकाकोण भन्ने गरिन्छ । लंकाकोण भन्नु त्यस दिशातिर लंका भएर पनि हो । अवधि प्रदेशका राम उपासक वैष्णव कृषकजनका निम्ति रावणको देश लंकाको नाम नै कष्टप्रद हुनाले यस कोणलाई लंकाकोण भनिएको हुनुपर्छ । (पेज ७५, अवधि संस्कृति ः विभिन्न आयाम– भ्रमर र त्रिपाठी) 

यसको आधार आप्टेले आफ्नो कोशमा लेखेको वाक्य हुनुपर्छ– याम्योत्तर रेखा ज्योतिषीहरूको एक काल्पनिक रेखा हो जसलाई प्रथम याम्योत्तर रेखा भनिन्छ । लंकादेखि उज्जैन हुँदै मेरु पर्वतसम्म गएको ठानिएको छ । 

अघि प्राचीनकालमा कुनै वेला लंकालाई ज्योतिषीय कालगणनाको केन्द्रबिन्दु मानिन्थ्यो । त्यसकारण अहिले पनि ज्योतिषशास्त्रमा लंकोदय मानअनुसारको ज्योतिषीय गणना पद्धति विद्यमान छ । (पेज १७२, चिन्तन चूडामणि– जगमान गुरुङ, प्रकाशोन्मुख) 

४.
हायू जातिको देवी पूजामा गाइने प्रार्थना गीत लंकाबाट आएको उल्लेख छ । (पेज १००, हायू जातिको लोकजीवन– डिआर पोखरेल, २०७०)  सिंहसार्थबाहु लंकाका राक्षसीहरूबाट जोगिँदै वायुपंखी घोडामा उडेर ठमेलमा ओर्लिए । उनको नाममा त्यहाँ अझै एउटा मन्दिर छ । (पेज ४१०, बुद्धिस्ट मोनेस्ट्रिज अफ नेपाल– जोन लक, १९८५)

हायू जाति मध्यनेपालको उत्तरी भेगमा बस्छन् । उनीहरूको प्रार्थना गीत मात्र श्रीलंकाबाट आएको होइन, नेपाली व्यापारी उति पर पुगेर श्रीलंकासँग व्यापार गर्थे भन्ने कुराले हामीलाई अनौठोपन दिन्छ । बौद्ध मतावलम्बीहरूले नेपाललाई श्रीलंकासँग जोड्ने कथा रचे भन्ने मान्यौँ भने पनि हायूहरूको धारणाको जरो पहिल्याउन गाह्रो छ ।

५.
लंकाबाटै लाखे (राक्षस) बन्न गएजस्तो लाग्छ । (पेज ११९, नेपाली निर्वचन, भाग १– बालकृष्ण पोखरेल) यस कुराले यावत् नेवारी संस्कृति र लाखे नाचको मौलिक स्रोतलाई दर्साएको छ । 

लंकापति थापामगरहरूमध्येको एउटा उपथर हो । लंकमान रोकामगर एउटा नाम हो । अलंका खेलको विवरण बुझ्न सकिएको छैन तर एक लेखकले यस खेलको एक ठाउँ उल्लेख गरेका छन् । (पेज १८, मगर जाति– धर्मप्रसाद श्रीस) 

लाङ्गा मगर भाषाको ग्रामवाची शब्द, गाउँ, लाङ्गाको मूल संस्कृतको लंका प्रतीत हुन्छ र मगरहरूको लंका प्राचीनकालमा टापु (द्वीप) भएको बुझिन्छ । (पेज ११९, नेपाली निर्वचन, भाग १– बालकृष्ण पोखरेल)

माथिका हरफहरूमा विचित्रता छ । मगर शब्द लाङ्गा लंकाबाट रूपान्तरित हो भन्ने पोखरेलको ठहर सही देखिँदैन । (हेरे हुन्छ परिभाषाको विवाद) तर मगरहरूमा पनि लंकाप्रतिको आसक्ति भने विशेष देखिन्छ । 

६.
रावणले बनाएको त्यो रावणपाटी आज पनि जयबागेश्वरीबाट आउँदा बीच बाटामा छँदैछ, जसमा हाल सालै यहाँका वैद्यहरूले त्यसमा फूलपाती चढाई होम र पूजा गर्ने गर्दछन् । (कान्तिपुर–पासा) 

यो मानिसको अन्तिम समयमा विश्राम गराइने र घाटे वैद्यले उपचार गर्ने ठाउँ हो देउपाटनको । देउपाटन पर्छ पशुपति क्षेत्रमा । यो के कुराको संकेत हो भने श्रीलंकाका राजा रावण आयुर्वेदमा पनि पोख्त थिए । त्यसैले रावणपाटी अर्थात् रावणको आश्रममा लगेर मरणासन्नलाई राखियो भने ऊ स्वतः निको हुन्छ भन्ने एउटा निःसहायको अन्तिम आशा यसैले पाटीको नाम रावणपाटी हुन पुग्यो । 

जुम्लाका मानिसहरू भाटालाई राउनुका (रावणका) .... मासे (रावण) को भन्ने गर्दछन् । (पेज १०६–१२, कर्णाली अथ इति, पेज १४६, खस जाति र कोलपूजा)
यो लेखाइको अर्थ पनि बुझ्न सकिन्छ । किनभने भाटा एक हतियार पनि हो, घोच्ने र पिट्ने । 

लंकेश्वर रावणले नेपालमा आएर तपस्या गरेका थिए भन्ने लोकोक्ति यस सन्दर्भमा स्मरणीय छ । (पेज ६७, चिन्तन चूडामणि– जगमान गुरुङ, प्रकाशोन्मुख) जस्ता लोकोक्ति बन्न जानु कालान्तरमा पनि अनौठो कुरा होइन । 

रावणले नाचेर शिवलाई खुसी पारेको पर्वत हुनाले नर्तनाचल (अर्घाखाँची) नाम रहन गएको हो । (स्थान नामकोश–श्रेष्ठ) तर, लंका पुगेका हुन् रावण भारतको उत्तराञ्चलबाट । (पेज २७, खसका देवता मस्टो– कुलचन्द्र कोइराला) को आधार के हो ? बुझिनसक्नु छ । 

राक्षस ताल (मानसरोवर छेउ) रावणले नुहाएको भन्ने मान्यता छ । यसैको नक्कल हो हुम्लाको राक्षस ताललाई लंकारी दह (पेज १९, सयरंगी घुम्टोभित्रको हुम्ला– श्रीकृष्ण गौतम) भनिनुको कारण यही र यस्तै–यस्तै अनगिन्ती लोककथा कोइरालाको निक्र्योलको आधार हो भन्नेचाहिँ अनुमान गर्न सकिन्छ । कोसीको कमान्ड क्षेत्र सुनसरीमा बनेको एउटा टापुलाई श्रीलंका टप्पु भनेर गरिएको नामकरण बरु धेरै स्वाभाविक ठहर्छ लंकारी दहका तुलनामा । कर्णाली दक्षिणी सीमा बीचमा बनेको टापुलाई पनि लंका टापु भनिन्छ । अर्थात् हाम्रा निम्ति टापु र लंका समानार्थी हुन् । 

सिलोन टापु प्रागैतिहासिक कालमा थिएन । लंका भारतको मध्यप्रदेशमा पर्छ । (पेज ६१०, वाल्मीकि र व्यास–सुवेदी) स्थानीय बोनहरूले उनीहरूको भाषामा टापुलाई लंका भनेकाले त्यही लंका हो भन्ने ठान्ने भारतीय विद्वान्लाई के ठान्ने हाम्रा लंका टापु नाम दिनेहरूले र त्यस छेउ बस्नेहरूले ?

७.
लंकासानी भनिन्छ एउटा रातो फूल (मीराविलिस जलापा) लाई । यसको उत्पत्ति थलो पेरु हो । पेरु सन् १४९२ मा पत्ता लागेको अमेरिका महादेशमा पर्छ । यसैले यो लंकाबाट आउने कुरै भएन । 

भक्तपुरकाहरू बगनभेली (बगनभिलिया गलाब्रा, स्पेक्टाबिलिस) लाई लंकासानी भन्छन् । बगनभेलीभन्दा रातोरातो हुन्छ । 
लंका पनि भन्छन् यदाकदा नेवारहरू खुर्सानीलाई मल्टाका सट्टा, बंगालीले जस्तै । खुर्सानी रातो र पिरो दुवै हुन्छ । 
यसले बुझाउँछ— रामायणको लंका दहनको निकै गहिरो छाप छ नेपाली मनमा । 

८.
लंकाराम चैत्य– यस्तो नाम लिएको छ एउटा पुस्तकले । (पेज ३३, काठमाडौं उहिले र अहिले– तीर्थनारायण मानन्धर) लंकाराम चैत्य काठमाडौंकै एक चैत्य हो । अब यसको परिकल्पना कसरी भयो निम्न हरफबाट बुझ्न सकिन्छ–

तर, रामग्रामको स्तूप भने नागहरूद्वारा रक्षा गरिएकाले उत्खनन गर्न सकेनन् । कालान्तरमा रामग्राम स्तूपको बुद्धको अस्थि धातु पात्रसहित नदीले बगाएर समुद्रमा पु-याइदियो र त्यहाँबाट बुद्धको उक्त अस्थि धातु श्रीलंका पुग्यो । (पेज १०, गुरुङ, २०५६) थुप वंश र महावंश यी दुवै ग्रन्थ मध्यकालिक कृति हुन् । अतिरञ्जित तिलस्मी खालको भएको हुनाले विश्वसनीय छैन । (पेज १८५, गण्डकी प्रसवण क्षेत्र... गुरुङ) 

लसुन र बेसार लंकाबाट रावणले पठाइदिएको हो भन्ने धारणा पश्चिम नेपालमा बन्न जानु अनौठो छ । यद्यपि, बेसार रैथाने हो । तर, जुन कुरा ठूलो हुन्छ त्यसमा सुरुमै लंका जोडिदिनु प्रवृत्ति बनेको छ । आजको लंका एउटा सानो टापु भनेर प्रमाणित भए पनि हिजोको दिनमा लंका भनेको साह्रै विशाल देश हो भन्ने परेको रहेछ भन्ने बुझिन्छ ।

अशोक चल्लले अरू विभिन्न खस राजाहरूलाई जितेको चर्चा लंकाका प्राचीन कागजपत्रमा पनि पाइन्छ । (पेज १६१, नेपाल र नेपाली– गोविन्दप्रसाद भट्टराई) 
माथिको हरफचाहिँ थुप वंश र महावंशभन्दा पनि विचित्र छ । लंकाले पश्चिम नेपालका घटनाहरूको दस्ताबेजीकरण गरिदिएको पढेर मन दंग नै हुन्छ । तर, कुन कागजपत्र हो लेखक स्वयंले तोक्न नसकेको पाउँदाचाहिँ मन भरंग पनि हुन्छ । 

बौद्ध महावंशअनुसार कपिलवस्तुको विनाशपछि यसको अवनति हुँदै गएको वेला तथागतका काका अमृतोदनका सात छोराहरूका पिताहरूले पिताद्वारा बहिनीको बिहे लंकाका राजा पाण्डुवास (इपु ४२९–३७९) सँग गरेपछि त्यहीँ गएर बस्न लागे । अन्ततोगत्वा श्रीलंकामा सातवटा राज्यहरूको स्थापना गर्ने श्रेय पनि यिनीहरूलाई प्राप्त भयो । (पेज २९, अवधि संस्कृति ः विभिन्न आयाम, सम्पादक भ्रमर र त्रिपाठी– मा रामनिवास पाण्डेको लेख)

९.
त्यस्तै लाग्छ यो हरफ । लंकाका राक्षसले धेरै दुःख दिइरहेको थियो । सबै देवताहरूको आह्वानमा आदिशक्ति गण्डकीले देवीको रूप धारण गरी मानिसमाथि चढेर लंका जानुभयो र राक्षस मार्नुभयो । (विष्णु धर्मोत्तरशास्त्र÷वराह पुराण आदिबाट साभार गरिएको भनिएको पेज ९२, मुस्ताङ दिग्दर्शन– नारायणप्रसाद क्षत्री) 

१०.
लुंखु धोबीखोला वा रुद्रमतीको पुरानो नाम हो । यो उत्तरबाट दक्षिण हुँदै अन्त्यमा बागमतीमा मिल्छ । यहाँ पहिला लुं अर्थात् नेवारीमा सुन छानिन्थ्यो अवश्य । सुनैसुनले बनेको लंकाबाटै नेवारी भाषामा लुं अर्थात् सुन भएको स्पष्टै छ ।

लुं झ्या (सुनको झ्याल) भएका मन्दिरहरू प्रशस्तै छन् उपत्यकामा । लुं ध्वाका (सुनको ढोका) भएको दरबारै छ भक्तपुरमा । अर्थात् रावणको सुवर्णनगरी एउटा आदर्श थियो र अचेतनमा छ भन्ने स्पष्टै छ । अर्थात् एक नेपालीका निम्ति लंका भन्नाले वास्तुशास्त्र, आयुर्वेद, ज्योतिष, ठूलो, रातो, पिरो, टापु, राक्षस, बोक्सी, सुदूर, सुन, व्यापार, गफ आदि दर्जनौँ अर्थ छन् । हाम्रो लंकाकोणको परिभाषा सामथ्र्यबाहिर छ । 

श्रीलंकनहरूले २०५२ मा माओवादी अभियान सुरु हुनासाथै अंग्रेजी दैनिकमा लेख लेखेर ‘तिम्रो देश विदेशीहरूको खेलबाट बचाऊ’ भन्दै सचेत गराएको पंक्तिकारलाई सम्झना छ । व्यक्ति र लेखक याद छैन । 

श्रीलंकनहरूले नै अनमिनले माथिबाट आँप देखिने गरी भित्र साना हतियार लुकाएर तराईमा बाँडिरहेको छ भनेर नेपालीहरूलाई खबर गरेका हुन् । यसपछि मात्र नेपाल बढी सतर्क भएको हो । यसर्थ लंकासँगको हाम्रो सम्बन्ध हृदयदेखिको हो, कूटनीतिक होइन ।