• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
संगीता उराँव
२०७६ कार्तिक २ शनिबार ०८:०१:००
समाज

४१ नम्बर कहिले आउँछ ?

२०७६ कार्तिक २ शनिबार ०८:०१:००
संगीता उराँव

मोरङ छिटाहाकी संगीता उराँव रंगकर्मी हुन् । रंगकर्मसँगै उनी पूर्वी नेपालमा सीमान्त जिन्दगी बाँचिरहेका उराँव जातिका नलेखिएका कथा लेखिरहेकी छिन् ।यसपटक उनले उराँव जातिको किसानी जिन्दगी र महिलाको अवस्थाबारे आफ्नै गाउँको कथा लेखेकी छिन् :

मंसिर महिना । घाम कुरिया गाउँको बगैँचामा लुक्ने तरखर गर्दै थियो । तर, किसानहरू खेतमा व्यस्त थिए । उनीहरूको व्यस्तता सकिएको थिएन । खलीमा धानका ढेरी तहतह मिलाएर राखिएको थियो । ती धानका ढेरीहरू झोराटोलका उराँवहरूले अधियाँमा उब्जाएका थिए ।  ‘बासमती धान’ खलीभरि मगमग बास्ना छरिरहेको थियो । ‘फोटिफोर धान’ र ‘राधाबाह्रा धान’को लामालामा बाला सुनजस्तै टल्किरहेको थियो ।

म साथी रवनीसँग आलीमा बसेर किसानहरूले काम गरेको हेरिरहेको थिएँ । हामी कहिले खेतमा चर्न आएका भँगेरा हेथ्र्यौं, कहिले धानका दानाहरू हातमा खेलाउँदै रमाउँथ्यौँ । बुढापाकाहरू भन्थे, ‘यो धानको भुजा साहै्र स्वादिलो हुन्छ ।’ कसैको घरमा छोराछोरीको बिहे हुन लाग्यो भने अरू धानसँग बासना आउने धान साटेर राख्थे । तर, त्यही स्वादिलो मीठो धानको बीचमा हुन्थ्यो भुट्टी धान । यसलाई किन भुट्टी धान भनियो भने यसको हाइट तीन फिटको मात्र हुन्छ । यो अरू धानभन्दा सस्तो हुन्छ । यसको भुजा स्वादिलो हुँदैन । स्वादिलो धान मालिकले लान्छन् र उराँव किसानले पाउँछ यही बेस्वादिलो भुट्टी धान । 

मैले सम्झिँदासम्म झोराटोलमा सात–आठ जातका मानिस बसोवास गर्थे । अन्य जातिभन्दा उराँवहरूको संख्या बढी थियो । किसानहरूले खलीमा धान दौनी (दाउनी) गरेर ढेरी बनाएर राख्थे । खलीको छेउछाउमा धानका केही बोरा पनि हुन्थे । छेउमा केही किसान जुटको बोरा पनि सिलाइरहेका हुन्थे । ढिस्को बनाएर राखेको धानमाथि दुबो र खुर्सानी राखिन्थ्यो । ढिस्कोवरपर खरानीले गोलो घेरा बनाइएको हुन्थ्यो । 

यो कथा त्यही गाउँको किसान किस्नु उराँवको हो । यो कुनै काल्पनिक कथा होइन । किस्नु तराजुले धान तौलिरहेका थिए । रवनी र म त्यही पुगेका थियौँ । किस्नुले गम्छाले पगरी बाँधेका थिए । त्यही गम्छाले वेलावेला पसिना पुछ्थे । पसिनाले पूरै शरीर भिजेको थियो । उनी ४५ वर्षका भए । तर, रोगी किस्नु साठी कटेजस्ता देखिन्थे । उनले बिरामी हुँदा पनि किसानी काम छाडेनन् । तीन बहिनी छोरीसहित परिवारको दायित्व एकातिर थियो भने अर्कोतिर थियो साहुको ऋण । किस्नुको छेउमा खेतमालिक मुढामाथि सानले उपरखुट्टी लगाएर बसेका थिए । मालिक सर्ट पेन्ट, कालो चस्मा, टोपीमा सजिएका थिए । वेलावेला पिच्चपिच्च पान थुकिरहन्थे । उनको हातमा कापीकलम थियो, धानका बोराहरू कापीमा टिप्थे । 

किस्नुको दायाँपट्टि बोरा समातेर बसेकी थिइन् रवनी । उनी भर्खर १० वर्षकी भइन् । कपाल लट्टा परेको छ । उनले लगाएको कपडा माछाको कत्लाजस्तो धुजा–धुजा र खुइलिएको छ । मालिकको बोरामा धान खन्याएर जब अन्तिमको नम्बर ४० आउँछ, तब छोरी कुदेर बोरा थाप्न पुग्छिन्, रवनी । ४१औँ नम्बरमा जम्मा एक पसेरी धान पर्छ उनीहरूको भागमा । खेतमा भँगेराको हुल हेर्दै हामी खेल्थ्यौँ । त्यसवेला बुबाले ‘चालिसा’ भनेको उनी सुन्दिन थिइन् । त्यसवेला किस्नुले जोरले (जोडले) बोलाउँथिन् अनि रवनी झस्किँदै बोरा थाप्न दौडिन्थिन्  । 

०००
अर्कोदिन बिचडुको खेतमा दौनी गर्न गाउँका ठिटाठिटीहरू हौली (मेलापात) आए । हौलीमा सतनी, सुम्री, झालो, रविया, मगरु थिए । सुम्री किस्नुको माइली छोरी हुन् । रवियाको मीत छविया पनि दौनी गर्न सघाइरहेको थियो । पिन्ठी (लठ्ठी) लिएर गोरुको पुच्छर समाइ धपाउँदै थियो । 

रविया लक्का जवान थियो । गाउँका केटीहरू रविया देखेर हुरुक्कै हुन्थे । उसको मीत छवियाचाहिँ गीत गाउन सिपालु थियो । धेरै दिनपछि सुम्रीसँगै छविया खेतमा काम गर्न पाएकोमा खुसी थियो । किनकि छविया सुम्रीलाई मन पराउँथ्यो । उनीहरूको नजर एक–अर्कामा घरीघरी ठोकिन्थ्यो । सुम्री लाजले मुसुक्क हाँसी टाउको निहुराउँथिन् । छविया सुम्रीलाई हेर्दै गीत गाउथेँ : 
जीयाँ एङगहा लल्चारा गुयाँ
निङगान इरकान खने
काया एङगहा धड्कारा गुयाँ 
निङगान इरकान खने 

सुम्री लाजले टाउँको निहुराएर उभिरहन्छिन् । छविया सुम्रीको नजिक जान्थे । सुम्री केही बोल्न नसकी परालको बिटा बोकेर घरतिर जान्छिन् । किस्नु धान तौलिरहेकै थियो । उनले वेलावेलामा पगरी फुकालेर पसिना पुछे । उनी थाकेर गलेका जस्ता देखिन्थे । गन्ती गर्दै ४० पुगेपछि रवनीलाई बोलाउँथे । रवनी कहिले त निदाइसकेको पनि हुन्थिन् । बुबाले बोलाएपछि झस्किँदै बोरा थाप्थिन् । साँझ अबेर किस्नु आफ्नो भागको धान बोकेर घरतिर लागे । उनको पछिपछि रवनी पनि गइन् । 

किस्नुले किसानी गरेर धेरै धान फलाएको छ । तर, उनको नम्बर आउँछ ४० पछि । त्यो ४१औँ नम्बर किस्नुलाई प्यारो लाग्छ । रवनीलाई पनि प्यारो लाग्छ । हाम्रो घरछेउमा किस्नुले आफ्ना पुर्खालाई सम्झिएर दियो र पानी चढाउने ठाउँ थियो । किस्नुले वेलावेला रवनी र मलाई घुमाउन लैजान्थे । हामी कहिले सुरेन्द्र मालिकको खलीमा जान्थ्यौँ, कहिले पण्डित बाजेको खलीमा । कहिले कुमार मालिकको खलीमा र कहिले पुग्थ्यौँ कुरिया गाउँको खलीमा । 

म गाउँ जाँदा सधैँ रवनीलाई खोज्छु । तर, उसलाई कहिल्यै भेट्न सक्दिनँ । ऊ आज पनि यस्तै निर्दोष, उस्तै मायालु देखिन्छे । बल्ल–बल्ल रवनीलाई भेट्दा उही ४१ नम्बरको सम्झना आउँछ । 

एकदिन किस्नु बिरामी प-यो । अब ऊ खेतमा काम गर्न नसक्ने भयो । उसले मालिकको ऋण तिर्न सकिरहेको थिएन । त्यसमाथि उसकी छोरी सुम्रीको बिहे गर्ने वेला भइसकेको थियो । सुम्रीका लागि केटा देखेको छु भन्थे करमा काकाले । केटा झवहारी गाउँको थियो । केटा सानै हुँदा भागेर पन्जाब गएको थियो र दश वर्षपछि फर्केर आएको थियो । दुनियाँ बुझेर आएको केटा राम्रै होला भन्ने ठान्यो किस्नुले । परिवारले भन्यो, ‘सुम्रीको बिहेका लागि फोटीफोर धान बचाएर राख् ।’

सुम्री छवियालाई प्रेम गर्थिन् । तर, उनको कुरा कसैले सुनेन । उनको प्रेम त्यतिकै बिलायो । माघ महिनामै छोरीको बिहे गरिदिने योजना बनायो किस्नुले । करमा काका सुम्रीको बिहे गराउने अगुवा भए । दुवै पक्षसँग कुरा चलाउने जिम्मा पाए करमा काकाले । किस्नुको घरमा तिलको लड्डु, भुजाको लड्डु, चिउराको लड्डु, सखरखण्ड र मासुका परिकार तयार भयो । किस्नुले पाहुनालाई तामाखु र बिँडीले स्वागत गरे । एकछिनमा सुम्री कासको लोटामा पानी लिएर पाहुना भएको ठाउँमा आइन् । केटा पक्षले सुम्रीलाई तलदेखि माथिसम्म हेरे । एकछिनपछि केटाको बुबाले लोटाको पानी पिए । किस्नुको मन हलुका भयो । यदि पानी नखाएको भए छोरीलाई मनपराएन भन्ने हुन्थ्यो ।

पन्जाब जानुअघि उनको नाम मिथुवा थियो । फर्किंदा मिथुन भएर फर्किए । उनको रवाफै बेग्लै । उही मिथुनसँग सुम्रीको बिहे भयो । घरगृहस्थी सम्हालेको वर्षदिनपछि सुम्रीले छोरी पाइन् । छोरी दुई वर्षको नहुँदै सुम्री फेरि दुई जिउकी भइन् । मिथुनले कमाएर ल्याएको पैसा पनि सकियो । घरमा कलह हुन थाल्यो । दोस्रो बच्चाको बाउ नबन्दै मिथुन फेरि पन्जाब गए । घरव्यवहार सुम्रीको जिम्मा ।

१६ जनाको परिवारमा खानपाउको सम्पूर्ण जिम्मा सुम्रीकै । सबैजना मालिकको घरमा काम गर्न जान्थे । सुम्रीको हातमा एक पैसा पनि थिएन । सन्तानलाई भनेको किनिदिन सकिनन् । पन्जाबतिर गएको मिथुनको कुनै खबर आएन । सुम्रीले दोस्रो सन्तानका रूपमा छोरी जन्माइन् । अस्पतालको बेडमा होइन, घरमै जन्माइन् बच्चा । परम्पराअनुसार पच्चोले सालनाल काटेर घरभित्रै कतै कुनामा गाडिदिइन् । त्यसमाथि गुँइठाको आगो बालेर सुत्केरी र बच्चालाई न्यानो दिने व्यवस्था गरियो ।

बच्चालाई दुष्ट आत्माको आँखा नलागोस् भनेर ढोकामा बयरको हाँगा, फलाम गाडियो र छपरमा माछा मार्ने जाल राखियो । ६ दिनपछि छोरीको छटियारी गरियो । छोरीको नाम बुधबार जन्मेकीले बुधनी राखियो । छटियारीको केही दिनपछि उनी परिवारसँग छुट्टिएर बस्न थालिन् । सुम्रीको भागमा एउटा कोेठा मात्र प¥यो । सुत्केरी सुम्रीले तागतिलो खाना खान पाइनन् । उता मिथुन कहाँ छ, के गर्दै छ सुम्रीलाई केही पनि थाहा छैन । 

छोरी र सुम्री दुवैजना बिरामी परे । रेखदेख गर्ने कोही नभएपछि सुम्री माइत गइन् । यता किस्नु पनि बिरामीले थला परेको थियो । बहिनी रवनीले खाना पकाएर खुवाइन् । खाना खाएर सुम्रीको आमाले पच्चोलाई बोलाएर ल्याउँछिन् । पच्चोले सुम्री र छोरीलाई मालिस गरिदिइन् । सुम्री माइती पुगेको दोस्रो दिन । बिहान कुखुरा बास्यो । सधैँझैँ सूर्यको किरण आँगनमा खस्यो । तर किस्नु सधैँझैँ ब्युँझेन । चिर निन्द्रामा निदायो किस्नु । गाउँलेहरू जम्मा भए । बाँसको घारो बनाइयो । किस्नुलाई नुहाइधुवाइ गरी त्यही घारोमाथि राखियो । गाउँका सबै उराँवहरू नाङ्लोमा दियो, अन्डीको पातमा भात, लोटामा पानी, धान, तेल, पैसा लिएर मृतकको घरमा जम्मा भए । 

छोराले दागबत्ती दिने चलन भए पनि किस्नुको छोरा भन्नु नै तीन छोरीहरू थिए । छोरीमध्ये कान्छी छोरी रवनीले दागबत्ती दिइन् । किस्नुलाई जमिनमा गाडेर मलामीहरू खोलामा नुहाएर घर फर्किए । यता बुबाको मृत्यु, उता श्रीमान्को कुनै खुटखबर छैन । वर्ष बित्यो मिथुुन फर्केन । सुम्री अहिले एक्लै दुई छोरीलाई हुर्काइरहेकी छिन् । मेलापात गर्छिन् । अर्काको घरमा काम गरेर फर्किँदा खाना पोका पारेर घर ल्याउँछिन् अनि छोरी र आमालाई खुवाउँछिन् । अलिअलि पैसा पनि कमाएकी छिन् । त्यो पैसाले छोरीहरू पठाउने उनको सपना छ । 

किस्नु त मरेर गयो । तर, उसको ऋण मरेन । कालले किस्नुलाई लिएर गए पनि ऋण लिएर गएन । हिजोआज किस्नुको ऋण चुक्ता गर्न आलीमा बसेर टुकुरटुकुर हेरिरहने रवनी मालिकको घरमा काम गरेर गइरहेकी छिन् । म गाउँ जाँदा सधैँ रवनीलाई खोज्छु । तर, उसलाई कहिल्यै भेट्न सक्दिनँ । ऊ आज पनि यस्तै निर्दोष, उस्तै मायालु देखिन्छे । बल्लबल्ल रवनीलाई भेट्दा उही ४१ नम्बरको सम्झना आउँछ ।