अन्तरिक्षमा मर्ने कुकुरको शोकमा
गिर्जाघरमा रुने ढोंगी मानवता
धरतीमा गरेको हत्याको पछुतोमा
आत्महत्या गर्न बाध्य हुनेछ
(होचि मिन्हलाई चिठी, भूपि शेरचन)
भियतनाममाथि अमेरिकी आक्रमणविरुद्ध भूपिले होचि मिन्हलाई पठाएको चिठीअंश हो, यो । ‘मानिस मर्छन् जसरी डढेलोमा रूखहरू डढ्छन्, तर मानवता कहिल्यै मर्दैन, फेरि पलाउँछ’ उल्लेख गर्दै भूपिले शक्तिशाली अमेरिकाको भियतनाममा खैरियत देखेनन् । नभन्दै आफूभन्दा कमजोर भियतनामसामु अमेरिकाले घुँडा टेक्यो । र, अन्तमा सातोपुत्लो हराएर अमेरिका फक्र्यो ।
भूपिको कवितामा उल्लेख कुकुरको नाम लाइका थियो । सन् १९५७ नोभेम्बर ३ मा जीवित प्राणी पहिलोपालि अन्तरिक्षमा पुग्यो । पूर्वसोभियत संघले पठाएको त्यो प्राणी थियो, लाइका नामक कुकुर । भलै जीवित फर्केन । संयोग, मानिसले पालेको पहिलो जनावर पनि कुकुर नै थियो, भन्छन् ।
सन् १९७० दशकमा अमेरिकामा धेरै कुकुर मारिए । फलस्वरूप सन् १९७९ मा कुकुर अधिकार अभियान सुरु भयो । ‘सन्जेबेला’ थियो । वनचरा वास बसिसकेका थिए । भेडीग्वाला ‘बासिमाना’ भन्दै साँझपखको खाना खान लाग्दै थिए । रुकुम (पश्चिम)को स्यार्पु सिरानीमा वास बसेका भेडा कति निदाइसकेका थिए त कति निदाउने तर्खरमा । ‘होइन, बिजुले कहाँ छ ? बाघ आएर टिपी लग्ला ।’ बिजुले नदेखेपछि पाका भेडीग्वाला आँखा सशंकित भए । त्यसपछि आत्तिएको बोली झ¥यो । लगत्तै सबले यताउति हेरे । लाठी र खुकुरी लिएर भेडीग्वाला बिजुले खोज्न हिँडे । अलि पर छेउमा ठूलो रूख थियो । त्यही रूखमुनि बाघले बिजुले समाएको थाहा पाए । तर, लिएर कता लाग्यो ? पत्ता लागेन ।
दुई माना पिठो तयार पारे । सेतो टालो हातमा लिए । टालोमा सय रुपैयाँको नोट पनि राखे । बिजुलेलाई ‘सत्गत्’ गर्न भनी कहिले पूर्व लागे त कहिले पश्चिम । केही न केही त कसो नभेटिएला भन्दै भीरकान्ला बाँकी नराखी धुइँधुइँती खोजे । ‘मट्टी दिन खुब खोजेँ । बिजुलेको एउटा भुत्ला पनि भेटिएन,’ रुकुम (पूर्व) तकसेराका तेजेन्द्रबहादुर बुढामगर (५९)ले त्यो नौ वर्षीय बिजुलेको यादमा अल्झिँदै भने ।
बिजुले बितेको महिना बिते । वर्ष बिते । तर, उनी अझै बिजुले यादमुक्त भएका छैनन् । खाम भाषा अध्ययन गर्न तकसेरा पुगेका भाषाविद् डेविड वाटर तिनै तेजेन्द्रका घरमा बसेका थिए । कारण थियो, उनका बा गाउँका जान्नेभान्ने थिए । ११ वर्षको उमेरदेखि भोटे कुकुरसित ‘हमेल’ गर्दै भेडासँग लेकबेसी थालेका मगरका पाइलाले पहिलोपालि काठमाडौं टेकेको थियो ।
शरीर काठमाडाैंमा भए पनि उनको मन भने बुकीमै थियो । मगर–मन कहिले बिजुली चम्केजसरी सुइँय सुइँकेर भ्वाङ भ्वाङ आवाजमा भुक्दा बुकी कँपाउने भोटे कुकुरमा जान्थ्यो त कहिले भुर्र उडेर भ्याभ्या धुन निकाल्दै चरिरहेका भेडामा । मगर मैकोटछेउको बुकीमा भोटे कुकुर र भेडा छाडेर उपचारार्थ काठमाडौं पसेका थिए ।
क्युबाङ, रिकालेक, काँक्री, दोमै, महिबाङ, तीनबैनीलेक, झारखर्क, कालापोखरा, सुकीदह, आठबीसकोट कति ठाउँ हो कति ठाउँ टेके, उनका कलिला पैतालाले । जाजरकोट र सुर्खेतका गुर्भाकोट टेके । कहिले रोल्पा हुँदै दाङ ओर्ले । थाम, हुकाम, मैकोटे बुकी हुँदै कहिले ढोरपाटन बुकी त कहिले डोल्पाली बुकी लागे । कलिला काँडासमेत बिझ्ने उनका कलिला पैतालाले यसरी हिँड्दाहिँड्दै प्राकृतिक जुत्ता लगायो, जसमा ठोक्किएर मै हुँ भन्ने छिप्पिएका टिमुर र घंघारु काँडासमेत कति भाँचिन्थे कति भाग्थे ।
अचेल मगर आफ्नोसहित चार घरका भेडा चराउँछन् । चार घरका जम्मा सात सय पचास भेडा छन् भने तीनवटा भोटे कुकुर । पहिले–पहिले त धेरै भेडा हुन्थे । र, भोटे कुकुर पनि । भोटे कुकुर र भेडासँग मगरले उकालीओराली गर्न थालेको ५० वर्ष लाग्यो । अहिलेसम्म जारी छ । यति लामो यात्रामा कतिवटा भोटे कुकुरसँग उनको संगत भयो होला ? तर, उनको दिल–दिमागमा बिजुलेको बिजुली चम्किरहन्छ ।
बिजुले डाङ्ङा अर्थात् भाले थियो । अप्ठेरो बाटो छ, अक्करे भिर छ भन्ने थाहा पाउनेबित्तिकै बिजुले बाटोमै लम्पसार सुत्थ्यो । त्यसपछि रफ्तारले हिँडिरहेको भेडा बथान ‘स्ट्याचु’ हुन्थ्यो । बिजुलेले त्यसो नगरे के उल्कै हुन्थ्यो त ? हुन्थ्यो नि । लोम्बाले हामफाले सबै भेडाले हामफाल्थे । र, सबको एकसाथ चिलिम फर्कन्थ्यो । भेडाको अगुवालाई लोम्बा भन्छन् । तिनै तेजेन्द्रपुत्र अनिल बुढामगरले लोम्बा नामकै फिल्म बनाएका छन् ।
‘लट्ठी समाएर उठेपछि बिजुले मेरो अघि–अघि लाग्थ्यो । रात परे सुँघ्दै/भुक्दै चारैतिर घेरा मारेर भुक्थ्यो । एक–दुई घन्टा मात्र सुत्थ्यो,’ काठमाडौंस्थित छोराको डेरामा तेजेन्द्रले बिजुले बखान गर्दै थिए, ‘अगाडि मासु राखिदिए नि ‘च्याेँ’ नभन्दासम्म बिजुलेले खान्नथ्यो । कठै, बिजुलेजस्तो त मान्छे पनि छैनन् ।’
भेडारक्षक भोटे कुकुरको गलामा फलामे काँडावाल पेटी हुन्थ्यो, जसले गलामा बाघको दाह्रा गाडिन दिन्नथ्यो । भेडा जोगाउन ती भोटे कुकुर बाघसँग लाप्पा खेल्थे । दुई कुकुर मिले भने त बाघ नै ढालिदिन्थे । दुःखको कुरो, त्यस साँझ भने एक त एक्लो, उसैमाथि गलामा पनि पेटी नभएको वेला बिजुले कुकुर बाघको ‘पाला’ प-यो । बीचमा भेडा–बाख्रा बथान बस्थ्यो । वरपर भोटे कुकुर । ती कुकुर रातभर वारिपारि पाखा नै थर्कनेगरी भुक्थे । छरिएका वा कसैका बारीमा पसे वा एक ठाउँमा भेडा–बाख्रालाई भेला गर्ने काम पनि भोटे कुकुरकै थियो ।
अघि–अघि कुकुर । पछि–पछि भरुवा बन्दुक वा धनुषकाँधधारी सिकारी । औँला मुखमा राखेर ‘पाटे सुसेला’ हाल्दै बीच–बीचमा है है गर्दै कराउने गाउँले । पाटे सुसेला हाल्नु कोही आए–गएको संकेत थियो । ‘म यहाँ छु’ भन्ने जानकारी पनि । ‘सिकार लखेट्ने’ साधन पनि थियो । ‘ल आइज’ भनेर लडाइँको हाँक पनि । जंगल पुगेपछि सिकारी सिकारको ‘घात’ बस्थे । भोटे कुकुर सुँघ्दै सिकार खोज्थे ।
पाटे सुसेला हाल्दै गाउँले है है गर्न थालेपछि आराम गरिरहेका वा चरिरहेका वा सुतेका सिकार ज-याकजुरुक उठ्थे । त्यसपछि बेतालले कुद्थे । यसरी कुलेलम ठोक्ने ती मृग हुन्थे । ती घोरल हुन्थे । ती बँदेल हुन्थे । तिनलाई कुकुरले खेद्थे । घातमा पुग्नेबित्तिकै सिकारीले निसाना लाउँथे । सिकार पत्ता लगाउन र लखेट्न सुरिला ती भोटे कुकुरलाई गाउँमा सिकारी कुकुर भन्थे । सिकारी कुकुर लिएर जंगलमा सिकार खेल्न जानुलाई एरा खेल्ने’ भन्थे । र, एरा खेल्नेहरूलाई एरी । सिकारी कुकुरलाई ‘एरी कुकुर’ पनि भन्थे ।
रुकुम(पूर्व) मैकोटका लेखक सुरुल पुन उर्फ अजयशक्ति खबर सुनाउँदै थिए, ‘दुई वर्ष भयो, सिकार खेल्ने जंगल सिकार आरक्षले लग्यो । अब मैकोटका सिकारी कुकुर त लुते कुकुर भइसके ।’ यसअघि नै ढोरपाटन सिकार आरक्षको साठी प्रतिशतभन्दा बढी भूभाग त रुकुम मैकोट र हुकाममै पथ्र्यो ।
भोटे कुकुरले स्याल, वनबिराला, मल्सेपाठा र चिलबाट कुखुरा बचाउँथ्यो । गाईभैँसी हेथ्र्यो । र, भेडा, बाख्रा, याक, चौँरीलाई चितुवा, भालु, बाघ, स्याल, ब्वाँसोबाट जोगाउँथ्यो । घर र श्रीसम्पत्ति रोखाला र चोरबाट जोगाउने भोटे कुकुर थियो । गाउँघरमा भन्थे, ‘भोटे कुकुर भएको घरमा फोर्न चोरले कम्तीमा पनि चारपालि सोच्छ ।’ एक्लो घर छ भने त भोटे कुकुर अनिवार्यजस्तै थियो ।
अठार मगरातअन्तर्गतका रोल्पा, रुकुमका खामभाषी गाउँमा रात परेपछि भोटे कुकुर छोडुवा छोड्ने चलन नै थियो । यसैले रात परेपछि अनचिनारलाई ती गाउँ पस्न बाह्र बज्थ्यो । पहिले–पहिले ती गाउँका प्रायः प्रत्येक घरमा एउटा भोटे कुकुर हुन्थे । गरिब घरमा पनि । बजारिया अग्ला घरकाले फलामे साङ्लोले बाँधेर ‘शान’ र ‘औकात’ ‘सो’ गर्ने सोखले कुकुर पालेजस्तो ती गाउँमा थिएन । पूर्वजनमुक्ति सेना कमान्डर एवं लेखक अजयशक्ति भन्दै थिए, ‘भोटे कुकुर त घरको ‘सेन्ट्री’ थियो ।’
‘कालाखोला (पर्सेनी) चैतमा मेला लाग्थ्यो । मेलामा घोडा किनबेच हुन्थ्यो । मेलामै दाङका ठकुरी, क्षेत्री जिम्दारले भोटे कुकुर किन्थे । त्यसताका बाहुन जिम्दारले भने कुकुर फोहोरी हुन्छ भनेर पाल्दैनथे,’ रैथाने दङाली कवि शरद देवकोटा दाङघारीमा उनिएको भोटे कुकुर कहानी कहँदै थिए । देवकोटाका अनुसार, कालाखोलामा अहिले नि चैतमै मेला लाग्छ । तर, अहिले न घोडा खरिदबिक्री हुन्छ न त भोटे कुकुर ।
माइतीघर रोयल केनलका केशर केसीले रोल्पा, रुकुम र बाग्लुङका भोटे कुकुर व्यापार गरेका समाचार सुनाए । आफूले देखेभेटेका र बेचेका भोटे कुकुरका रङरङका अनुहार सम्झिए, ‘अग्लो, ठूलो र पोटिलो जिउ । कान ठूलो । टाउको ठूलो । मुख ठूलो । कति हेर्दै डरलाग्दो त कति देख्दै रहरलाग्दो । हिउँ पर्दा हिउँ लर्केर झर्ने बाक्लो भुत्ला ।’
दूध (चौँरी गोठमा भए चौँरीको दूध त भेडीगोठमा भए भेडाको दूध) खाएका भोटे कुकुर वल्लो गाउँ भुक्दा पल्लो गाउँसमेत थर्कन्थ्यो । भन्छन्– भोटे कुकुर दुईखाले हुन्छन् । एक, सिंहटाउके (जसको भुत्ला लामो हुन्छ, तर जिउ सानो) । दुई, बाघटाउके (जसको जिउ ठूलो हुन्छ, तर भुत्ला छोटो) । भोटे कुकुर कुनै पूरै काला हुन्थे त कुनै कालो र खैरो मिसिएको । कुनै खरानी रङे । पूरै कालो भोटे कुकुर ‘खास्सा’ मान्ने चलन थियो ।
केसीका अनुसार लुक्ला, सोलु, जुम्ला, डोल्पा, रुकुम, रोल्पा, बाग्लुङ गरी विभिन्न ठाउँका भोटे कुकुर भनेर जान्ने चलन छ । वर्षमा एकपालि (डिसेम्बर र जनवरीतिर) ब्याउने भोटे कुकुरले तीन–चारवटा छाउरा पाउँछ । रोल्पा–रुकुमतिर भोटे कुकुरलाई जारे कुकुर पनि भन्छन्, जहाँ भोटे कुकुरभन्दा जारे कुकुर नाम नै चल्तीमा छ । हुम्ली सांसद छक्कबहादुर लामा भन्थे, ‘जारे कुकुर भनेको ‘जार’ कुकुर भनेको हो । ‘जार’को कुकुर भनेको हो ।
जारे कुकुर र भोटे कुकुर एउटै हो ।’ कर्णालीको माथिल्लो भाग (भोटे बस्ने ठाउँ)लाई जडान भन्छन् भने तल्लो भाग (खस बस्ने)लाई खसान । भोटे कुकुरलाई ‘तिब्बतियन मस्टिफ डग’ लेखेको पाइन्छ । युरोपतिर ठूला कुकुरलाई मस्टिफ भन्छन् । सायद युरोपियन तिब्बत पुगेपछि मस्टिफ नाम दिए । अंग्रेजीमा जे नाम दिइए पनि यो हिमाली कुकुर भुटान, चीनसहित नेपाल, भारतका उत्तरी भेगमा पाइन्छ ।
भोटेकुकुर भुकीभुकी कहिल्यै थकाउँदैन ।
बैरागीको जल्ने मन कहिल्यै अघाउँदैन ।।
झ्याउकी झ्याउकी भुक्न लाइ’गो जुमलीको जारे ।
सुन पुरानो, रङ्ङ बूढो कैली हुन्न लारे (माया) ।।
भोटे कुकुरमाथि उनिएका ठाडी भाकाका गीत गेडा हुन्, यी । जसलाई रुकुम (पश्चिम)का गायक एवं कविद्वय मनलाल ओली र शशिराम ओलीले संकलन गरेथे । रोल्पा÷रुकुमका वनपाखामा यस्ता थुप्रै गीतमा जारे कुकुर गीतका फल भएर फलेका छन् । त्यसैगरी, भोटे कुकुरका अनेक किस्सा गाउँघरमा गुनिएका छन् ।
जस्तोः के हेरेको, भोटे कुकुरले हेरेजस्तो ! कस्तो बोलेको, जारे कुकुर झौकेजस्तो ! किन डरायौ बाल्, जारे कुकुर देखेजस्तो ! कुकुर भुकाइका भिन्न ‘चाली’ले भिन्न अर्थ बोक्छ भन्ने घरेलु व्याख्या छन् । जस्तोः हुँ हुँ गर्दै भुके (कुकुर रोएको पनि भन्छन्) गाउँमा कोही मर्छन् भन्ने विश्वास छ । यसको वैज्ञानिक कारण पनि छ कि ?
गाउँघरमा कि जारे कुकुर हुन्थे कि काठे । काठे कुकुर भने गाउँमा हल्लिँदै हिँड्थे । सहरबाट बेलौटी कुकुर गाउँ पसे । बेलायती कुकुर भन्दाभन्दै सायद गाउँलेले बेलौटी बनाइदिए । कार्ल माक्र्सले जंगबहादुर राणालाई बेलायती कुकुर भने भनेर उल्लेख गरेको पाइन्छ । सहरमा एकथरी कुकुर सडकमा छन् । अर्कोथरी अग्ला घरमा फलामे साङ्लोले बाँधिएका । नेपालका गाउँ–सहरमा कस्ता अनुहारका कति कुकुर छन् ? कुकुर विश्व इतिवृत्तान्त र कुकुर मन्थन कुकुर जानकारलाई नै जिम्मा दिऔँ ।
मिथमा कुकुर
‘भक्तको त्याग गर्नाले जुन पाप लाग्छ त्यो पापको अन्त्य कहिल्यै हुन्न, त्यसै भन्छन् महात्मा पुरुषहरू । संसारमा भक्तको त्याग ब्रह्महत्याबराबर मानिएको छ । अतः आफ्नो सुखका लागि म कहिल्यै कुनै किसिमले पनि अहिले यो कुकुरलाई छाड्ने नै होइन । ...ज्यानै जान्छ रे भने पनि छाड्न सक्दिनँ । यो मेरो सधैँको व्रत हो’ (महाभारत, महाप्रस्थान पर्व) । कुकुर नलिई आफू स्वर्ग नजाने देवराजसामु युधिष्ठिरले गरेको अडान हो, यो । स्वर्गमा कुकुर अशुभ हुन्छ भन्दाभन्दै पनि उनी कुकुर नलिई नजाने अडानमा अडिएका थिए । सायद यही मिथको करामत होला, नेपालीका धार्मिक दिमागमा स्वर्ग र नरक छ । गोजी गरमवाल त स्वर्ग जाने भन्दै चारधाम धाउँछन् ।
‘स्वर्गको ढोकामा पुगेँ । भित्र पस्न खोजेँ । तर, गेटमा बाँधिएको यामान भोटे कुकुरले छिर्न दिएन । त्यसैवेला सपनाबाट ब्युझिएँ । भित्र छिरेको भए मर्ने रहेछु, छिर्न नदिएकाले अहिले बोल्दै छु,’ पत्रकार यमबहादुर दुरा आफ्नो गाउँमा सुनेका भोटे कुकुरका किस्सा सुनाउँदै थिए, ‘सिकिस्त बिरामी परेको वेला यस्तोखाले सपना देखेँ भन्दै सुनाउँथेँ ।’ स्वर्ग जाने ढोकामा पनि भोटे कुकुर !
यमदूत मानिने कुकुर त भैरवको वाहन भन्छन्, हिन्दूले । र, तिहारको एक दिन कुकुर तिहार भनेरै कुकुरको गलामा माला लाइदिन्छन् । संयोग ! प्रायः तिहार कात्तिकमा पर्छ, जुन महिना कुकुरको ‘मेटिङ मन्थ’ हो । ‘कात्तिक त कुकुरको हो’ भनेर नेपाली हिन्दू समाजमा अहिले पनि कात्तिकमा मागिबिहे गर्ने चलन आम छैन ।
असहायको सहारा कुकुर
लैनसिंह वाङ्देलकृत उपन्यासमा लंगडाको साथी कुकुर छ । र, लंगडा मरे पनि कुकुरले साथीको साथ निभाउन छाडेको छैन । चाल्र्स डार्बिनलाई लागेजस्तै लंगडाको साथी कुकुर ‘मानिसजस्तै भावनापूर्ण छ ।’ डार्बिनकृत ‘नोटबुक’ उद्धृत गर्दै जोन होमन्सले ‘ह्वाट्स डग फर’मा लेख्छन्, ‘कुकुर खुसीका लागि हाँस्छ । त्यसैले कुकुर भुक्छ । मुख खोलेर कुकुर मुस्कुराउँछ ।’
डार्बिन बच्पनदेखि बूढोपनसम्म नै कुकुरको साथ रहे । र, कुकुरलाई परिवारको सदस्यजस्तै व्यवहार गरे, जसकारण उनकी बहिनीले डार्बिनलाई जिस्क्याउँथिन् ।
हाचिको नामक कुकुर संगीत प्राध्यापक विल्सन कलेज जाँदा रेल स्टेसनसम्म पु-याउन जान्थ्यो । प्राध्यापक कलेजबाट फर्कंदा फेरि स्टेसनमा टुप्लुक्क पुग्थ्यो । विल्सन हृदयाघातले मरे । स्टेसनमा आउनेजाने हरेक अनुहारमा हेथ्र्यो, हाचिकोले । मरेपछि विल्सन कसरी फर्कनु ! हाचिकोले भने रेल स्टेसनमा पर्खन छाडेन । रात पथ्र्यो । हिउँ पथ्र्यो । तैपनि हाचिको पर्खिरहन्थ्यो ।
हाचिकोलाई प्राध्यापकपुत्रीको घर लगे, जो धेरै टाढा थियो । एकदिन भागेर हाचिको रेल स्टेसन फक्र्यो । (कुकुरलाई एक ठाउँबाट अर्को ठाउँ लैजाँदा आँखा छोपेर लैजाने चलन छ, गाउँतिर । कारण, कुकुर फर्केर नआओस् । गाउँघरमा भन्छन्, कुकुरले एकपालि हिँडेको बाटो कहिल्यै भुल्दैन ।) र, फर्केपछि हाचिको उही स्टेसनमा विल्सनलाई पर्खन थाल्यो । महिना बिते । वर्ष बिते । यो कुरा पत्रकारसम्म पुग्यो । हाचिकोको फोटो पत्रिकाले छाप्यो । एक दिन प्राध्यापकपत्नी स्टेसन भएर पतिको चिहान जाँदै थिइन् । त्यसवेला दश वर्ष भइसकेको थियो ।
मानिस र कुकुर जीवनका घामपानीमा कहिले सँगै रोए त कहिले सँगै हाँसे । कहिले सँगै गाए त कहिले सँगै माया लाए । हेर्दाहेर्दै, वस्तुभाउ हेर्ने कुकुरलाई पुँजीवादले ‘वस्तु’ बनायो ।
स्टेसनमा पर्खिरहेको हाचिको भेटेपछि प्राध्यापकपत्नीले हाचिकोको गलामा आफ्नो गला गाँसिन् । दुवै भक्कानिए । आफ्नो प्रिय मित्रलाई रेल स्टेसनमा पर्खंदापर्खंदै एक दिन हाचिकोलाई उसको प्राणले पनि छाडेर हिँड्यो । कुकुरप्रति धेरैका धारणा बदलेको हाचिको फिल्म जापानी सत्य घटनामा आधारित थियो । ‘अकस्मात् ऊ हराउँछ एक दिन । घरनगिचै केन्द्रीय छात्रवासको छेउमै बस्छ ऊ । झोक्राएको छ । डाक्यो, आउँदैन । झन् नचिनेको पो व्यवहार गर्छ ।’
पछि थाहा पाएँ, मर्ने वेला भएपछि कुकुर घर छाडेर हिँड्दो रहेछ । मर्नुअघिको उसको यो सन्न्यास हो । अनि मलाई लाग्यो मृत्युको सूचना सबैले पाउँदा रहेछन् क्यारे’ (जीवनः एक प्राध्यापक) । मर्नुअघि कुकुरले गरेको मृत्युभास उल्लेख गरेका छन्, शंकर लामिछानेले । यतिसम्म कि, मृत्युको शिक्षा दिएको प्रसंग उप्काउँदै लामिछानेले ‘कुकुरलाई पनि गुरुको अवतार बनाई पठाइदिँदोरहेछ’ भनेका छन् ।
मानिसको मित्र, भक्त, सहयोगी, साथी, गाइड, सूचक, अनुसन्धाताजस्ता भिन्नभिन्न भूमिकामा छ, कुकुर । यसबारे लेखिएका कैयौँ किताब छन् । फिल्म छन्, ‘एक्लोपन भगाउने’ र ‘चोर भगाउने’ कुकुरबारे पनि ।कुकुरलाई लिएर थुप्रै लोककथा छन् । जस्तोः विल्हेल्मको ‘द चाइनिज फेइरी बुक’मा कुकुर र बिराला किन दुस्मनमा परिणत भए, भारिएर एल्विनको ‘ह्वेन द ओल्र्ड वाज योङ’मा कुकुर र सुँगुरले खेत जोतेको, भालु, कुकुर र बिरालोको रसियाली लोककथा, बाघ र कुकुरको लुजियानी लोककथा तथा चतुर कुकुरको अफ्रिकाली लोककथा ।
लोपोन्मुख भोटेकुकुर
सामुदायिक वन र कालापार तन्केको अरब संस्कृति एकसाथ नेपालमा मौलायो । त्यसपछि दुब्लायो भेडापालन । भेडापालन दुब्लाउनेबित्तिकै दुब्लायो, भोटे कुकुर । त्यसकै छेकमा जनयुद्ध जुरुक्क जुर्मुरायो । त्यस दिनको कुरा हो । रोल्पा राङ्सी भनभनेस्थित कमरेड पासाङ (अहिले उपराष्ट्रपति नन्दबहादुर पुन) घरमा छापा मार्न पुलिस पसे । घरमा पस्न नदिने जारे कुकुरलाई पुलिसले गोली हाने । त्यसपछि ? घरमै खनेको सुरुङभित्र लुकेका पासाङका काइँला भाइ दीपकलाई गोली हाने । संयोग ! गालामा म्वाइँ खाएर पुलिसको गोली बतासियो ।
पुलिस र चोरबाट धेरैपालि जोगाएको त्यो जारे कुकुरको यादमा अहिले नि दीपक भक्कानिन्छन् । आए÷गएको र ‘सेल्टर’ सूचना कुकुरले चुहाइदिने आशंकाले सरकारी र विद्रोही दुवै बन्दुकका दोहोरो निसानामा कुकुर थिए । अनचिनारका लागि खुंखार मानिने भोटे कुकुर त तारो हुने नै भयो । सामुदायिक वनले खाएको भेडीग्वालाहरूको सानो संख्या घोडा/खच्चर पालनमा लाग्यो । ठूलो संख्या कतै बिलायो । झन् ठूलो संख्या कालापार भासियो । त्यसपछि अरब । तेजेन्द्रबहादुर बुढामगरजस्ता भेडीग्वालाका ‘सिला’ कहीँ–कतै मात्र भेटिन्छन् । ती सिला पनि कहिलेसम्म बाँकी रहने हुन् ? ठेगान छैन ।
रोयल केनलका केशर केसी दुखाना पोख्दै थिए, ‘रोल्पा, रुकुम र बाग्लुङका निसीभुजीतिर भोटे कुकुर फाट्टफुट्ट पाइन्छन् । असली भोटे कुकुर त धेरै पातलो भइसक्यो ।’ सोले फिल्मको एउटा डाइलग छ, ‘वसन्ती ! तु मत नाच यिन कुत्तो और कमिने के सामने ।’ ठीक त्यसैवेला रिसले चुर भएर एउटा कुकुर नाटक हलमा पस्छ । र, दर्शकतिर देखाउँदै कुकुर्नीलाई भन्छ, ‘वसन्ती ! ...।’
डा. स्वामी प्रपन्नाचार्यकृत ‘वेदमा के छ’मा ‘तुलनात्मक तुलामा के वैषम्य छ भन्दा सिकारीदेखि चौकीदारीसम्म आजको कुकुरलाई पाउँछौँ’ भनेका छन् । हुन पनि कुकुर र मानिस एक–अर्काका अभिन्न मित्र हुन् । यति हुँदाहुँदै सोलेको डाइलगले तपाईंलाई पनि च्वास्स पा-यो होला । किनभने मानिसको अभिन्न मित्र र इमानदार साथी हो, कुकुर । तर, कसैलाई हेप्नुपरे मानिसले किन भन्छ, कुकुर (बढी इमानदार हुनु कुकुर हुनु हो र !) ।
सोलेमा जस्तै कुकुरलाई हेपेका र गाली गरेका जति पनि छन् । जस्तोः कुकुरको काम पनि छैन, फुर्सद पनि छैन । कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा राख्यो,बांगाको बांगै । तँ फेरि कुकुर मुत चुखिना परेर आइस् ? मानिस र कुकुर जीवनका घामपानीमा कहिले सँगै रोए त कहिले सँगै हाँसे । कहिले सँगै गाए त कहिले सँगै माया लाए । हेर्दाहेर्दै, वस्तुभाउ हेर्ने कुकुरलाई पुँजीवादले ‘वस्तु’ बनायो । (मान्छेलाई नै वस्तु बनाएको वेला कुकुरलाई के बाँकी राख्थ्यो ।) तपाईं नै भन्नुस् त, मानिस र कुकुरबीचको सम्बन्ध अब ‘हाचिको’, ‘लंगडाको साथी’, ‘एट बिलो’मै सीमित हुन थालेको हो ?