
दुनियाँ ठेलमठेल कुद्छ, धकेल्दै, कुल्चँदै, लतार्दै । म पनि दुनियाँसँगै कुद्छु, धकेल्दै, कुल्चँदै, लतार्दै । यो हतारको अर्थ खोज्ने समय मसँग छैन । यो हतारले कहाँ पुग्नु छ, त्यो पनि थाहा छैन । बस जिन्दगीमा कुद्नु छ । कसैलाई धकेल्छु, अनि जितको ससाना आत्मरतिमा रमाउँछु । झन् छिटो–छिटो दौडिन्छु । अक्सर धकेलिन्छु, कुल्चिन्छु पनि ।
हतारको घडी जब रोकिन्छ, त्यसवेला मलाई कुनै कविताको याद आउँछ । अनि याद आउँछ, हजुरआमाको । म आफ्नो जन्ममितिबाहेक अर्को एउटा मिति सम्झिरहन्छु भदौ ५ गते । जुन दिन हामी हजुरआमाको संसारबाट छुट्टिएका थियौँ ।
ठ्याक्कै कति साल, कति उमेरदेखि मेरो मस्तिष्कले घटनाको रेकर्ड गरिराख्न जान्ने भयो त्यो त याद छैन, तर जुन वेलादेखिका सम्झिन थालेँ, त्यस वेलादेखि सधैँ स्मृतिको अग्रपंक्तिमा हजुरआमा छिन् । हजुरआमासँगको स्मृति कुनै बन्द कोठाबाट एक्कासि घाममा निस्किएजस्तो या निकैबेर छोपेर उघारेको आँखापछिको दृश्यजस्तो छ ।
धमिला स्मृतिहरूमा हजुरआमा कहिले कोही नभएको घरमा जिन्दगीको रेसभन्दा चाँडोे बाहिर–भित्र गरिरहन्छिन् । वेला–वेला कसैले अन्जानमा हानेको ढुंगा लागेको मेरो निधारमा हत्केलाले रगतको भल थामिरहेकी हुन्छिन् । वेला–वेला चाम्रे खान बोलाउँछिन्, वेला–वेला मेरो मर्केको हात सेक्न हतार–हतार तेल तताइरहेकी हुन्छिन् ।
हजुरआमा सबैभन्दा धेरै आँगनको छायामा घामको उमेर नाप्न निस्किन्छिन् र त्यसैले आफ्नो कामको गति निर्धारण गर्छिन् । हजुरआमा वेला–वेलामा टारबारीको डिलमा बस्छिन् र हजुरबुबाले छोडाएका सुन्तलाका केस्रा हातमा लिएर छोरोले पढाउने स्कुलका भञ्ज्याङ्तिर एकोहोरो टोलाइरहन्छिन् । जे होस्, धमिला स्मृतिमा हजुरआमा खुब व्यस्त छिन् । मेरा स्मृति उज्यालिँदै छन्, अलि–अलि गर्दै ।
जनयुद्धको वेला छ । हजुरआमा माओवादी र आर्मी भिडेको समाचार सुनिरहन्छिन् । कोही न कोही मरिरहेको पनि समाचार सुनिरहन्छिन् । संकटकालमा घरमा माओवादी आउनु रुटिन जस्तो बन्छ । हप्ता–हप्तामा हुलका हुल माओवादी आउँछन् । हजुरआमा तिनको खानपिन बन्दोबस्त गर्छिन् ।
हजुरआमा सिकुवामा कुनाको खाटमा बस्छिन् र माओवादीका आँखाका ज्वाला पढ्छिन् । तिनले मस्त नचाइरहेका खुकुरी हेर्छिन्, झट्ट सम्झिन्थिन् क्यार माओवादीले मारेका खबर, माओवादी मरेका खबर । अलि डराउँछिन् पनि । फेरि खुब चाखले तिनका कुरा सुन्छिन्, सुनेर रमाउँछिन् । माओवादी विदा गर्ने वेला हजुरआमा आफ्नै माओवादीमा हिँडेका नाति–नातिना सम्झिन्छिन् क्यार, रुँला–रुँलाझैँ गर्छिन् ।
स्मृतिहरू उति सग्लिसकेका छैनन् ! कुन्नि केले पिरोल्छ पहाडमा, हजुरआमालाई पहाड बस्न मन लागेन । सायद आफूभन्दा अघि लागेका श्रीमान्, छोरादेखि नातिनीसम्मको यादले पोल्दो हो । लगभग पूरापुर जिन्दगी काटेको आँगन यसवेला बिझायो हजुरआमालाई । जाँतोको हातोमै ७४ वर्षसम्मका हस्तरेखाहरू छाडेर, उति नै पैतालाको छाप डोकोको डडेल्नोमा छाडेर हजुरआमाले पहाड छोडिन् । मधेस हजुरआमाको रहर पनि थियो । मधेस बस्ने छोराछोरीको ठेगाना हजुरआमा याद गरिरहन्थिन् । मधेस झर्दैमा दुःख सकिने हो र ? हजुरआमा मधेस ओर्लिइन् तर हजुरआमाको काँधबाट पहाड ओर्लिएन ।
मेरो स्मृति तेज हुँदै छ । हजुरआमाको क्रियाकलाप सुस्त हुँदै छ । संविधानसभाको पहिलो चुनाव नजिकिरहेको छ । चुनावले घर, गाउँ, सडक सबै तातेको छ । हजुरआमा पुराना स्मृतिमा फर्किरहेकी छिन् । मलाई म नजन्मिँदैको समयसँग साक्षात्कार गराइरहेकी छिन् । हजुरआमा स्मृतिहरूबाट पोखिन्छिन्, हजुरबालाई निरंकुश पञ्चायतले कांग्रेसी आरोपमा दिएका दुःख, यातना, हजुरबा भूमिगत हुनुपरेको कथा, सातदेखि ०४६ सालसम्मका राजनीतिक उथलपुथलका कुरा । यी उथलपुथलका गर्भाधानका जानेसम्मका कुरा । यी अनेक राजनीतिक परिस्थितिले पारेका पारिवारिक, सामाजिक प्रभावका कुरा । हजुरआमा सुनाउँछिन,् उनीमाथि खसेका अनेक पहाडका कुरा उनी आफैँ पहाड भएर उभिएका कुरा ।
भर्खरै जंगलबाट फर्किएका माओवादी जुरुक–जुरुक उठाउने गीत बजाउँदै आउँछन् घरघरमा । माओवादीमा चाख लाग्ने कारण थिए, हजुरआमाका । धेरै हुल माओवादी आँगनमा भोज खुवाएर बिदा गरेकी थिइन् । त्योबाहेक आफ्नै नातिनी माओवादी भएर मारिनुको घाउ थियो उनीसँग ।
जिन्दगीभरि सिलोक र संगिनीमा रमाएकी हजुरआमा माओवादीका गीतमा खुब स्वादले थपडी बजाउँछिन् । थपडी बजाउँदा–बजाउँदै हजुरआमा जनयुद्धमा मारिएकी नातिनी सम्झिन्छिन्, अनि डाँको छाडेर रुन्छिन् । हजुरआमा चिन्दिनथिन्, माओवादीका गीत कसले गाएका थिए त्यसवेला ? मीठो गीत गाउने कलाकारलाई आज त्यही गीतमा नाचेर आउनेहरूले हत्कडी लगाएको घटना हजुरआमाले थाहा पाउँदा के भन्थिन् होली ?
जिन्दगीभरि सिलोक र संगिनीमा रमाएकी हजुरआमा माओवादीका गीतमा खुब स्वादले थपडी बजाउँछिन् । थपडी बजाउँदा–बजाउँदै हजुरआमा जनयुद्धमा मारिएकी नातिनी सम्झिन्छिन्, अनि डाँको छाडेर रुन्छिन् ।
म हजुरआमाको सबैभन्दा नजिकको साथी हुँदै थिएँ । पढ्न लेख्न जान्ने हुँदै थिएँ । हजुरआमा पनि क ख त जान्दछिन्, उहिले हजुरबाले सिकाउनुभएको रे ! अलि–अलि अंग्रेजी शब्दका अर्थ पनि जान्दछिन् । जस्तै, फादर भनेको बुबा । मदर भनेको आमा । काउ भनेको गाई । बाल्यकालमा मलाई पृथ्वीका सबै कुरा अनौठा लाग्थे, रहस्यमय लाग्थे । म प्रश्न सोधेर हैरान पार्थें हजुरआमालाई । ‘हजुरबा कहाँ हुनुहुन्छ ?’ मान्छे मर्दा तारा पनि थपिँदै जान्छन् हो ? त्यो ठूलो जुनचाहिँ को मरेर बनेको ? मान्छे मरेर घामचाहिँ किन नभको ? राति किन घाम लाग्दैन ?’ हजुरआमा वेला–वेला जोडले हाँस्थिन् । वेला–वेला दिक्क मान्थिन् । वेला–वेला मेरो ध्यान मोड्न संगिनी सुनाउँथिन् :
‘बीसै र वर्षका हरिमल्ल राजा
पाँचै र वर्षकी विमला रानी
तिनैलाई माग्न गए
तिनैलाई माग्न गए’
हजुरआमा बेस्मारी खिया परेर पत्रपत्र निस्किरहेको फलामजस्ती छिन् । पसांगिएको झ्यालजस्तो जिन्दगीको झरीले बेस्सरी भिजेर अररो भएकी छिन् । आँखा मेरो पुरानो स्मृतिजस्ता धमिला–धमिला हुँदा छन् । कानहरू जिन्दगीभरको कर्कस आवाजले थाक्दा छन् । तर, उस्तै छ स्मृति । हजुरआमाको व्यस्तताको रुटिन पूरै उल्टिएको छ । फुर्सदैफुर्सद छ । जुन वेला तागत थियो, त्यसवेला फुर्सद थिएन, जुनवेला तागत छैन, त्यसवेला फुर्सद मात्र छ ।
हजुरआमा बरन्डामा बसेर कोही आउने बाटो हेरिरहन्छिन् । म होस्टेलबाट फर्किने दिन गनेर बस्छिन् । शुक्रबार अलि ढिलो आए पिलपिल रोइहाल्छिन् । होस्टेल जाने दिन दरो हात समाउँछिन् । बाटो छेक्छिन् आँसुले । हजुरआमाको गहिरो सामीप्यबाट महसुस गरेँ– आफैँ मृत्युको बाटो कुरेर बसेकी बुढीआमा आफ्नो जवान छोरोको मृत्युमा कुन संवेदनाबाट गुज्रन्छे ?
हजुरआमा दिनानुदिन शिथिल बन्दै गइन् । ओछ्यानबाट उठ्न नसक्ने गरी । तर, हजुरआमाको स्मृति जस्ताको त्यस्तै थियो । हजुरआमा कोही नभएका वेला सुनाउँथिन्, जीवनकालभरि भोगेका दुःखका ठुल्ठूला पहाडहरू । ती कसैलाई सुनाउन नहुने कथाको बीच–बीचमा हजुरआमा दाहिने मुठी दरो कसेर देब्रे छातीमाथि राखेर भन्थिन्, ‘आफ्ना दुःख आफैँसँग यहाँ राख्नुपर्छ नानी ।’
हजुरआमा आफ्ना कथाहरू मलाई सुनाएर सायद उकुसमुकुस पोख्थिन् । अलिकति पोखेर उनी अलिकति आजाद महसुस गर्थिन् । कहिलेकाहीँ हजुरआमा एकान्तमा रोइरहेकी हुन्थिन् । सायद बुझेकी थिइन्, रुनु रित्तिनु हो । रित्तिनु आजादी हो ।हजुरआमाको संसार साँघुरिएर एउटा खाटमा सीमित भएको थियो । खाट पनि पूरा संसार कहाँ थियो र ? कसैले ओल्टाई–पल्टाई गरिदिनुपथ्र्यो । शरीरको संसार साँघुरिएर खाटमा आइपुग्दा पनि मस्तिष्कको संसार उत्तिकै फराकिलो थियो । कुनै वेला दुःखका कैयन् पहाड उचालेका हात अहिले आफू सुतेको खाटको छेउकुना उठाउन नसक्ने अवस्थामा थिए ।
यस्तो वेला हजुरआमा कस्तो महसुस गर्दी हुन् ? सुत्दाबाहेक कहिल्यै एक घन्टा आरामले बस्न नपाएकी हजुरआमा दिन, महिना र वर्षभरि एउटै ओछ्यानमा सुतिरहँदा के सोच्दी हुन् ? बुढेसकालले खोसेको सम्पूर्ण शक्ति, सामीप्य निद्रा र रत्तिभर नखोसेको चेतनाको अन्तरद्वन्द्वमा हजुरआमा कसरी पिल्सिरहेकी होलिन् ?
लगभग १६ वर्षसम्म हजुरआमा मेरो स्मृतिपटलमा बसिरहिन् । यही १६ वर्षमा मैले कुनै वेला मेसिनजस्ती हजुरआमा देखेँ, कुनै वेला मक्किएको मुढो जस्ती । यसवेला जिन्दगी ठ्याक्कै स्कुलमा पढेको ‘कन्भेक्स लेन्स’को आकारजस्तो लाग्यो । हजुरआमा वेला–वेला अनौठो आवाज निकालेर चिच्याउँथिन् ।
हत्तपत्त उठाएर काखमा राखेपछि एकछिनमा ठीक हुन्थ्यो । चिच्याउन छाडेपछि पिलपिल रुन्थिन् । यो क्रम बढिरह्यो । कहिलेकाहीँ दिनभरि चिच्याउँथिन् । यसवेला म महसुस गर्थें, फुर्सद कति भयानक हुन्छ । स्मृति कति खतरनाक हुन्छ । चिच्याउँदा–चिच्याउँदै बेहोस हुन्थिन्, कहिलेकाहीँ । यसरी एक दिन हजुरआमा निदाइन्, कहिल्यै नब्युँझने गरी ।
हजुरआमासँगै खसे उनले थामेका पहाडहरू हाम्रो टाउकोमा । जिन्दगीमा आत्मविश्वासको औसत ग्राफ कस्तो हुन्छ ? मैले प्रण गरेँ, हजुरआमाले आफ्ना सबै सकस लुकाउन कसेको मुठी म आफ्नो जिन्दगीमा यस्ता गाँठा पर्न नदिन र फुकाउन कस्छु । मेरो जीवनको धावनमार्गमा लम्पसार यी अनेक मानक भत्काएर मेरो उडान भर्न कस्छु । म मुठी कस्छु, मेरी हजुरआमाको जस्तो दरो मुठी ! हजुरआमा त गइन्, यो कोलाहलमय संसारबाट । अलिकति आफूलाई मभित्र सारेर गइन्, र त बाँचिरहेकी छिन् अझै उस्तै गरी मेरो अन्तःस्करणको ऊर्जा बनेर ।