• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सरुभक्त
२०७६ कार्तिक १६ शनिबार १२:१०:००
सम्झना

अरुण : वन्स अपन अ टाइम

यार

२०७६ कार्तिक १६ शनिबार १२:१०:००
सरुभक्त

जति माया लाए पनि
जति कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा
आँखा तरी गएपछि
मनमा पीर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो...

अकस्मात् घरको रेडियोमा यो गीत बज्यो । म सुनेको सुन्यै भएँ । विनाप्राणायाम सास कता–कता रोकिएजस्तो भयो । विश्वास नलागे–नलागेजस्तो भयो । तर, विश्वास गर्नैपर्ने यथार्थ रेडियो नेपालको विद्युत् चुम्बकीय संयन्त्रद्वारा रेडियो तरंगका रूपमा घरमै बजिरहेको थियो । गीत बजेर सकिएपछि अर्काे गीतमा ध्यान नदिई मेरो मनश्चेतनाले प्रतिक्रिया गर्‍यो, ‘स्याबास् अरुण ! आखिर तिमी विनोदको यो गीतलाई रेडियोमा रेकर्ड गर्न सफल भयौ ।’ यसको कति नानो सेकेन्डपछि हो, थाहा छैन– मेरो मनश्चेतनाले अर्काे प्रतिक्रिया गर्‍यो, ‘तर केटोले गीतका शब्दहरू तलमाथि पारेछ त !’

गीतका गीतकार विनोद गौचन मेरा पल्लाघरे छिमेकी साथी । उनी त्यसताका कविता लेख्थे, गीत गाउँथे, कालो चस्मा लाएर लामो कपाल, छरितो जिउ र बेलिबटन पाइन्टमा कता–कता बिटल्सको छनक दिन्थे । उनीसित झ्याम्म भेट हुँदा मैले गीत बजेको खुसी व्यक्त गरेँ । उनी अरुणसित पड्के । एक गीतकारको स्वाभिमानका लागि पड्काइ जायज थियो । अरुणले रेडियोमा गीत रेकर्ड गर्दा ‘जति माया लाए पनि’ को स्थायीलाई यथावत् राखी दुवै अन्तराका शब्दहरू परिवर्तन गरेका थिए ।

विनोदका अन्तरामा ‘सुनका चुरा’, ‘हातमा बाला’जस्ता विशुद्ध ग्रामीण शब्दावलीहरू थिए । अरुणले तत्कालीन मनस्थितिअनुसार, शब्दहरू परिवर्तन गरेका थिए । त्यस समय अरुण पोखराको एक चेलीलाई भगाएर चाँडै गुमाउनुपरेको प्रेमपीडायुक्त मनस्थितिमा थिए । उनको मनोविज्ञान हामी साथीहरूले बुझ्न सक्थ्यौँ । तर, विनोदलाई रिसाउने अधिकार थियो । उनका अन्तरामा शब्दहरूका अनुपात मिलेका थिए । अरुणले परिवर्तन गर्दा पहिलो र दोस्रो अन्तरामा त्यति मिलाउन सकेका छैनन् । उनले गीत गाउँदा स्वरलाई तानतुन गरी दोस्रो अन्तरालाई पहिलोसित मिलाएका छन् ।

विनोदको रिस र अरुणको शब्दमा अनधिकार हस्तक्षेपबीच गीत रेडियोमा खुब बज्यो । प्रत्येक दिन फर्मायसी र अन्य कार्यक्रममा बिहान, दिउँसो, राति बजेको बज्यै गरेर गीत सुपर हिट भयो । अरुण चर्चित गायकका रूपमा स्थापित भए । विनोद गीतकारका रूपमा स्थापित भए । गीतले यति धेरै लोकप्रियता प्राप्त गरेपछि विनोदको रिस कपूरझैँ हावामा उडिहाल्यो ।
०००
मलाई सम्झना भयो, एक दिन अरुण गिटार बोकेर विनोद र मेरो टोल बागबजार (बगर)मा आए । विनोद र म विनोदको चोकको घरमुन्तिर भ¥याङमा बात मारिरहेका थियौँ । अरुण आएपछि हामी विनोदको दोस्रो तलाको सुत्ने कोठामा पस्यौँ । विनोदले एउटा पानामा लेखिएको गीत अरुणलाई देखाए । अरुणले मनमनै गीत पढे दुई–तीनपल्ट । त्यसपछि गिटार बजाउन तयार परी भने, ‘यसलाई म कम्पोज गर्छु ।’

उनले सामान्य रूपले गिटारका तारहरू चलाए अनि ‘जति माया लाए पनि’का शब्दहरूलाई रटेझैँ गरी सुस्तरी गुनगुनाए । विनोद र अरुण ओछ्यानमा खुट्टा झारेर बसेका थिए । म छेउको कुर्सीमा बसेको थिएँ । मैले ध्यानपूर्वक गीत कसरी कम्पोज हुन्छ भन्ने जान्न द्रष्टा भावले हेरिरहेँ । अरुण वेला–वेला गिटारमा औँलाहरू खेलाएर गीतका शब्दहरू गुनगुनाउँथे, वेला–वेला चुरोट तानेर हामीसित कुरा गर्न पनि भ्याउँथे । चुरोट तान्न उनलाई विनोद र मैले पनि पालो दिन्थ्यौँ ।

हामी रातको करिब ८ बजे कोठामा पसेका थियौँ । समय सेती खोलाझैँ आवाज नगरी मज्जाले बगेछ, पत्तै भएन । रातको १२ बज्यो । अरुणले स्थायी अन्तराहरू सबै सरसर्ती कम्पोज गरिभ्याए । त्यसपछि उनले पटक–पटक गिटार बजाएर पूरै गीत गाए । रातको १ बज्यो । अरुणले भने, ‘ल, गीत बन्यो । यसलाई म अलिअलि मेकअप गर्छु ।’

अरुण उठे । म पनि उठेँ । हामी दुवै तल सडकमा निस्क्यौँ । मेरो घर त्यहीँनजिकै थियो । अरुण सपरिवार अहिलेको फिसटेल अस्पताल भएको ठाउँनिर गैह्रापाटनमा बस्थे ।‘ल जानू है त,’ मैले मेरो घर आएपछि भनेँ ।‘हुन्छ, गुड नाइट !’ अरुणले भने र एक हातले गिटार काँधमा अड्याई, अर्काे हातले कालो पदार्थ नमिसाइएको चुरोट पिउँदै सुनसान सडकमा पाइला चाले ।
०००
अरुण थापासित मेरो पहिलो भेट विक्रमाब्द २०३४ मा विक्रम गुरुङमार्फत भएको थियो । विक्रम र म बालककालदेखिका साथी थियौँ । हामी क्याम्पसमा पनि साथी थियौँ । हामी एक–अर्काको घरमा आउने–जाने, सुत्ने पनि गथ्र्याैं । नेपाली आदर्श विद्यालय, हालको गण्डकी आवासीय माध्यमिक विद्यालय, लामाचौरमा पढ्दादेखि हामी साहित्य र संगीतमा अभिरुचि राख्थ्यौँ । एकदिन विक्रम घन्टी नभएको साइकल डोहोर्‍याउँदै मेरो घर आए र भने, ‘एउटा संस्था खोल्नेबारेमा छलफल गर्नु छ, जाऔँ !’

‘कहाँ ?’ मैले सोधेँ ।‘अरुणको घरमा,’ विक्रमले भने । हामी नियत समय अरुणको घरमा पुग्यौँ । अरुणका बाबा गञ्जु थापा नेपाल बैंक लिमिटेडको क्षेत्रीय प्रबन्धक भई काठमाडौंबाट पोखरा आउनुभएको रहेछ, सपरिवार । परिवारमा बाबा गञ्जु थापासहित अरुणकी आमा, एक बहिनी मीना अनि दुई भाइ किरण र पुरन थिए । किरण हाम्रो उमेरका थिए । उनी दाइ अरुणझैँ गीतमा अभिरुचि राख्थे । कान्छो भाइ पुरन सानै थिए, भर्खर किशोरवय टेकेका । बहिनी मीना ठूली नै थिइन् । उनी आफ्नै व्यस्ततामा हिँड्थिन् ।

अरुणको घर उनको बाबाको क्वार्टर रहेछ । पोखराका पुराना घरहरूका बीचमा त्यो क्वार्टर कम्पाउन्डयुक्त नितान्त नयाँ र आधुनिक पाराको थियो । छलफलका लागि हामी क्वार्टरको बैठककोठामा भेला भयौँ । परिचयको आदानप्रदान भयो । छलफल चल्यो । मेरा लागि त्यो छलफल जीवनकै नौलो अनुभव थियो । म संकोची स्वभावको थिएँ । त्यसैले विक्रमबाहेक अरूसित बोल्न धक मान्थेँ ।

यो छलफलले अरू छलफलको आवश्यकता महसुस गर्‍यो । अरू छलफलहरू भए, सबै सोही बैठक कोठामा । कहिलेकाहीँ व्यस्तताहरूबीच अरुणका बाबा गञ्जु थापा आइपुग्नुहुन्थ्यो । उहाँ रसिक र फराकिलो स्वभावको हुनुहुन्थ्यो । छोराहरू र छोराहरूका साथीहरूलाई गिटार समाई बसेको देख्दा आफैँ तबला समाई बजाउन थाल्नुहुन्थ्यो ।

धेरै दिनको कसरतयुक्त छलफलपछि प्रस्तावित संस्थाको नाम सर्वसम्मत रूपले चयन भयो– पोखरेली युवा सांस्कृतिक परिवार । त्यसपछि कार्यसमिति चयन भयो, ‘ज्यानलाई पर्नु पीर पर्‍यो’ गीत गाएर चर्चित बनेका गायक सरोज गोपालको अध्यक्षतामा । उपाध्यक्ष साहित्यकार नवराज कार्की भए । म सचिव र विक्रम सहसचिव बनाइयौँ ।

किरण थापा, विनोद गौचन, कृष्णराज भण्डारी, विनोदशंकर पालिखे, विश्वशंकर पालिखे, तेजलाल राजभण्डारी, हरि खनाल, अशोक भट्टचन, बद्रीजंग गुरुङ, विनम तुलाचन, गोविन्द शेरचन, बाबा राणा, पुनम गुरुङ, मोहनसिंह थापा, चन्द्रा थापा, विकल शेरचन, शान्ति रानाभाट, सर्वज्ञ श्रेष्ठ आदि सदस्य भए । संस्थाको नामकरण र कार्यसमिति गठन भएपछि पहिलो कार्यक्रमको रूपमा ‘विविध सांस्कृतिक कार्यक्रम’ गर्ने निर्णय भयो । सरोज गोपाल, अरुण थापा, किरण थापा, विक्रम गुरुङ, विनोद गौचन र अरू सहयोगी साथीहरू गीत–संगीतमा बढी अभिरुचि राख्थे ।

सांगीतिक गतिविधि गर्न संस्था गठन गरौँ भन्ने मुख्य चाहना नै अरुण–विक्रमहरूको थियो । विविध सांस्कृतिक कार्यक्रममा मुख्य रूपले गीतगायन गर्ने र विविधताका लागि केही नृत्य र नाटक प्रस्तुत गर्ने सल्लाह भयो । गीत पूर्वाभ्यासका लागि बगरमा एउटा कोठा भाडामा लिइयो । भाडामा लिइएको कोठा उपलब्ध हुन नसक्ने छाँट देखेपछि मैले राष्ट्रिय बहुउद्देश्यीय विद्यालय पुरानो टुँडिखेलमा लाहुरे समस्यामा आधारित नाटक ‘डढेलोले खाएको वन’को पूर्वाभ्यास थालेँ । यस नाटकमा बाबुको भूमिकामा म, मेरो दाइको भूमिकामा विनोद गौचन, छोरोको भूमिकामा किरण थापा र गाउँले केटोको भूमिकामा विक्रम गुरुङले अभिनय गरेका थियाैं । नवराज कार्कीले ‘ननिभेको बत्ती’ नामको नाटक पूर्वाभ्यास थाले । केही महिनाको पूर्वाभ्यासपछि हामी कार्यक्रम गर्न तयार भयौँ ।

पोखरामा हिउँदे जाडो सुरु भएपछि तत्कालीन पञ्चायत विकास प्रशिक्षण केन्द्र, हालको गण्डकी प्रदेशको संसद् भवन परिसरभित्रको सबभन्दा चाक्लो सभाकक्षमा अस्थायी मञ्च बनाई त्रिदिवसीय विविध सांस्कृतिक कार्यक्रम आरम्भ भयो । सरोज गोपालले आफ्ना चर्चित गीतहरू ‘ज्यानलाई पर्नु पीर प¥यो’ र ‘नक्कलीलाई भगाई लग्यो झिल्केले’ गाए । अरुण थापाले विनोद गौचनका दुई गीत ‘जति माया लाए पनि’ र ‘यो ज्यानलाई कम्ती पीर परेछ’ गाए । दुवै गीत अत्यन्त रुचाइए । पोखरामा एक असीम सम्भावनायुक्त गायकको उदय भएको सबैले महसुस गरे । हामी साथीहरू पनि अरुणको आत्मविश्वासयुक्त प्रस्तुति र गायकीको नयाँपन देखी चकित पर्‍यौँ ।

गायकीमा पोखरेली चेली पुनम गुरुङ पनि उदाइन् । उनले विक्रमको गीत ‘विरह चलेजस्तो लाग्छ’ गाइन् । बाबा राणाले पनि गीत गाइन् । मोहनसिंह थापा, चन्द्रा थापा, शान्ति रानाभाटले नृत्य प्रस्तुत गरे । ‘रेसम फिरिरी’का बुद्धि परियारले तेज नृत्य गरी सबैको मन जिते । उनले एक दिन नृत्यमा उफ्रेर मञ्चको खाट पनि भाँचे । हामी नाटक टोलीले रंगमञ्चमा नयाँ अनुभूति सँगाल्यौँ ।

लामो समयसम्म सांस्कृतिक गतिविधिले शून्य भइरहेको पोखरामा तीनै दिनसम्म दर्शकहरूको अत्यधिक चाप रह्यो । हामी खुसीले फुल्न सकिने हदसम्म फुल्यौँ । केही महिना बिते । अब के कार्यक्रम गर्ने ! हामी सोच्दै थियौँ । यसबीच रेडियो नेपालमा आधुनिक गीत प्रतियोगिता गर्ने सूचना आयो ।‘प्रतियोगितामा भाग लिन अरुणलाई पठाउने’ हामीले उत्साहपूर्वक सल्लाह गर्‍यौँ । तर, कुन गीत गाउन पठाउने ? अरुणले कार्यक्रममा गाएका विनोदका गीतहरू लोक पाराका थिए ।

त्यसै समय विक्रमले ‘कतै टाढा तिमीबाट पुगेँ भनेँ भन्ने गीत तयार पारिराखेका थिए, तर शब्दहरू केही अधुरा थिए । पृथ्वीनारायण क्याम्पसको गेटमा उभिइ–उभिई सल्लाह भयो, ‘यही गीतका साथ अरुणलाई पठाउने ।’ विक्रमले हतार–हतार शब्दहरूलाई पूर्णता दिए । अरुणले प्रतियोगितामा गाएको हामीले प्रत्यक्ष प्रसारणमा सुन्यौँ । प्रतियोगितामा अरुण विजयी भएनन्, तर गायकका रूपमा परिचय भने स्थापित गरिदियो । साथै, उनले रेडियोमा स्वर परीक्षा उत्तीर्ण गरी ‘कतै टाढा’ गीत रेकर्ड गर्ने अवसर पनि पाए ।

साल फेरिइसकेको अवस्था थियो । विविध सांस्कृतिक कार्यक्रमपछि अरू उल्लेख्य क्रियाकलाप गरौँ भन्ने चाहना पोयुसांपका धेरै सदस्यहरूमा थियो । के–के कारण संस्थामा गतिरोधको स्थिति उत्पन्न भयो । तर, साथीहरूसित बाक्लै भेटघाट हुन्थ्यो । सरसल्लाह हुन्थ्यो । विक्रम र म अरुण–किरणलाई भेट्न उनीहरूको क्वार्टरमा गइरहन्थ्यौँ । यसबीच हामीलाई आश्चर्यमा पार्ने गरी सूचना आयो– अरुणले एक पोखरेली चेलीलाई भगाई काठमाडौं लगेछन् । हामीलाई आश्चर्य लाग्ने एउटै कारण थियो– हामीले अरुण र ती चेली एकपल्ट पनि भेटेको, कुराकानी गरेको थाहा पाएका थिएनौँ । जमाना साइबर प्रेमको पनि थिएन । प्रेम गर्ने उनीहरूको आफ्नै गोप्य तरिका थियो होला, हामीले सोच्यौँ र साथीको बिहेमा भोज खान र रमाइलो गर्न नपाएको दुःखमन गरेनौँ ।

केही महिना बिते । एक दिन अरुणसित विक्रम र मेरो भेट भयो । सधैँ आकर्षक भएर हिँड्ने उनको अनुहार फुंग उडेको थियो । ‘यस्तो भयो यार’ भनेर उनले श्रीमतीसित बिछोडिनुपरेको रामकहानी सुनाए । साथै, साथीहरूले सहयोग गरिदिए हुन्थ्यो भन्ने आशा पनि व्यक्त गरे । हामी सोचमग्न भयौँ । पछि मैले सम्झाउँदे भनेँ, ‘अरुण, यस्तो मामिलामा साथीहरूले कुरा गर्न जाँदा उल्टो असर पर्न सक्छ । तिमीहरूले विवाह गरेका हौ भने आफैँ गएर राम्ररी कुरा गर्नु । यो तिम्रो अधिकार हो । उनले तिम्रो प्रतीक्षा गरिरहेकी होलिन् ।’

हामी अरुणलाई ‘आफैँ कुरा गर’ भनी उत्साह दिन सक्थ्यौँ, त्यसभन्दा बढ्ता केही गर्न सक्ने थिएनौँ । अरुणले कुरा गर्न जाने आँट गरेनन् । उनी पराजित मनस्थिति लिएर काठमाडौं फर्के । उनका बाबा–आमासहितको पूरै परिवार पोखरामै रहे । त्यही साल अर्थात् विक्रमाब्द २०३५ मा अरुणले रेडियो नेपालमा फेरि गाउने डेट पाए । उनले एकैपल्ट दुईटा उत्कृष्ट गीत रेकर्ड गराए– पहिले विक्रम गुरुङद्वारा रचित ‘आँखाको निंद खोसी लाने’ र पछि विनोद गौचनको ‘जति माया लाए पनि’ । ‘जति माया लाए पनि’को कथा मैले अगाडि भनिसकेको छु ।

अरुणले हताशापूर्वक पोखरा छाडे पनि परिवार यतै भएकाले बीच–बीचमा आइरहन्थे । भेटघाट हुन्थ्यो । म नाटकमा बढी व्यस्त हुन थालेको थिएँ । ‘डढेलोले खाएको वन’पछि मेरो अर्काे नाटक ‘सराप परेको घर’ पृथ्वीनारायण क्याम्पसमा मञ्चित भइसकेको थियो । यसमा उषा भट्टचन (शेरचन), मिलन शेरचन, सागर बाटाजू र मैले अभिनय गरेका थियौँ । त्यसवेलाका पोखराका प्रसिद्ध भ्वायलिनवादक अर्जुन नेपालीले एउटा नाटकमा पृष्ठभूमिको पर्दापछाडि बसेर लाइभ भ्वायलिन वादन गरी हामीलाई सहयोग गर्नुभएको थियो । यो नाटकको सफल मञ्चनपछि हामीले युवा नाटक परिवार (युनाप) गठन गरी ‘एउटा घरको कथा हैन’ नामको पूर्णांकी नाटक पूर्वाभ्यास गर्न थालेका थियौँ ।

नाटकमा उषा भट्टचन, अर्जुनजंग शाही, दुर्गा शेरचन, नन्दा गुरुङ, लालप्रसाद गुरुङ, अरुण गुरुङ, जसकाजी गुरुङ, एकेन्द्र गुरुङ, कृष्णमोहन श्रेष्ठ, प्रकट पंगेनी शिव, राजेन्द्र बजिमय, तीर्थ श्रेष्ठ, तीर्थराज भण्डारीलगायत धेरैको सहभागिता थियो । संगीत निर्देशनको जिम्मा विक्रमको थियो । उनले भगतसिंह बगदास र मारकोस नाम भएका एकजना स्विस नागरिक– दुईजना भ्वायलिनवादक जम्मा गरी संगीतकार प्रकाश गुरुङ, मणि गुरुङ आदिको सहयोग लिई नाटकको संगीत तयार पारेका थिए । तत्कालीन समयमा संगीत तयार पार्न सबै वाद्यवादकहरूलाई एकैठाउँमा भेला गरी रेकर्डिङ गर्नुपर्ने हुन्थ्यो ।

कुनै एक वाद्यवादकले बिगारे पटक–पटक रेकर्डिङ गर्नुपर्ने हुन्थ्यो । युद्धमा गोली हानाहानको संगीत तयार पार्न विक्रम र म फूलबारी ब्यारेकको अनुमति लिई सैनिकहरूले तारो हान्ने ठाउँमा (अहिलेको मणिपाल अस्पताल क्षेत्र) पुगेका थियौँ । सैनिकहरू बंकरमा लहरै उभिई राइफल पड्काउँथे, हामी तिनका पछाडि बसी ध्वनि रेकर्ड गथ्र्याैं । राइफल पड्केर पहाडहरूबाट प्रतिध्वनित भएको ध्वनि रोमाञ्चकारी लाग्थ्यो । नाटकमा दृश्य संगीतका साथसाथै चार गीत थिए– ‘लाहुरे हुन्छु भन्छन् सबैले’, ‘आऊ हे’, ‘गाइनेको चोला’, ‘एउटा घरको कथा हैन’ । अघिल्ला दुई गीत पोखराकी नवोदित गायिका गोमा गुरुङले गाइन् । ‘गाइनेको चोला’ नामको गन्धर्व गीत मणि गुरुङले गाए । पछिल्लो गीत नाटकको शीर्षक गीत थियो– एउटा घरको कथा हैन÷गाउँको कथा हो÷एउटा घरको व्यथा हैन÷गाउँको व्यथा हो ।

नाटकको समाप्तिमा राखिएको यो शीर्षक गीत गाउनका लागि विक्रमले अरुणलाई तयार पारे । अरुण गीतको पूर्वाभ्यासमा जुटे । उनी यो गीत गाउन इच्छुक पनि थिए । पछि, नाटकको अन्त्यमा दृश्यअनुरूप महिला स्वरमा गीत गाइनुपर्ने सरसल्लाह भयो । गीत गोमा गुरुङले नै गाइन् । पूर्वाभ्यास गरेर पनि अरुणले गीत गाउन पाएनन् ।

यो परिस्थितिजन्य कुरा थियो । परिस्थिति बुझेर अवश्य पनि अरुणले चित्त दुखाएनन् होला । तर, आजभोलि कहिलेकाहीँ सोच्छु, मैले किन अरुणलाई अरू कुनै गीत गाउन दिइनँ ! केही वर्षपछि मैले एउटा गीत रचेको थिएँ ‘एक युगपछिको तिम्रो स्मृति’ । यस गीतलाई विक्रमले संगीतबद्ध गरेका थिए । उनी भन्थे– यो गीत अरुणलाई गाउन लाउने हो । विक्रमले उनका र मेरा शब्द उनीद्वारा नै संगीतबद्ध गीतहरूको एल्बम ‘एक युगपछि’ यही गीत शीर्षकमा निकाल्ने तयारी पनि गरे । हङकङबाट काठमाडौं आएका वेला विक्रमले अरुणलाई खोजे । ‘नेपथ्य’का गायक अमृत गुरुङको सहयोगले अरुण भेटिए । तर, उनी गीत गाउन सक्ने अवस्थामा थिएनन् । पछि, एल्बम निकाल्ने योजना पनि केही प्राविधिक कारणले पूरा हुन सकेन ।

अरुणसितको मित्रता ‘वन्स अपन अ टाइम’कै रहेछ । ती दिन हामीले बाँचेका थियौँ कि थिएनौँ जस्तो लाग्ने ! समय यस्तै रहेछ, सेतीको सेतो पानीझैँ निरन्तर बगिरहने, बालुवाझैँ कति सम्झनाहरूलाई बगाइरहने । तर, जति बगे पनि सेती खोलामा पानी बग्न छोडेको छैन, सम्झनाहरू पनि बगेर रित्तिइसकेका छैनन् ।

एक भावनात्मक दुर्घटनामा परी अरुणले पोखरा छाडेको भए पनि उनी चुप लागी बसेनन् । ‘जति माया लाए पनि’ र ‘आँखाको निँद’ दुवै गीतको लोकप्रियतापछि उनी अरू गीतगायनमा सक्रिय भए । एकपछि अर्काे गरी उनले गाएका गीत लोकप्रिय हुँदै गए । यसबीच बाबा गञ्जु थापा पोखराको बसाइ समाप्त गरी सपरिवार काठमाडौं फर्कनुभयो । घर झम्सिखेलमा थियो । पोखरामा बैंकका उच्च पदस्थ अधिकारी भई परिवारलाई आवश्यक संरक्षण दिइराख्नुभएका उहाँको केही वर्षमा आकस्मिक निधन भयो । उहाँको निधनपछि परिवार पूरै असंरक्षित हुन पुग्यो ।

म विक्रमाब्द २०३९ मा उच्च शिक्षा हासिल गर्न कीर्तिपुरतर्फ लागेँ । अर्काे वर्ष विक्रम पनि उच्च शिक्षाका लागि कीर्तिपुर आइपुगे । हामी कीर्तिपुर, नयाँ बजारमा एउटै कोठा लिई बस्यौँ । यो समयावधिमा विक्रमले आफ्ना र मेरा रचनाका केही गीत संगीतबद्ध गरे । ‘नेपथ्य’ले गाएको ‘कुरूप अनुहार हो’ तीमध्येको एक गीत हो । त्यसताका गीत मेरो अभिरुचिको विषय थियो, तर गम्भीर साधनाको विषय थिएन (दुर्भाग्यवश, अहिले पनि अवस्था उही छ ।) म विक्रमकै कारण गीत–संगीतमा तानिन्थेँ । मेरो ध्यान कविता र नाटकमा बढी केन्द्रित थियो । तर, विक्रम गीत–संगीतमा पूरै डुबेका थिए ।

उनी वेलावेला अरुण र किरणलाई भेट्न गइरहन्थे । एक–दुईपल्ट म पनि किरणलाई भेट्न विक्रमको साथ लागी गएँ । अरुणको घर भने जान पाइनँ । एक–दुईपल्ट एकेडेमीतिर हल्का भेटघाट भयो । अरुण र किरणका बाबा एकै भए पनि आमाहरू फरक थिए । सायद यही कारण हो वा अरू कारण– अरुण र किरणका स्वभाव फरक थिए । अरुण भावनामा बग्ने र व्यवहारमा चासो नराख्ने खालका थिए, किरण विचारशील र व्यावहारिक प्रकृतिका थिए । किरणले व्यवस्थित रूपले कामहरू गरी आफ्नो छुट्टै घर बसाएका थिए । अरुण झम्सिखेल घरमै बस्थे । उनले मुना क्षेत्री नामकी महिलासित विवाह गरेका थिए । अरुण र मुनाको कोखबाट एक छोरीको जन्म भएको थियो । 

आफ्नो बाबाको निधनपछि वैवाहिक जीवन आरम्भ गरेकाले अरुणको कर्तव्य परिवार चलाउनु थियो, आयआर्जन गर्नु थियो । बहिनीको विवाह भइसकेको थियो, तर उनको काँधमा बूढी आमा, भाइ, श्रीमती र छोरीको जिम्मेवारी थिए । तर, अरुण काँधमा गिटार बोक्न जान्दथे, पारिवारिक जिम्मेवारी बोक्न जान्दैनथे । सबैको हृदयस्पर्श गर्ने खालका गीत गाउन जान्दथे, तर ढंगले कुनै जागिर खान वा स्वतन्त्र व्यवसाय गर्न जान्दैनथे । विदेशका चर्चित गायक–गायिकाले झैँ गीतै मात्र गाएर लाखौँ–करोडौँ कमाउन सकिने अवस्था पनि थिएन ।

आजभोलि कतिपयले अरुणको जीवन दुःखदायी बन्नुमा उनको पूर्वप्रेमिका दोषी हुन् भनी हावादारी मिथ मेकिङ गरिरहेको देख्छु । सत्य के हो भने उनी भावुकतापूर्वक प्रेम गर्न जान्दथे, तर भगाएर ल्याएकी श्रीमतीसित कसरी व्यावहारिक रूपले घर बसाउने र भविष्य निर्माण गर्ने भन्ने जान्दैनथे । उनले व्यावहारिक जीवन जानेका भए उनको दोस्रो विवाह पनि दुर्घटनाग्रस्त हुने थिएन । म त्यस पोखरेली चेलीलाई व्यक्तिगत रूपले चिन्दछु । अरुणबाट छुटेपछि उनले उच्च शिक्षा अध्ययन गरिन् । अहिले उनी सम्मानपूर्ण जीवन बाँचिरहेकी छिन् ।

अरुणका प्रशंसकहरूले अन्धभक्ति नदेखाएर के सोच्नु जरुरी छ भने त्यस पोखरेली चेलीसितको प्रेमपीडाको कारण कुनै न कुनै रूपमा अरुणका गीतहरू पनि हृदयस्पर्शी र शक्तिशाली बनेका हुन् । अरुणले पोखरामा पहिलोपल्ट ‘जति माया लाए पनि’ गाउँदा उनको आवाजमा सौन्दर्य थियो, तर पीडापरिवेष्टित थिएन । पछि, रेकर्ड गर्दा त्यो पीडापरिवेष्टित भयो । उनले जीवनमा धेरैजसो पीडाकै गीत गाए । प्रेमपीडा उनको सांगीतिक जीवनको प्रेरणा थियो । यसर्थ, अरुणको प्रेरणालाई दोस्याउनु प्रशंसकहरूलाई सुहाउने कुरा होइन ।

हामीलाई आश्चर्यमा पार्ने गरी सूचना आयो– अरुणले पोखरेली चेलीलाई भगाई काठमाडौं लगेछन् । जमाना साइबर प्रेमको पनि थिएन । प्रेम गर्ने उनीहरूको आफ्नै गोप्य तरिका थियो होला, हामीले सोच्यौँ र साथीको बिहेमा भोज खान र रमाइलो गर्न नपाएको दुःखमन गरेनौँ ।

विक्रम र म कीर्तिपुरमा विद्यार्थी भएर बस्दा अरुणले विक्रमको तेस्रो गीत गाए– ‘भुलुँभुलुँ लाग्यो मलाई’ । यो गीत पनि अपेक्षाकृत रूपले लोकप्रिय भयो । कहिलेकाहीँको म सोच्छु– अरुणले गाएका गीतहरूमा कुनचाहिँलाई उत्कृष्ट मान्ने होला ? सन् २००३ मा बिबिसीले एक सय ६५ देशका पाँच लाख मानिसबीच गरेको सर्वेक्षणमा उनले गाएको ‘ऋतुहरूमा तिमी हरियाली वसन्त हौ’ भन्ने गीत विश्वका १० लोकप्रिय रोमान्टिक गीतहरूमा सातौँ नम्बरमा परेको थियो ।

राजेन्द्र रिजालका शब्द र राम थापाको संगीतमा उनले गाएको यो गीत साँच्चै सुन्दर छ । तर, मलाई अरुणले गाएका अधिकांश गीत उत्तिकै सुन्दर लाग्छन् । सरोज गोपाल, बाबा राणाहरूसित उनले समूहमा गाएको नवराज कार्कीरचित राष्ट्रिय गीत ‘करोडौँ मुटुहरूको एउटै ढुकढुकी नेपाल’ पनि उत्तिकै सुन्दर लाग्छ ।

कीर्तिपुरमा उच्च शिक्षा हासिल गरी विक्रम जागिरमा लागे । म त्यत्तिकै पोखरा फर्केँ । त्यसपछि अरुणसित मेरो कहिल्यै भेट भएन । अरुणले गीत गाएको, दुव्र्यसनमा लागेको, पक्राउ परेको, बिरामी परेको र अल्पायुमा मृत्यु भएका खबरहरू आइरहे । उनको मृत्यु मेरा लागि एक साथीको मृत्यु थियो, उनका प्रशंसकहरूका लागि एक अद्वितीय प्रतिभाको मृत्यु । विक्रम र म अरुणले बाँचेको पछिल्लो जीवनबारे असन्तोषपूर्वक कुरा गथ्र्याैं, तर साथीको असामयिक मृत्युले दुःखी पनि हुन्थ्यौँ ।

जीवनमा कहिलेकाहीँ म तीसको दशकतिर फर्केर हेर्छु । अरुण, उनका बाबाआमा, भाइहरू र बहिनीसहितको त्यो परिपूर्ण परिवार आँखाअगाडि प्रत्यक्ष हुन्छ । अरुणको क्वार्टरका भेटघाटहरू सम्झन्छु । उनले ‘जति माया लाए पनि’ संगीतबद्ध गरेको सम्झन्छु, पहिलोपल्ट कार्यक्रममा गाएर लोकप्रिय भएको सम्झन्छु । उनले मीठोसित गर्ने जोक्सहरू सम्झन्छु । अहिले उनी हामीमाझ छैनन् । ‘जति माया लाए पनि’का रचनाकार विनोद गौचन पनि अज्ञाततामा हराइसके ।

एकपल्ट विनोदले मलाई लेकसाइडमा एउटा होटेल खोलेको छु भनी सूचना दिएका थिए । मैले होटेलको नाम के हो भनी सोध्दा उनले भनेका थिए– ‘वन्स अपन अ टाइम’ । अहिले महसुस हुँदै छ – अरुण र विनोदसितको मित्रता ‘वन्स अपन अ टाइम’कै रहेछ । साँच्चै ती दिनहरू हामीले बाँचेका थियौँ कि थिएनौँ जस्तो लाग्ने ! समय यस्तै रहेछ, सेतीको सेतो पानीझैँ निरन्तर बगिरहने, बालुवाझैँ कति सम्झनाहरूलाई बगाइरहने । तर, जति बगे पनि सेती खोलामा पानी बग्न छोडेको छैन, सम्झनाहरू पनि बगेर रित्तिइसकेका छैनन् । वन्स अपन अ टाइम अरुणले गाएका थिए :
कतै टाढा तिमीबाट पुगेँ भने कल्पेर नबस्नु
ठूलो छ संसार, हजार छन् मुटु, आफैँमा हराई 
बरवाद नहुनु ।
कतै टाढा ...।