भर्खरै समाजशास्त्रकी एकजना प्राध्यापिकाले ‘स्वास्नीमान्छे खराब हुन्छन्’ भन्ने भावको एउटा ट्विट गरिन् । ‘आइमाई’ शब्द राखेर गरिएको त्यस ट्विटका कारण ट्विटरमा धेरै दिन बहस चल्यो । आफूले ‘आइमाई प्रवृत्ति’मा जोड दिएर ट्विट लेखेको उनको तर्क थियो । कसैले उनलाई ‘आफैँ आइमाई भएर आइमाई अर्थात् महिलालाई गाली गरेको’ आरोप लगाए भने कसैले ‘आफैँलाई होच्याउने गरी प्रस्तुत गरेको’ भनेर गाली गरे । कत्तिले ‘आइमाई’ शब्द नै हेप्ने शब्द भएको भन्दै यस्तो नलेख्न सुझाए ।
एकजनाले ‘आइमाई’ शब्दको अर्थ के हो, यसमा विरोध र समर्थन किन हुन्छ भन्ने प्रश्न गर्दै प्रस्ट्याइदिन मलाई आग्रह गरे । केहीले त सीधै म्यासेज पठाएर ‘आइमाई’ भन्न किन नहुने भन्दै प्रश्न गरेका थिए । स्त्री जाति बुझाउने केही शब्द, यसबारे चलेको बहस/विरोध र यसको शाब्दिक अर्थबारे यो लेखमा छलफल गर्ने प्रयास गरेकी छु ।
०००
प्रथमतः बहसमा रहेको ‘आइमाई’ शब्दको अर्थ खोजौँ । भारतका मराठीहरू आमालाई ‘आई’ भन्छन्, उत्तर भारत र नेपालको दक्षिणमा आमालाई ‘माई’ भनिन्छ । नेपालको पहाडी भेगमा देवीलाई ‘माई’ भनेर पूजा गरिन्छ । यसरी हेर्दा आमा भनेको देवता हो भन्ने अर्थ निस्कन्छ । त्यसैले आमा अर्थात् देवीको रूपमा अथ्र्याइएको शब्द हुन आउँछ– आइमाई । महिलालाई सबैभन्दा सम्मानित व्यक्ति मात्र नभएर भगवान्को स्थानमा राखेको छ यस शब्दले । नेपाली शब्दकोशमा भने ‘आइमाई’ शब्द भद्र नारीको शाब्दिक अर्थ राखेर आर्या र माता दुई शब्दको समासबाट भएको लेखिएकोे छ । (नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञाप्रतिष्ठान) ।
नेपाली भाषाका यति सुन्दर शब्द किन विवादमा छन् भनेर जान्न र यी शब्दमै विभेद छ भनेर आउने पुस्तामा किन रट्टा लगाइँदै छ भन्ने जान्न नेपालमाथिको भूराजनीति हेर्नु जरुरी हुन्छ । पहिलो विश्वयुद्ध हुनुअघि देशहरूले आफ्नो साम्राज्य खडा गर्न तरबार, डन्डा र राइफल प्रयोग गर्थेे । संसारलाई आफ्नो अधीनमा राख्न जापानको नागासाकी र हिरोसिमामा विसं.२००२ मा खसालिएको लिटल ब्वाई र फ्याट मेन बम त्यसको एउटा विकसित रूपको उदाहरण थियो । तर, आज झन्डै सय वर्षपछिको अवस्था बदलिएको छ । कुनै पनि देशलाई आफ्नो अधीनमा राख्न तरबार र एटमबम आवश्यक पर्दैन, त्यस देशको संस्कृतिमा आक्रमण गरे पुगिहाल्छ । तत्काल त्यो देश जीवित रूपमै अधीनमा आउँछ ।
पश्चिमाले यही तथ्य बुझेर सांस्कृतिक अतिक्रमण अघि बढाएका छन् । यहाँका मौलिक शब्दले आपसमा अपमान गर्ने, यहाँका खाद्यवस्तु इज्जतविहीन हुने, यहाँका संस्कार र संस्कृति विभेदका कारक हुने उनीहरूको प्रचार छ । पपकर्न खानु सभ्यता र हाम्रा पुर्खाले खाँदै आएको मकै–भटमास खानु असभ्यता बनिसकेको छ । हाम्रा भान्सामा विदेशी नामका परिकार पाक्नुलाई सभ्यता र हाम्रा उपयोगी परिकार पाक्नुलाई असभ्यता भन्ने ठाउँमा हामी पुगिसकेका छौँ । हाम्रो वेशभूषा र रहन–सहनमा पश्चिम यति हाबी भएको छ कि सदीयौँदेखि पुर्खाले लगाएको दौरासुरुवाल सामन्ती पोसाक बन्न पुगेको छ, चोली–पछ्यौरी इज्जतहीन बन्न पुगेको छ । अतिक्रमणको यस शृंखलामा आइमाई हेपिएको शब्द ठानिनु कुन ठूलो कुरा हो र ? उनीहरू धनी, हामी गरिब, उनीहरू इज्जतदार, हामी इज्जतहीन, उनीहरू सभ्य हामी असभ्य, उनीहरूले लगाएको राम्रो र हामीले लगाएको वस्त्र नराम्रो भन्ने हीन मान्यताले गाँजेपछि आइमाईभन्दा हामी हीन भावनाले ग्रसित हुने नै भयौँ ।
नेपाल भूराजनीतिक हिसाबले पनि पश्चिमाहरूको प्रमुख चासोको देश बनेको छ । नेपालको राजनीतिक प्रणाली पश्चिमसँग मिल्दा हामी लोकतान्त्रिक, आफ्नो प्रतिनिधि छान्ने हाम्रो मौलिक विधि हुँदा हामी कम्युनिस्ट, वा गैरलोकतान्त्रिक हुन्छौँ । उनीहरूको स्वार्थको केन्द्र वरिपरि नघुमे यहाँका कुनै पनि संस्कृति र मान्यता प्रहारको निशाना भइहाल्छन् । समयानुकूल हाम्रो समाजमा परिवर्तन अवश्य गर्नुपर्छ । तर, सामाजिक परिवर्तनका नाममा यहाँको एकता र मेलमिलापमा सहयोगी संस्कृति नै आक्रमणमा परेका छन् ।
उनीहरूका ‘अलेक्जेन्डर इज द ग्रेट’, तर हाम्रा पृथ्वीनारायणचाहिँ सामन्ती छन् । यस्तै लेखाइन्छन् मूलधारका पत्रिकामा । कहिले महिला उत्थानको नाममा महिलाहरूका लागि अपमानजनक शब्द भन्दै महिलालाई नै आक्रमणमा उतारिन्छ । भिन्नतालाई असमानता भनी प्रचार गरिन्छ । त्यसैको चपेटामा परेका छन् हाम्रा आवश्यक शब्द पनि । पछिल्लोपटक त्यसैको उदाहरण बनेको छ, शब्दकोशबाट ‘विधवा’ शब्द हटाउने अभियान र त्यसको विकल्पमा ‘एकल महिला’ लेख्ने चलन । संस्कृत भाषाबाट आएका यस्ता शब्दले गरेको यथार्थताको चित्रणलाई हामी अध्ययन गर्दैनौँ र विदेशीबाट आएका शब्दमा आत्मसम्मान देख्छौँ ।
हो, समयको आलोकमा हेर्दा हाम्रा केही संस्कार गलत छन् । अवश्य पनि यसमा परिमार्जन जरुरी छ । तर, यस्ता संस्कार हटाउन शब्द निर्मूल पार्ने होइन, मान्छेको नियत र मानसिकतामा परिवर्तन गर्नु जरुरी हुन्छ । शब्दको विस्थापनले त शब्द मात्र हट्छ, नियत होइन । खास अवस्थामा खास प्रयोजनमा आएका यी शब्दले जे अर्थ बोकेका छन्, ती निकै सभ्य र सुसंस्कृत छन् । ज्ञान नभएर तिनको गलत अर्थ लगाउँदा त्यसको असर शब्दमा मात्र होइन, सिंगो संस्कृतिमा पर्छ र भएको पनि त्यहीँ छ ।
एकपटक ‘विधवा’ शब्दको अर्थ हेरौँ न । ‘विधवा’ संस्कृत शब्द हो । यो शब्दलाई विग्रह गरेर हेरौँ । ‘धव’ भनेको ‘लोग्ने’हो । ‘वि’ भनेको नभएकी । यसलाई समास गर्दा यसको अर्थ ‘विधवा’ अर्थात् ‘लोग्ने नभएकी’ भन्ने लाग्छ । ‘सधवा’को अर्थ ‘लोग्नेसहितकी’ भन्ने हुन्छ । त्यस्तै ‘विधुर’को अर्थ पनि ‘पत्नी नभएको’ भन्ने हुन्छ ।‘विधुर’ पनि संस्कृत शब्द हो । यसलाई विग्रह गरेर हेरौँ । ‘धुरा’ भनेको ‘भार थाम्ने’ हो । ‘वि’ भनेको ‘नभएको’,‘धुर’ भनेको ‘भार थाम्ने’ वा ‘स्वास्नी’भन्ने हो । यसको अर्थ ‘स्वास्नी नभएको मान्छे’ भन्ने हुन्छ । (रथको पांग्राको सारा भार थाम्ने किलोलाई पनि धुरा भनिन्छ– पं. फणीन्द्रप्रसाद पाण्डेय, बृहत् संस्कृत–नेपाली शब्दकोश, विद्यार्थी प्रकाशन, २०७३) ।
अब हामी लोग्ने नभएको भन्ने अर्थ दिने विधवा शब्दमा अपमानबोध गर्दै उनीहरूलाई एकल महिला भन्न थाल्यौँ । लोग्ने मात्रै नभएकीलाई एकल अर्थात् कोही पनि नभएकी भन्न थाल्यौँ । यस्तो शब्दले अर्थ वहन गर्न सक्दैन । यसरी सही अर्थ बोकेको विधवा शब्दलाई हीनताबोधक अर्थ लगाइयो र आन्दोलन गरेर शब्दकोशबाट हटाउने अभियान चल्यो । फलस्वरूप एकल महिला भनेर लेखिन थालियो ।
एकल महिला शब्दले के विधवाको अर्थ बोक्न सक्छ ? लोग्ने मात्रै नहुँदा कुनै महिला एकल हुन्छिन् ? वा उनी एकल भनिँदा सम्मानित र विधवा भनिँदा अपमानित हुन्छिन् ? लोग्ने छाडेर वा बिहे नगरेर भएकी एकल महिलाले भन्दा लोग्नेको मृत्यु भएर विधवा भएकीले सामाजिक वेदनाको हिस्सा बढी पाउलिन् नि होइन र ? यसरी वास्तविक अवस्थाको किटानी गर्ने विधवा शब्दलाई फालेर सबै (लोग्ने मरेका, छाडेका, बिहे नगरेका) लाई एकल महिला शब्दले समेट्न सक्दैन ।
‘सुवासिनी’बाट ‘स्वास्नी’ बनेको हो । सुवासिनीको सीधा अर्थ हुन्छ– ‘मगमग सुवास आउने स्त्री’ । विवाहपछि लोग्नेको सम्पूर्ण वासना उही पत्नीको सुगन्धमा समाहित हुन्छ र अन्य कुनै वासनात्मक क्रियाकलापमा ऊ सामेल हुँदैन भन्ने मान्यता यो शब्दले बोकेको छ ।
त्यसैगरी ‘स्वास्नी’ शब्द भन्न त छोडियो छोडियो । यो शब्द नै नराम्रो भएजसरी प्रस्तुत गर्न थालिएको छ । त्यसो त ‘स्वास्नी’ भनेर लोग्नेहरूले भन्न पनि छोडे । तर, महिलाहरू यस्ता शब्दको सम्बोधनबाट मुख बटार्छन् । स्वास्नी शब्दको अर्थ पनि हेरौँ न !संस्कृतको ‘सुवासिनी’बाट अपभ्रंश भएर ‘स्वास्नी’बनेको हो । संस्कृतमा यसको परम्परागत अर्थ ‘माइतीमा बस्ने स्त्री’ भन्ने पनि हुन्छ । तर, सुवासिनीको सीधा अर्थ ‘मगमग सुवास आउने स्त्री’ भन्ने हुन्छ ।
विवाहपछि लोग्नेको सम्पूर्ण वासना उही पत्नीको सुगन्धमा समाहित हुन्छ र अन्य कुनै वासनात्मक क्रियाकलापमा ऊ सामेल हुँदैन भन्ने मान्यता यसले बोकेको छ । सुवास दिने भएर सुवासिनी भएको हो । यसरी यति सुन्दर र सम्मानले मनै आनन्दित बनाउने स्वास्नी शब्दको अर्थ थाहा नपाई नियतवश अपमानबोधक शब्द भन्दै किन हिँड्ने ? अर्धज्ञानकै कारण सुन्दर अर्थ लाग्ने हाम्रा मौलिक शब्द हाम्रो बोलीचालीबाट हराउँदै छन् । यति राम्रा शब्दप्रति घृणा पालेर उच्चारण नै गर्न छोडिसकेका छौँ हामीले । शब्दसँगै संस्कृतिमा हुने आक्रमणको परिणाम कति डरलाग्दो हुन्छ भनेर सांस्कृतिक आक्रमणबाट पर्ने असरबारे जान्न हामी टाढा जानुपर्दैन । छिमेकी देश भारतलाई हेरे पुग्छ ।
भारतमा विधर्मीको शासन चलेपछि क्रमशः संस्कृत ओरालो लाग्यो र त्यसको ठाउँ फारसीले ओगट्यो । मुसलमानी साम्राज्य अस्ताउँदै र अंग्रेजी साम्राज्य उदाउँदै जाँदा फारसीको पकड खुकुलो हुँदै गयो र अंग्रेजी भाषा मजबुत हुँदै आयो । कालान्तरमा भारतभरि सरकारको अड्डा–अदालत, व्यापार–व्यवसाय र शिक्षाको भाषा पनि अंग्रेजी बन्यो । अहिले भारतबाट अंग्रेज शासन हटेको पनि ७० वर्षभन्दा बढी भयो । तर, पनि अंग्रेजीको ठाउँ स्वदेशी भाषाले लिन सकेको छैन ।
संस्कृतबाट हिन्दी हुँदै आएको समाज अंग्रेजी छाडेर त्यसको ठाउँमा हिन्दी चलाउने प्रयास भयो । तर, दक्षिण–भारतीयले नमानेकाले हिन्दी भिन्ना–भिन्नै भाषा बोल्नेहरूको साझा भाषा बन्न सकेन । नेपाली भाषा कसरी तलमाथि गर्दै नामेट गरिँदै छ भनेर आफ्नो लेखमा इतिहासकार डा. महेशराज पन्तले लेखेका छन् (के नेपाली भाषाको उत्पत्ति सिंजाबाटै भएको हो ? असार ७, नयाँ पत्रिका ) ।
यसले देखाउँछ, हाम्रो संस्कृति र ज्ञानमाथि पश्चिमाहरू ईष्र्या गर्छन् । हाम्रो संस्कृतिमा आक्रमण गर्ने, एक आपसमा मिलेर बसेको समाज फुटाउने र आफू यहीँको ज्ञानमा राज गर्ने योजनाबद्ध प्रयोगमा उनीहरू छन् । यहाँको संस्कृति र ज्ञानमा आक्रमण कसरी भइरहेको छ भनेर अर्को उदाहरण हेरौँ । योग–ध्यान भारतवर्षको सभ्यता हो । यो मानव सभ्यताको सुरुवातसँगै विकास भएको पद्धति हो । यसबारे सबैभन्दा पुरानो र महत्वपूर्ण पुस्तक वेदमा पनि उल्लेख छ । वेद एउटा यस्तो ग्रन्थ हो जसमा सभ्यता, जीवन विज्ञान, उपचारपद्धति र सामाजिक संस्कार सबै एकैठाउँ छ । तर, अहिले पश्चिमाहरूले हाम्रो जीवन–पद्धतिका सूत्र उनीहरूका भाषामा ढालेर यी सबै पक्ष उनीहरूले ल्याएका थिए भनेजस्तै गरी प्रस्तुत गर्छन् ।
हाम्रो योग, ध्यान, तपस्याको पश्चिमीकृत शब्द हेरौँ । जस्तो विपश्यनालाई माइन्डफुल्नेस मेडिटेसन, योगलाई रिल्याक्सेसन रेस्पोन्स र आयुर्वेदलाई अवेदा भनी हाम्रो सभ्यतामा विकसित ज्ञानलाई आफ्नो भाषाका प्राविधिक शब्दमा ढाली विश्व प्रचारमा देखिन्छन् पश्चिमा । यस्तै हो भने, केही वर्षपछि योग उनीहरूले नै ल्याएका थिए भनेर प्रमाण देखाउँदै आउनेछन् । हामी हाम्रा संस्कृतिलाई खरानी पार्नुमा क्रान्तिकारिता देख्दै छौँ । तर, खरानी बेचेर नाफा गर्न आफ्नै घर डढाएको कथाभन्दा फरक छैन हाम्रो सभ्यता र संस्कृतिको अवस्था ।