• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मन्नू भण्डारी
२०७६ कार्तिक १६ शनिबार ०८:३९:००
समाज

यो सम्बन्धलाई लिएर म कहाँ र कसरी उभिऊँ ?

कन्फेसन्स

२०७६ कार्तिक १६ शनिबार ०८:३९:००
मन्नू भण्डारी

भारतीय लेखनमा ‘नयीँ कहानी’ आन्दोलनका लेखकद्वय मन्नू भण्डारी र राजेन्द्र यादवको दाम्पत्यजीवन निकै तनावपूर्ण रह्यो । दुवैले आ–आफ्ना पक्षमा आत्मकथा नै लेखे । यादवले ‘मुड मुड के देखता हुँ’ लेखे भने त्यसको जवाफमा भण्डारीले ‘एक कहानी यह भी’ लेखिन् । केही साताअघि ‘झन् नयाँ’मा छापिएको यादवको आत्मकथाबाट अनूदित लेखमा उनले आफ्ना सारा गल्तीका लागि अपराधबोध गरेका थिए । (६ वर्षअघि यादवको मृत्यु भइसकेकोे छ ।) व्यास पुरस्कारबाट सम्मानित ‘एक कहानी यह भी’बाट लिइएको यो अनुभूतिपरक लेखमा भण्डारीले आफूमाथि भएको अन्यायबारे खुलेर लेखेकी छन् । यसको नेपाली अनुवाद कवि तथा कथाकार अभय श्रेष्ठले गरेका हुन् ।

नोभेम्बर २२ मा बिहे भयो । तर, मैले देखेँ, राजेन्द्र यादवको मानसिक स्थिति अझै सामान्य हुन सकेको थिएन । म सोचिरहेकी थिएँ, होइन आश्वस्त नै थिएँ, एकपल्ट गृहस्थीको गाडी अगाडि बढेपछि निश्चिन्ततासाथ पढाइ–लेखाइ सुरु हुन्छ । त्यसपछि उनको शिरबाट आर्थिक आधारको भूत भाग्छ र स्थिति सामान्य हुन थाल्छ । पहिलेजस्तै फेरि उत्साहले भरपूर । मलाई थाहा थिएन, यस मानसिक स्थितिको मूलमा... !

हामी आगरा पुग्यौँ । उनका दिदी–बहिनीले ‘द्वारमा रोकिने’ संस्कार गरेर स्पष्ट संकेत गरिदिए, यहाँ हाम्रो बिहेप्रति ठूलो उत्साह छ । साँझ बीच आँगनमा सासू आमा, नन्द, आमाजूहरू र केही महिलासँग चटाईमा बसेर संस्कार निर्वाह गरिरहेकी म अनि जुन स्थितिको सपनामा पनि कल्पना गर्न सक्दिनथेँ, त्यही स्थितिमा आफैँलाई गुमाइरहेका राजेन्द्र ! मीताका साथीहरूको कोठा..., झुट, छल र प्रपञ्चको आरोप लगाएर रोइरहेकी मीता अनि धिक्कारिरहेका मीताका मित्र । मनमा कैयन् तुफानको हलचल झेलिरहेका निश्चल, निस्पन्द राजेन्द्र ! आखिर केही क्षणपछि राजेन्द्रले नै हिम्मत गरेर मीताको आँसु पुछिदिए ।

उसको हातमा आशा र आश्वासनको पुर्जा थमाइदिए, ‘मीता, बिहे अवश्य मैले मन्नूसँग गरेँ । तर, तिम्रो–मेरो सम्बन्ध जस्तो छ, त्यस्तै रहनेछ । बिहेजस्तो संस्थामा त्यसै पनि मलाई विश्वास छैन । त्यसैले यो बन्धन तिमी र मबीच कहिल्यै बाधा हुनेछैन ।’ मैले बुझिनँ, दुवै सम्बन्धलाई एकसाथ अगाडि बढाउने कस्तो अवधारणा यिनको मनमा खेलिरहेको थियो ! एउटा सम्बन्ध जोड्नेबित्तिकै तोड्ने योजना थियो वा मीताको आहत मनलाई फुल्याउन यस्तो आश्वस्तिदायक कुरा गर्न उनलाई जरुरी लागेको थियो !

राति जब राजेन्द्र मकहाँ आए, उनको शरीरमा रगत होइन, आफूले गरेको अपराधबोध, मीताको आँसु र उसका साथीहरूले दिएको धिक्कारपूर्ण गाली बहिरहेको थियो । उनी बिल्कुल ठन्डा र निरुत्साहित थिए । यो ठन्डापन हाम्रो सम्बन्धबीच मानौँ स्थायी भाव बनेर जमिरहेको थियो ।

यी सारा झञ्झावात झेलेपछि आज यो दृश्य सम्झँदा मलाई कहिलेकाहीँ हाँसो उठ्छ । आँगनको पटरीमा बसेर बिहेको संस्कार निर्वाह गरिरहेकी म र मीताको आँसु अनि उसका साथीहरूको गाली झेल्दै शिर झुकाइहेका राजेन्द्र ! तर, यी सब पहिलोपल्ट मलाई थाहा भएको थियो, उफ् त्यो रात ! कलकत्तामा जिन्दगी सुरु गर्दै लेखनको अनिवार्यता र आधुनिकताको नाममा राजेन्द्रले समानान्तर जिन्दगीको नाटक मात्र सुरु गरेनन्, आफ्नै आलमारी, बाकस र दराजको साँचोको चार भित्ता यसरी खडा गरे, मलाई त सासै रोकिएलाझैँ हुन थाल्यो । होइन, यी त बिहेअघिका राजेन्द्र नै थिएनन् ।

पहिले कोठामा जाँदा उत्साहले भरिएर कहिलेकाहीँ अँगालोमा बेर्थे । कोठामा आलमारी र दराज मात्र खुला हुन्थेनन्, कुरै कुरामा उनको मन पनि खुल्थ्यो । (आफ्नो स्वभावको खुलापनको कारण मलाई यस्तो लाग्थ्यो, नत्र उनी त मनको गाँठोमा पनि सत्र ताल्चा ठोकेर बस्दा रहेछन् ।) होइन, यो लेखनको मामला मात्र होइन, कुनै रहस्य छ जुन मसँग लुकाइएको छ । आइमाईको मनमा सन्देह अंकुरायो भने कुनै पनि रहस्य धेरै दिन रहस्य बनिरहन सक्दैन ।

राजेन्द्र तीन दिनका लागि बाहिर जाँदै थिए । जानुभन्दा केही घन्टाअघि उनको खास बाकसको साँचो मेरो हातमा प-यो । मैले चुपचाप पलङमुनिको बाकसको ताल्चा खोलेँ । साँचो उही ठाउँमा राखेर उनलाई बिदा गरेँ । पत्र र डायरीले भरिएको त्यो बाकस मेरो सामु खुला थियो । सारा घटना, स्थिति, संवाद र मानसिक दशाको व्यहोराले भरिएको त्यो डायरी मेरो हातमा थियो । झरिरहेको आँसु पुछ्दै म त्यो डायरी पढिरहेकी थिएँ । मानौँ, मेरो पाउमुनिको जमिन भासिँदै गइरहेको थियो । समानान्तर जिन्दगीको नाटकले छत त पहिले नै अलग गरिदिएको थियो, अब जमिन पनि खोसिदिएको थियो । यति ठूलो धोखा, यस्तो छल..., अब यो सम्बन्धहीन सम्बन्धलाई लिएर म कहाँ उभिऊँ, कसरी उभिऊँ र किन उभिइरहूँ ? होइन, जुन काम राकेशजीले गर्न सकेनन्, ठाकुर साहेबले गर्न सकेनन्, त्यो काम अब मैले नै गर्नुपर्छ ।

सत्य के हो भने आत्मकेन्द्रित र आत्मतोषको खोजीमा राजेन्द्रले आफूलाई बाहेक जिन्दगीमा न कसैलाई प्रेम गरे, न गर्नै सक्छन् । तर, उनीजस्ता विवेकवान् र संवेदनशील (?) व्यक्ति यो कुरा बुझ्दैनन्, प्रेमको विस्तार नै अधिकार हो, प्यारको परिपूर्णता नै समर्पण ! यी कुरालाई बाहेक गरेर के प्रेम कायम रहन सक्छ ?
यता राजेन्द्रको हालत यस्तो थियो । कहिले घरखर्चका लागि दिइएको रुपियाँबाट केही कटाएर, कहिले लेख र रोयल्टीबापत प्राप्त पुँजी जम्मा गरेर वा कहिले प्रकाशकसँग अग्रिम भुक्तानी लिएर उनी मीतालाई पहाडतिर लैजान्थे । बस्ने व्यवस्था उनी आफैँ गर्थे ।

सबै खर्च आफैँ व्यहोर्थे । अनि सारा हीन ग्रन्थिबाट मुक्त भएर आफूलाई आत्मविश्वास र अधिकारले भरिपूर्ण एक पूर्ण पुरुष महसुस गर्थे । एकातिर यति तृप्त अहं, ... कुण्ठामुक्त व्यक्तित्व र अर्कातिर मीताप्रति अगाध प्रेम (?) । उनलाई लाग्थ्यो, जीवनको यही रूप उनलाई काम्य थियो... काम्य छ, जसलाई यसअगाडि स्थगित गर्न सकिन्न । अनि आह्लादले भरिपूर्ण भएर, उमंगको अतिरेकमा ऊसँग विवाहको तारिख तय गर्थे । नयाँ जीवनको सपनाले भरिपूर्ण दुनियाँ लिएर विजयी मुद्रामा ऊ फर्कन्थी र ठान्थी, आखिर ऊ राजेन्द्रलाई जफत गर्न सफल भई । तर, फेरि उही विश्वासघातको पुनरावृत्ति । तर, किन... किन उनी आफूले दिएको वचन पूरा 
गर्न सक्दैनन् ?

म अलग भइसकेपछि मीताको भाइले उनलाई आग्रह ग¥यो, अब त मीतासँगै बसे हुन्छ, किन उसलाई ल्याउनुहुँदैन ? भाइहरूले भन्नु के जरुरी थियो र ? यी दुई सँगै बस्ने स्थितिको बीचमा बाधा म थिएँ र अब म स्वेच्छाले हटिसकेपछि सँगै बस्न के बाधा थियो ? तर, उसलाई ल्याउनुको साटो भाइहरूको कुरा उनले निर्मलाजीसँग गरे । निर्मलाजी के भनून् ! यही भनिन्, ‘सोच्नुस् आफैँ, यस उमेरमा एक्लै बस्नु मुस्किल छ भने ।’

राजेन्द्रको जवाफ थियो, ‘मैले यसबारे नसोचेको होइन । एकदमै गम्भीरतापूर्वक सोचेँ । धेरै दिनसम्म सोचेँ र सधैँ यही नतिजामा पुग्छु कि साथ रहनु सम्भव छैन । मन्नूको कुरा त छाडिदिनुस्, मीतालाई त मैले टिंकुसँग बोल्दा पनि सह्य हुँदैन ।’ राजेन्द्रको यो कुरा साँचो हो वा आत्मकथ्यमा लेखिएको कुरा, अथवा उनमा स्वामित्वको भाव कहिल्यै भएन । (निहितार्थ यस्तो थियो, स्वामित्वको भावना मन्नूमा थियो, जो सधैँ उनको स्वतन्त्रतामाथि आघात पु¥याइरहेकी थिई ।) यी सबै मलाई निर्मलाजीले नै भनेकी थिइन् । साँच्ची, संकट निकै भारी हुँदो हो उनलाई... होस् टिंकु त छोरी हो, तर (ममता कालियाका अनुसार) फेरि राजेन्द्रको त्यो ‘घाघरा पल्टन’ को हालत के हुन्छ ?

राजेन्द्रको बलात्कारको नयाँ सिकार बनिन् एक मित्र (बलात्कारजस्तो जघन्य काम त राजेन्द्र कहिल्यै गर्न सक्दैनन्) । मित्रको मनमा भावनात्मक लगाव (जो कदापि थिएन) जमाउन जब राजेन्द्रले आफ्नो मन विरेचन गर्न सुरु गरे त यो प्रसंग आउनै पथ्र्यो । पहिलो प्रेम र सबभन्दा गहिरो प्रेम मीतासँग थियो, त जाने वेला मित्रले सोधेकी थिइन्, ‘त्यसो भए मन्नूजीसँग बिहे किन गर्नुभयो ?’ फेरि उही इमानदार स्वीकारोक्ति, ‘यो सही हो, प्रेम मेरो उसैसँग थियो र छ, तर घरबार गर्नलाई ऊ काम लाग्ने आइमाई होइन किनभने ऊ बहुतै विद्रोही, जब्बर र प्रभुत्व जमाउने स्वभावकी थिई ।’ (यी तीनै विशेषणमा त पुरुषको एकाधिकार छ । यिनैले त उसको व्यक्तित्वमा निखार ल्याउँछ । तर, यिनै विशेषता भएकी स्त्री सँगै बस्नलायक हुँदिन । वाह, स्त्री विमर्शका पुरोधा !) दिइएका ती तीन विशेषणमा मेरो एउटा पनि थिएन किनभने यो सत्य जति आश्चर्यजनक लागोस्, मोहभंग भएपछि राजेन्द्रकी ती मित्रलाई आफ्नो दुःख पोख्न मेरै साथ चाहिएको थियो । रुँदै उसले धेरै कुरा भनेकी थिई, जसमा यी कुरा पनि थिए ।

राजेन्द्रको दुर्भाग्य ! फेरि कुण्ठा पोतिन थाल्यो उनको व्यक्तित्वमा । स्वाभाविक थियो, तर अब गर्नु के ? हो, कोही साधारण व्यक्ति हुँदो हो त केही दिन दुःखी भएर चुपचाप भक्तिकालमा प्रवेश गथ्र्यो । पहिलो कुरा, राजेन्द्र साधारण मान्छे होइनन् । दोस्रो, उनलाई भक्ति र भगवान्को नामसँग वैरता छ । त्यसैले उनले सीधै छलाङ लगाए रीतिकालमा ।

अर्को कुरा– पहाडको रामरमाइलोमा जब राजेन्द्र मीतासँग बिहेको तारिख तय गर्थे, मलाई लाग्छ, त्यस वेला राजेन्द्रमा छलकपटको भावना पटक्कै थिएन होला । पूरै इमानदारी र दृढसंकल्पित भएर उनी निर्णय गर्थे होलान् । त्यस वेला उनको तन–मन, दिल–दिमाग सबै आकाशमाथि हुँदो हो, हावामा उडिरहेको । चारैतिर यथार्थको धरातल काटिएको रोमान्टिक दुनियाँ । प्रकृतिको सौन्दर्यले त्यसलाई अझै रुमानी बनाइदिन्थ्यो होला । फर्केर जब उनी यथार्थको कठोर भूमिमा पाइला राख्थे, उनको व्यावहारिक मन हिसाब–किताबको दुनियाँमा फर्कन्थ्यो । कुरा पैसाको होइन तर हिसाब अर्काे प्रकारको पनि हुन्छ । जस्तो यही मन्नू जोसुकै होस्, जस्तोसुकै होस्, साहित्यको दुनियाँमा (जुन उसको आफ्नै दुनियाँ हो) उसको नाम छ, प्रतिष्ठा छ ।

सबको मनमा उसका लागि स्नेह र सम्मान पनि छ । यो ती दिनको कुरा हो जब मेरो कलम र दिमागमा पछिल्ला केही वर्षमा जस्तो युद्ध थिएन । बरु संयोगले मेरा रचना, फिल्महरू, नाटक सबैले राम्रै क्लिक गरिरहेका थिए । यो पनि सही हो, यो सफलता र त्यसबाट प्राप्त यशमा मभन्दा बढी प्रसन्न राजेन्द्र नै हुन्थे, ‘मेरी बिबी मन्नू भण्डारी ?’ अहंतुष्टिका पिपासु राजेन्द्र... त्यो जहाँबाट प्राप्त होस्, कसैबाट प्राप्त होस्, उनलाई तृप्ति त हुन्थ्यो नै । अब यस्तो स्थितिमा तुलना एकदमै स्वाभाविक हुन्छ । दुईमा एउटालाई चुन्नु छ भने (खासगरी लेखकलाई) यस तुलनाले कसैको पनि संकल्प डगमगाउन सक्थ्यो, चाहे ती राजेन्द्र नै हुन् वा अरू । धाप तपाईं राजेन्द्रको त्यो कौशललाई दिनुस् (म त दिन्छु नै), जसको सहारामा यतिका वर्ष समानान्तर जिन्दगी त चलाए, बरु हामी दुईको इच्छा–आकांक्षालाई औँला ठड्याएर हामी दुईबाट जो चाहन्थे पाइरहे ।

यहाँ एउटा अर्को कुरा उल्लेख गर्न चाहन्छु । यिनी जब मीतासँग पहाडमा बस्थे, आफ्नो वर्चस्वबोधले भरिएर, एक कुण्ठाहीन पूर्ण पुरुषको ध्वजा–पताका फहराएर, त्यसवेला उनलाई यो आफ्नो जीवनको ‘वीरगाथा काल’ लाग्थ्यो । यो विशेषण मैले दिएको होइन, उनले आफैँ आफ्नो जीवनको त्यो पललाई व्याख्या गर्दै लेखेका थिए । यस्तो कुरा त मेरो मथिंगलमै चढ्दैन । उनले लेखेका यस्ताउस्ता कुरा पढेर (तपाईं यसलाई अपराध पनि भन्न सक्नुहुन्छ) मात्र मैले यो ज्ञान हासिल गरेकी थिएँ । आफ्नो वीरगाथा कालमा जिउन कसलाई मज्जा लाग्दैन ! तर, राजेन्द्रको दुर्भाग्य ! उनको यो वीरगाथा काल पराजय कालमा परिणत भयो । राजेन्द्र हैरान, दुःखी । फेरि कुण्ठा पोतिन थाल्यो उनको व्यक्तित्वमा ।

स्वाभाविक थियो तर अब गर्नु के ? हो, कोही साधारण व्यक्ति हुँदो हो त केही दिन दुःखी भएर चुपचाप भक्तिकालमा प्रवेश गथ्र्यो । पहिलो कुरा, राजेन्द्र साधारण मान्छे होइनन् । दोस्रो, उनलाई भक्ति र भगवान्को नामसँग वैरता छ । त्यसैले उनले सीधै छलांग लगाए रीतिकालमा । अब त्यहाँ जानुको सान के भयो, त्यसको विस्तार गर्न म चाहन्नँ, गर्नुको अर्थ पनि छैन । अब हिम्मत गरेर उनैले केही बताए भने कुन्नि ! तर, उनी गरेरै देखाउने साहस भएका मान्छे हुन् । भन्ने साहस उनमा बिल्कुल छैन । नत्र, आफ्नो आत्मकथ्यमै यस प्रसंगको थोरै भए पनि संकेत गर्ने थिए ।

वैवाहिक सम्बन्धको गरिमा निर्वाह गर्न नसक्ने व्यक्तिका लागि विवाह संस्थाविरुद्ध झन्डा उठाउनु स्वाभाविक मात्र नभई अनिवार्य पनि हो । त्यसो भए विवाह गर्नु किन ? मीताले विवाह गरेर परिणिता बन्न स्वीकार नगरेको भए यति धेरै आहत हुनुपर्ने के थियो ? बारम्बार विवाहको आश्वासन दिएर तिरस्कार गर्दा त्यसमा अपराधबोधले त्रस्त हुनुको के औचित्य ? सम्बन्ध त चलिरहेकै थियो । बस, जुन विवाहमा विश्वास थिएन, उनले केबल त्यही नै गरेका थिएनन् र ? जुन घर उनलाई सधैँ बन्धन लागिरह्यो, त्यही घरबाट प्राप्त हुने सारा सुविधाको अपेक्षा मात्र होइन, बरु त्यसको उपभोग पनि गरिरहे । लेखनको नाममा सधैँ जोसँग स्वन्त्रताको लामो सूची छ, आफ्नो आवश्यकता, सुख सुविधाका हिसाबले जसले तिनको खुलेर उपयोग पनि गरेको छ, उनी कति चाँडै भुल्छन् कि उनकी पत्नी पनि लेखक नै हो ।

जागिर खानु उनलाई आफ्नो स्वतन्त्रताको हनन लाग्छ । तर, आफ्नी लेखक पत्नीका लागि अति प्रतिकूल परिस्थितिमा पनि जागिर खान उनैले बाध्य बनाइदिए । मलाई नसोधी, मसँग सल्लाह नगरी उनले अक्षर प्रकाशनको चुनौती स्वीकार गरे । तर, त्यसको भार मैले झैल्नुपथ्र्यो र झेलेँ । मैले आफ्नो अधिकारको सीमामा रहेर केही चाहेँ भने त्यो उनलाई आफ्नो स्वतन्त्रताको हनन लाग्छ । वाह ! यिनको स्वतन्त्रता, यिनको लेखन र यिनको मानवता ! भैगो, छाडौँ, यो प्रसंग । के के गनूँ ? कहाँसम्म गनूँ ?

मलाई थाहा छ, आफ्ना हरेक गल्ती र कमजोरी ढाक्न शाब्दिक चमत्कारमा लपेटिएको सिद्धान्तका उनी यस्ता धक्कुबाज हुन्, जसको जादु सबैमाथि चल्छ । यस्तो चल्छ, सबै जना वाह, वाह गर्न थाल्छन् । आहत त केबल उही हुन्छ, जसले भोगेको छ । मलाई थाहा छ, राजेन्द्रका पाठक, प्रशंसक, मित्र, परिचित कसैलाई पनि मेरो यो लेख पच्न मुस्किल छ । यसमा न शाब्दिक चमत्कार छ, न साहित्यिक शौष्ठव । यसले मात्र राजेन्द्रको त्यस पक्षलाई उजागर गर्छ, जसप्रति उनीहरू पूर्णतः अपरिचित छन् । के थाहा, तिनलाई विश्वासै नलाग्न पनि सक्छ । राजेन्द्र पनि यसबाट निकै आहत हुन सक्छन् । तर, समय र परिस्थितिले जुन घाउमाथि पाप्रा जमाइसकेको थियो, त्यसलाई खोस्रने पहल त राजेन्द्रले नै गरेका हुन्, आफ्नो आत्मकथ्यमा यस प्रसंगको उजागर आफ्नै नजरबाट गरेर । सायद उनले बिर्सिए, खोस्रिएको घाउबाट केवल पिप बग्छ ।