• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
महेश बस्ताकोटी
२०७६ कार्तिक १६ शनिबार ०८:४५:००
सम्झना

यो केवल भोज होइन

एउटा चित्रको रचनागर्भ

२०७६ कार्तिक १६ शनिबार ०८:४५:००
महेश बस्ताकोटी

महेश बस्ताकोटी चित्रकलाका स्नातकोत्तर हुन् । इन्स्टलेसन, पर्फमिङ कला र पेन्टिङमा उनी सक्रिय छन् । हालै उनले लियोनार्दो दा भिन्चीको विख्यात पेन्टिङ ‘द लास्ट सपर’ (अन्तिम रात्रिभोज)लाई समकालीन ढाँचामा ढालेर त्यसै पेन्टिङमा आधारित ७२ वर्गफिटको नयाँ पेन्टिङ सिर्जना गरेका छन् । यसअघि नेपाल र इन्डोनेसियामा उनको चित्रकला प्रदर्शनी भएको थियो । यो पेन्टिङमा विश्वका प्रमुख राजनीतिक नेतालाई ‘द लास्ट सपर’कै पात्रहरूको स्थानमा प्रस्तुत गरिएको छ । यसै पेन्टिङको रचनागर्भमाथि बस्ताकोटीसँग गरिएको संवादः

‘द लास्ट सपर’ (अन्तिम रात्रिभोज) विश्वकै चर्चित पेन्टिङमध्येको एक हो । लियोनार्दो दा भिन्चीले सिर्जना गरेको यस पेन्टिङमा जिसस क्राइस्टलाई सुलीमा चढाउनुअघिको अन्तिम भोजलाई प्रस्तुत गरिएको छ । सानैदेखि त्यो चित्र हेरेको थिएँ । चित्रबारे निकै पछि बुझेँ । त्यसपछि मेरो मनमा त्यो चित्रप्रति अगाध श्रद्धा जाग्यो । धेरै मानिसका रियल चरित्र देखाउन यो चित्र अत्यन्त सफल छ । चित्रको बनोट पनि अद्भुत छ । 

अनयासै मलाई विश्वका चर्चित राजनेता र अन्य चर्चित मानिसको चरित्र लिएर चित्र बनाउन मन लाग्यो । यसरी प्रसिद्ध मान्छेको अनुहार समावेश गरेर पेन्टिङ गर्ने चलन विश्वमा चलिआएकै हो । तर, मलाई यही शैलीमा केही फरक काम गर्न मन लाग्यो । यसैले मैले बहुआयामिक झल्को दिने भिन्चीको अन्तिम रात्रिभोजको आधुनिक भर्सन बनाउने विचार गरेँ । स्नातक पढ्न थालेपछि यो विचार झन् बलियो भएर आयो । 

मैले भर्खरै बनाएको ‘द लास्ट सपर’को क्यानभास उचाइ ६ फिट र लम्बाइ १२ फिट छ । यसमा मैले एक्रेलिक र अयलको प्रयोग गरेको छु । ल्यान्डस्केप चित्र भएकाले यसलाई पूरा गर्न निकै समय लाग्यो । सुरुमा मैले रोलर प्रयोग गरेँ । चार तहको रङ लगाउनुपर्ने भएकाले रंगमा धेरै खेल्नुप¥यो । मान्छेको मुहार छर्लङ्गै बनाउनुपर्ने भएकाले पनि धेरै तहमा रङ खेल्नुपरेको हो । 

यसमा समावेश अनुहारलाई मैले पहिले कागजमा स्केच गरेँ । पेन्टिङमा संसारका को–को नेताहरूको चरित्र लेख्ने भन्ने छानिसकेपछि कपडामा उनीहरूका अनुहार बनाउन सिकेँ । कागज र कपडामा लामो अभ्यास गरेपछि मात्रै क्यानभासमा उनीहरूको मुहार बनाउन थालेँ । शान्तिका लागि यी विश्व राजनेताको अन्तिम रात्रिभोज सफल होस् भन्ने मेरो कामना छ । यो भोज केवल भोज नभएर आजको विश्वमा व्याप्त हिंसा, युद्ध र झैझगडाको अन्त्यको पनि आयोजना होस् भन्नका लागि ‘अन्तिम रात्रिभोज’को प्रतिलिपिझैँ लाग्ने चित्र बनाएको हुँ ।

चित्रमा कला, नयाँ विचार, सौन्दर्य, कलात्मक महत्व र मौलिक प्रस्तुति हुनुपर्छ भन्ने सोच्छु । कलाकार आफूले बनाएको चित्रको प्रयोजनमाथि पूरै स्पष्ट हुनुपर्छ । 
प्रविधिको प्रयोगविना कला क्षेत्रमा काम गर्न कठिन छ । यसैले हामी प्रविधिसँग अभ्यस्त हुनैपर्छ । यही चित्र बनाउँदा पनि मैले नेताका फोटोहरू आइप्याडबाट हेरेर बनाएँ । उनीहरूहरूको हाउभाउ भिडियोमा पनि हेरेँ ।कहिलेकाहीँ सोच्छु– मान्छे किन दुःखी हुन्छ ! प्रायःजसो समय ऊ कुनै न कुनै तनावमै हुन्छ । सायद, आजको मान्छेलाई अनेकौँ बाधा, व्यवधानले घेरेको छ । यसैले म सुखको चित्र बनाउन खोज्दाखोज्दै पनि बनाउन सक्दिनँ । ‘द लास्ट सपर’लाई अन्तिम रूप दिन दुई महिना लाग्यो । आज सोच्दा लाग्छ– मेरो काममा अझै अध्ययनको कमी छ । अलि लामो तयारी गर्न पाएको भए चित्र झन् सानदार हुन्थ्यो कि भन्ने लागिरहन्छ । 

जिजसको स्थानमाडोनाल्ड ट्रम्प 
‘अन्तिम रात्रिभोज’मा जिजस क्राइस्ट केन्द्रमा छन् । छेउमा उनका शिष्यहरू र अन्य आमन्त्रित विशिष्ट मान्छे छन् । उक्त चित्रमा जिजसको मुहारमा अलौकिक कान्ति छाएको देखिन्छ । तर, मैले चाहिँ व्यंंग्यस्वरूप अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई केन्द्रमा राखेको हुँ । यसपछि रुसी राष्ट्रपति भ्लादमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ युन राखेको छु ।

एसियाबाट नरेन्द्र मोदी र इमरान खान राखेको छु । यसको अर्थ सधैँ चलिरहने भारत–पाकिस्तानको लडाइँ नै हो । यसबाहेक पेन्टिङमा मैले आफैँलाई पनि राखेको छु । किनकि यो मेरो (महेश बस्ताकोटी) कल्पनाबाट मात्रै सम्भवबाट भएको हो । यसमा गरिएको शान्तिको कल्पना पनि मेरो हो । यसैले चित्रमा आफूलाई नै राख्ने आँट गरेँ ।  

हरेक कलाकारको मस्तिष्कबाट नै चित्रको प्रारम्भिक जन्म हुन्छ । कल्पनाशक्ति नै कलाकारको विशिष्टता हो । वास्तविक चित्रमा जिजस क्राइस्टले हात खुला राखेका छन्, तर मेरो चित्रमा चाहिँ ट्रम्पले हात जोडेर बसेका छन् । अर्थात् शक्तिशालीले आफ्नो पञ्जाभित्र संसार पार्न चाहन्छ ।सधैँ फरक काम गर्ने हुटहुटी चल्छ । शैली होस् वा दृश्य, मलाई चित्रमा पृथकता मनपर्छ । यो मेरो प्रयोग हो । पहिला पनि अल्बर्ट आइन्स्टाइनसँग आफैँले चेस खेलिरहेको चित्र बनाएको थिएँ । 
मलाई सधैँ केही नयाँ सोचिरहन मन लाग्छ । त्यसैले मलाई यो चित्र बनाउनेआँट आयो ।