• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
युवराज नयाँघरे
२०७६ कार्तिक १६ शनिबार ०८:३९:००
सम्झना

झरेको झरेकै झिँग्राना !

नियात्रा

२०७६ कार्तिक १६ शनिबार ०८:३९:००
युवराज नयाँघरे

‘ढिलो गर्नेहरू यतै छुट्छन् !’ मैले कड्केर बोलेपछि बिहानको सात बजे डोटीतिर झरेथ्यौँ हामी । खप्तडमा मेला लाग्ने बल्ल मेसो हुँदैथ्यो । बल्ल ठडिँदै थिए टहरा, झुप्रा र कटेराहरू । चुलामा दाउरा जोरिँदै थिए । सेउलाले बारेका छाप्रामा छाना हालिँदै थिए । तर, दुई दिनदेखिको असिनापानीले अत्तालिएका अरू साथीहरूसँगै मैले पनि चाँडचाँडो फर्किने निधो गरेँ ।
‘बाटो टाढा छ । बिहानको ६ बजे लम्किनैपर्छ ।’
राति भरिया खोजेर धर्मशाला पस्दा भनेथेँ । एक–दुईजना साथीहरू बढ्तै अल्याङतल्याङ गरिरहेथे । तर, हामीसँग फर्किन नि खोज्ने, वेलैमा गइहाल्न नि नसक्ने– तिनको जुम्से तालमा फन्केको थिएँ । अनि त ती सबै अल्झोबिल्झो र लस्याङपस्याङेहरूलाई बटुलेर हिँड्दा बिहानको सात बजिहाल्यो । जाने वेलामा पद्मराज जोशीले हामीलाई अँगालै हालेर बिदा गरेथे । तिनकी पत्नी भुवनेश्वरीले मुटुभरिकै स्नेह देखाइदिइन् ।
‘सँगसँगै हुन्छौँ हामी !’
तीनजना भरिया बाटो लागि त हाले । अनि तिनलाई पछ्याउँदै लम्केका थियौँ हामी । त्रिवेणीतिर नलागी बाटो झर्झराउँदो धारामा खल्याङमल्याङ नुहाइरहेका भजन–कीर्तनेहरूका आलाप सुन्दै पश्चिम लम्कियो हाम्रो हुल । खोल्सो र डाँडाको घुमाउरो चेप भएर लमतन्निएको पाटनपछि बाटोमा सानो पाटी लेखिएको थियो– झिँग्राना जाने बाटो । त्यो पढ्नेबित्तिकै मोतीराज बम पड्किए– ‘सब अशुद्ध लेख्छन् !’
उनले मेरो खल्तीको चिर्कटोमा लेखिदिए– झिङ्ग्णाना । उच्चारण र अपभ्रंशले शब्दको सनातन रूप र सौन्दर्यमा कति धेरै असर पर्दो रहेछ ।
०००
जेठ १, २०७५ ।
बाटाभरि पाटन र सुन्दर–सुन्दर थुम्काहरू आइरहेथे । मानापाथी भरेर घोप्टाएका जस्तै अत्यन्तै कलात्मक डाँडाहरू चिल्ला, सफा र पुटुक्क देखिन्थे । बाक्लै टुप्लुकिए टहराहरू । त्यहाँ गोठालाहरू दूध तताइरहेथे । आँखाले नभ्याउने पाटनभरि घोडा, गाई, भैंसी र बाख्राहरूका बगाल थिए । छपक्कै ढाकिएका थिए, रङ्गीबिरङ्गी गाईगोरुका बथानले ।
ओरालो र टार । फेरि पाटन र थुम्काको किनारैकिनार । सानो खोल्सोले हाम्रा छायाहरू पखाल्दै हिँडिरह्यो । हावाले हाम्रा फोक्सामा चोखो र निर्मल हावा भरिरह्यो ... भरिरह्यो ... ।
‘के गजबका टारहरू !’
मेरा आँखाले यत्ति बोल्यो ।
पातलो घामले पाटनलाई पुछेर, टल्काएर अझ उज्यालो पारेको लाग्थ्यो । हावाले सुगन्ध घोलेर हाम्रो गोरेटोमा छरछार पारेको लाग्थ्यो ।
दक्षिणपट्टि हिमाल फुलेर औधी ढकमक्किएका लाग्थे । परपरबाट कुहिरो उर्ली–उर्ली वनबाट पाटनतिर लम्किझम्की गरिरहेको लाग्थ्यो ।
खोला छोडी उकालो सुरु भयो ।
‘फूल फुल्यो !’
‘दम बढ्यो !’
अश्विनी र म सकी–नसकी कुरा गरिरहेका छौँ ।
घप्लक–घप्लक घोप्टेका खड्कुला जस्ता डाँडाहरूमा मन रमाउँछन् । कसैले भड्डुमा माटो भरेर घ्वाप्लाक्क घोप्टाए जस्ता थुम्का देखेर हृदय उत्ताउलिन्छ । छातीमा खुसी, उल्लास र रमाइलोले खित्का छोडेको छोडेकै गर्छ । 
यस्तै एक घण्टा हिँडेपछि टारहरू छुट्दै गए । थुम्काहरू पातलिँदै गए । थेप्चा डाँडाहरू ओझेलिँदै गए । टुप्लुकिन थाले बाक्ला वनहरू र झाडीहरू । मैले माथि डाँडाबाट तलको पाटनमा हेरेँ– ठुल्ठूला ढुङ्गाहरू बीचमा थपक्क बसेर ध्यान गरेका लाग्थे ।
‘यिनले कथा भनेका होलान् !’
जयदेवले पनि थपे ।
‘यिनले परिवर्तनका किस्सा कहेका होलान् !’
ठाकुरले अरू कुरा जोडे ।
ती गोला ढुंगा, फराकिला पाटन र नजिकै बगिरहेका खोल्साका पानीको मिलापले मेरो मनमा उस्तै रूप, चरित्र र वातावरण उभिइरह्यो ... उभिइरह्यो ... ।
‘पानी छ कि ?’
सबैलाई सोधेँ ।
उही झार्लाङे परेछन् । पानी बोकेनछन् कसैले नि । मर्ने गरी तिर्खा लाग्यो ।
जङ्गल बाक्लिएर गयो । पात थुप्रेर ढुङ्गेनी–चेपमा खाँदिएको लचक–लचक बाटो । तिर्खा बढिरह्यो । कसैसँग एक थोपो पानी पनि नभएको देख्दा दिक्कै लाग्यो । ‘मैले त तुम्लेटको जोहो गरेथेँ । भरियालाई भारी कस्न सघाउन थाल्दा छुटेछ– तुम्लेट ।’
मेरो कुरा साथीहरूले सुनेनन् ।
तीन–चार तन्नेरी पनि थिए हामीभन्दा अघि–अघि । एकजना त चिकित्सक भन्थे । तर, ती पिडुँला फर्केर, स्वाँस्वाँ बढेर अनि भ्यात्ले ज्यानले थिचिएर जतिखेरै असिनपसिन देखिन्थे ।
पढ्नु एउटा कुरा हो, पर्नु अर्को कुरा रहेछ । चिकित्सक ठाउँ–ठाउँमा सुतेको, थेच्चिएको र लम्पसारिएको देख्दा म सोच्थेँ– ‘मान्छे चार आनाको नि छैन !’ हामी आकाश हेर्दै लम्केका छौँ ।
‘असिना नपरोस् !’
भट्टराई बोले ।
‘हावा नफुइँकियोस् !’
बेलबासेले थपे ।
‘पानी नदर्कियोस् !’
बमले अरू थपे ।
हुन पनि यति घना र आपट्टे वनमा असिनापानी र हुन्डरी मच्चिए– के हविगत हुन्थ्यो हाम्रो ? फेरि बर्खा लागिसकेको हुनाले टार्न सकिने मौसम पनि त थिएन । चराका बथान उडेर गए । सेता बादलमा ती पसेपछि मन शीतल भयो । त्यतिवेलै ढुङ्गाको खोबिल्टाको पानी मोती र मैले खाएर पाइला चाल्यौँ ।
‘चराले चोख्याएका छन् !’
ओठको तिर्खा थामथुम पार्दै हामी हाँस्यौँ । 
पश्चिमतिर लागेका छौँ । बाटो छ विचित्रको । रूखका तीन पुस्तेले नमान्ने वनको समाज छ । 
०००
निकै उकालो चढेपछि फेरि टुप्लुकियो– बुकी दह । दक्षिण–पश्चिम पसारिएको फराकिलो टार थियो । पूर्वतिर एउटा झ्याउ, लेउ र मसिना पोथ्राले घेरिएको साह्रै भव्य ढुङ्गा ठडिएथ्यो । उडेको मन फर्केर त्यही ढुङ्गामा आएर बिसायो । मास्तिरपट्टि खप्तडबाट आएको समय र तल डोटी पुग्ने समय भित्तामा टाँसिएको थियो । साथीहरूले औँला भाँचेर पाँच घण्टा निक्र्योल गरे । बाटो भेटिन्थ्यो उकालो, तेर्पे, तेर्छो र ओराली । वनका सुरिला रूखले हावा, गीत र सङ्गीत उराल्थे । स–साना बुट्यान अग्लालाई सघाउँथे, थपडी मार्थे अनि स्वर भर्थे ।    मेरा कानले ध्यान दिए ती चोखा, पवित्र र स्वादिला सुरतालमा । वनमा घाम र कुहिरोले लुकामारी खेल्थे । एकोहोरो पश्चिम लागेपछि कुहिरो झन् बटारिएर आइपुग्थ्यो ।
‘हैन, पानी छैन !’
‘यै उडेको पानी खानु नि !’
अश्विनी बोल्थे । अरूहरू हाँस्थे ।
‘म त थलै परेँ !’
कुहिरो हत्केलामा भेला पार्दै खान खोज्थेँ । के सकिन्थ्यो, कुहिरो खान ! ओराली सुरु भएपछि पासुँला काम्न थाले । तर, लट्ठीले ठुलै भरथेग दियो । मलाई लाग्यो बुद्धि पु-याएछु मैले । बरु वेला–वेलामा लट्ठी कोखामा च्याप्दा भने डर लाग्थ्यो । किनभने लट्ठीले आँखा घोचेर अन्धा भएकाहरू मैले रोल्वालिङतिर ३–४ जना भेटेको थिएँ ।

बाटाभरि बँदेलले खोतलेको देखिन्थ्यो बेस्सरी । अझ निगालोघारीमा ठुल्ठूला खाल्डा खनेर पोखरी नै बनाएको लाग्थ्यो । बाटो निकै ओराली भेटिन थाल्यो । हरिया लेउ र ओसिला ढुंगाले थिरिरिरी हुन पुगे खुट्टाहरू । तिर्खाले प्याकप्याकी पारेको छ ।

कुहिरो बटारिएर आयो । ठुल्ठूला गुफा टुप्लुकिन्थे । घाम र कुहिरोले यही गुफामा लुकामारी खेल्दा हुन् । ढुङ्गा छापेको बाटोमा घोडाका लिदीको रास छ, ठाउँ–ठाउँमा । बँदेलले खनेका खाल्डा र तिनै खाल्डामा बाँदरका बथानले लडिबडी गरेको खुबै देखिन्थ्यो ।
निकै माथि पुगेपछि फोन गरे कोइरालाले– ‘ओम !’
डाँडाको नामै फोन डाँडा रे ! हाँसेँ म ।
‘भोक लाग्यो ?’
‘भोक डाँडा !’
‘तिर्खाले गलायो ?’
‘तिर्खा डाँडा !’ 
‘जोई भेटिई ?’ 
‘जोई डाँडा !’ 
मैले नाउँ फेर्ने सुझाब दिएँ ।
साथीहरू हाँस्दाहाँस्दै ओरालो लागे । 
०००
अब भने निगालाका घारी लगातार आउन थाल्यो । बाघ र भालु यो निगालाघारीमा
बढ्ता बस्छन्– तीन दिनअघि सुर्मादेवी मन्दिरअघि भेटिएका एक चैनपुरे तन्नेरीले मलाई बताएथ्यो ।
सानातिना बाघ, भालु भगाउने हाम्रो जमात थियो । ज्यानभन्दा नि छाया देखेरै ऊ भागिहाल्थ्यो । माथि फलैँचा भेटियो । मैले ज्यान बिसाउँदा भनेको थिएँ– ‘म त ढुकढुकीको तालमा हिँड्छु !’
तर, पैतालामा पनि म गलेँ, लखतरान परेँ र थाकेँ । जिन्दगी हिसाबकिताबमा कुद्दो रहेनछ । जब जोडघटाउ हुन्छ– त्यसलाई गुणन र भाग लगाउने प्रकृति अन्तै हुँदो रहेछ । प्रकृतिका सामु मनुख्खेको के दैया र !
तेर्छोमा आएको आएकै छ निगालाघारी । साथीहरू छुट्ने, भेटिने भइरहन्थे । म पर पुगिसकेपछि सुसेला मार्थे । थपडी मार्थे कोही–कोही त ।
‘हाहा ... हाहा ... !’
कोइरालाको हाँसोले छुट्नेहरूसँग संवादको काम गरिरहेथ्यो ।
निकै माथि पुगेपछि डोटीको पूर्वी भेगबाट बटारिएको मुस्लो हामीसँग साउती मार्न आइपुग्यो । तल कहाँ हो कहाँ भिर, खोँच र चेप अलेली देखिन्थ्यो । आफ्नै बोली पनि एक पाइलै परतिर नसुनिने खालको निगालाको पट्टेरघारी थियो ।
‘यी भाउजूको अर्नी !’
रूखमा अडेसिएर बसेका वेलामा लोकराजले ठेट्ना मकै थमाए । एक फाँको मुखमा र अर्को फाँको हत्केलामा लिएर म लम्केँ ।
स्वर्ग !
हो, स्वर्ग पुगेको आनन्दले भिजियो ।
बाटोमा सक्खा खोल्सोले भन्यो– ‘एक हप्तापछि मेरो तुजुग देख्ने छौ !’
बर्खा लागेपछि सबैतिर भेल, पहिरो आउने नै भो नि । यो खोल्सोको मात्र के फुइँ !
तिर्खाले अत्तालिएर हिँडेँ म त । 
०००
बाटामा गोठ भेटियो । पानी तुर्तुराइरहेको रहेछ । साथीहरूले हत्केलाले खाए । मैले मुखै जोतेर हर्हराएको आँत शान्त पारेँ । कति धेरै सुख, कति धेरै खुसी र कति धेरै सन्तोष छातीभरि बुर्कुसियो । मनभरि तृप्ति सल्बलायो ।
बाटबाटामा ठुल्ठूला रूखहरू टुप्पैदेखि मर्दै आएका देखिन्थे । अनि तिनकै टुप्पामा अरू पोथ्रा र बिरुवा हरियै पाउलिएका देखिरहेथेँ म ।
‘यो रूख पड्केर मरेको होला !’
‘चिनी रोगले !’
‘मुटु फुटेर !’
‘नसा चुँडिएर !’
‘बान लागेर !’
निगालाघारी पुगुन्जेलमा नि अनुमान भइरहेका हुन्थे लोकराज र मेरा । निकै तेर्पे छिचोलेपछि रसिलो पहरो भेटियो । झ्याउ उम्रिएर कहाली लाग्ने छाँगाछुर भिर हुँदै हामी गइरहेथ्यौँ । भिरको बाटोमा भेटिएको पहरो एकदमै चिसो थियो, औधी शीतल र हरियै ।
‘आमाजस्ती !’
चिसो पहरोमा मैले गाला जोडेर आनन्द लिएँ ।
‘चस्मा फुटे नि ?’
कोइराला बोले ।
‘सौतेनी आमाजस्ती !’
चस्माभित्र पसेको पानी पुछ्दै उत्तर दिएँ मैले ।
एकछिन हाँसो मच्चियो ।
हाम्रो हाँसोमा अघि छुटेकाहरू मिसिन आइपुगे । अर्नी फेरि बाँडियो । भुवनेश्वरी भाउजूलाई फेरि श्रद्धा पोखेँ मैले । 
पात झरेर बाटो नै गलैँचा भएको थियो । वेला–वेलामा थ्याच्च–थ्याच्च बस्दै पनि जान्थेँ म । बाटो पश्चिमबाट फनक्क मोडिएर पूर्व–दक्षिणतिर डोरिएको छ । ओरालोसँग बढ्तै भेटघाट भइरहेको छ ।
‘भात, ओछ्यान र सेवा कुन ठाउँमा पाइएला ?’
बम मेरो प्रश्न सुनेर एकछिन ट्वाल्ल परे ।
‘दाइ, अब यस्तै तीन घण्टा ओर्लिएपछि दालभात पाइएला । ओछ्यान पनि असम्भव नहोला । तर, थाकेका ज्यानलाई सेवा पो कुन्नि !’
‘त्यो त तपाईंबाट मै पो खोसुँला !’
मोतीराजले यति भनिसक्दा जङ्गल थर्काएर हाँसो उर्लियो । कुरा, ठट्टा र हँसाइमा हामी गुजुल्टो पथ्र्यौं । फेरि फुकेर पाइला साथ्र्यौं । 
०००
बिचपानी पुग्दा दिउँसोको एक बजेको थियो । यहाँ त खान पाइएला, पानी पनि अघाउँजी खान पाइन्छ होला भन्ने ठूलो भरपत्यार थियो । तर, एउटा ठूलो घुमाउने घर र अरू २–३ वटा टहरा मात्र टुप्लुकिए । तिर्खाएर बसेथे पानीका सुक्खा धारा ।
किरा भुनभुनाइरहेका, चरा चिर्बिराइरहेका, हावा सिर्सिराइरहेका देखिए । अरू मान्छेको चालचुल केही नि भेटिएन बिचपानीमा ।
मन खिन्न भयो ।
कति ठूलो आशा गरिएको रहेछ । आस बदलियो निराशामा । जङ्गलबीचको यति राम्रो घर । रंगरोगन भएको । झ्यालढोका भएको, चिटिक्कको घर । तर, सबै लथालिङ्ग !
खोइ कसले पो चटायो नुन खुर्सानीको चटनी । तिर्खाएको ओठमा थपियो नुन–खुर्सानी । गजबै भो नि । लेकको ओखती रे ! अनि लम्कियौँ हामी । निगालाघारी झन् बाक्लिए ।
बाटोमा जरुवा देखियो । साथीहरू अघि–अघि गए । मैले एक अँजुली पानी खाएँ । घोडाको मूत गनायो ह्वास्सै । तिर्खाका लागि नसही भएकै छैन । बाटो खुब तेर्पे, उकालो र डेउडिएर गएको छ । घाम पनि चर्किरहेको छ, छ । 
‘हैन, बाटो देखाउँछु भन्ने भरिया काँ गए ?’
‘तिनले झिँग्रानामा भारी हुत्याएर फर्किरा’ होलान् दाइ । हाम्रा पारामा तिनले कहिले पुगेर फेरि फर्कनु त खप्तड !’
मोतीराजले उनकै ओड बोले । 
तर उनले सही बोलेथे ।
निकै माथि पुगेपछि बाटो फाट्यो । कता लाग्ने, रोकिए हाम्रा खुट्टा । अल्मलिएर निधै गर्न सकेनौँ । हामी दोबाटोमै रोकियौँ । अरूहरू देब्रेतिरको सानो बाटो उकालिए । ‘घोडाको आलो लिदी यता देखिन्छ । त्यै बाटो ठीक हो ।’
मोतीले भने ।
नभन्दै केही साथी माथि पुगेर बोले– ‘ए, बाटो जोडियो । सबैजना जताबाट आए नि हुने रै’छ है ... ।’
त्यसपछि भयानक ओराली सुरु भयो । अब हामी निकै तल झरिसकेका रहेछौँ । बेसीतिरका रूखपात टुप्लुकिन थाले । बेपत्तै भएथ्यो गर्मी पनि ।
भोक, थकाइ र ओरालीमा खाँदिएका खुट्टाको कुरै नगरुम् । सम्झियो कि भाउन्न भएर आउँछ । आँखा तिर्मिराउँछन् । टुप्पीदेखि पैतालासम्म गलेका छन्— अङ्ग–अङ्ग ।
ढुङ्गा छापे पनि धेरै ठाउँमा पहिरिएर अनि घोडाका बथानले बाटोलाई हुनसम्म बिगारेछ । ढुङ्गा ठडिएर, चुच्चिएर अनि उबडखाबडिएर ज्यादै गाह्रो भयो– ओरालिन ।
एउटा घोडावाल टुप्लुकियो ।
‘हाम्रा भरिया देख्नु भो ?’
चिन्नु न जान्नुको त्यो मान्छेसँग हतारिएर सोधेँ मैले ।
‘ए ती गइसके । यतिखेर त भारी थन्काएर फर्किसके हुन् कि !’ घोडावालले भन्यो ।
‘म खानेकुरा ल्याउँदै थिएँ । हिँडी पो सकेछौ ।’
घोडावालले बोल्दा थाहा भो– ऊ रहेछ बिचपानीको पसले । जसलाई अघि ताल्चा लाएको देखेर म साह्रै विरक्तिएको थिएँ, दिग्दारिएको थिएँ र हुनसम्म पिरोलिएको थिएँ ।
‘अब तीन घण्टामा पुगौला !’
घोडावालले कुइनेटोबाट तल पुगेर जवाफ फर्कायो । रोकिएन– तीन घण्टा । बिहान खप्तडको त्रिवेणीबाट सुनिएको तीन घण्टा दुब्लिइसकेको छ । तैपनि फेरि तीन घण्टा ।
‘हाम्रा र उनीहरूका हिँडाइ फरक हुने भए !’
‘त्यै भएर थपिएको थपिएकै भा’ होला !’
बमले रोकिई–रोकिई बताए । 
०००
बाटाभरि बँदेलले खोतलेको देखिन्थ्यो बेस्सरी । अझ निगालोघारीमा ठुल्ठूला खाल्डा खनेर पोखरी नै बनाएको लाग्थ्यो । बाटो निकै ओराली भेटिन थाल्यो । हरिया लेउ र ओसिला ढुङ्गाले थिरिरिरी हुन पुगे खुट्टाहरू । तिर्खाले प्याकप्याकी पारेको छ ।
तर नहिँडी भएकै छैन, नलम्की भएकै छैन, नचम्की भएकै छैन । बाटोलाई फकाएर खुट्टा लम्काइरहेको छु । मन थाकिरहेको छ । आँखालाई फकाइरहेकै छु । घ्वाप्प–घ्वाप्प छुन्छ चिसो हावाले । हावा खाएर शरीरै हावादार भइरहेछ । त्यै भएर ओरालोमा फुर्लुङ–फुर्लुङ झरेको हो कि हावाजस्तो हलुँगिएर ।
बाटोमा एउटा टहरो भेटियो ।
भर्खरै बनेजस्तो देखियो । एकछिन सुस्तायौँ । धेरैबेर बसिरहे फेरि वेलामा सिलगढी पुगिन्न भनेर साथीहरू अत्याइरहेका छन् । कोही दिपायलमै बास बस्नुपर्ला भनिरहेका छन् । आपूmलाई यै ताल हो भने आधा रातमा पनि झिँग्रानासम्म ज्यान सकुशल नपुग्ला जस्तो लागिरहेथ्यो । भोकले भुँडी मात्र हैन, कन्चट बल्किन थाले, आँखा तिर्मिराउन थाले, नसा दुख्न थाले, कान बज्न थाले । 
०००
हामीले बझाङ छाडेर डोटी टेकिसकेका छौँ जस्तो लाग्दै छ मलाई । खप्तड निकुञ्जको पश्चिमी भेग भएर हामी डोटी झरिरहेथ्यौँ । मेरो अनुमानलाई जयदेव, ठाकुर, लोकराजले सघाए मात्र । उही बमले केही थपघट गर्छन् । उनी परे उतैका । उनको अडकलले हामीलाई सघाएकै छ ।
लगातारे ओरालीपछि पुल तरियो । पुलछेउमा खप्तड बाबाको गुणग्राही विचारहरू लेखिएको थियो । भोकाउँदा आँखाले मन नगरे पनि चेतनालाई उचालेर पढिछाडेँ मैले ।
मालिका पुगेपछि गुराँसका फूल लाछलुछ पार्न सबै वन पसे । बाटामा भेटिएका हाँगाले नपुगेर भिर–भिरसम्म पुगे भट्टराई, बेलबासे र बम । म त तिनका रहलपहललाई कोसेली ठानी खान्थेँ ।
‘हत्तेरिका, कत्ति धेरै ओराली !’
मैले चुच्चा र उबडखाबड ढुङ्गा नाघेर भनेँ ।
बाटबाटामा साथीहरू जताततै पसारिएका, ज्यान छोडेर बसेका, रूखका काखमा तेर्सिएका भेटिन्थे । बाटो देखाउने भरियाहरू बेतोडले दौडेछन् । तिनको छायासम्म भेटिएन ।
तल देखियो झिँग्राना । घरहरू फाट्टफुट्ट देखिन थाले । हरिया फाँट र खनजोत गरिएका गराहरू टुप्लुकिन थाले । तर, जति झरे पनि ती पर–पर भएजस्तो... जति नजिकिए पनि ती तर्केर गएजस्तो..., जति गुडुडुगुडुडु ओर्ले पनि ती नभेटुँला–नभेटुँला गरी अझ टाढिए जस्तो... ।
बाटामा विदेशीका जोडी उकालिइरहेथे । सेनाका जवान पनि थाप्लामा भारी बोकेर चम्किरहेथे । तर, ओरालो झरेका हाम्रा ज्यानले साह्रै हैरान पाएथे ।
लगातार तल झरेपछि बाटो केही सजिलो भयो । बेलुकाको चार बजेतिर हामी झिँग्राना पुग्यौँ । जङ्गलको मुखैमा उभिएर म आपूm ओर्लेको चुचुरो, थकाउने पहाड र गलाउने ओराली हेरिरहेको थिएँ । छेवैमा उभिएका लोकराज भट्याइरहेथे– ‘हामी झरेको ओरालीमा जङ्गली कुकुर, भालु, लोखर्के, चितुवा पाइँदो रहेछ नि !’
‘भाइ, पहिला भात चैं काँ पाइन्छ, त्यता पुगौँ । अनि अरूसँग चिनाजानी गरौँला है !’
नभन्दै सेनाले बार लगाएको बाटो लम्केर तलको घरमा पुग्दा भरियाले छोडेका सामानसाथ साथीहरू भेटिए । आपूmले खाइसकेर हामीलाई अर्को बान पकाउन लगाई बसेका रहेछन् साथीहरू ।
मैले मोजा खोलेर बुढीऔँलालाई सोधेँ– ‘कतिको थाकियो ?’ गोडाका सबै औँलाले फन्किएर भने– ‘थाक्नुसम्म थाकियो नि । मिटर जडान गरेको भए थाहा हुन्थ्यो ।’ खप्तडलाई फन्को मारेकोमा हुनसम्म रमाएको थिएँ म !