• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मधुसुधन भट्टराई
२०७६ कार्तिक १६ शनिबार ०८:५९:००
सम्झना

गरिबीमाथि ‘महान् छलाङ’

चीन

२०७६ कार्तिक १६ शनिबार ०८:५९:००
मधुसुधन भट्टराई

१४ अक्टुबर (२७ असोज) मा चिनियाँ गरिबी निवारण कोषको निमन्त्रणामा नेपाली पत्रकारको टोली राजधानी बेइजिङ पुग्दा कम्युनिस्ट पार्टी अफ चाइना (सिपिसी) स्थापनाको ७०औँ वर्षगाँठको कार्यक्रम (अक्टुबर १–८)का केही रौनक बाँकी नै थिए । पर्यटकहरूले बेइजिङका होटेल खचाखच थिए । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसमा चीनले ३० देशका गरिबी निवारणसम्बन्धी संस्थाका प्रतिनिधि र पत्रकारलाई बेइजिङ बोलाएको थियो । बेइजिङ विमानस्थलमा हामीलाई स्वागत गर्न आइपुगेकी चाइना रेडियो इन्टरनेसनलकी राधिका (नेपाली नाम)ले दोभासेको भूमिका निभाएकी थिइन् । उनले ‘७०औँ वर्षगाँठमा आएका आन्तरिक र बाह्य पर्यटक बाँकी नै रहेकाले बेइजिङमा मानिसहरूको फ्लो बढी नै छ’ भन्ने जानकारी दिइन् । 

अक्टोबर १, १९४९ मा कम्युनिस्ट पार्टी अफ चाइना (सिपिसी) स्थापना भएको दिनलाई चीनले वर्षगाँठका रूपमा मनाउँछ । ७०औँ वर्षगाँठमा चीनले विकासमा मारेको अग्रगामी छलाङ हेर्न विश्वका पर्यटक बेइजिङ पुगेका थिए । माओ सिपिसीको अध्यक्ष बनेपछि कम्युनिस्ट पार्टीले नेतृत्व गर्दै चीनलाई आजको आर्थिक महाशक्ति बनाइदिएको छ । सन् १९७६ मा माओको निधनपछि देङ स्यायोपिङले सुधारको काम थालेका थिए । त्यसपछि बिस्तारै चीन मन्दीको अवस्थाबाट मुक्त हुँदै अहिलेको अवस्थामा पुगेको छ । 

विश्वको महत्व्पूर्ण आर्थिक शक्ति बन्ने दौडमा लागेको चीनले उदारवादी नेता देङ स्याओपिङको शासनकाल सन् १९७८ देखि आर्थिक खुलापन नीति अपनाएको थियो । गरिबी निवारणको लक्ष्य हासिल गर्न सहरी विकास र ग्रामीण विकासमा चीनले बराबरी मात्रामा ध्यान केन्द्रित गरेको छ, जसबाट उच्च आर्थिक विकास हासिल भएको देखिन्छ । आगामी दिनमा विकासका अन्य कार्यक्रमसँगै ग्रामीण विकासका कार्यक्रमलाई अझ बढी प्राथमिकतामा राख्ने घोषणा गरेको छ । सन् २०२० सम्ममा चीन ग्रामीण क्षेत्रमा चरम गरिबीमा रहेका ४० मिलियन जनतालाई निम्न वर्गीय जीवनस्तरबाट मध्यम वर्गीय जीवनस्तरमा पु¥याउने लक्ष्य लिएर अगाडि बढिरहेको छ । 

वर्षगाँठका अवसरमा बेइजिङमा हालसम्मकै विशाल सैन्य परेड अवलोकन गरेपछि छोटो सम्बोधन गर्दै चीनका राष्ट्रपति सी जिनफिङले भनेका थिए, ‘कुनै पनि शक्तिले चिनियाँ र चीनलाई अघि बढ्नबाट कहिल्यै पनि रोक्न सक्नेछैन । हामी हाम्रो मार्गमा दृढ भएर अगाडि बढिरहेका छौँ ।’ विकासको पहिलाको र अहिलेको गति हेर्दा उनको त्यो भनाइ सार्थकतानजिक पुगेको अवलोकनका क्रममा पाउन सकिन्थ्यो । 

चीनले आर्थिक सुधार सुरु गरेको तीन दशक भएको छ । त्यसयता ७०० मिलियन जनतालाई गरिबीबाट सफलतापूर्वक मुक्त गराइसकेको छ । चीनको आर्थिक नीति, २०१८ का प्रमुख नीतिहरूमध्ये ‘पूर्ण रूपमा गरिबी निवारण’ पनि एक थियो । त्यो लक्ष्यलाई २०१९ को नीतिमा पनि प्राथमिकताका साथ राखिएको छ । वर्षगाँठमा राष्ट्रपति सीले ग्रामीण विकास तथा गरिबी निवारणको प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउने बताउँदै हरेक ग्य्राजुएट विद्यार्थीले कम्तीमा दुई वर्ष ग्रामीण क्षेत्रमा अनिवार्य काम गर्नैपर्ने अवधारणा सार्वजनिक गरेका थिए । 

कम्युनिस्ट शासनशैलीका आधारमा अगाडि बढेको चीनले ग्रामीण क्षेत्रमा यसरी परिचालन गरिएका विद्यार्थीहरूद्वारा ग्रामीण क्षेत्रको सम्भावना तथा चुनौतीको अध्ययन र ग्रामीण जनताको विचार केन्द्रसम्म ल्याई आवश्यकताअनुसारको ग्रामीण विकास नीति अवलम्बन गर्ने नीति यसअगाडिबाटै लिइरहेको छ । लक्ष्य हासिल गर्न ती नीति सफल पनि भइरहेको चिनियाँ गरिबी निवारण कोषका स्थायी नायब कार्यकारी निर्देशक चेन होङताओले भनेका थिए । 

ग्रामीण जिकासबारे अवलोकन गर्न हामीलाई कोषले राजधानी बेइजिङबाट करिब दुई सय किलोमिटरटाढाको ग्रामीण पहाडी इलाका पु¥यायो । दुई दिन–एक रात हपै प्रान्तको लाइसुइए नगरपालिका, लाइस्वे जिल्लाको नान यु गाउँमा राखेर तीन गाउँमा आफूहरूको विकासको अवधारणा र त्यसबाट जनताले पाएको सफलता अवलोकन गराइयो । कोषले तीन वर्षदेखि नान यु गाउँमा ‘होमस्टे’, सान भो गाउँमा बंगुरपालन र तु ह्य गाउँमा लघुवृत्त कार्यक्रम सञ्चालन गर्दै आएको रहेछ । 

सन् १९८९ मा स्थापित कोषले मुख्य गरी स्वास्थ्य, शिक्षा, जीविकोपार्जन र प्राकृतिक प्रकोपमा परेका नागरिकलाई सहयोग गर्दै आएको छ । त्यसमध्ये यी गाउँमा जीविकोपार्जनका लागि कार्यक्रम सञ्चालन गरिरहेको रहेछ । तीन वर्षमा त्यो क्षेत्रका १८ गाउँमा सञ्चालन गरिएका तीन कार्यक्रमबाट गरिबीको रेखामुनि रहेका नागरिकहरूको आर्थिक अवस्थामा सुधार आएको छ । नान यु गाउँमा सञ्चालन गरिएको ‘होमस्टे’ कार्यक्रम निकै प्रभावकारी देखियो ।

उमेरले ५० कटेका १२ महिलाले १५ वटा होमस्टे २०१६ को सुरुवातबाट सञ्चालन गरेका थिए । खान–लाउन धौधौ पर्ने उनीहरू अहिले होमस्टे सञ्चालनपछि प्रशस्त आम्दानी भएकोमा खुसी देखिन्छन् । सहकारीले काम गर्ने महिलाको मनोबल बढाउन कुनै पनि मानिस होमस्टेमा एक महिनासम्म बस्न आएन भने १९ सय आरएमबी पारिश्रमिक दिन्छ । आए भने निश्चित प्रतिशत उनीहरूले सहकारीमार्फत कोषलाई बुझाउनुपर्छ । सरदर प्रतिमहिना ५ हजार आरएमबी कमाइ हुने महिलाको भनाइ छ । चीनको मुख्य पर्यटकीय क्षेत्र मानिने यो क्षेत्रमा सिजनमा दैनिक हजारभन्दा बढी पर्यटक घुम्ने गरेका छन् । 

‘हामी सीधै ऋण दिँदैनाैँ, गरिबीको चक्रबाट माथि उठ्ने तरिका सिकाउँछौँ र कार्यान्वयनका लागि आवश्यक रकम उपलब्ध गराउँछौँ । उनीहरूले कमाएपछि निश्चित प्रतिशतका दरले कोषलाई तिर्छन् । कोषले त्यो रकम फिर्ता लैजान्न, त्यस्तै अर्को व्यक्ति वा संस्थामा लगानी गर्छ,’ होङताओले भने । नान यु गाउँसँगै सटेको सान भो क्षेत्रमा कोषले ऋण दिएर पशुपालन कार्यक्रम सञ्चालन गरेको रहेछ । त्यहाँका ली छिङ भो नामका नागरिकले कोषबाट ५० हजार आरएमबी ऋण लिएर बंगुर फाम सञ्चालन गरेका रहेछन् । पहिला सय बंगुरबाट व्यवसाय सञ्चालन गरेका उनी अहिले सात सय बंगुरका मालिक बनेका छन् । फाममा अहिले उनले चारजनालाई पनि रोजगारी दिएका छन् ।

 तु ह्य गाउँकी लिउ क्वाङ स्याङ भन्छिन्, ‘सानो कर्जा ल्याएर पसल सञ्चालन गरेकी थिएँ । पहिले घर चलाउनै गाह्रो थियो । अहिले सहजै घर–व्यवहार चलेको छ ।’ 

 हामी अर्को गाउँ तु ह्यमा पुग्याैँ। त्यहाँ कोषले लघुवृत्त कार्यक्रम सञ्चालन गरेको रहेछ । गाउँका लिउ क्वाङ स्याङले लघुवित्त कार्यक्रमअन्तर्गत कोषबाट ५० हजार ऋण लिएर पसल सञ्चालन गरेकी रहिछन् । उनले पसलबाट घर व्यवहार चलेको बताइन् । ‘सानो कर्जा ल्याएर पसल सञ्चालन गरेकी थिए । पहिला घर चलाउन गाह्रो थियो । अहिले त सहजै घरव्यवहार चलेर केही पैसासमेत बचत गरेकी छु,’ उनले भनिन् । 

कोषले यी उदाहरणीय पात्रजस्तै तीन करोड ३४ लाख २३ हजार सात सयलाई आर्थिक सहयोग गरेको छ । १८ वटा गाउँमा सञ्चालन गरिएका जीविकोपार्जनबाट उनीहरू सन्तुष्ट छन् । विकासको नयाँ मोडेल अवलम्बनको सुरुवाती चरणमा ४० वर्षपहिले चीनको विश्वको अर्थतन्त्रमा चार प्रतिशत हिस्सा थियो । अहिले चीनको अर्थतन्त्रको हिस्सा १६ प्रतिशतभन्दा बढी पुगिसकेको छ । सन् २०१२ मा सत्ता सम्हालेका वर्तमान राष्ट्रपति सीले चीनलाई विश्वशक्ति बनाउने अभियानको नेतृत्व गरिरहेका छन् । र, सन् २०२० मा चीनले आफूलाई गरिबी निवारण मुक्त घोषणा गर्दै छ । 

चीन अहिले विश्वको पहिलो सबैभन्दा धेरै औद्योगिक उत्पादन गर्ने, सबैभन्दा धेरै बाह्य पर्यटक पठाउने, विश्वका करिब ६० मुलुकको सबैभन्दा ठूलो व्यापार साझेदार, धेरै वैदेशिक लगानी भित्र्रयाउने र बाह्य लगानी गर्ने मुलुक बनेको छ । चीनका यी उपलब्धिका पछाडि अनुशासन, मिहिनेत र सुदृढ नेतृत्व मुख्य रहेको चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल भन्छन् । ‘अनुशासन, मिहिनेत, दूरदृष्टि र सुदृढ नेतृत्व चीनको विकासका मुख्य आधार हुन्,’ राजदूत पौड्यालले भने । खुलापन र बहुपक्षीयताको वकालत गर्दै चीनले समावेशी दिगो विकास, जलवायु परिवर्तन, विश्वका जटिल राजनीतिक, सामाजिक तथा अन्तरसभ्यता द्वन्द्वको शान्तिपूर्ण निरुपणमा लिइरहेको अग्रसरताबाट नेपालले पाठ सिक्नुपर्ने उनको विचार थियो । 

चिनियाँ गरिबी निवारण कोषले नेपालमा पनि आफ्नो उद्देश्यअनुरूपका गरिबी निवारणसम्बन्धी कार्यक्रम गर्दै आएको छ । होङताओले नेपालका सात प्रदेशका ३५ जिल्लाका ३५ स्थानीयका गाउँमा कोषले कार्यक्रम सञ्चालन गर्दै आएको बताए । २०१६ बाट सुरु भएको कार्यक्रममा जीविकोपार्जन, शिक्षा, स्वास्थ्य र पिउने पानीमा लगानी गरिरहेको उनको भनाइ छ । अहिले कोषले ६ मिलियन लगानी गरेको छ । आगामी दिनमा कोषले नेपालमा सहयोग रकम बढाउने तयारी गरिरहेको पनि उनले बताए ।