• वि.सं २०८२ असार १९ बुधबार
  • Wednesday, 02 July, 2025
तीर्थ गुरुङ
२०७६ कार्तिक १६ शनिबार ०९:१४:००
सम्झना

बार्डोमा लिंकनलाई भेट्न खोज्दा

यो उपन्यास पढिसकेपछि लाग्यो, समयमा उपचार नपाएर मरेका, अभावले मरेका नेपालीका आत्मा हाम्रा नेताका शरीरमा पस्ने भए के हुन्थ्यो होला ?

२०७६ कार्तिक १६ शनिबार ०९:१४:००
तीर्थ गुरुङ

अमेरिकी गृहयुद्ध पहिलो वर्षमा हिँडिरहेको छ । दास प्रथाका कट्टर समर्थक रहेका दक्षिणका ११ वटा राज्य छुट्टिएर कन्फेडेरेट राज्य घोषणा भइसकेको छ, यद्यपि त्यसको समर्थन कतैबाट आएको छैन । चार वर्षजति पछि साढे ६ लाखभन्दा बढीको ज्यान जाने त्यो गृहयुद्धको पहिलो वर्ष तीन हजारजतिको मृत्यु भइसकेको छ । राष्ट्रपति अब्राहम लिंकनका ११ वर्षीय साहिँला छोरा ज्वरोले ग्रस्त भएर सुतिरहेको छ । तर, विभिन्न विरोधका बाबजुद राष्ट्रपति लिंकन ह्वाइट हाउसमा भव्य राजकीय भोजको आयोजना गर्छन् । 

कतै केही नभएजस्तो गरी पाहुनाहरू भोजमा सक्रिय हुन्छन्, रमाउँछन्, मात्ने गरेर पिउँछन् । यान्त्रिक मुस्कान दिँदै राष्ट्रपति र प्रथम महिला मेरी घरी पाहुनाको खातिरदारीमा लागिरहेका हुन्छन्, घरी माथिल्लो तल्लामा सुतिरहेको सिकिस्त विलीलाई हेर्न गइरहन्छन् । अन्ततः केही सातापछि टाइफाइड ज्वरोले विलीलाई लगेरै छाड्छ । राति–राति राष्ट्रपति छोरा विलीको अस्थायी चिहानमा जान्छन् र कफिन खोलेर छोरालाई हेर्दै रुन्छन्, छोराको शिर सुमसुम्याउँछन् । 

चार वर्ष पनि नपुगेका माइला छोरालाई पनि बाह्र वर्षअघि गुमाइसकेका अब्राहम लिंकन शोकमग्न भएर विली लिंकनको चिहानमा गएको जुन सत्य घटना छ, यसैलाई समातेर जर्ज साउन्डर्सले लेखेको ‘लिंकन इन द बार्डो’ नामक उपन्यास एउटा अनौठो सपनाजस्तो उत्कृष्ट र भव्य रहेछ ।बुकर पुरस्कार (२०१७) जितेको भनेर डेढ वर्षजति अघि किनेर पढ्न खोज्दा म कुहिरोको काग बनेको थिएँ ।

नाट्य शैलीमा लेखिएको यो उपन्यास मैले केही बुझ्न सकेको थिइनँ । त्यही वेलातिर कुनै पत्रिकामा कुमार नगरकोटीले हालै पढेर ‘इन्ज्वाए’ गरेको किताब ‘लिंकन इन द बार्डो’ भनेको देखेँ । केही दिनपछि स्वयं नगरकोटीसँग भेट्दा उपन्यासको कुरा गरिहालेँ । लाज नमानीकन मैले त केही भेउ पाउन नसकेको कुरा सुनाएँ । उनले भने, ‘तपाईंले त झन् बुझ्नुपर्ने ।’ उपन्यास पुनः झोलामा बोकेर हिँड्न थालेँ । केही बढी पेज पल्टाइसकेपछि लाग्न थाल्यो, त्यो पुस्तक नगरकोटी टाइपको हो, मेरो सीमितता त्यति नै हो, सबै बुझ्नैपर्छ भन्ने पनि कहाँ छ र ! पछि कसैलाई उपहार दिनुपर्ला भनेर किताब थन्क्याइदिएको थिएँ । 

पोखरा, न्युरोडस्थित रिडर्स कर्नरमा लगभग नियमित गइरहन्छु । पोखरेली स्रष्टाहरूको अनौपचारिक भेटघाट स्थल हो त्यो । चियाकफी, थोरै पठन, धेरै गफ र नेट सर्फिङ गर्ने क्रममा म अंग्रेजी किताबका सेक्सनतिर आँखा डुलाइरहन्छु । वर्ष दिनअघिदेखि राखिएको ‘लिंकन इन द बार्डो’ त्यहाँ त्यसरी नै छ, कसैले किनेको छैन । दिग्गज लेखक गनेस पौडेललाई पनि त्यो किताब जटिल लागेको भनेपछि मैले साहस गरेको थिइनँ ।

कहाँकहाँबाट मलाई लाग्यो, यो पढेरै छोड्छु । अनि त विकिपिडियामा त्यसको सारांश पढेँ । कोठामा नमिलाईकन राखिएको किताबको थुप्रोबाट उपन्यास झिकेँ र पढ्न बसेँ । सारांश पढेको हुनाले मलाई अहिले पहिलाको जस्तो जटिल लागेन । आधाजति किताब कनेर पढेपछि भने मलाई निकै सजिलो भयो ।साउन्डर्सले विभिन्न इतिहासकारका पुस्तकका अंशहरू राखेर लिंकनको सम्पूर्ण तस्बिर उतारेका छन् ।

तत्कालीन अमेरिकी मनोदशा उपन्यासका ती ऐतिहासिक र काल्पनिक अंशहरूमा पाइन्छ । लिंकनको पक्षमा लेखिएका सकारात्मक कुरा र उनका आलोचना दुवै उपन्यासमा पाइन्छ, जसले गर्दा अब्राहम लिंकनको एउटा सग्लो चित्र आँखासामु आउँछ । अहिले अमेरिका मात्र हैन, पूरै विश्वका महान् नेतामा गनिने लिंकन जीवित रहँदा अति नमीठा आलोचनाको पात्रसमेत भएको थाहा पाउँदा अनौठो लाग्छ । तर, अर्कै कुराले गर्दा उपन्यासको विशेषता खडा हुन आएको छ । त्यहाँ थुप्रै भूतहरू छन् र पहिलोपटक पढ्न थाल्दा तिनै भूतहरू र इतिहासकारहरू छुट्याउन नसकेर म रन्थनिएको थिएँ ।बार्डो–मृत्युपछिको मान्छेको अवस्था, जहाँ उसलाई आफू जीवित नै रहेको आभास हुन्छ, अर्को जीवनमा प्रवेश नगरुन्जेलसम्मको अवधि ।

तिब्बती बौद्ध विश्वास हो, बार्डो । र विली पनि त्यही बार्डोमा छ, जहाँ अन्य आत्माहरू विचरण गरिरहेका छन् । अघिल्लो जीवनका अतृप्त इच्छाहरू बोकेर विरूप भएका ती आत्माहरू विलीलाई छिट्टै बार्डो छाड्न भन्छन् किनभने कलिला नानीहरू बार्डोमा धेरै बस्न नहुने र बसेमा त्यहाँ सधैँ–सधैँका लागि लहराहरूमा जेलिएर बस्नुपर्ने हुन्छ । आफूलाई लिन आफ्नाे आमाबाबा त्यहाँ आउँछन् भन्ने विश्वास विलीलाई छ, उसको भनाइका बाबजुद ह्यान्स भोलम्यान, रोजर बेभिन तृतीया र एभर्ली थोमस नामक पादरी विलीलाई विश्वस्त पार्न एलिस ट्रेनर नामकी एक चौध वर्षीया किशोरीकहाँ भेटाउन लैजान्छन् ।

आमा बन्ने चाहना मात्र बोकेकी एलिस बार्डोको डिलको फलामे बारमा जेलिएर बसेकी हुन्छिन् । निरन्तर किसिमले कुनै न कुनै डरलाग्दो वा घिनलाग्दो रूपमा परिवर्तन भइरहने ट्रेनरमा कुनै मानवीय अवशेष नै नभएकोजस्तो हुन्छ र केही अश्लील शब्दहरू पनि सिकिसकेकी उनका शब्दहरू नबुझिने हुन्छन् र उनमा भाषिक क्षमता ह्रास हुँदै गइरहेको हुन्छ । यो भयावह दृश्य देखेपछि विलीले बार्डो छाडेर जाने विचार गर्न नपाउँदै अब्राहम लिंकन चिहानमा आइपुग्छन् । विली दगुर्दै आफ्नो बाबानिर पुग्छन्, तर बाबाको शरीरबाट आरपार भएर जान्छन्, उसको कुनै कुरा पनि बाबाले सुन्दैनन् ।

विलीलाई कफिन, जसलाई बार्डो बासीहरू ‘सिक बक्स’ भन्छन्, बाट झिकेर लिन्छन् । बाबासँग संवाद नभएपछि विलीको आत्मा शरीरमा प्रवेश हुन्छ, जसलाई ऊ एउटा किरा मान्छ । जब ऊ आफ्नो शरीरमा प्रवेश गर्छ, ऊ एकैचोटि आफ्नाे बाबाको शरीरमा पनि पस्छ र प्रौढ मान्छेको अनुभूति पनि गर्छ । भावनाहरू उरालेर ल्याइदिने यो हृदयविदारक दृश्य स्तब्ध पार्ने खालको छ ।

गहिरो उदासी र पश्चात्तापसहित आफूलाई दोषी अनुभव गरिरहेका राष्ट्रपति फेरि भेट्न आउने भनेर चिहानबाट निस्कन्छन् । सबै आत्माहरू यो दृश्यको साक्षी हुन्छन् । लिंकन गइसकेपछि उनीहरू विलीलाई पुनः बार्डो छाड्न भन्छन्, तर आप्mनो बाबाले फर्केर आउने बाचा गरेको कुरा विलीले सुनाएपछि उनीहरूलाई लाग्छ, विलीको बाबामार्फत  उनीहरू पनि आफ्ना पछिल्ला जीवनसँग साक्षात्कार हुन सक्छन् । 

मलाई उपन्यासले छुनुको सामान्य कारण मेरो समुदाय पनि हो । गुरुङ परम्परागत पुरोहित पच्यु र ल्होरीका अनुसार पनि मान्छेहरू मरेर जाँदा तिनका आत्मा घरवरिपरि बरालिरहन्छन् । आफ्ना परिवारजन र आफन्तसँग निरन्तर सम्पर्कमा हुन्छन्, तर तिनबाट कुनै प्रतिक्रिया नपाउँदा अत्यन्त दुःखी रहन्छन् । मृत्युपछि गरिने पै संस्कारको तेस्रो दिन सर्क गीतमार्फत  मृतात्मालाई म्लिक्यु (बिर्सने/बिर्साउने पानी) मा लगिन्छ, त्यहाँ डुबुल्की लगाउन लगाएपछि, पानी पिलाएपछि मृतात्माले मत्र्यलोकको सबै कुरा बिर्सन्छ र ऊ स्वर्गलोकमा आफ्नो पुर्खाहरूमा लीन हुन पुग्छ । सायद यही कुरा भएको हुनाले मैले बुभ्mनुपर्ने भनेर नगरकोटीले भनेका पो हुन् कि ! बोन धर्मावलम्बी गुरुङहरू भने पुनर्जन्ममा विश्वास राख्दैनन् । 

उपन्यासमा पहिलो मोनोलग बोल्ने पात्र ह्यान भोलम्यान हो । छापाखाना चलाउने भोलम्यानको दोस्रो बिहे एउटी भर्खरकी तरुनीसँग हुन्छ, तर श्रीमतीको इच्छाविपरीत ऊ शारीरिक सम्पर्क गर्दैन, जब उनीहरूमा प्रेम अंकुराउन थाल्छ, दुवै सहवासका लागि तयार हुन्छन्, त्यही वेला एउटा बिम खसेर उसको मृत्यु हुन्छ । त्यसैले बार्डोमा ऊ बडेमानको उत्तेजित लिंग घिसार्दै हिँडिरहेको छ । उसलाई आफ्नो पत्नीसँग भेट हुन्छ जस्तो लागिरहन्छ ।

समलिंगी साथीबाट प्रेममा धोका पाएपछि नाडी काटेर आत्महत्या गरेको हुन्छ रोजरले । तर, उसलाई तत्कालै पश्चात्ताप हुन्छ र जीवन त जिउनलायकको असाध्यै राम्रो लाग्छ । ऊ पनि आफूलाई मरेको भन्दैन । जबजब जीवित रहनुको ज्ञानेन्द्रिय आनन्दले उसलाई उचाल्छ, उसमा असंख्य आँखाहरू, नाकहरू, कानहरू, हातहरू प्रकट हुन्छन् ।

पादरीचाहिँ एक मात्र त्यस्तो आत्मिक पात्र हो, जसलाई आफू मरिसकेको थाहा हुन्छ । बार्डोमा केही क्षण बिताएर जाँदा उसको एकजना सहयात्रीले स्वर्गमा प्रवेश पाउँछ भने अर्कोले नर्कमा । र, पादरीको मूल्यांकनपछि ऊ पनि नर्कमा जानुपर्ने हुन्छ । त्यहाँबाट धम्मरधुस भाग्दै ऊ बार्डोमा आएको हुन्छ ।

यीबाहेक त्यहाँ त्यस्ता आत्मा पनि छन्, अघिल्लो समयमा बारम्बार बलात्कृत भएकी पात्र, जसको आवाज हराएको छ । श्रीमतीका हत्यारा र आफ्नै नवजात शिशुका हत्याराका शारीरिक आकारचाहिँ सिमीका गेडाजत्रो मात्र छ, जो नर्कमा भएको भनिन्छ । जमिनबाहिर लहरा निकालेर बालबालिकालाई बेरेर सधैँका लागि बार्डोमा राख्ने काममा ती लागेका छन् । 

यिनै आत्मा र अन्य आत्मा मिलेर विलीलाई आफ्ना बाबासँग पुनर्मिलन गराउन जुन सत्प्रयास हुन्छ, त्यो नै उपन्यासको आत्मा हो जस्तो लाग्छ । किनभने, अघिल्लो जीवनमा राम्रा भनिएका मान्छेहरू, बदमासहरू, अति जातिवादी, बलात्कारी, सेसिल स्टोनहरू, भूतपूर्व दास एल्सन फार्वेलहरू, श्वेत र अश्वेतहरू सबै अब्राहम लिंकनलाई रोक्न उनको शरीरमा प्रवेश गर्छन् र पहिलोपटक भएको त्यो सामूहिक कार्यमा उनीहरूलाई आनन्दको अनुभूति हुन्छ, जिम्मेवारीबोध हुन्छ ।

जब लिंकन चिहानबाट निस्किन्छन्, तुलनात्मक रूपले कम दासता भोगेका थोमस हाभेन्सको आत्मा राष्ट्रपतिको शरीरमा प्रवेश हुन्छ । एकजना पूर्वदासको आत्मासँगै राष्ट्रपति ह्वाइटहाउसतिर लाग्छन् । 

भूतहरू लिंकनलाई फर्काएर बालक विलीसँग मिलाउन लाग्दा उनीहरूलाई लिंकनको समस्या र चिन्ताको पनि बोध हुन्छ । ती एकार्काका समस्या बुभ्mछन् र भ्रातृत्वको भावना उर्लेको पाउँछन् । अभूतपूर्व आनन्दानुभूतिको अवस्थामा पाएर उनीहरू कृतज्ञ बन्छन् । स्वयं राष्ट्रपतिलाई ती तीन हजार सिपाही र नागरिकका मातापिता र आफन्तको पीडानुभूति पनि हुन्छ, किनकि अब्राहम लिंकनकै आदेशमा देश गृहयुद्धमा गइसकेको हुन्छ ।

सामूहिकताको यो अभ्यास पढिरहँदा मलाई बाल्यकाल र किशोरकालको सम्झना भयो । हामी गाउँमा झारा जान्थ्यौँ, कुलो खन्ने, बाटो मर्मत गर्ने, सार्वजनिक भवन बनाउने काममा हामीलाई रमाइलो लाग्थ्यो । निर्माण वा मर्मत भइसकेको बाटो वा पुलपुलेसाप्रति स्वामित्वको अनुभव हुन्थ्यो । केही दिनपछि कतै बिग्रेको पाइएमा तत्कालै सकेको गर्न मन लाग्थ्यो र मनबाट गरिन्थ्यो पनि ।

अहिले प्रधानमन्त्री रोजगार कार्यक्रम आएको छ । यसको उपादेयताबारे लेख्ने क्षमता मसँग छैन । मात्र के लाग्छ भने बरु यसलाई देश विकासको अभियानमा परिणत गर्न सके कस्तो हुन्थ्यो होला । प्रत्येक नागरिकले महिनाको एक दिन देशका लागि श्रमदान गर्ने अवसर भएमा देशप्रतिको माया यति खोक्रो पनि हुने थिएन कि जस्तो लाग्छ । अनि जातीय, धार्मिक र साम्प्रदायिक सहिष्णुता पनि बलियो पो भएर आउँथे कि ?

  लहरामा जेलिएको विलीलाई छुटाउने क्रममा पादरी स्वयं लहरामा जेलिन पुग्छ र भोलम्यानचाहिँ विलीलाई च्यापेर च्यापल पुग्छन्, जहाँ अब्राहम लिंकन अघि नै बसिरहेका हुन्छन् । आफ्नो बाबाको शरीररमा दोस्रोपटक पसेपछि बल्ल विलीलाई आफू मरिसकेको आत्माबोध हुन्छ । ऊ बाहिर निस्कन्छ र त्यहाँ भिड बनाएर रहेका सबैलाई त्यो कुरा बताउँछ, जुन त्यहाँका सबै आत्माहरूको यथार्थ हो ।

विली र उसका सहयोगीलाई बेरेर सधैँ–सधैँका लागि बार्डोमा सडाएर र कुहाएर राख्न लहराहरू च्यापलबाहिर कुरिरहेका हुन्छन् र विली र अरूलाई अब बार्डो छाडेर जाने निर्णयमा पुग्छन् र धेरै संख्यामा ‘म्याटरलाइटब्लुमिङ’ हुन्छ र ती बार्डो छाडेर जान्छन् । यदि कुनै आत्माले बार्डो छाड्ने निर्णय गर्छन् भने त्यहाँ प्रकाशपुञ्जको उज्यालो हुन्छ, जसलाई उपन्यासमा ‘म्याटरलाइटब्लुमिङ’ भनिएको छ । 

विलीले छाडेर गएपछि लिंकनलाई एउटा बोझबाट छुटकारा पाएको अनुभव हुन्छ । जब लिंकन चिहानबाट निस्किन्छन्, तुलनात्मक रूपले कम दासता भोगेका थोमस हाभेन्सको आत्मा राष्ट्रपतिको शरीरमा प्रवेश हुन्छ । एकजना भूतपूर्व दासको आत्मासँगै राष्ट्रपति ह्वाइट हाउसतिर लाग्छन् । उपन्यासको अन्तिम अध्यायमा हाभेन्स के पनि भन्छन् भने, राष्ट्रपतिको कान्छो छोरो पनि बिमार छ । 

ज्ञातव्य के छ भने, विलीको मृत्यु भएको लगभग एक वर्षपछि अब्राहम लिंकनले संयुक्त राज्य अमेरिकामा दासप्रथा उन्मूलनको घोषणा गरेका थिए ।
ऐतिहासिक मात्र हैन, ‘लिंकन इन द बार्डो’ प्रयोगात्मक उपन्यास हो । जादुइ यथार्थले भरिएको यो उपन्यास साँच्चैको जटिल पनि हो, खास गरेर यसको कथन शैलीको कारणले । तर, कथनशैली बुभ्ने र पात्रहरूसित परिचित भएपछि भने उपन्यासलाई छोड्न मन लाग्दैन । यो उपन्यास एकताको कथा हो, नैतिकता र अनैतिकताको प्रश्न हो, संक्रमण र क्षणभंगुरताको व्यथा हो र हो सहानुभूति, समानुभूति र समानताको बयान । यो व्यक्तिगत र राष्ट्रिय क्षति र नोक्सानको गहिरो अभिव्यक्ति हो ।

विभिन्न पेसामा आबद्ध हुँदै आएका अमेरिकी कथाकार जर्ज साउन्डर्सको निकै लामो समयपछि यस्तो वेला यस प्रकारको उपन्यास आयो, जब डोनाल्ड ट्रम्पको शासनकालमा ह्वाइट सुप्रिमेसीले टाउको उचालेको अनुभव गरिँदै छ ।  म आफूचाहिँ आत्माहरूमा विश्वास गर्दिनँ, तर जर्ज साउन्डर्सको पहिलो उपन्यास पढिसकेपछि लाग्यो, हाम्रा नेताहरू, नीति–निर्माण क्षेत्रमा रहेका तालुकदारहरूले सहिदका आत्मासँग अन्तरसंवाद गर्न पाएको भए हुने । समयमा उपचार नपाएर मरेका, अभावले मरेका नेपालीका आत्मा हाम्रा नेताका शरीरमा पस्ने भए के हुन्थ्यो होला ?

पृथ्वीको अर्को गोलाद्र्धमा लेखिएको कथा हाम्रा लागि पनि लेखिएको जस्तो लाग्यो । हामीकहाँ पनि गृहयुद्ध भएको थियो, तर अहिलेसम्म राष्ट्रिय एकतामा बल पु-याउने कुनै पुस्तक नआएको जस्तो लाग्छ । त्यसको न्यास्रो थोरै भए पनि मेटिन्छ, यदि बार्डोमा गएर लिंकनलाई भेट्ने हो भने ।