• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
कुमार नगरकोटी
२०७६ कार्तिक १६ शनिबार १२:०७:००
सम्झना

फरनान्डो सोरेन्टिनोको आत्मगमन

नगरकोटीको प्रिय कथा

२०७६ कार्तिक १६ शनिबार १२:०७:००
कुमार नगरकोटी

अर्जेन्टिनी लेखक फरनान्डो सोरेन्टिनोको ‘द रिटर्न’ आख्यानकार कुमार नगरकोटीको प्रिय कथा हो । नगरकोटीले अंग्रेजीबाट गरेको  कथाको नेपाली अनुवाद र सोरेन्टिनोलाई लेखेको चिठी यहाँ प्रस्तुत छ । यो सामग्री पाण्डुलिपि मासिकको पहिलो अंकबाट लिइएको हो ।

प्रिय फरनान्डो !
सुरुमै एउटा आत्मस्वीकृति ! तिमी मेरा निम्ति चिरपरिचित लेखक होइनौ । तिम्रो कथा 'The Return'  बाहेक अरू रचना मैले पढेको पनि छैन । तर, एउटा गजबको कुरा ! तिम्रो कथा बडो अजीव लाग्यो । साहित्यमा अजीवोगरिब लेखक/रचनाहरू खोजी हिँड्नु मलाई आनन्द लाग्छ ।

तर, काठमान्डुका पुस्तकपसलमा तिमीलाई मैले खोजेको पनि छैन । र, खोज्ने इच्छा पनि अब रहेन । तिम्रो एउटै कथाले म भयानक तृप्त भएँ । तिमी अर्जेन्टिनाका लेखक रहेछौ । महान् लेखक हौ या कार्यकारी महान्, मलाई थाहा छैन । यसको मलाई जानकारी हुनु आवश्यक पनि त छैन नि ! तिमी कम मात्र होइन, धेरै कम लेख्ने लेखक रहेछौः थाहा पाउँदा खुसीजस्तो लागेर आयो । 

प्रिय फरनान्डो !
मलाई लाग्छ लेखन एक लवलिन मेडिटेसन हो, होइन कि ! तर, तिमी लेखनको तपस्वीमार्गमा भन्दा अध्ययनको अराजक राजमार्गमा नितान्त मौन हिँड्न मन पराउँदा रैछौ । मलाई मन प-यो । 

आफ्नो ३२ वर्षको साहित्यिक जीवनमा तिमीले केवल रुचिगत लेखन गरेछौ । तर, तिम्रा ती रचना विश्वका विभिन्न भौगोलिक भाषामा अनूदित भएका रैछन् । 
तिम्रो कथा ‘The Return जसलाई मैले ‘आत्मगमन’ शीर्षकमा ट्रान्सक्रिएट गरेको छु, लाई प्रथमतः अंग्रेजले अपहरण गरेछन् । कालान्तरमा त्यो कथा पोर्चुगलमा पुगेछ । इटालियन भाषामा छापिएछ । त्यसपछि जर्मनीका पाठकले आफ्नै पितृभाषामा पढेछन् । त्यसपछि फ्रान्समा त्यो कथा expor भएछ । अनि हंगेरीका  Hungry पाठकले पढेछन् आफ्नै  Hungry भाषा/लयमा । अनि चीनका सम्भवतः चिनीरोग नलागेका पाठकका दिमाग/हृदयमा घुसेछ मेन्डरिन भाषामा । यतिले मात्र नपुगी  'The Return'  हो चि मिन्हको भियतनाम पुगेछ...।

पछिल्लोपटक हिन्दीमा पनि छापिएछ । भारतीय लेखक विजय शर्माले त्यस कथाको शीर्षक दिएछन्ः ‘और वह चला गया....’ । प्रिय फरनान्डो ! तिमीलाई हिन्दी भाषा आउँदैन क्यारे !
But, now Who cares !
मलाई पनि त स्पेनिस कहाँ आउँछ ? तिमीलाई नेपालीमा ट्रान्सक्रिएट गरिदिएँ । मेरो देशको पाठकले तिमीलाई नपढ्नुपर्ने कुनै लिट्रेरी कारण देखिनँ । तिम्रो कथाको FLAVOUR बाट वञ्चित हुन नेपाली साहित्यका पाठकले कुनै वर्गीकृत– अपराध पनि त गरेका छैनन् नि !

यहाँ बोर्गेस, चेखोभ, ओ हनरी, मोपासाँ, सहादत हसन मन्टोजस्ता ग्लोबल कथा–शिल्पीका ह्याङ्ओभर नेपाली पठक/लेखकका बीच छँदै छ । लु सुन, टैगोर, गोर्की एवं मार्खेजका छोटा कथाले यहाँका ‘छोटे मिया प्लस बडे मिया’ टाइपका पाठक/स्रष्टालाई आजपर्यन्त छोपेका छोप्यै छन् ।
प्रिय फरनान्डो !
तिमीलाई जसरी मैले अंग्रेजीमा पढेँ÷त्यसलाई मैले तिम्रो  Original स्पेनिसमा पढ्ने कहिले होला ! तिमीले मेरो देशको नेपाली कथाकारहरू भवानी भिक्षु, गोठाले, विश्वेश्वरप्रसाद कोइराला, खगेन्द्र संग्रौला, नारायण ढकाल, परशु प्रधान, मनु ब्राजाकी, शैलेन्द्र साकार, महेशविक्रम शाह, अविनाश श्रेष्ठ, आइबी राई, प्रेमा शाह, आन्विका गिरी इत्यादिलाई– कहिले पो पढ्ने होला, है ! 

तिमीले पनि नेपाली भाषा सिकेको भए क्या दामी हुन्थ्यो । खैर, यो मेरो एक पागल–इच्छा हो । तिमीलाई मेरो डायरीको ‘प्रिय लेखक’ सूचीमा प्रेमपूर्वक समेटेको छु । 

– आगे तिम्रो मर्जी,नगरकोटी

आत्मगमन

सन् १९६५ मा त्यस्तै तेइस वर्षको हुँदो हुँ । विद्यालयमा भाषा प्लस साहित्यको शिक्षक बन्नका निम्ति म कडा परिश्रमका साथ अध्ययनमा जुटेको थिएँ । सेप्टेम्बरको बतासमा एक प्रकारको अनौँठो सुगन्ध मगमग गरिरहेथ्यो । वसन्त ऋतुले वातावरणमा कामुक धूपबत्ती सल्काएको प्रतीत हुन्थ्यो । त्यो बिहान म आफ्नो कोठामा तन्मयताका साथ कुनै ग्रन्थ पढिरहेथेँ । सहरको सीमान्त क्षेत्रमा अवस्थित एक मात्र अपार्टमेन्ट भवनमा मेरो वास थियो र छैटौँ तलामा मेरो गुपचुप जीवनले आफ्नो अस्तित्व जेनतेन बचाइरहेको थियो ।

एकतमासको अल्छीपनाले मलाई चारैतर्फबाट गाँज्दै थियो र यदाकदा मेरो दृष्टि झ्यालबाहिर कतै ठोक्किएर चकनाचुर हुन्थ्यो । त्यहाँबाट म सुनसान सडक देख्न सक्थेँ । सडकभन्दा परको एउटा कुनामा बूढा डन सिसारियोको घर थियो जसको बगैँचा कुनै मायावी स्त्रीझैँ फ्रेस प्लस आह्लादकारी थियो । बूढाको घरको आकारचाहिँ केही उट्पट्याङ् शैलीको थियोः पञ्चकोणीय । डन सिसारियोको घरसितै लगभग जोडिएको चित्ताकर्षक  बङ्लाचाहिँ भलाद्मी बेरनस्कोनीको थियो । उनका तीन छोरी थिए र म जेठी कन्या एड्रियनाको प्रेममा भुतुक्कै पो थिएँ ! मेरा लोलाएका आँखाहरू त्यस बिहान एड्रियनालाई खोजिरहेका थिए । स्वभवतः बूढा डन सिसारियो आफ्ना बगैँचामा फुलेका फूलहरूमा पानी लगाइरहेको थियो । बगैँचा भने सडकको छातीभन्दा केही माथि नै थियो । कलात्मक ढुंगाका तीन सिँढी चढेपछि तपार्इं उसको बगैँचामा देखापर्न सक्नुहुन्थ्यो । बगैँचा चारैतर्फबाट फलामका नीला फेन्सद्वारा घेरिएको थियो ।

सडक सुनसान थियो ।गल्लीमा जब एउटा मान्छे अकस्मात देखाप¥यो, मेरो ध्यान शनैःशनैः ऊतर्फ केन्द्रित भइदियो । त्यो अजीव मनुष्य सिसारियोको घरछेवैको सडक हुँदै यतैतर्फ आइरहेको थियो । मेरो सम्पूर्ण प्रातकालीन ध्यान त्यस नवमानवले खिच्यो । नखिचियोस् पनि किन र ? अनौठो पहिरनमा देखापरेको त्यस नवागन्तुकलाई मैले चिप्लेकीरालाई हेरेझैँ हेरिबसेँ, जो यस्तो लाग्थ्यो कुनै पनि बखत सडकमा चिप्लेर तमासा देखाउन सक्थ्यो । 

वास्तवमा, ऊ भिखारी थियो ।युगाैँदेखि बेवास्ता छाडिएका दाह्री–जुँगामा त्यो दुब्लो, पातलो, ख्याउटे मनुवा कुनै अल्लारे फकीरझैँ प्रतीत हुन्थ्यो । उसको टाउकोलाई पहेँलो रङको टोपले घप्लक्क छोपेको थियो । वातावरणको सापेक्षित आद्र्रता ख्यालै नगरी आफ्नो आङलाई उसले खैरो ओभरकोटले ढाकेको थियो । संग्रहालयमा थपक्क राख्न मिल्ने फाटेको कमिजमा सायद उसको अस्तित्व छ्याङ्ङ उघारिएको थियो, आकाशमा उघ्रिएको श्वेत बादलझैँ ।

एउटा ठूलो मैलो बोरा भिखारीको काँधमा अजिंगरझैँ झुन्डिएको थियो । सायद त्यो बोराभित्र उसले आफूले मागेका भीख एवं रहल–पहल भोजन राख्ने गथ्र्यो ।
म हेर्दै गएँ । भिखारी त डन सिसारियोको घरसामु ठिंग भैगो । फलामे छड छेवैबाट उसले केही भन्यो । सिसारियो कन्जुस एवं चिडचिडा स्वभावको थियो र उसले भिखारीको आर्तनाद पुकारलाई कुनै वास्ता गर्ने जाँगर किञ्चित देखाएन । कुनै सोचविचार नै नगरी उसले भिखारीलाई आफ्नो क्षेत्रबाट ‘रफुचक्कर’ हुन सांकेतिक आदेश दियो । तर...बदलामा, भिखारी धमिलो, अस्पष्ट आवाजमा गुनगुन गरी नै रह्यो । बूढा सिसारियोलाई झोँक चल्यो सायद । मैले ऊ अनावश्यक चिच्याउँदै गरेको स्पष्ट आवाज सुनेँ :

– ‘गइहाल् । यहाँबाट तु गइहाल् । मलाई डिस्टर्ब गर्ने फूर्ति नगर् त लौ ।’तर पनि भिखारी त्यहीँ उभिरह्यो । त्यो एकाबिहानको अप्रत्याशित तमासामा मलाई विशेष चाख लागिरहेको थियो ।
लौ जा ! भिखारी त ढुंगाका तीन सिँढी चढी फलामको गेट पो खोल्न थाल्यो । उसको त्यस्तो असोचनीय क्रियाकलापले चाहिँ बूढा डन सिसारियोको अहिलेसम्म येनकेन जोगाइरहेको धैर्य चकनाचुर भयो । उसले भिखारीलाई धकेलिदियो । चिप्लो सिँढीको ढुंगामा भिखारीको खुट्टा चिप्ली पो गयो । उसले फलामको डन्डीलाई अँठ्याउने प्रयास त गरेकै हो, तर असफल भयो । जमिनमा ऊ भ्यागुता पछारिएझैँ पछारियो । क्षणभरमै उसका खुट्टा आकाशतिर फैलिएको मैले देखेँ । क्षणभरमै ती हावामा उडेका खुट्टा फुटपाथमा ‘बद्रङ्ग’ बज्रिए ।क्षणभरमै उसको खप्पर फुटेको भद्दा आवाज मैले सुनेँ । 

डन सिसारियो फुटपाथमा ओर्लियो । भर्खरै मरेको भिखारीछेवैमा थचक्क बस्यो । डेडबडीको छाती छाम्यो । यताउति हे-यो । कसैले देखिहालेको छ कि । तर, सडक निर्जन थियो । त्यसलगत्तै उसले शवलाई खुट्टातिरबाट घिसार्दै गल्लीको मोडसम्म पु-यायो । अनि, हतार–हतार आफ्नो घर छि-यो र बिस्तारै ढोका बन्द ग-यो ।त्यो अकल्पनीय दुर्घटनाको कसैलाई सुँइकोसम्म अत्तोपत्तो थिएन भन्ने कुरामा डन सिसारियो लगभग ढुक्क थियो । तर, हरे प्रभु ! त्यो प्रातकालीन अपराधको म मात्र एक साक्षी थिएँ । यो तथ्य नर्कको सैतानलाई समेत थाहा थिएन ।

निर्जन सडक त्यसपछि निर्जन रहेन । एकजना पथिक त्यही बाटो हुँदै आयो । मृत भिखारीछैवैमा ऊ अन्यमनस्क टाइपले उभियो । त्यसपछि, छोटो इन्टर्भलमा अरू मानिस घटनास्थलमा जम्मा भए, भनूँ थुप्रिए । प्रहरीको टोली पनि देखाप¥यो । मृत भिखारीलाई लापरबाही तालले झ्याइँकुटी पार्दै एम्बुलेन्समा कोचे ।

क्षणभरमा सबै कुरा साम्य भयो । त्यस घटनाको कसैले, कहिल्यै चर्चा गरेको सुन्नमा आएन । बेकारमा, मैले आफ्नो थुतुनो किन खोल्ने भनी मौन रहने दृढ निश्चय गरेँ । वास्तवमा, डन सिसारियाले मेरो व्यक्तिगत जीवनमा कुनै हानि, नोक्सान कहिल्यै पु¥याएको थिएन । उसलाई हत्याको दोष दिएर मलाई के नै पो मिल्थ्यो र ! अनि, अर्को कुराः असलमा उसले जानीबुझी भिखारीको हत्या पनि त गरेको थिएन । त्यो त केवल एक भवितव्य थियो । सायद, उसको भाग्यको अलिखित प्रारब्ध थियो ।

बूढाका अन्तिम दिनलाई÷अवकाशप्राप्त जीवनलाई कानुनी झमेला एवं लफडाले नष्ट गरिदिऊँ : यो पनि मलाई उचित लागेन । सोचेँ....बूढालाई उसका आफ्नै निजी पश्चात्ताप/अपराधबोध एवं आत्मग्लानिमा निःशुल्क छाडियोस् ।तर, मैले कदाचित् उचित गरिनँ है भन्ने मेरो आत्माको अन्तरिम आवाजलाई मैल त्यति वास्ता गरिनँ । बिस्तारै मैले डन सिसारियोको निजी घटनालाई बिर्सन रुचाएँ । तर, जब–जब बूढालाई यदाकदा बगैँचा प्लस फुटपाथ एवं सडकहरूमा देख्थेँ मभित्र एक किसिमको गहिरो विषाद्ले डेरा जमाउँथ्यो ।

बूढालाई कहिल्यै थाहा भएन यस सम्पूर्ण ब्रह्मान्डमा त्यो एकाबिहानको भयानक रहस्यको एकमात्र साक्षी केवल म थिएँ । बूढालाई मैले पूर्णतः वास्ता गर्न छाडिदिएँ । उसलाई मैले आफ्नो जीवनको फ्ल्यासब्याकको कुनै ग्रेभयार्डमा गाडिदिएँ...। सन् १९६९ मा म २६ वर्षको थिएँ । स्पेनिस भाषा एवं साहित्य शिक्षणको डिग्री पाइसकेको थिएँ । मेरो मौन प्रेम मृत्युको ओछ्यानमा निदाएको धेरै भइसकेको थियो । कारण, एड्रियनाले मसित नभई अरू कुनै ऐरेगैरे स्वाँठसित सुखद् वैवाहिक जीवन भोगचलन गरिरहेकी थिई । त्यही वर्ष त थियो त्यो, जब एड्रियना निर्जन सडकका गल्लीमा आफ्नो निजी भुँडी खेलाउँदै ओहोरदोहर गर्थी । असलमा, ऊ गर्भवती थिई र कुनै पनि दिन प्रशव क्षणमा उपलब्ध हुने थिई ।

एड्रियना, त्यसवेला पनि त्यही चित्ताकर्षक बङ्लामा बस्थी । तर, कसो हो कुन्नि, ऊ दिनदिनै अझ सुन्दर हुँदै थिई । डिसेम्बरको एक उदास बिहान, परीक्षाका निम्ति तयारी गरिरहेका केही विद्यार्थीलाई म ट्युसन लिइरहेको थिएँ । अनि सधैँको सनातन आदतअनुसार झ्यालछेवैमा बसी निर्जन सडकतिर वेला–कुवेला मेरो दृष्टि ओहोरदोहोर गथ्र्यो । एक्कासि मलाई आफ्नो हृदयको धड्कन रोकिएको झैँ लाग्यो । यस्तो लाग्न थाल्यो कि, म हठात् हलुसिनेसनको सिकारद्वारा ग्रस्त हुँदै छु । त्यो एक किसिमको विभ्रम नै त थिएन !

चार वर्षअघि जुन ठाउँमा डन सिसारियोले भिखारीको हत्या गरेको थियो, ठीक त्यही बाटो हुँदै त्यो भिखारी पुनः यतै आइरहेको थियो । उही खैरो ओभरकोट, पुरानो थोत्रो कमिज, बेढंगको पहेँलो टोप र उही मैलो बोरा । विद्यार्थीहरूलाई बिर्सँदै, झ्यालमा  ढेस्सिँदै मैले भिखारीलाई तीक्ष्ण दृष्टिले हेरिरहेँ । ऊ बिस्तारै सुस्त गतिमा हिँड्दै आइरहेको थियो, मानौँ आफ्नो नियति नजिक आइरहेको होस् ।

 ‘त्यो ज्यूँदिएछ’, मैले सोचेँः..‘र डन सिसारियोसित आफ्नो हत्याको बदला लिन आइपुगेको छ ।’ सडकछेवै हिँड्दै उसले त बगैँचालाई नदेखेझैँ पो गरी अगाडि बढ्यो । केही बेर एड्रियनाको घरसामु ठिङ्ग उभियो । क्षणभरमै यताउति कतै नहेरी ढोका उघा-यो र हतार–हतार घरभित्र छि-यो । 
‘ल है ठिटाहरू ! म छिट्टै फर्किहाल्छु’, मैले विद्यार्थीहरूलाई भनेँ र बौलाहाझैँ दगुर्दै लिफ्टतिर भागेँ । अनि तत्कालै म सडकमा दौडिरहेको तपाईं  देख्न सक्नुहुन्थ्यो । हस्याङ्फस्याङ् गर्दै म एड्रियनाको घरभित्र घुसेँ । 

उसकी आमा ढोकाछेवै उभिएकी थिई र सायद बाहिर कतै जाने तरखरमा थिई । उसले मलाई भनीः  ‘बाफ्रे ! क्या गज्जब । हलो भाइ डियर नवयुवक, तिमी यहाँ ! आज कताबाट बाटो बिरायौ ? बडो चमत्कार ग-यौ ।’ मलाई ऊ सधैँ रुचाउँथी । उसले मलाई अँगालोमा बाँधी र चुमी । मेरो दिमागमा भने केही कुरा पनि घुसिरहेको थिएन । पछि थाहा पाएँ, केहीबेरअघि मात्र एड्रियना आमा बनेकी थिई र घरका जम्मै सदस्य धेरै खुसी एवं उत्तेजित थिए ।

जुन कारणवश म त्यहाँ पुगेको थिएँ, त्यस विषयमा सोधपुछ गरुँ कि मौन बसूँ भनी म दोधारमा परेँ । तर, सावधानीका साथ मैले बीचको बाटो समात्ने विचार गरेँ । मैले फ्याट्ट भनेँ :
‘वास्तवमा मलाई के लाग्यो भने एउटा ठूलो, मैलो बोरा काँधमा भिरी कुनै भिखारी तपाईंको घरभित्र घुसेको छ । त्यसैले घन्टी नै नथिची म यहाँ आएँ । मलाई लाग्यो उसले कुनै सामान नचोरिदेओस् ।’

घरका मानिसले मलाई आश्चर्यचकित नजरले हेरे । भिखारी ? बोरा ? चोरी ? ती सबै मानिस केही समयदेखि नजिकैको कोठामा सँगसँगै थिए र उनीहरू केही बुझ्न सकिरहेका थिएनन् । म व्यर्थैमा के अन्टसन्ट बोल्दै छु । उनीहरूको मनोदशालाई थप ध्वस्त नपार्ने उद्देश्यका साथ मैले भन्नुप-यो :

‘सायद, मबाट कुनै गल्ती पो भइगयो कि !’ त्यसपछि उनीहरूले मलाई त्यो कोठामा पु-याए जहाँ एड्रियना आफ्नो नवजात शिशुसित ओछ्यानमा पूर्ण सन्तुष्टिका साथ आराम गरिरहेकी थिई । यस्तो स्थितिमा के भन्नुपर्छ, म बेवकुफलाई कहिल्यै आएन । तर पनि, एड्रियनालाई बधाई दिएँ । बच्चालाई हेरेँ, अनि त्यसको नामचाहिँ के राख्ने सोचाइ छ भनी उनीहरूसमक्ष आफ्नो जिज्ञासा व्यक्त गरेँ ।

उनीहरूले बताएअनुसार शिशुको नाम गुस्ताव राखिनेछ । शिशुको पिताको यस्तै विचार रै’छ । कस्तो वाहियात विचार ! मेरो कुनै जोर चल्थ्यो भने बच्चाको नाम फरनान्डो भनी राख्ने थिएँ, तर मैले केही बोलिहाल्नु उचित ठानिनँ । 

घर फर्केपछि म सोच्न बाध्य भएँः ‘त्यो शतप्रतिशत भिखारी नै थियो । त्यही भिखारी जसलाई डन सिसारियोले मारेको थियो । ऊ बूढासित बदला लिन फर्केर आएको थिएन÷बरु एड्रियनाको बच्चाका रूपमा पुनर्जन्म लिन आएको थियो ।’

तर, दुई/तीन दिनपछि नै मलाई आफ्नो उक्त विचार वाहियात लाग्न थाल्यो । अनि बिस्तारै त्यसलाई मैले बिर्सिहालेँ । त्यस विचारलाई सम्भवतः सधैँका निम्ति बिर्सिदिने थिएँ । तर, सन् १९७९ को एउटा घटनाले मलाई बारम्बार त्यतैतिर लगी जोडिदिन्छ । कुरा, असलमा, के भने मेरो उमेर बढिरहेको थियो र मैले आफूलाई पहिलेको भन्दा तुलनात्मक रूपमा कम योग्य ठान्न थालेको थिएँ । एक दिन, झ्यालको छेउमा बसी म एउटा किताब पढ्न प्रयासरत थिएँ । तर, किताबमा मेरो एकाग्रता भने पटक्कै थिएन । मेरो ध्यान अन्यत्र कतै भट्किरहेथ्यो ।

एड्रियनाको छोरा आफ्नो घरको खुला छतमा खेलिरहेथ्यो । त्यो खेलचाहिँ उसको उमेरअनुसार कदापि थिएन । त्यस्तो उट्पट्याङ् खेल एड्रियनाको छोराका निम्ति कुनै पनि किसिमले सुहाउँदो थिएन । यसो सोचेँ....।

यसो विचार गरेँ....त्यो बच्चाले अवश्य पनि  आफ्नो पिताको भद्दा दिमाग उधारो लिएको छ । यदि ऊ अर्थात् गुस्ताव मेरो छोरा हुन्थ्यो भने अवश्य पनि मनोरञ्जनका लागि त्यस्तो वाहियात खेल खेल्दैनथ्यो ।

खैर... आ–आफ्नो भाग्यको खेल ! छतको एकापट्टि गुस्तावले रित्ता डिब्बालाई चाङ मिलाई थुपारेको थियो । ऊ भने चार–पाँच फिट परबाट ढुंगाले हिर्काउँदै डिब्बालाई खसाल्ने प्रयत्नरत् थियो । केचाहिँ स्वाभाविक थियो भने उसले फ्याँकेका सप्पै ढुंगा छिमेकी डन सिसारियोको बगैँचामा एक–एक गर्दै झर्दै थिए । यी सब देख्दो हो त बूढा अवश्य बौलाउँदो हो । कति परिश्रम गरी स्याहारेका फूल नष्ट हुँदै थिए ।

ठीक यही समय डन सिसारियो आफ्नो घरबाट बाहिर निस्कियो अनि बगैँचामा देखाप-यो । वास्तवमा, अब त ऊ निकै बूढो भइसकेको थियो । बडो कठिनसँग, लर्खराउँदै, बिस्तारै–बिस्तारै ऊ बगैँचाको गेटसामु आइपुग्यो र तल सडकपेटीमा निक्लनका निम्ति तिनौटा सिँढी ओर्लिने प्रयास गर्न थाल्यो ।

उदेक या गज्जबको कुरा जे भन्नुस् । ठीक यही वेला गुस्तावले– जसले बूढालाई देखेको थिएन– एउटा डिब्बालाई निशाना लगायो । फुच्चेले फ्याँकेको ढुंगा डिब्बामा नराम्रोसित बज्रियो । डिब्बा दुई–चार गुल्टिङ खाँदै तीरझँै सोझै डन सिसारियोको बगैँचामा बेस्सरी बज्जारियो ।

सिँढीतर्फ बढिरहेको डन सिसारियो भद्दा आवाज सुनेर अल अफ सडन पछाडि फर्कियो र यसरी अकस्मात् शरीरलाई घुमाउँदा बूढाले आफ्नो सन्तुलन गुमायो । मुनिको सिँढीमा उसको खोपडी बज्रियो । सिमेन्टको सिँढीमा, हेर्दाहेर्दै गिदी यत्रतत्र छरिए ।

यी सब दृश्य चुपचाप हेरिरहेथँे । फुच्चे गुस्ताव छतमा, अब त थिएन । न त उसले भर्खरै मरेको डन सिसारियोलाई देख्यो न त बूढाले बच्चालाई । गुस्ताव कुन्नि कता गयो । केहीबेरमै बूढाको शव वरपर मानिसहरू जम्मा हुँदै गए । सबैले के सहज अनुमान गरे भने सिँढीमा चिप्लिएर ढल्नु नै डन सिसारियोको मृत्युको प्रामाणिक कारण थियो । तर, मलाईचाहिँ के लाग्छ भने फुच्चे गुस्ताव प्लस डन सिसारियोको अदृश्य सम्बन्ध अलौकिक रहस्यले भरिएको थियो ।

जे होस्– त्यो रात मुस्किलले निदाउन सकेँ । अर्को बिहान चाँडै पो उठी गएँ । आफूलाई झ्यालछेवै लगी ठिंग उभ्याएँ । झ्यालबाट देखियोः उही नोस्टाल्जिक सडक–सडकमा उभिएका उदास मनुष्यजन/यत्रतत्र ठिंग उभिएका उनीहरूका औँलाका कापमा बसी धूवाँ उडाइरहेका सिग्रेट÷कोही–कोही कुरा, वार्ता, गफ गर्दा हुन् अनि कोही भने चन्द्रमाझैँ टाढा एवं मौन....।

अकस्मात् ती मानिस केही सलबलाए । मुहारमा केही घृणा एवं उद्विग्न भावका साथ यस्सो ...सडकपेटी या बेसडक कुना या सडक किनारातर्फ ढेस्सिए ः जब एड्रियनाको घरबाट एउटा भिखारी फुत्त निक्लियो । मैले चिरपरिचित त्यस भिखारीलाई स्पष्टतः देखेँ । उसको वेषभूषा उस्तै थियो सन् १९६५ कोझैँ, जब मैले उसलाई पहिलोपल्ट देखेको थिएँ : खैरो ओभरकोट, थोत्रो कमिज, पहेँलो ह्याट प्लस काँधमा मैलो ठूलो बोरा ।

सडकमा उभिएका महिला प्लस भद्रजनबीच हुँदै त्यो अजीव भिखारी बिस्तारै–बिस्तारै अघि बढ्यो र हेर्दाहेर्दै गल्लीको मोडमा गई ओझेल भयो÷ बिलायो...।
गल्लीको त्यही मोडमा गई उसको आत्मगमन भयो, जहाँबाट कम्तीमा पनि दुईपटक ऊ सशरीर यहाँ आएको थियो जहाँ म अर्थात् फरनान्डो सोरेन्टिनो÷डन सिसारियो प्लस एड्रियनाको परिवार आ–आफ्ना अस्तित्वका रहस्यसाथ बसोवास गर्थे ।

त्यसै दिनको मध्याह्नमा मलाई थाहा भयो एउटा अज्ञात रहस्यको कुरा के भने, गुस्ताव त्यही बिहानदेखि आफ्नो ओछ्यानमा थिएन । एड्रियनाबाट यस्तो कुरा सुन्दा केही दुःखी अवश्य भएँ, तर मलाई कुनै आश्चर्यचाहिँ लागेन ।बेरनस्कोनी परिवारले फुच्चे गुस्तावको निकै खोजी गरे, तर सम्पूर्ण प्रयास हात लाग्यो शून्य मात्र भैगो । खोज आजसम्म जारी नै छ । कहिलेकाहीँ एड्रियनालाई भनूँझैँ लाग्छ :

–‘प्रिय ! गुस्ताव, वास्तवमा एउटा भिखारी थियो । मैलो, ठूलो बोरा बोकी ऊ तिम्रो जिन्दगीबाट सदासदाको निम्ति गइसकेको छ । उसको खोजी गर्न छाडिदेऊ....।’तर, यस्तो अन्तरिम सत्य एड्रियनासामु राख्ने मसित आँट कहिल्यै आएन । अब त बूढा भैगएँ, तरै पनि कहिलेकाहीँ झ्यालसामु आफूलाई ठिंग उभ्याउँछु । परको त्यो सुनसान गल्लीको मोडबाट भिखारी पुनः एकपटक आइदिओस्जस्तो कल्पना, प्रार्थना गर्छु । त्यो भिखारीले आफ्नो बोरामा मेरो आत्मा बोकी हिँडेको थियो ।