• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भोगीराज चाम्लिङ
२०७६ कार्तिक २३ शनिबार ०७:५२:००
इतिहास

उहिलेको नेपाल पढ्न

क्लासिक

२०७६ कार्तिक २३ शनिबार ०७:५२:००
भोगीराज चाम्लिङ

अनुसन्धाता र प्राज्ञिक पाठकबीच खुबै रुचाइएको किताब हो, सरदार भीमबहादुर पाँडेको ‘त्यसबखतको नेपाल’ । मैले पनि यो पुस्तक केही वर्षअघि धुइँपताल खोजेर फोटोकपी गरी पढेको थिएँ । किताब पञ्चायतकालमै फरक–फरक वर्षमा पाँच खण्डमा प्रकाशित भएको थियो । यसबीचमा चौथो संस्करणसम्म प्रकाशित भयो, तर पाठकका लागि भने जहिल्यै अभाव । अहिले नयाँ कलेवरमा पाँचै खण्ड एकसाथ प्रकाशित भएपछि भने यो पुस्तक सहज हुन पुगेको छ । 

यद्यपि, यो लेख सरदार भीमबहादुर पाँडेको पुस्तकको समीक्षाचाहिँ होइन । त्यसका लागि विस्तृत अध्ययन र समयको दरकार पर्छ, त्यसैले त्यतातिर नलागेर पुस्तकको परिचयचाहिँ लेखिरहेको छु । हुन त यो परिचय दिनुपर्ने, चिनाइरहनुपर्ने किताब होइन । ‘कालजयी संगीत’ भनेझैँ पुस्तक हो यो । समुद्रमा पानीको बाहिरी सतहमा हिउँको सानो टुक्रा देखिए पनि भित्र भीमकाय डल्लो हुन्छ भनेझैँ पुस्तकका केवल दुई–चार कुरा यहाँ ‘हाइलाइट’ गर्न खोजेको छु, पुस्तकभित्र डुबुल्की मार्दा ‘भीमकाय डल्लो’ भेटिन्छ भन्ने संकेत गर्न । 

प्रोफेसर भीमबहादुर पाँडे राणा शासनकालमा उच्च तहको कर्मचारीमा गनिने सरदार थिए । २६ जना सरदारमध्ये एकजना थिए । त्यसबखत प्रतिष्ठित कर्मचारीमा क्रमशः बडाकाजी, काजी, सरदार र मीर सुब्बा पर्थे । नेपालले बेलायत र अमेरिकासँग दौत्य सम्बन्ध कायम गरेपछि उनी लन्डन दूतावासमा काउन्सिलर र वासिङ्टनमा प्रथम सचिव नियुक्त भए ।

राणाहरूभित्रै पनि बदलिँदो विश्व परिस्थितिअनुसार राणा शासन परिमार्जन गर्नुपर्छ भन्ने आधुनिक मान्यता राख्ने सीमित राणामध्ये विजय र कृष्णशमशेरको नाम अग्रपंक्तिमा आउँछ । उनै विजयशमशेरसँग धेरै नजिक रहेर काम गरेका थिए सरदार भीमबहादुर पाँडेले । विजयमशेरको नेतृत्वमा सरदार भीमबहादुर पाँडेले विकास योजनाको खाका तयार गर्न भूमिका खेलेका थिए । २००५ सालमा राष्ट्रिय आर्थिक योजना समितिको सदस्यसचिव भएका थिए । उद्योग परिषद्का हाकिम भए । 

राणा शासनपछि पनि निरन्तर उच्च ओहोदामा रहेर काम गरेका उनको योगदान प्रशासनिक क्षेत्रमा पनि उत्तिकै छ । त्योभन्दा बढीचाहिँ नेपाली इतिहासको एउटा अँध्यारो कालखण्डलाई छर्लंग देखिने गरी ‘त्यसबखतको नेपाल’का रूपमा पाँच भागमा पुस्तककार रूप दिनु हो । निश्चय नै उनले यहाँ आफ्ना उज्यालो पक्षको नै चर्चा गरेका छन् । तर, त्यो चर्चा आत्मकेन्द्रित व्यक्तिवादमा सीमित भएको छैन । 

१. 
एक, यो पुस्तकको शक्ति भन्नु लेखन शैली हो । यसको अर्थ अनेक बिम्ब–प्रतीक या लालित्ययुक्त भाषाको प्रयोग भन्न खोजिएको होइन । सरल वर्णनात्मक शैलीमा लेखिएको यो पुस्तकमा अब्बलस्तरको तटस्थता छ । ‘त्यसबखतको नेपाल’ आत्मसंस्मरणात्मक स्वादसहितको पुस्तक हो जुन मूलभूत रूपमा सरदार भीमबहादुर पाँडेले त्यसबखत देखे–भोगेका र सुनेका कुराका आधारमा लेखिएको हो । हिजो–आजका ‘मेरो सरकारले...’, ‘मैले...’ भन्ने पाराका चरम आत्मकेन्द्रित आत्मसंस्मरण शैलीमा लेखिएको भए सायद यो किताबको ओज उस्तो हुँदैनथ्यो जति अहिले छ । चरम आत्मकेन्द्रित पुस्तकको भिडमा अलग्गै र बिछट्टै माथि देखिन्छ ‘त्यसबखतको नेपाल’ । 

सरदार पाँडेले गायनमा लिइने ससाना, तर मीठा हर्कतजस्तै लाग्ने उखानको प्रयोग खुबै मीठोसँग गरेका छन् । सान्दर्भिक स्थानमा ठट्टा पनि प्रयोग गरेका छन् । त्यसमध्ये नमुनाका लागि ‘एमबी’, ‘चार माहिलाहरू’ र ‘तेरो राडी गाईले खाइदियो !’ लाई लिन सकिन्छ । त्यसबखत पनि मान्छेका व्यंग्यचेत मरिसकेको थिएन । राणाहरूबाट जोगिँदै मान्छेहरू सांकेतिक व्यंग्य गर्थे । त्यसबखत मातृका र विश्वेश्वरप्रसाद कोइरालाका बारेमा बोल्न गाह्रो नभए पनि मोहनशमशेर र बबरशमशेरबारे खुलेर बोल्न गाह्रै थियो । त्यसैले मान्छेहरू यी सांकेतिक रूपमा भन्थे– ‘दुई एमबी (मोहन–बबर)को मेलजुल छैन, त्यस्तै हो, कांग्रेसका दुई एमबी (मातृका–बिपी)को पनि ।’

श्री ३ पद्मशमशेर राणाका पालामा चारजनाको बिगबिगी थियो, जसलाई ‘चार माहिलाहरू’ भनेर व्यंग्य गरिन्थ्यो– जंगीलाठ बबरशमशेर, हजुरिया तथा दक्षिणतर्फका कमान्डिङ जर्नेल बहादुरशमशेर, जर्नेल शंकरशमशेर र नायब बडागुरुज्यू हेमराज पाण्डे । यी चारैजना राणा शासनलाई कति पनि हेरफेर नगरीकन सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्थे । त्यसैले, जनस्तरमा यिनीहरूलाई ‘चार माहिला’ भनेर व्यंग्य गरिन्थ्यो । यीमध्ये पनि गाईले खाइदिएको राडीको कथाचाहिँ धेरै रोचक छ ।

यो ठट्टासँग जम्काभेट हुँदा मनमा आश्चर्यमिश्रित प्रश्न उठ्यो– ‘हँ, गाईले राडी खायो !’ कुरा घुस प्रकरणसँग सम्बन्धित रहेछ । हाकिमसँग काम लिन एकजनाले राडी उपहार दिएछ । त्यै कामका लागि अर्कोले गाई उपहार दिएछ । हाकिमले गाई दिनेको काम गरिदिएछन् । राडी दिनेले ‘हाकिमसाप मेरो काम ?’ भनेर सोध्दा हाकिमले भनेछ, ‘तेरो राडी गाईले खाइदियो !’ धेरै शब्द किन ! यति ठट्टा नै पर्याप्त छ राणा शासनको तस्बिर खिच्न । सरदार भीमबहादुर पाँडेले यस्ता अनेकौँ सन्दर्भ उल्लेख गरेर आफ्ना प्रस्तुतिलाई उत्तिकै मीठो, चोटिलो र भरपर्दो बनाएका छन् । उनले देखेभोगेको राणा शासनको तस्बिर सकभर आलोचनात्मक चेतनासहित पस्किएका छन् । यसैले पुस्तकको वजन बढाइदिएको छ । 

२. 
दुई समाज । आठ–दश वर्षयता मेरो पठनको पारामा अलिकति फेरबदल आएको छ । इतिहास, संस्कृति र पुरातत्वसम्बन्धी अध्ययनले मलाई यस्तो बनाइदियो कि साहित्य होस् या नसाहित्य पढ्दा म आफूलाई आउँदो सय, दुई सय या हजार वर्षपछि पु-याएर त्यो किताबबारे सोच्न खोज्छु । ठ्याक्कै यसरी नै हेर्दा सरदार पाँडेको ‘त्यसबखतको नेपाल’ जति पुरानो हुँदै जाने छ, त्यति नै किताबबाट किमति ग्रन्थ बन्दै जाने पक्का छ । राणा, राणा शासन र तत्कालीन समाजबारे यति गहकिलो पुस्तकको जोडा अरू छैन । अहिले नै महत्वपूर्ण भइसकेको यो किताब अबको दुई सय या हजार वर्षपछि अचुक ओखति हुनेछ । 

सरदार भीमबहादुर पाँडेको ‘त्यसबखतको नेपाल’ जति पुरानो हुँदै जानेछ, त्यति नै किताबबाट किमति ग्रन्थ बन्दै जाने पक्का छ । राणा, राणा शासन र तत्कालीन समाजबारे यति गहकिलो पुस्तकको जोडा अरू छैन ।

अहिले नै पनि सय वर्षअघिको समाजबारे हामीलाई धेरै कुरा थाहा छैन । त्यो अभावपूर्ति यो किताबले गरेको छ । यो किताबमा समाजका हरेक पक्षको मसिनोसँग वर्णन गरिएको छ । ‘त्यस बखतको नेपाल : राणा व्यवस्था चरमचोटिमा’ (भाग १) मा समाजका यति ससाना कुरा टिपिएका छन् कि ती भव्य छन् ! सातौँ शताब्दीमा राजा नरेन्द्रदेवका पालामा नेपाल आएका चिनियाँयात्री वाङ–हु–एन–सेले आफ्नो यात्रा वर्णनमा नेपालमा तामाको छानो भएको साततले दरबार देखेको कुरा उल्लेख गरेको सानो त्यान्द्रो समातेर हामीले अहिले लगभग १४०० वर्षअघिको नेपालको तले÷छाने वास्तुकला, धातुकला र संस्कृतिबारे विश्लेषण गर्न खोज्दै छौँ ।

संस्कृत ग्रन्थमा चिराइतोको नाम ‘किराँततिक्त’ बताइएको आधारमा हामी अहिले किराँतको व्यापारिक र औषधीय ज्ञानका बारेमा बताइरहेका छौँ । भनेजस्तै ‘त्यसबखतको नेपाल’ पुस्तकमा आजभन्दा लगभग सय वर्षअघिको नेपाली समाजका यति मसिना, तर विस्तृत तथ्य सरदार पाँडेले पुस्तकमा समेटेका छन् कि अबको सय वर्षभन्दा पछिको पुस्ताले हामीले जस्तै चिनियाँयात्री वाङ–हु–एन–सेको त्यान्द्रो समात्नु पर्दैन । 

मुख्यतः पश्चिम नेपालको स्याङ्जा क्षेत्र र काठमाडौं उपत्यकाको तत्कालीन समाजबारे यो जतिको सूक्ष्म पुस्तक अरू छैन । त्यसबखत के खान्थे, के लगाउँथे, कसरी हिँड्थे या बोल्थे भन्नेजस्ता मसिना कुराको समेत सरदार पाँडेले पुस्तकमा विस्तृत उल्लेख गरेका छन् । 

हामी आजकाल काइते अक्षर भनेर भन्छौँ । त्यो भनेको तराईका काइते जातिको नामबाट रहेको हो जो डिका नदिईकन नबुझिने पाराले अक्षर लेख्ने, बीच–बीचमा कुरा घुसाउने हुँदा उनीहरूबाट काठमाडौंका हाकिम सतर्क हुन्थे । त्यसैले, उनीहरूलाई सरकारी जागिर दिइँदैनथ्यो । पृथ्वीनारायण शाहविरुद्ध लड्न जयप्रकाश मल्लले झिकाएका नगरकोटी र मधेसीलाई सेनामा भर्ना लिइँदैनथ्यो । त्यसबखत जनैमा जुम्रा पथ्र्यो । जुँगा काट्ने चलन थिएन ।

सामान नगदमा किनबेच होइन, विनिमय हुन्थ्यो । त्यसबखत बाहुन गोलभेँडा, लसुन, प्याज, छ्यापी, च्याउ, हाँस–कुखुराको मासु र अन्डा खाँदैनथे । तर, गाउँका मतवालीले व्रतबन्ध गर्ने निश्चित भएपछि अब खान पाउँदैनन् भनेर बाहुन–क्षेत्रीका छोराहरूलाई बेस्सरी अन्डा र रक्सी खान दिन्थे । तर, १९७७ सालपछि भने बाहुन–क्षेत्री पनि जुवा खेल्न र जाँडरक्सी खान थाले, चोरी बढ्न थाल्यो । बाहुनहरूलाई खुट्टैमा ढोगिन्थ्यो । गाउँघरमा पुँजी संकलनको मुख्य माध्यम पेवा थियो ।

बाहिरबाट ल्याइएका सल्लाका काठले काठमाडौंका घर बनाइन्थ्यो । राणाकालमै हुनेखाने बाहुनहरू संस्कृतबाट अंग्रेजीतर्फ मोडिएका थिए । गाउँमा राम्रा युवतीलाई सुसारेका रूपमा राणादरबारमा एकडेढ रुपैयाँ तलब दिएर राखिन्थ्यो । ती प्रायः राणाका भित्रिने बनाइन्थे । त्यसबखतको नेपालको आर्थिक–सामाजिक अवस्था, सामाजिक सम्बन्ध र सामाजिक शक्ति–सम्बन्ध पहिल्याउन सकिने यी र यस्ता अनेकौँ मसिना, तर महŒवपूर्ण कुराले भरिभराउ छ सरदार पाँडेको ‘त्यसबखतको नेपाल’ । 

३.
तीन, राणा र राणा शासनको भ्रष्ट आर्थिक, राजनीतिक, प्रशासनिक नालीबेली । राणाहरूले मधेसमा हजारौँ बिघा जमिन बिर्ता लिन्थे । र, त्यसमा पर्ने जंगल फँडानी गरेर काठ बेची पैसा कुम्ल्याउँथे । मधेसबाट हुने आम्दानी ढुकुटीमा जम्मा गर्दैनथे, सीधै भारतको एम्पेरियल बैंकमा आफ्नो नाममा खोलिएको खातामा जम्मा गर्थे । राणा प्रधानमन्त्रीहरूको तलब तोकिएको हुँदैनथ्यो, किनभने राज्यको ढुकुटी र अन्य आम्दानी उनीहरूको निजी सम्पत्तिसरह थियो । त्यसैले राणा प्रधानमन्त्रीहरू राजस्व र कर संकलनमा ज्यादै जोड दिन्थे ।

कर र राजस्व हिनामिना भए शाखा–सन्तानले समेत तिर्नुपर्ने अवस्था हुन्थ्यो । तर, यति साह्रो कडाइ गर्नुको अर्थ देश विकास गर्नु भन्ने थिएन । त्यो राजस्व सीधै प्रधानमन्त्रीले खल्तीको रकमजस्तै जतिखेर जति पनि खर्च गर्न पाउने भएकाले संकलनमा कडाइ गरिएको हुन्थ्यो । राजस्व बढी संकलन गर्नका लागि भारतबाट सामान आयातमा बढावा दिइएको थियो । यसले राजस्व त अवश्य बढ्यो, श्री ३ प्रधानमन्त्रीहरूको ढुकुटी पनि बलियो भयो नै, तर देशमा विदेशी (भारतीय) नागरिकको प्रवेश पनि ह्वात्तै बढ्यो ।

यही नीतिकै कारण तराई क्षेत्रमा भारतीयहरूको बसाइँसराइ व्यापक हुन पुग्यो । नेपालको तराईमा भारतीयहरू बसाइँ यसपछि नै सुरु भएको हो । पहाडतिर पनि कर संकलन गर्नकै लागि सोझा किराँतीहरूलाई किपटबाट बेदखल गरिएको थियो । उत्पादन र निर्यात वृद्धिभन्दा पनि आयात बढाएर र जनतालाई जग्गालगायतमा कर बढाएर राजस्व संकलन गर्ने नीति थियो राणा शासनकालमा । यसका लागि कुन राणा प्रधानमन्त्री कहिले के गरे ? त्यसको रोचक चर्चा सरदार पाँडेले ‘त्यसबखतको नेपाल : नेपालमा आर्थिक विकासको कल्पना (१९८६–१९९७, १९९७–२००२) (भाग २ र ३) मा गरेका छन् । 

नेपालमा कागजी नोट कहिलेदेखि सुरु भयो ? अथवा कहिलेसम्म नेपालमा भारुको बढी महत्व थियो ? योजनाबद्ध विकासको खाका कोर्ने प्रयत्न राणाकालमा कसरी कहिलेदेखि भयो ? यस्ता सयौँ महत्वपूर्ण विषयमाथि आधिकारिक चर्चा गरिएको छ पुस्तकमा । राणाकालीन प्रशासनको सबैभन्दा विद्रुप चित्र हो चाकरी । प्रत्यक्ष द्रष्टाका हिसाबमा सरदार पाँडेले चाकरीको जीवन्त वर्णन पुस्तकमा गरेका छन् । यस सन्दर्भमा एउटा ज्यादै रोचक सन्दर्भ पुस्तकमा सरदार पाँडेले उल्लेख गरेका छन् ।

राणाकालको अन्तिम चरणबाट नगदमा तलब वितरण सुरु भए पनि जग्गा नै तलबका रूपमा दिने प्रणाली कायमै थियो । त्यो जग्गा जागिरवालले कमाइ गर्दैनथ्यो । कमाइको निश्चित अंश किसानबाट लिने गर्थे जसलाई तिर्जा भनिन्थ्यो । काठमाडौंवरपर त जागिरदारले बाली लिएर आउँथ्यो, तर काठमाडौंबाहिरको तिर्जाबाट त्यसरी अन्न ल्याउनु सम्भव नहुने भएकाले काठमाडौं इन्द्रचोकको डबलीमा हरेक वर्ष हिउँदमा तिर्जा किन्न चाहनेहरू र बेच्न चाहने जागिरदार जम्मा हुन्थे । कोही कसैले फलाना तिर्जा यतिमा बिक्रीमा छ भनेर घोषणा गथ्र्यो ।

कोही क्रेताले यतिमा भए म किन्न तयार छु भनेर मोलमोलाइ गथ्र्यो । दाम मिल्यो भने उनीहरूबीच कारोबार हुन्थ्यो । तिर्जा किन्नेहरूले उनीहरूले धोक्रोमा पैसा बोकेर ल्याउने हुँदा त्यस्ता क्रेतालाई धोक्रे भनिन्थ्यो । अभिलेखमा विरलै भेटिने इतिहासका यस्ता महत्वपूर्ण घटना समेटेको छ यो पुस्तकले । नेपालको अर्थ–राजनीतिक अध्ययन गर्नेहरूका लागि यस्ता थुप्रै गतिला सन्दर्भहरू पुस्तकमा फेला पर्छन् । 

सरदार भीमबहादुर पाँडे कतै न कतै समाजवादी विचारधाराप्रति पनि नरम नै देखिन्छन् । उनी धनी र गरिबबीचको खाल्डो धेरै थियो, यसलाई घटाउनुपर्छ भन्ने मान्यता राख्छन् । माक्र्स, लेनिन या माओत्सेतुङप्रति पनि उनको त्यस्तो नकारात्मक आग्रह व्यक्त भएको देखिँदैन । बरु तत्कालीन समाज केलाउन उनले माक्र्सवादी दृष्टिकोणको पनि उपयोग गरेका छन् । 

राणाकालीन प्रशासनका बारेमा सरदार भीमबहादुर पाँडेको जतिको विस्तृत चर्चा अरू पुस्तकमा पाइँदैन । बाँसका हाँगाबाट बनाइने कलम मसीमा चोपेर लेखिने त्यसबखतको प्रशासनिक इतिहास अध्ययन गर्नका लागि सबैभन्दा आधिकारिक पुस्तक हो ‘त्यसबखतको नेपाल ः नेपालको प्रशासनिक जग’ (भाग ५) । राणा शासकको स्वार्थअनुसार गोश्वारा, अड्डा, कचहरी, कार्यालयको फेरबदल, खारेजी, थपघट हुन्थ्यो । कुन राणा प्रधानमन्त्री के गरे ? किन गरे ? यसको पनि सांगोपांगो चर्चा पुस्तकमा अध्ययन गर्न सकिन्छ । 

४. 
चार, २००७ को क्रान्ति । हुन त राणा शासन र त्यसविरुद्धको राजनीतिक संघर्षबारे दर्जनौँ पुस्तक लेखिएका छन् । तर, सरदार भीमबहादुर पाँडेको ‘त्यसबखतको नेपाल’को बेग्लै महत्व रहेको छ । खासगरीकन राणा शासनको उच्च तहको कर्मचारीका हिसाबले राणाविरोधी संघर्षप्रति राणाहरूको भित्री नजरियाबारे धेरै कम पुस्तक लेखिएका छन् । त्यस हिसाबले ‘त्यसबखतको नेपाल : नेपालमा प्रजातन्त्रको प्रवेश (२००२–२००७)’ 

(भाग ४) को फरक महत्व रहेको छ । यसमा सरदार पाँडेले नेपालमा राणाविरोधी राजनीतिक आवाजको उठानदेखि बैठानसम्म विहंगम चर्चा गरेका छन् । यसबीचमा राणाहरूको छटपटी, आक्रोश, बेचैनी या सुलहबारे मसिनोसँग केलाएका छन् । 

राजा त्रिभुवन भारतीय दूतावासमा शरण लिन गएको खास नयाँ कुरा होइन, तर नयाँ कुराचाहिँ के भने त्यसको प्रतिक्रियामा राणा कसरी सलबलाए, कसरी सरसल्लाह गरे, कसले के भने भन्ने अन्तरकथाचाहिँ सरदार भीमबहादुर पाँडेको पुस्तकले मज्जाले उधिनेको छ । उनी श्री ३ मोहनशमशेरका आधुनिक विचारधारा बोकेका छोरा विजयकुमारका भरपर्दो हाकिम भएका कारण उनलाई त्यो भित्री अन्तर–कुन्तरका कथा धेरै थाहा हुन्थ्यो जुन पुस्तकमा समावेश गरेका छन् । 

२००७ सालको राणाविरोधी क्रान्तिलाई आफ्नो प्रभावभन्दा बाहिर नजान गरी ‘साइज’मा राख्ने काम भारतले गरेको थियो । यो पनि नयाँ कुरा होइन । खासमा कांग्रेसले त्रिपक्षीय दिल्ली सम्झौताका बुँदा हेर्नै पाएको थिएन भन्ने कुरा पनि नयाँ होइन । तर, नयाँचाहिँ के भने त्यस क्रममा राणाका प्रतिनिधि र नेहरूका बीचमा के–कसरी छलफल भएको थियो ? को–को थिए त्यसमा सहभागी ? योचाहिँ नयाँ हो जुन सरदार पाँडेको ‘त्यसबखतको नेपाल’मा पढ्न सकिन्छ । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको विजयशमशेरलाई भेटेर जुन तथाकथित ‘मध्यमार्ग’को सूत्र सुझाएका थिए त्यही कारण सात सालमा नेपालमा अधकल्चो राजनीतिक परिवर्तनलाई व्यापक असन्तुष्टिका बीचमा स्थापित गरिएको थियो । त्यसको पनि अन्तरकथा पढ्न सकिन्छ पुस्तकमा । 

कालजयी संगीत’ भनेझैँ पुस्तक हो यो । समुद्रमा पानीको बाहिरी सतहमा हिउँको सानो टुक्रा देखिए पनि भित्र भीमकाय डल्लो हुन्छ भनेझैँ पुस्तकका केवल दुई–चार कुरा यहाँ ‘हाइलाइट’ गर्न खोजेको छु, पुस्तकभित्र डुबुल्की मार्दा ‘भीमकाय डल्लो’ भेटिन्छ भन्ने संकेत गर्न । 

२००७ सालको क्रान्तिको कुरा गर्दा सरदार पाँडेले त्यति ध्यान दिन नसकेको कुराचाहिँ के भने नेपाली कांग्रेसको आह्वानमा भएको त्यो सशस्त्र संघर्षमा सबैभन्दा धेरै सफल संघर्ष गर्नेमा नारदमुनि थुलुङ र रामप्रसाद राईको नेतृत्वको पूर्व माझकिराँतका किराँत मुक्तिसेना हुन् । उनीहरूले कांग्रेसको कुनै मदतविना नै आफूसँग भएको हातहतियार बटुलेर राणाहरूलाई धनकुटा, तेह्रथुमबाट पराजित गरेका थिए । यता भोजपुर, ओखलढुंगा, सिन्धुली, दोलखा, चरिकोट मुक्त गरेर बनेपा प्रवेश गर्ने तयारी गरिरहेका थिए । त्यही बखतमा दिल्लीमा त्रिपक्षीय सम्झौता भएको थियो ।

राणाहरूले जमाएर बसेको राजधानी कब्जा गर्न सबैभन्दा नजिक पुगेको मुक्तिसेना नै किराँतीहरूको थियो । उनीहरूको अर्को विशेषता के थियो भने, उनीहरूले जुन–जुन ठाउँबाट राणाहरूलाई लखेटे ती ठाउँहरू राणाहरूले पुनः कब्जा गर्ने प्रयत्न गरे तापनि सकेनन् । यसरी नेपालको सबैभन्दा ठूलो भूभागबाट राणा फौजलाई बेदखल गर्ने काम किराँती मुक्तिसेनाले गरेको थियो ।

उनीहरू काठमाडौं पनि कब्जा गरेर राणाहरूको पूरै जरा उखेल्न चाहन्थे, तर बीचैमा दिल्ली सम्झौता भयो भनियो । त्यसैले, किराँतीहरूले दिल्ली सम्झौता धोका हो भनेर विरोध गरिरहे । २००८ सालमा यही सिलसिलामा किराँत मुक्तिसेनाले सिंहदरबार विद्रोहसमेत गरे जसको मुख्य योजनाकार, अगुवा र सैन्य परिचालक रामप्रसाद राई थिए । सरदार पाँडेले पुस्तकमा यो पक्षमा भने ध्यान दिन सकेका छैनन् । प्रजातन्त्रका पक्षमा भएका संघर्ष र सक्रियता अनि विपक्षमा राणाहरूले गरेको छलफल, तयारी आदिबारे बुझ्न यो निर्विकल्प पुस्तक हो । 

५. 
पाँच, केही फुटकर । सरदार पाँडेले सबैभन्दा धेरै सँगै काम गरेको र सबैभन्दा बढी प्रशंसा गरेका व्यक्ति हुन् विजयशमशेर । बिपी कोइरालालाई कट्टरपन्थी राणाहरू अनशनकै क्रममा जेलमै मरेको देख्न चाहन्थे, तर त्यसो हुन नदिने व्यक्ति थिए विजयशमशेर । उनैले मोहनशमशेरलाई बिपीसँग भेट गर्न मनाएर बिपीलाई अनशन तोड्न सहमत गराएका थिए ।

उनै विजयशमशेर नै हुन्, जसले बिपी कोइराला काठमाडौंमा भेष बदलेर ज्याठाटोलका त्रिरत्नको घरमा बसेर राणाविरोधी गतिविधि गरिरहेको एक–एक कुरा थाहा पाएर पनि गिरफ्तार नगरी बस्ने राणा । स्वयं श्री ३ मोहनशमशेरले झपारेपछि मात्र विजयशमशेरले बिपीलाई गिरफ्तार गरेका थिए । उनी चाहन्थे, बिपीहरूको गतिविधि बढ्यो भने श्री ३ मोहनशमशेरलाई दबाब हुन्छ र वैधानिक सुधारतर्फ अग्रसर हुन बाध्य हुनेछन्, तर विनाशकाले विपरीत बुद्धि उनीहरूले बिपीलाई थुनेर तह लगाउने सोच बनाए । 

आर्थिक योजना निर्माण, पञ्चवर्षीय योजनालगायत महत्वपूर्ण काममा जहिल्यै विजयशमशेरका नजिकका सहयोगीको भूमिका खेलेका थिए सरदार पाँडेले । यसकारणले मात्र नभएर विजयशमशेरको आधुनिक विचारधाराका कारण सरदार भीमबहादुर पाँडेले उनलाई उच्च प्रशंसा गरेका छन् । त्यसरी प्रशंसा गरिएकामध्ये जर्नेल कृष्णशमशेर पनि पर्छन् जो राणा शासनलाई आधुनिक मान्यताअनुसार परिवर्तन गर्नुपर्छ भन्ने मान्यता राख्थे । 

एक–दुई स्थानमा सरदार पाँडे संस्थापन पक्षीयजस्तो देखिन्छन् । कतिपय स्थानमा उनले राणाविरोधी गतिविधिलाई ‘षड्यन्त्र’ र अगुवाइ गर्नेलाई ‘षड्यन्त्रकारी’ भनेका छन् । राणा शासनविरुद्ध सशस्त्र संघर्ष गर्ने नेपाली कांग्रेसलाई एक ठाउँमा ‘आतंकवादी’समेत भनेका छन् । यद्यपि झल्याक–झुलुकबाहेक समग्र लेखनमा चाहिँ उनको त्यस प्रकारको आक्षेप र आग्रह भेटिँदैन । 

पुस्तकमा उनले नेपाललाई भारतमा गाभ्ने कुरामा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू मन्त्रिमण्डलका केही मन्त्रीहरू लागेका थिए, तर नेहरू नेपाललाई भारतमा गाभ्ने कुराको विरोधी थिए भनेर निकै मिहिनेतपूर्वक बचावट गरेका छन् । जबकि त्यतिखेरै पनि खुबै विवादित हुन पुगेको थियो ‘भारतको सुरक्षासीमा हिमालय हो’ भन्ने ‘नेहरू डक्ट्रिन’ । तर, पाँडेले यसलाई पूरै नजरअन्दाज गरेका छन् । 

इतिहासका अध्येयताका लागि यो किताब इतिहास हो, समाज अध्ययन गर्नेका लागि यो किताब समाजशास्त्र–मानवशास्त्र हो, आर्थिक इतिहास अध्ययन गर्नेका लागि यो किताब अर्थशास्त्र हो, राजनीतिक संघर्षको अध्ययन गर्नेहरूका लागि यो किताब राजनीतिशास्त्र हो भन्दा फरक पर्दैन ।