• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २३ शनिबार ०८:५२:००
समाज

अपांग बन्न चाहन्नँ

सहरको अदृश्य कथा

२०७६ कार्तिक २३ शनिबार ०८:५२:००

त्यस दिन रोशन गिरी (१६) को जीवनमा विपत् नआएको भए यतिवेला उनी एसइई परीक्षा दिने तरखरमा हुन्थे । एकपछि अर्को विपत्को शृंखलाले रोशनलाई स्कुलको कक्षाकोठाबाट निकालेर गाडीको सहचालक बनायो । विपत्ले उनलाई त्यहाँ मात्रै पु-याएन, पशुपति मन्दिरको गेटबाहिर हात फिँजाएर माग्न बाध्य पनि बनायो । 

रोशनले पशुपति मन्दिरवरपर माग्न थालेको ६ महिना बितिसक्यो । बितेको ६ महिनामा रोशनले जम्माजम्मी २० हजार पैसा बचाए । अब उनलाई पु-याउनु छ, ८० हजार । गर्नु छ आफ्नो खुट्टाको अप्रेसन । तर, त्यत्रो पैसा कहिले पु¥याउने ? उनी वेला–वेला आत्तिन्छन् । तर, हिम्मत हारेका छैनन् । प्रत्येक दिन ८० हजार पु-याउन पशुपति धाइरहेका छन् । बाटोमा माग्न बसिरहँदा डाक्टरले भनेको शब्द बारम्बार उनको कानमा गुन्जिन्छ । ओम हस्पिटलका अर्थोपेडिक सर्जन डा. अच्युत राजभण्डारीले भनेका थिए, ‘अप्रेसन ढिलो भयो भने जीवनभर अपांगै बस्नुपर्ने हुन्छ ।’ 

०००
रोशनको घर सर्लाही सुन्दरपुर हो । एउटा फुसको झुपडी छाडेर उनका बुबाआमा २० वर्षअघि काठमाडौं छिरेका थिए । बुबाआमाले घर–गाउँ छाड्नुको मुख्य दुई कारण थिए, पहिलो गरिबी, दोस्रो दलित भनी हेप्ने समाज । काठमाडौं पस्दाका अनगिन्ती रंगीन सपनाका फेहरिस्त वेला–वेला सुनाउँछिन् उनकी आमा । 
बालबालिकाका लागि बुबाआमा आइडल हुन्छन् । रोशनका लागि पनि उनका बुबा (चन्देश्वर गिरी) आदर्श थिए । सुरुमा तरकारी बेचेर रोशनसहित तीन सन्तान हुर्काइरहेका थिए उनले । 

पछि बिस्तारै तरकारी बेच्न छाडे, रक्सी पिउन थाले । अब चन्देश्वर बिहानै उठेर कतै जाने र बेलुकी खुद्रा पैसा, चामल बोकेर घर आउन थाले । चन्देश्वरको कामबारे रोशनकी आमा फूलदेवी गिरीले छोराछोरीलाई कहिल्यै बताइनन् । बरु रोशनसहित तीन छोराछोरीलाई स्कुल पढाइरहिन् । रोशनलाई पशुपतितिर घुम्न नजाऊ भनेर आमा बारम्बार भन्थिन् । 

रोशन कक्षा ५ पुगिसकेका थिए । एक दिन साँझ बुबालाई अनौठो भेषमा देखे रोशनले । निधारमा खरानी घसेको, गेरुवस्त्र लगाएको, झोला बोकेर जोगीको भेषमा बुबा घरभित्र पसे । झोलाबाट खुजुरा पैसा, चामल र फलफूल निकाले । रोशन अचम्ममा परे । आमाले पशुपतितिर नजानू भन्नुको कारण रोशनले बल्ल बुझे । रोशन भन्छन्, ‘बुबाले बाटोमा भिख मागेर हामीलाई पढाउनुहुन्छ भन्ने थाहा पाउँदा एकदमै दुःख लाग्यो । त्यसपछि हामी झनै मिहिनेत गरेर पढ्न थाल्यौँ ।’ 

चन्देश्वरले पशुपतिमा भिख मागेर तीन सन्तान पढाइरहे । फूलदेवी अर्काको घरमा भाँडा माझ्न, लुगा धुन गइरहिन् । रोशनसहित एक भाइ र बहिनी स्कुल गइरहे । रोशनले ६ कक्षा पनि पास गरे । जीवन जसोतसो चलि नै रहेको थियो । एक दिन ओछ्यानबाट चन्देश्वर उठ्न सकेनन् । 
०००

चन्देश्वर तीन दिनसम्म ओछ्यानमै सुतिरहे । दुब्लाउँदै गए । उनको आँखा र हात पहेँलो हुँदै गयो । उठ्दा थरर काम्न थाले । तर, रक्सी पिउन छाडेनन् । झन्–झन् दुब्लाउँदै गए । आँखा झनै पहेँलो हुँँदै गयो । एक दिन सिकिस्तै भएपछि चन्देश्वरलाई सिनामंगलस्थित केएमसी अस्पताल लगियो । करिब एक महिना अस्पताल राखियो तर निको भएन । मन्दिरमा भिख मागेको पैसा पनि सकियो ।

फूलदेवी आत्तिइन् । त्यही वेला पशुपतिका जोगीहरूले चन्दा उठाएर केही पैसा ल्याए । उपचार गरे, अहँ निको भएन । सर्लाहीको फुसको घर धितो राखेर एक लाख १५ हजार रुपैयाँ ल्याइयो । त्यो पैसा पनि सबै सकियो, निको भएन । अन्ततः रोशनको बुबालाई जन्डिसले लग्यो । पशुपतिका जोगीहरू मिलेर चन्देश्वरको दाहसंस्कार गरे ।
०००
अब दुई छोरा र एक बहिनी हुर्काउने जिम्मा फूलदेवीको भयो । चन्देश्वरविना उनलाई छोराछोरी हुर्काउन हम्मे प-यो । रोशन भन्छन्, ‘आमाको कमाइ ७ हजार हुन्थ्यो, कोठाभाडा नै ६ हजार तिर्नुपथ्र्यो ।’ ६ कक्षा पास गरी रोशन भर्खर सातमा पुगेका थिए । नयाँ किताब पढ्ने उनीसँग उमंग थियो । तर, नयाँ किताब हेर्नै पाएनन् । स्कुल जानुपर्ने रोशन अब निस्किए, कामको खोजीमा । 

गौशलाको टिकट काउन्टरका हरि यादवले रोशनलाई गाडी लाइनमा काम मिलाइदिए । रोशन जनकपुर–काठमाडौं चल्ने हाइसको सहचालक बने । त्यसपछि काठमाडौंको रिङरोडमा चक्कर काट्न थाले । दुई वर्ष रिङरोड चल्ने बसको ढोकामा झुन्डिएर बिताए । भन्छन्, ‘महिनाको ६ हजार दिन्थ्यो । त्यो पैसा आमालाई दिन्थेँ ।’ 

वैशाख महिनाको पहिलो साता । रातको करिब ८ बजे । उनी काम गर्ने गाडी गौशाला चोकनजिकैबाट ब्याक गरेर फर्काउन लागिएको थियो । उनी पछाडि सिठी बजाउँदै चालकलाई इसारा गर्दै थिए । रोक्न संकेत गर्दागर्दै गाडी रोकिएन । सायद चालकले देखेनन् । गाडीले रोशनलाई बिजुलीको खम्बामा च्यापिदियो । रोशन चिच्याउन थाले, कराउन थाले । गाडीले च्याप्न छाडेन । 

रोशनको कम्बरको भाग बेस्सरी च्यापियो । रोशन निकै चिच्याएपछि बल्ल चालकले झ्यालबाट पछाडि हेरे, रोशनलाई देखे । चालक मनोज यादवले रोशनलाई ओम अस्पताल लगे । कसैले फूलदेवीलाई खबर गरिदिए । उनी दौडिँदै ओम अस्पताल पुगिन् । फूलदेवी भन्छिन्, ‘ड्राइभरले मोबाइल नम्बर र दुई हजार रुपैयाँ दियो । भोलिपल्ट फोन गर्दा फोनै लागेन ।’ चालक बेपत्ता भए । एक्सरे गर्दा देखियो, रोशनको हिप र खुट्टा जोड्ने हड्डी फुटेको छ । हड्डी फुटेकाले तुरुन्तै अप्रेसन गर्नुपर्ने डाक्टरले बताए । रोशन भन्छन्, ‘एक महिनाभित्र अप्रेसन गर्नुपर्छ भन्यो । उपचारका लागि ८० हजारजति लाग्छ रे !’ रोशन नदुख्ने औषधि खाएर रातभरि अस्पतालमै बसे । भोलिपल्ट बिहानै डेरा फर्किए । 

गौशला नजिकैको टिनले बारेको टहरोमा बित्न थाले रोशनका दिनहरू । एक महिनापछि फेरि अस्पताल पुगे । डाक्टरले अप्रेसन नै गर्नुपर्ने र ढिला भए जीवनभर अपांग भएरै बस्नुपर्ने बताए । ओम अस्पतालमा भन्दा सस्तो हुन्छ कि भन्दै जोरपाटीको अपांग अस्पतालमा पुगे । रोशन भन्छन्, ‘त्यहाँ त झन् एक लाख २० हजार लाग्छ रे !’ वीर अस्पतालमा सित्तैमा उपचार हुन्छ रे भनेर रोशनलाई कसैले सुनायो । आमासहित उनी वीर पुगे । रोशन भन्छन्, ‘एक्सरे गर्न पनि पैसा लियो । अप्रेसन गर्न पनि पैसा लाग्छ रे ! त्यसपछि त्यहाँ गइनँ ।’

उपचारको कुनै सम्भावना भएन । नदुख्ने औषधि खाँदै रोशन डेरामै बसिरहे । आमासँग केही उपाय थिएन तर रोशनलाई सान्त्वना दिइरहिन् । अब रोशनको दिमागमा आउन थाल्यो, बुबाले गर्ने गरेको काम । भन्छन्, ‘आमाले त्यसरी बाटोमा माग्न नबस्नू भन्नुभएको थियो । तर, मैले अरू केही पनि उपाय देखिनँ ।’ आमाको कुरा नटेरी रोशन अब बैसाखी टेकेर पशुपति मन्दिरपरिसरमा धाउन थाले । 

रोशन त्यहीँ बसेर हात फिँजाउन थाले, जहाँ कुनै समय उनको बुबा निधारमा खरानी घसेर बस्थे । उनको बुबासँग गेरुवस्त्र, चिम्टा र कमण्डलु थियो, रोशनसँग छ, एक जोर बैसाखी । बुबा र छोराको माग्ने थलो एउटै भए पनि उनीहरूबीच एउटा फरक भयो । बुबाको पालामा भिख माग्न छुट थियो । छोराको पालामा भिख माग्न प्रतिबन्ध लगाइयो । रोशनलाई बाटोमा बसेर भिख मागेको भन्दै प्रहरीले लखेट्न थाल्यो । प्रत्येक दिन बिहान ८ बजे पशुपतिको गेटमा माग्न पुग्नु, पुलिसले लखेट्दा सकिनसकी भाग्नु अनि घाम डुबेपछि दुई–चार सय रुँपैयाँ लिएर डेरा फर्किनु उनको दैनिकी हुन थाल्यो । 

उता डाक्टरले तोकेको अप्रेसनको मिति नजिकै आइसक्यो । यता प्रहरी र पशुपति विकास क्षेत्रका कर्मचारीले लखेटेको लखेटै गर्छ । मन्दिर वरपर बसेर सहयोग माग्न नदिएपछि रोशनका साथीहरूले पसलपसलमा चन्दा पनि उठाए । तर, मानिसहरूले पत्याएन । प्लम्बर काम गर्ने रोशनका साथी शंकर साफी भन्छन्, ‘एक हप्तामा बल्ल २ हजार जति उठ्यो । मान्छेहरूले हाम्रो विश्वास नै गरेनन् । त्यसपछि उठाउन छाड्यौं ।’ 

रोशन प्रहरीबाट लुक्दै भाग्दै सहयोग उठाइरहेका थिए । रोशनको जीवनमा फेरि अर्को आपत आयो । टेक्दाटेक्दै उनको वैशाखी कमजोर भइसकेको थियो, त्यो पनि भाँचियो । अब रोशन पशुपति जान नसक्ने भए । भन्छन्, ‘अलि अलि जम्मा भएको पैसा पनि घर खर्चमै सकिन थाल्यो ।’ 
०००

रोशन २ महिनापछि फेरि अस्पताल गए । डाक्टरले भने, ‘अप्रेशन गर्न ढिलो भयो भने समस्या हुन्छ । छिटो गर ।’ तर, रोशनसँग केही उपाय थिएन । त्यतिकै फर्किए ।

रोशन डेरामै बस्न थालेको १५ दिन बितिसकेको थियो । बुवाको साथी सोहन पासवान (५०) उनको डेरामा पुगे । सोहन कवाडीको काम गर्छन् । सडकमा फ्याँकेको थोत्रो पानीको बोतल जम्मा गर्नु उनको काम हो । सोहनलाई देख्दै वित्तिकै रोशन खुसी भए । किनकी सोहनको हातमा थियो, रोशनको लागि एकजोर बैसाखी । रोशनको आँखा खुसीको आँशुले भरियो । सोहनले त्यो बैशाखी किनेर ल्याएका थिएनन् । उनी भन्छन्, ‘वनकालीको धर्मशालानिर फोहरमा भेटेको ।’
वैशाखीले रोशनलाई खुसी दिलायो । वैशाखी सुम्सुम्याउँदै उनी हाँसे । अब मन्दिरमा सहयोग माग्न जान सक्ने भए उनी । त्यसपछि तुरुन्तै वैशाखी टेक्दै पशुपति पुगे, रोशन । फेरि उसैगरी माग्न थाले । 

अहिले रोशनसँग जम्माजम्मी पैसा २० हजार जति छ । अझै ६० हजार पु-याउनुछ उनलाई । तर, त्यो २० हजार पनि कतिबेला घट्छ पत्तो पाउँदैनन् उनी । भन्छन्, ‘आमाले कमाएको पैसाले कोठाभाडा ठिक्क हुन्छ, मैले कमाएको पैसाले खाना र भाइबहिनीलाई पढाइ खर्च ठिक्क भइरहेको छ ।’

रोशनकी आमाले उनलाई सान्त्वना दिइरहन्छिन् । भन्छिन्, ‘विस्तारै ठिक हुन्छ, धेरै चिन्ता नगर् ।’ रोशनको बुवाका साथीहरू पनि छैनन् । पशुपति क्षेत्रमा माग्न नदिएपछि सबै लाखापाखा लागे । उनीहरू भइदिएको भए केही उपाय हुन्थ्यो कि भन्ने लाग्छ रोशनलाई । तर, अब त्यो पनि रहेन । पशुपतिमा निर्वाद माग्न दिएको भए पनि पैसा जम्मा हुन्थ्यो भन्ने लाग्छ उनलाई । भन्छन्, ‘माग्दै दिँदैन, लखेटी हाल्छ ।’ 

रोशनलाई केही मानिसले सहयोग गर्ने आश्वासन पनि दिए । तर, भोलिपल्ट ती मानिस आउने बाटो हेर्दा हेर्दै त्यसै रात पथ्र्यो । गाडीलाई समाइदिन्छु भन्ने पनि आए । तर, ती मान्छे पनि भोलीपल्ट देखा परेनन् । केहीले सहयोग गर्न कार्ड बनाइदिने बचन पनि दिए । तर परिणाम सुन्य । रोशनले ट्राफिक कार्यालयमा उजुरी दिन नगएको पनि होइन । रोशन भन्छन्, ‘तर टफिकले कुरै सुनेन ।’ 

वैशाख १० गते दुर्घटनामा परेका थिए उनी । आज ६ महिना वितिसक्यो । यो ६ महिनामा दसैँ गयो, तिहार गयो, छठ पनि गयो । तर, रोशनको पीडा गएन, झन् 
बढ्दो छ । फूलदेवी अर्काको घरमा काम गर्न गइरहेकी छन् । रोशन भन्छन्, ‘अब त बहिनीले पनि पढाइ छाड्यो । उ पनि आमासँगै काममा जान्छे ।’

ओम हस्पिटलका अर्थोपेडिक सर्जन डा. अच्युत राजभण्डारी भन्छन्, ‘मैले ४ महिना अघि नै छिटो अप्रेशन गर्नु भनेको थिएँ, तर, त्यो भाइ आजसम्म आएको छैन । अन्तै अप्रेशन गरे होला भन्ने लागेको थियो । अहिले चोटको अवस्था के कस्तो छ, हेर्नैपर्छ । अप्रेशन गर्न ढिलो भयो भने सँधै अपांगै हुन पनि सक्छ ।’ रोशन मसिनो स्वरमा भन्छन्, ‘म अपांग हुन चाहान्न । तर, खै अब कसलाई के भनुँ ।’ 
०००

गौशाला प्रहरी बिटबाट दक्षिण तर्फको ओरालो सकिएपछि मन्दिरतिर सोझिने एउटा बाटो सुरु हुन्छ । हो, त्यही बाटोमा भेटिन्छ हरेक दिन रोशनलाई । बिहान ८ बजेदेखि बेलुकी घाम नडुबेसम्म बैशाखी टेकेर मागिरहेको रोशनलाई भेटिएन भने सम्झिनु, उनलाई पुलिसले कतै पर लखेटिसकेको छ ।