• वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
देवराज अर्याल
२०७६ कार्तिक २३ शनिबार १०:२९:००
साहित्य

‘रातो चामल’को कथा

२०७६ कार्तिक २३ शनिबार १०:२९:००
देवराज अर्याल

अंग्रेजी साहित्यमा छोटा आकारका कथाहरू निकै लोकप्रिय मानिन्छन् । निश्चित घटना र परिवेशमा आवश्यक तथ्य र विवरणका साथ टिप्पणी समेटर लेखिने यस्ता छोटा कथा मूलतः यथार्थमा आधारित हुने गर्दछन् । धेरै मानिसले चासो राख्ने घटना र विषयवस्तुमा आवश्यक विवरणका साथ पात्र र परिवेशको संगति मिलाएर यस्ता छोटा कथा लेखिने गर्दछ । जसमा लाक्षणिकता, प्रतीकात्मकता र व्यंग्यात्मकताको रसायन जडित गरी कथालाई बढी पठनीय बनाउने कोसिसगरिएको हुन्छ । 

मार्मिक धराधामको परिवेशमा समस्याहरूलाई उजागर गरी समाधानका निम्ति सन्देश प्रवाह गर्ने ढंगले कथाहरूलाई प्रस्तुत गरिएको हुन्छ । कता–कता समाचार टिप्पणीको आभास महसुस हुने गरी साहित्यिक बाछिटाको प्रभाव आउने गरी छोटा कथा सिर्जना गरिएका हुन्छन् । त्यसैले अंग्रेजी साहित्यमा ‘सर्ट स्टोरी’ भनिने यस्ता छोटा कथाहरू अत्यधिक प्रचलनमा छन् । 

अंग्रेजीमा सर्ट स्टोरी भनिने यस्ता छोटा कथाहरू नेपाली साहित्यमा लघुकथाका रूपमा परिचित छन् । यद्यपि कथा, कविता, गजल, महाकाव्य, खण्डकाव्य र निबन्धहरूको तुलनामा नेपालमा लघुकथाको विधा तुलनात्मक रूपमा फस्टाउन सकेको छैन । केही सीमित साहित्यकारहरूले मात्रै यस विधामा कलम चलाउने गरेका छन् । यिनै सीमित साहित्यकारहरू मध्येका हुन्, डा. विदुर चालिसे । हुन त डा. चालिसे लघुकथाभन्दा अन्य विधामा बढ्ता परिचित छन् । हालै मात्र प्रकाशनमा आएको ‘रातो चामल’को प्रस्तुतिले उनलाई यस क्षेत्रको आधिकारिक हस्तीका रूपमा स्थापित गरेको छ । साथसाथै, नेपाली साहित्यमा पनि लघुकथाको सम्भावना व्यापक रूपमा रहेको तथ्यलाई उजागर गरेको छ । 

नेपाली परिवेशमा सिर्जना गरिएको किताब हो, रातो चामल । जसमा कथाकार चालिसेद्वारा सिर्जनाबद्ध ७४ वटा विभिन्न शीर्षकका लघुकथा समाविष्ट छन् । नेपाली समाजको समसामयिक परिवेश, घटना र विषयमा केन्द्रित भएर सिर्जना गरिएका कथाहरू यस किताबमा छन् । राजनीति, शिक्षा, स्वास्थ्य, मनोविज्ञान, प्रकृति, मानवीय समवेदना, प्रेम, बिछोड, मिलन र आधुनिक समाजको विविध पक्षका सन्दर्भहरूलाई उजागर गर्दै सिर्जना गरिएका उल्लिखित कथाहरूमार्फत कतै व्यंग्यात्मक रूपमा, कतै प्रतीकात्मक रूपमा, कतै लाक्षणिक रूपमा त कतै सीधा रूपमा सन्देशहरू प्रवाह गरिएका छन् ।

कथा लेख्ने सामान्य शैलीभन्दा अलि फरक शैली र सन्दर्भबाट लेखिएका कथाहरूको संग्रह आफैँमा एउटा कौतूहल सिर्जना गर्ने किताब हो । यस किताबमा रहेको कथाको मूल शीर्षक नै जिज्ञासा र कौतूहल उत्पन्न गराउने प्रकारको छ । नेपालमा रातो चामलको विशेष अर्थ छ । खासगरी उच्च वर्ग, घरानियाँ र शीर्ष नेताहरूले रातो चामलको प्रयोगमा बढ्ता आसक्ति देखाउन थालेपछि यसको विशेष अर्थ अनुभूत हुन थालेको हो ।

नेपालको राजनीतिमा त रातो चामलको लाक्षणिक अर्थ अलिकति उच्च घराना र सम्भ्रान्तहरूको भोजनका रूपमा लिइन्छ । नेपालका विरलै स्थानहरूमा उत्पादन हुने रातो चामल ‘हाइकल्चर’का रूपमा उपयोग हुने खाद्य वस्तु हो । तर, अहिले चलनचल्तीमा ‘रातो चामल’ शब्द ‘पपुलर कल्चर’ का रूपमा प्रयोग भइरहेको छ । डा. चालिसेले यही लोकप्रिय शब्दलाई आफ्नो कथाको शीर्षक बनाएर लुघकथा लेखनमा नयाँपन दिन खोजेका छन् । 

संग्रहमा समाविष्ट धेरैजसो कथा यथार्थपरक छन् । घटनाहरू जीवन्त छन्, सत्य र तथ्यको संयोजन मिलेको छ । प्रस्तुतिमा केही क्लिष्टता भए पनि कथाको सार बुझ्न र सन्देश ग्रहण गर्न धेरै घोत्लिनु पर्दैन । कथामा भनिएको छ– ‘यो रातो चामल गरिबले खाने होइन, उत्पादनचाहिँ गरिबको खेतमा हुन्छ । गरिबको खाना बनारस जाना । धनीका खाना रातो चामलमे मेजमाना’ । 

डा. चालिसेले विद्यमान समाजको यथार्थलाई कहीँ–कतै लुकाउन खोजेका छैनन् । बरु, उनले समाजमा विद्यमान सबै प्रकारको संस्थापन पक्षहरूको हालीमुहाली, रवाफ र जनताप्रति गरिएको अन्याय र शोषणलाई उजागर गरेका छन् । सदीयौँदेखि समाजमा योगदान गरेर पनि उनीहरूको इतिहासलाई लुकाइएका, अधिकार खोसिएका, आवाज दबाइएका कमजोर र सीमान्तकृत समुदाय अर्थात् ‘सल्वार्टन’हरूको आवाजलाई मुखरित गरेका छन् । र, आफ्नो अधिकारको सुनिश्चितताका लागि आवाज उठाउनुपर्ने सन्देश कथामार्फत दिएका छन् । ‘अभ्यस्त भद्रहरू’, ‘सिपाहीको शिविर’, ‘गाउँमा सिंहदरबार’, ‘रुद्राक्ष’ र ‘पास आउट’लगायत कथाहरूमा डा. चालिसेले सल्वार्टनहरूको आवाजलाई जोड दिएर उठाएका छन् । 

कथा लेख्ने सामान्य शैलीभन्दा फरक र नयाँ सन्दर्भबाट लेखिएका कथाहरूको संग्रह आफैँमा एउटा कुतूहल सिर्जना गर्ने किताब हो । कथाले मूल शीर्षकले नै जिज्ञासा र कुतूहल उत्पन्न गराउँछ ।
 

संग्रहमा केही मानवीय मनोविज्ञानसँग जोडिएका विषयवस्तुलाई पनि कथामार्फत उठाइएको छ । खासगरी विधवा, विधुर हुँदाका पीडा, उनीहरूको मनभित्र खेल्ने भावना, अनि बुढेसकालको समस्या र बुढेसकालमा आउने यौन चाहनाका विषयहरूलाई पनि कथाकारले उजागर गरेका छन् । ‘प्रजनन सुधार’, ‘त्यो बाँ’, ‘चैतको सारंगी’लगायत कथाहरूमा विभिन्न उमेर समूहका पुरुष तथा महिलामा हुने यौन चाहनाको फरक–फरक रूपलाई भावनात्मक रूपमा प्रकट गरिएको छ । पछिल्लो समयमा सामाजिक सञ्जालहरूको विकास र विस्तार भएपछि यस्ता भावनाहरूको साझेदारी गर्नमा सहयोग मिलेको तथ्यलाई कथाकारले यी कथाहरूमार्फत उजागर गरेका छन् । साथै, अव्यवस्थित व्यवहारले पार्न सक्ने सम्भावित खतरातर्फ खबरदारीसमेत गरेका छन् । 

नेपाली साहित्यमा कथाहरू धेरैले लेखिएका छन् । तर, छोटो कथा लेख्न भने अलि सोच्नुपर्ने हुन्छ । थोरै शब्दमा एउटा घटना र परिवेशको सम्पूर्ण पक्ष उतार्नुपर्ने भएकाले यसलाई संयोजन गर्नु धेरैलाई कठिनाइ हुन्छ । छोटा कथाहरूमा कल्पना र भावनाले मात्र पुग्दैन, तथ्य र विवरण एवं यथार्थको राग आउनुपर्ने हुन्छ । त्यसो भएको हुनाले पनि कमै मात्रले यस क्षेत्रमा कलम चलाउने गर्दछन् । डा. चालिसेले निकै मिहिनेत गरेका छन् । विभिन्न सन्दर्भ र उदाहरणको प्रयोग गरेका छन् । नयाँ नयाँ शब्दको खोजी गरी उचित ढंगले संगति मिलाउने कोसिस गरेका छन् । 

भुँडी पुराण प्रकाशन प्रालिले प्रकाशनमा ल्याएको संग्रह छपाइका हिसाबले मध्यमस्तरको रहेको छ । कथाको विषयवस्तुअनुसारका चित्र तथा रेखांकीय प्रस्तुति दिनसकेको भए त्यसको एउटा विशेष अर्थ हुने थियो । यद्यपि प्रस्तुतिलाई आकर्षक बनाउने कोसिस भने गरिएको छ । विषयवस्तुको वजनअनुसारको छपाइ र डिजाइनको भारमा सन्तुलन नमिलेको हो कि भन्ने आभास पाइन्छ । तथापि, नेपाली लोककथाको भण्डारमा यो प्रकाशनले एउटा इँटा थप्ने काम गरेकोमा खुसी नै मान्नुपर्ने हुन्छ ।