• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ कार्तिक २३ शनिबार ११:०८:००
फिल्म

झमक भेषमा रोजिता

२०७६ कार्तिक २३ शनिबार ११:०८:००

झमक भेट्नुअघि रोजिता बुद्धाचार्य (२६)लाई एकाबिहानै ‘थिएटर भिलेज’बाट फोन आयो । फोन थियो रंगकर्मी विमल सुवेदीकोे । भर्खर नुहाएकी रोजिताको कपाल पनि सुकेको थिएन । भिजेकै कपालमा उनी थिएटर भिलेज पुगिन् । भन्छिन्, ‘एकदम ‘झोलेपारा’ले पुगेको थिएँ ।’

थिएटर भिलेजमा पुगेपछि विमल सुवेदीले चिनाए ‘जीवन काँडा कि फूल’का निर्माण टिमलाई । तर, रोजिताका लागि सबै नौला थिए । लेखक मुकुन्द बराल र निर्देशक विनोद विष्टले घोरिएर हेरेको उनलाई सम्झना छ । चुपचाप बसिरहेकी रोजितालाई विष्टले सोधे, ‘जीवन काँडा कि फूल भन्ने किताब पढ्नुभएको छ ?’मनोविज्ञान जाँचिरहेको लाग्यो रोजितालाई । किताब कत्तिको पढ्ने कलाकार हो भनेर जान्न खोजेको पनि लाग्यो उनलाई । एकछिन अलमलिइन् । तर, कुनै दिन पुतलीसडकमा हिँडिरहेको वेला त्यो किताब किनेर पढेकी थिइन् । उनले भनिन्, ‘पढेकी छु ।’

एकछिनपछि फेरि निर्देशकले उनलाई भने, ‘आफ्नो कपाल काट्न सक्नुहुन्छ ?’ रोजिता अकमक्क परिन् । आफ्नो लामो र सिल्की कपाललाई उनीहरूले व्यङ्ग्य गरेजस्तो लाग्यो । रोजिताले भनिन्, ‘पहिला कपाल सोचेँ, अनि उपयुक्त भूमिका पाए कपाल काट्न सक्छु भनेँ ।’
०००
त्यसपछि रोजिताले पुस्तक दोहो-याई/तेह-याई पढिन् । झमक घिमिरेलाई अझ नजिकबाट चिन्ने कोसिस गरिन् । भन्छिन्, ‘पढ्दै गएपछि उहाँलाई हेर्ने दृष्टिकोण नै फेरियो ।’ आफ्नो लामो कपालको माया रोजितालाई थियो । सँगै अभिनयप्रति गहिरो लगाव पनि । तर, रंगमञ्चको कलाकार भएको नाताले फिल्म पनि गर्नु नै थियो । मनमनै कपाल काट्ने अठोट गरिन् उनले । 

केही समयपछि विमल सुवेदीले फेरि थिएटर बोलाए, उनलाई । रोजिता थिएटर पुगिन् । उनको अगाडि एउटा ह्विलचियर थियो । उनलाई त्यहाँ बस्न भनियो । उनी बसिन् । गुरु विमलको निराश अनुहार देखेर रोजिता पनि निराश भइन् । सुवेदीले ह्विलचियरमा ढुंगाहरू राखिदिए । रोजिता फेरि बसिन् । रोजितालाई ढुंगाले घोच्यो । चलमलाइन् । अनि हतारमा उठिन् । भन्छिन्, ‘दाइले भन्नुभयो, शारीरिक अशक्त झमक घिमिरे दिदीलाई कति दुख्छ होला ?’ 

रोजिताले ‘इन द रेड एन्ड ब्राउन’, ‘वाटर’, ‘थ्री पेन्नी ओपरा’, ‘चारुमती’, ‘सुइना कर्णाली’ र रवीन्द्रनाथ टेगोरोको कथा ‘मालिनी’जस्ता नाटक खेलिसकेकी थिइन् । तर, झमकको संघर्षमाथिको भूमिकाले उनी तर्सिइन् । सगरमाथा आरोहणको दिन सम्झिन् । एथ्लेक्टिस खेलाडी पनि थिइन् रोजिता । उनले शरीरका अंगहरू खुम्च्याउन र बंग्याउन जानेकी थिइन् । तर, झमकको शारीरिक संरचना बिलकुल अलग थियो । त्यही संरचनामा आफूलाई बाँध्नु थियो । विमलले भने, ‘पहिला झमक दिदीलाई बुझ्नु ।’झमकको नक्कल मात्रै नगरेर ‘फिलिङ्स’ पनि बुझिदिए हुन्थ्यो भन्नेमा विमल सुवेदी बारम्बार सम्झाउँथे । भन्छिन्, ‘मैले नक्कल गर्छु कि भन्नेमा दाइ डराउनुभएको थियो ।’

अर्को एक साँझ सुवेदीले खाना खाने निम्तो दिए रोजितालाई । उनी भोकाएकी थिइन् । र, खाना पनि तयार थियो । तर, उनलाई खाना खुट्टाले खाएर देखाउनु भनियो । उनी अवाक् भइन् । त्यो ‘टाक्स’ले उनको भोक मरेझैँ भयो । उनको लागि त्यो टाक्स पार गर्नुपथ्र्यो नै । झमक घिमिरेले देब्रे खुट्टाले खाना खाएजस्तै रोजिताले पनि कोसिस गरिन् । झमकको देब्रे खुट्टाका दुई औँला सम्झिइन् ।  झमकले चलाउने औँलालाई मनमा ल्याइन् । उनले युट्युबमा भिडियो हेरेकी थिइन्, र त्यसैअनुसार अभ्यास गरिन् । अभ्यासका दिन सम्झँदै भन्छिन्, ‘शारीरिक अशक्तताको पीडा त्यसवेला गरेँ ।’त्यति मिहिनेत पछि पनि झमकको भूमिका आफूले पाउनेमा रोजिता ढुक्क थिइनन् । फिल्म पनि बन्ने–नबन्ने टुंगो थिएन । भन्छिन्, ‘बल्ल १ वर्षपछि फिल्म बन्ने सम्भावना बढ्यो ।’ 

झमक भेटेपछि 
सन् २०१५ मा झमक घिमिरेलाई सम्मान गर्ने कार्यक्रम थियो, नेपाल पर्यटन बोर्डमा । त्यहाँ झमकका कविता सुनाइएको थियो । तर, रोजितालाई कविताभन्दा झमकलाई सुन्नु थियो । त्यहाँ कलाकार दीपक बज्राचार्यले उनलाई पु-याए । र, उनी अघिल्लो बेन्चमा बसेर झमक घिमिरेलाई हेर्न थालिन् । ती दिन सम्झिँदै भन्छिन्, ‘दिदीलाई नजिकबाट देखेर मेरा आङका रौँ उठेका थिए र कान रातो भएको थियो ।’

दिनभरि झमकलाई हेरेर बिताइन् । झमकको बसाइ नियालिन् । झमकको गोडामा ध्यान गरिन् । कार्यक्रम सकिएको भोलिपल्ट झमकलाई भेट्न रोजिता हार्दिक होटेल पुगिन् । दिदीलाई भेट्न जाँदा उनले आइक्रिम बोकेर गएकी थिइन् । त्यहाँ आइसक्रिम खाँदै गफिइन् । गफको क्रममा झमकको क्रियाकलापमा आफ्नो ध्यान फोकस भएको बताउँछिन् उनी । भन्छिन्, ‘दिदीलाई भेट्नु त थियो नै धेरै कुरा सिक्नु पनि थियो ।’

त्यो भेटमा उनले झमकको भूमिका गर्दै छु भनिनन् । बरु फ्यान भएकाले भेट्न आएको बताइन् । झमकसँगै उनले बहिनी सुशीलासँग भेट्न पाइन् । झमकसँग छुट्टिए पनि रोजिताले उनीबारे सुशीलासँग दैनिक कुराकानी गरिन् । हार्दिक होटेलमा भएको ५५ मिनेटको बसाइले रोजितालाई ठूलो आत्मविश्वास दिलायो । 

झमक बनेपछि
झमक घिमिरेको जीवनमाथि ‘जीवन काँडा कि फूल’ फिल्म बन्ने पक्का भयो । तर, वर्कसप भएको थिएन । वर्कसप नभई फिल्डमा जाने खबर उनले पाइन् । उनी आत्तिइन् । तर, निर्माण पक्षले उनको अप्ठ्यारो बुझ्यो । रोजितालाई सुटिङ हुनुअघि  धनकुटा पठाइयो । उनी झमकको घरभन्दा माथिल्लो घरमा बस्न थालिन् । झमकको दैनिक क्रियाकलाप नियाल्न थालिन् । कोठामा फर्किएर झमकको क्रियाकपाल सिको गर्न थालिन् । भन्छिन्, ‘दिदीलाई बुझ्न र सिक्न मलाई निकै गाह्रो प-यो ।’

झमकको व्यक्तित्व देखेर रोजिता सुरुमा निकै डराएकी थिइन् । डरभित्र झमकको भूमिकालाई न्याय गर्न सक्छु भन्ने भरोसा पनि थियो । सुटिङ हुनुअघि उनले कपाल काटिन् । कपाल काटेको रात उनले धेरैपटक ऐना हेरिन् । र, आफूमा झमक खोजिन्, झमक भएर बोलिन्, झमक भएर बसिन्, झमक भएर खाइन् । झमक भएर सुतिन् ।

एकदिन कसैले झमकको सन्की स्वभाव छ भनेर भनिदिए । त्यसपछि उनी निकै डराइन् । कथंकदाचित झमकको मन दुखाएँ भने उहाँले के भन्नुहोला भन्ने लाग्यो । तर, संगत गर्दै गइन् । खुल्दै गइन् झमक । डर हटाउँदै लगिन् । फ्रेन्डसिप बढाउँदै गइन् । झमकले आफ्ना देब्रे खुट्टाको औँलाले बनाएका पेन्टिङ अहिले पनि रोजितासँग छ । त्यो पेन्टिङ निकै सम्हालेर राखेकी छिन् रोजिताले । फिल्ममा झमक घिमिरे बनेकी रोजिता भन्छिन्, ‘मलाई दिदीले छोरीजस्तै मान्नुभएको छ ।’