• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
मनोजबाबु पन्त
२०७६ कार्तिक २३ शनिबार ११:०८:००
फिल्म

शान्त बसिरहेको हात्तीको कथा

२०७६ कार्तिक २३ शनिबार ११:०८:००
मनोजबाबु पन्त

सिनेजगत् एउटा अमिलो खबरले तरंगित बन्छ । विपुल सम्भावनासहित गम्भीर सिनेमाको संगतिमा उदाउँदै गरेका एक युवा निर्देशक, आफ्नो पहिलो फिचर सिनेमाको अन्तिम संघारमा पुगेर आत्महत्या गरिदिन्छन् । सिनेमा निर्माणका वेला भोगेका चोट, आत्मसम्मानमा पुगेको ठेस र आफ्नो सिर्जनामा भएको हस्तक्षेपका नमीठा अनुभव सुसाइड नोटमा लेखेर उनी संसार छाडिदिन्छन् । 

‘शान्त बसिरहेको एउटा हात्ती’ नामको यो फिल्म अन्तर्राष्ट्रिय सिनेमा महोत्सवहरूको यात्रामा निस्किन्छ । संसारभरिका महान् सिने सर्जकहरू विविध मञ्चहरूमा सिनेमाको बखान गरिरहन्छन् । छोरो गुमाएकी दुःखी आमा, बर्लिन सिने महोत्सवको मञ्चमा उभिएर भन्छिन्– मेरा लागि आज खुसीको दिन त हुँदै हो । तर, असाध्यै दुःखको दिन पनि हो । म साह्रै दुःखी छु, कारण यही हात्तीले गर्दा मेरो छोरोले संसार  छाडिदियो । म खुसी छु, कारण यो हात्ती यतिखेर तपार्इंहरू सबैको बीचमा छ ।’

सिनेमाको सौन्दर्यले मन्त्रमुग्ध भएर स्ट्यान्डिङ ओबेसनका लागि उठेको दर्शकको भिड सर्जकको दुःखद अन्त्यको संवेगले घेरिएर मौनधारण पो गर्न थाल्छ  । एवम् रीतले सर्जक गुमाएको टुहुरो हात्ती अस्तित्वको एउटा गम्भीर प्रश्न सोध्दै सिने अड्डाहरूमा शान्त लस्किरहन्छ निरन्तर ।बेइजिङ फिल्म एकेडेमीबाट सिनेमा अध्ययन सकेका हु बो, केही छोटा सिनेमाहरूले दिएको आत्मविश्वाससहित पहिलो पूर्ण कदको सिनेमा बनाउन निक्लँदै थिए ।

सिनेफिलिया, एक सचेत र सिर्जनशील युवा सर्जकको आगमनले खुसी थियो । हु बो एउटा विशाल  हात्तीको बिम्ब बोकेर, मान्छेको जिन्दगीको निस्सार कथा भन्ने निर्णय गर्दै सिनेमा निर्माणमा उत्रिए । उनले समाएको हात्तीको प्रसंग यस्तो थियो– उत्तरी चीनको सानो सहर म्यान्झौली, त्यहाँको एउटा चिडियाघर– जहाँ एउटा हात्ती अचानक सबै कुराको बेवास्ता गरेर चुपचाप बस्न थालेछ दिनभर । कुन शोकले दुखेर हो, थाहा छैन । खान, कराउन र हलचल गर्नसमेत छाडेर बसिरहेको हात्तीलाई हेर्न सहरका मान्छेहरूको भिड लाग्न थालेछ । मान्छेहरू चिच्याए–कराए , काँटीले घोच्न थाले, अनेक कोसिस गरिरहे तर अहँ जिद्दी हात्ती चुपचाप बसी मात्रै रह्यो । 

निर्देशक हु बोले हात्तीको त्यो कथामा अर्थहीन जीवनको बिम्ब भेटे र त्यही हात्ती हेर्ने बेस्वादको सपना पाल्ने, जिन्दगीको घनचक्करमा फसेका दुःखी मान्छेहरूको कथा भन्न थाले । सिनेमाले यिनै भाग्य हराएका, दुःखी पात्रहरूको एक दिनको निस्सार कथालाई एसेम्बल गरेको छ ।

०००
सहरमा बाँच्ने हजारौँ मान्छेको भिडमा केही मान्छेहरू विनाअर्थ नियतिका सिकार भएका छन् । उनीहरू आफ्नो परिस्थितिबाट मुक्ति खोज्छन् र भागेर कतै टाढा पुग्न चाहन्छन् ।  एक स्कुले किशोर उई बु, आफ्नो साथीलाई फोन चोरेको आरोपमा एउटा सुकुलगुन्डाले धम्क्याइरहेको सहन सक्दैन र उसको प्रतिकार गर्दा सुकुलगुन्डा स्कुलको भ-याङबाट लडेर गम्भीर घाइते भएको छ ।

जीवनका गहिराइमा गम्भीर साधना गरिरहेका हु बोहरू आफ्नै सिनेमाको पासो लगाएर आत्महत्या गर्न विवश छन् । पुँजीवादको चिल्लो खोल ओढेको आजको कस्मेटिक मान्छे भने चिडियाघरमा दुखेर बसेको हात्ती हेर्न तँछाडमछाड गरिरहेछ ।

अन्जानवश भएको गम्भीर दुर्घटनामा उई बु नराम्रोसँग फसेको छ । यो समस्याबाट उम्कन उई बु सहर छाडेर टाढा जान चाहन्छ । तर, ऊसँग कुनै गन्तव्य छैन, उद्देश्य छैन  । साँझको रेल चढेर ऊ म्यान्झौली पुग्ने निर्णय गर्छ  । ‘म्यान्झौली किन  जान चाहन्छ्स ?’ उई बु भन्छ, ‘त्यहाँको चिडियाघरमा एउटा हात्ती चुपचाप बसिरहेको छ । त्यही हेर्न जान्छु ।’ ‘त्यो हात्ती हेरेर जिन्दगीमा के फरक पर्छ ?’ उई बुसँग यो प्रश्नको उत्तर छैन ।

०००
बुढ्यौलीले छुँदै गरेको वाङ जिन आफ्नै घरमा बोझ भएको छ । आफूले कोठा ओगटेपछि सानी नातिनी सिलाइ मेसिनमा बसेर गृहकार्य गर्न बाध्य छे । त्यसैले छोरी–ज्वाइँ उसलाई  वृृद्धाश्रम  पठाउन चाहन्छन् । तर, बुढेसकालमा आफूले जोडेको घर छाडेर वृद्धाश्रम जान वाङ जिनको मन मान्दैन । आफ्नो कुकुरले वृद्धाश्रममा माया नपाउला भन्ने उसको विचार छ । वाङको मन दुखेको छ । कुकुर डो¥याउँदै ऊ सहरमा भौँतारिइरहेको हुन्छ । कुनै गन्तव्य खोज्दै छ, जहाँ पुगेर ऊ मुक्त होस् । तर, हिँड्नुपर्ने कता हो ? पुग्नुपर्ने कहाँ हो ? केही टुंगो छैन । ऊ गल्लीहरूमा त्यसै भौँतारिइरहेको छ ।

०००
एकाबिहानै घरको छातबाट फाल हानेर आफ्नो साथी मरेको खबरले यु चेङको मन चिसिएको छ । साथीकी श्रीमतीसँग आफूले रात बिताएको सुइँको पाएर साथीले आत्महत्या गरेको हो भन्ने बोधले ऊ बेचैन छ  । मृत छोराको अन्तिम संस्कारका लागि आएकी आमा, छोराको मिल्ने साथीसँग भेटेर हलुका हुन खोज्छे । यु चेङ आफूभित्र गढेको दोषी भाव साथीको आमालाई सुनाउन सक्दैन । अपराधबोधले भित्रभित्रै छट्पटाएको  यु चेङ, रेडेम्सनको आसमा सहरमा भौँतारिएको छ ।

०००
स्कुलको सहायक डिनसँगको यौनालापको भिडियो सार्वजनिक भएपछि क्षतविक्षत भएकी किशोरी हुवङ लिङ आफ्नी जँड्याहा आमासँग मन पोख्न खोज्छे  । तर, आफ्नै अस्तव्यस्ततामा हराएकी आमासँग उसलाई सम्झाउने हैसियत बाँकी छैन । मोनोटोनस जिन्दगीमा थपिएको अर्को बज्रपातलाई थेग्न नसकेर हुवङ लिङ पनि सहर छाडेर भाग्न चाहन्छे । ऊ घर छाडेर सडकमा आइपुग्छे । ऊसँग पुग्ने ठाउँको ठेगाना छैन । सहरका गल्लीमा विनाअर्थ दुखेका आत्मा मुक्ति खोज्दै छन् । तर, किनारा नभेटेर त्यसै रुमल्लिरहेका छन् ।

०००
सन् १९५० पछिका केही दशक, युरोपियन आर्ट हाउस वृत्तमा इटालियन सर्जक फेदेरिको फेलिनीले कोरेको एउटा बिम्बको जगजगी थियो । धर्तीबाट उम्कन चाहने तर उडेर टाढा कतै पुग्न नसक्ने मान्छेहरूको कथा– सर्कसको डोरीमा झुन्डिरहेका, तैरिरहेका विदुषकझैँ थिए । रियल हुँदै सर्रियल विचरण गर्न पुगेका फेलिनिका सिनेमाहरूले सधैँ जमिन र आकाशबीच तैरिरहेको मानवीय अस्तित्वका बिम्बहरू पसारो लगाइरहे ।

वर्षाैंपछि चीनका एक युवकले खिपेको सिर्जना, फेलिनिस्क बिम्बसँग अलिकति नजिक भएझैँ लाग्छ । तर, हु बोका पात्रहरू झन् बढी निराश छन् । उनीहरू आफूले टेकेको धरातलमै दुखेका छन् । तर, तिनको उड्ने–उफ्रने आशाहरू हराएका छैनन् । उनीहरू सतहबाटै उम्केका छैनन्, बरु दलदलमा फसेको हरिणझैँ निरन्तर घस्रिरहेका छन् । के यी पात्र हु बोको अल्टर इगो बोक्थे ? के हु बो जीवनदेखि असाध्यै निराश थिए ? त्यसैले आफूले रोपेको बिरुवा फुलेको नहेर्दै उनले आत्महत्या गरिदिए ? एउटा मनोविश्लेषकका लागि यो गजबको खजाना बन्ला ।

सिनेमाको निस्सार जीवन दर्शनलाई ओकलेर नथाक्ने वेला टारलाई एकफेर सोधिएको थियो– तपाईंका सिनेमा किन यति धेरै निस्सार हुन्छन् ? के तपार्इं निराशावादी मान्छे हो ? वेला टारको उत्तर यस्तो थियो, ‘एक निराश मान्छे सिनेमाको सर्जक हुनै सक्दैन । मलाई विश्वास छ, मैले बनाएका सिनेमा संसारका कुना–कुनाका धेरै मान्छेले हेर्छन्, सेलिब्रेट गर्छन् । त्यो आसको उडानमा यत्रो लगनले सिनेमा बनाउने म त अचाक्ली आशावादी मान्छे पो हुँ त ।’ वेला टारलाई मानेर हेर्दा आफ्नो जीवन विश्वासलाई संसारसँग बाँड्न त्यत्रा प्रविधि बोकेर हिँड्ने हु बो आशावादी लाग्छन् । उसो भए त्यो कुन तत्व होला, जसले उनलाई सिनेमाको एडिटिङ टेबलमा एन–जी फुटेजहरू फाल्दाफाल्दै जीवन फाल्न बाध्य पारिदियो ?

०००
चिसा आफन्तबाट मन  दुखाएर चिसो सहरमा कुकुर डो-याउँदै हिँडेको वाङ जिन अझ बढी दुख्छ, जब उसको कुकुरलाई टोलको अर्को कुकुरले मारिदिन्छ । कुकुर मालिकलाई गुनासो पोख्न जाँदा उल्टो हप्की मात्रै खान्छ । मरेको कुकुरलाई डम्पिङ साइडको गल्छेडोमा फलिदिएर सहरमा निस्सार भौँतारिइरहन्छ । आफ्नो साथीलाई बचाउ गर्दा नराम्रोसँग फसेको उई बुको अघि जब साथीले चोरेको कुरा कन्फेस गर्छ, उई बु विनाकारण भुमरीमा फसेको बोधले छट्पटाउँछ । सहरको एकान्त खोल्सोमा पुगेर चिच्याएर विस्फोट हुन खोज्छ । आफूसँग प्रेमको नाटक गरिरहेको सहायक डिन भिडियोकाण्ड पछाडि आफू बर्बाद भएको धारणा बनाएर हुवङ लिङलाई लत्याइदिन्छ  । सहारा नभेटेर छटपटाएकी हुवङले चिडियाघरको हात्तीको सूचना देख्छे र हात्ती हेरेर सन्तुष्ट हुने झिनो सपनाको पछि लाग्छे ।

यु चेङ आफ्नो अपराधबोधबाट मुक्त हुनका लागि अनेक बहानाहरू खोजिरहन्छ । सायद उसको एकतर्फी प्रेमिकाले उसलाई तिरस्कार नगरेकी भए ऊ साथीको श्रीमतीसँग रात बिताउने थिएन । उसको साथीले आत्महत्या गर्ने थिएन । त्यसैले दोष ऊ आफ्नी कठोर मनकी प्रेमिकातर्फ सर्न चाहन्छ  । तर, यो बहानाले पनि उसको मन भरिएको छैन ।

एक बिहानै मरेको साथीले उसलाई कुनैवेला म्यान्झौलीको हात्तीको कथा सुनाएको थियो । यु चेङ म्यान्झौलीको हात्ती हेरेर मुक्त हुने लहडमा हराइरहन्छ । सहरको एक अँध्यारो सुरुङमा उभिएर अँध्यारोमा हेर्दा यु चेङलाई लाग्छ, उसको जीवन एउटा विशाल फोहोरको भाँडोझैँ भएको छ । कुँडा–कर्कट जति फाल्न खोज्यो, उति भरिँदै जान्छन् । सुरुङको भित्तामा सँगै उभिएकी कठोर युवती भन्छे, ‘सबै मान्छेको जिन्दगी त्यस्तै हो । सबैजना आफूसँग फोहोर थुप्य्राउने विशाल भाँडो बोकेर हिँडेका छन् ।’ आफ्नै समस्याको भुमरीमा फसेको सहर त्यसै दुखेको छ । सहरमा बराल्लिइरहेका निस्सार मान्छेहरू कुँडा कर्कटको भारी बोकेर भौँतारिइरहेका छन् ।

०००
पात्रहरूलाई निरन्तर पछाडिबाट पछ्याइरहेको क्यामेरा, धमिलो फोकसमा हराएको संसार, परिस्थितिको सिकार भएका दुःखी मनुवाहरूका क्लोज सटहरू अनि काँटछाँटविना निरन्तर चलिरहेको लामो टेक निस्सार जीवनको सिनेम्याटिक बिम्बहरू कोरिरहन्छन् । नित्सेले भगवान् मरेको घोषणा गरेसँगै, मान्छेको जिन्दगीलाई–मूल्य हराएको, निस्सार  भावमा अनुभूति गर्ने संस्कार साहित्यमा सल्कियो । विषाद् बोकेका मान्छेहरूका शून्य कथाहरूले सिनेमाको स्वरूपमा अझ बलियोसँग जग गाड्यो । पासोलिनीबाट वेलाटारसम्म, भोन ट्रायेर हुँदै रेगेदाससम्म, जीवनप्रतिका निस्सार दर्शनहरू सिनेमाको पर्दामा नाचिरहे । मूल्य हराएको, अर्थ हराएको, गन्तव्य र सपना हराएको अस्तित्वबोध असाध्यै उराठ र गम्भीर भइदियो ।

२०औँ सदीको उत्तराद्र्धका वेला थियो । बेस्वादले लडिएका  महान् युद्धबाट जग थाकेको थियो, विचलित थियो । अर्थलाई गम्भीर तरिकाले खोज्दाखोज्दै अर्थहीनाताको क्यानभासमा सिसिपसको कथा सापटी मागेर कामुले एक रंग भरिदिए । विनाअर्थ घस्रिरहेको मान्छेको जीवन अर्थहीन त छँदै छ । तर, यो फेद–टुप्पो हराएको, पुंगपुच्छर नमिलेको विसंगत जीवनभित्रको अर्थ न बर्थको गम्भीरता टीठलाग्दो अनि हाँसो उठ्दो छ ।

त्यसपछिका न्यारेटिभहरूले अनेक गम्भीर भनिएका मुद्दामा ठट्टा गर्न थाले । पीडाहरू अब ठट्टाका विषय बने । चिन्ताले घोत्लिरहेको मान्छे हाँसो उठ्दो देखियो । ब्ल्याक ह्युमर भन्ने जनरा यही अस्तित्व चिन्तनको फेदमा जन्मिएको थियो । मान्छेको जीवनमा यसै अर्थ छैन, उसै अर्थ छैन, यो विषादको भारी बोकेर कहाँसम्म पुग्ने हो र ? मृत्युजस्तो तर्साउने  जिनिस, मजाकको विषय बन्न थाल्यो ।

बस स्टेसनमा झोक्रिएको वाङ जिन भन्छ, ‘जिन्दगीका धेरै वर्ष व्यर्र्थ फालेपछि मैले बुझेँ– संसारको जुन कुनामा पुगे पनि केही फरक पर्नेवाला छैन । जुन ठाउँमा कहिल्यै पुग्न सकिँदैन, त्यो ठाउँ असाध्यै सुन्दर छ भन्ने विश्वास गर्दै आफ्नै पीडामा घिस्रनुबाहेक मान्छेको जातसँग अर्को सुविधा छैन ।’

अर्थहीन जीवनलाई गम्भीर भएर शोक मनाउनेहरू र यो विसंगतिलाई सेलिब्रेट गर्नेहरू समानान्तर आफ्नो दर्शन बाँचिरहेका छन् सिनेमाका कथाहरूमा  । मोक्षको आसमा रुमल्लिरहेका अभागीहरूको कथ्य बोकेको हात्ती भने मानवीय अवस्थाको शोक मनाउने कित्तामा उभिएको छ । सायद हु बोले बोकेको यही जीवन दर्शन नै उनको जीवन छिन्ने अस्त्र भइदियो ।

०००
म्यान्झौलीको हात्ती हेर्न भनी पात्रहरू सहर छाड्न लागेका छन् । साँझपखको रेल छुटेपछि बसको घुमाउरो यात्रा गर्ने निधो गर्छन् । बस स्टेसनमा झोक्रिएको वाङ जिन भन्छ, ‘जिन्दगीका धेरै वर्ष व्यर्र्थ फालेपछि मैले बुझेँ– संसारको जुन कुनामा पुगे पनि केही फरक पर्नेवाला छैन । किनकि मान्छेका भोगाइ सबैतिर उस्तै छन् । आफ्नै परिस्थितिसँग सम्झौता गरेर बाँच्नु अनि पल्लो किनार हेरिरहनु । जुन ठाउँमा कहिल्यै पुग्न सकिँदैन– त्यो ठाउँ असाध्यै सुन्दर छ भन्ने विश्वास गर्दै आफ्नै पीडामा घिस्रनुबाहेक मान्छेको जातसँग अर्को सुविधा छैन ।’

नाइट बसमा असरल्ल लडेका पात्र म्यान्झौलीतर्फको यात्रा गर्दै छन् । बस सुनसान फाँट, जंगल र सुरुङ छिचोल्दै एउटा पहाडको खोंचमा आएर रोकिन्छ । मध्यरातमा हाई बिम लाइट बालेर पहाडको खोंचमा स्थिर उभिएको छ बस । बसबाट झरेर साना नानीहरू हाई बिम लाइटको उज्यालोमा चुंगी खेल्न थाल्छन् । बीच बाटोमै अड्किएको बस डेग चल्दैन । रातको सन्नाटामा टाढा–टाढाबाट सुनिएको हात्तीको गर्जनसँगै सिनेमाले बिट मार्छ ।

०००
हु बो सिनेमाको गम्भीर साधनामा थिए । आफ्नो गहिरो जीवन अनुभूति बाँड्न चाहन्थे र सिनेमाको भाषा त्यो साधनाका लागि सबैभन्दा उपयुक्त थियो । तर, बजारमा पसारेर नाफा खान पल्केकाका लागि सिनेमा एउटा खेला मात्र भइदियो । सिनेमा सिर्जनाको दौरान सर्जक कति निचोरिएको छ ? कुन गहिराइमा पुगेर के खजाना ल्याएको छ ? र, जगत्मा त्यसले के मूल्य राख्न सक्छ ? सिनेमा–व्यापारीलाई त्यसको कुनै स्वाद भएन ।

पैसा खन्याउने निर्माताहरू, यो सिनेमाबाट पनि पैसा कमाउने सूत्रहरू खोज्दै हुँदा हुन् । सिनेमा निर्माण गर्दै जाँदा सायद उनीहरूको मनमा चिसो छिर्दै गयो । आजको जुगमा, कुनै तिलस्मी नबोकेका झ्याउरा मान्छेका कथा सुनाएर पैसा सोहोर्न सकिएला ? उनीहरूले सर्जकलाई धेरै चिमोटेछन्, धेरै आरोप लगाउन थालेछन् । ४ घन्टा लामो सिनेमा, यो फास्ट फुड जुगका लागि त्यसै बोझ थियो । निर्माताहरूले सिनेमालाई आधि छोट्याउन दबाब दिन थालेछन् । हु बोलाई एउटा फ्रेम पनि निकाल्नु थिएन  । सिनेमाको आधी हिस्सा फाल्न नसकेर उनले जीवन नै फाल्ने निर्णय पो गरिदिएछन् । यो खेला देखाएर कति पैसा सोहोर्न सकिन्छ भनी सोच्दासोच्दै, सर्जक भित्रभित्रै पिल्सिएको निर्माताहरूले भेउ नै पाएनन् ।

पुँजीवादको महामारीले संक्रमित हाम्रो जुगमा सबै कुराको लेखाजोखा बजारको विनिमय दरले निर्धारण गरेको छ । ‘सकेजति पैसा कमा अनि तँ स्वतन्त्र छस्’ भनेर हाम्रो व्यवस्थाले हामीलाई बजारमा धकेलिदिएको छ । पैसाको हिसाबकिताब राख्दाराख्दै मान्छे यति व्यस्त छ कि उसले जीवनका अनेक मूल्य भुलिदिएको छ । मानवीय संवेगहरू, अस्तित्वका कथाहरू, हामीले बाँचेको सांस्कृतिक मूल्य र कलाको गहिरो उडान भड्खालोमा परेका छन् । मान्छेको भिडमा उपेक्षित भएर, मान्छेभन्दा टाढा–टाढा जाँदै गरेका, मानवीय मूल्यहरूको कसैलाई वास्ता गर्नु छैन किनकि बजारमा यी मालसामानको खासै राम्रो भाउ छैन ।

मानवीय अवस्थाका स्पष्ट चित्रहरू कोर्दै, सिनेमाले पहिलोपटक धर्तीको यात्रा गरेको थियो । ग्लोबको एउटा कुनाको मान्छे मानवीय संवेगको सेतु पक्रेर अर्को कुनाको मान्छेसँग करुणा उमाथ्र्यो । सिनेमाको लोकप्रियताको सबैभन्दा गहिरो कडी यही थियो । तर, बजार जति विशाल र जटिल बन्दै गयो, धेरै पैसा कमाउने धुनमा सिनेमाले जीवन संवेगका यात्रा बिर्संदै गयो ।

आजभोलि मार्बल स्टुडियोले छापेका मानवइतर मुस्तुन्डेहरूको तमासा सबैभन्दा उत्कृष्ट सिनेमा भएका छन् किनकि तिनीहरूले बजारबाट सबैभन्दा धेरै पैसा सोहोरेका छन् । र, जीवनका गहिराइमा गम्भीर साधना गरिरहेका हु बोहरू आफ्नै सिनेमाको पासो लगाएर आत्महत्या गर्न विवश छन् । पुँजीवादको चिल्लो खोल ओढेको आजको कस्मेटिक मान्छे भने चिडियाघरमा दुखेर बसेको हात्ती हेर्न जान तँछाडमछाड गरिरहेछ ।