• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
विमला तुम्खेवा
२०७६ कार्तिक ३० शनिबार ०८:०३:००
साहित्य

काइलीचोककी हल्दार्नी तिम्मा

कथा

२०७६ कार्तिक ३० शनिबार ०८:०३:००
विमला तुम्खेवा

कथा ०४५ सालतिरको हो । उत्तर–पश्चिम र पूर्वपट्टि घना जंगलले घेरिएको, दक्षिणतिर विशाल बस्ती फैलिएको महेन्द्र राजमार्गसँगै जोडिएको पथरी बजारको बसस्टेसनबाट पाँच मिनेट दक्षिण झरेपछि पुगिन्छ काइलीचोक । पूर्वी पहाडको भिन्न–भिन्न ठाउँबाट जनजातिहरू बसाइँ सरेर आउनेको बाहुल्य छ यहाँ । दक्षिण झर्दा दुईतिर लाग्ने बाटोमध्ये एउटा लामाटोरी र अर्को शनिश्चरे पुगिन्छ ।

यो भेगमा लाग्ने हटियामध्ये पथरी बजारमा लाग्ने बिहीबारे हटियामा दक्षिणतिरका गाउँहरू रिगुवा कुसे, अमरदह, कीर्तिपुर, वीरेन्द्रनगर, किराँती चोक हुँदै तल सिमानासम्मकै बजारमध्ये बजार ठूलो हो । तर, आज सोमबार त्यसैले बजार बन्द र सुनसान छ । छिमेकी उप्रेतिनी ठुलीसँग झिसमिसेमा जंगल गएकी तिम्माले बिहानको ७ बज्दा त आँगनमा एक डोको दाउरा घोप्ट्याइसकेकी थिइन् । 

खोरमा भोकले सुँगुर कराइरहेका थिए । चोकको पूर्वपट्टि लहरै देखिने घरमध्ये टिनको छाना र काठले बेरेको दक्षिणपूर्व फर्किएको टाँडेघर हल्दार्नी दिनीको हो । पञ्चायतकालमा यो घर विशेष थियो । कारण रातरात पञ्चायतविरुद्व आन्दोलनको योजना यहीँ बन्थ्यो । तर, यो कुरा पछि मात्र थाहा भयो । घरमा दिनी र दिक्कु मात्र बस्छन् । एउटा छ छोरा, काठमाडौंमै बस्छ । कहिलेकाहीँ आउँछ । चैतको महिना । गर्मी सही नसक्नु छ ।

निधारभरि बुरुरु आएको पसिनालाई एक हातले पुछ्दै हतार–हतार आगो बालेर रक्सीको भान बसाएपछि सुँगुरलाई डुँडमा चारो दिइसक्दा पानी तातिसकेको थियो । तातिएको पानी फ्याँक्दै तिम्मा बोलिन्, ‘यो सुँगुरको काल आएजस्तो छ । खोरमा थुनिएको बुचा सुँगुर र भर्खरै पाठा पाएको माउ सुँगुर चारोले अघाएनन् कि क्या हो ? खोरै उचालुङ्लाझैँ कराइरहेछन् । भुप्रोले झन् गर्मी थपिएर उधुम छ । एकैछिनमा ज्यान पसिनाले छ्याप्पै भिज्छ ।’ फेरि पसिना पुछ्दै बोलिन्, ‘त्यसको साँढे गर्मी पनि कतिबिघ्न !’ यसरी बोल्दा घुँडासम्मको लुङ्गी टक्टकाउन बिर्सिदिनन् । तिम्मा फेरि कड्केरै बोलिन्, ‘हन घरको मान्छे के सारो ठगाहा !’ एकै सासमा बोलिभ्याइन् ।

बुढीको स्वर सुनेपछि ‘के’ भन्दै झर्केर टाँडबाट ओर्लंदै बोले तिप्पा । काठे लिस्नो घरै थर्किएर मान्छे हिँड्दा हल्लिन्छ । अहिले पनि हल्लियो ।‘खोरको छानामा एक बाल्टी पानी खन्याइदेऊ त सुँगुर फर्को पर्न आँटे ।’तिप्पाले कल चलाउँदा निस्किएको आवाज र सुँगुरको आवाजले झन् गर्मी बढेको थियो तिम्माको शरीरमा । लोग्ने–स्वास्नीको काम परे बोलचाल हुन्छ, नत्र नबोलेरै जीवन सकिन लाग्यो । कसो–कसो एउटा छोराचाहिँ जन्माएछन् । अङ्गुटीमाथि भड्डु भाँडामा मसुरी दाल छ । चिम्टाले कोइला च्यापेर अङ्गुटीमा लगाउँदै खोरमा कराइरहेको सुँगुरलाई फेरि कराउँछिन्, ‘जति दिए पनि अघाउँदैन साँढेहरू !’ 

तिप्पा भुतभुतिन्छन्, ‘यो घरमा मान्छे र सुँगुर साह्रै खुत्तिएको ।’हाफ प्यान्ट र टिसर्ट अनि टाउकोमा खैरो कलरको क्याप तिप्पाको स्टाइल हो । तिप्पासँग बिहे गरेपछि दिक्तेलको रतन्छाबाट पथरीमा झरेको यतिका वर्षमा तिम्माले के मात्र भोगिनन् ? हृदयमा कति होला जीवनसँग गुनासो ? कति होला कसैलाई नकहेर लुकाइराखेको दुःख ? तर, अहँ हिम्मत हारिनन् । लम्पसार भएर नागबेली हुँदै जाने यो जंगलको एकान्त बाटोहरूमा छिमेकी साथीहरूसँग दाउरा जाँदा–आउँदा हल्दार्नी तिम्माले सुस्तरी खुइय गरेको सुस्केरा यही जंगलको हावामा बिलाएको छ । तर, कहिल्यै आँसु बनेर झरेन । साह्रै ज्याद्रो हो तिम्मा । 

यतिकी कठोर स्वास्नी मान्छे कमै भेटिन्छ । कतिसम्म भने वर्षौंवर्ष लोग्नेको अत्याचारसँग विद्रोह गरेर एउटै घरमा बसिन् । लडेर, जुझेर खाइन्, तर डेग छोडिनन् । छरछिमेकमा तिम्माको ज्याद्रोपनको तुक्का त कति हो कति ! मनमा गुनासो होला माइतीसँग, जसले पढ्ने उमेरमा नचिनेको मान्छेसँग बिहे गरेर पठाइदिए । छ होला गुनासो, लोग्नेको माया कस्तो हुन्छ थाहा छैन । कुरै कुरामा कहिलेकाहीँ तिम्मा भन्छिन्, ‘एउटै इच्छा छ यो जुनीमा अरूको नखाई सास जाओस् ।’ गर्मीमा बेलुका हावा खाँदै चोेकबीचमा बनाएको फलैँचामा बस्दा यसै भन्छिन् । ‘त्यसको कमाइ खानै आएको हो चुप लागेर आरामले बसी–बसी खाऊ न बुढीमान्छे,’ अरूले यसो भन्दा तिम्माको कन्सिरीबाट धुवाँ छुटिसकेको हुन्थ्यो र भन्थिन्, ‘छिः छिः छिः थुइक्क यी हातखुट्टाचाहिँ के काम गरिखान होइन ?’ उल्टो प्रश्न गर्थिन् र सबै चुप हुन्थे ।

तिम्मा बाहनमा तातेको पानी फ्याँक्न जुरुक्क उठिन्, यत्तिकैका जेबी किराँती आइपुगे । जेबी जमानामा नेपाल आर्मीको मेडिकल विभागको एचए । कसरी बर्खास्त भए ? उतिखेरको समयमा दार्जिलिङमा पढेको हो भन्ने सुनिएको हो । साँचो के हो, कसैलाई थाहा छैन । करिब दश वर्षदेखि पथरीमा छन् । झन्डै आधा माना रक्सी त एकै सासमा सट्ट पार्ने । ‘रक्सीलाई मान्छेले खान सकिन्जेल मात्र आफ्नो हुँदोरहेछ ।

रक्सीले खान सुरु गरेपछि त जेबीजस्तो हुइँदो रहेछ,’ धेरैले चोकमा यसै भन्थे । जन्डिस लागेजस्तो खुन सकिएको फुस्रो अनुहार । हरेक दिन बिहान प्रत्येक घर पुग्नु रुटिङ नै हो । घरघरमा सिसाको गिलासमा एक–एक गिलास भ्याउँदा पनि झन्डै डेढ–दुई बोतल त भ्याइसकेका हुन्थे । दिनैभरि फिटान– यसरी हरेकपल्ट हरेक घरमा रक्सी स्वाट्ट पारेपछि मुख एकपल्ट पनि नबिगारी ‘छ भने सानो अदुवाका टुक्रा पाउँ न !’ भन्नु थेगै हो । देख्नेहरूलाई कस्तो कस्तो...! जे जस्तो होस् तर जिन्दगी त यसरी पनि बित्ने रहेछ । रक्सीले झ्याप भएपछि सुकेनास लागेजस्तो औँलाहरू ठड्याउँदै ‘सत्य बकबास हो’ भन्दै जोड–जोडले बोल्थे । हरेकपटक जब–जब रक्सी लाग्थ्यो, जेबी यही शब्द दोहो-याउँथे । कस्तो रहस्यमय ! खास कुराचाहिँ कि उनैलाई थाहा छ । नभए बिजुवालाई थाहा होला । 

आज पनि उनलाई अलि–अलि लागिसकेको छ । ‘तिम्मा रक्सी झर्न लाग्यो ?’ फिसिक्क हाँस्दै बोले ।
‘तँ मुला जहिले रक्सी झार्ने वेला आइपुग्छस् हैन ? हन मातिसकेको छस् त अघि नै ?’
‘के भन्छ हो तिम्मा !’ भनेर ओठ मुसार्दै आगो छेउमा टुसुक्क बसे । 
मध्य दिन छ । घाम र आगोको बाफले भतभती पोलेर हैरान । 
बोल्दा ह्वास्सै रक्सी नै गनायो जेबीको मुख । गर्मी फेरि रिङटा लागेर ढलिएला जस्तै ।
‘कामसाम गर्नुछैन । वल्लो घर डुल्यो, पल्लो घर डुल्यो । थुइक्क, हन के सारो गति छाडेको हो तैँले ?’
‘पथरीमा मासु र रक्सी सित्तैमा खान पाइहालिन्छ किन काम गर्नु त ?’
‘छिः छिः छिः असत्ति ! छिटो मर् बरु ।’
‘मर्नकै लागि रक्सी खाएको ! खोइ काल आउँदैन, दिन नआई त नहुने रहेछ तिम्मा ।’
‘गति पनि अलिअलि पो छाड्नु त गाँठे !’
‘आ ! मरे नि पिर छैन । चन्दा उठाएर पनि राजमार्ग उत्तर पु-याइहाल्छन्,’ राजमार्ग उत्तरमा उमेर नढल्कँदै मर्नेहरूको बेग्रेल्ती चिहान छ, त्यसैमाथि इंगित गर्दै बोले ।

जीवनप्रति किन यति बेपर्वाह ? उनलाई देख्ने र भेट्नेहरूको मनमा यस्तै प्रश्न आउँछ । सुकेनास लागेजस्तो शरीर, पुरानो सट र कपडाको पेन्ट अनि लोतीवाल चप्पल । चौबीसै घन्टा हातमा देउराली चुरोट । त्यसो त पैसा नहुँदा बलवान् छाप खैनीले नै काम चलाउँछन् । रक्सीले डढेर अनुहार कालो भइसकेको छ ।
चारपाने मात्र हुँदै छ बिहान पारेको ‘ला खा !’ भन्दै तिम्माले सोह्र सेरे जर्किनबाट स्टिलको गिलासमा एक गिलास दिइन् ।

कामेको औँलाले पकड्दा झन्डैले पोखिएको । 
‘हन जाने परिस् तँ पनि जेबी, अलिक दह्रो 
गरी समात् ।’
जेबी फिस्स हाँस्यो मात्र केही बोलेन ।
‘कस्तो घिच्नु पनि ज्यानै फ्यालेर घिच्नु हैट् !’ 
तिम्मा कड्किइन् ।
एकपल्ट स्वाट्ट पार्दा आधा सकिसकेको थियो । चुरोट र सुर्तीले कालो र मैलो भएको दाँत । बोल्दा डुङ्डुङ्ती गनाएर छेउमा बसिसक्नु छैन । 
‘मीठो भएछ,’ जेबी बोले ।
तिम्मा बोलिन्, ‘थुइक्क, हन जेबी अलिक पर जा गनायो तेरो मुख ।’ 
फेरि पनि फिस्स हाँस्यो र बोल्यो, ‘जिउँदो मान्छे गनाउँछ, पाद्छ, जुम्रा पर्छ के सारो भन्छौ हाउ तिम्मा ।’ 
केही छिनको स्तब्धतापछि ‘आज पनि पुलिस आउँदै छ’ भनिराखेर जेबी हिँडे । 
‘हो र !’ भनेर हल्दार्नी तिम्माले जेबी गएतिर हेरिसकेर कोनी किन हो माथि आकाशमा घामलाई एक फेर हेरिपठाइन् । तिम्मा निकैबेर सोचेर उभिरहिन् 
जहाँको त्यहीँ । 
‘सूर्यहरू आए ?’ तिप्पालाई सोधिन् ।
‘छैन शनिश्चरेमा कोणसभा छ भन्दै थिए ।’
‘आयो भने भन्दिनू है आज पनि पुलिसहरू आउँदै छन् अरे, म त जंगल जान्छु ।’

तिम्माको घर मोरङ जिल्लैभरिमा भरपर्दो कम्युनिस्टहरूको अखडा थियो । यो कुरा त बहुदल आएपछि मात्र थाहा भयो । मध्यदिन छ । तिम्मा भात, मसुरीको दाल र लौकाको तरकारी खाएर एकैछिन टुसुक्क बसेर फेरि जंगल पुगी भारी ल्याइसक्दा घाम डुब्नै आँटेको छ । हरेक दिन दुई भान रक्सी, एक भान जाँड र एक भारी दाउरा तिम्माको ठेक्का हो ।

अहिल्यै सुनसान जंगलको ठूलो वरको रूखमुनि भारी बिसाएर खोल्साको पानी अञ्जुलीमा लिएर घुटुक्क पिउँदा आउने आनन्द लोग्नेको मायाभन्दा कता हो कता आनन्दित । भारी बोकेर नहिँडे समयमा घर पुगिँदैन । हात्ती लाग्ने डर । घाम चर्किएर भुइँ बाफिएर हपहप पोलिरहेछ । यस्तो वेला भारी बोकेर जंगलभित्र पोथ्रापोथ्री पन्छाउँदै बाटो छिचोल्न झन् गाह्रो ।

उप्रेतिनी ठुली र तिम्मा दाउराको भारी बोकेर जंगलको साँघुरो गोरेटो बाटोमा स्याउला पन्छाउँदै हिँड्दै छन् । हिँड्दा बोटबिरुवा सोहोरिएर निस्किएको आवाजले सुनसान जंगलमा कस्तो डरलाग्दो आवाज निस्किएको । लहरै लहरा भएको काभ्राको रूखमा घरी–घरी बाँदर जङ्गल थर्कने गरी कराउँदा आफैँलाई झम्टन आएझैँ लाग्छ ।र उप्रेतिनी बोलिन्, ‘डराउनु त जिउदोसँग हो । तैपनि किन डर लागेको ?’‘भुतै निस्के नि त्यो मुला तर्साउने त हो,’ तिम्मा पसिना पुस्दै बोलिन् ।

तिप्पासँग बिहे गरेपछि दिक्तेलको रतन्छाबाट पथरीमा झरेको यतिका वर्षमा तिम्माले के मात्र भोगिनन् ? हृदयमा कति होला जीवनसँग गुनासो ? कति होला कसैलाई नकहेर लुकाइराखेको दुःख ? तर, अहँ हिम्मत हारिनन् ।

त्यसपछि दुवैजना चुपचाप चुपचाप हिँडिरहे, जङ्गल छिचोल्दै । विवाह गरेको पच्चीस वर्षमा लोग्ने र स्वास्नीको सम्बन्ध कहिले राम्रो भएन । हल्दार्नी तिम्माले बनाउन पनि चाहिनन् । अरूले सोधे, ‘आ ! बिहे गरेर बसोस् है लुतै जान्छ’ भन्छिन् । तिप्पालाई स्वास्नीको अनुहार कहिले मन परेन । कसो–कसो जन्मिएको एउटा छोरा आइडी खोलेपछि अहिले हङकङ छ । धेरैअघि एकपल्ट जहान लिएर आएको थियो । बाँचिन्जेल लोग्नेको कमाइ नखाने प्रण गरेकी तिम्मा झोँक चलेको वेला भन्थिन्, ‘मुला लोग्ने मान्छेको कमाइ खानुभन्दा त... त्यसकै खानुपरेपछि यसै हेपिहाल्छ नि ! जतिन्जेल बाँचिन्छ, आफ्नो पौरखमा बाँच्ने हो । उप्रेतिनी बैनी नाथु किराफटेङ्ग्रा त बाँच्छ ।’ 

हो मा हो मिलाइन् । उप्रेतिनीको पनि आफ्नै कथा छ । आफ्नै पौरखले ६ जना छोराछोरी चिया र सिङडा बेचेरै हुर्काइन् तर लोग्नेदेखि थरथर छिन् । प्रतिकार गर्ने हिम्मत छैन । हत्तपत्त तिम्माको नजिक मान्छे पर्दैनन् । साह्रै कडा मिजासको । यतिको साहस, उहिले नै तिप्पाले जिउँदै खेतमा पुर्न खोज्दा कसो–कसो बाँचेपछि नै हो आएको । हो त्यही दिनदेखि तिम्मा बघिनी भएकी हुन्, घाइते बघिनी ।

पाठकवृन्द ! तिम्माको कथा नै लेख्ने हो भने त थुप्रै कथा लेख्न सकिन्छ । जन्म भोजपुर रतन्छा, नाम चन्द्रमाया राई, इन्डिया आर्मीको हवल्दार तिप्पासँग १५ वर्षको उमेरमा मागी बिहे भएको । त्यसपछि हो चन्द्रमाया चाम्लिङलाई हल्दार्नी तिम्मा भन्न थालिएको । हात्तीका जस्तै चिम्सा आँखा । पटपटी फुटेको कुर्कुच्चा । कोर्दा घाँटीभन्दा अलिक तलसम्म पुग्ने पातलो केश ।

कन्सिरी तनक्क हुने गरी तोरीको तेल लगाएर टुप्पीमा पु-याई बनाएको टिसिक्कको सानो जुरो । नाकमा सुनको सानो ठिक्के फुली । मुस्किलले घुँडा छोपिने लुङ्गी र हरियो कलरको टुटे चोलो अनि कम्बरमा कसेर बाँधेको पहेंँलो पटुका र हात्ती छाप चप्पल अनि सिकुटे ज्यान देख्दा योद्धाझैँ लाग्छ । छिमेकीले यो चालीस वर्षमा निधारमा न कुनै टीका देखे, न सिन्दुरपोते । न लोग्नेको नाममा गरिने व्रत र शृंगार । सबै कुराबाट मुक्त भएको मान्छेजस्तो अनुहारमा साँच्चै गज्जबको आत्मविश्वास छ ।

पाँच महिनापछि डाक्टर जेबी राई मरेको हल्ला हावाभन्दा छिटो फैलियो चोकमा । एकैछिनमा भिड जम्मा भइसकेको छ । मर्दा पनि लासले शासकलाई गिज्याइरहेजस्तो जेबीको खुला आँखाले एउटा विद्रोह बोलेझैँ लाग्छ । तिम्माले लासलाई हेर्दै यति नै भनिन्, ‘मरेछ नि ।’ 

त्यसको केही वर्षपछि लट्टे साग केलाउँदै छन् तिप्पा मुडामा बसेर । तिम्मा अलिक पर बसेर सुँगुरको चारो काटिरहेकी छिन् । अब बिहान–बिहान दिक्दार बनाउन जेबी किराँती आउँदैन, मनमनै सोचिन् र पुलुक्क बाटोतिर हेरिन् । जुन बाटो भएर माथि बरालको चियापसल हुँदै आउँथ्यो जेबी । ‘अब त माटो भइसक्यो होला’ आज अचानक सम्झिएकी थिइन् जेबीलाई । 
०००
यसरी दिन भन्दै महिना र वर्ष हुँदै कैयौँ वर्ष बिते । तिप्पा पनि तिम्माको जीवनबाट छुट्टिएर कहिल्यै नफर्कने गरी गए । राम्रो होस् कि नराम्रो होस्– सम्झनाले सताउँदो रहेछ । तर, लोग्ने मरेर गएकोमा गुनासो छैन पटक्कै । छोरा हङकङमै छ । घामको रापले टिनको छानो खुइलिएको छ । तर, बरन्डामा फुलेको सयपत्रीले घर साँच्चै सुन्दर देखिएको छ । चिम्सा तिम्माको आँखामा त्यस्तै जोस छ । अहँ रत्तिभर गुनासो छैन ।

बरन्डामा बसेर पर बाटोतिर हेर्दै कालो चिया पिउँदै छिन् । मान्छेलाई भोगाइले पनि उन्मुक्त बनाउँदो रहेछ । सबै बन्धनबाट उन्मुक्त । हो, चराहरूजस्तै निर्वाध, स्वतन्त्र र समुद्रजस्तै शान्त । पहिला–पहिलाजस्तै फेरि असोजको महिना आएको छ । दसैँ नजिक हुँदा घाम साह्रै प्यारो लाग्ने । तिम्माको जीवनमा जन्मिएपछि गाँसिएका सबै साइनो छुटेर गएजसरी दाउराबाट आउँदा सालका रूखहरू छुट्टिँदै जान्छन् बाटोमा । त्यसरी नै आमा, बाउ, बुढा सबै–सबै छुटेर गए । तर, पनि उस्तै साहसका साथ, हिम्मतका साथ यो घरमा एक्लै छिन् हल्दार्नी तिम्मा ।