• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ कार्तिक ३० शनिबार ०९:१९:००
साहित्य

म कविताको विद्यार्थी

अन्तर्वार्ता

२०७६ कार्तिक ३० शनिबार ०९:१९:००

नेपालको सुदूरपूर्वमा रहेर गजल तथा कविता लेखनमा सक्रिय कवि तथा गजलकार सुन्दर कुरुपको यसअघि गजलसंग्रह ‘जूनको अनुहार’ प्रकाशित भइसकेको छ । यसपटक उनको कवितासंग्रह ‘पृथ्वीको आविष्कार’ सार्वजनिक भएको छ । मोफसलमा रहेर कविता साहित्यिक लेखनमा सक्रिय सुन्दर कुरुपसँग गरिएको कुराकानी :

तपाईं त गजल लेखिरहेको मान्छे । कवितातिरको यात्राचाहिँ कसरी भयो ?
मेरो काव्यिक लेखनको सुरुवात कविता र गजल दुवैबाट भएको हो । दुवै विधा काव्यका रूप हुन् । दुवै विधालाई म उत्तिकै सम्मान र प्रेम गर्छु । फरक यति भयो कि मैले गजलको पुस्तक पहिले निकालेँ । तर, मेरो यात्रा गजल र कवितामा समानान्तर रूपले भएको हो ।

गजलमा भन्न नसकिने के कुरा कवितामा भन्न सकिँदो रहेछ र कवितामा भन्न नसकिने के कुरा गजलमा भन्न सकिँदो रहेछ?
गजल लेखनको आफ्नै सिद्धान्त, सूत्र र सीमाहरू छन् । थोरै शब्दमा धेरै कुरा भन्न सक्नु गजलको विशेषता हो । थोरैमा धेरै कुरा भन्न कला चाहिन्छ । तर, गजलको अनिवार्य तत्वहरूले पनि भन्नै पर्ने कुराहरू भन्न अलि नसक्ने र अपुरो भनेको महसुस भएपछि त्यसलाई कवितामार्फत भन्ने प्रयास गर्छु । मेरा लागि दुवै विधाको उत्तिकै महत्व छ । आफूलाई कुन विधामार्फत आफूले भन्न खोजेको कुरा सजिलै भन्न सक्छुजस्तो लाग्छ, त्यही विधामार्फत आफ्ना कुरा बाहिर ल्याउने गर्छु । कवितामा दर्शन, आख्यान, संस्कृति, स्थानीय सौन्दर्यचेत लेख्दा–लेख्दा मस्तिष्क भारी भएपछि गजल लेख्ने गर्छु ।

तपाईं आफ्ना कविताका स्रोत ग्रामीण परिवेश हो भन्नुहुन्छ । ग्रामीण जनजीवनको स्थानिकतालाई आफ्नै कविताहरूमा कतिको न्याय गरेजस्तो लाग्छ ?
म सहर नजिकको गाउँमा बस्छु । त्यसैले सहर र गाउँको दोहोरो मनोविज्ञानमा बाँचिरहेछु । सहर र गाउँको बीचमा मेरो गाउँ बाँचे पनि मलाई भने गाउँको सुन्दर र अर्गानिक जीवन बाँच्ने कलाले ज्यादा आकर्षित गर्छ । मलाई मोहित पार्छ भनौँ न । त्यही गाउँको अर्गानिक जीवनप्रतिको प्रेम र आकर्षणले गर्दा नै ग्रामीण जीवनका परिवेश नै मेरा कविताका स्रोत हुन् । कवितामा त्यसलाई कतिको न्याय गरेँ भन्ने कुरा पाठकहरूले नै बताउनुहुनेछ ।

म कविताको विद्यार्थी हुँ । कविता लेख्न कठोर साधना चाहिन्छ भन्ने मेरो बुझाइ छ । साधना र लामो समयको मिहिनेतले भाष्य, शिल्प निर्माण हुने हो । म मेरो साधनारत समयमा पनि आफ्नै कवितासँग निकै नै विश्वस्त हुँदै गइरहेछु ।

कवितालाई संग्रहकै रूप दिएर पाठकसम्म पुग्नुपर्छ भन्ने के कारणले लाग्यो ?
अहिले एउटा कविले अर्को कविका लागि मात्र कविता लेखिरहेको हो कि भन्ने भान हुन्छ मलाई । तसर्थ कवितामा आममानिस, पाठकहरूको पनि उपस्थिति हुनुपर्छ, उनीहरूसम्म कविता प्रसार हुनुपर्छ भनेर कवितासंग्रह निकालेको हुँ । र अर्को कुरा, मेरो कविता लेखन शान्त सुखायका लागि होइन । म कविता यति कुरामा मात्र सीमित रहेर लेख्ने गर्दिनँ । एउटा कविले समाजप्रति उत्तरदायी, जिम्मेवारी महसुस गरेर कविता लेखेको हुन्छ । र, मेरो समाज र राष्ट्रप्रतिको समग्र विचार सम्प्रेषणका लागि मैलै कवितासंग्रह निकालेको हुँ । 

तपाईंका कवितामा पहिचानको कुरा निकै घनीभूत रूपमा देखिन्छ । पहिचानको विषय अगाडिदेखि नै उठ्दै आएको पनि छ । यसबीचमा तपाईंको उपस्थितिचाहिँ कहाँ हो ?
बहुभाषी, बहुजाति, बहुसंस्कृतिको जगमा उभिएको नेपाली समाजलाई विचलित बनाउने एकल शासकीय चिन्तन, सामाजिक न्यायका बर्खिलापमा उभिने तत्वको विरुद्ध उभिएका मेरा कति कवितामार्फत नै समय र पाठकहरूले मेरो उपस्थिति निर्धारण गर्छ जस्तो लाग्छ मलाई । र, मैले मेरो उपस्थितिको दाबीभन्दा पनि समय र पाठकलाई यो कुराको जिम्मा दिएको छु । उहाँहरूले मलाई जहाँ राखिदिनुहुन्छ, त्यो सहज रूपमा स्विकार्छु ।

कवि आफ्नो भाष्य, शिल्प निर्माणमा साधनारत हुने गर्छन् । यसमा तपाईंलाई आफू कत्तिको सफल ठान्नुहुन्छ?
म कविताको विद्यार्थी हुँ । कविता लेख्न कठोर साधना चाहिन्छ भन्ने मेरो बुझाइ छ । साधना र लामो समयको मिहिनेतले भाष्य, शिल्प निर्माण हुने हो । म मेरो साधनारत समयमा पनि आफ्नै कवितासँग निकै नै विश्वस्त हुँदै गइरहेछु । जहाँसम्म सफलताको कुरा छ, त्यो पाठकहरूले नै भनिदिनुहुनेछ । 

तपाईंका कविताको राजनीतिक उपस्थितिलाई कसरी लिनुहुन्छ ?
राजनीतिक सचेतताविनाका कविताले मानिसलाई आनन्द मात्र दिन्छ, अग्रगामी जीवन दिन सक्दैन । त्यसैले लाग्छ, राजनीतिक रूपमा निकै सचेत छन् मेरा कविता । त्यही हिसाबमा उपस्थिति जनाउँछन् मेरा कविताले । 

अनि कविता लेखनको ऊर्जा ?
 ग्रामीण सौन्दर्य, ग्रामीण जीवन भोगाइका सुख–दुःख मेरा कविताको ऊर्जा हुन् ।
पछिल्लो तीन दशकको नेपाली समाज हेर्दा सामाजिक रूपान्तरण तीव्र रूपमा भइरहेको देखिन्छ । समाजको यो तीव्र परिवर्तनलाई तपाईंका कविताले कत्तिको सम्बोधन गरेका छन्?
सामाजिक रूपान्तरणलाई सम्बोधन मात्रै होइन, लाग्छ तिनीहरू सँगसँगै हिँडेका पनि छन् मेरा कविता । मेरा कविताले मेरो समयको आवाज बोल्छन् भन्ने लाग्छ । 
अनि कवि हुनलाई चाहिने कुराचाहिँ के रहेछ त, जसका कारण तपाईंले ‘पृथ्वीको आविष्कार’ लिएर आउनुभयो ?
कवि हुन कठोर साधना त चाहिन्छ नै त्यसको अलवा आफ्ना विचार, ज्ञान, चिन्तन, चेतना, अनुभूतिहरूलाई शब्दमार्फत विशिष्टीकरण गर्ने कला हुनुप¥यो जस्तो लाग्छ ।