• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विराट अनुपम
२०७६ कार्तिक ३० शनिबार ०९:२६:००
यात्रा

पासाङ शेर्पा (९०)

३४०० मिटर उचाइमा २० किमिभन्दा बढी लम्बाइको पदमार्ग बनाए पासाङ शेर्पाले

२०७६ कार्तिक ३० शनिबार ०९:२६:००
विराट अनुपम

सगरमाथाको प्रवेशद्वार नाम्चेबजार कटेर आउने पहिलो सानो बस्ती खुमुजे । यहाँ सगरमाथा आधार शिविर जानेभन्दा फर्किने धेरै देखिन्छन् । आधार शिविर जाँदा पर्यटक नाम्चे मास्थिरको स्याङ्बोचे विमानस्थलको डाँडैडाँडा होटेल एभरेस्ट भ्यू हुँदै जान्छन् । ‘एक्लामाटाइजेसन’ अर्थात् होचो स्थानबाट आएका पर्यटक उच्च हिमाली मौसमसँग घुलमिल हुन तेर्सो बाटो हिँड्दैनन् । उकालो बाटो रोज्छन् । 

नाम्चेबाट आधार शिविर जाँदा मौसमसँग अभ्यस्त हुन उकालो जाने पर्यटक आउँदा भने खुमुजेको अर्कै तेर्सो बाटो समाउँछन् । त्यही तेर्सो बाटोको एक कुनामा ट्रेकिङ सिजनको चिसो सिरेटो सामना गर्दै उभिएका भेटिन्छन्– पासाङ शेर्पा । खुम्बु क्षेत्रमा परिचित पासाङ कुनै आरोहीको नाम होइन । कुनै पदयात्रा गाइड अथवा पर्यटन व्यवसायीको नाम पनि होइन । तर, खुम्बु पदमार्गका एक बलिया बिम्ब हुन् । 

पूर्वभरियाको पदमार्ग प्रेम 
युवा उमेरमै भारी बोक्न खुम्बु आएका थिए शेर्पा । पर्यटकको भारी बोक्दा आउने पैसा र उपहारमा उनी रमाएका थिए । खुम्बु पदमार्गमा जाने बारम्बारको पहिरो र साँघुरो पदमार्गसँग भने उनी दिक्क थिए । ‘भरिया, टुरिस्ट र खच्चर– सबै एकै बाटो हिँड्दा गाह्रो थियो’, पदमार्ग निर्माणको योजनाबारेमा शेर्पा भन्छन्, ‘सरकारलाई पर्खेर बस्दा बाटो बन्न ढिलो हुने भएपछि आफैँले बनाउन थालेको ।’ पर्यटकलाई समस्या भएकाले आफूले चन्दा उठाएरै समाधान खोजेको शेर्पा सुनाउँछन् । भन्छन्, ‘पैसा हुने सरकारले नबनाएपछि पैसा नहुनेले चन्दा उठाएर बनाउन थालेको ।’

पदमार्गकै लागि जिन्दगी 
खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर–४ का अध्यक्ष लक्ष्मण अधिकारी ३७ वर्षका भए । खुम्जुङ गाउँमा जन्मेका अधिकारीले बाल्यकालमै थाहा पाएदेखि पासाङ शेर्पाले पैदलमार्ग निर्माण गरिरहेका छन् । ‘मैले थाहा पाउँदा उहाँ तेङ्बोचेमा बाटो बनाउँदै हुनुहुन्थ्यो’, सगरमाथा क्षेत्र रहेको वडाका अध्यक्ष अधिकारी सुनाउँछन् । अधिकारीका अनुसार, सगरमाथा आधार शिविरको तीन स्टेसनमुनिको तेङ्बोचेबाट शेर्पाले पदमार्ग निर्माण काम थालेका थिए । 

उमेरले ९० पुगेका शेर्पाले जीवनको चार दशकभन्दा बढी खुम्बु क्षेत्रमा बिताएका छन् । हाल दूधकोसी गाउँपालिकामा पर्ने सोलुखुम्बुको कान्कु गाउँमा जन्मेका शेर्पाले खुम्बु क्षेत्रको पदमार्ग निर्माणमा जिन्दगी सुम्पिए । ०४० सालपछि शेर्पाले अहिलेसम्म २० किलोमिटर बाटो आफ्नै पहलमा बनाएका छन् । दिनहुँ बाटोको लम्बाइ बढ्दै छ । वडाध्यक्ष अधिकारी भन्छन्, ‘अब त उहाँले नाम्चेबजारसम्मै बाटो ल्याउन आँट्नुभयो ।’

पदमार्ग निर्माणमा जिन्दगी सुम्पेका शेर्पालाई आराम गर्न गाउँपालिकाले सम्झाउँदा पनि नमानेको वडाध्यक्ष अधिकारी बताउँछन् । भन्छन्, ‘अब गाउँपालिकाले पदमार्ग बनाउँछ, आराम गर्नुभन्दा पनि मान्नुहुन्न ।’१० फिट चौडाइको आकर्षक पदमार्ग निर्माणमा व्यस्त शेर्पा अझै थाकेका छैनन् । कात्तिक महिनाको पहिलो साता खमुजेमा गफिएका शेर्पाले थकानको कुनै झल्को दिएनन् । कतिन्जेलसम्म यसरी चिसोमा खट्नु्हुन्छ ? यो प्रश्नमा शेर्पा मुस्कुराए । हातमा तातोपानीको गिलास समाउँदै पावरवालमा चस्माबाट चम्किला आँखा सोझ्याए । भने, ‘सकुन्जेल ।’
०००
तीन हजार चार सय मिटरको उचाइमा २० किलोमिटरभन्दा बढी लम्बाइको पदमार्ग बनाए पासाङ शेर्पाले । यो भनेको लुक्लाबाट सगरमाथा आधार शिविर जाने कुल पदमार्ग लम्बाइको एकतिहाइ हो । विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रको उचाइमा राज्यले गर्न नसकेको काम गरेका उनै शेर्पाको चर्चाको उचाइ भने छैन । 
इलामको माइपोखरीको एकलासे डाँडामा बाटो बनाउने डम्बरसिंह सुनुवार हुन् वा दाङका चन्द्रवीर वली, राष्ट्रिय चर्चामा आए । दुई वर्ष बाटो निर्माणमा लागेका वली र दशक लागेका सुनुवारझैँ बाटोका लागि जीवन सुम्पिएका शेर्पाचाहिँ गुमनाम छन् । सायद नेपाली मिडियाकर्मीहरू ओहोर–दोहोर गर्ने सजिलो बाटोमा बसेका भए शेर्पा चर्चामा आउँथे । अथवा काठमाडाैंमा गएर कुनै युट्युबरलाई अन्तर्वार्ता दिएका भए ‘भाइरल’ भइसक्थे । 

शेर्पालाई यी सबै काम गर्ने फुर्सद छैन । बरु, उनी अनुहार हेरेर नेपाली, अंग्रेजी, स्पेनिस र फ्रेन्च भाषामा पर्यटकसँग चन्दा माग्छन् । दैनिक चार हजार हाराहारी चन्दा उठ्छ । उठेको रकम उनी मजदुरलाई दिन्छन् र दैनिक पदमार्ग निर्माणमा खटिन्छन् । भत्किएको भए मर्मत गर्छन् । हिसाब पारदर्शी गर्छन् । कसले कति चन्दा दियो, एक–एक टिपोट गर्छन् । भन्छन्, ‘कुन वर्ष कसले चन्दा दियो, सबै हिसाब मसँग छ ।’

खुम्जुङ गाउँको आमा समूह, खुम्जुङ युवा क्लबलगायतले सम्मान गरेको भए पनि सम्मानका भोका भने छैनन् शेर्पा । सरकारको नाममा गाँउपालिकाका वडाध्यक्ष मात्रै भेटेका छन् । सरकारलाई के भन्नुहुन्छ ? यो प्रश्नमा उनको अलमल छैन । तत्कालै भनिहाले, ‘सगरमाथा जाने टुरिस्टको यो बाटो म मरेँ भने सरकारले राम्रोसँग बनाओस् ।’