दूधधारा तिलौरी गाईको, तेलधारा बत्तीको न्याउली बास्दा रुन्चेऊ जिजेई(आमा), देश गर्दा कत्तिको ! चुच्चीमाथि चारो ल्यायो, चरीको चल्लाले हीँ बसौँ कि देश गइजाऊँ, संगीका सल्लाले ।
यी गीत गेडा कुनै जमानामा रोल्पा÷रुकुमका गाउँघर र वनपाखामा गुन्जने ठारी भाकाका हुन् । ‘देश जाने’ धागोले उनेका यी गीतले भिरपाटे भेनाको कम्दमा सिरुरु फलेका घिउ सिमीमा अल्झिएका आँखासम्म तानेर लगे । तिनले तान्दै–तान्दै रपापातालमा पुर्याए । कारण थियो, कुनै वेला जेई, सान्जी, नाना र काकुहरूले सिमीवाल कम्दसँगै जोडिएको रपापाताल नै गाएर गुन्जाउँथे । सिम्रुतुमा मास्टररत रुकुमे लेखक मनलाल ओलीले तिनै गीतलाई गला दिएर मेसेन्जरमा पठाएपछि रोल्पा/रुकुमका उनै वनपाखामै पुगेँ ।
भिरपाटे भेना अर्थात् जनयुद्धकालीन कमरेड ऋषि कम्दमा सिमी सिरुरु फलेका थिए । कुनै याममा उनै कमरेडको घर माओवादी ‘सेल्टर’ थियो । ढुक्कसाथ बसेथे– रामबहादुर थापा बादल, कृष्णवहादुर महरा, नन्दबहादुर पुन, वर्षमान पुन, सन्तोष बुढामगर, जयपुरी घर्ती मगर आदि नेता । रोल्पाली साना काँटीका रैथाने माओवादी त बस्ने नै भए । हुन पनि सबभन्दा सुरक्षित सेल्टर मानिने ऋषि घरबाट दुई पाइला फाले रपापातल पुगिन्थ्यो । पातलमा पुगे सरकारी सेना/पुलिसले भेट्ने कुरै भएन ।
सिमी फलेको ऋषि कमरेड कम्द त देश गएका सि¥र्वालीको अर्थात् शेरबहादुर ओलीको थियो । र, ओली देश गएपछि भिरपाटे भेनाले त्यो बारी किनेका थिए । अहिले नि त्यो बारीको नाउँ थियो, ‘सि¥र्वाली शेरे ओलीको कम्द ।’
चार सय बीसवाला उनका कमरेड चुनावी पद मात्र पड्काएका थिएनन्, गाउँ/बजारमा घरघडेरी जोडेर तामझामका साथ ढल्कीढल्की हिँड्थे । इमानदार ऋषि कमरेड भने उही पुरानो घर र कम्दको कृषिकर्ममा फर्केका थिए ।
लीलबहादुर क्षेत्रीकृत ‘बसाइँ’को दृश्यलाई सि¥र्वाली सान्जी परिवार देश जाँदाखेरिको विदाइले टक्कर दिन्थ्यो । आफूले आँसु र हाँसे पोखेका गाउँ, वनपाखा, बाटोघाटो र घर फर्की हेर्दै गएको पल ‘कम्ता कारुणिक’ थिएन ।
०००
सानो छँदाको कुरा हो यो ।
घाम छिप्पिएपछि गाउँले भेला भए । जम्मा भएका सबका सब गाउँले मौन थिए । आवाज आउँथ्यो त, सिर्फ सिँगान सर्को तानेको साँक्क–सुँक्क । बिदाई टीका लगाउँदै साइनोअनुसार ढोगभेट चल्यो । जानेलाई गाउँलेले गच्छेअनुसार हात पारे, ‘मस्त छैन प, आमाजू ! बाटानु चा खाए ।’ जानेले जवाफ फर्काए, ‘होइरन्देऊ किउ । कति लान्चौ, एकहोरे भार ।’ कसैले दुई रुपैयाँ हात पारे, कसैले पाँच त कसैले १० रुपैयाँको नोट ।
‘बास जान अबेला हुन्छ । गैजाऊ,’ गाउँका पाका बोले ।
कोहीले कुम्ला बोके । कोहीले डोका । कोहीले बच्चा । जान नमानेका पाइला सार्दै, आँसु झार्दै, फर्की हेर्दै गाउँ छाड्नेका गोडा ओरालिए । त्यसपछि बिदा गर्ने र बिदा हुनेका बोली एक–अर्कामा खापिदै झरे–
–जान–अजानमा बाइलो बिसालो कि भया भए, अजान मानी माफ गरे है ।
–नाम्ररी गए है ।
–बसे है तो । गारोपिरो नमाने । नबिर्से ।
–माय नमारे है, कस्सैगरी पाइला फर्काए ।
–आँखाकान लुकान गैगिउ ब । दुखारी ठौमा किन आनाहउ र भेट हुनाम ।
कति सामान बेचे त कति ‘नभुल्नू’ भन्दै चिनो दिए । चिनो भनिएका कति लुगा थिए कति भाँडाकुँडा त कति बस्तुभाउ । भने, ‘मेरो चिनो साँचे है !’
गाउँमा ‘साइत’ हेर्ने कि तल्ती ठूल्बाइ थिए कि पार्ला कोलबोटे काकु कि त बाबै थिए । सायद त्यो परिवारले गाउँ छाड्ने साइत बाबैले हेरेका थिए । साइतअनुसार कुम्लाकुटुरा र चिचिला बोकेर त्यो परिवार बाटो लाग्यो । गाउँमा बिहे, नाउँ राख्न र कतै जाने साइतका लागि पात्रो हेर्नेलाई जैसी भन्थे । सायद ज्योतिष भन्दाभन्दै जैसी भए ।
‘सि¥र्वालीले दिया चिनो हो, सि¥र्वाली खौना,’ यो वाक्य ढिँडो पकाउने फलामे भाँडो चुलोमा बसाल्दा जेई मुखबाट जहिल्यै निक्लन्थ्यो । ढिँडो पकाउने त्यो भाँडोसँगै सम्झनामा त्यो परिवार आउँथ्यो । यसैले पो देश जानेले आफू जाने वेला भनेका रहेछन्, ‘मेरो चिनो । साँचे है !’
सम्झन्छु– झाँक्रीखोला जाने बाटो हाम्रो घरछेउ भएर जान्थ्यो । एकाबिहानै जाँदा–आउँदा चुङ्चुङ्ङे फ्वाजुले जहिल्यै जेईलाई बोलाउँथे, ‘अऽऽऽ काइँली फुपू ! एक चिलम कक्कर भर तो ।’ साथमा सि¥र्वाली सान्जी हुन्थिन् । भिरपाटेनी नाना हुन्थिन् । हुन्थिन् लाहुरेनी बोई पनि ।
जेईले कक्कर भरेपछि धुवाँ उडाउँदै कक्कर तान्थे । त्यसपछि जेईले मलाई मादलजसरी बर्कोले गलामा भिर्थिन् । पिठ्यूँमा गाग्रा राखेको डोका बोकेर हिँड्न थालेपछि झोलुंगामा झुलेजस्तो लाग्थ्यो । रित्तो गाग्रोमा अलि–अलि बचेको पानी गाग्रो भित्तामा ठोक्किँदा निक्लने कोल्चाङकोल्चाङ धुनमा नाल्चे ठक्करले गुन्जने संगीत सुनेर मस्त निदाउँथेँ ।
पानी लिन पँधेरा जाने महिला र पुरुष सरोवर थिए ।
याद ताजै छ, जेईसँग पानी लिन जाने सि¥र्वाली सान्जी र उनको परिवार गाउँ छाड्दा तिनलाई गाउँलेले भल्डजुरे नकाटुन्जेल हेरेथे । हात हल्लाएथे । हल्लिएका हातसँगै झरेका बोली एकापसमा ओभरल्याप भएथे, ‘माया नमारे । कस्सैगरी पाइला फर्काए । ...नाम्ररी गए है ।...बसे है तो ।’
अधबैँसे महिला अँध्यारोमै गाईसँग बिदावारी गर्न गाईगोठमा पसिन् । ‘कुट्छन् होला, तिमीहरूलाई कसले घाँस देला’ भन्दै गाईलाई घाँस दिँदै र मुसार्दै महिला भक्कानिइन् । गाईसँग बिदावारी गरी गोठबाट निक्लँदा तिनको पछ्यौरी गाई गोडामा अल्झियो ।
अहिले यसो दाँज्छु, लीलबहादुर क्षेत्रीकृत ‘बसाइँ’को यो दृश्यलाई सि¥र्वाली सान्जी परिवार देश जाँदाखेरिको विदाइले टक्कर दिन्थ्यो । आफूले आँसु र हाँसे पोखेका गाउँ, वनपाखा, बाटोघाटो र घर फर्की हेर्दै गएको पल ‘कम्ता कारुणिक’ थिएन ।
सायद सि¥र्वाली सान्जी र उनको परिवार गाउँमै मन छाडेर देश गएथे । तिनका तन र मन कति समयसम्म त्यसरी अलग–अलग बसे होलान् हँ ? लाग्यो, समयले नै भुलायो होला, सपना र मन भएको ठाउँलाई पनि । सम्झिएँ, त्यसैगरी त बाटो लागे होलान्– बाँठा मामा, माय नाना, हर्के झाँक्रीका परिवार पनि ।
संयोग ! बाँठा मामासँग कालापारमा भेट भयो । हिमाञ्चल प्रदेशको कोटखाइमा गद्दे(भारतीय जिम्दार)को बारी ठेक्का लिएर आलु लाउँदारहेछन् । एक दिन ठेक्दारले उनै मामाको आलु खन्न पठाएपछि भेट भएथ्यो । कुनै वेला कमल (उपराष्ट्रपति नन्दबहादुर पुनको कान्छो भाइ जसलाई शाही नेपाली सेनाले बेपत्ता पार्यो ।) र म ‘कालापारे झल्ला, पाइजामार हल्ला’ भएथ्यौँ । कहिलीकसो हिमाञ्चल प्रदेशका सिमला, कोटखाई, जुब्बल, रोहडु घुमेथ्यौँ । र, चार महिना कोटखाईको थाना गाउँमा स्याउको तौले खनेथ्यौैँ, ढुंगा बोकेथ्यौँ, चट्टा लाएथ्यौँ र खोर्रे खनेथ्यौँ ।
बस्, भेटमा मामाले दुखाना पोखेथे, ‘गाडी किराया बनाएर अर्को साल परिवार नै उतारम्ला भन्दाभन्दै १७ साल बिते ।’ सायद यस्ता कालापारे बिजोगलाई गाउँघरमा किस्सा बनाए होलान्, ‘दिल्ली गएँ, सिल्ली भएँ, कलकत्ता गएँ, बेपत्ता भएँ ।’
बाँठा मामाको घर नजिकै थियो, माय नानाको गोठ । आरु खाने याममा नाना आफ्ना बस्तुभाउ लिएर गोठ उक्लन्थिन् । जेई र म आरु खान जान्थ्यौँ । छोरी नभएकी मेरी जेईले उनै माय नानालाई भेटेर छोरी तिर्खा मेट्थिन् । नाना चाडपर्वमा एक बोतल तीनपाने बोकेर टुप्लुक्क हाम्रो घरमा पुग्थिन् ।
दुःखको कुरो, एक दिन नानाको परिवार नै देश गयो । त्यसैगरी, हाम्रो गाउँका हर्कमन काकु (जो हर्के झाँक्रीका नाउँले चिनिन्थे) परिवार पनि देश गयो ।
देश गएका समाचार जसरी गाउँमा फैलन्थे उसरी नै बिस्तारै सेलाउँथे । तर, केवरीका मुक्खे ठाकुर परिवार देश गएको समाचार लामो समयसम्म चर्चामा रह्यो । यसको कारण थियो, गाउँको सम्पन्न परिवार देश गएको थियो । तिनै मुक्खे ठाकुरका कान्छा छोरा थिए, नेत्रविक्रम चन्द विप्लव । छिमेकी गाउँ केवरीबाट विप्लव परिवार कपिलवस्तु देश गएको थियो ।
सानो छँदाको कुरा ।
एक दिन, ढिँडो खानेवेला जेईलाई सोधेँ, ‘खै त सि¥र्वाली सान्जी ? उनको खौना त हीँ छ ।’
‘देश गए ।’
‘कहाँ हो देश ?’
‘उँदै हो ।’
‘कहाँ हो उँदै ?’
‘कहाँ हो कहाँ उँदै के । अब तिनीहरू कहिल्यै आन्नन् ।’
बाटोमा देश जानेका लर्को हाम्रो गाउँबाट दाङ घोराही पुगेको दुब्लो बाटोमा कम्तीमा तीनथरी बटुवाका लर्को लाग्थ्यो ।
एक, हाट जाने हटारु ।
दुई, कालापार जाने कालापारे ।
तीन, देश जाने देशारु ।
छोटो दूरीमा हिँडेका मानिस र लाहुरे ‘थप’ बटुवा थिए । टाउकोमा ऐना झालाङझिलिङ पार्दै हिँडेका रुकुमका खच्चरका लामो लाम लाग्थ्यो । हाम्रो गाउँबाट घोराही पुग्न कम्तीमा तीन दिन लाग्थ्यो । वास बस्न कहीँ ओडार थिए त कहीँ चिया पसल पनि भएका घर । कहीँ गोठ थिए त कहीँ ठूला रूख ।
हटारु, देशारु र कालापारे ‘पाक्खै’ चिनिन्थे । हटारु पिठ्यूँमा भारे डोका हुन्थे । एकदमै साना आँखावाल ती डोकालाई भारे डोका भन्थे । डोकामा भएका सामान बराबर डोकाबाहिर पनि अटाउने गरी डोरीले जेलिएका हुन्थे । त्यसलाई जाली खकन्ना भन्थे । जाँदा घिउ, जडीबुुटी र भांग्रा बोल्लाले भारे डोका भरिएका हुन्थे भने फर्कंदा नुनले । गाउँ–गाउँबाट हिँडेका हटारु हुल ढुंगाको चुलो बनाएर कतै ढिँडो पकाइरहेका त कतै खाइरहेको बाटैभरि भेटिन्थे ।
पहिले–पहिले भोटे लिन ताराभोट जान्थे रे । देशी नुनको चलन चलेपछि पुगे रे– बटौली खसौली, नेपालगन्ज, कोइलाबास । मैले थाहा पाउँदा हाम्रो गाउँका हटारु नुन लिन घोराही जान्थे । बाटोमा अर्को लर्को छुट्थ्यो, कालापारेका । कमाउन भारत जानेलाई कालापारे भन्थे भने भारतलाई कालापार । कालापारे पिठ्यूँमा कि झोला हुन्थे कि कुम्ला कुटुरा । रोजीरोटीका लागि कालापार जाने ती युवायुवती, बूढाबूढी र बालबालिका पनि हुन्थे । र, अर्को लर्को लाग्थ्यो, देश जानेको ।
झिटीझाम्टा, बालबच्चा, बस्तुभाउसहित बाटोमा हिँडेका देखे/भेटे बटुवा भावुक भएर भन्थे, ‘देश जाने को रहेछन्, कोजानी ? कहाँको ‘देश’ जाने होलान !’ रोल्पा/रुकुमतिर बसाइँ सर्नुलाई ‘देश जाने’ भन्छन् ।
विपरीतदिशाबाट हिँडेका बटुवाहरूको बाटोमा जम्काभेट हुन्थ्यो । चिनजानका भए, कमिला भेट हुँदा एकछिन सुँघासुँघ गर्दै बाटो लागेजसरी तिनले एक छिन सन्चोबिसन्चो सोधेर आ–आफ्ना बाटा लाग्थे । घर फर्किरहेका बटुवाले छुट्नुअघि हात पार्थे, ‘लौ बाटोनु चा(चिया) खाए ।’
घर फर्किरहेका तन्नेरी कालापारे काँधमा खासा टेप्रिकाट हुन्थे । बजारका बजारु गीति क्यासेट हालेर बजाउँथे । तिनै गीतका तालमा कालापारे थुर्पाधुरी उकालिन्थे, काकपानी उकालो काट्थे ।
अहिले गरिबका कालापार अरब र मलेसियासम्म तन्केको छ भने हुनेखानेका अमेरिका, अस्ट्रेलिया र युरोपसम्म । अरब उड्ने पखेँटा लाउन नसकेका त कतिका चाह नभएकाका ठूलो संख्याले भने कालापारमा ‘गोर्खे बाँदर’ जिन्दगीलाई निरन्तरता दिइरहेको छ ।
अहिले त नुन बोक्न हटारु न ताराभोट जान्छन् न त खसौली बटौली नै । न नेपालगन्ज जान्छन् न कोइलाबास न त घोराही । मेरो गाउँको हाट गाउँनजिकको स्यानीगार पुगेको छ ।
देश जानेको देश
गाउँका गरिब कालापारको बाटो भएर ‘देश’ जान्थे । कारण थियो, गाउँको जेथाले ‘देश जाने ठाउँको ‘देश किन्न’ सक्तैनथे । कारण, (अपवादबाहेक) देश त असहजबाट सहज र दुर्गमबाट सुगमतिर जान्थे । सहज ठाउँका खेत र घरबारी महँगा हुन्थे । महँगा भएपछि किन्न सक्ने कुरो भएन ।
त्यसैले, कालापारमा कमाएपछि जायजेथा बेचेको पैसाले देश जान्थे अर्थात् दाङको कुनै कुनामा खेत वा बारी किन्थे । रोल्पाका धेरैजसो देश जाने देश दाङ हो । थोरै मात्र अन्य जिल्ला र सहरमा ।
०००
देश जाने क्रम जारी छ । थाहा छैन, कहिलेसम्म जारी रहन्छ देश जाने चलन ?
कहिलेकाहीँ गम्छु, ‘अफ्रिकाबाट कहाँ हो कहाँ फन्को मार्दै जैपा पुग्दा मेरा पूर्वजलाई कति समय लाग्यो होला ? (अहिलेसम्मको खोजले मानव उत्पत्ति अफ्रिकामा भयो भन्छ ।) कहाँ–कहाँ पुगेर कसरी जैपा पुगे होलान्, मेरा क्याब्जु च्याप्जुहरू ?’
‘गरिब देशको भ्रष्ट राजनीति’, ‘गरिखाने र इमानदारको ह्याँ दिन छैन’ भन्दै ‘देश जाने’ लर्को लागेको छ । ‘देश जाने’ देश छन्– अमेरिका, अस्ट्रेलिया, क्यानडा, युरोपका देश । र, रोजीरोटीका लागि गरिब देश जाने देश छन्– अरब र मलेसिया ।
कहिले थामिएला यो लर्को ? ‘देश जाने देश’ नेपाल कहिले भन्न पाइएला ? हाम्रा देशलाई कसले र कहिले बनाउला देश जाने देश ? कहिले होला हाम्रो नेपाल ‘देश जाने देश’ ?
आकाशमा कारकोर आवाजसहित कहिले उत्तर त कहिले दटक्षिण हान्निरहेका पाक्जोरा लामले जहिल्यै बच्पनमा लान्छन् । हुन पनि तिनलाई देखेर बालमनमा जिज्ञासा जुर्मुराउँथ्यो । फागुन/चैततिर भए, जेईले भन्थिन्, ‘देश गए ।’
‘कहाँ ?’
‘हिमालखागर ।’
बर्खे दसैँताका सोध्दा जेईले भन्थिन्, ‘पाक्जोरा ता मालमधेस गए । सागर गए ।’
उडिरहेका पाक्जोरा हेर्दै सोध्थेँ, ‘जेई, पाक्जोरा आकाशमै वास बस्छन् ? भोक लागे के खान्छन् ? थकाइ लागे कहाँ थकाइ मार्छन् ?’
वेला–वेलामा अहिले नि सम्झन्छु– कहाँ पुगे होलान् हँ, मेरो गाउँबाट देश जानेहरू ? के गरिरहेका होलान् हँ, हाम्रो देशबाट देश जानेहरूले ? के पाक्जोराजस्तै देश गएर पनि आफ्नो देश फिर्लान् ? फिरेछन् भने कहिले फिर्लान् ?
तपाईंको मन पनि यसरी नै खसखसाउँदो हो । सरकार, राजनीतिक दल, न्यायालय र लोकतन्त्रको मन पो कहिले खसखसाउला ?