• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सौरभ
२०७६ मङ्सिर १४ शनिबार ०७:३५:००
सम्झना

राँगो र सिस्नो

२०७६ मङ्सिर १४ शनिबार ०७:३५:००
सौरभ

के दिएको थिएन ?
राँगोले खेत जोतिदिएकै थियो । यावत् पहाडी गरा र कान्लाहरू उसैका देनले हजारौँ वर्ष लगाएर बनेका हुन् । 
भैँसीले दूध, दही, मोही, घिउ, चिज दिएकै थियो । 
राँगो र भैँसीले गोबर मल, गुइँठा र युरिया मल दिएकै थिए । 
मरेपछि पनि मासु दिएकै थियो । शान्तभवन अस्पतालका डाक्टर, कामदारहरूले करिब ६० किसिमका परिकार विकास गरेको विवरण दिइएकै छ । (फ्लेमिङ्स अफ शान्तभवन) कीर्तिपुरको लहनाले डेढ सय परिकार बनाउन सकिने जनाएकै छ । 
मरेपछि करङले उपत्यकाभरिको फोहोर उठाउन सघाएकै थियो । यो लेखिएको वर्ष २०७६ सम्म पनि हेटौँडामा फोहोर उठाउन मद्दत गरेकै छ । 
मरेपछि सिङले मूर्ति बनाउने औजारहरू 
दिएकै थियो । 
मरेपछि हाड र सिङले पनि खेतबारीमा हाल्ने मल र कुखुराको चारालाई बोनमिल दिएकै थियो । 
मरेपछि उसको आफ्नै आँखा झिक्न पनि, अरू कसैको होइन, आफ्नै घुँडाको हाड पनि दिएकै थियो । 
जुत्ता बनाउने छाला दिएकै थियो । 
डोल्पाको फोतगाउँजस्तो दुर्गमदेखि राराको पिँधसम्म पुग्नलाई नारा नामको छालाको लामो डोरी दिएकै थियो । 
वीरगन्जमा दौड प्रतियोगितामा भाग लिएर मनोरञ्जन 
दिएकै थियो । 
सुँगुरको बच्चासँग जुधेर सुराहाई चाड मनाउँदै, हुर्रा खेल देखाउँदै पनि मनोरञ्जन दिएकै थियो । 
आफैँ जुधेर पनि मनोरञ्जन दिएकै थियो । 
आफू चर्दा पनि गोठालाहरूलाई ढाडमा 
बोकेकै थियो । 
बयलगाडा हाँकेकै थियो । 
आफूलाई पाल्दा फाप्ने–नफाप्ने नियम बनाउन लगाएर ज्योतिषीलाई काम दिएकै थियो । 
मरेपछि गाउँलेहरूबीच एकै ठाउँमा ‘भेटघाट सम्मेलन’ गराएकै थियो, पूरै गाउँलेलाई पुग्ने मासु दिएर, पुराकथाका राजा शिवीले जस्तै । 

तर, यातना कतिपय ?
अरू शब्द नथपी एक लेखकको हरफ दोहोर्‍याइदिऊँ, ‘त्यो विशालकाय जन्तुलाई एउटा स्याँगी जत्रै हतियारले रेटेर घाँटीबाट नसा झिकी त्यो निस्केको रगतको धारा देवमूर्तिको मुखमा पुगिरहेको र राँगोले चाहिँ अविरल गतिले काँपेर आँखाबाट आँसु बगाइरहेको यिनै आँखाले देख्नुपर्‍यो । राँगोको मुखलाई डोरीले कसी बाँधेको हुनाले राँगोको थुतुनो मात्र हल्लन्थ्यो । तर, कराउन सक्दैनथ्यो । यति जुक्ति गर्नमा पनि कारण रहेछ, मर्न लागेको जन्तुले कराएको सुनियो भने राम्रो हुँदैन रे ।’ (पेज ४, नेपाली ३१, प्रेमराज पौडेल) 
महिनौँ उज्यालो नदेखेको, जाँडको कट (छोक्रा) खुवाएर पालिएको राँगो मैदानमा छोडिन्थ्यो विक्रम संवत् २००५ सालअघि अनि त्यसलाई हातमा तरबार लिएको भक्कुले जिस्क्याउँथ्यो र मौका पारेर शरीरको जता पायो उतै छप्काउँथ्यो । 
हजारौँ दर्शकको भिड र त्यसको गर्जनाले उत्तेजित प्रहारले आक्रोशित र अन्तमा अनेक प्रहारले क्रुद्ध, गलित, पूर्ण घाइते राँगो जब ढल्थ्यो, घाँटीको नसा काटेर भक्कुले पिउँथ्यो । यही हो भक्कुलाई राँगो दिने जात्रा, जुन २००५ सालमा बन्द भयो । 
अछाममा अर्को राँगो जात्रा आज पनि हुन्छ । जसमा भक्कु एउटै हुँदैन । अनेकन भक्कुहरूले राँगालाई लखेट्दै, हुनसम्म घाइते पारेर मार्छन् ।
नघल, काठमाडौंमा गणेश मन्दिरअघि एउटा यस्तो अभ्यास गरिन्छ पानी पार्न, जो कसैले चाहेर पनि हेर्न सक्दैन । घुँडा फर्काएर राँगो रुवाउने । ऊ जति पीडाले रुन्छ, उति पानी पर्छ भन्ने विश्वास । 
राँगोको मुख्य नसा छिनालेर रगतको फोहोराले कुमारी मन्दिर नढल्ने वा साँच्चै घाँटीबाट पिउने प्रक्रिया त हरेक वर्ष दोहोरिने कुरा हो । नवरात्रिको अन्तिम दिन नवदुर्गाको नाममा भक्तपुरको ब्रह्मायणी मन्दिरमा महिषासुरका नाममा काटिने राँगोलाई खम्मे (ठूलो) भन्छन् । 
तर, राँगो, खेत जोत्ने राँगो बरियारपुरमा पाँच हजार ढालिनुमा यातना कहाँ छ ? माथिका प्रसंगहरूमा जस्तो । 

राँगोलाई मार्कण्डेय पुराणले लखेटेको भए पनि यावत् क्षेत्रमा देवीको स्थापना गर्न प्रेरित गरेकाले भैँसीपालन यसवरिपरि बढेको हो भन्ने कुरा बडीमालिकामा भैँसीपालनको महत्वले दर्शाउँछ । त्यसपछि गोठहरू बने, बस्ती बढ्यो र एउटा आर्थिक गतिविधि सुरु भयो ।

बिगारेको के ?
गाईवस्तुलाई भन्दा २५–३० प्रतिशत कम घाँसपातले पेट भर्ने गरेकै थियो ।
गाईवस्तुले जस्तो बाँ गरेर डिस्टर्ब गर्ने बानी 
थिएन कहिल्यै । 
गाईवस्तुले जस्तै आफैँ कसैको खेतबारी पस्ने 
गरेकै थिएन । 
(अक्टोबर) महिनाको बिहानै पानी जम्ने जाडोमा पनि रारा तालको किनारमा नर्कटमा चरेकै हो । (पेज ७९, इकलजी एन्ड भेजिटेसन अफ नर्थ वेस्ट नेपाल– तीर्थबहादुर श्रेष्ठ)

मात्रै एक गल्ती
मार्कण्डेय पुराणले महिषासुर भनेर यसको नाम के बनाइदियो ? महिषासुर मर्दिनी भनेर दमनकारी नारी पात्र के उभ्याइदियो ? सबैलाई महिषमर्दक हुने सुषुप्त अवचेतनको रोगी बनायो । के नेपालकै जमिनभित्र रचिएको हो मार्कण्डेय पुराण ? 
त्यो वेला कहाँ राजनीतिक सीमा कोरिएको थियो भनेर अरूको कुत्सित मनसाय भित्र्याउने अभीष्ट भएका हरिपहरूसँग केही लाग्दैन । तर, नेपालकै जमिनभित्र रचिएको हो मार्कण्डेय पुराण ? फेरि पनि प्रश्न छ, निरन्तर छ । 
महिषको एउटै गल्ती– प्रहार गर्न पाएपछि सिङले हानेर उछिट्याउँछ । साँढेले जस्तो ढोगौँ ढोगौँ गर्दैन । रातो रङ हल्लिएको देखेपछि सहन सक्दैन । यसैकारण तारो बन्यो मार्कण्डेय पुराणका रचयिताको । यस्तो लाग्छ कुनै राँगोले ‘मार’ दिएको थियो त्यस पुराणका रचयितालाई– ज्यानको भिरसम्म पुर्‍याइदिएको थियो । रिस फेरे तिनले कालान्तरसम्म उसको वंशजले यातना पाउने योजना रचेर । अन्यथा बाघ र चितुवाले हामीलाई के लाभ दिइरहेका छन् र ? 

सम्हालिएको पश्चिम
ल्हाँगो (राँगो) अर्थात् महिषासुर । साइपाल हिमालनजिकै, रायागाउँ पञ्चायत र स्याडा गाउँपञ्चायतको याँगु गाउँमा यसको थान छ । (पेज १९, घुम्टोभित्रको सयरंगी अनुहार हुम्ला– श्रीकृष्ण गौतम) 
धौलेपुराको नामले पुजिन्छन् भैँसीका देवता । (पेज २२६, मस्टो संस्कृति र परम्परा)
मालिका देवी (बाजुरा) को थलीमा धलपुरोको पूजा हुन्छ । यिनै पाटनमा २२ पाटनको सुरक्षाकर्मीका रूपमा मानिने देवीकै सन्तानका रूपमा रहेका धलपुरो देवताको रेखबारी र देखबारी भइरहेको छ । जसलाई २२ पाटनको धनी धल्पुरो भनेर पुकारिन्छ । (पेज ७८ र ११३, बडीमालिका–जहरसिंह थापा)
घरभैँसो–विवाहिता नारी (पेज ६९१, अञ्जुलीभरि सगुन पोल्टाभरि फाग–जयराज पन्त) यो डोटेली संस्कृतिबारेको पुस्तक हो । 
धवलागिरि एउटा प्रसिद्ध हिमालको नाम रहनुको पछाडि राँगोको खुट्टा रहेछ । बाजुरा रहेछ त्यो अर्थलाई अघि बढाउने ठाउँ । 
र, डोटीले भैँसीलाई मानवकै स्थानमा उकालेछ । 
हुम्ला, बाजुरा र डोटीजस्ता पश्चिम नेपालका जिल्लाहरूले राँगो–भैँसीको महत्वलाई जे बुझेका छन् त्यति काठमाडौं उपत्यकाले नै पनि बुझेको छैन, राजधानी भनेर के गर्नु ?

‘राँगो र सिस्नो खाएको बेस आनन्दी मनले’ हुनुपथ्र्यो देवकोटाको पंक्ति । मुद्राराक्षसले गर्दा ‘साग र सिस्नु’ हुन पुगेको छ । देवकोटाले सच्याएनन्, त्यही गल्ती हो उनको । 

र, अब सिस्नो
२०५८ सालमा ताप्लेजुङको तत्कालीन पाँचतारे होटेल (अर्थात् त्यहाँको त्यतिवेलाको सबैभन्दा राम्रो) मालिकले भने– उनले विदेशीहरूलाई सिस्नोको सुप खुवाएर नै त्यो होटल बनाएका हुन् । 
त्यसैले होला, ताप्लेजुङको तल्लो भेगमा मेचेहरूले पनि प्याउली झारसँग मिसाएर खाने गरेका छन् । उपत्यकाका तामाङहरू मंसिरदेखि फागुनसम्मका चार महिना सिस्नोमा हुरुक्किन्छन् । 
२०५७ सालमा सत्यलाल रञ्जितकारले भने– उनले बनाएको सिस्नोको वाइन, लाइसेन्स पाउनका निम्ति नमुनाका रूपमा पठाउँदा सरकारका तत्कालीन १४ वटै सचिवहरूले मागेर हैरान गरे । (उनी भन्थे– त्यो त भियाग्रा हो) 
२०५९ सालमा मनमैजुमा सिस्नोको बूढो झ्याङ उखेलिरहेका दुईजना ज्यामीहरूले जब निकै मोटो जरा निकाले एक जनाले भने– बाँडभन्ज्याङमा दुई पुराना घरमा अहिले पनि सिस्नोका जराका दलिन छन् ।
स्वामी प्रपन्नाचार्यले एक ठाउँ भने— सिस्नोको फूलको खीरजस्तो मीठो केही हुँदैन । (राई बाबासँग साक्षात्कार– टन्डन)
मगरहरूले पनि यसको जोर्नीलाई मल्थाको नाममा त्यसै रुचाउने गरेका होइनन् । 
गुरुङहरूले पनि तितेफापरसँग यसलाई खान त्यसै रुचाएको होइन होलान् । र, वैशाख महिनालाई सिस्नो खाने महिना भनेर त्यसै रोजेका होइन होलान् ।
लिम्बूहरूले यसलाई सृष्टिको पहिलो रूख त्यसै मानेका होइन होलान् । 
सिस्नो र चिप्लेकिराको मिश्रण युगौँदेखि पहाडमा भाँचिएको हड्डी जोड्ने काम्रो पनि त्यसै भएको होइन होला ।
सिस्नोको रेसाको लुगा त्यसै लगाएका होइन होलान्, भांग्रोको आगमन हुनुअघि । 
सिस्नोको बोट माटो राम्रो छ अरू बिरुवाका लागि पनि भन्ने संकेत हो विज्ञानमा । यसले माटोमा फस्फेट र नाइट्रोजन छ भनेर संकेत गर्छ । काठमाडौंका लागि र अन्यत्र पनि सिस्नो भएको ठाउँ परित्यक्त र केही काम नलाग्ने ठाउँ हो यद्यपि । 

अब पहाडी उचाइ
राँगो र भैँसी मनाङको च्याम्जेसम्म पालिन पुगेको त्यसै होइन होला । रारा उक्लेको पनि त्यसै होइन होला । सिस्ने हिमाल नाम भएको पनि त्यसै होइन होला । 
आलुको आगमन सोह्रौँ शताब्दीमा हुनुअघि प्राण धान्ने महत्वपूर्ण साधन थिए यी दुवै । बस्ती विस्तार गराउने उपाय थिए यी दुवै । 
सिस्नो फेरि पशुपति त्रिशूल यात्राको वेला राक्षसको सम्झनामा, घण्टाकर्ण जात्राको वेला सम्झनामा आउँछ नेपालीहरूको । जे असुन्दर छ, त्यो राक्षसकै प्रतीक हो ठानेर नसुध्रिएको हो स्थिति । त्यो कुरा छाडौँ । यथार्थ के हो भने राँगोलाई मार्कण्डेय पुराणले लखेटेको भए पनि यावत् क्षेत्रमा देवीको स्थापना गर्न प्रेरित गरेकाले भैँसीपालन यस वरिपरि बढेको हो भन्ने कुरा बडीमालिकामा भैँसीपालनको महत्वले दर्साउँछ । त्यसपछि गोठहरू बने, बस्ती बढ्यो र एउटा आर्थिक गतिविधि सुरु भयो । 

देवकोटाको गल्ती
‘राँगो र सिस्नो खाएको बेस आनन्दी मनले’ हुनुपथ्र्यो देवकोटाको पंक्ति । मुद्राराक्षसले गर्दा ‘साग र सिस्नु’ हुन पुगेको छ । देवकोटाले सच्याएनन्, त्यही गल्ती हो उनको । मानिस मासु खाने जातै होइन भनेर वैष्णवहरू थाक्दैनन् । तर, दाह्रा (क्यानाइन टुथ) ले स्पष्ट भन्छ– मानिस मूलतः शाकाहारी नै होइन । जेन गोड्डालले गुरिल्लाहरू क्यान्निबल हुन्छन् भनेर पत्ता लगाइन् भन्दै संसारले वाहवाही गर्नुपर्ने कुरै थिएन, दाह्रा भएको प्राणी भएपछि त्यो ।