• वि.सं २०७६ मङ्सिर ३० सोमबार
  • Monday, 16 December, 2019

मस्टो हाम्रो कुलदेवता

२०७६ मङ्सिर १४ शनिबार ०८:१५:००

सबैजसो पहाडे खस नेपालीले दिनहुँ ‘कुलाइन’ (कुलायन, कुलदेउता) लाई साँझ बत्ती बाल्नु पर्छ । कुलाइनको दियो कसैलाई छुन दिनु हुँदैन, मूल खाट र मूल ओच्छ्यानमा अरुलाई सुत्न अथवा छुन दिइँदैन । कुलाइनको दियो बालेको ठाउँमा पनि अरुलाई जान दिइँदैन । कुलाइनको पूजा गर्ने कोठामा अरुलाई छिर्न पनि दिइँदैन । वैशाखे पूर्णिमा र मङ्सिरे पूर्णिमामा सके देवाली (दीपावली) गरेर गोठको धूप हाल्नु पर्छ, नसके पनि कुलाइनको पूजा चाहिँ गर्नै पर्छ । कुलाइनको पूजा बर्तमन (व्रतबन्ध) गरेका छोराले मात्र गर्नु हुन्छ ।

कुलाइनको पूजामा नगरी नहुने र गर्नै नहुने अनेक औपचारिकताहरू छन् । परम्परादेखि आएको पूजा विधिमा भरसक फरक नपरोस् भन्ने हरेक खस नेपालीलाई थाहा हुन्छ । रमानन्द आचार्य (जुम्ला) के भन्दछन् भने, मस्टालाई अरुले छुनु हुँदैन, घर बाहेककाले मस्टाको थानमा जानु हुँदैन अनि नुहाएर मात्र मस्टाको थानमा जानु हुन्छ । औपचारिकतामा कतै अलिकति पनि त्रुटि भयो भने, पिरपिराउ हुन्छ भन्ने मानिन्छ । देवाली नगरेको अथवा गोठको धूप नहालेको वर्षमा आफ्ना गाईको दुधमा चिउरा हाल्नु हुँदैन । 

परम्परादेखि चलेर आएको कुल पूजामा भरसक फरक नपरोस् भनेर जति चिताए पनि समय क्रममा पश्चिम पहाडबाट पूर्व तिर सरेको कुल पूजामा ठावैँ पिच्छे औपचारिकतामा अलि अलि फरक पर्दो रहेछ । यसले गर्दा पूर्वको र पश्चिमका कुलदेवता, पूजा विधि र औपचारिकतामा धेरै फरक परेको देखिन्छ । जुम्लाबाटै मस्टा अरु तिर गएको मानिन्छ ।

सबै पहाडे खस (बाहुन, छेत्री, ठकुरी, कामी, दमाईँ, सार्की, गाइने, बादी, आदि) हरूको मूल कुल देवता मस्टो हो । उदाहरणका लागि पूर्वका पानी पोखरेलका एउटा मुख्य कुलदेउता काला मस्ट हुन् । अर्का कुलदेवताको नाम ‘आदि वाराह’ छ । मनोहर लामिछानेले एउटा मस्टाको नाम ‘वराह’ पनि लेखेका छन्, त्यसैलाई सिवाकोटी (२०१४ इ) ले ‘बारामस्टा’ लेखेको सूचना उनैले दिएका छन् । यसरी एक भाइ मस्टाको नाम ‘वराह’ नै हुन पनि सक्छ । खसान भरि मस्टाहरू १२ भाइ छन् भन्ने किंवदन्ति छ, त्यसै अनुसार एउटा मस्टाको नाउँ नै ‘बारमस्ट’ अथवा ‘बारामस्ट’ भएको पनि हुन सक्छ ।

खसहरू कुलाइनको पूजा चुलाको भर्सेलीमा पनि गर्छन् । कुलाइनको पूजा जुन ठाउँमा गरे पनि हामी भर्सेलीका बिचमा ‘मन्डाल्नी’ लाई कुलदेवी भनेर पूजा गर्छौँ । मन्डाल्नीलाई दुध र सेतो फुलले पूजा गर्नु पर्छ, उनलाई मासु चढ्दैन भनेर हुम्लाको सिमकोटमा एउटा माडौँ (मण्डप) का डाङ्रेले मलाई सुनाएका थिए । मन्डाल्नी हाम्री सबभन्दा ठुली कुलदेवी हुन् ।

कालिकोटमा चाहिँ तुलाराज बिस्टले ‘बन्डाल्नी’ भन्ने एउटी राक्षसीलाई खसहरू पूजा गर्छन् भन्ने सूचना दिएका थिए । त्यहाँ पचालो, खापर, नैनेल (नदी किनाराका देउता) र राँगा माचुलो जस्ता राक्षस देउता पनि पुजिन्छन् अरे । यसरी ठाउँ अनुसार कुनै खसले देउता मानी रहेकालाई अर्को ठाउँका खसले राक्षस मानेको पनि पाइने रहेछ । अवेस्तामा देउतालाई ‘असुर’ भनिन्छ भने राक्षसलाई चाहिँ ‘दएव’ (देव) भनिन्छ (विलियम मलन्द्रा, १९८३ इ, ‘एन इन्ट्रोडक्सन टु इरानियन इन्स्क्रिप्सन्स’, पृ० ४७)। ‘असुर’ शब्द ऋग्वेदमा १०५ पल्ट प्रयोग गरिएको छ, जस मध्ये नराम्रो अर्थमा चाहिँ १५ पल्ट मात्र र राम्रो अर्थमा चाहिँ ९० पल्ट प्रयोग भएको छ (विकिपिडिया)। आर्यहरूकै दुई खाले बगाल बिचमा भएको वैमनस्यले गर्दा ‘देव’ र ‘असुर’ शब्दमा अर्थ परिवर्तन भएको रहेछ । मन्डाल्नीलाई अन्यत्रका खसहरूले देवी मान्ने कालिकोटमा चाहिँ राक्षसी मानेर पूजा गर्ने चलनमा पनि त्यस्तै परेको हुन सक्छ ।

मनोहर लामिछाने र प्रेम कैदीले मस्टाका सूचनाको मूल स्रोत खसानका ‘फाग’, ‘सगुन’, ‘हुड्केली’ र ‘भारत’ जस्ता लोक गाथामा पाइने कुरो गरेका छन् ।
खसान क्षेत्र (कर्णाली र सुदूर पश्चिम) मा मस्टो नै सबै भन्दा ठुलो देउता हो । सबैलाई दुधको दुध पानीको पानी छुट्याएर न्याय दिन सक्ने भएकाले मस्टा नै त्यहाँ गरिबगुरुवामा सबै भन्दा प्यारा छन् । खसानमा मस्टाको निर्णय जुनसुकै मुद्दामा सर्वस्वीकार्य हुन्छ । त्यहाँ मस्टालाई ‘दैलाका देउ’ का रूपमा पुजिन्छ । मस्टाका धामीको ठुलो सामाजिक भूमिका हुन्छ । खसानमा धामीका माध्यमबाट मस्टा नै क्षेत्र रक्षक र न्याय कर्ता हुन् । मस्टाको धामीले पतुर्दै अक्षताको टीको लगाई दिने, घण्टले टाउको छोई दिने र आसिक दिने गर्दा सुब्बेफाब्बे हुन्छ भन्ने जन विश्वास पाइन्छ ।

आफुले चिताएको सबै कुरो पु‍¥याई दिने भएकाले ठुलो आस्थाले खसानका मानिसहरू मस्टाको पूजा गर्छन् । मस्टाको पूजा विधि पनि ठाउँ अनुसार फरक पर्छ । लामिछाने (सल्यान) को सूचना अनुसार चैत्र शुक्ल अष्टमीमा थानमा पूजा गर्ने चलन भएपनि साउन शुक्ल पूर्णिमामा मस्टाको पूजा धूमधामसित हुन्छ । कुल पूजा (देवाली) चाहिँ कार्तिक पूर्णिमा र जेठ पूर्णिमामा गरिन्छ । देवाली ३, ५, ७, ८, १२ वर्षमा गरिन्छ, तर प्रायजसो वर्षको २ पल्ट गरिन्छ । पूर्वी नेपालमा चाहिँ कुल पूजा वैसाखे पुर्नियाँ र मङ्सिरे पुर्नियाँमा गरिन्छ । कुलदेउतालाई कात्तिक पूर्णिमामा न्वागी चढाउने गरिन्छ । न्वागी खानकै लागि धामीहरू विभिन्न गाउँमा जाने चलन छ । नयाँ बालीलाई न्वागी भन्दछन् । कुनै ठाउँमा चाहिँ मस्टाको पूजा आइत बार र बुध बार गरिन्छ भन्ने लामिछानेको सूचना छ ।

आर डी प्रभास ‘चटौत’ (डँडेल्धुरा), मनोहर लामिछाने (सल्यान) र रमानन्द आचार्य (जुम्ला) ले दिएको सूचना अनुसार मस्टाको थान, माडौँ, माणु खुल्ला हुन्छ, त्यहाँ छानो हुँदैन, मूर्ति हुँदैन, ढुङ्गो थापेर अथवा खोपामै पूजा गरिन्छ। आफुलाई समस्या पर्दा मस्टालाई जहाँ पनि स्मरण गरे पुग्छ । वन थलो माणु र घर थलो माणु गरी माणु पनि दुई किसिमको हुन्छ, वनमाणुमा चाहिँ लिङ्गो हुन्छ, विशेष पूजा मात्र हुन्छ, तर घरमाणुमा नै दैनिक पूजा हुन्छ । मस्टाको थानमा ‘आलम’ (ध्वजा पताकाको लिङ्गो) गाडिएको हुन्छ ।

मस्टाको आगम (वा गुह्य स्थान) लाई ‘गब्युर’ (गर्भगृह?) भनिन्छ । मस्टाको थानमा तिन ओटा गर्भगृह हुन्छन् (रमानन्द)। गब्युरसँगै गाडिने आलम सहितकै लिङ्गो प्राय धामीले पतुर्ने मस्टाको थानमा मात्रै फहराउँछ । मस्टाको थान भित्र र वरपर ढुङ्गा, काठ, तामा, पित्तल, काँस, आदिका मूर्ति, त्रिशूल, रुद्राक्षका माला, दियो, र शङ्खघण्ट हुन्छ (आचार्य)। बझाङमा चाहिँ मस्टाले गद्धी (‘पाट’ भनिने काठको खाट) मा दर्शन दिने कुरो सुनाउँदै डा. लक्ष्मी पण्डित के भन्दछन् भने त्यहाँ ‘वनमाणु र घरमाणुको भेद हुँदैन, पुजारीको घरमै मस्टाको कम्पन हुन्छ । 

मस्टाको थान भित्रै एक भागमा माटाको मैरो बनाइएको हुन्छ, जसलाई गादी भन्दछन् । मन्दिरमा चारै तिर ढुङ्गाले बारेर सामान्य धजा, फलामको सोटा (एक प्रकारको राजदण्ड) र घण्टहरू राखिएका हुन्छन् । थान वा मन्दिर प्राय उत्तर (कैलास?) तिर फर्केका हुन्छन् (लामिछाने) । मस्टाको नजिकै देवी थान हुन्छ, (जस्तै, डोटीको शैलेश्वरी मन्दिरकै पछाडि चण्डेश्वरी भैरव थानको २० मिटर जति दूरीमा छेत्रपाल दुधे मस्टाको थान छ) । मस्टा र भवानीको नाउँसँगै भैरव, झाँक्री, सिद्ध, बेताल, जस्ता देउताहरूको नाउँ प्राय जोडिन्छ (लक्ष्मीदत्त अवस्थी) ।

लामिछाने अनुसार मस्टा र भवानी दाजु बहिनी भए पनि मस्टाका परिवारमा मस्टाका भतिजा, मामा, भान्जा, भान्जी र सेवकहरू पनि भएको विश्वास गरिन्छ । मस्टाको थान नजिकै दायाँ बायाँ अलिक पर विभिन्न प्रकारका स्थानीय भूत, प्रेत, पितर, भैयार, सासल्या, बज्रठिङ्ग्याल, खोल्या, महाकाल (मकाल), भैरव, लाटो, तेडी, समैजी र बेताल जस्ता डुलुवाहरूको भाग मस्टाको छुट्याइएको हुन्छ । यस्ता स्थानीय देव र भूतप्रेतलाई मस्टाले नै नियन्त्रण गर्ने विश्वास गरिन्छ । मुगु र हुम्ला तिर लामाज्यु भनेर पनि मस्टासितै पूजा गरिन्छ (बौद्ध प्रभाव?) । 

मस्टाको पूजाआजामा धामी, डाङ्री, पुजारी, दमाईँ र कबिलास (कैलास भाक्ने) नियुक्त हुन्छन् । मस्टाको धामीले रुद्राक्षको माला लगाउँछन्, कपाल पाल्छन्, त्रिशूल, चिम्टा र फलामको लौरो लिन्छन् (आचार्य)। मस्टाको धामी ईश्वरीय शक्ति भएको मानिन्छ । धेरै धामी भएका ठाउँमा एक जना मुख्य धामी र अरु सहायक धामी हुन्छन् । मूल धामी गादीको मुख्य अधिकारी हुन्छ । मस्टा उत्पत्तिका मुख्य ठाउँबाट अरु ठाउँका धामीलाई छाप अथवा लालमोहर दिने पनि चलन हुन्छ । मस्टाको धामी र पुजारीको जुनसुकै जात हुन सक्छ । धामी पछिको अधिकारी डाङ्रीले थानको रेखदेख, पूजाका भाँडाकुँडा र अरु सामग्रीको सुरक्षा गर्छ । मस्टाको धामी नाच्ता दमाईँहरूले दमाहा बजाउने हुनाले दमाईँहरू पनि मन्दिरकै सहायक मानिन्छन् (लामिछाने) ।

मस्टाको सबै भन्दा ठुलो प्रभाव क्षेत्र जुम्ला हो । जुम्लाको पश्चिम तिर पनि पूर्व तिर पनि मस्टाको प्रभाव कम छ, कालिकोटमा मस्टाका विशिष्ट बेहोराहरू देखिन्छन् । कुमाउँ र गढवालमा पनि मस्टो मानिन्छ । मस्टाको उत्पत्ति स्थल मानसरोवरदेखि कर्णाली सम्म मानिन्छ । आचार्य भन्दछन्, ‘धामीका पडेली (भकाइ)’ मा इन्द्रलाई मस्टाका बाबु भन्छन्, मस्टा ‘भोटमा उब्जेका’ भनेर चिनाउँछन्, मस्टाको पूजामा आराध्य देव शिव नै हुन्छन्, अनि वन, पाटन हुँदै मस्टा हिँडडुल गर्छन् । 

मनोहर लेख्छन्, बाल ब्रह्मचारी मस्टालाई निराकार मानेर रूपमा पूजा गरिँदैन । मस्टाको मूर्ति हुँदैन, ढुङ्गो थापेर पूजा गरिन्छ । मस्टालाई वायु रूपको हुन्छ पनि भनिन्छ । शिवजीले सबै प्राणीको पालन, पोषण र रक्षा गर्न खटाएका गण मस्टा हुन् । मस्टो उदारता र समन्वयको प्रतिमूर्ति हो । कुलचन्द्र कोइराला मस्टो शब्दको व्युत्पत्ति नै ‘मरुत्, मरुत्तस्’ (वायु) बाट भएको मान्दछन् ।

मस्टालाई खसान क्षेत्रका कुलदेउता, क्षेत्रपाल अर्थात् त्यस क्षेत्रका रक्षक, भूमिपति, अरु स्थानीय देउतालाई पनि नियन्त्रण गर्न सक्ने, परम शक्तिशाली देउता मानिन्छ । आचार्य मस्टाको गोत्र वामदेव (शिवकै नाउँ) हो भन्दछन् । डा. जयराज पन्त (डोटी) ले शिवजी र पार्वतीको गणका रूपमा मस्टो लोक कल्याण कार्यमा खटिएको जनाएका छन् । मस्टाको धामीले पडेली र कैरण पतुर्दा खस प्राकृत भाषा बोल्छ । भारत, हुड्केली, गाथा, फाग र सगुनमा जस्तो भाषा पाइन्छ, त्यताको धामीले पतुर्दा त्यतै तिरको बोली प्रयोग गरेको देखिन्छ (लामिछाने)।

चटौतले अमरकोशमा ‘मश्’ धातुको अर्थ ‘रिसाउनु’, ‘कराउनु’, ‘तपस्या गर्नु’, ‘हिंसा गर्नु’ बाट मस्टाको अर्थ खोजेका छन् । ‘शब्दकल्पद्रुम’ मा त्यसै सम्बन्धी ‘मक्ष’ धातुको अर्थ पनि ‘रिसाउनु’, ‘कुट्नु’, ‘कराउनु’, ‘मार्नु’, ‘फल दिनु’ पाइन्छ । चटौतले भेस बदलेर वा प्रकट भएर कसैको परीक्षा लिनु, भविष्यवाणी गर्नु, भलो हुने कुरो बोली दिनु (सात्विक गुण), अनि ‘चोट पु‍-याउनु’, ‘क्षति गर्नु’ (रजोगुण) भन्ने अर्थ मस्टासित मिल्ने ‘मश्’ धातुबाट निकालेका छन् । आचार्यले ‘शिवमहिम्नस्तोत्र’ मा शिवलाई ‘महिष्ठः’ भनेको कुरो अघि सार्दै ‘मस्टो’ शब्द त्यसै शब्दबाट व्युत्पन्न भएको निर्णय दिएका छन् । ‘मस्टो’ लाई स्थानीय जन जिब्राले ‘मइठो देउ’ (महिष्ठ देवः) भन्दछ । यसबाट ‘मस्टो’, ‘महिठो’ अथवा ‘मइठो’ शब्द भगवान शिव जनाउने ‘महिष्ठः’ शब्दबाट बनेको रहेछ भन्ने अर्थ निस्किन्छ । इरानीहरूको ‘अवेस्ता’ मा मुख्य देवताको नाउँ ‘अहुर मज्दा’ भन्ने पाइन्छ । आचार्यको भनाइ मान्नु हो भने, ‘अहुर मज्दा’ भन्ने शब्द संस्कृतको ‘असुर महिष्ठः’ भन्ने शब्दबाट बनेको प्रमाणित हुन्छ । आप्टेको ‘संस्कृत शब्द कोश’ अनुसार ‘महिष्ठः’ शब्दको अर्थ ‘महान् देव’ (अर्थात् महादेव) हुन्छ । 

विलियम मलन्द्रा (१९८३ इ, एन इन्ट्रोडक्सन टु एन्सिएन्ट इरानियन रिलिजन) ले इरानी अखामनीहरूको अभिलेख (पृ० ४५) मा ‘अहुरस्य मज्दाह्’ (असुरस्य महिष्ठ?) भेटेका छन् । त्यस अभिलेखमा ‘अन्तिम जनाधिक्यका वेलामा मज्दाले यिमसित (शिवले यमसित?) सामूहिक सल्लाह गरे’ (१७६) भन्ने लेखिएको छ । कुज्मिना (२००७ इ, हिष्ट्रियर अफ इन्डोइरानियन्स) ले इरानी आर्यहरू वैदिक आर्यसँग छुट्टिएर दक्षिण तिर लाग्दा यमले नेतृत्व गरेका थिए भन्ने लेखेकी छिन् । यमलाई अवेस्तामा ‘यिम’ भनिएको छ । हिन्दुकुशको स्वात उपत्यकामा इन्द्रलाई ‘यिम्र’ भनिएको छ ।

यसरी ‘यिम’, ‘यम’, ‘यिम्र’ र ‘इन्द्र’ को साइनो गाँसिन्छ (पर्पोला, २०१५ इ, ‘रुट्स अफ हिन्दुइज्म’) । लामिछानेले मस्टालाई इन्द्रको सन्तान मानिने भएकाले ‘इन्द्र गादी’ (इन्द्रासन) इन्द्रबाटै मस्टाले अधिकारमा पाएको विश्वास गरिन्छ, त्यसैले धामीहरू गादी (मैरो) मा काम्दै उफ्रेर चढ्छन् अनि यसरी काम्दा ‘देउता चढ्नेङ चढ्ने, जिउ चढ्ने, औतार लिने’ हुनाले मस्टाको बोली देव वाणीमा परिणत हुन्छ भन्ने लेखेका छन् । मस्टाहरू आफुलाई इन्द्रका छोरा (शिवजी इन्द्रका छोरा?) भनेर चिनाउँछन् भन्दै लक्ष्मी पण्डित ‘इन्द्रको जायो (छोरो) मइठो (मस्टो) बोलायो’ भन्ने बझाङको उखान सुनाउँछन् । पण्डितको भनाइ अनुसार मस्टाकी ‘आमा मन्डाल्नी, बाबु इन्द्र’ हुन् । इन्द्रको मूल्याहा छोरो भएकाले मस्टालाई इन्द्रले पातालमा फ्याँकी दिएको किंवदन्ति बझाङमा छ अरे । सोमयाग, महाव्रत, राजसूय, वाजपेय र अश्वमेध यज्ञमा व्रात्यहरूलाई देउताले स्वर्ग लगेनन् भन्ने प्रसङ्ग आउँछ । अथर्व वेदमा शिवजीलाई नै व्रात्य भनिएको छ (पर्पोला, २०१५ इ) ।

खसान क्षेत्रमा प्रचलित लोक कथा र गाथा अनुसार दक्ष यज्ञ नाश गरेपछि शिव गण मध्ये वीरभद्र जस्ता केही चाहिँ शिवजीमा लीन हुन चाहे, तर केहीले चाहिँ वायु रूपमा घुम्ने, मान्छेको जिब्राले बोल्ने इच्छा गरे । मस्टा तिनै शिव गण हुन् (आचार्य)। अर्को लोक कथा अनुसार असुर (दक्ष?, रावण?, जालन्धर?, शङ्खचूड?, अन्धकासुर?) हरूले शिवकी भगवतीलाई दुव्र्यवहार गरी बन्दी बनाएकाले शिवजीले आफ्ना गण (विनायक?, गणेश?, स्कन्द?) हरूलाई मुक्त गर्न लगाए । गणहरूले मस्तक थापेर युद्ध गरी जिती ल्याएका (मस्तकमा राखेर भगवतीलाई ल्याएका?) हुनाले त्यही मस्तकबाट मस्टो शब्द बनेको हो (लामिछाने) । मानसरोवरमा विहार गर्ने क्रममा शिवजीको वीर्यपात भएर दन्दनी बलेको आगो स्वर्गबाट नुहाउन आएका दुइटी अप्सराले तापेकाले एउटीले कालिका, मालिका र दुर्गा जन्माएको र अर्कीले मस्टो जन्माएको पनि मिथक छ (लामिछाने) । भैरव र सिद्धका रूपमा पनि मस्टा पुजिएको सूचना पनि पाइएको छ ।घोडा नै मस्टाको प्रमुख वाहन हो, तर भेडा, चितुवा र जाड्या पनि मस्टाका वाहन मानिएका छन् ।

घोडा नै मस्टाको प्रमुख वाहन हो, तर भेडा, चितुवा र जाड्या पनि मस्टाका वाहन मानिएका छन्

मस्टाहरू १२ भाइ छन् र उपभेद ८४ छन् भन्ने किंवदन्ति खसानभरमा छ अनि त्यो उपभेदको आधार धामी हो (आचार्य), तर सूचकहरूबाट बटुलेका मस्टाका नामहरू गनी साध्य छैन, जस्तै, (१) उखाडी, उखड्या (मनोहर):आचार्य अनुसार यो मस्टाको मूल थलो जुम्लाको उखाडी हो । (२) कवा, कः, कावु (मनोहर): ‘कवा’ मस्टाको मूल थान मुगु हो । ‘कवा’ मस्टालाई केश अर्थात् कपालको आँठो चढाउँछन्, (आचार्य)। मनोहर ‘कौवा’ मस्टाको मूल थलो ‘कौवा लेक’ लेख्छन् । (३) कालोसिल्टो, कालसिला, काल्सिला, काला, काल्या, ‘कालाशिला विनायक मस्टो’ (बिस्ट, कालिकोट), (४) क्षेत्रपाल, छेत्रपाल्या : पूर्ण धितालको भनाइ अनुसार क्षेत्रपाल मस्टालाई समन्वयकारी मस्टो मानिन्छ, क्षेत्रपाल मस्टाको माडौँ जुम्लाको धिताल्नी गाउँ हो । (५) खापड, खापर : खापर मस्टाको माडौँ कालिकोटको पलाँता गाउँ हो (धिताल)। लामिछाने चाहिँ कालो खापडे अर्थात्, खापर मस्टाको माडौँ खप्तड हो भन्दछन् । 

(६) ढणार, ढँडार, ढँडारे : आदि मस्टाका रूपमा पुजिने यो जेठो भाइको मूल थलो बझाङको ढँडार हो । ‘रातो ढँडार’ भन्ने बेग्लै मस्टो पनि छ कि? ‘ढँणार फुट्यो, पखान छुट्यो’ भन्ने उखानको अर्थ हो : ढँडारको प्रवाहमा प्रवाहित हुँदै जल, थल, पाखापखेरा सबै मस्टामय भए (पण्डित)। (७) थार्पा, थापर, थापरे, थार्प, थार्पो मस्टालाई सर्वज्ञ र विद्वान् मस्टो मानिन्छ । मुगुको थार्पा भन्ने ठाउँ यसको मूल थलो हो । मुगुमा ‘मस्टो पोखरी’ छ (धिताल)। (८) दाढ्या, ढाडे, दाढे, दारे : धिताल अनुसार चमत्कारी दाढ्या मस्टाको माडौँ मुगु हो । जुम्लाकै आचार्य चाहिँ दाढ्या मस्टाको मूल थलो दुल्लु हो भन्दछन् । सल्यानका लामिछाने चाहिँ ‘दारे’ मस्टाको मूल थलो जुम्ला, मुगु र जाजरकोट लेख्छन् । (९) दुध्या, दुधे, दुधेसिल्टो : यो ‘दुध खाने सात्विक’ मस्टाको मूल थलो दुल्लु हो (आचार्य) । यो मस्टो शाकाहारी हो अरे । (१०) बाम, बाओँ, बाहाँ : धिताल अनुसार बाओँ मस्टाको माडौँ जुम्लाको बाओँ गाउँ हो । बाओँलाई सुरक्षा दिने देउता मानिन्छ । आचार्य चाहिँ ‘बाहाँ’, ‘बाम’ मस्टाको मूल थलो मुगु भन्दछन् ।)

(११) बाबिरो, बाबिरा : धिताल अनुसार जुम्लाको खलङ्गा नजिकैको बाबिरा गाउँ बाबिरो मस्टाको माडौँ हो। आचार्य बाबिरो मस्टालाई कान्छो भाइ भनेर चिनाउँछन् । बालकृष्ण पोखरेल (२०५५, खस जातिको इतिहास, २४०) ले ‘(बाबिरो) मस्टा’ शब्दको साइनो इरानी ‘(बाबैरुरा) मज्दा’ सँग जोडेका छन् र बाबिरो मस्टाले खसहरूलाई एकातिर असुरसित अर्कातिर बेबिलोनसित जोड्छ भन्ने विचार व्यक्त गरेका छन् (लामिछाने)। (१२) बिजुल्डाणो : आचार्य यस मस्टाको मूल थलो जाजरकोटको ब्वारेकोट मान्दछन् । (१३) बुढो, बुढाल, बुडु, बड : जुम्लामा बुडु मस्टालाई नै सर्वशक्तिमान् मस्टो मानिन्छ । बुडु मस्टाको माडौँ जुम्लाको बुडु गाउँ हो (धिताल) । बुडु नै सबै भन्दा जेठो मस्टो हो । (१४) रमाल, रुमाल, रुमाल्या मस्टाको मूल थलो लामिछाने (अछामको?) ‘खिड्कीसैनी’ लेख्छन् । (१५) लाडे, लरे, लाट्या, लाटो, ‘लट्टे, जटाधारी’ मस्टो इमान र न्यायको देउता हो, जसको माडौँ जुम्लाको सन्जेलबाडा हो (धिताल), तर जुम्लाकै आचार्य चाहिँ लाटो मस्टाको मूल थलो हुम्ला भन्दछन् । (१६) सुनारगाउँ, सुनारगाउँले मस्टाको मूल थलो जुम्लाकै सुनारगाउँ हो (आचार्य) । 

लामिछानेले दिएका मस्टाका अरु नाउँ यस्ता छन् : उडिसिला, कमल, कलि, कुर्मी, कैडल्यो, कैलास, क्यँडालो, खुन्दात, खुन्दाल, गुणे, गुरौ, ‘गुरो’ (मूल थलो हुम्ला र मुगु), घुरापानी, जिय, टेठ्या, टेढी, ‘तेडी’ (मूल थलो डोटी), डाङ्री, डोग्री, तुसापानी (ढुसापानी), पुवाँले, बान्नी, बाँसकोट‍¥या, बाँस्यालो, माङ्ले, मुण्डा, रुद्र, लाकुड्या, लाङ्खुरे, लिउडी, वनपाला, वराह, बारामस्टा, सुकिलो हंस र सुन्दरगाउँले । 

तुलाराज बिस्ट लिङ्गासैनी मस्टलाई भगवान शिव मान्दछन् । उल्लेख गरिएका सूचकहरूले मस्टाका अरु नाम र किसिम पनि चिनाएका छन्, जस्तै कामत, कैल्या, डढी सिमल, डाँडा, थोते, धौलपुरा, धौलपुर, धौलपुरे, धवलपुरी, बिजुल, मण्डल्या, मुढ्या, म्हावै, वाँ, लरिचाल, लाङ्डा, लेखाडी, लोखाडी, साइन, सिम । स्थान भेद र उच्चारण भेदले पनि मस्टाको सङ्ख्या बढेको पाइन्छ । 

स्वभावका दृष्टिले मस्टा तिन किसिमका पाइएका छन् : (अ) रजोगुणी मस्टाले रगतको वलि खान्छन्, जस्तै,  जेठो आदि मस्टो, रुमाल मस्टो, दाह्रे, खप्पर, खपरे, र टेढी । दारे मस्टाको धामीले दाँतले बोकाको घाँटी टोकेर वलि स्वीकार्छ । दारेबाटै थोते मस्टो जन्मेको मानिन्छ । (आ) सत्वगुणी मस्टाले दुध र खिरको वलि मात्र खान्छन्, जस्तै, दुधे र लडे । (इ) सर्वाहारी मस्टाले जस्तो वलि पनि खान्छन्, जस्तै, मुण्डा, रुद्र, कैली, काला र रानी मस्टाहरू ।

पण्डित के भन्छन् भने, ठाउँका नाउँले मात्र मस्टाको सत्या धेरै देखिएको हो, नत्र मस्टो एउटै मात्र हो । त्यसका मूलतः ३ किसिमका रूप हुन्छन् : (अ) दाढ्या (दाँत देखाउने अर्थात्, भोग खाने), (आ) दुध्या (दुध खाने), (इ) रोड्या (न्यायाधीश)। उनको भनाइ अनुसार बझाङमा मस्टालाई मासु चढाइँदैन, दही चामलले मात्र पुजिन्छ । 

बाह्र भाइ मस्टा र नौ बहिनी भवानी भन्ने प्रसिद्ध भए पनि भवानीका नाउँमा पनि एकरूपता पाइँदैन । लक्ष्मी पण्डित भन्दछन्, मस्टालाई बझाङ तिर १६ बहिनीको ‘एकलो भाइ’ भनेर चिनाउने चलन छ । भवानीहरूका नाउँ यस्ता भेटिन्छन् :

अलकनन्दा, कनकसुन्दरी, कालिका, खेसमालिनी, चुली मालिका (कालिकोट), जालपादेवी, ठिङ्ग्याल्ली, डिँग्याल्नी (.गद्धीनसिन), थिगेल्नी, त्रिपुरासुन्दरी, दुधे भवानी (जुम्ला), दुलेल्ली, नदई (जुम्ला), निगालासैनी (डोटी, बैतडी), पुँगेल्नी, पुँग्याल्नी (.अधिकारिणी), पुगमालिका (कालिकोट), पोटलासैनी (डोटी, बैतडी), बडी मालिका (कालिकोट), बन्डाल्नी (पूर्ण धितालको भनाइ अनुसार यिनै सबभन्दा ठुली देवी हुन् ।

आचार्य यी देवीको वैकल्पिक नाम मण्डाल्नी भन्दछन् । बिस्टले चाहिँ बन्डाल्नीलाई जङ्गलमा पूजा गरिने राक्षसी देवी भनेर चिनाए । आचार्य इन्द्र पत्नी ‘मस्टाली’ लाई चाहिँ दैत्य मानिन्छ भन्दछन् ।), बिन्द्रवासिनी, (डोटी, बैतडी, अवस्थी), बिन्दासैनी, भवानी, भुजेल्नी (जुम्ला), मङ्गलासैनी (डोटी, बैतडी),मालिका, रामारानी (रामारानीका रूपमा खसानसँग जडान संस्कृतिको एउटा बाहोँ मिसिएको पाइन्छ), शैलेश्वरी वा शिलादेवी (डोटी, बैतडी), सुन्दरादेवी, ह्रूपा देवी (अग्ला टाकुरामा बस्ने, ऋषितर्पणीमा मात्र पुजिने, कालिकोट)। आचार्य भवानीहरूलाई मस्टाका अनुचरी भनेर चिनाउँछन् भने अरुले बहिनी भनेर चिनाएका छन् ।

 

प्रतिकृया दिनुहोस