• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
बालकृष्ण कट्टेल
२०७६ मङ्सिर १४ शनिबार ०८:३४:००
साहित्य

सिँढी

कविता

२०७६ मङ्सिर १४ शनिबार ०८:३४:००
बालकृष्ण कट्टेल

एउटै सिँढीमा
बनेका हुँदा र’छन्
चढ्ने र ओर्लने खुट्किलाहरू ।

चढ्नु उकालो हिँड्नु हो
ओर्लनु ओरालो झर्नु ।
सिँढी चढ्दै गरेको
यात्रुलाई सोधेँ–
कुन सजिलो, 
उकालो चढ्न कि
ओरालो झर्न ?

फलैँचामा
आराम गरिरहेको
यात्रुले भन्यो–
मान्छे उकालो
रहरले चढ्छ
चढ्ने क्रममा
थकाइ त लाग्छ
तर, रहरको थकाइले
मान्छेलाई गलाउँदैन ।

ओरालो
रहरले झर्दैन मान्छे ।
झर्नु उसको बाध्यता हुन्छ
झर्दै गर्दा
थकान मात्र हुँदैन ऊसँग
डर पनि उत्तिकै हुन्छ–
चिप्लिएर तलै पो पुगिन्छ कि भन्ने ।
मान्छेलाई
थकानले भन्दा
डरले साह्रै गलाउँछ ।
चढ्दै चढ्दै
जति नै माथि पुगे पनि
फेरि ओर्लनुपर्छ भन्ने
बिर्सेन भने मान्छेले
चढ्नमा भन्दा
ओर्लनमा मजा लिन्छ
उक्लँदै गर्दा
सहारा बनेको उसको लठ्ठी
ओर्लने क्रममा
झन् ठूलो भरोसा बन्छ ।

चढ्ने क्रममा
चुचुरो मात्र हेरेर
हिँड्ने यात्रु
टाकुरामा पुगेपछि
लेक लागेर हो कि
उकालो हिँड्न नजानेर
टिमुर र लसुन
खोज्न थाल्छ
जसलाई छेउमा भेट्छ
उसैलाई सोध्न थाल्छ–
‘बल्ल त आइपुगियो
अलिबेर बस्न
के के गर्नुपर्छ ?’

‘बस्ने’ क्रममा
सिँढी बिर्सनेहरू
ओर्लने यात्रामा
धेरैपटक लडेका छन्
चढेँ भन्दै
झर्ने क्रममा
खुट्किलामा अडिन नजान्नेहरू
एकैपटक
तलै पुग्ने गरी ढलेका छन् ।

यहाँ त 
हिँड्न नजानेरै हो
मान्छे यात्रामा लड्नुपरेको
आफ्नै पाइलामा
अडिन नजानेरै हो
मान्छे यात्रामा ढल्नुपरेको !

हिँड्न जानियो भने
चढ्न जस्तै
मजा हुन्छ
झर्नमा पनि
उक्लने सिँढीमै त
बनेका हुन्छन् नि
ओर्लने खुट्किला पनि !