• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
अनुराधा
२०७६ मङ्सिर १४ शनिबार ११:३७:००
सम्झना

मलाई गलत नसम्झ

चिठी

२०७६ मङ्सिर १४ शनिबार ११:३७:००
अनुराधा

मित्र,
सम्झना ।

सायद आज पहिलोपटक तिमीलाई म मित्र भनेर सम्बोधन गर्दै छु, तिमी अचम्ममा नपर्नु । प्रिय भन्ने शब्दको अधिकार अब तिमीले गुमाइसकेका छौ र म तिमीलाई साथी पनि लेख्न सकिनँ किनभने मलाई जिन्दगीभरि साथ दिने वाचा तिमीले तोडेर गइसकेका छौ तथापि मित्रसम्म लेख्ने आँट जुटाउन सकेकी छु । 

मित्र, 
अब म तिम्रो विरहमा कदापि सिरानी भिजाउनेछैन । यो सम्बन्धलाई अनायास अन्त्य गर्ने निर्णय तिमीले नै गरेका हौ । यसकारणले पनि तिम्रा कठोर नयनहरू अनि भरोसाविहीन मुटुको जिम्मा पनि तिमी आफैँले लिनू । मेरो जातलाई कारण बनाई अस्ति यही चौतारोमा तिमीले ती तमाम सम्बन्धलाई तोडेर गयौ जहाँ तिमीले मसँग जुनीजुनी साथ निभाउने वाचाहरू गरेका थियौ । ‘परिवार अनि समाजको दबाबका अगाडि मेरो केही उपाय चलेन । म आजदेखि ती सबै सम्बन्धलाई यही चौतारोमा बिसाएर जाँदै छु जुन सम्बन्ध यही चौतारोबाट सुरु भएको थियो ।’ 

जब तिमीले मलाई यी सबै कुरा एकै श्वासमा भनेका थियौ, त्यसवेला म उभिएको त्यो धरातल चौतारोसहित कतै भासिएकोजस्तो मलाई भान भएको थियो । मेरा सबै भावनाहरू भासिएका थिए र मुटुका टुक्राहरू समेट्नै नसकिने गरी यत्रतत्र छरपस्ट भएका थिए । मलाई धेरै समय लागेको थियो आफ्नो बौलाहा मनलाई सम्झाउन । आज म त्यही चौतारोमा बसेर तिम्रा लागि यो पत्र लेख्दै छु । तिमीभन्दा त यही चौतारो जाती रहेछ, कमसेकम शीतलता प्रदान गर्नुअघि कसैको जात त सोध्दैन । 

मलाई यो त थाहा छैन कि आउने दिनहरूमा तिमीले आफ्नो मुटुलाई कसरी मूर्ख बनाउनेछौ, तर मैले आफ्नो मुटुलाई यतिवेला सम्हालिसकेकी छु । मुटुले कुनै जातको परिभाषा जान्दैन । त्यो त सबैको छातीमा उस्तै गरी धड्किन्छ । म फरक जात भएकै कारणले न त मेरो मुटु फरक छ न त यसको धड्कन आजसम्म कहिले रोकिएको छ । जिउँदै छु र यतिवेला तिम्रा लागि यो पत्र लेख्दै छु, के यो सबुत काफी छैन र ? 

त्यतिवेला तिम्रो निर्णयले मेरो छातीमा एउटा अचम्मको ऐठन पारेर बेग्लै प्रकारको भक्कानो फुटाएको थियो । सायद धार नभएको हतियारले जब कसैको हृदयलाई रेटिन्छ तब उसका नयनहरू सुक्खा हुँदाहुँदै पनि बोली भक्कानिन्छ । असहनीय दुखाइ हुँदा पनि चोटको पत्तो नभएजस्तो, म त्यतिवेला चोट अनि दुखाइको भुमरीमा घुम्दै आफ्नो पीडाको गहिराइ नाप्ने प्रयास गर्दै थिएँ । 

‘मलाई गलत नसम्झ, म मेरो परिवेशले गर्दा बाध्य भएको छु । कहिलेकाहीँ परिवेश अनि बाध्यता यति हदसम्म हाबी हुँदो रहेछ कि त्यसले मानिसलाई नचाहेको निर्णय गराउँदो रहेछ, आज म त्यस्तै बाध्यता अनि परिवेशको सिकार भएको छु ।’ तिम्रा यी शब्दहरू मेरा कानमा पगालेको तातो फलामको झोलसरि प्रवेश गरेको थियो । अनि मलाई सम्झाउने प्रयासमा तिम्रा हातहरू मेरा काँधतर्फ बढिरहेका थिए अनि त्यतिवेला मैले तिमीलाई भनेकी थिएँ, ‘तिमी आफ्ना हातहरूलाई रोक, मलाई छुने अधिकार अब तिमीसँग छैन । तिमीलाई तिम्रो परिवेशले मेरो जात सम्झाइसक्यो र मलाई तिम्रो निकृष्ट सोचले सावधान गराइसक्यो । मलाई यकिन छ, कमसेकम तिम्रो जस्तो सोच भएको मानिसले अब मेरो शरीर अनि मनलाई फेरि कहिल्यै छुनेछैन ।’

 म आज पनि अटल छु त्यही कुरामा ।  प्रत्युत्तरमा तिमीले भनेका थियौ, ‘यी खोला, चौतारी अनि परका ती फाँटहरू सबै साक्षी छन्, मेरो भावना अझै पनि तिमीप्रति फरक छैन । तर, घरपरिवारहरूको निर्णय अनि कुल अनि परम्पराको विरुद्ध जान सकिनँ । म मेरै परिवारदेखि बहिष्कृत भएर कसरी बसूँ ? सायद तिमी भएको भए पनि सक्ने थिएनौ होला ।’ 

यति भन्दै तिमी त्यहाँबाट बिदा हुँदै थियौ । सायद आफ्नो कुल अनि परम्पराको शिर ठाडो पार्न अथवा तिम्रो अघाएको पुरुषार्थ फेरि भोकायो होला, तिमी फेरि अर्को सिकारको खोजीमा थियौ । मैले त तिमीलाई मात्र माया गरेको होइन, तिम्रो साहस अनि परम्परागत कुसंस्कारलाई चिर्न खोजेको तिम्रो आँटलाई पनि माया गरेकी थिएँ । मलाई थाहा थिएन कि तिमी यति हदसम्म कमजोर छौ भनेर । एउटा सानो हुरीले उडाएर एकैछिनमा विलीन बनाइदिन सक्ने तिम्रा ती कमजोर आँट अनि साहसलाई मैले तिम्रो दृढ पुरुषार्थ सम्झेकी थिएँ । त्यहाँबाट भारी मन लिएर घर फर्कंदै गर्दा मेरो मनले तिमीलाई भनिरहेको थियो, ‘जाऊ आफ्नो घर । आफ्नो परिवारको फोटो अलि ठूलो बनाएर भित्तामा टाँस । अनि गर्व गर, आफ्नो जात अनि कुलको ।’

तिमीले ठीकै भन्यौ, यो खोला साक्षी छ, जसले तिम्रो शरीरको मयल त पखाल्न सक्यो होला, तर तिम्रो सोचको मयल छुनै सकेन । यो चौतारोको रूखको छायाँले तिम्रो शरीर बाहिर बग्ने पसिना त ओभानो पार्न सक्यो, तर तिम्रो मुटुको चिराहरूबाट बग्ने अन्धविश्वास, भेदभाव अनि घृणाहरूलाई सुकाउन सकेन । कुनै वेला फुर्सद भयो भने एकान्तमा यी सबैको सामु गएर चुपचाप बस्नु, तिमीले पनि त्यही आवाज सुन्नेछौ जुन आजकल म पनि सुन्छु । तिम्रो निकृष्ट सोचको गाथा ।  

तिमीभन्दा त यही चौतारो जाती रहेछ, कमसेकम शीतलता प्रदान गर्नुअघि कसैको जात त सोध्दैन 

तिमी आफ्नो परिवार, आफन्त अनि समाजलाई दोष नदेऊ, त्यो सबै तिमी–हामीजस्तै मानिसहरू मिलेर बनेको छ । यहाँ कसैले कसैलाई दोष दिनुभन्दा परिवर्तनका लागि कसले प्रयास गर्ने भन्ने कुरा ठूलो छ । जे–जति परिवर्तनहरू भएका छन् ती सबै तिमी–हामीजस्तै मानिसहरूको हिम्मतको परिणाम हो । 
‘तिमी र मैले मात्र गरेर केही हुँदैन, हामी सँगै भएर जति खुसी हामीलाई होला, त्योभन्दा कैयौँ पीडा हाम्रा परिवारलाई हुनेछ । विगतका कुराहरूलाई भुलिदेऊ अनि तिमी पनि अब आफ्नो भविष्यबारे सोच । विगतलाई सम्झेर आफूलाई पीडा नदेऊ, यस्तै हो, सबैको भाग्यमा सबै थोक कहाँ हुन्छ र भगवान्लाई पनि त सबै फूल चढ्दैन ।’ 

मलाई सम्झाउने अन्तिम प्रयास गर्दै तिमीले मेरा सामु यी शब्दहरू पोखेर बिदा भएका थियौ जुन शब्दहरू मेरा कानमा आज पनि कुमालकोटीको आवाजसरि गुन्जिन्छन् । एउटा सानो माटोको घरभित्र आफ्नो अन्डा राखेर त्यसको वरिपरि भुनभनाउँदै घुुम्ने कुमालकोटीलाई सायद लाग्छ होला कि उसकै भुनभुनले ती बच्चाहरू अन्डाबाट बाहिर निस्किन सकेका हुन्छन् । यथार्थ त माटोको घरभित्र बिताएको समय अनि वातावरण नै हो जसले कुमालकोटीको बच्चालाई अन्डाबाट बाहिर निस्कन सफल बनायो । 

समय बित्दै जाँदा म पनि तिम्रा ती फगतका माया अनि मिठा बोलीका कवचहरू तोड्न आफैँ सफल भएकी छु । यतिवेला म तिम्रो त्यो आडम्बरी सोचभन्दा धेरै माथि छु, म यहाँबाट तिमीलाई एउटा सानो किराजस्तो देखिरहेकी छु जो अझै पनि आफ्नो जात, कुल, परम्परा अनि आडम्बरभित्र छ र बिस्तारै आफूजस्तैले सिर्जना गरेको सामाजिक परिवेशमा घस्रिरहेको छ । मेरो चिन्ता नलेऊ, यो संसार तिम्रो सोचभन्दा धेरै ठूलो छ र मेरा लागि यहाँ प्रशस्त स्थान पनि छ । 

भगवान्लाई सबै फूल चढ्दैनन् भन्ने तिम्रो सोच सम्झिरहेकी छु । तिमीले भनेको यो कुरा सत्य हो, सबै फूलहरू भगवान्लाई चढ्दैनन् । केही फूलहरू यस्ता हुन्छन् जुन अति सुन्दर हुन्छन् मगमगाउँछन्, तर मानिसको पहुँचभन्दा पर पाखामा फुल्छन् । ती फूल टिपेर आफ्नो भगवान्लाई चढाउने हिम्मत सबैमा हुँदैन । अनि समाजले त्यसलाई भगवान्लाई नचढ्ने फूलको संज्ञा दिन्छन्, जस्तो कि केतुकीको फूल । तर, कुनै फूल यस्तो हुन्छ जुन हेर्दा सुन्दर हुन्छ, भगवान्लाई पनि चढ्छ, तर त्यो फूलबाट रत्तिभर पनि बास्ना आउँदैन । कागजको फूल र त्यसमा कुनै फरक हुँदैन । 

जाऊ तिमी, आफ्नो संस्कार अनि कुलको बिँडो थामेर बस । तिमी तिम्रै बगैँचामा फुल, म मेरै पाखामा फुल्छु । तिमी आफ्नो बगैँचामा सुन्दरताको ढोंग रच, म भिर अनि पाखालाई सुगन्धित बनाउँछु । तिम्रो र मेरो जात होइन, गुण भिन्न छ, अस्तित्व फरक छ, अनि सोचमा त हामी जमिन–आकाशजस्तै छौँ । तिमी सुगन्धविहीन पलाँस हौ, म तिम्रो देवतालाई नचढ्ने केतुकीको फूल हुँ ।